प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गलाई टिस्टुङमा अवस्थित टिस्टुङ रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बीच सम्पन्न सम्झौतामा टिस्टुङ रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन तथा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ म्यानेजर सविन शम्शेर राणाद्वारा हस्ताक्षर गरियो ।

सम्झौताअनुसार प्रभु बैंक लि.का कर्मचारी तथा ग्राहकवर्गले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

मकवानपुर जिल्ला बागमती प्रदेशको मुख्य केन्द्रविन्दु तथा वागमती प्रदेशको राजधानीसमेत हो । उक्त रिसोर्ट मकवानपुर जिल्लाको उत्तरी भेगमा अवस्थित रहेको छ भने काठमाडौँ उपत्यकाबाट दक्षिण-पश्चिमको भागसँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ । विभिन्न जातजातिहरूको बसोबास रहेको यो स्थान समुद्री सतहबाट १७०३ मि. उचाईमा रहेको छ ।

इन्द्र सरोवर (कुलेखानी), वज्रवाराही मन्दिर कुन्छाल बस्ती यहाँका प्रमुख आकर्षक गन्तव्य स्थल हुन् भने कृषि पेशा अर्को यहाँको प्रमुख विशेषता हो । आलु, काउजी, बन्दा, मुला, स्कूस, जस्ता यहाँका कृषि उत्पादन काठमाडौँसम्म बिक्री वितरण हुने गर्दछ ।

आन्तरिक तथा वाह्य पर्यटकहरू यहाँ शितलता र आनन्द प्राप्तिको लागि आउने गर्दछन् । विशेषगरी गर्मी याममा गर्मी छल्नका लागि बढी पर्यटकहरूको आगमन हुने गरेको पाइन्छ ।