कोरोना कहर चुलिएको छ । दैनिक सङ्क्रमितहरु बढिरहेका छन् । एक सर्को अक्सिजनको अभावमा मृत्यु हुनेको सङ्ख्याले भर्खरै उद्घाटन भएको धरहरा नाप्दैछ । त्यसले पनि नपुगेर राष्ट्रकवि माधवप्रसाद घिमिरे हाम्रो उचाई नाप्ने मानक बनाएका हिमालको उचाईतिर जाने सङ्केत गर्दैछ ।

त्यतिले पनि नपुग्ने पो हो कि ? अनि नपुगेर भर्खरै मात्र थपिएको सगरमाथाको उचाईलाई पनि बाउन्ने बनाउने पो हो कि ? चिन्ता अझ चुलिँदो छ, कामना गरौँ त्यस्तो अवस्था नआओस् । तर हाम्रा कामनाले होइन हाम्रा तयारी र इमानदार प्रयासले त्यो अवस्था आउन नदिने हो । कोरोनाको दोस्रो लहरको नतिजाले भन्दैछ – नेपालको तयारी पुगेन, अहँ फिटिक्कै पुगेन ।

प्रियजनहरुको वियोगमा गरिएका कारुणिक आर्तनादका शब्द र भाव सामाजिक सञ्जालमा आइरहेका छन् तर ती सुन्ने कसले ? सुन्ने कसले भन्ने प्रश्न यो अवस्था आउन नदिन रोकथामको प्रयास कसैले गरेको थियो कि थिएन ? भन्ने अर्थमा हो । हाम्रो हेलचेक्¥याइँका कारण कोरोनाको यो कहर नेपालका लागि अवश्यंभावी थियो ।

एक वर्षअघि नै नेपालको नाडी छामिसकेको हो कोरोनाले । जोखनाको नतिजा बताएर त्यसबेला फर्कँदै गर्दा उसले अहिलेको सम्भावित दारुण अवस्थालाई पनि सङ्केत गरेको थियो । तर त्यसबारे ककसले केके पहल गरे त्यो जगजाहेर छ । बरु त्यसैका नाममा कति मालामाल भए त्यसको भने लेखाजोखा छैन ।

कोरोना भाइरस देशका र राज्य सञ्चालनका विभिन्न अङ्गमा पसेर सङ्क्रमण गर्दैछ । सबैभन्दा चरम त सत्तालिप्सा र सत्ताप्राप्तिको नग्ननृत्यको मञ्चनबाट हुँदैछ । त्यसको शोधभर्ना भने सर्वसाधारणको प्राणोत्सर्गले मात्र हुन थालेको छ । लेखाजोखा अब चित्रगुप्तको बहीखातामा मात्र हुने सम्भावना देखिँदैछ किनकि गैंडाको छालाको ढाल ओढेकाहरुलाई न काउकुती लाग्छ, न कुरीकुरी नै ।

हो, देशका हरेक अङ्गमा कोरोना भाइरसबाट हुने कोभिड १९ को सङ्क्रमण भएको छ । अङ्गहरु बिस्तारै आइसियु हुँदै भेन्टिलेटरको खोजीमा छन् । तर तिनको तयारी छैन, भए पनि त्यहाँ पुगेका सबै फर्कन्छन् नै भन्ने ग्यारेन्टी पनि त हुँदैन । त्यसैले त्यहाँसम्मको यात्रा नै गर्न नदिने तयारी पो साँचो तयारी हुनु पथ्र्यो त ।
कोरोनाका कहरका यी कर्कश ध्वनि भाषाका शब्द शब्दमा सुनिदैछन् । त्यसबारेका राम्रा वा राम्रा जे भए पनि सूचना पनि भाषामा नै सम्प्रेषण हुने हुन् । किनकि सही सूचना कुनै पनि समस्या समाधानको उपाय हो । अझ नेपाल जस्तो बहुभाषिक देशमा त बहुभाषिक सूचना नै महाव्याधिको पहिलो औषधि हो । तर हामी त्यस्ता बहुभाषिक सूचना दिने त परै जाओस् सम्पर्क भाषाका रुपमा रहेको र संविधानले सरकारी कामकाजको भाषा भनेर उल्लेख गरेको नेपाली भाषामा पनि सही सूचना सम्प्रेषण गर्न असमर्थ रह्यौँ ।

सूचना भन्नेबित्तिकै राज्य र राज्यइतर दुबैको तहबाट जारी वा सम्प्रेषण हुने हुन्छ । यसमा राज्य र विभिन्न स्रोतबाट सूचना प्राप्त गरी सम्प्रेषणको जिम्मेवारीमा रहेका सञ्चार माध्यमहरु दुबैको भूमिका उत्तिकै रहन्छ । तर ती पनि यसमा चुकेका छन् ।

कोरोना विषाणु (भाइरस) को सङ्क्रमणबाट हुने कोभिड १९ रोग नियन्त्रणमा नेपाल मात्र विफल रहेको होइन, विश्वका सम्पन्न कहलिएका देशहरुको पनि अवस्था दयनीय नै देखिएको हो । तथापि कोभिडको सामनाका लागि विभिन्न क्षेत्रमा तिनीहरुले गरेको पूर्वतयारी र प्रयास भने कम आलोचित भएका हुन् ।

यस आलेखमा कोभिडका स्वास्थ्य र अन्य व्यापक क्षेत्रहरुभन्दा पनि भाषिक पक्षबारे विशेष चर्चा गर्न खोजिएको छ । भाषाका माध्यमबाट नै आम सर्वसाधारणले सूचना, लक्षण, रोकथामका प्रयास, औषधोपचार र उपचारपछिको व्यवस्थापनमा समेत थाहा पाउने भएकाले सूचनाको विशेष महत्त्व हुने गर्दछ । तर हामी कहाँ सूचना सम्प्रेषण गर्दा पनि ‘विषाणु’ को साटो ‘भाइरस’का विशेषताको प्रचार गरिरह्यौँ, जुन सर्वसाधारणका लागि भाषिक पहुँचमा अवरोध त हुँदै हो त्यसभन्दा बढी कोरोनाको भाषामा संवधिानको उल्लङ्घन पनि हो ।

विश्व परिप्रेक्ष्यको कुरा गर्दा ‘सार्स कोरोना भाइरस २’ नामक विषाणु चीनबाट फैलियो र रोकथामका प्रयास स्वभावतः चीनको मन्दारिन भाषाबाट नै सुरु भयो । तर रोगको नामकरण र अरु प्रयास मन्दारिन भाषाका कुनै साइनो बिना विश्वभर फैलियो । अर्थात् रोगको भाइरससँगै अङ्ग्रेजी भाषाको अर्को भाउरस (भाषिक उपनिवेशिक रस) विश्वमा फैलाइयो ।

यसो गर्दा अङ्ग्रेजीले बनिबनाउ रुपमा उसको भाषामा सूचनाका शब्दजाल फिँजाएको भन्ने पनि होइन । वास्तवमा कोरोना अङ्ग्रेजी भाषा र अरु पनि भाषाका लागि नयाँ विषय थियो र भाषिक प्रयोगका लागि चुनौती र अवसर दुबैसमेत थियो । त्यस भाषामा पनि कोरोना, रोकथाम र उपचार पद्धतिका लागि बनिबनाउ शब्द कमै थिए । भएका कतिपय शब्दहरु पुराना शब्दकोशमा प्रयोगविहीन थिए ।

त्यसमा उनीहरुले निकै परिश्रम र लगानी पनि गरे । तीमध्ये केही शब्दमा लागेका धुला टक्टक्याएर उजिल्याएर र अधिकांश शब्दहरुको नवनिर्माण गरेको हो । त्यो नवनिर्माणलाई भने कोरोना भाइरससँगै भाषिक भाउरसका रूपमा अन्य भाषामा पठाउन उसको औपनिवेशिक सामथ्र्य पुनः एकपटक सफल भएको हो ।

हो, संसारभरि महामारी फैलियो, यति हुँदाहुँदै पनि धैरै देशले भाउरसले फैलाएको देसान रोक्न आआफ्ना भाषामा सामग्री तत्काल तयार पारे तर हामीले भाउरसलाई सहर्ष ग्रहण ग¥यौँ, अझै गर्दैछौँ । भाइरसको सङ्क्रमण रोकथाम गर्न सरकारले ‘लकडाउन’ गरेर नेपाली भाषाको बन्दाबन्दीमा भाउरसको सहज सङ्क्रमण गरायो ।

कोभिड १९ को नयाँ स्वरुपको दोस्रो लहर आएको आम सूचना दिन फोनको घन्टीको अवाजमा ‘स्वरूप’, ‘प्रकार’ वा ‘खाल’ नभनी ‘भेरिएन्ट’ भनेर नेपाली भाषामा भाउरस अझ व्यापक बनाइँदै छ । एक दिन कसोकसो त्यो सूचना हटेर नेपाली गीत बज्न थालेको थियो तर फेरि उही ‘भेरिएन्ट’को भाउरसले आक्रमण गरिसकेको छ । साँच्चिकै यस्तो बेला त फोनको सम्पर्क नै काटिहालूँ जस्तो हुन्छ ।

जेहोस् सरकार र सञ्चार माध्यमहरु दुबैले व्यापक प्रचारमा ल्याएको कोरोनाको दोस्रो ‘भेरिएन्ट’ रोक्न ‘लकडाउन’ घोषणा गर्दा कोरोनाको पहिलो लहरमा नै गत वर्ष नै ‘लकडाउन’ अवधिलाई कर तिर्ने प्रयोजनका लागि शून्य अवधि गणना गर्न र कर नलिन सर्वोच्च अदालतले दिएको आदेश बाधक रह्यो । त्यसै कारण सरकार दोस्रो ‘भेरिएन्ट’मा निषेधाज्ञा जारी गर्न बाध्य भयो र बन्दाबन्दीमा लागेको ‘लकडाउन’को भाउरस भने अलि कमजोर भयो ।

समग्रमा हामी भाषालाई सम्पन कसरी बनाउने भन्ने पटक्कै चिन्ता गर्दैनौँ । हाम्रालागि भाषामा शुद्धता मात्र जुँगाको लडाईं बन्छ । नेपाली भाषाका गुरुहरु र विद्हरु तिनैको पक्ष विपक्षमा पानी बाराबारसम्म गर्न पुग्छन् । कतिपयका लागि भाषाको यही हिज्जे लडाईँ विदेश यात्राका लागि भिसा र टिकटको जोहो गर्ने माध्यम बन्दछ ।

भाषामा गतिशीलता र नवनिर्माणको विशेषता हुन्छ र त्यसैले भाषालाई जीवन्तता दिइरहेको हुन्छ । ती नभए भाषा मृत्युतिर उन्मुख हुन्छ । यस्तो तथ्य गुरु र विद्हरुका लागि काम लाग्दैन ।

भाषाको गतिशीलता स्वाभाविक हुन्छ तर नवनिर्माण भाषा योजना हो । नेपाली भाषालाई सबैको र सधैँको बनाउने चासो देखिँदैन । भाषा विचार विनिमय र सूचना सम्प्रेषणको मात्र माध्यम होइन भाषा औपनिवेशीकरणको पनि माध्यम र त्यसलाई रोक्ने ढालसमेत हो । त्यसका साथै यो कन्डमसम्मको व्यापारको वस्तु पनि हो भन्ने कोरोना कहरमा कन्डमका कुरा गर्दा हामी थाहा पाउँछौँ ।

कोभिड रोगको सङ्क्रमण गराउने विषाणु (भाइरस)ले ज्यान गुमाउने सबैप्रति शोकाप्ति लेखिँदैन । शोकाप्ति बुभ्mने र लेख्ने पनि कम मात्र छन् । कोभिडबाट ज्यान जाने सर्वसाधारण बढी छन् जसलाई ‘ओबिच्योरी’को लेखन र प्रयोजनसँग कुनै गोरु बेचेको पनि साइनो हुँदैन । उनीहरुका लागि शोकाप्ति लेखिनु पर्दछ भन्ने चेतमा पनि भाउरसको आक्रमण भइसकेको छ । तथापि कोभिड १९ बाट दिवङ्गत जनहरुप्रति मेरो हार्दिक शोकाप्ति !

अन्त्यमा, यो नेपाली भाषा र नेपालका भाषामा लागेको भाउरस हटाउने कार्य भनेको शब्दशाला हो जसमा नवनिर्माण हुन्छ । हाम्रा प्रयास नेपाली र नेपालका भाषा उजिल्याउन शब्दशाला चलाउनेतर्फ हुनु पर्दछ । ‘भाउरस’, ‘शब्दशाला’ र ‘शोकाप्ति’ नेपाली भाषाका लागि नवनिर्माण हुन् । शब्दशालाको त सैद्धान्तिक अवधारणा र प्रयोगबारे व्यापक अध्ययन अनुसन्धान जरुरी छ ।

अङ्ग्रेजी भाषाले शब्दशाला चलाएर कोरोनासम्बन्धी शब्दहरुको नवनिर्माण कसरी गरेको थियो भन्ने जानकारी अर्को अङ्कमा