
प्रवेशः
पूर्वमा भाषिक चिन्तनको परम्परा वैदिक कालदेखि नै प्राम्भ भएको देखिन्छ । वस्तुतः भारतीय परम्परा आरम्भदेखि नै ‘वाक् केन्द्रित’ परम्परा रहेको छ ।[१] वैदिक कालदेखि नै भारतीय भूमिमा भाषा वा वाणीसम्बन्धी चिन्तन भएका अनेकौँ प्रसङ्ग र दृष्टान्तहरू पाइन्छन् । प्राचीन भारतीय ऋषिहरूले वेदलाई नै सबै शास्त्रीय चिन्तनको केन्द्रका रूपमा स्वीकार गरेका छन् । वेदलाई सर्वप्राचीन भारतीय ग्रन्थका रूपमा पनि स्वीकार गरिएको छ । भाषासम्बन्धी चिन्तन वा अध्ययनका प्राचीन स्वरूप वा बीजरूप पनि वेदमा नै पाइएका छन् ।
वैदिक साहित्यका पनि संहिता, ब्राह्मण ग्रन्थ, प्रातिशाख्य र उपनिषद् गरी चारओटा तह वा खण्ड छन् । वैदिक साहित्यका यी चारैओटा खण्डहरूमा भाषासम्बन्धी चिन्तन भएको पाइन्छ । संहिता भन्नाले मन्त्रहरूको समुदाय बुझिन्छ भने ब्राह्मण ग्रन्थहरू तिनै वैदिक मन्त्रहरूको व्याख्या गरिएका वेदका आधिकारिक ग्रन्थ हुन् । यसरी नै उपनिषद् ग्रन्थहरू वैदिक मन्त्रहरूमा नै छरिएर बसेका दार्शनिक एवं तात्त्विक चिन्तनहरूलाई सङ्कलन गरी लेखिएका दार्शनिक ग्रन्थहरू हुन् ।
वेदका पनि चारओटा भेद वा प्रकार छन् । यी चारओटा भेद हुन्- ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद । ऋग्वेदलाई वेदहरूमा सर्वप्राचीन मानिन्छ । यसर्थ भाषासम्बन्धी चिन्तनका दृष्टिले पनि ऋग्वेदका मन्त्रहरू नै सर्वप्राचीन सामग्रीका रूपमा देखा पर्दछन् ।
विषयप्रवेश-
ऋग्वेदमा भाषा शब्दलाई बुझाउनका निम्ति वाक्, वाणी, भारती आदि शब्दहरूको व्यवहार गरिएको पाइन्छ । ऋग्वेदमा वाक् वा वाणी शब्दको प्रयोग विभिन्न अर्थ, सन्दर्भ र प्रसङ्गहरूमा भएको पाइन्छ । भाषिक चिन्तनका दृष्टिले ऋग्वेदका प्रथम, चौथो, छैटौँ र दसौँ मण्डलका केही सूक्तहरू अत्यन्तै महत्त्वपूर्ण छन् । भाषा चिन्तनका दृष्टिले ऋग्वेदका केही उल्लेखनीय र विवेचनीय सूक्तहरू यस प्रकार छन्- १) प्रथम मण्डलको एक सय चौसट्ठिऔँ सूक्त, २) चौथो मण्डलको अन्ठाउन्नौँ सूक्त, ३) छैटौँ मण्डलको एकसट्ठिऔँ सूक्त, ४) दसौँ मण्डलको एकसट्ठिऔँ, एकहत्तरौँ तथा एक सय पच्चिसौँ सूक्त ।

पवन प्रधान (दार्जीलिङ)
यी सूक्तहरूमा पनि दसौँ मण्डलका सूक्तहरू विशिष्ट एवं विचारणीय देखिन्छन् । यहाँ पहिलो मण्डलदेखि क्रमशः दसौँ मण्डलसम्मका भाषिक चिन्तनका दृष्टिले उल्लेखनीय सूक्तका मन्त्रहरूको चर्चा गरिनेछ ।
भाषासम्बन्धी चिन्तनका दृष्टिले ऋग्वेदको प्रथम मण्डलको एक सय चौससट्ठिऔँ सूक्तको पैँतालिसौँ मन्त्र वा श्लोक प्रथम उल्लेख्य श्लोकका रूपमा देखा पर्छ । श्लोक यस्तो छ- “चत्वारि वाक् परिमिता पदानि तानि विदुब्राह्मणा ये मनीषिणः । गुहा त्रीणि निहिता नेङ्गयन्ति तुरीयं वाचो मनुष्या वदन्ति । । “
अर्थात् वाक् चार प्रकारका हुन्छन् र तिनलाई केवल मनीषी ब्रह्माणले मात्रै जान्दछन् । यिनमा तीनओटा चाहिँ गुहामा निहित हुन्छन् र साधरण मान्छेहरू तुरीया (चौथो) वाणी मात्र बोल्दछन् । यहाँ उल्लेख गरिएका यस श्लोकमा प्रयुक्त ‘चत्वारि वाक्’- का विद्वान्हरूले विभिन्न अर्थ लगाएका छन् । निरुक्तकारले ‘ॐ भूः, भुव र स्वः’- लाई चत्वारि वाक् मानेका छन् भने महाभाष्यकार पतञ्जलि, कैयाट, नागेश आदिले नाम, आख्यात, उपसर्ग र निपातलाई चत्वारि वाक् भनेका छन् । यसरी नै परा, पश्चन्ति, मध्यमा र वैखरीलाई चत्वारि वाक्का रूपमा स्वीकार गर्ने विद्वान्हरूमा भर्तृहरि, गौडापाद, र सायण जस्ता विद्वान्हरूका नाम उल्लेख्य छन् ।[२]
यहाँ उल्लेख गरिएको पहिलो मण्डलको श्लोकपछि चौथो मण्डलको अर्को एउटा श्लोक उल्लेखनीय देखिन्छ । चौथो मण्डलको अन्ठाउन्नऔँ सूक्तको तेस्रो श्लोक यस्तो छ-
“चत्वारि शृङ्गा त्रयो अस्य पादा द्वे शीर्षे सप्त हस्तासो अस्य । त्रिधा बद्धो वृषभो रोरवीति महो देवो मर्त्याँ आविवेश ॥”
अर्थात् चारओटा सिङ, तिनओटा खुट्टा, दुईओटा शिर, सातओटा हात भएको र तीन ठाउँमा बाँधिएको वृषभरूपी महादेव नै मर्त्यलोकका मनुष्यमा व्याप्त छन् । महाभाष्यकार पताञ्जलिले ऋग्वेदको प्रस्तुत श्लोकलाई आफ्नो ग्रन्थ महाभाष्यमा यसरी अर्थाएका छन्- “शब्दरूपी वृषभका नाम, आख्यात(क्रिया), उपसर्ग र निपात गरी चारओटा सिङ ; भूत, भविष्य र वर्तमान गरी तीनओटा पाउ ; सुप् र तिङ् गरी दुईओटा शिर अनि कारकका सात विभक्तिरूपी सातओटा हात छन् । यो उर (छाती), कण्ठ र शिर गरी तीनओटा ठाउँमा बाँधिएको छ । यही शब्दरूपी महादेव नै सर्व मनुष्यमा व्याप्त छन् ।”[३]
यसरी नै वाणीसम्बन्धी चिन्तनका दृष्टिले ऋग्वेदको छैटौँ मण्डलको एकससट्ठिऔँ सरस्वती सूक्त पनि महत्त्वपूर्ण देखिन्छ । यद्यपि यस सूक्तमा प्रत्यक्ष रूपमा वाक् वा वाणीका विषयमा चर्चा गरिएको छैन । यस सूक्तमा पूर्वीय मान्यता अनुरूप वाक् तत्त्वकी अधिष्ठात्री मानिएकी वाक्देवी सरस्वतीका विषयमा चर्चा गरिएको छ । यस सूक्तका ऋषि भरद्वाज र ब्रार्हस्पत्य हुन् । यस सूक्तका मन्त्रहरूलाई सरसरती अभिधार्थमा हेर्दा यहाँ वाग्देवी सरस्वतीको नभएर सरस्वती नदीको चर्चा गरिएको हो कि भन्ने भान हुन्छ तर लक्ष्यार्थद्वारा यस सूक्तका मन्त्रहरूको अर्थ खोजिएमा वाक्ताका मुखारविन्दबाट नदीझैँ अबाध गति वा वेगमा बग्न सक्ने वाणीतत्त्वकै चर्चा गरिएको हो भन्ने प्रस्ट हुन्छ । यस सूक्तमा सरस्वतीको वेगलाई कसैले पनि रोक्न नसक्ने तथा उसैको कृपाले शत्रुलाई परास्त गरी धनार्जन गर्न सकिने कुरा उल्लेख्य छ ।
सम्पूर्ण ऋग्वेदमा नै भाषा वा वाणीसम्बन्धी चिन्तनका दृष्टिले दसौँ मण्डलका सूक्तहरू अत्यन्त महत्त्वपूर्ण देखिन्छन् । यस मण्डलका मुख्यतः एकसट्ठिऔँ, एकहत्तरौँ औ एक सय पच्चिसौँ सूक्तहरूमा वाणी वा वाक्सम्बन्धी चिन्तनका कुराहरू अभिव्यक्त भएको पाइन्छ । ऋग्वेदको दसौँ मण्डलको एकसट्ठिऔँ सूक्तको एघारौँ र एक्काइसौँ मन्त्रमा वाणीका शक्तिद्वारा नै जलवृष्टि भएका र साधकलाई शान्ति प्राप्त भएका प्रसङ्गहरू उल्लिखित छन् । यसरी ऋग्वेदका यी मन्त्रहरूमा वाणीलाई सर्वकामना पूर्ति गर्नै योग्य दैविक शक्तिका रूपमा स्वीकार गरिएको छ । यसै प्रसङ्गलाई पछिबाट उपनिषद् कालमा आएर छान्दोग्य र बृहदारण्यक उपनिषद्ले अझ व्यापक रूपमा अघिसारेको देखिन्छ ।
ऋग्वेदको दसौँ मण्डलको एकहत्तरौँ र एक सय पच्चिसौँ सूक्त वाणीसम्बन्धी चिन्तनका दृष्टिले अझ महत्त्वपूर्ण र उल्लेखनीय छन् । यी दुईओटा सूक्त अन्य सूक्तहरूका सापेक्षतामा वाणीसम्बन्धी चिन्तनका दृष्टिले निकै महत्त्वपूर्ण देखिन्छन् । बृहस्पति र अङ्गिरस ऋषिका रूपमा रहेका एकहत्तरौँ सूक्तका अधिकांश मन्त्रहरूले नै वाणी र वाणी साधनाको महत्त्वलाई दर्साएको छ । यस सूक्तको दोस्रो मन्त्र यस्तो छ- “सक्तुमिव तितउना पुनन्तो यत्र धीरा मनसा वाचमक्रत ।
अत्रा सखायः सख्यानि जानते भद्रैषां लक्ष्मीर्निहिताधि वाचि ॥”
अर्थात् मेधावी वा धीरोचित्त भएका जनले बुद्धिबलको सहायताले नै वाणीलाई प्रस्तुत गर्दछन् तथा वाणीकै सहायताले ज्ञानीले मित्रको मित्रतालाई चिन्दछन् वा जान्दछन् । यसरी यस मन्त्रमा ज्ञानि वा मेधावी गुरुबाटै वाणीका विषयमा शिक्षा ग्रहण गर्नुपर्ने कुराको सङ्केत गरिएको छ भने वाणीका माध्यमद्वारा नै मनुष्यका मित्रत्व आदि भावको प्रकाशन हुने तथा मङ्गलकारी लक्ष्मी वा श्री (धन, यश आदि)- प्राप्ति हुने कुरा स्पष्ट रूपमा बताइएको छ ।
यसै सूक्तको चौथो श्लोक वा मन्त्र पनि उल्लेख्य छ जसको भावार्थ यस्तो हुन्छ- “कतिपय मानिसहरूले वाणीलाई देखेर पनि देख्न सक्तदैनन् र कतिपय मानिसहरूले वाणीलाई सुनेर पनि सुन्न वा बुझ्न सक्तैनन् । वाग्देवीले आफ्नो स्वरूपलाई सत्पात्रका अघि यसरी खोलिदिन्छिन् जसरी एउटी भार्या वा पत्नीले आफ्नो सुन्दर रूपलाई पतिसँग लुकाउँदिनँ ।”
“उत त्वः पश्यन्न ददश्र वाचमुत त्वः शृण्वन्न शृणोत्येनाम्। उतो त्वस्मै तन्वं वि सस्त्रे जायेव पत्यं उशती सुवासाः।।”
यसरी ने यसै सूक्तको पाँचौ मन्त्रमा यसो भनिएको छ-
“उत त्वं सख्ये स्थिरपीतमाहुनैनं हिन्वन्त्यपि वाजिनेषु । अधेन्वा चरति माययैष वाचं शुश्रवाँ अफलामपुष्पाम् । । “
अर्थात् मेधावीहरूमा पनि कोही कोही मेधावीहरू मात्रै यस्ता हुन्छन् जसले उत्तम शाब्दिक भावलाई ग्रहण गर्न सक्छन् । वाणीलाई प्रकट गर्नमा ती मेधावीका समकक्षमा कोही आउन वा टिक्न सक्तैनन् तर जसले भाषा वा वाणीको मर्मलाई अर्थात् वास्तविक अर्थ र अभिप्रायलाई नबुझी वाणीलाई श्रवण र अध्ययनसम्म मात्रै सीमित राख्छन् उनीहरूको महत्त्व दुधरहित एउटी बैली गाईको जति मात्रै हुन्छ । यसरी नै क्रमशः यसै सूक्तको छैटौँ मन्त्र यस्तो छ-
“यस्तित्याज सचिविदं सखायं न तस्य वाच्यपि भागो अस्ति । यदीं शृणोत्यलकं शृणोति नहि प्रवेद सुकृतस्य पन्थाम् ॥“
अर्थात् मित्रभावले रहित भए ज्ञानीको वाणी पनि सर्वथा फलहीन नै हुन्छ । यस्ता मान्छेहरूले जे सुन्छन् ती सबै निरर्थक नै हुन्छन् । यस्ता मानिसहरू सधैँ सत्कर्मको मार्गबाट पनि वञ्चित नै हुन्छन् । यहाँ उल्लेख गरिएका ऋग्वेदका यी श्लोक वा मन्त्रहरूबाट ऋग्वैदिक ऋषिहरूले वाणीका विषयमा कति गम्भीरतापूर्वक चिन्तन मनन गरेका रहेछन् भन्ने स्वतः स्पष्ट हुन्छ । उनीहरूले वाणीलाई श्रवण र अभिव्यक्तिको साधन मात्रै नठानेर चिन्तन र साधना गर्न योग्य दैविक सम्पदाका रूपमा ग्रहण गरेको देखिन्छ । यी ऋग्वैदिक ऋषिहरूले वाणीको साधना गर्नका निम्ति मेधा (बुद्धी), सत्पात्रता, मित्रवत् व्यवहार एवं विषयगत गहनता र गम्भीरतालाई आवश्यक साधनका रूपमा स्वीकार गरेको कुरा माथि उल्लेख गरिएका श्लोकहरूबाट स्पष्ट हुन्छ ।
वाग्देवीको स्तुतिको अभीष्टले नै रचना गरिएको, ऋग्वेदको दसौँ मण्डलको एक सय पच्चिसौँ सूक्तमा पनि वाक्तत्त्वकै महिमा वा महत्त्वलाई प्रतिष्ठापित गरिएको छ । सूक्तको चौथो मन्त्रमा वाक्तत्वको महत्त्व र महिमालाई यसरी गाइएको छ-
“मया सो अन्नमत्ति यो विपश्यति यः प्राणिति य ईं शृणोत्युक्तम् ।
अमन्तवो मां त उप क्षियन्ति श्रुधि श्रुत श्रद्धिवं ते वदामि ॥”
अर्थात् मनुष्यमा जो प्राण, धारण, श्रवण, दर्शन एवं अन्नलाई ग्रहण गर्ने सामार्थ्य छ त्यो सबै वाग्देवी (वाणी)-कै कारणले प्राप्त भएका हुन् । यसर्थ ती जसले वाणीको मर्मलाई जान्दैनन् उनीहरू निश्चय नै छिट्टै नष्ट हुन्छन् । क्रमशः यसै सूक्तको अर्को श्लोकमा यसो भनिएको छ –
“अहमेव स्वयमिदं वदामि जुष्टं देवेभिरुत मानुषेभिः ।
यं कामये तंतमुग्रं कृणोमि तं ब्रह्माणं तमृषिं तं सुमेधाम् ॥”
अर्थात् जसको मनन वा चिन्तन मनुष्य र देवताहरूले समेत गर्दछन् ती सबै मैद्वारा प्राप्त भएका उपदेश हुन् । जसमाथि म अर्थात् वाणीको कृपा हुन्छ, उही नै बलवान, मेधावी, प्रस्तोता एवं ऋषि बन्न सक्छन् ।
यस सूक्तका अन्य मन्त्रहरूमा पनि यज्ञोपयोगी दैविक शक्तिहरूमा वाणी वा वाक्तत्त्वकै सर्वोच्च र विशिष्ट एवं महिमामय स्थान रहेको कुरा बताइएको छ । अझ यस सूक्तको छैटौँ, सातौ र आठौँ मन्त्रमा त आकाश, अन्तरिक्ष, पृथ्वी, जल सबैतिर वाणी नै व्याप्त छ भन्ने भाव प्रकट गरिएको छ ।[४]
निष्कर्ष-
सार शब्दमा भन्नुपर्दा ऋग्वेदका विभिन्न ऋचाहरूमा नै भाषा वा वाणीसम्बन्धी चिन्तनका प्राचीन प्रारूप अर्थात् बीज रूप फेला पर्दछन् । अतः भारतीय परम्परामा ऋग्वैदिक कालदेखि नै वाणीसम्बन्धी चिन्तनका प्रयासहरू भएको पाइन्छ । ऋग्वैदिक ऋषिहरूले गरेका वाणी विषयक चिन्तन सूत्रात्मक, रहस्यात्मक, एवं आध्यात्ममुखी हुनका साथै विचारणीय तथा विवेचनीय देखिन्छन् । यसरी ऋग्वेदबाट प्रारम्भ भएको भारतीय भाषा चिन्तनको परम्परालाई उत्तर ऋग्वैदिक कालका संहिता ग्रन्थ, ब्रह्मण ग्रन्थ, उनिषद् ग्रन्थ, प्रातिशाख्य एवं व्याकरण ग्रन्थहरूले उत्तरोत्तर विकाशका नवीन गति र दिशा प्रदान गरेको देखिन्छ ।
सन्दर्भ सूची
- ऋग्वेद भाग १,२,३,४, – प्रस्तुति आचार्य वेदान्त तीर्थ, मनोज पब्लिकेसन्स, दिल्ली;
- ऋग्वेद- अनुवादक लुइँटेल तिलकप्रसाद विद्यार्थी पुस्तक भण्डार, वि.सं.२०६६;
- बन्धु चूडामणि भाषाविज्ञानका सम्प्रदाय, एकता बुकस, चौथो संस्करण, वि.स. २०७०;
- द्विवेदी कपिलदेव – संस्कृत व्याकरण ।
[१] मिश्र विद्यानिवास – भारतीय भाषाशास्त्रीय चिन्तन, पृष्ठ १
[२] अ) मिश्र विद्यानिवास, पूर्ववत्,
आ) बन्धु चुडामणि – भाषाविज्ञानका सम्प्रदाय, पृष्ठ १२,
[३] द्विवेदी कपिलदेव – संस्कृत व्याकरण, पृष्ठः ११,
[४] अ) ‘’अहं सुवे पितरमस्य मूर्धन् मम योनिरप्स्वन्तः समुद्रे।
ततो वि तिष्ठे भुवनानु विश्वोतामूं ध्यां वष्मर्णोम स्पृशामि।।‘’
आ) ‘’अहमेव वात इव प्र वाम्यारभमाणा भुवनानि विश्व।
परा दिवा पर एना पृथिव्यैतावती माहिना सं बभूव।।‘’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

