माछापुच्छ्रे बैंक लि, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटीटेकले मिति पुस ०२ गते एकीकृत व्यापारी व्यवस्थापन प्रणाली (गेट पे) सञ्चालन गर्न त्रिपक्षीय सम्झौता गरेका छन् ।

उक्त सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बा, सिटीटेकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकका तर्फबाट नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गर्नुभएको थियो ।

नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक एप संचालनमा आइसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र संजाललाई बैंक र व्यापारीहरूले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन् । सम्झौताले व्यापारीहरूको हाल भुक्तानी उपकरण तथा सञ्जालसँग अलग अलग रजिष्ट्रेसन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एउटै प्लेटफर्ममार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ ।

यसका साथै हाल प्रचलनमा आइरहेका सबै भुक्तानी उपकरणहरू तथा सञ्जालहरूलाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीहरूलाई सेवा लिन र दिन सहज हुनेछ भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्त्वपूर्ण डाटाहरूको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरूमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेशन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरुलाई बैंकहरुले अझ परिष्कृत सेवाहरु प्रदान गर्न सहज हुने लगायतका विशेषता गेट पे मा रहेका छन् । सम्झौतापछि, तीनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नयाँ आयामको रुपमा थपिने दाबी गरेका छन् ।