भाषा भनेको वाङ्मय हो। वाङ्मय लिखित र मौखिक दुई स्वरूपमा रहन्छ। त्यसैले भाषाका कथ्य र लेख्य दुई रूप हुन्छन्।कथ्य भाषा ध्वनिका माध्यमबाट वक्ता र श्रोताबीच बोल्ने र सुन्ने तरिकाबाट व्यवहृत हुन्छ। लेख्य भाषा भने लिपिका माध्यमबाट लेखेर र पढेर व्यवहृत हुन्छ।कथ्यमा ध्वनिको उच्चारणको स्थिरतामा भाषिक अभिव्यक्ति र सन्देशको अर्थ सन्निहित र सम्प्रेषित हुन्छ भने लेख्यमा लिपि अर्थात् वर्णहरूको रखाइक्रमद्वारा आधारभूत भाषिक सन्देश (शब्द) को अर्थ सन्निहित र सम्पेषित हुन्छ। यसो हुँदा भाषाको लेख्य रूपका लागि वर्णविन्यासका नियम रहनु र तिनको पालना गरिनुपर्छ भनिनु अत्यन्त स्वाभाविक कुरा हो र भाषिक समाजको सदस्यले लेख्य भाषाका लागि सो भाषाको व्याकरणिक नियमको पालना गर्नै पर्छ ।
बहुभाषिक समाजमा विभिन्न भाषाका बीचमा काम गर्ने कुनै एउटा भाषा हुन्छ र त्यस्तो भाषालाई सम्पर्क भाषा (लिङ्गुवा फ्र्याङ्का) भनिन्छ। सम्पर्क भाषा जुन हुन्छ त्यही भाषा त्यो समाजको सार्वजनिक प्रचलनको भाषा हुन्छ। सार्वजनिक चलनमा रहने त्यस्तो भाषालाई सरकारी भाषा वा सरकारी कामकाजको भाषा (अफिसियल ल्याङ्वेज) भनिन्छ। नेपाली भाषा नेपालका अनेक मातृभाषामध्ये एउटा मातृभाषा हो र नेपालमा बोलिने अनेक मातृभाषीबीचको सम्पर्क भाषा पनि हो। ताप्लेजुङमा लिम्बू मातृभाषी भएर हुर्केको एउटा नेपालीले नेवार मातृभाषी भएर हुर्केको अर्को नेपालीसँग कुरा गर्नुपरे नेपाली भाषामा कुरा गर्छन् किनभने दुवैको सम्पर्क भाषा नेपाली हो। नेपाली समाज बहुभाषिक हो भन्नुको तात्पर्य नेपालमा विभिन्न मातृभाषी नेपाली छन् भनिएको हो। नेपाली भाषा को लेख्य रूप देवनागरी लिपिमा लेखिँदै आएको छ। यसैले नेपालको संविधानमा पनि देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई नेपालको सरकारी कामकाज र अभिलेखी भाषा कायम गरेको छ।
सरकारी कामकाजको भाषाको रूपमा चिनिएको नेपालको राष्ट्रभाषा नेपालीका प्रयोगकर्ताहरूबीच यसका व्याकरिणका पक्षहरूमा त्यस्तो विवाद र विमति रहेको पाइँदैन तर वर्णविन्यासका नियमका विषयमा साह्रै धेरै विवाद रहँदै आएको र अझसम्म त्यसको तार्किक निष्कर्षसाथ समाधान निकालिएको पाइँदैन।२०३४ सालयता नेपाली भाषाका बारेमा भएका नीतिगत बहस र नियमको फेरबदलको कुरा हेर्ने हो भने अहिलेसम्मको नेपाली भाषा विवादको केन्द्र नै वर्णविन्यास रहेछ भन्नुपर्ने अवस्था देखिन्छ।
कस्ता छन् वर्णविन्यासका मुद्दा ?
भाषाको सबैभन्दा सानो अर्थएकाइ शब्द हो। जिउँदो भाषाले यस्तो आधारभूत अर्थ एकाइ (शब्द) आफ्नो माउ भाषाबाट लिन चाहन्छ। त्यसबाट अर्थसम्प्रेष भएन भने अर्थसम्प्रेष हुने गरी त्यसैको रूप बदल्छ। जिउँदो र प्रजननधर्मी भाषाले चाहिँ आफ्नै शब्दहरू पनि जन्माउँछ। त्यो अपर्याप्त भएमा भगिनी/सँगिनी भाषाबाट शब्द आफ्ना भँडारमा भित्र्याउँछ।माउ भाषाबाट जस्ताको तस्तै लिएकालाई तत्सम, तत्समको रूप बदलेका लागि तद्भव, प्रजनन (अनुकरण, सन्धि, समास, कृदन्त/तदितान्तकरण, कर्तन-मिश्रण र संक्षेपण) उत्पन्न शब्दलाई मूल/झर्रा/देशज् शब्द भनिन्छ। यस्ता शब्द अव्युत्पन्न/व्युत्पन्न दुवै किसिमका हुन सक्छन्। स्रोत (माउ र भगिनी/सँगिनी) भाषा पनि प्रजननधर्मी हुँदा कतिपय यस्ता शब्द उतै मूल भएर लक्षित भाषामा भित्रेका पनि हुन सक्छन्।
नेपाली भाषा जिउँदो र प्रजननधर्मी नै हो। यसमा संस्कृतबाट तत्सम शब्द (जस्तै: षडान्द), त्यसैबाट रूप बदलिएका तद्भव शब्द (जस्तै: खडानन्द), अनुकरणात्मक शब्द (जस्तै: टपक्क), सन्धि (जस्तै: काजी+आइँ= कज्याइँ), समास (जस्तै कालजिब्रे), कृदन्त (जस्तै: उठ/उठाइ/उठान), तद्धितान्त (जस्तै: गफ/गफाडी), कर्तन (जस्तै: वनेल र सुङ्गुरबाट बङ्गुर) र संक्षेपण (जस्तै प्रमुख जिल्ला अधिकारीबाट प्रजिअ) सबै स्रोतका शब्द भण्डारण हुन्छन्। यसरी सर्दै आएका, जन्मिएका, भित्र्याइएका, व्युत्पादन गरिएका शब्दहरूको समुच्चयलाई हामी नेपाली शब्दभण्डार र अर्को तरिकाले भन्दा नेपाली वाङ्मय भन्दछौँ।
अहिले सोही नेपाली शब्दभण्डारमा रहेका शब्दहरूका लागि देवनागरी लिपिको वर्णव्यवस्थाबमोजिम कसरी विन्यास गर्ने भन्ने विषयमा भाषाविज्ञ र भाषाप्राधिकारहरूका बीचमा मतैक्य छैन।यसैले भाषासँग सम्बन्धित समस्याको कुरा गर्नेबित्तिकै यही वर्णविन्यासको विषय मूल मुद्दाको रूपमा उपस्थित हुने गरेको छ। वर्णविन्यासको विवाद मुख्यत: ह्रस्व कि दीर्घ; व कि ब; श, ष र स को विन्यासमा छ भने अहिले आएर संयुक्त वर्णको विषयमा पनि विवाद चर्को हुँदै गएको छ। शीरविन्दु-चन्द्रविन्दु र शीरविन्दु-पञ्चम वर्ण हलन्तको प्रयोगका बारेमा पनि मतभेदी प्रयोगहरू प्रचलनमा छन्।
संस्कृतबाट आएका शब्दलाई तत्सम रूप अर्थात् जस्ताको तस्तो लेख्ने भन्ने कुरालाई कसैले पनि अस्वीकार गर्ने कुरा गरेको पाइँदैन तरतत्सम भनेर स्रोत जनाइएकै नेपाली शब्दकोशमा प्रविष्टि दिँदा तिनको तत्सम रूपलाई बिगारेर प्रस्तुत गरी त्यसलाई नै मानक मान्ने हठी प्रवृत्ति प्राधिकारमै छ।उदाहरणका लागि, नेपाल प्रज्ञाप्रतिष्ठानको नेपाली बृहत् शब्दकोशले संस्कृतको ‘कैलास’ शब्दलाई ‘कैलाश’ को रूपमा, ‘पुष्पाञ्जलि/श्रद्धाञ्जलि’ लाई “पुष्पाञ्जली/श्रद्धाञ्जली” भनेर प्रविष्ट गरेर प्रयोगकर्तालाई अन्योलतिर धकेलिदिएको छ।
तद्भव अर्थात् संस्कृतबाट नेपालीमा आइपुग्दा अर्कै ध्वनि वा वर्ण ग्रहण गरेका शब्दको प्रयोग र वर्णविन्यास विवादित विषयमध्ये ठूलो मुद्दा देखिन्छ। वन-बन, वश-बस, दश-दस, पश्चिम-पच्छिम जस्ता शब्द र तिनका व्युत्पन्न वन/बनजाँचे, वश/बसजोर, दशैँ/दसैँ, पश्चिमेली/पच्छिमेली कुन वर्ण विन्यासलाई मानक मान्ने भन्ने विषयमा भाषाका प्राधिकारी दाबी गर्ने विज्ञ/प्राज्ञहरू एक मत छैनन् र आफ्नाआफ्नै लेखाइ मानक हुनुपर्छ भन्ने तिनको अड्डी छ।
अर्को भगिनी/सँगिनी भाषाबाट आएका शब्दको वर्णवर्तनी सबैभन्दा चर्को विवादको विषय छ। यस्ता शब्दलाई हामीले आगन्तुक शब्द भनेर भन्दै आएका छौँ। नेपाली भाषाका भगिनी/सँगिनी भाषा पनि केही उही भौगोलिकता जिवन्त भाषाको रूपमा प्रयोग भइरहेका र केही पराइ भाषा छन्। भोजपुरी, मैथिली, थारू, अबधी आदि भाषा नेपालीका सहभौगोलिक भगिनी भाषा हुन् किनभने यिनको र नेपालीको भाषिक देश/प्रदेश एकै हो। यस्तै नेवार, गुरुङ, मगर, राई आदि भाषा नेपालका सहभौगोलिक सँगिनी भाषा हुन्। यिनबाट नेपालीमा भित्रने शब्दलाई कस्तो वर्तनीमा लेख्ने भन्ने बारेमा मसिनो गरी नियम बनेको छैन र संवेदनापूर्वक शब्दकोशहरूले प्रविष्टि पनि दिएका छैनन्।
आगन्तुक भनेर विदेश भाषाबाट आएका शब्दलाई मात्र मान्ने र तिनको वर्णविन्यास के हुने भन्नेमा ठूलै विवाद छ। उदाहरणका लागि, अरबीफारसीमा उच्चरित हुने अइन/कुरआन/कानउन शब्द हिन्दी र नेपाली दुवैमा सँगसँगै वा अगिपछि भएर भित्रिए; हिन्दी भाषाप्राधिकारहरूले तिनको वर्तनी देवनागरीमा आइन/कुरान र कानून स्थिर गरे। हिन्दीमा लेखिएका वर्तनीलाई नै नेपालीमा पनि नक्कल गरिँदै ल्याइयो र कतिपय बदलियो पनि नेपालीमा ऐन/कुरान/कानून लेखिँदैन आएकै छ र यसैलाई मात्र मानक मान्ने प्राधिकार/प्रयोक्ता थुप्रै छन्। यसो भन्नेहरू आगन्तुक भनिएका शब्दको वर्तनीमा संस्कृतसरह नै ह्रस्वदीर्घ र श, व, ब को प्रयोग हुनुपर्नेमा जोड दिन्छन्।अर्काथरीले यस्ता वैभाषिक शब्दलाई नेपाली उच्चारणअनुसार लेख्नुपर्ने भनेर जोड दिन्छन् तर नेपाली उच्चारण गराइ तिनले भनेजस्तो सजिलो एकलरूपी छैन। हाम्रो वर्णविन्यास विवाद यहीँनेर साङ्ली (गाँठो) परेको छ।
तत्समबाहेक सबैको मानकीकरणमा समस्या
उच्चारण भनेको भाषाको कथ्य रूप हो।जिउँदो भाषाको भौगोलिक विस्तार तथा अन्यभाषाको सम्पर्कसँगै एकै अर्थका शब्दको रूप र उच्चारण एकभन्दा बढी हुँदै विकास हुन्छ। उदाहरणका लागि, बा, बाउ, बाबु, बावु, बुवा, बुबाजस्ता शब्द एकै अर्थका भिन्न उच्चारण हुन्। यिनमा कुनलाई मानक र कुनलाई अमानक मान्ने र कुन एउटालाई मात्र प्रयोग गर भनेर सिफारिस गर्ने? यस्तै वकिल/ओकिल, इस्कुल/स्कूल, काठमाडौँ/काठमान्डू/काठमाण्डू/काठमाण्डौ कुनकुन कसरीकसरी उच्चरित हुन्छन्? सबै त फरकफरक उच्चरित हुन्छन्।अब कुनलाई मात्र मानक/शुद्ध र बाँकीलाई अशुद्ध भन्ने?
संवेदनशील भए समाधान हुन्छ
हो, वर्णविन्यासको मानकीकरणमा केही यस्ता कठिनाइ छन् तर हठलाई त्याग्ने हो भने समाधान ननिस्कनेचाहिँ होइन।यसको समाधान भनेको वर्णविन्यासका आधारभूत नियममा आमसहमति कायम गर्नु हो; निषेधकारीका ठाउँमा वैकल्पिक व्यवस्थाको मानकीकरणलाई प्रश्रयमा राख्नु पनि हो र विज्ञको भाषिक ज्ञानलाई आधार बनाएर होइन प्रयोक्ताका आधारभूत भाषिक ज्ञानलाई आधार बनाएर नियम बनाउने हो। लेख्य नेपाली भाषाको अपठ्यारो वर्णविन्यास मात्र होइन, कथ्यमा अनुचित रूपमा विदेशी भाषाका शब्दहरूको प्रयोग बढ्दो र नेपाली मौलिक (सहभौगोलिक भगिनी/सँगिनी भाषाका समेत) शब्दलाई पनि विदेशीले नै प्रतिस्थापित गर्ने, व्याकरणिक आगमको प्रयोग बढाउने (जस्तो: किनभने भन्नुको सट्टा किनकी (क्यूँकी) भन्ने हिन्दीको आगमको प्रयोग आदि हुन्। यसैले नेपाली भाषालाई खालि एउटा मातृभाषाको रूपमा हेर्ने दृष्टिबाट यसका व्याकरणकारहरू पनि माथि उठ्नुपर्छ। सम्पर्क र सरकारी भाषाका रूपमा प्रयोग हुने भएकाले सम्पर्कभाषी नेपालीका लागि पनि सहज हुने नियम र व्यवस्थामा जोड दिइनुपर्छ। यसका लागि नेपाली भाषाको काल, वचन र लिङ्ग व्यवस्थालाई सहभौगोलिक भगिनी/सँगिनी भाषाका व्याकरणमा रहेका काल, वचन र लिङ्गका व्यवस्थासँग सकेसम्म सामाञ्जस्य हुने गरी अगाडि बढाउनुपर्छ।
अन्त्यमा, खासमा भाषाका अरू पक्षमा अपठ्यारा बढी छन् । प्रयोक्ताले उसलाई जस्तो सजिलो हुन्छ त्यस्तै प्रयोग गर्न चाहन्छ। यसैले नेपाली भाषा अहिले पढ्न अप्ठ्यारो विषय बन्दै गएको छ । शिक्षाको माध्यम भाषाका रूपमा अङ्ग्रेजीलाई अवलम्बन गरिनु यस कठिनाइको एउटा कारण हुन सक्छ त्योभन्दा बढी कथ्य र लेख्य दुवैमा समाजमा गैरनेपाली भाषाको प्रयोग बढ्दै जानुचाहिँ सच्याउन कठिन हुने यसको मूल कारण हो । वर्णविन्यासचाहिँ सबैभन्दा सजिलो गरी हल गर्न सकिने विषय हो। अलिकति चौडा छाती बनाएर कानुन/कानून; सहिद/शहीद; काठमाडौँ/काठमाण्डू/काठमान्डु/काठमाण्डौ; बाबु/बाउ/बावु जस्ता बहुमानक रूप स्वीकार गर्ने र तिनको प्रयोग औपचारिक र अनौपचारिक रूपले गर्ने बारेमा एउटा निर्देशक नियम बनाएर अवलम्बन गर्ने हो यो त विवाद गर्ने मुद्दै होइन। वर्णविन्यासको झगडाबाट माथि उठौँ र सम्पर्कभाषाका रूपमा नेपालीको प्रयोगकर्ताका लागि सरल, सहज र सुविधाजनक हुने व्याकरणिक तथा भाषिक नियमको मानकीकरण गरौँ र अवलम्बन गरौँ र गराऔँ पनि।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।