प्रभु बैंक लि. र नेपाल क्लियरिङ हाउस लि. का बीच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मि पन्त र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभयो ।
प्रभु बैंक र क्लियरिङ हाउसबीच सम्पन्न सम्झौताबमोजिम अन्तरदेशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरू भएपछि नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनै पनि युपिआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफ्नो खातामा सिधै रकम पठाउन सक्ने सुविधा उपलब्ध हुने बताइएको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक रूपमा रू. १५ हजार र मासिक रू. १ लाखसम्म भारतीय रूपैयाँ भारतमा पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ ।
यसैगरी भारतमा रहेका नेपाली नागरिकहरूले पनि युपिआई इनबिल्ट एपहरू प्रयोग गरी त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रही नेपालमा प्रभु बैंकको युपिआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने व्यवस्था समेत मिलाइएको छ । हाललाई भने भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार दुई लाख भारतीय रूपैयाँसम्म र खाता नभएको खण्डमा एक वर्षमा १२ वटाभन्दा बढी कारोबार ननाघ्ने गरी आफूलाई पायक पर्ने भारतीय बैंकबाट प्रति कारोबार ५० हजारसम्म भारतीय रूपैयाँ पठाउन सक्ने व्यवस्था रहेको छ । यो अन्तर्देशीय विद्युतीय भुक्तानी सेवामा आबद्ध ग्राहकहरूले नेपाल तथा भारतीय नियामक निकायद्वारा तोकिएको सीमा बमोजिमको रकम सहजै अन्तर्देशीय कारोबार भुक्तानी गरी अधिकतम लाभ उठाउन सकिने बैंकले विश्वास लिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।