काठमाडौँ, असार ९ / माछापुच्छ्र्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन, लैनचौरमा हस्ताक्षर गरेका थिए ।

मोबाइलमा डेटा सकिएपछि ब्यालेन्स नकाटिने र अन्य सुविधाहरू रहेको एनसेलको ‘सधैं अन’ योजनाअन्तर्गत गरिएको यस सम्झौताअनुसार, अब माछापुच्छ्र्रे बैंक लि.मा आफ्नो खाता भएका एनसेलका ग्राहकहरूले बैंकको मोबाइल बैकिङ एप एमबिएल एम–स्मार्टको चेक आउट सेवा प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका साथै सेवा, सुविधाहरू खरिदका लागि भुक्तानी गर्न सक्नेछन् । यसैगरी एनसेलका वितरक तथा खुद्रा बिक्रेताहरूले पनि रिटेलर्स एपमार्फत सिधै माछापुच्छ्रे बैंकको खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई सहज बनाउँदै सधैं अन रहन सहयोग गर्ने विश्वास एनसेल र माछापुच्छ्रे बैंक लि.ले लिएको छ । एनसेल एपमा अन्य सुविधाहरू पनि रहेका छन् जसले ग्राहकहरूलाई देशभित्र मात्र नभई देश बाहिर रोमिङमा रहँदा पनि सुविधा प्रदान गर्नेछ ।

माछापुच्छ्रे बैंक लि.नगदरहित बैकिङलाई बढावा दिँदै पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यका साथ निरन्तर अगाडि बढिरहेको छ । फरक–फरक माध्यमहरूमार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरूका लागि नवीन उत्पादन र सेवाहरू ल्याउन माछापुच्छ्रे बैंक लि.सधैँ तत्पर रहँदै आएको छ ।