साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

किताबदेखि किताबसम्म

Chovar Blues Mobile Size

म आमा-बाको तेश्रो सन्तान । आमाबा तराईमा कटेरो बनाउन संघर्षरत थिए । पाटीमा खरी घोटेर विश्वविद्यालयको प्राध्यापन सम्मको यात्रा तय गरेका पिताका लागि तीन सन्तानको निजी विद्यालयको चर्को शिक्षा धान्न गाह्रो भएको हुनुपर्छ । त्यसैले म ढिलासम्म विद्यालय गइनँ । ढिला यो अर्थमा कि सहरमा त्यसबेला शिशुकक्षाहरु पनि सञ्चालन हुन थालिसकेका थिए । म पहिला दुई शिशु कक्षामा गइनँ । घरमै आमाले अक्षर चिनाउनु भएको थियो । दाइदिदी विद्यालय जाँदा उनीहरुसँग विद्यालय जाने खुब रहर हुन्थ्यो । त्यस्तैमा एक दिन उनीहरुकै पछि लागेर विद्यालय पुगेको थिएँ । आमाले देखाएको साहसले बालाई पनि सहयोग गर्‍यो । म विद्यालय जाने भएँ । सोझै माथिल्लो शिशुकक्षामा भर्ना भएँ । त्यसरी तुलनात्मक रुपमा अबेर गरेर मेरो विद्यालय यात्रा सुरु भयो । सायद त्यसैले पठनपाठनको महत्त्व पनि अलि बढी भयो कि !
सात आठ कक्षातिर पढ्दाको कुरा हो । विद्यालय पढ्दा मेरो नाम नै ‘लाइबेरी’ र ‘पुस्तकालय’ राखिएको थियो । किशोरावस्थामा बिपी र समका किताबहरु साथी बनेका थिए । निःशुल्क रुपमा पुस्तक पढ्न पाइने कैलाली जनपुस्तकालय समय काट्ने थलो बनेको थियो । त्यसबेलाका नयाँ किताब त्यहाँ उपलब्ध हुँदैनथिए । तर पुराना किताबहरु तमाम भेटिन्थे । तिनै किताबका पानाहरुमा म हराउन पुग्दथेँ । कहिले तर्कशास्त्रका किताबहरु त कहिले हस्तरेखाका किताबहरु । के चाहिँ पढिएन होला र ! अनि पुस्तकालय प्रचार प्रसारको लागि एकपटक स्टिकरहरु निकालिएको थियो । मैले ती स्टिकर लगेर विद्यालयमा पुस्तकालयको सकेसम्म प्रचार गरेको थिएँ । त्यसैले मेरो न्वारन गरिएको थियो ।
१० कक्षा सकेर कैलाली बहुमुखी क्याम्पसमा नेपाली साहित्यसमेत लिएर प्रवीणता प्रमाणपत्रतह पढ्ने अन्तिम पुस्ता पनि बनियो । त्यसपछि दशजोड दुईले प्रवीणता प्रमाणपत्र तहलाई विस्थापित गर्‍यो । ०६१ सालतिर हो । त्यतिबेला आक्कल झुक्कल कोरे पनि प्रकाशितै हुने गरी केही कोरिएको थिएन । प्रवीणता प्रमाणपत्रतह भन्नुस् या एघार कक्षा भन्नुस्, त्यसैबेला भेट भएका दीपसागर पन्त प्यासीले गजल लेख्न सिकाए । तुलनात्मक रुपमा कम मिहिनेत पर्ने भएको र काफिया मिलाए मात्र हुने (अहिले त बहर र अनेकन थप कुराहरु पनि आउँछन्) गजल लेख्न सजिलै पनि थियो । त्यसैले त्यसै वर्षको अन्त्यमा मैले पहिलो रचना प्रकाशित पनि गरेको थिएँ । त्यो सुदूर सन्देश नामक स्थानीय पत्रिकामा प्रकाशित भएको थियो । बिस्तारै पत्रिकामा नाम देख्ने लत नै पो लाग्यो कि सायद ! त्यसैले सकेसम्म लेखनलाई निरन्तरता दिएँ । पछि गजल छोटा लागे र विचार लेख्ने रहर जाग्यो । त्यो रहर पूरा नहुँदै स्नातक तहमा गणित र अर्थशास्त्र पढ्दै गर्दा पत्रिकाको अपरेटरको काम पनि गरेँ ।
बिहान क्याम्पस, दिउँसो निजी विद्यालयमा पढाउने गर्थेँ । त्यसपछि पनि ट्युसन कक्षाहरु पढाउने गर्थेँ र अँध्यारोपछि पत्रिकाका सेटिङ्गहरु मिलाउँथे । आर्थिक कारणले भन्दा पनि सृजनामा रमाउने भएकाले त्यो काम थालेको थिएँ । भोलिपल्टको पत्रिका देख्दा दंगदास भइन्थ्यो । सोही क्रममा एकआध रिपोर्टिङ्ग पनि गरियो । सम्पादक नभएका बेला र पत्रिकामा समाचार अभाव भएका बेलामा समाचारका शब्द बढाउनेदेखि सम्पादकीय नै लेख्ने काम पनि भयो । प्रतिक्रिया राम्रै आयो । त्यसैमा पत्रिकाकै सहकर्मीहरुले लेख्न उत्साहित गरे ।
पत्रिकाको काम त्यस्तै तीन चार महिना चल्यो । गणित र अर्थशास्त्रको पढाइ दिनभरि विद्यालय पढाएर अनि रातभरि पत्रिकाको सेटिङ्ग मिलाएर हुने कुरै थिएन । त्यसैले सबै छोडेँ । तर लेख्ने लत लाग्यो । त्यसैले पत्रिकामा स्तम्भ लेखनको सुरुवात गरेँ । पढेका पुस्तकको चर्चा लेखेँ । सामसामयिक विषयमा लेखेँ । राजनीतिका विषयमा लेखेँ । संस्कृतिका विषयमा लेखेँ । पाठकहरु पनि कमाएँ । केहीले पढेको लेखको प्रसङ्ग झिक्थे अनि खुशी पनि लाग्यो । केहीले पत्रिकामा देखेको फोटोको प्रसंग झिक्थे तर उनीहरुलाई शीर्षकसम्म पनि थाहा हुँदैन थियो र पनि खुशी लाग्थ्यो ।
घरमा पत्रिकामा लेखेर लेखकस्व ल्याउने पहिलो व्यक्ति थिएँ । पिता प्राध्यापनमा हुनाले लेख त उहाँको पनि छापिन्थ्यो तर लेखकस्व दिने चलन थिएन । मैले लेख बापत त्यो बेला रु. ५० पाउँथे । हुन त त्यसले केही हुन्थेन र पनि लेखेर कमाएको पैसाको बेग्लै मज्जा आउँथ्यो । त्यसपछि हप्तामा ४ पत्रिकामा फरक फरक स्तम्भ पनि थालेको थिएँ । लेखकस्वका रुपमा कुनैले २ सय त कुनैले सय दिने वाचा गरेका थिए । एकले धोका दियो । दोश्रोले गरेको अनावश्यक काँटछाँट मनपरेन । अर्कोको पनि नियमित पैसा आउन सकेन । पत्रिकाहरुको हालत पनि उही त हो । कर्मचारीहरुलाई निम्नतम सुविधा दिन सक्ने अवस्थामा थिएनन् । त्यसैले बिस्तारै हप्तामा ४ स्तम्भ लेखिरहन जाँगर मरेर गयो ।
सपनामा पनि नचिताएको कुरा त्यसै बेला भयो । माया बस्यो । अखबारमा छापिएका गजल र लेखले प्रेमिका फकाउन त सजिलो भयो तर प्रेमिकाका बाले निजी विद्यालयमा मास्टरी गर्ने र गजल लेख्नेलाई छोरी देलान् भन्नेमा हामी दुवैलाई विश्वास भएन । स्नातक तहको पढाइ नै पनि दया लाग्ने खालको भइसकेको थियो । त्यस्तैमा हाम्रा बाटो अलग-अलग भयो । सायद परिस्थितिसँग जुध्न नसकेर होला म प्रवास उछिट्टिएँ । नयाँ सुरुवातको आशा पनि थियो ।
नेपालमा अर्थशास्त्र र गणितको त्रिविको स्नातक जेनतेन सकिएको भएपनि फेरि व्यवस्थापनमा स्नातक सुरु गरेँ । खासमा पाँचौँ अर्धवार्षिक सत्रमा अमेरिका, बेलायत वा अष्ट्रेलियाका विश्वविद्यालयहरु छानी-छानी जान पाइने कुराले लोभ्याएको थियो । जर्मन कम्पनीमा विद्यार्थीको रुपमा काम गर्न पाइने अवसरले लोभ्याएको थियो । फेरि पढाइ सकेर पनि काम गर्नु नै हो पढ्दा पनि गरी त हाल्छु भन्ने भयो । साढे सात वर्ष निजी विद्यालयमा मास्टर भएको मान्छे जर्मनीमा आएर रेष्टुरेन्टका टेबलहरु पुछियो । कारखानामा कामदार भएर काम गरियो । पछि भाषा सिकेपछि म्याकडोनल्डको काउण्टरमा काम गर्न थालियो । बोनसमा टेबल पुछ्नेदेखि हरेक आधा घण्टामा शौचालय जाँच गर्ने काम त छँदै थियो ।
यस्तै दुःख गरेर स्नातक सकियो । अमेरिकाको क्लालिफोर्निया स्टेट युनिभर्सिटीमा एक सत्र पढ्ने अवसर पनि मिल्यो । जर्मन कम्पनी बोसमा पनि कामको अनुभव बटुलियो । त्यसपछि नेपालमा पढेको अर्थशास्त्रको लोभ लाग्यो । स्वर्णिम वाग्ले र विश्व पौडेल जस्ता अर्थविद्हरुको प्रगति देखेर लोभ लाग्यो र अर्थशास्त्रमा स्नातकोत्तर सुरु गरेँ । पढाइ प्रति चित्त नबुझे पनि सोही पढाइका क्रममा मर्सिडिज कार उत्पादक डाइमलर कम्पनीमा १० महिने काम गर्ने अवसर मिल्यो । केही महिनाअघि त्यो पनि छोडेर एक आइटी कम्पनीमा तथ्याङ्क विश्लेषणको क्षेत्रमा काम सुरु गरेको छु । मोटामोटी यही नै हो । त्यसबाहेक २०२० को लागि चार मुख्य काम साँचेको थिएँ । प्रेम सम्बन्धलाई औपचारिकता दिने काम भयो । जागिर खोज्ने काम भयो । अब थप दुई काम बाँकी छन् । ती पूरा भएपछि कुनै दिन लेखौँला ।
लेखन र पठनमा बीचमा केही अवरोध अवश्यै भयो । विद्यालयको जस्तो स्वछन्द भएर पछिका दिनमा पढ्न सकिएन । झन् प्रवास बसाइका क्रममा त नेपाली किताब पाउन साह्रै गाह्रो । सन् २०१६ देखि पुस्तक पठनको वार्षिक संख्या तोक्ने होड चल्यो । त्यसपछि पठनले गति लिएको हो । यसै क्रममा विद्यालय छँदैको १०० पुस्तक पढिसक्ने रहर पनि पूरा भयो । १०० पुस्तक पढ्न ३० वर्ष लाए पनि गएको दुई वर्षमै डेढ सय पुस्तक पढिभ्याएको छु । कम से कम वर्षको २४ र महिनाको दुई पुस्तक चाहिँ जीवनभर पढिरहने प्रयासमा छु । तर यो उद्देश्य प्राप्त गर्नका लागि थुप्रै बाधाहरु पनि छन् । विशेषगरी नेपाली साहित्यका पुस्तकका हकमा साह्रै गाह्रो छ ।
सबैभन्दा पहिले त ल्यादिने मान्छे पाउन गाह्रो । हुलाकबाट मगाउँदा मगाएका किताब नभेटिने र पैसा पनि थुप्रै खर्च हुने समस्या त्यस्तै । नेपाली साहित्य जान्न वा लेखकलाई समेत प्रोत्साहन होस् भनेर किन्न खोज्दा लेखकले भन्दा हुलाकले बढी पाउने र त्यो खर्च धान्न गाह्रै पनि हुने अवस्थाहरु थियो । फेरि किनेका किताब पढ्न लैजाने साथीहरुसँग माग्न जस्तो गाह्रो केही भएन । आफूसँगै पनि केही अरुका किताबहरु छन् । फर्काउन खोज्दा पढ्छु कि जस्तो लाग्छ तर पढेर सकिएको हुँदैन । त्यसैले इ-पुस्तकतिर रुचि बढेको छ । भ्याएसम्म चिनेका प्रकाशकहरुलाई घच्घच्याउने क्रममै साहित्य पोष्टसम्म पुगेको हुँ ।
इ-पुस्तकसँग जोडिएको अर्को स्वार्थ पनि छ । पठनसँग लेखन पनि सुरु गरेकाले प्रकाशनका लागि बाटो कुरिरहेका केही थान किताब छन् । २०६१ देखि लेखेका गजलहरु त संग्रहित गरेर अमेजनमा प्रकाशन पनि गरेँ । त्यो पुस्तकबाट उति आशा थिएन । खाली प्रविधि जान्ने लोभले त्यतिसम्म गरेँ । अब प्रकाशनमा समस्या छैन भन्ने थाहा भयो तर कमसल लेखेको आरोप नलागोस् भनेर पहिले नै १५ कथा समेटिएको संग्रह सम्पादनमा छु । त्यसका कथाहरुलाई बलियो बनाउन अध्ययन र सम्पादन जारी छ । संस्मरणात्मक लेखहरुको संगालो पनि पालो कुरेर बसेको छ । धनगढी छँदा लेखिएका र खुब मन पराइएको ‘तिमी नारी किन यति हठी?’ शीर्षकका लेखहरुलाई पनि पुस्तकाकार दिने लोभ छ । हो यिनै कुराहरुले पनि इ-पुस्तकप्रति रुचि बढेको छ ।
इ-पुस्तक यो वर्ष पत्ता लागेको प्रविधि होइन । आजभन्दा करिव १३ वर्षअघि नै अमेजनले इ-रिडर निकालेको हो । अंग्रेजीका इ-पुस्तकहरु अन्य तरिकाले अझै अघि पनि पढिन्थे होला । नेपाली पुस्तककै हकमा पनि पाण्डुलिपिले निकै अघि इ-पुस्तक प्रकाशित गरेको थियो । नयनराज पाण्डेयको ‘निदाएँ जगदम्बा’ त्यसैबाट किनेर पढेको थिएँ । गुगल बुक्समा सरुभक्तको ‘पागल बस्ती’ पनि निकैअघिदेखि प्रकाशित थियो । अमेजनमै पनि नेपाली भाषाको पुस्तक अलि अघिदेखि नै प्रकाशित थियो । खालि यसपालि नेपालीहरु अलि फुर्सदिला भएकोले यसको चर्चा केही चुलिएकोसम्म हो । यदि सावधानी अपनाइएन र पाठकको सुविधालाई ध्यान दिइएन अनि क्रमिक सुधारहरु आएनन् भने यो त्यसै सेलाएर जानेछ जसरी पहिले सेलाएर गएको थियो ।
प्रविधिसँगसँगै एउटा आचारको सवाल पनि छ । लेखकहरुको लेखकस्वको के हुने ? बौद्धिक सम्पत्तिको फाइदाको कुरा के हुने ? यस्ता सवालमा पनि साहित्यपोष्टको योजना बढी लेखकमैत्री लागे । इ-पुस्तक प्रकाशनका नाममा लेखन क्षेत्रमा पनि म्युजिक नेपालले संगीतका क्षेत्रमा गरेको मनमानी नदोहोरियोस् भन्नेमा अहिले अरु त्यति चनाखो भएको जस्तो लाग्दैन । अस्वस्थ प्रतिस्पर्धा सुरु हुने हो कि भन्ने चिन्ता पनि छ । त्यसैले हालसम्म अलि कमै स्थान पाएको साहित्यलाई नै मूल विषय बनाएर अनलाइनसमेत सञ्चालन गर्ने गरी एक शब्दसाधककै पहलमा हुन लागेको काममा हातेमालो गर्ने प्रयास गरेको छु । आशा छ, यसले साहित्यका क्षेत्रमा सहयोग पुर्‍याउने छ । लेखक र पाठक दुवैलाई नजिक ल्याउने छ । अस्तु !

(लेखक हाल जर्मनीमा तथ्याङ्क विश्लेषणको क्षेत्रमा कार्यरत छन् )

प्रतिक्रिया
Loading...