साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जुद्ध सडकमा न्युरोडको झाँकी

ठगहरुको बिगबिगी जताततै छ । अहिले डिजिटल वा साइबर ठगहरु पनि निस्केका छन् तर गाउँले जीवनमा ठगहरुको धन्दा कस्तो हुन्थ्यो भन्ने देखाइदिने कथा “दशैँको केरा” हो ।

भाषालयको यस शृङ्खलामा हालै प्रकाशनमा आएको एउटा पुस्तक र त्यसमा प्रयुक्त भाषिक पक्षका आधारमा नेपाली भाषाको ऐतिहासिक पक्षबारे खोजी गरिएको छ । भाषाका प्रयोग क्षेत्रहरुमध्येको एक पुस्तक पनि हो, र लेखकले भाषाको प्रयोग गरेर अरुलाई देखाइदिने हो । त्यसै आधारमा यहाँ पुस्तक समीक्षाका रूपमा भाषिक चर्चा गरिएको छ ।

पूर्वपीठिका

तुलसीहरि कोइराला र म न्युरोड जान थालेको अढाइ दशक हुन लाग्यो । उनी र म मात्र होइन न्युरोड जाने अरु पनि धेरै छन् । हामीभन्दा अघिदेखि जाने र त्यहीँ नै रासोबासो भएका पनि धेरै छन् । तर सबैले सबै कुरा देख्दैनन् जोसँग देख्ने बेग्लै क्षमता हुन्छ उसले देख्छ । अनि जोसँग लेखन कला हुन्छ उसले लेख्छ र अरुलाई देखाउँछ ।

तुलसीहरि र म न्युरोड जान थालेको त्यसै रल्लिन र हल्लिन मात्र होइन हामी दुबैले काम गर्ने मुख्य कार्यालय एउटै हो । तर कार्यप्रकृतिले कोठा र काम अलि फरक । २०५५ देखि उनी मधुपर्क मासिकमा र म गोरखापत्र दैनिकमा काममा थियौँ । अलिकति रुचिले पनि काम गरेको होला तर मूलतः लाए अराएको काममा हामी थियौँ ।

न्युरोडमा जाँदा मैले आजसम्म न्युरोडको समाचार लेखेको सम्झना छैन तर साथी तुलसीहरि यस्ता जौडे निस्किए उनले “न्यूरोडका झाँकी” कथा सङ्ग्रह नै निकालेर हस्ताक्षरसहित पढ्न दिए । दिँदा उनले मनमनै भनेको कुरो मेरो मनले सुन्यो, ‘लौ हेर ! तँ र मसँगै न्युरोड जाने आउने गरेका हैनौँ ? तैले के गरिस् आजसम्म ? लु पढ् समाचार कथा ।’ मैले केही नबोली किताप लिएँ । पढ्न मात्र दिएका हुन् कि केही लेखिदियोस् पनि भन्ने चाहना थियो मैले सोधिनँ, सोध्नु जरुरी पनि ठानिन ।

उनकै अगाडि सरसर्ती पल्टाएँ किताप, १९ वटा कथा रहेछन् । शीर्ष कथा चाहिँ न्युरोडकै विषयको रहेछ । यति गरेपछि किताप बन्द गरेँ । पछि पढिसक्न निकै समय लाग्यो । पहिले “न्यूरोडको झाँकी” नै पढेँ । कथा पढिसकेपछि पत्रकार र साहित्यकारको संयोजित क्षमता त्यस कथामा रहेको पाएँ । खासमा दिनमा हजारौँ मानिसले न्युरोडको प्रयोजनपरक वा निरुद्देश्य पनि भ्रमण गर्लान् । तर कुनै एक विषयको मिहिन अवलोकन कमैले गरेका हुन्छन् । अवलोकनको नियमितताको पाटो त अरू बेग्लै भयो । यी दुबैमा कथाकार अब्बल ठहरिएका छन् ।

नयाँ सडकको किनारामा बसेर, सुतेर, हात पसारेर वा कचौरा थापेर माग्नेको बेग्लै संसार थियो/हुन्छ भन्ने जो कोहीले बुझ्न सक्दैन । न्युरोडका मगन्तेको कथाव्यथाको कथा पढेपछि मेरो दिमागमा पनि त्यहाँका पात्र र परिवेशको पूर्वदीप्ति भयो । त्यसैले यो कथा काल्पनिक हैन भनेर म भन्न म ठोकुवा गर्नसक्छु ।

त्यही पूर्वपीठिका स्थापना गर्न र भुइँमान्छेका वास्तविक कथा लेखिएको देखाउन मैले हाम्रा व्यक्तिगत प्रसङ्ग केलाएको हुँ । वास्तवमा साहित्य कोरा कल्पना हुनुहुँदैन, समाज देखाउने ऐना हुनुपर्छ । “न्यूरोडका झाँकी” कथा सङ्ग्रहको शीर्ष कथाले मात्र होइन अरु पनि कथाले कल्पनाशीलताभन्दा पनि समाजमा विद्यमान समस्याको सत्यता प्रस्तुत गरेका छन् ।

समाज देखाउने कथा

न्युरोडका झाँकी नयाँ सडकको समाज र परिवेशका कुनै रमाइला झाँकीलाई सफा ऐनामा देखाउने कथा होइन । यो इतिहासका विभिन्न घटना र परिघटनाको साक्ष्य पिपलको बोटले सुनेको कथा पनि होइन न त चारजना सहिद बनाएको नैतिक जिम्मेवारी लिएर ‘राजर्षि’ बनेका जुद्धसमशेरको न्युरोडमै ठडिएको श्रीपेचसहितको श्री ३ महाराजाको जर्नेली पोसाकको शालिकले देखेको शासकीय चरित्रको कथा हो । यो त न्युरोडमा मात्र नभई देशैभर मगन्ते रहेको र देश नै मगन्तेका रूपमा पनि चित्रण गर्ने प्रतिनिधि कथा हो । देश र समाजका हरेक क्षेत्रमा रहेको विकृति र विसङ्गति जस्तै मगन्तेको संसारमा रहेको ज्यादतीको पराकाष्ठा यस कथामा प्रस्तुत भएको छ ।

सङ्ग्रहका अरु कथा विविध क्षेत्र र विषयवस्तुका छन् । नेपालको राजधानीदेखि छिमेकी देश भारतको राजधानी दिल्ली देखाउने कथा पनि छन् । त्यतिले मात्र नपुगेर बेलायती हाँसोसम्म पस्किएका कथा छन् । यति हुँदाहुँदै पनि सङ्ग्रहको मूल कथा चाहिँ “कुरुवा” हुनुपर्ने हो ।

जुद्ध सडकमा रहेको जुद्ध शमशेर जबराको शालिक

समाज र देशको समस्याको चुरो र सुधारको थालनीको पाटो पनि त्यही कथामा छ । अबका देश भन्नु नै बालबालिका हुन् र उनीहरुको अधिकार सुनिश्चित गरिदिनु भनेको देशको भविष्य सुनिश्चित गर्नु हो । शिक्षा, रोजगारी, समानता गरिबी अन्त्य गर्ने साधन हुन् तर मानसिकता परिवर्तन गर्ने साधन होइनन् । हाम्रो समस्या मानसिकताको हो । “कुरुवा” कथाले दिने सन्देश स्पष्ट छ ।

“बिनापार्टीको मान्छे” कथा पनि बालबालिका कस्तो देश चाहान्छन् भन्ने जनाउने कथा हो । चरम राजनीतिक विभाजनले बालबालिकामा परेको प्रभावबाट मुक्तिका लागि उनीहरु आफैले देखाएको अब्बल कथा हो यो ।

हाम्रो समाज समस्याग्रस्त छ तर कति ? भनेर हिसाब गर्ने हो भने उत्तरमा आधाभन्दा बढी निकाल्न सकिन्छ । महिलाको जनसङ्ख्या आधाभन्दा बढी रहेको र विभिन्न उमेर समूहका नारी समस्याका कथाले त्यसको उजागर गरेका छन् । “बेलायती हाँसो”, “विज्ञापन”, “डि.भि. चिठ्ठा”, “खातूनी भाउजू”, “ख्वाइँमाया”, “ओदानको फेटा” र “थुइक्क पानीमरुवा” नारी समस्याका कथा हुन् ।

नारी समस्या यौनको विषयमा पनि छ भन्ने देखाउने कथा पनि हुन् “ओदानको फेटा” र “थुइक्क पानीमरुवा” । यौन समस्या महिलाको मात्र होइन है पुरुष पनि यसबाट पीडित छन् भनेर सगज गराउने कथा “तृष्णा–तृप्ति” हो । अनमेल विवाहका कारण एक अर्काका यौनेच्छापूर्तिमा समस्या हुने कुरा यस कथाले देखाएको छ ।

यी कथाले आधा समाजको समस्या त देखाउँछ त्यसमा अरूअरू कथाका अङ्कभारलाई थप्दै जाने हो भने समस्याको सगरमाथा तयार हुन्छ । त्यस्तै जातप्रथा र सामन्तीप्रथाको समस्यालाई देखाउने कथा हो “चोख्याएको गाउँ” । जातका नाममा समाज कसरी विभाजित छ र त्यसको फाइदा कुन वर्गले लिइरहेको छ भन्ने देखाउने यो कथा पनि अब्बल दर्जामा पर्छ ।

“ठूलोबाको कन्तुर” र “पिलो” कथा देशमा मौलाएको भ्रष्टाचारलाई देखाउने शृङ्खला कथा हुन् । दुई बेग्लाबेग्लै कथाका रूपमा रहे पनि पात्र र परिवेश तथा कथानकले ती कथाको शृङ्खला देखाउँछ र कथाकार उपन्यासकारका रूपमा पनि उदाउँदैछन् कि भन्ने सङ्केत गर्दछ ।

ठगहरुको बिगबिगी जताततै छ । अहिले डिजिटल वा साइबर ठगहरु पनि निस्केका छन् तर गाउँले जीवनमा ठगहरुको धन्दा कस्तो हुन्थ्यो भन्ने देखाइदिने कथा “दशैँको केरा” हो । एउटा घडेरी बेच्न धेरै जनासँग बैना लिएर बेच्ने परिपाटी सिकाएको साइलो खत्री जस्ता पात्रले हो । ठगहरुलाई ठेगान लगाउने सामर्थ्य नहुँदासम्म तिनको विस्तार हुन्छ नै ।

समग्रमा कथाहरु कथा जस्ता छैनन् बरु आममानिसले भोगेका जीवनका दुखका पाटाहरु केलाइएका घटना छन् । त्यसैले ती समाजको यथार्थ चित्रण गर्न सफल छन् । त्यसरी सफल पार्नका लागि प्रयुक्त सरल भाषा शैली पनि कारक रहेको छ । तर भाषामा कतै कतै जबर्जस्ती पनि गर्न खोजिएको देखिन्छ ।

जुद्ध सडकमा न्युरोडका झाँकी

मलाई थाहा छ अब तुलसीहरिले यहाँभन्दा तल पढिसकेपछि मेरो झाँको झार्छन् किनकि उनको “न्यूरोडका झाँकी”लाई मैले कतिपय ठाउँमा ‘न्युरोडका झाँकी’ बनाइदिएको छु । तर मैले त्यो त्यसै गरेको होइन, त्यसका आधार छन् ।

खासमा जुद्धसडक नयाँसडक हुनु र नयाँसडक ‘न्यूरोड’ हुँदा न त्यसको लम्बाई बढेर उच्चारणमा दीर्घता आएको वास्तविकता हो न नेपाली जिभ्रोले न्यूऽऽरोड नै भन्ने हो । बरु झोँछे टोललाई केन्द्र बनाउँदै गाँजाको परख गर्न लस्कर लागेका हिप्पीहरुले जुद्ध सडकलाई न्युरोड (नयाँ सडक) भनिदिएकोले हुनसक्छ । त्यसको अर्को पुष्टि सोही सडक भएर जाने दरवार क्षेत्र ‘दरवार स्क्वेयर’ भएजस्तै हुनसक्छ ।

नेपालमा मात्र होइन विश्वमा नै अहिले हिप्पीको लस्कर छैन । नेपालीको हिज्जेमा अङ्ग्रेजीको हिज्जे खोज्न हुँदैन भएको भए पनि सच्याउनु पर्छ । स्थाननाम साझा संस्कृति र सम्पत्ति हुन्छन् । कलकत्ता कोलकाता र बम्बई मुम्बई भएका त्यसै होइनन् । त्यसैले जुद्धसडक विना आधार नयाँ सडक वा न्युरोड वा न्यूरोड हुनसक्दैन ।

नेपाली भाषामा समस्या अङ्ग्रेजीकरणको मात्र होइन जानीनजानी संस्कृततिर धकेल्ने प्रवृत्ति पनि हो । “ठूलोबाको कन्तुर” पनि ठूऽऽलो नै थिएन होला । भ्रष्टाचार गरेर कमाएका जति नै सम्पत्ति हालेर ल्याएको भए पनि ट्याक्सीमा हालेर ल्याएको र दुईजनाले माथिसम्म लगेको घटनाले त्यो ठूलो नभई ठुलो नै थियो भन्ने बोध हुन्छ । जिभ्रोले पनि भन्ने ठूऽऽलो नभई ठुलो नै हो र व्युत्पत्तिको आधार हेर्ने हो भने पनि स्थुल<थुल्ल<ठुलो नै हो । यसलाई क्षतिपूर्ति दीर्घीभवनको नियम लगाएको भए पनि त्यसलाई वैकल्पिक रूपमा राख्ने सहमति विज्ञहरुको थियो र पछि त्यो हटाइएको पनि थियो ।

“खातूनी भाउजू”लाई ‘खातुनी’ नभनी “खातूनी” नै भन्नु पनि “न्यूरोड” भन्नु जस्तै हो अर्थात् नेपाली हिज्जे नखोजी उर्दू–फारसीतिर लाग्नु । अझ त्योभन्दा पनि आम प्रयोगको ‘भाउजू’, ‘माइजू’ जस्ता शब्दको अन्तिम उकार दीर्घ भएको पनि अनुपयुक्त प्रयोग लाग्छ । नेपाली भाषामा प्रायः सबै उकारान्त शब्द ह्रस्व उच्चारण हुने भए पनि स्त्रीलिङ्गीका लागि चाहिँ दीर्घ बनाउनुको भाषावैज्ञानिक आधार के हुनसक्ला ? अनि थरको पनि त्यस्तै किन ? सबै पुलिङ्गी शब्दको अन्तिम उकार ह्रस्व हुने तर स्त्रीलिङ्गी चाहिँ जबर्जस्ती दीर्घ नै बनाउनु पर्ने किन ? व्याकरणमा पनि महिला र पुरुषबीच भेद हुन्छ ? के यो असमानता सिर्जना गर्ने वा विभेद गराउने भाषिक चिन्तन होइन र ? तथापि मैले यी प्रश्न गरेको थिइन ।

नेपाली भाषामा त्यस्तै प्रयोग थरको लेखाइमा पनि छ र अन्य ह्रस्व उकारान्त शब्दमा पनि । हृदयचन्द्र सिंह प्रधानको यस्ता नियममा आपत्ति थियो । हेर्नुहोस्

प्रधान, २०१०:५६, नेपाली भाषा, हाम्रो भाषा, नेपाली भाषा प्रचारक संघ, करफोक इलाम

ञ’ को बेग्लै कथा

खड्कने कुरा यो मात्र होइन । हुन त मैले नलेखेको भए पनि हुन्थ्यो तर पढ्दै जाँदा एउटा प्रसङ्गमा दाँतमा लागेको ढुङ्गोले दुख दिएपछि कथाकारलाई नै सोध्न पुगेको थिएँ । चलनचल्तीको ‘हुन्जेल’ हुँदाहुँदै “हुञ्जेल” (पृष्ठ ९९, कथा खातूनी भाउजू) किन लेखेको ? भनेर सोध्दा उनले दिएका थिए – “ञ वर्ण बचाएको नि !”

हृदयचन्द्र सिंह प्रधान

‘ञ्’ को प्रयोग सम्बन्धमा मलाई लागेको थियो गल्ती भएछ भन्ने पो जवाफ आउला । तर उनको जवाफपछि के लाग्यो भने तुलसीहरिको यो विद्रोह हो । भाषामा र हिज्जेमा गरिएको राजनीतिप्रतिको विद्रोह । ‘ञ्’ मात्र होइन ‘न्’ को प्रयोग भइरहेका शब्दमा पनि ‘ण्’ को प्रयोग भएको छ ।

भाषाको राजनीति अहिलेको मुद्दा होइन । अहिले बल्झाइएको चाहिँ हो । भाषामा राजनीतिको इस्तिहार जारी गर्ने राणा प्रधानमन्त्री जुद्धशमशेर थिए । त्यसको कार्यान्वयन गराउने तहमा पुष्कर शमशेरलगायतका केही थिए । जसले नेपाली भाषालाई नेपालका अरु भाषासँगको सहजातीय सम्बन्धभन्दा पनि संस्कृत र/अथवा वनारस हुँदै चोखिएर संस्कृत जस्तै मान्यता पाएका उर्दू–फारसी शब्दको प्रयोग र हिज्जे परम्परालाई मान्यता दिन्थ्यो ।

हृदयचन्द्र सिंह प्रधानले त्यसको उजागर गरेका छन् । उनी लेख्छन् “अड्डाखानामा नेवारी भाषामा बोल्न हुँदैन, टेलिफोन आफिसमा नेवारी भाषामा खबर दिन पाइन्न ।” (प्रधान, उही) । यो जुद्धशमशेरले भाषामा चलाएको डन्डा थियो । हृदयचन्द्र सिंह थप लेख्छन् –

“नेवारहरुलाई पर्वते (नेपाली) भाषामा बोल्न गौरव भइसकेको थियो । खलककाखलक नेवारहरु पर्वतेभाषाभाषी भइसकेका थिए । जब नेवारी भाषामा बोल्न–लेख्न प्रतिबन्ध लगाइयो, नेवारी भाषाको सौभाग्य खुल्यो । तुरुन्तै जागृत भयो । टेलिफोनमा अंग्रेजी, हिन्दी, मधिशे भाषाहरुमा कुरा गर्न हुन्थ्यो, तर नेवारीमा हुँदैनथ्यो !”

हृदयचन्द्रको यस कथनले त्यस अभियानबाट घाटामा नेवारीभन्दा पनि नेपाली भाषा नै परेको देखाउँछ । नाफामा त अङ्ग्रेजी र हिन्दी पो रहेछन् । नेपाली र नेपालभित्रकै नेपालीका सहजातीय भाषा यसरी गतल भाषा योजनाको मारमा परेका थिए । अहिले पनि परिरहेका छन् ।

जुद्धशमशेरको आदेश र हिज्जे व्यवस्थाको नियमको सम्बन्ध देखिन्छ । हृदयचन्द्र सिंह प्रधानले पञ्चम वर्ण प्रयोगका सम्बन्धमा २०१० मा नै त्यसको उल्लेख गरेका छन् । उनी लेख्छन् –

पुष्कर शमशेर जबरा

“भान्छा, कान्छा, मान्छे इत्यादिमा ‘न’ झुन्डिन्थ्यो समति बाजेले अब संस्कृतको पंचम वर्ण अनुसार ‘ञ्’ शुद्ध भनेर ‘ञ्’ र सबै स्पर्श वर्ण पंचम वर्ण अनुसार हुनुपर्छ भनेर इश्तिहार जाहेर गरिरहेका छन् । कोही नेपाली शब्दका उच्चारण अनुसार जम्मै स्पर्श वर्ण ‘न्’ नै हुनुपर्छ भन्ने । समिति भन्नु अहिले पुष्कर शमशेरजी र अरु एक दुइजना पंडितजी हुन् ।” (प्रधान, उही)

भाषामा प्रविधिको प्रभाव

यहाँ देखिएका ‘ञ्’ र ‘न्’ हृदयचन्द्रले प्रयोग गरेका नै हलन्त होइनन् । तिनका ठाउँमा उनले आधा ‘ञ’ र आधा ‘न’ प्रयोग गरेका छन् । आधा ‘ञ’ र ‘न’ लाई युनिकोड प्रविधिले हलन्त बनाइदिएको हो । भाषा वा हिज्जेमा प्रविधिले पार्ने प्रभाव अर्को पक्ष हुन्छ । यो त्यसैको उदाहरण हो । हलन्त बहिष्कार आन्दोलन पनि वनारसमा छापाखानाका मालिक रहेका राममणि आ.दी.लाई उनको छापाखानाका कामदारले हलन्त बनाउँदा थप अक्षर (कुञ्जी) लाग्ने भएकाले त्यसबाट हुने खर्च बचाउनका लागि दिएको सुझावका आधारको थियो ।

बाठा राममणिले त्यसलाई भाषा सुधारको आन्दोलन बनाइदिए । यसलाई स्वयम् राममणि आ.दी.ले स्वीकार गरेका छन् । (आ.दी., राममणि २०२९), “हलन्त बहिष्कार”, पच्चीस वर्षको भाषिक चर्चा, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान; नेपाल, शैलेन्दुप्रकाश, २०५०:५९, राममणि आ.दी. : व्यक्ति र कृति, सिर्जना प्रकाशन ।)

वास्तवमा यो भाषामा प्रयोग हुने नवीनतम प्रविधिले कुनै पनि भाषामा र हिज्जे व्यवस्थामा पार्ने प्रभावको उदाहरणीय आन्दोलन थियो । अहिले फेरि सूचना प्रविधिको प्रयोगको तीव्रताले हाम्रा भाषाहरूमा प्रभाव पार्दैछ ।

तुलसीहरि वर्ण बचाउने अभियानमा लागेका देखिन्छन् तर हाम्रो संविधान भने वर्ण नाश गर्न उद्यत छ । २०७२ असोज ३ गते संविधान सभाबाट नेपालको संविधान जारी गर्नुअघि गरिएको भाषा सम्पादनमा नेपाली वर्णमालाको ‘ङ’ वर्ण आवश्यक पर्ने ठाउँमा ‘ङ’ लाई शिरोविन्दुले बलपूर्वक प्रतिस्थापन गरिएको छ । यसबारे धेरै लेखहरु आएका छन् तर सधारको प्रयास कसैले गरेको छैन । अब तुलसीहरिले ‘ञ’ अनि ‘ण’ बचाएर मात्र के गर्नु ?

प्रतिक्रिया
Loading...