मनमौजी भाषा

भाषालयको यो एक कोरी शृङ्खला हो । अघिल्लो शृङ्खलामा पनि कोरीको कुरा थियो र कोरीबारे कमैलाई थाहा हुनसक्ने सम्भावनासहित केही प्रश्न पनि थिए । ती गणना कसरी गर्ने भन्नेमा केन्द्रित थिए ।

कोरी नेपाली भाषामा गणना पद्धतिको विशिष्ट अङ्क हो । यो नेपालमा बोलिने अरू पनि मातृभाषाहरूमा पनि त्यस्तै विशिष्ट अङ्क हुनसक्छ । नेपाली भाषामा र अरूमा पनि अहिले हामी त्यसलाई २० भनी बुझ्न सक्छौँ तर कोरीले बुझाउने र २० ले बुझाउने अर्थगत सन्दर्भ भिन्नै छ । यसबारे तल फेरि चर्चा गरिने छ । यहाँ भने भाषालाई नै बुझाउन भाषाको छोटो चर्चा गरिएको छ ।

भाषामा शब्द र अङ्क सरोबरी प्रयोग हुन्छन् । तिनले केही न केही चिज वस्तु वा मनोभावको प्रतीकात्मक अर्थवहन गर्दछन् । त्यसैले भाषालाई ‘वाक्प्रतीक’ भन्ने गरिएको हो । अथवा कुनै चिजवस्तु अथवा भावलाई भाषिक रूपमा मानिएको हो । त्यो मान्ने परम्परागत हुन्छ ।

त्यसरी मान्नका लागि कसै न कसैले कुनै न कुनै समयमा यो भनेको यही हो भनेर गरेको नामकरण हुन्छ । त्यो समय अज्ञात वा ज्ञात पनि हुनसक्छ । त्यसैलाई ‘याद्रिच्छिक’ भन्ने गरिएको छ । त्यो ‘यादृच्छिकता’ मनमौजी वा आकष्मिक वा इच्छा अनुसारको हुन्छ ।

केदार वाशिष्ठ

कुनै चिज वस्तु वा भावलाई मनमौजी दिइएको नामको त्यो ‘यादृच्छिकता’ले ‘वाक्प्रतीक’ निर्माण गर्दछ । जस्तो आगो भन्ने वस्तुका लागि आगो भन्ने नाम वास्तविक आगो नभई पोल्ने वा डढाउने विशेषतायुक्त तत्व आगो हो भनेर कसैले चलाएको नाम वास्तविक आगोको ‘वाक्प्रतीक’ बनेको हो । अङ्ग्रेजीमा त्यो fire फायर भएको छ, अरू भाषामा अरू अरू नै छन् ।

नेपाली भाषाको ‘आगो’ त्यसै आगो भएको होइन, संस्कृतको ‘अग्नि’ प्राकृतमा ‘अग्गि’ हुँदै नेपालीमा ‘आगो’ बनेको हो । अर्थात् वाक्प्रतीकहरू यादृच्छिकतामा परिवर्तन हुँदै पनि बन्ने यसबाट स्पष्ट हुन्छ । तर त्यसको रूढ अर्थमा परिवर्तन भएन । त्यही भएर भाषाको आगोले पोल्दैन डढाउँदैन, तर वास्तविक आगोले पोल्छ, डढाउँछ ।

त्यसरी मनमौजी वा आकष्मिक वा इच्छा अनुसारका भाषिक शब्दहरूको नित्य र परम्परागत प्रयोगको समुच्चय भाषा हुन्छ । बोलीमा आगो वर्णहरूको उच्चारणबाट बुझिन्छ भने त्यही लेख्दा उच्चार्य वर्णका प्रतीकात्मक लिपिमा लेखिन्छ । लिपि पनि भाषा लेखनका लागि मानिएको प्रतीकहरूको समूह हो ।

भाषा प्रतीकहरूको समुच्चय हुने हुँदा कुनै समुदाय वा क्षेत्र वा देशका बासिन्दामा जति धेरै प्रतीकको ज्ञान हुनसक्यो ती स्थानमा प्रयुक्त भाषा त्यति नै सम्पन्न हुन्छ । त्यसका लागि अब फेरि माथि थाँती राखिएको ‘कोरी’कै चर्चा गरौँ ।

कोरीको वंशावली

माथि पनि चर्चा गरियो ‘कोरी’ भनेको २० को गणनाका लागि प्रयोग गरिएको ‘वाक्प्रतीक’ हो । नेपाली भाषामा यसको प्रयोग कोरी भए पनि यसको प्रचलन भने अङ्ग्रेजी भाषाको score (स्कोर) शब्दबाट सुरु भई परिवर्तनसहित कोरी बनेको प्रज्ञाको नेपाली शब्दकोशले भन्दछ । अङ्ग्रेजीमा चाहिँ score को गणनासँग सम्बन्धित अर्थ a group or set of twenty or about twenty (बिस वा करिब बिसको समूह) भन्ने हुन्छ । अर्थात् यो अङ्ग्रेजीमा २० वा २० भन्दा कम र बढी पनि हो । नेपालीमा भने ‘कोरी’ले ठ्याक्कै २० लाई मान्दछ र त्यसभन्दा कम वा बढीका गणनामा कोरीमा घटाएर वा बढाएर प्रयोग हुन्छ । यसमा अरू स्पष्ट हुन हजुरआमा र नातिनीबिचको एउटा काल्पनिक सम्वाद हेरौँ :

हजुरआमा एक कुरा सोधुँ ?

सोध् न !

तपाईँ कति वर्षकी हुनुभयो ?

ठ्याक्कै चार कोरी ।

यो कोरी भनको के नि ?

कोरी भनेको बिस क्या ।

(नातिनी एकछिन विचारेर) ए ए यु मिन फोर इज टु ट्वान्टी । द्याट इज एट्टी इयर्स । बिहे चाहिँ कति वर्षकी हुँदा भएको नि ?

म एक कोरीमा चार बर्ख कम हुँदा तेरा हजुरबाले ल्या’का ।

अनि मेरा बा चाहिँ तपाईँ कति उमेरकी हुँदा जन्मनुभएको ?

म एक कोरी एक बर्खकी छँदा तेरो बाउ जन्मेको । बिहे भ’को तीन बर्खाँ एउटा खेरा गा’थ्यो ।

अहिलेको पुस्ताले यो कोरीवाला शब्द र गणना जान्दैन । २० अर्थात् बिसले नै त्यो गणनालाई समेट्छ । अलि पुरानो पुस्ताले नेपालीमा कसरी अङ्ग्रेजीको score बाट कोरी शब्दलाई गणनामा प्रयोग गर्न थाल्यो ठम्याउन केही अध्ययन गर्नुछ ।

यो सोझै अङ्ग्रेजीको स्कोरबाट नभई फारसी हो वा आर्मेनियाली भाषाको ‘कूरी’ शब्दबाट आएको इतिहास पाइन्छ । सन् १६८२ देखि सन् १६९३ मा आर्मेनियाली व्यापारी होभान्नेस जौग्हायेत्सीले भारत–नेपाल–तिब्बतको त्रिदेशीय व्यापार गर्दाको उनको बही खातामा उल्लेख भएको विवरणमा व्यापारिक वस्तुको नापतौलमा २० वटा वस्तुको समूह जनाउन ‘कूरी’ शब्दको प्रयोग भएको छ । (त्यसबेला प्रचलनमा आएका अरू भाषिक विशेषताका लागि यसै लेखकको नेपाल विद्याका पृष्ठ ३१५–३२४ हेर्नुहोस् ।)

त्यस बेलादेखि नै score ‘कूरी’ हुँदै अहिलेको नेपालीमा ‘कोरी’ भएको रहेछ । त्यसैले म गणनामा ‘कोरी’ शब्द मातृभाषाका रूपमा जान्ने व्यक्ति हुँ । अर्थात् नेपालीले मूलअङ्ग्रेजी भाषाका मानिएका शब्दहरू मातृभाषाका रूपमा प्रयोग हुन थालेको निकै भयो । यो भाषिक सम्पर्कका कारण हो, सम्पर्क बढ्दै जाँदा अर्कै भाषा बन्न पनि सक्छ जुन pidgin पिजिन हो र पिजिनलाई नै मातृभाषा बनाउने अवस्था creole/kriol क्रिओल हो ।

दुई वा सोभन्दा बढी भाषामा व्यवहार गर्दै जाँदा बुझ्ने सहजताका लागि एकअर्काका मूल भाषाका शब्दमा स्वाभाविक उच्चारणगत परिवर्तन हुँदै जानुलाई भाषाविज्ञानमा पिजिन (pidgin) भनिन्छ । पिजिन बन्ने मुख्य रूप व्यापार रहेको मानिन्छ । त्यही पिजिन नै पहिलो भाषा अर्थात् मातृभाषाका रूपमा प्रयोगमा आउनु क्रिओल (creole/kriol) हो ।

नेपाली भाषाको कोरी पिजिन र क्रिओल दुबै रूपको शब्द हो । पिजिन र क्रिओलबारे थप चर्चा नगरी यहाँ भने कोरीकै पुर्खाको खोजी गरौँ । अङ्ग्रेजीमा पनि score भाषिक सम्पर्कबाटै आएको कोरी शब्दको वंशावली खोज्दा देखिन्छ । अर्थात् त्यो अङ्ग्रेजीको पनि आफ्नै शब्द होइन ।

पुरानो अङ्ग्रेजीमा २० का लागि scoru प्रयोग हुन्थ्यो र त्यो पनि इसाको नवौँदेखि १३औँ शताब्दीमा उत्तरी जर्मनिक भाषिक समूहको पुरानो नोर्सको skore स्कोरबाट आएको हो, जसको अर्थ चिनो, कोराइ, चिरा वा ढुङ्गामा परेको दरार भन्ने हुन्छ । त्यसको अर्थ काट्नु भन्ने पनि हुन्छ ।

त्यसको प्रयोग चाहिँ ठुलो सङ्ख्यामा रहेका भेडा गन्दा हरेक २० वटाका लागि लाठीमा एउटा खाँच काटेर गन्न थालिएको हो । त्यसै किसिमको गणना पुरानो फ्रान्सेली भाषामा पनि हुन्थ्यो र २० लाई vint (भिन्ट) भनिन्थ्यो । युरोपका अरू भाषाहरूमा पनि २० को समूहको गणनाका त्यस्तै परम्परा पाइन्छन् ।

त्यसैले यस्तो गणनाको भाषा इसापूर्व १२०० ताका युरोपेली क्षेत्रका आदिबासिन्दा सेल्टहरूले निर्माण गरेको मानिएको छ । पछि खेलको हारजितका लागि पनि त्यही score प्रयोग गर्दै २० कै हाराहारीमा नतिजा निकाल्न थालिएको हो । (यी दुई सामग्री पनि हेर्नुहोस् ।) अर्थात् २० गणनाको आधारअङ्क थियो ।

युरोपेली भाषाको सम्पर्कमा नपरेका आधारमा यता नेपालीको २० भने संस्कृतको ‘विंश’बाट बनेको देखिन्छ । यस गणना पद्धतिमा पनि २० लाई आधार मान्ने गरिएको २० भन्दा साना र ठुला सङ्ख्याका लागि २० कै आधार पद अनुसार गणना गरिन्थ्यो अर्थात् उन्नाइसका लागि ‘एकोनविंश’ वा २० भन्दा एक कम र २१ का लागि ‘एकविंश’ अर्थात् २० र १ । यो आधार पद २० बाट नभई हरेक १० का आधारमा भएको पनि देखिन्छ, जस्तै : एघारका लागि ‘एकादश’; उनान्तिसका लागि ‘एकोनत्रिंश’ र एकतिसका लागि ‘एकत्रिंश’ आदि ।

यसबाट के स्पष्ट हुन्छ भने भाषाको निर्माण व्यवहारमा आधारित छ । त्यस्तो व्यवहार यो मनका कुरा यो मनका कुरा त्यो मनमा र त्यो मनका कुरा यो मनमा आदान प्रदान गर्न बनाएको माध्यम हो अर्थात् भाषा हो । यो भाषा निर्माणको एउटा उदाहरण मात्र हो भाषा निर्माणको विन्दु भने होइन ।

त्यस्तै आधारमा मानिसले भाषाका कथ्य वा लेख्य प्रतीक निर्माण गर्दछ । scoru/skore/score वा ‘कूरी’ वा ‘कोरी’ वा २० भनेर बोल्दै गन्नु कथ्य भाषा हो त्यसैलाई सङ्केत गर्न लाठीमा २० का लागि खाँच काट्नु भाषाको लेखन हो । कालान्तरमा त्यस्ता कथ्य र लेख्य प्रतीकमा परिवर्तन आउन सक्छन्, भाषा परिवर्तन हुनसक्छ तर त्यसको अर्थ भने विश्वव्यापी रूपमा एक हुने गर्दछ ।

भाषामा जति धेरै त्यस्ता प्रतीकहरू निर्माण हुनसक्छन् भाषाको समृद्धि त्यही आधारमा देखिन्छ । त्यो भनेको फेरि मानव विकाससँग सम्बन्धित हुन्छ । पपुआ न्युगिनीका अदिबासी र त्यहाँका भाषा एवं गणनालाई हेर्दा यो अरू स्पष्ट हुन्छ ।

पपुआ न्युगिनीका गणना

पपुआ न्युगिनी भाषिक अध्येताहरूका लागि प्रयोगशाला जस्तै हो । त्यहाँ ८५० भन्दा बढी भाषा बोलिन्छन् तर त्यहाँको सरकारी कामकाजको भाषा भने पिजिन भाषा छ । चार वटा सरकारी कामकाजका भाषा रहेकामा टोक पिसिन (Tok Pisin) र हिरी मोटु (Hiri Motu) वा पुलिस मोटु (Police Motu) वा हिरी पिजिन (Hiri Pidgin) वा हिरी (Hiri) मात्रै, र पपुवा न्युगिनीको साङ्केतिक भाषा बनावटी भाषा हुन् भने बेलायतको उपनिवेश र अहिले पनि कमनवेल्थको सदस्य रहेका कारण अङ्ग्रेजी रहेका छन् ।

टोक भनेको अङ्ग्रेजीको talk र पिसिन भनेको pidgin हो । अर्थात् दुबै त्यहाँका आदिबासीका भाषाका शब्द होइनन् । हिरी पिजिनमा चाहिँ ‘हिरी’ सम्म चाहिँ त्यहीँको भाषाको नाम हो । यतिका धेरै भाषा रहँदा पनि सरकारी कामकाजको भाषाको यो अवस्था अचम्मको छ । यही आधारमा हुनसक्छ पपुआ न्युगिनीलाई भाषिक जटिलताको देश पनि भनिन्छ । थुप्रै भाषाअध्येताहरूले पपुआ न्युगिनीका भाषाहरूका विशेषताको अध्ययन गरेका छन् । ती भाषाको निर्माण अथवा भाषा विकासको कडी केलाउन सहयोगी छन् । तीमध्ये एउटा अध्ययनबारे यहाँ चर्चा गरिएको छ ।

सन् १९०१ मा क्याम्ब्रिज एन्थ्रोपोलजिकल एक्स्पिडिसन टोलीले टोर्रेस स्ट्रेइट्स्का आदिबासीलाई पर्दामा एउटा प्वालबाट देखाएर केही थोल्पाहरू गन्न लगाएको थियो । त्यसो गर्दा उनीहरूले ६ अङ्कसम्म सहजै गणना गरेका थिए तर उनीहरूको गणना विधि भने बेग्लै थियो ।

उनीहरूले ती थोप्लालाई उनीहरूले गरेका गणना यस्ता थिए :

netat (नेतात)                              १

neis (नेइस)                                २

neis-netat (नेइस–नेतात )                    ३

neis-neis (नेइस–नेइस)                       ४

neis-neis-netat (नेइस–नेइस–नेतात)             ५

neis-neis-neis (नेइस–नेइस–नेइस)               ६

६ सम्म गनेपछि भने उनीहरूले हात र गोडाका औँला गन्न थाले ।

पपुआ न्युगिनीको टोर्रेस स्ट्रेइट्स्का आदिबासी समुदायमा शरीरका अङ्गबाट सङ्रख्या गन्ने तरिका । स्रोत : जर्जस् इफ्राह् दी युनिभर्सल हिस्ट्री अफ नम्बर्स

यसले ६ पछिको गणना पद्धति सरल नरहेको बरू २ देखि नै गणनाका लागि शाब्दिक प्रतीक वा वाक्प्रतीक निर्माण ज्यादै कम भएको देखाउँछ । ६ पछिको जटिल गणनाको पद्धति पनि बेग्लाबेग्लै रहेको पाइन्छ । त्यो समुदायहरू अनुसार फरक छ । कुनैले हात खुट्टाका औँला गनेर, त्यसले नपुग्दा शरीरका अन्य अङ्ग गणना गर्दछन् (चित्र हेनुर्होस्) भने कुनैले वस्तुगणना पद्धति पनि अपनाएका छन् । तिनमा ५, ६, २० को विभाजकलाई आधार बनाएको हुन्छ ।

फेरि २० कै कुरा

सङ्ख्याका लागि अङ्ग गणनाविधि पपुआ न्युगिनी मात्र होइन हाम्रा लागि पनि उत्तिकै प्रयोगको पद्धति हो । हामी केही चिज गन्दा हातका औँला गन्छौँ । एक हातका औँलाले नपुग्दा अर्को हातका गन्छौँ । त्यसले क्रमशः ५ र १० को गणनाको आधार देखाउँछ । अझ धेरै गन्नु परे हामी हातका औँला होइन आँख्ला गन्छौँ र एउटा हातमा नै २० पुर्याउँछौँ र अर्को हातमा अर्को २० । अर्थात् २० हाम्रो गणनाको आधार बन्यो । त्यो ‘कोरी’का रूपमा पनि प्रचलनमा रह्यो । ‘कोरी’ भनेको केबल गणनाको आधार मात्र रहेन । कागज विशेषको नापतौलको प्राविधिक गणनामा पनि ‘कोरी’को प्रयोग हुनथाल्यो । नेपाली भाषामा ‘कोरी’ शब्दको अर्थ ‘बिस ढेपको कागतको ठेली वा समूह’ भन्ने पनि हो । माथि उल्लेख गरिएका आर्मेनियाली व्यापारीले नेपालबाट लगेका व्यापारिक वस्तुमा कागज पनि थियो ।

अहिले हामीले गणना गर्दा सङ्ख्याका धेरै प्रतीक हामीसँग छन् । हामी अर्ब खर्बसम्म स्मरणका आधारमा गन्न सक्छौँ तर पपुआ न्युगिनीका आदिबासीहरूले त्यस्ता प्रतीक निर्माण गर्न सकेको पाइँदैन । त्यसैले उनीहरूले गणना गर्दा थोरै मात्र प्रतीक (माथिको अध्ययनमा ६ सम्मका) बाट काम चलाएर अरूमा शरीरका अङ्ग परिचालन गरेको देखिन्छ ।

वाक्प्रतीक निर्माण गर्नु भनेको वस्तु वा भावको मनमौजी नाम राख्ने चलन वा यादृच्छिकताको प्रयोग गर्नु हो । त्यसका लागि धेरै कुरा सहयोगी हुन्छन् । मानवमा रहेको अध्ययनशीलता, नयाँ प्रयोग, आविष्कार जस्ता कुराले त्यसलाई निर्देशित गर्छ ।

भाषा विचारको व्यापारको माध्यम भएकाले व्यवहार वा आचरण जति धेरै विस्तार हुन्छ भाषाको स्तर पनि त्यति नै विस्तार वा विकास हुँदै भाषिक सम्पन्नताको यात्रा तय हुन्छ । तर भाषाको सार्वभौम अर्थ भने संसारकै एक हुन्छ । त्यसैले आगोले पोल्छ वा डढाउँछ भाषाको आगोले पोल्दैन वा डढाउँदैन । आगोको मनमौजी नामकरण गर्नेले आगोलाई पानी भनिदिएको भए त्यही यादृच्छिक भएर रूढ हुन्थ्यो अर्थात् हामीलाई पानीले पोल्थ्यो र आगोले शीतलता प्रदान गर्थ्यो।