माछापुच्छ्रे बैंक डिजिटल कारोबारमा आधुनिक प्रविधि भित्र्याई सोको प्रवर्द्धन, सम्बर्द्धन तथा कार्यान्वय गर्ने बैंक मध्येमा अग्रस्थानमा रही आएको छ । दिनानुदिन डिजिटल कारोबार संख्या वृद्धि हुँदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उद्देश्यले माछापुच्छ्रे बैंक लि.ले डिजिटल माध्यमबाट भएका कारोबारमध्ये कुनै कारोबार असफल भएको अवस्थामा उक्त असफल कारोबारलाई मोबाइल बैंकिङ एप र वेबसाइटमार्फत बैंकमा रिपोर्ट गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।

जसअन्तर्गत असफल भएको कारोबारलाई रिर्पोट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेको छ भन्ने कुराको अपडेट हेर्न सकिन्छ । साथै, असफल कारोबारको समस्या समाधानपश्चात रकम फिर्ता भएको जानकारी मेसेज र इमेलबाट ग्राहकलाई गराइन्छ ।

विज्ञान र प्रविधिका अनेकन आयामहरूलाई प्रयोगमा ल्याई आफूलाई स्मार्ट बैंकको रुपमा परिचित गराइरहेको माछापुच्छ्रे बैंकले असफल डिजिटल कारोबारहरू बैंकसम्म नआइकनै जहाँकहीँ बसेर बैंकमा जानकारी गराई असफल कारोबारको रकम खातामा फिर्ता लिनको लागि ग्राहक बैंकसम्म आउनुपर्ने, फोन गरिरहनुपर्ने झन्झटबाट मुक्त गराउन यस्तो सुविधा प्रदान गरेको हो ।

यसअन्तर्गत ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिपोर्ट गर्न सक्नेछन् । यसरी ग्राहकको रिपोर्ट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रक्रियाअगाडि बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्बन्धित रकम आफैँ फिर्ता गर्नेछ ।

स्मार्ट बैंकको रुपमा बैंकले आफ्ना ग्राहकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यम तथा उपकरणहरू प्रदान गर्दै आएको र विभिन्न डिजटिल बैंकिङ सेवा सुविधाहरू प्राप्त गर्न बैंकको कार्यालयसम्म पुग्नै नपर्ने गरी सेवासमेत प्रदान गरिरहेको छ ।