– सन्धिको अर्थ मेल, सङ्गम वा समिश्रण हो ।
– संस्कृतमा सम्+धा+कि (सजिलाका लागि सम्+ध्+इ) मिलेर सन्धि शब्दको निर्माण हुन्छ ।
– व्याकरणका सन्दर्भमा सन्धि शब्दले दुई अक्षर वा पदको जोडलाई जनाउँदछ ।
– शब्द निर्माणका सन्दर्भमा सन्धिको महत्त्वपूर्ण स्थान छ ।
– सन्धिलाई स्वर सन्धि, व्यञ्जन सन्धि, विसर्ग सन्धि, आगम सन्धिजस्ता विभिन्न भागमा वर्गीकरण गर्न
सकिन्छ ।
आगम सन्धिः
सन्धिका क्रममा दुई वर्णका बीचमा यदि कुनै नयाँ वर्ण वा अक्षरको आगमन हुन्छ भने त्यसलाई आगम सन्धि भनिन्छ । नेपाली भाषामा अत्यधिक प्रयोग हुने तत्सम शब्दका सम्बन्धमा आगम सन्धिसम्बन्धी केही उदाहरण हेरौँ ।
क. च् आगम सन्धि :
पूर्वपदमा ह्रस्वान्त छ र उत्तरपदमा (लगत्तै) ‘छ‘ वर्णको कुनै शब्द छ भने ती दुईका बीचमा “च्” आगम हुन्छ ।
अनु+छेद = अनुच्छेद
वि+छेद = विच्छेद
परि+छेद = परिच्छेद
स्व+छन्द = स्वच्छन्द
एक+छत्र = एकच्छत्र
संस्कृत+छात्र = संस्कृतच्छात्र आदि ।
ख. स् आगम सन्धि :
सम् उपसर्गदेखि पर कृ धातुबाट बन्ने कुनै शब्द भएमा ती दुईका बीचमा “स्” आगम हुन्छ ।
सम्+कृत = संस्कृत
सम्+कार = संस्कार
सम्+कृति = संस्कृति
सम्+करण = संस्करण
सम्+क्रिया = संस्क्रिया (अन्त्येष्टि) ।
ग. ष् आगम सन्धि :
परि उपसर्गदेखि पर कृ धातुबाट बन्ने कृदन्त रूपका शब्द भएमा ती दुईका बीचमा “ष्” आगम हुन्छ ।
परि+कृत = परिष्कृत
परि+कार = परिष्कार
परि+कारक = परिष्कारक
परि+करण = परिष्करण आदि ।
ध्यान दिनुपर्ने : परि उपसर्ग नभएका समयमा ष् आगम हुँदैन ।
जस्तै :
पुरस् + कार = पुरस्कार,
तिरस्+कार = तिरस्कार,
नमस्+कार = नमस्कार ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

