रु (ह्रस्व) र रू (दीर्घ) का सम्बन्धमा अधिकतर प्रयोगकर्ता द्विविधामा परेको देखिन्छ । कतिपयलाई त यी दुईबीच भेद छ भन्ने पनि थाहा नहुन सक्छ । रु र रू को प्रयोग हुने शब्दहरूलाई पहिचान गरी ध्यान दिएर प्रयोग गरेमा द्विविधा हट्तै जान्छ ।

कवीन्द्र लम्साल

क. ह्रस्व ‘रु’को प्रयोग

–          धातु, क्रियापद वा धातुमा प्रत्यय लागी बनेका सबै शब्दका सुरुमा ह्रस्व रु प्रयोग गरिन्छ ।

जस्तै : रुनु, रुवाइ, रुँदै, रुझ्नु, रुझाइ, रुँग्नु, रुँगाइ, रुच्नु, रुचाइ आदि ।

–          नेपाली अनुकरणात्मक शब्दमा रु प्रयोग गरिन्छ ।

जस्तै : खुरुखुरु, धुरुधुरु, लुरुलुरु, झुरुप्प आदि ।

–          नेपाली मूल, तद्‍भव तथा आगन्तुक शब्दका सुरु र मध्यमा ह्रस्व रु प्रयोग गरिन्छ ।

जस्तै : रुपियाँ, रुघा, रुवा, रुई, रुस (रसिया देश), रुख, रुखो, सरुवा, सुरु, तरुल, बरु, रुजु, बेरुजु आदि ।

–          ह्रस्व रु प्रयोग हुने केही तत्सम शब्द : रुचि, तरु, रुद्र, रुद्राक्ष, गुरु, अरुण, वरुण, तरुण, तरुणी, रुक्मिणी, अवरुद्ध आदि ।

ख. ‘रू’को प्रयोग

‘रू’को प्रयोग निम्नाङ्कित शब्दहरूमा गरिन्छ :

– नेपालीमा बहुवचन जनाउन प्रयोग गरिने “हरू” : उनीहरू घर गए ।

-अन्य भन्ने अर्थमा प्रयोग हुने “अरू” : अरूको समेत भलाइ सोच्नुपर्छ ।

-संस्कृतको “रूप” र यसैबाट बन्ने शब्दमा = रूप, रूपसी, रूपक, रूपेण, रूपान्तर, रूपा, सरूप आदि ।

-रू प्रयोग हुने केही  तत्सम शब्द : रूढ, आरूढ, रूढिवादी आदि ।

-स्त्रीलिङ्गी नाममा जस्तैः सरू, पारू, चारू आदि ।

-नेपाली इच्छार्थक क्रियापदमा जस्तैः = गरूँ, भरूँ, छरूँ, मरूँ आदि ।

दीर्घ ‘रू’ प्रयोग हुने शब्दमात्रै ध्यान दिन सकेका खण्डमा बाँकीमा ह्रस्व प्रयोग गर्न गाह्रो हुँदैन ।