
मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एन्ड ट्रेड सर्विसेस इंडिया प्रालिको संयुक्त आयोजनामा भदौ २१, २२ र २३ गते काठमाडौँ, भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ ।
तेस्रो पटक आयोजना हुन गइरहेको यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका १५० भन्दा बढी स्टलहरू रहने छन् । प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहनेछ ।
आयोजकका अनुसार आफ्नै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरूबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलीकरण गर्दै लैजान एवं ऊर्जा तथा विद्युतीय व्यावसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना हुने छ ।
विद्युतीय उपकरणलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

