मैले पढेका गैह्र आख्यान पुस्तकहरुमध्ये मोहन मैनालीका किताबहरु बारम्बार सम्झनामा आइरहन्छन् । मैनालीको ‘मान्ठा डराएको जुग’ पढेदेखि नै उनको लेखन मन पर्न थालेको हो । सरल लेखन शैली सँगसँगै लेखनको विषय वस्तुले मैनालीको लेखन बेलाबेला सम्झनामा आइ रहने हो । ‘मान्ठा डराएको जुग’मा ती कुराहरु समेटिएका थिए जो धेरै मान्छेले थाहा नै पाएका छैनन् ।

यस बेला देशमा सिमानाको विषयमा खुब चर्चा-परिचर्चा हुने गरेको छ । राज्यले ‘बिर्सेको’ लिम्पियाधुरा समेत सामेल गरेर नयाँ नक्सा जारी गरेको छ । त्यसैले हौस्याएकाहरु बेलाबेला ‘विशाल नेपाल’को कुराहरु पनि गर्ने गर्छन् । यी कुराहरु भइरहँदा कता-कता मानिसहरुले माटोको मात्रै कुरा गरेका हुन् कि जस्तो लाग्छ । त्यहाँ भएका जनताको कुरा खासै हुँदेन । ‘विशाल नेपाल’ सुगौली सन्धिले मात्रै खुम्च्याएको हो या नेपाली शासकको शोषक प्रवृत्तिका कारण पनि खुम्चिएको हो भन्ने हेक्का कसैले राख्दैन । त्यसैको चर्चा यहाँ गर्न मन लागेको छ ।

‘उपल्लो थलो’को शाब्दिक अर्थ माथिल्लो भेग भन्ने हुन्छ । नेपालको माथिल्लो भूमिका विभिन्न आयामहरुका बारेमा मैनालीले उपल्लो थलोमा लेखेका छन् । विशेषगरी गोरखा जिल्लाको माथिल्लो भूभाग र मानसरोबरको विभिन्न कालखण्डमा गरिएको यात्रासँग सम्बन्धित संस्मरणात्मक लेखहरु यस पुस्तकमा समावेश छन् । कालीगण्डकी तिरैतिर २०५१ मंसिर, २०५२ भदौ–असोज र २०५९ साउन–भदौमा गरिएका यात्राहरु पहिलो तीन खण्डमा समावेश छन् भने २०५६ साउन–भदौमा मानसरोबरसम्म गरिएको यात्रालाई चौथो खण्डमा समावेश गरिएको छ ।

बुढीगण्डकी तिरको यात्राका क्रममा मैनालीले त्यहाँको कष्टकर जीवन, बिजुलीलाई चमत्कार मान्ने जनताको कुरा, वन पैदावार माथिको निर्भरता, सरकारी उपस्थितिको अभाव, भौगोलिक विकटतामाझ फुलेको प्राकृतिक सुन्दरता, स्थानीय जनताको तिब्बती जनतासँगको साइनो, बदलिँदो राजनीतिक परिस्थितिबीच फेरिएको साँध लगायतका कुरा समावेश गरेका छन् । नेपालको उत्तरी सिमाना सन् १९६१ अक्टोबर ५ मा तात्कालिन राजा महेन्द्रले हस्ताक्षर गरेको सन्धिका आधारमा फेरिएको छ । यस क्रममा केही उत्तरी भूमि नेपालमा परे भने केही नेपाली भूमि उत्तरतिर गए । अथवा एकअर्काले दाबी गरेका भूमिहरुको आदानप्रदान गरेर एक स्थायी सिमाना त्यसमा कोरियो । त्यसै क्रममा हो सगरमाथाको चुचुरो चीनको भाग लागेको । त्यसका विषयमा कुनै अरु दिन चर्चा गरौँला । यी राजनीतिक पृष्ठभूमिको चर्चा नभए पनि मैनालीले साँध फेरिँदा फेरिएको राष्ट्रियताका बारेमा चर्चा गरेका छन् । साथै चर्चा गरेका छन् भोट र नेपालको जीवन स्तरमा समयसँग आएका परिवर्तनहरुको चर्चा गरेका छन् । यी चर्चाहरु पढ्दै गर्दा नेपाली शासकले भूमिमा बढी जोड दिएको र त्यहाँका मान्छे बिर्सँदै गरेको भन्ने भान हुन्छ ।

पहिलो खण्डको यात्राताका देशमा मनमोहन अधिकारी प्रधानमन्त्री थिए । कम्युनिष्ट सरकार हुँदा दलितहरु प्रतिको छुवाछुत हट्ने आशा देखिएको थियो । जनसामान्यको मानसिकतामा परिवर्तन नआउँदा सो आशामा पानी फेरिएको अंश एकदमै घत लाग्ने छ । स्थानीय अन्धविश्वासका कारण सेराङ गुम्बा, सोराङ हिमाल लगायतका पर्यटकीय गन्तव्यको रुपमा विकसित हुनसक्ने स्थानहरुबाट पनि त्यस क्षेत्रले मनग्गे लाभ लिन नसकेको पढ्दा अलि नरमाइलो लाग्छ ।

०५१ देखि ०५९ को लगभग एक दशकको अन्तरालमा नेपाली भूमिका बासिन्दाको वनपैदावार माथिको निर्भरता जस्ताको त्यस्तै भए पनि छिमेकी तिब्बतका बासीको जीवनस्तरमा निकै फेरबदल भएको देखिन्छ । जडिबुटी संरक्षणका लागि तिनको संकलनमा रोक लगाइएको, गैह्र सरकारी संस्थाको सहयोगमा भएका विकासका, मादकपदार्थ दुर्व्यसनी कम गर्न रक्सीको कम मूल्य निर्धारण गरेर रक्सी उत्पादन निरुत्साहित गरेको, लगायतका केही सकारात्मक परिवर्तन दर्साउने कुराहरु समेत उल्लेख छन् ।

पछिल्लो पटकको यात्राका क्रममा माओवादी द्वन्द्वका कारण पहिलेको जस्तो विश्वासको वातावरण नभएको र मानिसहरुले नयाँ मान्छे देख्नेबित्तिकै शंकाको दृष्टिले हेर्ने कुराहरुले उपल्लो थलोमा परेको जनयुद्धको असरको धेरथोर कुराहरु आएका छन् । हो, यसरी मैनालीले ‘थलो’ मात्रै नलेखेर त्यहाँका मान्छेको कथासमेत लेखेका छन् । राज्यले उपेक्षा गरेकाहरुका व्यथा लेखेका छन् ।

पुस्तकको चौथो अर्थात अन्तिम खण्डमा मैनाली फेरि सुदूरपश्चिम हुँदै मानसरोबर पुगेका छन् । यो खण्डमा हालको नयाँ नक्सा प्रकरणले चर्चामा ल्याएको भूगोलको बारेमा समेत लेखिएको छ । साथै, यसै खण्डमा ‘विशाल नेपाल’सँग जोडिएको भ्रमको कुराहरु पनि लेखिएको छ । यो अंशमा उनले देशको सडकमार्ग राम्रो नहुँदा सुदूरपश्चिमका उत्तरी जिल्ला जानका निम्ति भारतीय भूमिको प्रयोग गर्नुपर्ने बाध्यताका बारेमा लेखेका छन् । सिमानामा हुने सीमा सुरक्षा दलका अधिकारीहरुको खुल्लमखुल्ला लुटमा उनी बचेको प्रसंग पढिरहँदा पाठकका मनमा दिनहुँ किनमेलका लागि जाने वा रोजीरोटी कमाउन भारत पसेका नेपालीहरुको हालत के हुन्छ होला भनेर प्रश्नहरुको खात लाग्छ ।

महाकाली वारि र पारिका दारचुला र धारचुलामा विकासका दृष्टिले निकै फरक भएको कुरा पढ्न पाइन्छ । भारतले सिमाबासीलाई दिएको सुविधाका तुलनामा नेपालले दिएको सुविधा दयनीय लाग्छ । त्यसबाहेक त्यहाँ हुने वन्यजन्तुको हाड तथा छाला लगायतको तस्करीको जालो र मूकदर्शक बनेर रहेको निरीह प्रशासनको चित्र पढ्दा जो कोही पाठक पनि आवेशमा आउँछ । राज्यको अनुपस्थितिको चरम उदाहरण त्यहाँ देखिन्छ ।

चार वर्षअघि उपल्लो थलो पढ्दै गर्दा मानसरोवरको यात्राको लागि नेपालकै उत्तरी नाकाबाट ताक्लाकोट पुग्ने सडक सञ्जालको विस्तार सुरु शीर्षकमा वसन्तप्रताप सिंहले लेखेको समाचार पढ्नु जुरेको थियो । चार वर्षपछि पनि त्यो बनिसकेको समाचार छैन । बरु भारतले २००६ (एसडि मुनीका अनुसार) देखि सुरु गरेको सडकको उद्घाटन भएको छ । त्यसैले नै हो अहिलेको नक्सा विवाद चुल्याएको । कोभिड १९ संक्रमणमा खासै सफलता पाउन नसकेको दुवै देशका शासकका लागि ध्यान मोड्ने बहाना झैँ बनेको छ त्यही सडक उद्घाटन र लिम्पियाधुरा ।

सारमा भन्नुपर्दा नेपाली सिमानामा रहेकाहरुको स्तर नेपाली सीमाबाहिर रहेकाको तुलनामा दयनीय छ । दूरदराजका क्षेत्रमा त राज्यको उपस्थिति नै पनि छैन । त्यसैले त अस्ति रवि लामिछानेको कार्यक्रममा एसडि मुनीले ‘माटो मात्रै आधार हो ? जनतासँग त भारतीय रासन कार्ड छ’ भनेका थिए । त्यति मात्रै होइन ‘उपल्लो थलो’मा किताबमै पनि लेखकले गोरखाली ‘विस्तारको’ प्रसंग लेख्ने क्रममा गोरखाली राजको अत्याचारको विषय समेटिएको लोकगीतका बारेमा उल्लेख गरेका थिए । त्यो पढिरहँदा मेरो एउटा भ्रम टुटेको थियो । जुन गौरवको इतिहास हामीलाई पढाइएको छ, त्यसमा हारेकाहरुको इतिहास छैन । उनीहरुको आवाज छैन । त्यसैले हामी ‘विशाल नेपाल’का कुराहरु गरिरहन्छौँ । हामी यो सोच्दैनौँ कि भारत छोडेर जाने बेलामा अंग्रेजहरुले नेपालका गुमेका भूभागका नेपालीलाई नेपालमा जोडिने वा भारतमै रहने विकल्प दिँदा उनीहरुले भारत नै रोजेका थिए । सायद माटो मात्रै आफ्नो ठान्ने र त्यहाँका जनतालाई नमान्ने परम्पराले त्यसो भएको हो कि !

माटो मात्रै त देश हुँदैन । जनता सार्वभौमसत्ता सम्पन्न मानिन्छ, माटो होइन । हो यही कुरालाई नेपाली शासक पक्षले बारम्बार भुलेको देखिन्छ । चाहे त्यो विशाल नेपालको कुरा गर्ने बेलामा होस्, चाहे त्यो हालको लिम्पिया धुरा क्षेत्रमा बसोबास गर्नेका सन्दर्भमा होस् । नेपाल सरकारले विवादित क्षेत्रमा बस्ने नेपालीहरुका लागि राज्यको उपस्थिति जनाउने केही काम गरेको देखिँदैन । विवादित क्षेत्रको कुरा छोडौँ । विवादै नभएका क्षेत्रका जनताहरु पनि देश आउन नपाएको स्थिति छ । भारतमा श्रमका लागि गएका नेपालीहरु भारतीय सुरक्षाकर्मीबाट सिमानातिर खेदिएका छन् भने नेपाली शासकले तिनलाई अझै भारततिरै खेद्दै छ । यो सब भइरहँदा प्रश्न गर्न मन लाग्छ, देश माटो हो कि जनता हो ? अनि देशका ‘उपल्लो थलो’का भू–भाग मात्रै हैन त्यहाँका जनता पनि देश हुने कहिले हो ?