साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नेपाली लेखाइमा विन्दुको प्रयोग गर्ने सजिलो तरिका

एक थरी प्राधिकारले चाहिँ डिकोमाथि मात्रा नभए चन्द्रविन्दु र मात्रा भए शिरविन्दु लेख्ने नियम बनाएको पाइन्छ र तिनले कैंडा, ऐंठन, देखें हेरें, काठमाडौं, गयौं आदि लेख्न सिफारिस गरेको पाइन्छ ।

Chovar Blues Mobile Size

नेपाली लेखाइमा शिरविन्दु र चन्द्रविन्दुलाई वर्णविन्यासकै रूपमा नियमन गर्नुपर्ने मान्यता राखिएको छ। शिरविन्दु स्वरध्वनिपछि उच्चारण हुने नाके व्यञ्जन वर्णको चिह्नक हो। चन्द्रविन्दुचाहिँ स्वरमै टाँसिएर उच्चारण हुने नाके ध्वनि (खण्डेतर स्वनिम) को चिह्नक हो। यिनको उच्चारण गराइलाई ख्याल गर्ने हो भने कुन ठाउँमा शिरविन्दु र कुन ठाउँमा चन्द्रविन्दु प्रयोग गर्ने भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ। यसो भए पनि शिरविन्दुको प्रयोगमा केही अलमल हुने अवस्था आइपर्छ।यस्तो किन हुन्छ भने शिरविन्दुलाई संस्कृत परम्परामा नासिक्य वर्णहरू ङ, ञ, ण, न र मको हलन्तको रूपमा पनि सरोबरी प्रयोग हुँदै आएकोले त्यसैको सिको गरेर नेपाली लेखनमा पनि लेख्न पुगिने हुन्छ। संस्कृतमा सामान्यत: पदको मध्यतिर शिरविन्दू र अन्त्यमा मात्र नासिक्य वर्ण हलन्त गरेर लेख्ने चलन चल्दै आएको पाइन्छ। यसैले नेपालीमा शिरविन्दु र चन्दविन्दु कहाँकहाँ र कस्तोकस्तो अवस्थामा कसरी लेख्ने भन्ने बारेका यसका केही सरल नियममा ध्यान पुग्यो भने यी दुवैको प्रयोग उचित र शुद्ध रूपले गर्न सकिन्छ। यहाँ त्यस्ता केही सरल नियमको छोटो चर्चा गरिन्छ:

तत्सम शब्दमा शिरविन्दु

रवीन्द्र भट्टराई

शब्दका बिचमा शिरविन्दु र अन्त्यमा नासिक्य वर्ण हलन्त लेख्ने संस्कृतकै मानक नियम होइन; नासिक्य वर्ण नरहेका अर्थात् क, च, ट, त, प वर्गमा पर्नेबाहेकका वर्णका अगाडि नासिक्य व्यञ्जन हलन्त उच्चारण हुने गरी रहेको छ भने मात्र शिरविन्दुको प्रयोग गर्ने संस्कृतको पनि शिष्ट नियम हो। अर्थात् य, र, ल, व, श, ष, स, ह वर्ण पछिल्तिर छन् भने मात्र शिरविन्दुद्वारा नासिक्य वर्णको प्रतिनिधित्व गराइन्छ। संयम, संरक्षण, संलग्न, संशय, संवत्, संसार, संशय, संसद्, संहार जस्ता शब्दहरूमा शिरविन्दु प्रयोग गरिन्छ। यसरी शिरविन्दु प्रयोग भएका ठाउँमा सामान्यत: यसको उच्चारण म् को रूपमै हुन्छ। कदेखि पसम्मको पदवर्गका कुनै पनि वर्णका अगाडि हलन्त नासिक्य ध्वनि छ भने त्यसमा शिरविन्दुको साटो सम्बन्धित वर्गको पाँचौँ वर्ण (ङ, ञ, ण, न र म) कै हलन्त लेखिन्छ। उदाहरणका लागि: शङ्का, शङ्ख, अङ्ग, सङ्घ, कुञ्ज, मञ्च, कण्ठ, घण्ट, सन्त, अन्त्य, भिन्न, सम्पन्न, सम्बन्ध यस्ता तत्सम शब्द हुन्। नेपालीमा लेख्दा यही नियम पालना गरी संस्कृत तत्सम शब्दलाई लेख्नुपर्छ र यसैलाई पञ्चम वर्ण हलन्तको नियम भनिन्छ।संस्कृतमा संयुक्त वर्णका अगाडि शिरविन्दु लेख्ने नियम प्रचलित छ तर संयुक्त वर्णमा पनि कचटतप वर्गको ध्वनि छुटिने खण्ड छ भने पञ्चम वर्ण हलन्तकै नियम लागू गरिन्छ। उदाहरणका लागि संज्ञा/सञ्ज्ञा, संन्यास/सन्न्यास, तन्त्र, संक्षिप्त/सङ्क्षिप्तलाई नेपालीमा पनि यसै गरी वैकल्पिक रूपमा लेख्न सकिन्छ तथापि नेपालीमा वर्ग छुट्टिने हलन्त वर्ण स्पष्ट छुटिने अवस्थामा पञ्चम वर्ण हलन्त गर्नु नै सजिलो नियम हुन सक्छ। कतिपयले संस्कृतमा शिरविन्दुको प्रयोग शब्दका मध्यमा प्रयोग गरिन्छ भन्ने कुरालाई मूल नियम मानेर संचार, संदेश, संपादकजस्ता शब्दलाई नेपालीको मानक तत्सम मानेर प्रयोग गर्ने गरेको पाइन्छ।यो उपयुक्त तरिका होइन लेख्नुपर्ने सञ्चार, सन्देश, सम्पादक नै हो।

तद्भव र आगन्तुकमा शिरविन्दु ?

sagarmani mobile size

तद्भव र आगन्तुक शब्दमा शिरविन्दुको प्रयोग हुँदैन।यसको कारण के हो भने यी दुवैमा व्यञ्जन ध्वनि जसरी उच्चारण हुन्छन् त्यसैअनुसार वर्णहरू नै अजन्त वा हलन्त लेखिन्छन्। कतिपयले अंग्रेजी, इंजिनजस्ता लेखाइलाई मानक नै हुन् नि भन्ने गर्छन् । त्यसो भन्ने हो भने यिनको उच्चारण अम्रेजी इम्जिन गर्नुपर्ने हुन्छ। अङ्रेजी/अङ्ग्रेजी र इन्जिन नै उच्चारण हुने हुनाले त्यही रूप मानक र शुद्ध हुन्छ। तद्भव र आगन्तुकमा शिरविन्दुको प्रयोग नगर्ने नियमका पछाडिको कारण उच्चारणका कारणले अर्थमा राख्ने भिन्नता हो। चम्चा र चञ्चा यी दुईका आआफ्नै अलगअलग अर्थ छन्।शिरविन्दु प्रयोग गर्न थालियो भने दुवैको रूप ‘चंचा’ हुन पुग्छ र अर्थै बरालिन पुग्छ।यसैले गन्ज, मन्जुर, लन्ठू, कन्ची, डन्ठा, गुन्डाजस्ता तद्भव वा आगन्तुक शब्दमा शिरविन्दु प्रयोग गर्न हुँदैन।

चन्द्रविन्दुको प्रयोग

सामान्यत: तत्सम शब्दमा चन्द्रविन्दुको प्रयोग धेरै हुँदैन। तद्भव र आगन्तुक शब्दका स्वर ध्वनि नाके भएमा चन्द्रविन्दु लगाउने हो। स्वरमा नाके ध्वनि टाँसिएर आउँदा त्यस्ता मिश्रित ध्वनिलाई अनुनासिक ध्वनि भनिन्छ। तत्सममा शिरविन्दु वा पञ्चम वर्ण हलन्त हुने नै शब्दबाट तद्भव भएका शब्द वा आगन्तुक शब्दमा चन्द्रविन्दु लाग्छ; जस्तै: अँगार चाँचल, आँचल, आँट, इँटा, उँट इँजार आदि।सव्यञ्जन स्वरका रूपमा उच्चारण हुने शब्द काँठ, काँजो, चाँजो, पाँजो, घाँटी, गाँड, घुँडा, सुँगुरजस्ता शब्दमा पनि चन्द्रविन्दु नै प्रयोग गर्नुपर्छ शिरविन्दु होइन।

एक थरी प्राधिकारले चाहिँ डिकोमाथि मात्रा नभए चन्द्रविन्दु र मात्रा भए शिरविन्दु लेख्ने नियम बनाएको पाइन्छ र तिनले कैंडा, ऐंठन, देखें हेरें, काठमाडौं, गयौं आदि लेख्न सिफारिस गरेको पाइन्छ । तर, यो नियम उच्चारण र ध्वनितात्त्विक आधारमा नभएर लेखनको सजिलोको लागि भन्ने हिसाबले सिफारिस गरेको देखिन्छ। टाइपराइटरको बेलामा चन्द्रविन्दु स्पष्ट टाइप नहुने र डिकोमाथिका मात्रालाई खज्मज्याउने हुनाले प्रयोगका हिसाबले शिरविन्दु लेख्न सजिलो होस् भनेर यसो भनिएको हुन सक्छ। अहिले लेखन र टाइप दुवैमा त्यो खालको समस्या  छैन। यसैले डिको माथि मात्रा भए वा नभए पनि व्यञ्जन जोरिएको स्वर होस् कि स्वर होस् नाके उच्चारण हुन्छ भने त्यसलाई शिरविन्दुले होइन चन्द्रविन्दुले नै अनुनासिकता सूचित/सङ्केतित गर्नुपर्छ। यसैले बस्थ्यौँ, देखौँला, हुनेछौँ, भन्छौँ, गाउँछौँ, गाऔँ, झिँगा, ढिँडो, गैँडा, औँला, कैँडा, डिँगा, चुल्याँसी/चुँलेसी, भनेँ, छामेँ लेख्नु नै शुद्ध र मानक रूपको लेखाइ हुन्छ।

लेखक परिचय

नेपाली भाषा-साहित्यको विभिन्न क्षेत्रमा कलम चलाउने रवीन्द्र भट्टराई 'नेपाली भाषा शुद्धीकरण' अभियन्ता हुन् ।

प्रतिक्रिया
Loading...