निपातको परिचय

आफ्नै पूर्ण र स्वतन्त्र कोशीय अर्थ प्रायः नहुने तर वाक्यमा प्रयुक्त भएपछि आफू पनि अर्थयुक्त हुने र वाक्यका अर्थमा मिठास थपिदिने अव्यय शब्दहरूलाई निपात भनिन्छ। भाषामा खास खास भावलाई व्यक्त गर्न स्वयम् प्रत्यक्ष रूपले सार्थक नभए पनि वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द निपात हुन् (नेपाली बृहत् शब्दकोश)। अरे, ए, कि, र, के, क्यारे, खै, खोइ, नि, चाहिँ, त, न, नै, पो, ब्यारे, ल, है, हे, ला आदि निपात हुन्।

कवीन्द्र लम्साल

निपातका प्रयोगले कहीँ वाक्यको अर्थको निश्‍चिति, कहीँ छरितोपन, कहीँ निर्धारण, कहीँ स्वीकृति, कहीँ जिज्ञासा, कहीँ ठट्टा आदि व्यक्त भएर वाक्य सुन्दर बन्दछन् र अर्थ प्रभावपूर्ण तथा प्रवाहपूर्ण बन्‍न पुग्दछ। त्यस कारण भाषिक प्रयोगमा निपातको ठुलो महत्त्व छ (आधुनिक नेपाली व्याकरण कौमुदी)।

निपात प्रायः एक वा दुई अक्षरले बनेका हुन्छन् । निपातलाई पदवियोग गरेर लेखिन्छ । निपातको स्वतन्त्र अर्थ नहुने भए तापनि वाक्यमा मधुरता थप्ने र कतिपय अवस्थामा अर्थलाई नै परिवर्तन गरिदिने सामर्थ्यसमेत निपातले राख्दछ ।

निपातको प्रयोगले वाक्यमा थपेको सुन्दरता हेरौँ :

है

तिमी घर जाऊ । (आदेशात्मक)

तिमी घर जाऊ है । (अनुरोधात्मक/आग्रहपूर्ण)

यता आऊ। (आदेशात्मक)

यता आऊ । (आग्रह)

पेम्बाले प्रगति गर्छ। (विश्‍वास)

पेम्बाले प्रगति गर्छ ? (आशङ्‍का)

उसले लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्ला ? (आशङ्‍का)

विदेशबाट छोरो आयो। (साधारण)

ए, विदेशबाट छोरो आयो? (आश्‍चर्य)

ए, सेनामा भर्ती भएछ है

एकै पटकमा एकभन्दा बढी निपातसमेत सँगसँगै प्रयुक्त हुन सक्छन् र वाक्यमा मिठास थप्दछन्।

उदाहरण हेरौँ :

प्यारी ! आज घुम्न जाऔँ न ल। (आग्रह)

ल/लौ है अब छिटो गरी देश फर्किऔँ। (प्रस्ताव)

ल ल नआए नआऊ तिमी। (उपेक्षा)

ल ल हुन्छ, मन्त्रालयबाट छिट्टै निर्णय हुन्छ। (स्वीकृति)

आजैबाट देश विकासमा लागौँ न है। (आग्रह)

आर्थिक वृद्धिका सन्दर्भमा चीनले विश्वलाई उछिन्ने रे त। (परोक्षता)

लौ हो त नि, मित्रले भनेको कुरो सही हो।

मलाई अध्यात्ममा रुचि छ नि त

ल है निर्णय शीघ्र कार्यान्वयन गर्नू। (निर्देशन/ध्यानाकर्षण)

खै, यस विषयमा म अनभिज्ञ छु।

सुनमायालाई छिटो आऊ है भनेको थिएँ, अझै आइनन् त खै

जान्‍नँ, तिमी पनि नजाऊ न है

निपातको अन्य प्रयोग पनि हेरौँ :

ला, भूकम्पले धरहरा पनि ढालेछ। हो , धरधरा पनि ढलेछ हगि? छोरा! तिमीले किन त्रुटि गरेको हँ? माता-पिताले गाउँमा दुःख गरेका छन्, छोरो चाहिँ लफङ्‍गिएर हिँडेको छ। नेपाली भाषाको विश्‍वव्यापीकरण हुन्छ रे। उक्त कामका लागि तिमी नै योग्य छौ।

ध्यान दिनुपर्ने पक्ष

केही निपात र अन्य अव्यय एकै छन्। त्यसैले त्यस्ता निपातको प्रयोग गर्दा निकै ध्यान दिनुपर्ने हुन्छ।

उदाहरण हेरौँ :

अध्यात्म र धर्म भिन्न भिन्नै विषय हुन् कि ? (कि – निपात)

तिमी अध्यात्म रोज्छौ कि धर्म? आजै निर्णय गर। (कि – संयोजक)

ब्रह्‍म र परमात्मा एकै हुन् के।(के – निपात)

के कारणले ब्रह्‍म र परमात्मा एकै हुन् ? (के – सर्वनाम)

प्रकृति र पुरुष ब्रह्‍मकै अंश हुन् र ? (पहिलो र – संयोजक, दोस्रो र – निपात)

तिमी नजाऊ।(न- निषेधात्मक)

तिमी जाऊ न। (न – निपात)

छेउ न टुप्पाका कुरा नगर न। (पहिलो न – संयोजक, दोस्रो न – निपात)

बैठान

निपात नेपाली भाषाको महत्त्वपूर्ण अव्यय हो। यसले नेपाली भाषालाई मधुर र अभिव्यक्तिलाई पृथक् बनाउन अहम् भूमिका खेल्दछ। निपातले वाक्यमा पृथक् अर्थ दिन नसके पनि निकटका पदलाई त्यही अर्थमा चमत्कार थपिदिने काम गर्दछ। अतः निपातलाई औचित्यपूर्ण रूपले भरपुर उपयोग गरी नेपाली भाषा र साहित्यलाई रसपूर्ण र मिठासपूर्ण बनाउन सकिन्छ।

जय नेपाली भाषा !!