१९८९ माघ १ मा काठमाडौँको इन्द्रचोकमा जन्मनु भएका पोषण पाण्डेको पहिलो कविता २००६ सालमा प्रकाशन भएपछि साहित्य जगतमा पाइला चाल्नु भएको थियो । २०१३ सालमा पहिलो पटक कथा प्रकाशित भयो । उहाँको २०२३ सालमा आँखिझ्याल, मानस (२०२३), हिउँमा परेका डोबहरू (२०३३) कथासङ्ग्रह तथा २०२५ सालमा कविता सङ्ग्रह वटवृक्ष प्रकाशित भए ।
उहाँ २०१३ सालमा आयोजित कथा प्रतियोगितामा पुरस्कृत हुनुभयो भने २०२० सालमा कविता विधातर्फ नेपाल एकेडेमी पदक प्राप्त गर्नुभयो । यस्तै २०३४ सालमा रत्नश्री स्वर्ण पदक, प्रवल गोरखा दक्षिण बाहु (२०२६), २०४८ मा सिद्धिचरण पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कार प्राप्त पाण्डेको २०४९ साल वैशाख ७ गते ५९ वर्षको उमेरमा निधन भएको थियो ।
उहाँको परिवारले २०७७ सालमा 'पोषण पाण्डे- तीर्थ सदन' नामक सामाजिक संस्था स्थापना गरी उहाँका अप्रकाशित कविता संग्रह "मेरी नैनी" प्रकाशनमा ल्याएको छ ।