काठमाडौँ खाल्डोमा प्रख्यात लेखक र बुद्धिजीवीको सर्वकालिक ‘पगरी’ गुथेका एक जना मनुवा छन् । नाम हो खगेन्द्र संग्रौला। यी ‘स्वनामधन्य’ विद्वान्ले नेपाली राजनीतिका एक व्यक्तित्व र पूर्वमन्त्री कमल थापाको तस्बिरसमेत जडेर लेखे, फेसबुक र ट्वीटरमा । आफूसँग राजनीतिक आस्था र विचार नमिलेकै कारण उनले कमल थापालाई मुखै ‘बाँदर’ भने । मण्डले भने र कमल नाममा एकलखे लाएर ‘कमले’ भन्दै ‘मण्डले’सँग अन्त्यानुप्रास मिलाएर तुच्छबाणी गरे ।

व्यक्ति लक्षित उनका यस्ता असभ्य र अशिष्ट भाषाका फुटकर गाली फेसबुक र ट्वीटरमा सधैँ आइरहन्छन् । अलिक लामो अचाक्ली गाली, अलिक विस्तारमा नकारात्मक कुरा र आफ्नो दोहोरो, तेहोरो चरित्र आदि प्रकट गर्नुपर्यो भनेचाहिँ संग्रौला पत्रपत्रिकामा ‘अप एड’ ट्याग लगाएर स्तम्भ वा लेख लेख्छन् । उनका यस्ता गालीगलौज, व्यक्ति हियाइ, समूह हियाइ, कुनै पनि कुराको राम्रो पाटोलाई सर्लक्कै पन्साएर नकारात्मक पाटोलाई अनेक शब्द लेपन र आडम्बरले मोरेर तयार पारेका विषाक्त वचनलाई नेपाली पत्रपत्रिकाका सम्पादकहरु ‘विचार’ नाम दिएर पाठकले नपढी नहुने र पाइनसक्नुको अपार, महँगो मालको रुपमा छाप्न र बेच्न तँछाडमछाड गर्छन् । लिलाम बढाबढमा उनलाई पैसा दिएर तानातान किन गर्छन् सम्पादकहरु उनका यस्ता विकार छाप्न ? बुझिनसक्नु छ ।
बेलाको बोली भनेर छापिने खगेन्द्र संग्रौलाको अखबारी लेखनको पहिचान वा ‘ट्रेडमार्क’ भनेकै गालीगलौज गर्नु, व्यक्तिगत वा समूहगतरुपले मान्छेको मानमर्दन गर्नु, चित्त दुखाउनु र भाषाको सामाजिक शिष्टता र मर्यादालाई बेवास्ता गर्दै अति जान्ने पल्टिनु हो।

कम्तिमा पनि २०४८ सालयता लेखपढ गर्न, वार्ता र बहस गर्न र शास्त्रार्थ गर्नसक्ने बुद्धिविवेकी जमातको भीड हुने देशको राजधानी केन्द्रमा छाएका छन् खगेन्द्र संग्रौला । अनेक मन्च, वार्ता, बहस, कचहरीमा यिनका वचन र बाणीलाई अमृतवचन ठानेर माथाउपर गर्ने धेरै मान्छे छन् होला देशमा, विदेशमा । यिनलाई आफ्नो डबलीमा निम्तो गर्न मरिहत्ते गर्ने, कुम नारेर फोटो खिच्न तँछाडमछाड गर्ने मान्छे नि निक्कै होलान् पक्कै पनि ।

एउटा देशको राजधानी सहरमा बसेर, लेखपढ गरेर, समाज र संस्कृति केलाएर देशका बौद्धिक एवं शिक्षित जनतामाझमा एउटा बौद्धिक व्यक्तित्व र लेखकको पहिचान बनाइसकेका व्यक्ति भनेर चिन्छौँ हामी खगेन्द्र संग्रौलालाई । भलै उनका लेखपढका सबै सामग्रीले त्यस्तो देखाउँदैन । यस्ता व्यक्तिले सार्वजनिक ढङ्गले आफ्नो स्वनागारिक एवं सार्वजनिक व्यक्तित्वमाथि टिप्पणी गर्न प्रयोग गरेको भाषा र त्यो भाषा उब्जाउने उनको चित्त देख्दा यिनलाई ‘वरिष्ठ लेखक’ ‘बुद्धिजीवी’ भनेर सलामी अर्पण  गरिरहने हाम्रो बौद्धिक जमात र हाम्रो शिक्षित पढेगुनेको समाजको हुती र हैसियतमाथि नै प्रश्न उठाउनु पर्ने बेला भएको मैले महसुस गरेको छु ।
संग्रौलाले लेखेका ‘जुनकिरीको सङ्गीत’लगायत केही पुस्तकले समाज रुपान्तरण र सामाजिक न्याय र समानताप्रतिको जनबुझाइलाई विकास गर्न सहयोग पुर्याएका छन् । उनले लेखेर समाजलाई योगदान पुर्याएका छन् तर उनका रुन्चे र नकार चित्तमुखी अखबारी लेखले गर्दा उनको ‘ब्राण्ड’ अर्कै स्थापित भएको छ । उनका धेरै लेख र पुस्तकले मान्छेको धर्म, आस्था, विश्वास, भक्ति, आराधना, संस्कार र परम्परालाई लत्याएका छन् । त्यो आस्था र विश्वासलाई मानेर जिउन चाहने मानिसलाई ‘गँवार’, ‘अन्धविश्वासी’, ‘पछौटे’, ‘चेतहीन’को बिल्ला भिराएका छन् उनका लेख र उनको बौद्धिकताले । लगातार नकारात्मक कुरा गर्नु, नकार ग्रन्थीले प्रेरित हुनु र आफू ‘वरिष्ठ लेखक’ भइरहन मान्छेलाई घोच्नु, दुखाउनु र कहाँ र केमा नकारात्मक कुरा भेटिन्छ भन्दै सुँघ्दै, उधिन्दै हिँड्नु र त्यसलाई टिपेर एउटा लेख छापेर आफ्नो इलम चलाउनु उनको खास पहिचान हो ।
हामी भने संग्रौलाले लेखेपछि…, संग्रौलाले भनेपछि… भनेर उनकै शब्दमा भन्दा उसै ‘मखलेल’ हुन्छौँ ।

खगेन्द्र संग्रौलालाई हाम्रो लेखपढ गर्ने जमातले जति पूजेको छ, सम्पादकहरुले जति भाउ दिएका छन् र जति उनलाई अद्वितीय लेखक, विचारक, ज्ञाता, विज्ञ, अनुवादक भनिएको छ त्यो अनावश्यक र भद्धा छ । एउटा देशले यति धेरै भाउ दिएको मान्छेलाई त कम्तिमा देशबाहिरका दुई चार देशले पनि चिनोस् न लेखक, विचारक, ज्ञाता, विज्ञ भनेर । तर खगेन्द्र संग्रौलालाई मेचीपर्तिर नि कसैले चिन्दैन । हामी भने संग्रौलाले लेखेपछि…, संग्रौलाले भनेपछि… भनेर उनकै शब्दमा भन्दा उसै ‘मखलेल’ हुन्छौँ ।

इजरायलले युभाल नोहा हरारीलाई लेखक, विचारक मान्छ । उनको अन्तराष्ट्रिय ‘क्रेज’ हेरम् । त्यही छिमेकी भारतकी, संग्रौलाले पनि मानेकी अरुन्धती राय छिन् । उनको पनि भारतमा भाउ छ, दुनियाँले नि उसैगरी चिन्छ, बडेबढे पुरस्कार दिन्छ उनलाई लेखेकै काममा लागि । भारतीय मूलकै सलमान रुस्दीलाई हेरम्, उनको नाम र काम कहाँ कहाँ पुगेको छ । अमेरिकी समाजले ‘वाह वाह’ भनेकी लेखक झुम्पा लाहिरीलाई हेरम्, उनी कसरी चिनिन्छन् लेखपढ गर्ने विश्वजमातमा । हामीले संग्रौलालाई ‘सेलिब्रेटी’ मानेजस्तो ब्राजिलको समाजले लेखक पाउलो कोहेलोलाई मान्छ । कोहेलोको काम र कीर्ति हेर्नुस्, कहाँ पुगेको छ ।
माथि उल्लेखित सबै मान्छेका सामाजिक सञ्जालमा आफ्ना खाता छन् । कोही पनि संग्रौलाजस्तो व्यक्तिलक्षित गाली र दुर्वचन बोल्दैनन् ।
काठमाडौँ र देशैभरिको बौद्धिक जमात र सम्पादकहरुले खगेन्द्र संग्रौलालाई हनुमानले काँधमा राम-लक्ष्मण बोके झैँ बोकेर हिँडेको पनि तीसौं वर्ष भइसक्यो अब । बदलामा पाएको भन्या गालीवचन, अशिष्ट भाषा स्कुलिङ, नकारात्मक ग्रन्थीप्रेरित उछितो कढाइ, बोली, वचन, विचार, रायमा रङ र भाका फेरिरहने छेपारे प्रवृतिको पाठ आदि ।
लेखकबाहेक खगेन्द्र संग्रौलालाई काठमाडौँले राजनीतिक/सामाजिक अभियन्ता, नागरिक अगुवा पनि मान्छ क्यार । तर संग्रौला कुन अडान, कुन दृष्टि र के प्रतिबद्धताले नागरिक अगुवा हुन् ? कसैले भन्न सक्दैन । कसको लैबरी र कताको ‘होहोरे’मा लागेर कता नाच्न वा धर्ना बस्न निस्किने ‘बौद्धिक सेलिब्रेटी’ हुन् उनी ? कसैको अक्कल बुद्धिले चिन्न र भ्याउन सक्दैन ।
अस्ति भर्खर संग्रौलाले एउटा लेख लेखे, शिलापत्र अनलाइनमा । ‘ज्यान विदेशमा, मन नेपालमा’ शीर्षकमा । त्यसमा उनले अमेरिका, क्यानाडा, अष्ट्रेलिया, युरोपतिर बस्ने नेपालीलाई हदैसम्मका दु:खी आत्मा देखे । संग्रौलालाई आदर्श मान्नेहरुले उनको त्यो लेखलाई ‘अमृतपुराण’ नै ठानेर पढे होलान् ।
त्यो लेख पढेपछि मलाई सानो छँदाको मैले नियालेको एउटा प्राकृतिक घटनाको सम्झना भयो । म सानो हुँदा बारीमा टट्टी गर्न बस्थें । एउटा ठूलो खालको झिँगोले खोइ कहाँबाट अघि थाहा पाउँथ्यो म बसेको कुरा र भुइँय…. भुन्भुनाउँदै उडेर आइपुगिहाल्थ्यो । एक दिन पछाडि फर्केर हेरेँ, त्यो झिंगोले गर्नेचाहिँ के रहेछ भनेर । झिँगोले त ठाउँ सरिसरि भुनुन्न भुनुन्न उड्दै जिउँदा औंसा पो पितिकपितिक हग्दै छोड्दै गर्दोरहेछ टट्टीमा । त्यो औंसा हग्ने झिँगोजस्तै जहाँ पुग्यो त्यहाँको वातावरणलाई विषाक्त बनाउने, ब्याक्टेरिया छोड्ने र परिस्थितिलाई कुहिएको, सडेको मात्रै देख्न चाहने पारा देखेँ मैले संग्रौलाको लेखकीय चित्तमा पनि।
मुखले भैगोभैगो भन्दै हातले चाहिँ अघि जिप्ट्याइसक्छौँ । हुन्न हुन्न भन्दै हुन्छ भन्छौँ । जाने जाने भन्दै रातै बास बस्छौँ । संग्रौला यस्तै दोहोरो चरित्रका नौरङ्गी लेखक हुन् ।
एसियाली समाजमा अङ्ग्रेजीको ‘ambivalence’ ले भन्ने ‘यो पनि सही, त्यो पनि सही’, ‘म यताको पनि, म उताको पनि’ खाले दोहोरो चरित्र अधिक हुन्छ भन्ने एउटा पश्चिमा साहित्य पढेको थिएँ कतै । ‘डबल स्ट्यान्डर्ड’ हुने भनेर त नामै कमाएको कुरा हो रहेछ हामी एसियालीले पश्चिमाहरुको बुझाइमा । हाम्रो नेपाली समाज पनि अछुतो हुने त कुरा भएन यो वृत्तिको । हामी कसैले दिएको चिया खान्नखान्न भन्दै पनि खान्छौँ । भोक लाग्या छैन भन्दाभन्दै दुई थाल हसुर्न सक्छौँ । मुखले भैगोभैगो भन्दै हातले चाहिँ अघि जिप्ट्याइसक्छौँ । हुन्न हुन्न भन्दै हुन्छ भन्छौँ । जाने जाने भन्दै रातै बास बस्छौँ । संग्रौला यस्तै दोहोरो चरित्रका नौरङ्गी लेखक हुन् ।
हाम्रा धेरै नेपाली दाजुभाइ काम गर्न  मध्यपूर्वका देशमा जान्छन्, जहाँ अधिक गर्मी हुन्छ, गाह्रो र जोखिमयुक्त काम हुन्छ, कमाइ थोर हुन्छ, सुरक्षा चुनौति अत्यन्तै धेर हुन्छ । यस्तो काममा जाने बहुसङ्ख्यक नेपाली जता नि दु:ख र गरिबीमा पिल्सिएका हुन्छन् । कम शिक्षादीक्षा भएका र पाखुरी बजार्ने श्रम गर्नबाहेक अर्को उपाय र इलम नभएका हुन्छन् । त्यहाँ जानु, गइरहनु, परेको सहनु, बुझाउनु उनीहरुको बाध्यता हो । देशमै सुख भेटिने भए परिवार छोडेर सामान्यत: कोही मनुवा पर जाँदैन । यसरी गएको नेपाली मान्छे कति मारिन्छ, अङ्गभङ्ग हुन्छ, बेपत्ता हुन्छ, कति उतै बेसाहारा हुन्छ र गुमनाम बिलाउँछ । तर त्यहाँ जाने सबै मान्छे त्यस्तो अक्कर दु:खभोगी मात्रै भने हुँदैन। सुकिलामुकिला जागिर र जीवनशैलीमा रमाएको नेपालीको पनि ठुलै जमात छ त्यहाँ ।
दोहोरो मापदण्डको चित्तशैलीले ग्रस्त काठमाडौँको कला र साहित्यले अरबमा मर्ने र दु:ख पाउने नेपाली दाजुभाइ दिदीबहिनीका नाममा भावविभोर भएर कला सिर्जना गर्छ । भिडियो बनाउँछ, दोहोरी गाउँछ, लघुसिनेमा खिच्छ, कविता र गजल भजाउँछ, काठका बाकस देखाउँछ । ‘तिमी उता म यता’ भनेर उसै रोहिरहेको मनमा भक्कानो फुटाउन लाउँछ । चालीस कटेसी रमाउँला भनेर जोईपोइको हरिबिजोग देखाएर भक्कुर भाइरल भएर अरुका आँसु र दु:ख बेचेर पैसा कमाउँछ काठमाडौँ । तर त्यही कलाकार, त्यही साहित्यकार, त्यही सर्जक र अभियन्ता त्यही बालुवाको देशमा र अन्य विकसित देशमा सपरिवार बसेर चालीसै नकटी रमाइरहेका, अथक मेहनत र पसिना झारेर युरोपेली मापदण्डको जीवन बाँचिरहेका आफ्नै नेपाली दाजुभाइ, दिदीबहिनीहरुको सुख र आर्जनलाई सुन्न नि चाँहदैन। मरिमेटेर काम गरेपछि कामबाट बिदा लिएर छुट्टी मनाइरहेका नेपालीको दृश्यलाई यो गोहीका आँसु खसाउने जमातले सहनै सक्दैन । किनभने त्यहाँ आँसु देखिएन, त्यहाँ मृत्यु देखिएन, त्यहाँ घरपरिवारमा बिछोड देखिएन, त्यहाँ मालिकले चाकमा लात्ती हान्दै काममा लाएको दृश्य छैन ।
‘कथित’ किन भनेको भने वास्तविक ‘बुद्धिजीवी’ले कालोलाई कालो र सेतोलाई सेतो नै देख्ने ‘भ्यालु न्युट्रल’ दर्शनमा बाँच्न प्रयत्न गर्छ, र आलोचना, समालोचनाले मान्छेलाई तिखार्ने कुरा मान्छ ।
विदेशमा बसेर धेरै सुख नपाए पनि अरबका देशमा नेपाली दाजुभाइले जस्तो दु:खभुक्त गर्नु नपरेका नेपालीहरुको शान्तसुखाय जीवनलाई कथा, गीत, दोहोरी, लघुसिनेमा, कवितामार्फत् देखाउन उनलाई जरुरी नै हुन्न । बरु त्यस्तो शान्ति र तुलनात्मक रुपले सुख भएकोलाई बिथोल्न, भाँड्न र दु:खी, निराश बनाउँन काठमाडौँले खगेन्द्र संग्रौलाजस्ता ‘कथित’ बुद्धिजीवीलाई पैसा दिएर पो खटाउँछ । ‘कथित’ किन भनेको भने वास्तविक ‘बुद्धिजीवी’ले कालोलाई कालो र सेतोलाई सेतो नै देख्ने ‘भ्यालु न्युट्रल’ दर्शनमा बाँच्न प्रयत्न गर्छ, र आलोचना, समालोचनाले मान्छेलाई तिखार्ने कुरा मान्छ । तर, कथितले मौसमको तालमा कालोलाई सेतो र सेतोलाई कालो भनेर आफ्नो बुद्धिको व्यापार गर्छ, लेखेर, बोलेर भ्रम सिर्जना गर्छ, आफ्नो स्वार्थको छिपछिपे बुझाइभन्दा भित्र गएर सत्य खोतल्न उधिन्न जाँगर गर्दैन र आलोचना सहँदैन । संग्रौलालाई म दोस्रो कोटी अर्थात् ‘कथित’ कोटीको देख्दै आएको छु वर्षौंदेखि।
संग्रौला अमेरिका, क्यानाडा आदि विकसित देशमा बस्ने नेपालीलाई हदैसम्मका दु:खी देख्छन् । उनी यो तर्कलाई पुठ दिन मान्छे जन्मेको ठाउँ र गाउँको, संस्कार र संस्कृतिको, झारपात र जङ्गलको, चाडबाड र पर्वको, प्राण र प्रणयको, जन्म र मृत्युको भावुकमय बखान दिन्छन् र हामीलाई यी सबैथोक गुमाएका दु:खी आत्मा भन्छन् ।

आफूलाई ‘मार्क्सवादी’, ‘प्रगतिशील’ भन्ने यी संग्रौला दोहोरो चरित्रको होइन सच्चा ‘मार्क्सवादी’ र ‘प्रगतिशील’ हुन् भने मान्छेलाई क्षेत्र, धर्म, संस्कार, परम्परा, स्थानीयत्व आदिका आधारमा भेद गर्ने, फरक पार्ने र सुखी र दु:खी देख्ने अधिकार कहाँबाट पाए उनले ? आफैंले चाहिँ यो धर्म, संस्कार, परम्परा र नेपालीपनका सबैकुरा देशमै बसेर पनि त्यागेर चल्दा, अरुलाई नि त्याग्न, छोड्न, खिसिट्युरी गर्न कन्दनी छिन्नेगरी बल गरेर लेख्दा, बोल्दा, वक्ता सुखी भइने हामीले चाहिँ विदेश गएर यी कुरा छुट्दा दु:खी भइने ? यी सबै पहिचानजन्य तत्व नामेट गरेर मान्छेको त ‘अन्तर्राष्ट्रिय जात’ हुनुपर्ने होइन उनले मान्ने ‘गीता’ अनुसार ? श्रम गरेपछि र श्रमको उचित मूल्य स-सम्मान भेटेपछि होइन मान्छे सुखी हुने मार्सवादी महोदय ? ‘जता मल्खु उतै छुचो मुख ढल्कु’ भएपछि आउने दृष्टिदोष र दोहोरो चरित्र भनेको यही होला सायद ।

यस्तै पानीपानी तर्क गरेर, कल्पित विचार छरेर र मान्छेलाई हुण्डीमुण्डीमा भ्रम दिएर ‘वरिष्ठ लेखक’को पगरी लाएकोलाई गर्न सफल संग्रौलाको कुनै खास दिगो इलम छैन । अनेक गाली, नकार ग्रन्थी र अशिष्ट भाषाको जोडजाम गरेर तर्कले विसङ्गत, विचारले मौसमी र सौन्दर्यले कुरुप कुरा लेखेर आफ्नो भातभान्सा जुटाउने खगेन्द्र संग्रौला दु:खी कि हामी विदेशमा बसेर मेहनतको कमाइले चालीसै नकाटी ‘वर्ल्ड क्लास’को औसत जीवन जिउने नेपाली दु:खी ?

मानव बसाइँसराई भावनाको वशमा थामिएर बस्ने कुरा नै होइन । न त मान्छेको जात अन्य प्राणीजस्तो याकलाई सोलु, गधालाई नेपालगन्ज भनेजस्तो प्राणी हो । बसाइँसराइ हुँदैनथ्यो भने संग्रौलाले नि आफूलाई पाँचथर ‘सुभांगका संग्रौला’ भन्न पाउने थिएनन् ।

बसाइँसराई मानवीय व्यवहार हो । कोही लेखक, नेता वा अभियन्ता राष्ट्रियताको भावनामा चुर्लुम्मै डुब्यो आफ्नो भातभान्सा जुटाउन भनेर मान्छेको ठाउँ सरेर जिउने क्रम रोकिँदैन । यो आम मानिस प्रवृति हो । दुई चार पेसेवरहरुले बसाइँसराई हुनुहुँदैन, राम्रो होइन भन्दा, विभिन्न भूगोलमा बस्न गएका नेपाली दु:खैदु:खको सागरमा डुबेका छन् भन्दा सत्य बोलेको र सत्य देखेको हुँदैन । अखबारमा आएपछि कानै नछामी पत्याउने हामीलाई धेरै लेखक भनिएकाहरुले धेरै झूठ पढाएका छन् । धेरैभन्दा धेरै सम्पादकहरुले ढाँटिरहेका छन् । प्रश्न गरेर मात्रै पत्याउने बानी बसालौँ ।

नेपालीहरु आज दुनियाँका एक से एक सम्पन्न देशमा उल्लेख्य मात्रामा बस्न पुगेका छन् । मेहनत र इमानको कमाईले सुखी र समृद्ध जीवनयापन गरिरहेका पनि छन् । दुनियाँका चालामाला, संस्कार, संस्कृति, भाषा, भेषलाई नजिकबाट जान्न, बुझ्न पाएका छन् । अनेक भाषा सिक्न, अनेक देशका मान्छेसँग भलाकुसारी गर्न र तीनका खानपान चाख्न पाएका छन् । प्रतिष्ठित विश्वविद्यालयहरुमा पढ्न पाएका छन् । अनेक अन्तराष्ट्रिय मञ्च र समुदायमा ‘नेपाली हुँ’ भनेर उपस्थिति जनाइरहेका छन् । आफूले सिकेका ज्ञान, सीप र अनुभव आफ्नो मातृभूमिको हितका खातिर अनेक हिसाबले पैठारी गरिरहेका छन् । गाउँगाउँमा सकेको सहयोग र परोपकार गरेर नेपाली दाजुभाइ दिदीबहिनीलाई सजातीय र सहृदयी व्यवहार दिइरहेका छन् ।

हामी दु:खी, बेचैन छैनौ विदेशमा । चाडबाड आउँछन् दशैँ, तिहार, तीज, माघे संक्रान्ति, फागु, असार पन्ध्र । हाम्रा नेपालका आफन्त, बाआमा, बन्धुबान्धवहरुसँग गफ गरीगरी, खाएको दही-चिउरा-केरा, पकाएको सेल, खीर, खट्टे र ढकने भिडियो वार्तामै सही देखाई देखाई, नेपाली नै  बोलेर, नेपाली पाराले जिब्रो फड्कारेर खान्छौँ हामी । साथीभाइ, इष्टमित्र बोलाएर, उनकामा गएर घुमीघुमी, गद्दामा बैठक बसाएर, उप्परखुट्टी लाएर खान्छौँ हामी उतैजस्तो ।

संग्रौलालाई कुनै पीर नपारी यता आएर आफ्नो गरी खाँदा पनि खेद्दैखेद्दै यहीँ आइपुगेर चियो गर्दै जगतकै दु:खी करार गर्नुपर्ने हामीलाई ?

यो नराम्रो हो ? के नेपालीले नर्थ सेन्टिनल आइल्यान्डका कविलाले जस्तो बाहिरी संसार र अन्तर्राष्ट्रिय समुदायका मान्छेसँग सम्बन्धविच्छेद गरेर, कतै नगएर, कसैलाई आफ्नो छेउमा आउन नदिएर आदिम जीवन बाँचिदिनु पर्ने हो कुनै लेखकका लागि ? संग्रौलालाई कुनै पीर नपारी यता आएर आफ्नो गरी खाँदा पनि खेद्दैखेद्दै यहीँ आइपुगेर चियो गर्दै जगतकै दु:खी करार गर्नुपर्ने हामीलाई ?

हामीलाई आफू जन्मेको हुर्केको देश छोडेर हिँड्न कसैले घिच्चुकमा ताकेर बाध्य पारेको होइन । देश छोडेर अन्तै बसाइँ गएपछि के के छुट्छन् के के साथै आउँछन् भन्ने थाहा नपाएको मान्छे नि छैन होला । त्यहाँका चिलाउने, कटुस, पिपल, वर छुटे तर तिनको सट्टामा धर्तीमाताको अर्को कुनामा आस्पेन, बर्च, मेपल, ओक, विल्लो उम्रिँदा रहेछन् । तिनले नि उसैगरी प्राणवायु र गर्मीमा सित्तलसँयाल दिने रहेछन् । यता यिनैले काम चलाइन्छ ।

हाम्रा त लौ देउराली, चौतारी छुटे, ढुकुर र कोइली छुटे । तर यी कुरा नछुटेका तर छुटाउन सारै नै आत्तुर धेरैले सोध्छन् कसरी चढ्ने होला प्लेन भनेर दिनैपिच्छे । उत्तर भर्दाभर्दा दिग्दार छु म एक किसिमले । ‘खगेन्द्र संग्रौलाको लेख पढ र देशमै बस’ भन्न मात्रै सकेको छैन मैले साथीसँगी, इष्टमित्र, भाइभतिजहरुलाई ।

हाम्रा धेरै कुरा छुटे तर धेरै थपिए पनि । आँगनबारीमा चर्न आउने चराहरु म्यागपा, सिगल, रेबन, जुनकोहरु हाम्रा साँझ र बिहानीमा थपिए । बलेँसीको छिमेकमा अर्कै महादेशबाट आएका इथियोपियनको ‘इन्जेरा’ र जर्मनको ‘कार्टोफेलपफर’ चाख्न पाइएको छ । प्रातभ्रमणमा जाँदा बारीको फर्सी र साग टिपेर ‘ला खा’ भनेर दिने इटालियन इष्ट थपिए जीवनमा । बारीको स्याउ टिपेर खाँदो खा भनेर दिने कोलम्बियाली ‘पल्लाघर’ भेटियो यसै जुनीमा । पालेको बिरालो रुख चढेर ओर्लिन नसक्दा आफ्नो घरको भर्यांग ल्याएर रुख चढी तत्काल बिरालोको उद्दार गरिदिने रोमानियाली ‘माथ्लाघर’ भेटियो यता। आफ्नो खेतमा फलेको एक धोक्रो आलु सित्तैमा घरै ल्याइदिने बाउपट्टि न आमापट्टिका युक्रेनीयन ‘तल्लाघर’ सँधियार थपियो जीवनमा । यस्ता थपिएका र बाहिरफेरको दुनियाँ देखेर सिकेका, मनन् गरेका कुरा धेरै छन् । भनी साध्य हुँदैन ।

मान्छे जतिसुकै देश, राष्ट्रियता, धर्म, संस्कार, पहिचान, नातागोताको लहरो, धर्तीपुत्र आदिको मान्यताले जेलिएको भए नि बाँच्ने भनेको आफूले हो । अन्तत्वगत्वा, आफूको आफ्नो मोहभन्दा अरु कुरा परका हुन् । आफूलाई आफैँले अपनाउन छोडेका दिन यी यावत कुराको कुनै अर्थ हुन्न । एउटा औसत मान्छेको औसत आयु ८० वर्ष मान्ने हो भने पहिलो ३० वर्ष खुट्टो टेक्न सिक्दासिक्दै जान्छ । ६० भन्दा माथिको जीवन जीवनको रङ, रहुस र उर्जाले नै त्यति आकर्षक जीवन हुन्न । भने, बीचको ३० देखि ६० को ३० वर्षे जीवनभोग, आर्जन र उपलब्धीका लागि मान्छे बसेको संसारमा जहाँ मन लाग्छ त्यहाँ गएर बस्छु भन्ने स्वायत्त निर्णय कसैले किन गर्न सक्दैन ? अर्थात्, सक्दो रहेछ, पाउँदो रहेछ ।

भावनाको खाल्डो भनेको पनि विस्तारै मल्हम लाग्दै पुरिदै जाने कुरा रहेछ । पुर्खाहरु बर्मा गए, आसाम गए, मणिपुर गए, भोटाङ गए । दु:खी भए कि सुखी भए । तर रोकिएनन् गइरहे । चित्त नबुझे फर्किएर आए । आज लाखौँ नेपाली संग्रौलाले तोकेका अमेरिका, क्यानाडा, अष्ट्रेलिया, र युरोपका देशमा सपरिवार बसिरहेका छन् । कोही व्यापारमा छन्, कोही सरकारी नोकरीमा छन्, कोही निजी क्षेत्रका सेवामूलक काम र इलममा छन् । कोही स्कुल, कलेज र विश्वविद्यालयका मास्टर छन् । संग्रौलाले लेखेजस्तो पीडीत, असहाय र न अडिन सक्ने न फर्किन सक्ने अक्कर र बिलखबन्दमा कोही पनि छैनन् । बसिबियाँलो गफका लागि गफ कसैले गरेको सुनेर लेखक बहकिएको भए बेग्लै कुरा ।

नागरिकको सेवामा राज्यका सबै स्रोत र साधन अहोरात्र प्रभावकारी काम गर्छन् । लिङ्गीय भेदका आधारमा कसैलाई दबाइन्न ।

हाम्रा छोराछोरी विश्वस्तरीय नि:शुल्क शिक्षा हासिल गरिरहेका छन् । हामीलाई रोग, बिराम लागेमा सरकारले नि:शुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिन्छ । चौबीसै घण्टा स्वच्छ सफा पिउने, चलाउने पानीको गङ्गा घरघरमा बगेको छ । इन्टरनेटको छेलोखेलो छ, कहिले लोडसेडिङ हुँदैन । भर अभरमा राज्यले नागरिकलाई काँध हालेर मर्न दिँदैन । नागरिकको सेवामा राज्यका सबै स्रोत र साधन अहोरात्र प्रभावकारी काम गर्छन् । लिङ्गीय भेदका आधारमा कसैलाई दबाइन्न । यता आएपछि धेरै भन्दा धेरै सरकारी कागजात बनाउने, पाउने र अड्डा अफिसमा जाने काम परिरहन्छ । ढिलासुस्ती र लप्पनछप्पनले कहीँकतै दु:ख दिएको छैन आजसम्म ।

जहाँ मानव विकास सूचाङ्क विश्वकै अग्रणीमध्येमा पर्छ, जहाँ प्रतिव्यक्ति आय र आयु उत्कृष्ट छ, जहाँ प्रजातन्त्र र नागरिक स्वतन्त्रतामा कुनै सम्झौता हुँदैन, जहाँ बाटोघाटो आवतजावतका लागि घरघरमा निजी मोटर कार र छुँदा मैलो लाग्लाजस्ता सडक छन्, जहाँ बजार र खाद्य गुणस्तर इमानी र पारदर्शी छ, जहाँ कुनै पनि सरकारी कामकाजका लागि कुनै घुस, नजराना कहिले कतै टक्र्याउनु नपरी तुरुन्त काम हुन्छ, जहाँ खट्छु, मेहनत गर्छु, पाखुरी बजार्छु भन्नेलाई अवसरै अवसर छ, त्यस्तो ठाउँमा बसेका छन् उल्लेखित देशमा नेपाली ।

त्यस्तो ठाउँमा बस्ने नेपालीलाई एक जना भीमकाय लेखक र विद्वान् कहलिएका व्यक्तिले हदैसम्मका दु:खी दर्ज गरेर हौवा पिट्दा, लेख्दा लेखक संग्रौलालाई प्रश्न गर्न मन लाग्यो । संग्रौला सर, दु:खी तपाईं कि हामी ?

जस्तो ठाउँठहरमा बसे पनि, ‘राष्ट्रियता’, ‘अराष्ट्रियता’ जपे पनि नजपे पनि एउटा काया बाँचुन्जेल न हो बाँच्ने । आफू बाँच्दाबाँच्दै यो सब आफैँले देखभोग गरिएन भने त गुम्यो चोला । एक वर्षपछि त आफ्नै सन्तानले बिर्सिन्छ । आफ्नो बाउ, बाजे कहाँ जन्म्यो, कहाँ हुर्क्यो र कहाँ मर्योसँग अबको पुस्तालाई खासै चासो नि हुन्न । अबको मान्छे एउटा ठाउँमा नाभी गाडेर बस्दा नि बस्दैन । जे जति देख्ने, भोग्ने र प्रयोग गरी हेर्ने हो जीवनलाई यो ‘प्यारो चोला’ हुँदै गरी भ्याइएन भने मरेपछि त ‘खा बाबै केरा’ भनेकै छ !

नलेख्दा नि हुने कुरा आफ्नो इलम धान्नका लागि लेख्ने र कुरा कथुर्ने कुनै लेखकले जिम्मा लिन्छ भोलि कतै नगई, केही नदेखी, नभोगी मरियो भने ?