
माछापुच्छ्रे बैंक लि.ले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ ।
वैशाख ४ गते मंगलबारका दिन आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंक लि.का अध्यक्ष रोशन केसीले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको हो ।
उक्त समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँले माछापुच्छ्रे बैंक लि.ले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशी व्यक्त गर्दै बैंकलाई अझै उचाईमा लग्न बैंक संचालक एवं व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा बोल्दै बैंक संचालक समितिका अध्यक्ष रोशन केसीले माछापुच्छ्रे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बिनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा निक्कै हर्ष लागेको बताउनुभयो । साथै बैंकले गुणस्तरीय सेवा प्रदान गर्न कुनै पनि कुरामा सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एवं बैंकका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
