वास्तवमा यहाँ नेपालमा देवकोटा र लेखनाथको अवसान पछि कवितालाई गद्यमा लेख्नेहरू निकै बाक्लो गरी उपस्थित हुनु भएको थियो । अझ जति नबुझिने लेखियो त्यति गतिलो भन्नेहरूको ताँती लागेको थियो । पुरस्कृत समेत भएका थिए । गद्य र पद्य नै नबुझ्नेहरूले पद्यमा कविता लेख्नेहरूलाई घृणाको भावले हेर्ने गरेको पनि पाइन्थ्यो । त्यो कुराले निकै वर्ष नेपाली कवितामा राज्य गरेको थियो । तर गजलको पुनः विकास वा उत्थान भएपछि यसका बारेमा वा लयात्मकताको बारेमा केही बुझ्ने र कवितामा लय नै खास हो भन्नेहरूको उपस्थिति पनि देखिन थालेको हो । लय विहीन कविता र गजल नै नहुने कुराको जानकारी हुँदै गएको हो ।

केही वर्ष पहिलेसम्म छन्दमा कविता र लेखक कविहरूलाई सारै निन्दाको भावले हेर्ने प्रवृत्तिको भुइँफुट्टे विकास भएको थियो भन्ने कुरा भुल्ने विषय होइन । यता नेपालमा भन्दा पनि उता प्रवासमा यो कुराले बडो उच्च स्थान पाएको थियो ।

उत्तर बङ्ग विश्वविद्यालको एक वृहत् कार्यक्रमको ठुलो भेलामा म र स्व डा‍ द्रोणकुमार उपाध्याले एकपटक छन्द भनेको कविताको लय हो जो अपरिहार्य छ । त्यो लय बद्ध र मुक्त किसिमको हुन्छ । बद्ध रहेछ भने त्यो पद्य भयो मुक्त रहेछ भने त्यो गद्य भयो भनेर गर्जन गरेपछि उता पनि छन्दका बारेमा केही सोच बदलिएको छ नत्र पद्यमा कविता लेख्नेलाई बाजे र बाहुनको उपाधी दिने चलन थियो केही दस पन्ध्र वर्ष अघिसम्म उता प्रवासमा र यता पनि । यो कुराको विकास गर्नेहरुको नाम नलिनु नै श्रेयष्कर होला । अब कवितामा जुन लय हुन्छ त्यही नै छन्द हो भन्ने यथार्थ कुरा बुझ्नेको कमी नरहेकोमा गर्व लाग्छ र छन्दका बारेका सोच बदलिएकोमा अझ बढी गर्व लाग्छ ।