विशुद्ध नैसर्गिकता नमारी

न चाहिँदो नक्कल दूर सारी ।

त्यै रूप–रेखाहरूमा विशेष

सौन्दर्य भर्दै गर भन्छ देश ।।

नवीन विच्छित्ति–विशेष–शाली

पाश्चात्य क्यै रङ्ग समेत हाली ।

यस्लाई सर्वोज्ज्वल गर्नुपर्छ

जस्बाट कर्णाऽमृत सर्र झर्छ ।।

कविशिरोमणि लेखनाथ पौडेल

लेखनाथले देखेको भाषा

‘राष्ट्रभाषाको भविष्य उपर एक दृष्टि’ शीर्षकको कविशिरोमणि लेखनाथ पौडेलको कविताका यी दुई श्लोकले नेपाली भाषाको उन्नयनका लागि मार्गदर्शन गर्दछन् । पौडेलले नैसर्गिकता नमारी, अनावश्यक नक्कल नगरी, नयाँपन खोज्दै, पाश्चात्य अर्थात् विदेशी भाषाबाट समेत केही लिएर नेपाली नेपाली भाषालाई उज्ज्वल र कर्णप्रिय बनाउन आग्रह गरेका छन् ।

विसं २०१० मा नेपाली भाषा प्रचारक संघ, इलामबाट ‘नेपाली भाषा’ नामक पुस्तकमा प्रकाशित यस कविताले नेपाली भाषाको भावी रूप परिवर्तनको अवस्थालाई समेत आँकलन गर्दै सावधानीपूर्वक पाश्चात्य अर्थात् आगन्तुक शब्दको प्रयोगलाई मान्यता दिएको देखिन्छ ।

भाषालयका यी शृङ्खला नेपाली भाषामा प्रयोग हुने शब्द व्यवस्थामा नयाँपन खोज्ने अभिप्रायले आइरहेका छन् । प्रस्तुतिलाई सान्दर्भिक बनाउन भरसक तत्कालीन परिस्थितिसँग मेल खानेगरी विषयगत उठान र गरिएको हुन्छ । हाल संसार नै कोरोना विषाणुबाट फैलिएको कोविरोग (कोभिड) का कारण आक्रान्त रहेको बेला त्यसले भाषामा पनि पारेको असरलाई उल्लेख गर्दै नेपाली भाषामा देखिएका समस्या र निराकरणका उपाय देखाउने प्रयास भइरहेको छ ।

यस्तैमा ‘कोरोनाका ‘भेरिएन्ट’ले दिएको दुख !’ शीर्षकको भाषालयको अघिल्लो शृङ्खलामा मेरा गुरु डा. भुवन न्यौपानेले प्रश्न गर्नुभयो – ‘अङ्ग्रेजी बाहेक भारतीय भाषा मात्र आगन्तुकमा प्रयोग गर्नुपर्ने भन्न खोज्नु भएको हो कि ?’

फेसबुकमा मैले उक्त लेख राखेपछि त्यहाँ गरिएको उहाँको यो प्रश्न अरु प्रतिक्रियाहरुको शृङ्खलामा आएका थियो । पहिलो प्रतिक्रिया मेरा दाजु प्रा. डा. बद्री विशाल भट्टराईले नेपाली भाषाको मौलिकता प्रस्तुत गर्दै लेख्नुभएको थियो – ‘हामी भात पकाउँछौं, दुध दुहुन्छौं, बाइरोडको बाटोमा धुलो उडाउँदै हिँड्छौ भने भेरिएन्टका प्रकारले दुःख दिँदैन त ?’

त्यसैको जवाफमा गुरु न्यौपानेको टिप्पणी थियो – ‘बद्री विशाल सर ! लेमन टि, ग्रीन टि पनि खान्छौँ । हाम्रोमा खानेपानी कार्यालय पनि छ । हामी महाविद्यालय होइन कलेज जान्छौँ, गुरु होइन, सर भन्छौँ । त्यसैले भाषामा पूर्ण शुद्धता र पूर्णता हुँदैन कि ?’

केदार वाशिष्ठ

उहाँको यस प्रश्नको जवाफमा मैले लेखेको थिएँ – ‘भुवन सर ! सिआरएस कम्पनी नामक अमेरिकाली कम्पनीले नेपालमा कन्डमको व्यापार गर्न कसरी नेपालीलाई स्वीकार्य नाम ढाल नवनिर्माण गरेको थियो र किन कन्डम नै भनेन भन्ने कुरा बुझ्ने हो … शुद्धता र पूर्णता त्यसै हुने होइन, असम्भव होइन ।’ (त्यससम्बन्धी आलेख मैले गतवर्षको कोरोना कहरको पहिलो लहरको बन्दाबन्दीताका नै कोरोना कहरमा कन्डमका कुरा शीर्षकमा लेखेको थिएँ ।)

त्यसको जवाफमा मात्र उहाँको माथि भनिएको प्रश्न आएको हो । त्यसको जवाफमा मैले भनेको थिएँ – ‘होइन, नेपालीमा नै र नेपालका नै भाषाबाट सकेसम्म प्रयोग गर्ने हो । नव निर्माण गर्नुपर्छ । यो ल्भययिनथ का रूप मा प्रचनलमा छ । नवनिर्माणका विभिन्न आयाम छन् जसलाई शब्दशालाको सैद्धान्तिक आधार प्राप्त छ ।’

भाषाका विभिन्न आयामहरु हुन्छन् तर नेपाली र नेपालका अरु भाषाका हकमा तिनका धेरै पक्षको चिन्तन र अभ्यास कमै हुने गर्दछ । तीमध्ये भाषाका शब्दको नवनिर्माण पनि एक हो ।

भाषा परिवर्तनशील हुन्छ यो भाषाको स्थायी विशेषता हो । भाषिक परिवर्तनका विभिन्न कारण हुन्छन् र परिवर्तन भएन वा जड रह्यो वा बनाउन खोजियो भने भाषा मृत्युको अवस्थातिर जान्छ । त्यसैले भाषामा लचिलोपना पनि अनिवार्य हुन्छ । सूचना प्रविधिको विकास र विस्तार तथा औद्योगिक उत्पादनको तीव्रता र विश्व बजार अर्थतन्त्रले भाषाको व्यापार पनि बढाएको छ । हामीले त्यसलाई बुझेको प्रतीत हुन्न ।

कालिदाससम्मको सम्बन्ध

भाषा परिवर्तनशील हुँदै कालान्तरमा अर्कै रूप वा अर्कै भाषा विकास भइसकेको हुनसक्छ । तर खोज्दै र बुझ्दै जाने हो भने त्यसका केही मौलिक विशेषता पाउन भने सकिन्छ । माथि चिन्तन गरिएका जस्ता खाने र पिउने क्रियाका रूप नेपाली भाषाका अहिलेका मात्र विशेषता होइनन् भन्ने पाइन्छ ।

संस्कृतका आदिकवि कालिदासका साहित्यमा प्रयुक्त क्रियाको रूपले हाल प्रयोगमा रहेका ती क्रियाका रूपलाई जनाउँछ र संस्कृतबाट नेपाली भाषाको रूप त्यही बेलादेखि नै देखिन थालेको पाइन्छ । कालिदासले उनको महाकाव्य रघुवंशमा दूध पिउने पदार्थ नभई खाने पदार्थ रहेको जनाउँदै खानु क्रिया प्रयोग गरेका छन् ।

सन्तान कामाय तथेति कामं राज्ञे प्रतिश्रुत्य पयस्विनी सा ।

दुग्ध्वा पयः पत्रपुटे मदीयं पुत्रोपभुङ्क्ष्वेति तमादिदेश ।। रघुवंश २/८५

अर्थात् वशिष्ठ ऋषिको कामधेनु गाईले दूधका पातको खोचीमा आफ्नो दूध दुहेर खान राजा रघु र उनकी रानी सुदक्षिणालाई भनेको प्रसङ्ग कालिदासले उल्लेख गरेका छन् । उनको ‘भुङ्क्ष्व’ क्रियाको यस प्रयोगले लेखनाथ पौडेलले ‘कर्णाऽमृत सर्र’ पार्ने भनेजस्तै र माथि उल्लेख भएका विद्वान्द्वयले नेपाली भाषाका विशेषता देखाएको हालको बहुप्रचलनको उद्गम देखाएको छ । (यसबारे थप नेपालमा कालिदासमा)

‘जीवित भाषाको लक्षण नै बदलिँदै जानु हो ।’ पहिलो वाक्य नै यो रहेको पुष्कर शमशेर जङ्गबहादुर राणाको ‘नेपालीको माया मार्यौं ?’ शीर्षकको लेख पनि माथि उद्धृत गरेको नेपाली भाषा पुस्तकमा नै छ ।

पुष्कर शमशेरले विसं २०१० ताका लेखेको शीर्षकको अर्थ नै अहिले त्यसबेलाको भन्दा अहिले भाषिक लक्षण बदलिएको देखिन्छ । अहिले भएको भए त्यसको शीर्षक पक्कै पनि ‘नेपालीलाई माया मार्यौँ’ हुन्थ्यो होला । हामी भने अहिले तिनै पुष्कर शमशेर र बालकृष्ण समको त्यसको झन्डै दुई दशक (१९ वर्ष) अगाडिको नेपाली कसरी शुद्ध लेख्ने ? (नेकसुले) भनेर दिइएको लेखन व्यवस्थालाई मान्नुपर्छ भन्ने हिज्जेवादमा रहेका छौँ ।

पुष्कर शसमशेरको चिन्ता

पुष्कर शमशेरको नेपाली भाषाको मौलिकताबारे स्पष्ट मान्यता थियो । उनले लेखेका छन् ‘क्लिष्ट संस्कृत शब्द जिभ्रो फट्कारेर उच्चारण गर्दा गौरब ठान्ने भयौँ । तर अंग्रेजीमा भरमार ल्याटिन ग्रीक भाषाका पय्र्यायवाची शब्द घुसाएर बोल्दा अब अंग्रेजहरुले नाम राउलान् जस्तो मलाई फुलाग्दैन ।’ (नेपाली भाषा, पृष्ठ १९) फुलाग्दैन भन्ने क्रिया चाहिँ मुद्राराक्षस भए जस्तो लाग्छ फु नजानेर थपिएको) । नेपाली भाषाका नव नेकसुलेवादीहरु भने पुष्करको यो मत विपरीत नेपालीले अङ्ग्रेजीका आगन्तुक शब्द चलाउँदा पनि ग्रिक ल्याटिन नै खोज्नु पर्छ भनेजस्तो गर्दछन् ।

वास्तवमा नेपाली भाषामा पाहुना शब्दले नेपाली भाषाको मौलिक विशेषतामा गम्भीर धावा हाल्दैछ । यो नेपाली भाषामा लागेको भाउरस (भाषिक उपनिवेशको रस) हो । अर्थात् नेपाली भाषामा लागेको अङ्ग्रेजी विषाणु हो । माथि उल्लेख भएजस्तै सूचना प्रविधिको तीव्र प्रयोग, ज्ञानका क्षेत्रहरुको नवसिर्जना, नवीन औद्योगिक उत्पादनको लहर र बजार अर्थतन्त्रले गर्दा भाषालाई पनि बजारको वस्तुका रूपमा स्थापित गरेको छ ।

भाषामा दरिद्रता ?

यस अवस्थामा हामी नचाहेर पनि सम्पन्न देशको भाषाका शब्द वा भाषाका अन्य विशेषताहरु चाहेर पनि रोक्न नसक्ने अवस्थामा पुगेका छौँ । जसरी अत्यधिक आयातले व्यापार घाटा बढाई देशको अर्थतन्त्र धरासायी हुन्छ त्यसैगरी भाषका शब्दको अत्यधिक आयात वा आगन्तुक शब्दको अत्यधिक प्रयोगले नेपाली भाषामा दरिद्रता त्यति नै बढाउँछ । त्यसैले भाषामा आउँदै गरेको यो समस्या भाषाका अध्येता वा चिन्तक वा भाषाका प्रयोक्ताको सरोकारको विषय होइन, यो राज्यको समस्या हो किनकि भाषा भनेको राष्ट्र वा राज्यको निर्माणका आवश्यक अनिवार्य तत्वहरुमध्येको एक हो ।

नेपालको संविधानले पनि प्रारम्भिक भागमै धारा ६ र ७ मा भाषाका सम्बन्धमा गरेको व्यवस्थाले यसलाई स्पष्ट पार्दछ । वैदेशिक इतिहास र अनुभवहरुले कुनै पनि देशमा उपनिवेश जमाउने विषयमध्येको एक पनि भाषा नै हुन्छ भन्ने देखाएका छन् ।

परिस्थिति यस्तो बनेको छ कि हामी आगन्तुक र त्यसमाथि पनि अङ्ग्रेजी भाषाका शब्दहरुको व्यापक प्रयोग गर्नैपर्ने बाध्यतामा छौं । तर त्यसको प्रयोग हामी यसरी गर्दैछौँ कि ती शब्दको साटो नेपाली भाषा वा नेपालभित्रैका अरु भाषामा त्यस्ता अर्थ दिने शब्द छन् कि छैनन् भनेर एकपटक पनि खोजी नै गर्दैनौँ । खोजी मात्र होइन चिन्तन नै गर्र्दनौँ भन्दा पनि हुन्छ । भएका शब्द प्रयोग गर्नुभन्दा अङ्ग्रेजीको प्रयोग गर्दा हाम्रो स्तर वा हैसियत एक तह माथि उक्लेको भ्रममा हामी रहन्छौँ ।

संविधानको छैटौँ र साताैँ धारामा नै भाषाबारे व्यवस्था हुनु भनेको भाषा राज्यका लागि ज्यादै महत्वपूर्ण र संवेदनशील विषय हो भन्ने नै हो । तर राज्यको तहबाट त्यससम्बन्धी भाषा योजना बन्नुपर्नेमा त्यो नहुँदा समस्या परेको छ र भाषामा लथालिङ्गे र भताभुङ्गे चाला बढेको छ ।

नवनिर्माणमा यानसेतु

आगन्तुक शब्दको प्रयोग गर्दै नगर्ने भन्ने होइन, प्राविधिक र पारिभाषिक क्षेत्रमा त्यस्ता शब्दको प्रचलन अनिवार्य जस्तै हुन्छ । नयाँ योजना वा परियोजना आउँदा वा विद्यमान योजनामा नै मर्मत सम्भारका नयाँ प्रविधि आउँदा भाषाका शब्द पनि नयाँ नै आउँछन् । तिनको प्रयोग सम्बन्धित क्षेत्रका सीमित विज्ञले बुझ्ने भाषामा मात्र गर्नुहुँदैन । यस मामिलामा सूचना तथा सञ्चार क्षेत्रमा कार्यरत व्यक्ति, संस्था वा निकायको ज्यादै महत्वपूर्ण भूमिका हुन्छ ।

उदाहरणका लागि भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ संरचना थप हुँदैछ र त्यहाँ नेपालमा नै पहिलो पटक यात्रुले विमान चढ्न र ओर्लनका लागि विमानको ढोकासम्म पुग्ने यान्त्रिक पुलको व्यवस्था गर्न लागिएको छ । अङ्ग्रेजीमा त्यसको नाम एरोब्रिज रहेको छ र नेपालमा पनि त्यसको जडान सोही नामबाट गर्न लागिएको छ । तर त्यसको नाम नेपालीमा राख्न नै नसकिने किसिमको पूर्णतः प्राविधिक भने होइन । त्यसको समाचार आउँदा धेरै सञ्चार माध्यमहरुले त्यसको अङ्ग्रेजीमा नै नाम राखे भने गोरखापत्र दैनिकले भने त्यसको नाम नेपालीकरण गर्दै ‘यानसेतु’ नामकरण गरी पहिलो यानसेतु विमानस्थल बन्दै शीर्षकमा समाचार छाप्यो ।

वास्तवमा यो सामान्य शाब्दिक अभ्यास गर्दा नेपाली शब्दको नयाँ निर्माण थियो । त्यसको साटो विमानपुल शब्द पनि उपयोग गर्न सकिने अवस्था नरहेको होइन । त्यो नै सही हो कि होइन वा त्यसको व्यापक प्रयोग र स्वीकृति हुन्छ कि हुँदैन भन्ने बेग्लै विषय रहन्छ ।

यस्ता धेरै विषयमा सञ्चार संस्था अथवा अरु पनि निकाय वा व्यक्तिगत तवरबाट पनि यस्ता शब्द बन्न सक्छन् । विमान र विमानस्थलको आविष्कार र निर्माण बाहिर नै भएर धेरैपछि आएको सन्दर्भमा ती नाम पनि नेपालीकरण गरी नवनिर्माण गरिएका सन्दर्भलाई पनि यस सन्दर्भमा सम्झनु सान्दर्भिक हुन्छ । समग्रमा यो शब्दशालाको अवधारणा हो ।

हिजो आज समृद्धिको नारा व्यापक छ । देश समृद्ध बन्न समग्र विषयमा नै समृद्धिको खोजी गर्नु आवश्यक हुन्छ । राज्यको निर्माणको एक घटक भाषा भएका कारण भाषाको समृद्धि र भाषा मार्फत समृद्धि खोज्दै जानु आवश्यक हुन्छ । त्यसका सरोकारवालाहरु राज्यदेखि व्यक्ति सबै उत्तिकै जिम्मेवार हुन्छन् । हाम्रो भाषालाई दरिद्र नै बनाउने कि समृद्ध बनाउने भन्नेबारे व्यापक बहस र कार्ययोजना जरुरी छ ।