अञ्जना पौडेल अनुश्रुति
प्रेम एउटा यस्तो अमृत हो, जस्मा भावनाको मिठास घोलिएको हुन्छ । भावना बिनाको प्रेम मृत प्रायः हुन्छ । जुन कुरा केवल महसुस गर्न सकिन्छ, देख्न, छुन सकिँदैन, त्यो नै प्रेम हो । प्रेम अन्तरआत्माको आवाज हो ।
देखेका, भेटेका मानिसहरुमा मात्रै प्रेम हुने होइन, कहिल्यै नदेखेका मानिसहरु प्रति पनि प्रेम भाव उत्पन्न हुन्छ । किन त ?
आज संसारभरिका मानिसहरु कोरोना भाइरसका कारण त्रसित छन् । लाखौं मानिसहरुको मृत्यु भइसक्यो, लाखौं संक्रमित छन् । मनले सधैँ उनीहरुको जीवनका लागि प्रार्थना, कामना गरिरहन्छ कि उनीहरु आफ्नाहरु गुमाएर कति दुःखी होलान् भनेर । किनकि हाम्रो अन्तरमनमा प्रेमभाव लुकेर बसेको छ, त्यसैले सबैप्रति आफसेआफ प्रेमभाव जागेर आउँछ ।
हिन्दु धर्मका गुरु कुवेर सुवेदी भन्दछन्, “मानव चोला एक पटक मिल्ने हो, त्यसैले मानव मात्र होइन हरेक जीवजन्तुहरुमा प्रेम गरेर आफू चेतनशील प्राणी हुनुको रहस्यलाई जीवनमा लागू गर्न सक्नुपर्छ ।”
जुन कुराले अन्तरमनलाई हल्लाउन सक्छ, दिमागलाई उथलपुथल बनाएर आँखाभरि आँशु बनाइदिन सक्छ, त्यो नै हो सच्चा प्रेम ।
आमाबुबा, छोराछोरी, दाजुभाइ, दिदीबहिनी, आफन्त, चिरपरिचित र छिमेकीसँग हुने प्रेम, साथीसंगी, प्रेमीप्रेमिका बीच हुने प्रेमका रुप र रङहरु अलग-अलग हुन्छन् नै ।
अवश्य पनि प्रेम, घृणा, इर्ष्या, द्वेष आदि हरेक मानवका मानवीय गुण हुन् तर जब प्रेमलाई भावनाको गहिराइको मीठो आवाज हो भनेर महसुस गर्न सकिन्छ तब अरु सबै कुराहरु गौंण रहन्छन् र प्रेम केवल प्रेम मात्र रहन्छ ।
हिन्दुहरुको पवित्र पुस्तक स्वस्थानी व्रतकथा पढ्दा यस्तो लाग्छ कि देवाधिदेव महादेव त झन् महाप्रेमी थिए । किनकि उनले आफ्नी मृत प्रेमिका, श्रीमतीलाई मरेपछि पनि काँधमा बोकेर पागलजस्तै भएर संसार डुली हिँडे । जब सतीदेवीको पूरा शरीर पतन भयो, त्यसपछि पनि देवताले महादेवलाई अनेक बहानाले ब्युँझाएर कैलाशमा पुनः लगेर राखे ।”
प्रेम गर तर बढी आशक्त भएर जोडिइनराख । आफूलाई प्रेममा पूरा रुपमा डुबाइदेऊ तर सधैँ बिरामी र डाक्टरको जस्तो सधैँ उपचार र फि मात्रको सम्बन्धमा होइन ।
कसैप्रतिको अति बढी लगावले तिमीलाई कुनै काम गर्नका लागि पनि बाटो दिँदैन । प्रेममा कुनै शर्त हुनु हुँदैन । बेशर्त हुनु पर्दछ प्रेम । प्रेममा आफैंलाई किन मेटाउँछौ ? प्रेमलाई आफ्नो एउटा हिस्साको रुपमा अनुभव गर्यौं भने तिमीलाई प्रेमले पीडा दिँदैन बरु ऊर्जा बढाइदिन्छ । तिमी किन प्रेम गर्छौं ? किनकि आफ्नो एउटा हिस्साको रुपमा अनुभव गर्छौं ।
कामुकताले प्रेमलाई केही समयका लागि मात्र आफ्नो बनाउँछ तर निःस्वार्थ भावले प्रेमलाई अनन्त कालसम्म जीवित बनाउँछ । मानसिक रुपबाट र शारीरिक रुपबाट गरिने प्रेममा गाली गर्नु, मारामारी गर्नु, गोली बारुद हान्नु पर्थ्यो होला । लालच वा विजय प्राप्त गर्ने उद्देश्यले गरिने प्रेम डेटिङ, क्रेडिट कार्ड या चेकबुक या त सपिङमा गएर टुंगिन्छ ।
केही समयका लागि सँगै रहँदा सफल जस्तो देखिन्छ तर दीर्घकालीन रहँदैन । भनिन्छ, शरीर हेरेर प्रेम गर्नेहरु कहिल्यै कसैको मनको नजिक पुग्न सक्छैनन् । जसले प्रेमको नाममा कसैको भावनामा खेलवाड र मजाक गरिरहेको हुन्छ, यो त सरासर प्रेमको मर्म माथिको अपमान र गद्दारी हुन्छ ।
सम्मान र समर्पण बिनाको प्रेम सम्हाली नसक्नुको भाँडभैलो हुन्छ तर भावनात्मक प्रेममा कुनै हिंसा हुँदैन र त युगौँयुगसम्म पूजनीय रहन्छ ।
आशो भन्दछन्, “प्रेम मानसिक दबाबमा कसैको करकापमा हुनु हुँदैन । यो त आफसेआफ मनबाट उब्जने भावना हो ।”
राधाकृष्णको प्रेम जस्तो चोखो प्रेम कसैको होला र भनिन्छ । उनीहरुमा एकजनालाई घाउ, चोट लाग्यो भने अर्कोलाई दुख्थ्यो रे ।
उनीहरु सम्बन्धमा रहन पाएनन् तर निःस्वार्थ प्रेम गरेको कारण आजसम्म संसारभर प्रेमको नमुनाको रुपमा हरेकको मुखमुखमा जपिएर रहेका छन् ।
सद्गुरु भन्दछन्, “भावनाको स्तरमा गरिने प्रेम हो भने यो प्रेम प्रसंग हुन्छ, जागरुकताबाट कसैलाई सामेल गरिने योग हो, मिलन हो । यस्तो प्रेम प्रसंग सफल हुन्छ ।”
कोही एकको लागि यस्तो सोचिन्छ कि नाक, मुख, आँखा, कपाल आदि अंग मन परेर गरिने प्रेम होइन । मन पर्दासम्म प्रेम हुन्छ, मन परेन भने धृणा उत्पन्न हुन्छ तर जब प्रेम मात्र प्रेम हुन्छ, हावामै पनि उमंग महसुस हुन्छ । जस्तै लैला मजनुको प्रेम, रोमियो जुलियटको प्रेम मानव प्रेमका चिरपरिचित नमुना हुन् ।
प्रेमका यस्ता धेरै उदाहरण छन् तर सफल भएका थोरै मात्र छन् । किनकि प्रेमलाई समपर्ण होइन, सम्झौताको रुपमा मात्र प्रयोग गरियो, महसुस गरिएन । स्वार्थ मात्र खोजियो, त्याग हेरिएन । लक्ष्मी नारायण कहिल्यै अलग भएनन् । उनीहरु एकअर्काप्रति यति समर्पित थिए कि आँ गर्दा अलंकार बुझ्दथे ।
योगी विकासानन्द भन्दछन्, “प्रेममा स्वतन्त्रता हुनुपर्छ, बन्धनयुक्त प्रेमले सधैँ पीडा दिन्छ, श्रीमान्-श्रीमतीले पनि एकअर्कालाई बन्धनमुक्त प्रेम गर्नुपर्छ अनि बल्ल घर परिवारमा सुख शान्ति, खुसी र रमाइलो वातावरण छाउँछ ।”
सधैँ आफ्नो सेवा गरोस् र आफूले जे भन्यो त्यही मात्र मानेर नोकर जस्तो बनोस् भन्नेले किन विवाह गर्नु पर्यो र ? घरको गेटमा कुकुर पाल्नुस्, सधैँ तपाई बाहिर, भित्र गर्दा पुच्छर हल्लाउँछ स्वागत गर्छ, तपाईंको रक्षा गर्छ । सुँगा पाल्नुस्, तपाईंले जे बोल् भन्यो त्यही बोल्छ । मानिस र पशुपक्षीमा के फरक भयो ? होइन र ! हरहमेसा साथ सहयोग त दुवैको चाहिन्छ नि दुवैलाई । त्यसै श्रीमान्-श्रीमतीलाई एक रथका दुई पाङ्ग्रा भनिएको होइन ।
कुनै परिवारमा मेलमिलाप, साथ, सहयोगको वातावरण भयो, खुसीयाली छायो भने मात्र त्यो परिवार सुखी र समृद्ध बन्छ । परिवारको मियो बाबुआमा गतिलो र बलियो नभएपछि छोराछोरी पनि कुसंगत र कुलतमा लाग्छन् । अनि परिवार एकैछिनमा तहसनहस हुन्छ ।
कसैलाई आफ्नो बनाउन सिर्फ क्षमता चाहिन्छ । जुन आफ्नो मनको मर्जीबाट मात्र हुन्छ ।
प्रेम कुनै सम्बन्ध होइन, भावनाको मिठास हो । जो आफैँभित्र सीमित रहन्छ, कसैलाइ देखाउनु पर्ने जरुरत नै हुँदैन । भावनामा प्रेम छ भने रुख, विरुवा, जीवजन्तु, पुरुष, महिला या त जुन चिज देख्छौ विशेष रुपले देख्छौँ र प्रेम गरिरहन्छौँ । भावना राम्रो छ भने हरेक कुरामा महको स्वाद अनुभूत गर्छौं, भावना नराम्रो छ भने तीतेकरेलाको स्वाद भेट्छौं ।
विलियम शेक्सपियर भन्छन्, “आफ्नो प्रेम त्यसका निम्ति खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन ।”
जब प्रेममा विश्वासको धराप पर्छ, तब छातीको गहिराइमा हिउँ जसरी जमेर बसेको आँशु एकाएक बाफिएर आँखामा कालो बादल माडारिन्छ र झरना सरी एकाएक आँशुको पहिरो जान्छ र आँखाको डिल भत्काएर भुईंमा बजारिन्छ । अनि सबैतिर निरसता र शून्यता मात्र छाउँछ ।
प्रेममा जात धर्म, उँचनीच, धनी गरिब, भूगोल केही हेरिँदैन, हेरियो भने प्रेम जीवित रहँदैन । उमेर हेरेर पनि प्रेम गरिदैन, रङरुप हेरेर, स्वार्थवश गरिएको एकतर्फी प्रेम पनि टिक्दैन ।
अक्का महेश्वरी कर्णाटक राज्यभरिमा सबैभन्दा राम्री केटी थिइन् । उनको सौन्दर्यले मोहित बनाएको थियो सबैलाई । उनी यति राम्री थिइन् कि त्यो क्षेत्रका सबैले प्रशंसा गर्दथे । उनी महादेवकी ठूलो भक्त थिइन् । सधैँ दिव्य मुहार, सधैँ प्रशन्न त्यही कारणले हुन्थिन् । सबैलाई उनको रुपले मोहित बनाउँथिन्। उनी साधारण परिवारकी थिइन्, १२ वर्षमा नै महादेवकी भक्त भएकी थिइन् ।
त्यो कुरा राजाले थाहा पाएर उनलाई माग्न आए । उनका बाबुआमाले धेरै धन लिएर उनले बिहे गर्दिन भन्दा पनि जबरजस्त राजासँग विवाह गरिदिए । उनले महाराजसँग शारीरिक सम्पर्क गर्न नचाहने, छुन पनि नदिने । “महादेव पो पोइ, तपाईं त कोइ न कोइ !” भनेपछि राजाले उनको भित्री वस्त्र समेत लिएर नाङ्गै दरबारबाट निकाला गरिदिए । त्यसपछि उनी गुफामा बसेर ध्यान गरिन् । काव्य सृजना गरिन् । उनी अहिले पनि चिनिन्छिन्, स्तुत्य भएर कर्णाटकभरि । यो घटना बाह्र सय वर्ष अगाडि भएको थियो ।”
आफूलाइ बेठीक लागेको कुरा गर्न छोड्नुहोस्, तपाईंको प्रगति हुन्छ ।
सद्गुरु भन्दछन्, “प्रेमबाट मनको सुख, भावनाको सुख, जीवन ऊर्जाको सुख हामीले भित्रै महसुस गर्न सकिन्छ । बाहिरी वातावरण बनाएर प्रेम गर्दा केही हदसम्म त ठीक होला तर वातावरण सधैँ सबै आफ्ना पक्षमा नहुन सक्छन् । केही हदसम्म मात्र म्यानेज गर्न सकिन्छ, सत प्रतिशत सकिंदैन । किनकि यसमा कयौं शक्ति सामेल हुन्छन् ।”
भनाइ छ, युद्ध र प्रेममा सब कुरा जायज हुन्छ तर यस्तो प्रेमलाई कुन नाम दिने, जुन पूर्ण रूपमा गैरजिम्मेवार छ । उदाहरण स्वरूप मानवशास्त्री सागर थापाले ‘म्यारी ग्रयावरेल’को चर्चित पुस्तक ‘माया र पूँजी’ (लभ एण्ड क्यापिटालिजम) लाई उद्धृत गर्दै भन्दछन्– “मायाको चरित्र वर्गीय हुन्छ भन्ने कार्ल मार्क्स आफैँ मायाको सवालमा बेविरसे र गैरमार्क्सवादी थिए । यस पुस्तकमा बिसौं शताब्दीका महान् चिन्तक मार्क्सका यस्ता लुकेका पहलुहरु उजागर गर्ने प्रयास गरेकी छन् कि उनले आफ्नी दुई जिउकी प्रेमिका पनि एङ्गेल्सलाई जिम्मा लगाएका थिए ।”
पारस्परिकता, सद्भाव, सहकार्य र भावनाले वर्गीय सीमा भेद गर्न सक्दैन भन्ने मार्क्सको निष्कर्ष आफूमा चाहिँ कहिले लागू हुन सकेन ।
हामीले आफ्नो स्वास्थ्य राम्रो बनाउन स्वास्थ्यवर्धक खाने कुरा खाएजस्तै मनको सुख महसुस भावनात्मक प्रेमले गर्न सक्छौं ।
प्रेम कुनै काम होइन, योजना बनाएर गर्नुपर्ने र अभिनय पनि होइन, नाटक गर्नुपर्ने । प्रेम त आफसेआफ हरेक मानिसको मनबाट फुर्छ, एकदम सुन्दर कविता जस्तो ।
मानवशास्त्री इन्द्रबहादुर भुजेल टुइट गर्छन्–
त्यो क्षण
मुटु चर्केर
आँखाबाट बगेको भेल
न त तर्न सकियो
न त बगाउन सक्यो
केवल किनारामा
तिमी उता
म यता ।।
अन्तरआत्माको आवाज हो प्रेम। एक हृदय र अर्कै हृदय जोड्ने पुल हो प्रेम। कुनै सम्बन्ध होइन प्रेम । मुटुमा मीठो धुन भनेर बजिरहने संगीतको झंकार हो प्रेम।
हम नें देखी है उन आँखो की महकती खुस्बु
हाथ से छु के इसे रिस्तेका इल्जाम न दो ।
सिर्फ एहसास है इसे रूह से महसुस करो
प्यारको प्यार ही रहने दो, कोई नाम न दो ।।
गुलजार
(लेखक मानवशास्त्रमा विधावारिधि गर्दै हुनुहुन्छ। )
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।