नेपाली भाषा-लेखनमा जानेर वा नजानेर धेरै त्रुटि हुने गरेका छन्। भाषामा निपुण भनिने व्यक्तिहरूले समेत यस्ता त्रुटि गरेको पाइन्छ। प्रस्तुत लेखमा धेरै प्रयोक्ताले गर्ने गरेका त्रुटिहरूलाई उल्लेख गर्दै शुद्ध लेखनका लागि अभिप्रेरित गर्ने प्रयास गरिएको छ।

सुन्दरता/सौन्दर्य/सौन्दर्यता कुन उचित हो ?

नेपाली भाषामा विशेषण शब्दलाई नाम (मूलतः भाववाचक नाम) बनाउने क्रममा “ता” वा “य/अ” प्रत्यय जोड्ने गरिन्छ।

उदाहरणका लागि निम्न तालिका हेरौँ :

विशेषण शब्द प्रत्यय (ता) नाम नाम (य/अ प्रत्यय) अतिरिक्त जानकारी
सुन्दर सुन्दर+ता सुन्दरता सौन्दर्य सौन्दर्यता?
कुशल कुशल+ता कुशलता कौशल कौशलता?
बहुल बहुल+ता बहुलता बाहुल्य बाहुल्यता?
अतिथि आतिथ्य आतिथ्यता?

 

कवीन्द्र लम्साल

प्रस्तुत तालिकामा दिइएका शब्द प्रतिनिधि शब्द मात्र हुन्। माथिको तालिका अध्ययन गर्दा सजिलै जान्न सकिन्छ : सामान्यतया विशेषण शब्दलाई नाम बनाउँदा ता वा य/अ प्रत्यय लगाइन्छ। अतः सुन्दर शब्दको नामका रूपमा सुन्दरता र सौन्दर्य दुवै शतप्रतिशत उचित छन्। शुद्ध छन्।

अब विचार गरौँ : के सौन्दर्यता उचित छ?

सुन्दर = विशेषण

सुन्दर + ता = सुन्दरता (भाववाचक नाम)

सुन्दर+य = सौन्दर्य (भाववाचक नाम)

सुन्दर+य+ता = सौन्दर्यता (हुँदैन)

एउटै शब्दमा भाववाचक प्रत्ययका रूपमा य र ता लाग्दैनन्। कुनै एक मात्र लगाउनु पर्दछ।

अतः सुन्दरता वा सौन्दर्य लेख्‍नु पर्दछ। सौन्दर्यता उचित होइन। तालिकामा प्रश्‍नवाचक चिह्‍न लगाइएका शब्द उचित छैनन्। यिनको प्रयोग औचित्यहीन छ।

अन्य शब्दहरू पनि हेरौँ :

विशेषण शब्द नाम शब्द अनुचित शब्द
उचित औचित्य औचित्यता
समञ्‍जस सामञ्‍जस्य सामञ्‍जस्यता
कुतूहल कौतूहल कौतुहलता
तादात्म्य तादात्म्यता
इमानदार इमानदारी (आगन्तुक शब्द, ई प्रत्यय) इमानदारिता
धीर धीरता/धैर्य धैर्यता
समीप सामीप्य सामीप्यता
गम्भीर गम्भीरता/गाम्भीर्य गाम्भीर्यता
अन्योल अन्योलता
सान्‍निध्य सान्‍निध्यता
सदाशय सदाशयता
रौनक रौनकता
मधुर माधुर्य/मधुरता माधुर्यता
वात्सल्य वात्सल्यता
चतुर चतुरता/चातुर्य चातुर्यता

 

यस तालिकाको अध्ययनपश्‍चात् नेपाली भाषा प्रयोक्ताहरू सौन्दर्यताका पछि नलागी सौन्दर्य वा सुन्दरताका पछि लाग्ने छन् भन्‍ने अपेक्षा गर्न सकिन्छ।

ध्यान दिनुपर्ने पक्ष

झट्ट नियाल्दा कतिपय शब्दमा य र ता दुवै लागेको जस्तो भान हुन सक्दछ। जस्तै : सङ्‍घीयता, आत्मीयता, केन्द्रीयता, राष्ट्रियता आदि।

तर उल्लिखित शब्दमा य र ता दुवै लागेका होइनन्। ईय प्रत्यय विशेषण बनाउन र ता प्रत्यय भाववाचक नाम बनाउन प्रयोग भएका हुन्।

जस्तै : सङ्‍घ (नाम) + ईय प्रत्यय = सङ्‍घीय (विशेषण) ‍= सङ्‍घीयता (भाववाचक नाम)

अत: सौन्दर्यता र सङ्‍घीयताजस्ता शब्द पृथक् पृथक् हुन्।

जय नेपाली भाषा!!