१. ‘व्य’ कि ‘ब्य’ भन्ने सम्बन्धमा

  • यसमा धेरै जना झुक्किनुहुन्छ । यसलाई सम्झने सजिलो विधि छ ।
  • नेपाली भाषामा उपयोग हुने तत्सम शब्दमा “ब्य” को प्रयोग भेटिँदैन । तसर्थ निर्धक्ककासाथ “व्य” को प्रयोग गर्न सकिन्छ।
  • उहाहरणका लागि : दिव्य, व्यवहार, व्यस्त, व्यर्थ, व्यवसाय, व्यवधार, एकलव्य, व्यापार, व्यायाम, व्यास, व्याधा, व्याकुल, विश्‍व, व्यवधान, व्यथा, व्यवस्था, गन्तव्य, कर्तव्य, द्रष्टव्य आदि।
  • नेपाली मूल, तद्भव र आगन्तुक शब्दमा ब्य/ब्या प्रयोग गर्ने । जस्तै : ब्याउनु, ब्याज, ब्याजी, ब्याड (बियाड पनि), ब्याङ (ठुलो खस्रे भ्यागुतो), ब्यु (बिउ), ब्यारे (निपात), ब्यासी (नेपालको एक जाति) आदि।
  • नेपाली चिठी-पत्रमा धेरै प्रयोग हुने शब्द “व्यहोरा”को कुनै व्युत्पत्ति छैन। तसर्थ व्यहोरा नभई बेहोरा शब्द उचित हो।

 

२. भ्रम र यथार्थ

के ईय प्रत्यय लाग्ने शब्द सबै दीर्घ हुन्छन् ?

  • उत्तर : नहुन सक्तछन्।
  • तर अधिकतर शब्दमा ईय प्रत्यय लागेपछि दीर्घ हुन्छन्।
  • उदाहरणका लागि
  • केन्द्र + ईय = केन्द्रीय
  • नवीकरणीय, उदाहरणीय, सङ्‍घीय, प्रान्तीय, स्थानीय आदि।
  • ईय प्रत्ययजस्तै नीय/अनीय प्रत्यय लाग्दा समेत दीर्घ हुने : उदाहरणका लागि सोचनीय, शोचनीय, पठनीय, पूजनीय आदि।
  • तत्सम शब्दका हकमा नियमअनुसार केही शब्दमा ईय नभई इय प्रत्यय लाग्दछ

उदाहरणका लागि :

  • राष्ट्रिय, यज्ञिय, क्षत्रिय, श्रोत्रिय आदि
  • ईय नहुने अन्य केही शब्द : सक्रिय, निष्क्रिय, इन्द्रिय आदि।

 

३. क्रियापदमा हलन्त

नेपाली भाषामा क्रियापदलाई जस्तो उच्चारण गरिन्छ त्यस्तै लेखिन्छ।

उदाहरणका लागि :

  • छन्, हुन्, हस्, होस्, गर्नुहोस्, लेख्नुहोस्, आओस्, जाओस्, गरोस्, गरुन्, भनुन्, देखुन् जस्ता क्रियापद अन्त्यमा हलन्त (खुट्टा काटेर) लेखिन्छ।
  • निम्न आदरार्थी क्रियापदमा पनि हलन्त लेखिन्छ। गर्, हिँड्, भन्, लेख् आदि। तँ गृहकार्य
    गर्। घर गइहाल्।
  • मध्यम आदरार्थी क्रियापदमा हलन्त लेखिँदैन। अजन्त लेखिन्छ। गर, हिँड, भन, लेख आदि। तिमी गृहकार्य गर। तिमी घर गइहाल।
  • उच्च आदरार्थी क्रियापदमा प्रयोग हुने प्रत्यय “नुहोस्” जोडिन्छ। तपाईँ गृहकार्य गर्नुहोस्। हजुर घर गइहाल्नुहोस्।

४. के सबै स्त्रीलिङ्गी शब्दका अन्त्यमा दीर्घ लेखिन्छ?

  • यो मान्यता आधा सत्य र आधा असत्य हो। नेपाली मूल शब्द, तद्भव वा आगन्तुक नेपाली शब्दका हकमा यो नियम लागु हुन्छ। उदाहरणका लागि : दिदी-बहिनी-माइजू-फुपू-राम्री-काली-सानी-प्यारी-साली आदि।
  • तर तत्सम शब्दका हकमा यो नियम लागु नहुन सक्तछ। स्त्रीलिङ्गी भए तापनि केही शब्दहरू अन्तमा ह्रस्व नै हुन्छन् (निश्चित प्रत्यय लागेर बनेका हुनाले)। जस्तै : स्मृति, कृति, प्रकृति, सृष्टि, दृष्टि, शक्ति आदि।
  • आफ्नो नाम लेख्न व्यक्ति स्वतन्त्र हुनुपर्छ भन्ने मान्यताका साथ स्मृती, कृती आदि लेखेको पनि पाइन्छ तर त्यसो गर्नु वाञ्छनीय हुँदैन।
  • अन्तमा दीर्घ हुने केही तत्सम स्त्रीलिङ्गी शब्दहरू : देवी-पार्वती-उर्वशी-लक्ष्मी-नारी आदि।