१. देवनागरी लिपिका , ष र स वर्णको उच्चारण भिन्नभिन्नै हुने भए तापनि नेपाली भाषीको जनजिब्राले पृथक्-पृथक् उच्चारण गर्न गाह्रो मानी केही अपवादबाहेक सबैलाई “स” नै उच्चारण गर्ने गरेको पाइन्छ ।

२. नेपाली भाषामा लेख्य रूप र उच्चार्य रूपबीच केही मात्रामा फरक छ । उच्चारण सकार नै गरे पनि लेख्ने क्रममा भने यी तीनै वर्णको प्रयोग गरिन्छ ।

३. मूलतः तत्सम शब्दका हकमा यी तीनै वर्णको प्रयोग गरिन्छ ।

४. तद्‍भव शब्द, नेपाली मूल शब्द र आगन्तुक शब्दमा केवल “स”को प्रयोग गर्ने नेपाल प्रज्ञा-प्रतिष्ठानको नीतिअनुरूप शब्दकोशसमेत सोहीअनुसार निर्माण गरिएको छ ।

५. तत्सम शब्दमा यी तीन वर्णको प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा किटान गरी भन्न सकिने स्थिति हुँदैन । शब्दहरूको प्रयोग र अभ्यासले नै अभ्यस्त बनाउने हो ।

६. यहाँ श, ष र स को प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा यहाँ सामान्य जानकारी दिने प्रयास गरिएको छ ।

क.     श को प्रयोग

–          श वर्णलाई तालव्य श अथवा मोटो श समेत भनिन्छ ।

–          नेपाली मूल, तद्‍भव तथा आगन्तुक शब्दमा श वर्णको प्रयोग गरिँदैन ।

–          तत्सम शब्दमा सामान्यतया च-वर्ग (चदेखि ञसम्म) का बीचमा गरिन्छ । जस्तैः पुनश्‍च, निश्‍चित, निश्‍छल, निश्‍चल, निश्‍चिन्त, दुश्‍चक्र आदि ।

–          काश शब्दसँग जोडिएर आउने शब्दहरूमा : प्रकाश, अवकाश, आकाश, विकाश (विकास छुट्टै, विकाश छुट्टै) आदि ।

–          श्‍वसँग जोडिएर आउने शब्दमा : श्‍व (कुकुर), श्‍वास, प्रश्‍वास, विश्‍व, विश्‍वास, आश्‍वासन, विश्‍वव्यापीकरण आदि ।

–          आशासँग जोडिएर आउने शब्दमा : आशा, निराशा, आशावादी, आशाजनक आदि ।

–          शिक्ष् धातुबाट बन्ने सबै शब्दमा : शिक्षा, शिक्षित, शिक्षक, शैक्षिक, शिक्षण आदि ।

–          शासन, शासक, शासित, अनुशासन, प्रशासन आदि ।

ख.     ष को प्रयोग

–          ष वर्णलाई मूर्धन्य ष अथवा पेट फार्‍यो ष समेत भनिन्छ ।

–          नेपाली मूल, तद्‍भव तथा आगन्तुक शब्दमा ष वर्णको प्रयोग गरिँदैन ।

–          तत्सम शब्दमा सामान्यतया मूलतः ट-वर्ग (टदेखि ण वर्णसम्म) का बीचमा ष वर्णको प्रयोग गरिन्छ । उदाहरणका लागि : सृष्टि, दृष्टि, द्रष्टव्य, वृष्टि, पृष्ठ, पृष्ठभूमि, राष्ट्र, राष्ट्रिय, उष्ट्र (उँट), उष्ण, विष्णु, कृष्ण, उत्कृष्ट, निकृष्ट, गोष्ठी, षष्ठी आदि ।

–          दुस्/निस् उपसर्गभन्दा पर कवर्ग वा पवर्गका कुनै शब्द आएमा सकार षकारमा रूपान्तरण हुन्छ ।

उदाहरणका लागि

निस् + काम = निष्काम

निस् + कर्ष = निष्कर्ष

निस् + प्राण = निष्प्राण

दुस् + कर्म = दुष्कर्म

दुस् + प्रभाव = दुष्प्रभाव

दुस् + प्रयास = दुष्प्रयास

दुस् + कृति = दुष्कृति

–          त्यस्तै, परिष्कृत, परिष्कार आदि ।

–          ष प्रयोग हुने अन्य केही शब्दहरू : सुषमा, षड्दर्शन, षड्यन्त्र आदि ।

ग.      स को प्रयोग

–          स वर्णलाई दन्त्य, तालु दन्तमूलीय, पातलो स समेत भनिन्छ ।

–          सबै नेपाली मूल, तद्भव र आगन्तुक शब्दमा स वर्णको प्रयोग गरिन्छ ।

–          तत्सम शब्दमा पनि स वर्णको प्रयोग गरिन्छ ।

–          स वर्णको प्रयोग हुने सबै नेपाली धातु वा क्रियापदमा गर्ने : सक्नु, रिसाउनु, सकाउनु, सेक्नु, बिसाउनु, स्याहार्नु, सुधार्नु, सुत्‍नु, सुताउनु, सुकाउनु आदि सबै ।

–          नेपाली मूल वा तद्‍भवमा स वर्ण प्रयोग गर्ने : सिमाना, सिसा, सिधा, सोझो, सधैँ, सबै, सक्‍कल, सकस, ढाडस, सद्‍गत, त्यस, यस, यस्तो, त्यस्तो, साल, सात, साथ, सास, साग, साख, सादा, सारी, सरसफाइ, सास्ती, सासू, ससुरा, साली, साथी, सानी, सेती, बैसाखी आदि ।

–          नेपालीमा अङ्‍क (१-२-३..९) लेख्ने क्रममा स वर्णको प्रयोग गर्ने : सात, बिस, बाइस, एक्‍काइस, चालिस, पचास, साठी, सत्तरी, असी, सय आदि (तर तत्समका रूपमा दश नै) ।

–          आगन्तुक शब्दमा स वर्णको प्रयोग गर्ने : सहर, सहिद, सिफारिस, भरोसा, सोफा, सफा, सुल्फा, सुरुवाल, सुरु आदि ।

–          स वर्णको प्रयोग हुने केही तत्सम शब्द : सु उपसर्ग लाग्ने शब्द (सुशासन, सुअवसर, सुशान्ति, सुव्यवस्था आदि सबै ), समय, स्वर्ग, सक्षम, सहित आदि ।

अन्त्यमा,

यस लेखमा प्रस्तुत गरिएका विषयवस्तु सामान्य जानकारीका लागि दिइएका हुन् । यतिमात्रै पर्याप्त हुँदैन तथापि थोरै भए पनि जानकारी मिल्नेछ भन्ने आशा लिन सकिन्छ । निरन्तर अभ्यास र वाक्यमा प्रयोगद्वारा नै उल्लिखित तीन वर्णको प्रयोगबारे अभ्यस्त हुन सकिन्छ ।