वर्णविन्यास : ह्रस्वसम्बन्धी नियम

वर्तमान समयमा नेपाली भाषाको लेखन व्यवस्थामा देखिएका विकृतिहरू हेर्दा निकै दुःख लाग्छ । जानेर वा नजानेर नेपाली भाषा लेखनमा विभिन्न खाले नियमहरू देखा परेका छन् । त्यसरी नै कतिपय विद्वद्वर्गबाट गोजीका नियमको प्रयोग भएकाले पन नेपाली भाषाले विभिन्न समयमा अनेक समस्याहरू झल्दै आइरहेको सर्वविदितै छ । यसै सिलसिलमा नेपाली भाषा शुद्ध लेख्नका लागि वर्णविन्यासको ज्ञान अत्यन्त आवश्यक छ । वर्णविन्यासको नियमलाई राम्ररी पालना गर्ने हो भने नेपाली भाषामा शुद्धता र एकरूपता नआउने कुरामा दुईमत छैन ।
वर्णहरूको व्यवस्थित वा नियमबद्ध रखाइलाई वर्णविन्यास भनिन्छ । वर्ण र लेख्य चिह्नहरूलाई व्याकरणिक नियम सङ्गत उपयुक्त तरिकाले प्रयोग गर्नु र शब्दकोशीय नियमलाई उचित तरिकाले पालना गर्नुलाई वर्णविन्यास भनिन्छ । वर्णविन्यासलाई अक्षर विन्यास, हिज्जे, वर्तनी पनि भनिन्छ । प्रत्येक भाषामा भाषिक व्यवस्थाका निम्ति विभिन्न किसिमका आफ्नै नियमहरूको प्रतिपादन गरिएको पाइन्छ । भाषाको लेखनमा वर्णविन्यासको अनुशासनलाई निकै ध्यान पुर्याउनुपर्छ । लेखनको अनुशासनमा ध्यान दिइएन भने एकातिर भाषिक अशुद्धिले अर्थको अनर्थ हुन्छ भने अर्कातिर लेखन पद्धतिमा एकरूपता आउन सक्दैन ।

नेपाली भाषामा तत्सम, तद्भव र आगन्तुक स्रोतका शब्दहरू रहेका छन् । संस्कृत भाषाबाट रूप नबदलिएर आएका तत्सम शब्दहरूको वर्णविन्यास संस्कृतकै नियमअनुसार गरिन्छ भने तद्भव र आगन्तुक स्रोतका नेपाली शब्दहरूको वर्णविन्यास आफ्नै किसिमको छ । त्यस्तै नेपालभित्रका स्वदेशी र नेपाल बाहिरका विदेशी आगन्तुक शब्दहरूमा तद्भव शब्दकै नियम लागु हुन्छ ।
वर्णविन्यासमा ह्रस्व र दीर्घसम्बन्धी नियमहरू, ‘श’, ‘ष’ र ‘स’ को प्रयोग, ब/व/ओ, य/ए, ऋ/रि/री, क्ष/छे /क्ष्य/छ्य, ङ/ञ/ण/न/म, शिरबिन्दु र चन्द्रबिन्दु, हलन्त र अजन्त, पदयोग र वियोग, तत्सम शब्दका सन्दर्भमा उपसर्ग र प्रत्ययसम्बन्धी नियम तथा विभिन्न लेख्य चिह्नहरूको नियमलाई वर्णविन्यास अन्तर्गत राखिन्छ ।

ह्रस्व (इ, उ, ऋ (कि, कु, कृ, रु) सम्बन्धी नियम
(क) शब्दको सुरुमा ह्रस्व हुने नियम
१. बि, वि, सु, निर्, निस्, दुर्, नि, दुस्, उत्, उप, कु आदि उपसर्ग लागेका शब्दहरू :
बिसन्चो, बिजोर, विरङ्गी, विकृति, विज्ञान, विदेश, सुमार्ग, सुपुत्र, सुविचार, निर्जन, निराशा, निरङ्कुश, दुर्जन, दुर्गन्ध, दुर्गम, निपात, निगम, नियोजन, दुष्कर्म, दुस्साहस, उत्कर्ष, उत्खनन, उल्लेख, उपमान, उपहार, उपदेश, कुविचार, कुकाठ, कुकर्म आदि ।
२. सबै धातु :
दि, गिर्, मिस्, मिच्, पिउ, भिड्, घिच्, लिख्, किन्, मिल्, चिन्, भुल्, चुहु, छुट्, फुल, सुन्, सुत धु, धुत्, कुद् ।
३. सबै क्रियापदहरू :
दियो, गिर्यो, किन्छ, मिल्छ, तिर्यो, चिन्यो, पिँध्यो, उठ्नेछ, झुक्यो, चुन्यो, फुल्यो, सुन्यो, भुल्यो ।
४. सङ्ख्यावाचक शब्दहरू :
बिस, तिस दुई, उन्नाइस, उनन्तिस, उनान्चालिस, उनान्साठी, त्रिचालिस, त्रिपन्न, त्रिसट्ठी, त्रिहत्तर । (अपवाद : तीन)
५. दुई अक्षरले बनेको सर्वनाम :
तिमी, उनी, यिनी, तिनी, उहाँ, अरू ।
६. तद्भव र आगन्तुक विशेषणहरू :
चिसो, चिप्लो, चिल्लो, छुचो, दुब्लो, लुरे, कुरौटे, हुस्सु, दुब्लो, गुलाफी, खुनी, उत्ताउलो, रित्तो, रिसाहा, निर्धो, मिहिनेती इलमी, उज्यालो ।
७. व्युत्पन्न शब्दहरू :
चिनियाँ (चीन+इयाँ), मितेरी (मित+एरी), धुपौरे (धुप+औरे), दुधालु (दुध+आलु), फुलौरो (फूल+औरो), बुढ्याइँ (बुढो+याइँ), किटाणु (कीट+अनु), नुनिलो (नुन+इलो)
८. अव्युत्पन्न शब्दहरू :
बिच, दुध, मित, चिउरा, जिब्रो, कुलो, खुकुरी, सुँगुर ।
९. द्वि र त्रि अगाडि आउने शब्दहरूः
द्विगु, द्वितीय, द्विगुण, द्विगुणा, द्विमुख, द्वितीय, द्विविधा, त्रियोग, त्रिभुवन, त्रिशङ्कु, त्रिकोण, त्रिदेव, त्रिशूल, त्रिफला ।
१०. तद्भव र आगन्तुक नामहरू :
इज्जत, इराक, किताब, निसाफ, हिसाब, स्कुल, टिकट, ग्रिक, इङ्लिस, इङ्ल्यान्ड, फिल्म, रिबन, पुलिस, खुन, दुध, मित, गुन्द्रुक ।
११. सबै अव्ययहरू :
तिर, सित, भित्र, कि, किनभने, मुनि, धिक्कार, छि, किच्च, हिजो ।
१२. सबै अनुकरणात्मक शब्दहरू :
किटिक्क, झिलिक्क, पिलिक्क, पिटिक्क, टिलपिल, भुटुक्क, मुसुक्क, लुसुक्क, कुटुक्क, कुपुकुपु, कुटुक्क, ङिच्च ।
१३. नेपाली थर बुझाउने शब्दहरू :
घिमिरे, गिरी, लिम्बू, शिवाकोटी, सुवेदी, सुनुवार ।
(ख) शब्दका बिचमा ह्रस्व हुने नियम
१. अति, अधि, अनु, अभि, परि, प्रति उपसर्ग र अ (नञ्) जोडिएका शब्दहरू :
अतिरिक्त, अतिचार, अतिशय, अधिकार, अधिराज्य, अधिवेशन, अनुकरण, अनुक्रम, अनुदान, अभिनय, अभियान, अभियोग, परिभाषा, परिश्रमी, प्रतिगामी, अकुशल, अनित्य, अच्युत आदि ।
२. इक, इका, इत, इम, इमा, इष्ठ, उक, ता, त्व प्रत्यय लागेका शब्दहरू :
वैदिक, शैक्षिक, भाषिक, दैनिक, गायिका, लेखिका, वाचिका, रचित, पठित, कथित, अन्तिम, पश्चिम, अग्रिम, स्वर्णिम, महिमा (महत्+इमा), गरिमा (गुरु+इमा), अणिमा, रक्तिमा, कनिष्ठ, वरिष्ठ, बलिष्ठ, भिक्षुक, भावुक, मानवता, मित्रता, आज्ञाकारिता, कवित्व, मनुष्यत्व, स्थायित्व आदि ।
३. अव्युत्पन्न (मूल) नामहरू :
मानिस, भानिज, भतिज, दाइजो, कमिलो, बहिनी, मङ्सिर, गरिब, कुकुर, मुजुर, कपुर, पटुका, बाजुरा, साउन आदि ।
४. व्युत्पन्न नामहरू :
सम्धिनी, भरिया, हतियार, जहानियाँ, दतिउन, बिसाउनी आदि ।
५. आगन्तुक नामहरू :
रेडियो, सिलिङ, तस्बिर, कमिटी, कानुन, मजदुर, हुकुम ……. ।
६. पुलिङ्गबाट स्त्रीलिङ्गी बनाइएका शब्दहरू :
थपिनी (थापा+इनी), कमिनी (कामी+इनी), कर्किनी (कार्की + इनी), पापिनी (पापी+इनी), घर्तिनी (घर्ती +इनी) ।
७. सर्वनाम :
हजुर ।
८. विशेषण :
अमिलो, हरियो, पोसिलो, कलिलो, हाजिर, झगडिया, खुकुलो, बाटुलो, बिटुलो, गाउँले, सुतुवा ।
९. इच्छार्थबाहेकका सबै क्रियापद :
गरिरहन्छ, दिइसक्यो, गरिस्, गइछ, पढिनस्, पाउँछु, पठाउँछ ।
१०. कर्म वा भाववाच्यका क्रियापद :
सुतिन्छ, रोइयो, उठिनेछ, पढिन्छ, खाइन्छन्, लेखिँदै छन्, पस्किएका छन्, …………।
११. अव्यय शब्दहरू :
बाहिर, अहिले, उहिले, कहिले, नजिक, सामुन्ने, दिउँसो ।
१२. अनुकरणात्मक शब्द :
खुरुक्क, कुटुक्क, पुटुक्क, भुतुक्क, पिटिक्क, किटिक्क ।
१३. अन्त्यमा इया, इयाँ, इयार, इलो प्रत्यय लागेका शब्द :
घटिया, झगडिया, चिनियाँ, सँधियार, अंशियार, दरिलो, कसिलो, दुधिलो ।
१४. सङ्ख्यावाचक शब्द :
एकतिस, एकचालिस, तेत्तिस, उनन्तिस, बाइस, चौवालिस, ।
(ग) शब्दको अन्त्यमा ह्रस्व हुने
१. पुलिङ्गी नाम र नाता बुझाउने शब्द :
नाति, पनाति, ज्वाइँ, पोइ, भाइ, दाइ, दाजु, बराजु, भिनाजु, बाबु, फुपाजु, गुरु, जेठाजु, बराजु (अपवाद : पुलिङ्गी नाम भए पनि दीर्घ हुने : खसी, सम्धी, हात्ती, स्वामी)
२. ‘उ’ अन्त्यमा आउने स्थान वाचक र निर्जीव नाम :
गाउँ, ठाउँ, हिउँ, स्याउ, केराउ, मलेखु, बिउ, टेकु, घिउ, आलु ।
३. असमापिका क्रिया :
बाहिरिनु, उक्लनु, ओर्लनु, हिँड्नु, भनिनु, गर्नु, पढ्नु, देख्नु ।
४. स्त्रीलिङ्गी समापिका क्रियापददेखि बाहेकका अन्य क्रियापद :
खान्छु, पढ्छु, लेख्छु, घुम्छु, गाउनेछु ।
५. मूल अव्यय :
भोलि, पर्सि, अस्ति, अघि, पछि, मुनि, पनि, देखि, कि, छि, फेरि, बरु, बर्सेनि, चोटि आदि ।
६. आइ, आइँ, याइ, याइँ, आउनु प्रत्ययद्वारा बनेका शब्द :
बसाइ, लेखाइ, हिडाइ, मुख्याइँ, बसाइँ, लडाइँ ।
७. आरु, आलु, उ, एलु, तु प्रत्यय लागेका विशेषण शब्द :
हटारु, सिकारु, मायालु, दयालु, यात्रु, बनेलु, घरेलु, फाल्नु, पाल्तु ……… ।
८. लाई, की, री र नीबाहेक अन्य विभक्तिहरू :
देखि, लागि, निम्ति ।
९. ‘ति’ अन्त्यमा आउने सार्वनामिक शब्दहरू :
यति, उति, कति, त्यति ।
१०. ति, धि, नि, पि, कि, षि, टि, चि, णि, थि, द्धि, भि, मि, रि, लि, ष्टि आउने केही तत्सम शब्दहरू :
नीति, कृति, गति, निधि, दधि, ध्वनि, अग्नि, लिपि, तथापि, कवि, छवि, रवि, ऋषि, कृषि, त्रुटि, कोटि, सचि, मणि, पाणि, तिथि, सारथि, बुद्धि, सिद्धि, बुद्धि, सुरभि, दुन्दुभि, नाभि, रश्मि, गिरि, अरि, अञ्जलि, कलि, सृष्टि, वृष्टि, दृष्टि, तुष्टि, सन्तुष्टि, पुष्टि आदि ।