नेपाली भाषा लेखनमा चन्द्रविन्दु (अनुनासिक) र शिरविन्दु (अनुस्वार) को प्रयोग अन्धाधुन्ध रूपमा भएको देखिन्छ । चन्द्रविन्दु लगाउनुपर्ने स्थानमा शिरविन्दुको प्रयोग अधिक मात्रामा पाइन्छ । यहाँ चन्द्रविन्दु र शिरविन्दुको प्रयोगबारे सङ्क्षिप्त जानकारी दिने प्रयास गरिएको छ ।

क.     चन्द्रविन्दुको प्रयोग

  • कालको अपूर्ण पक्षमा दै/तै लाग्दा दै/तै भन्दा अगाडिको अक्षरमा चन्द्रविन्दु लाग्दछ ।

जस्तैः लिँदै, दिँदै, गराउँदै, गरिँदै, दिइँदै, खिइँदै, लेखाउँदै, सिकाउँदै, बिग्रँदै, सप्रँदै, उफ्रँदै आदि ।

  • दै/तै भन्दा अगाडि कुनै आधा अक्षर भएमा चन्द्रविन्दु लाग्दैन ।

जस्तैः गर्दै, भन्दै, सिक्तै (सिक्दै), निकाल्दै, फाल्दै, बस्तै (बस्दै) आदि ।

  • धातुमा पहिले नै चन्द्रविन्दु लागेका शब्दमा सोहीबमोजिम चन्द्रविन्दु प्रयोग हुन्छ ।

जस्तैः हिँड्, सुँघ्, रुँग्, हाँस्–हिँड्दै, सुँघ्दै, रुँग्दै, हाँस्तै (हाँस्दै) आदि ।

  • दै/तै भन्दा अगाडि आकार भएमा त्यसमा चन्द्रविन्दु लाग्दछ ।

जस्तैः जाँदै, खाँदै, लैजाँदै, जाँदा, खाँदा, लैजाँदा आदि ।

  • लगाउँदा, गराउँदा, लेखाउँदा, पिउँदा, सिकाउँदा जस्ता क्रियापदका रूपमा चन्द्रविन्दु प्रयोग गरिन्छ ।
  • अन्तमा “न” भएमा त्यसभन्दा अगाडिको “उ” मा चन्द्रविन्दु लाग्दैन । जस्तैः लगाउन, गराउन, लेखाउन, पिउन, सिकाउन आदि ।
  • इच्छार्थक क्रियापद (प्रथम पुरुष एकवचन र बहुवचन) का अन्तमा चन्द्रविन्दु लगाउने र उकार दीर्घ हुन्छ ।

जस्तैः म लेखूँ, भनूँ, देखूँ, गरूँ, देखाऊँ आदि । हामी लेखौँ, देखाऔँ, भनौँ, सिकौँ आदि ।

  • कुनै कार्य नगर्ने भन्ने अर्थमा प्रथम पुरुष एकवचन र बहुवचनमा चन्द्रविन्दु प्रयोग गर्ने

जस्तैः गर्दिनँ : म गलत कार्य गर्दिनँ । म जाँदिनँ, खाँदिनँ, हिँड्दिनँ, चिन्दिनँ । हामी गलत कार्य नगरौँ । असत्य नबोलौँ । अङ्‍ग प्रदर्शन नगरौँ ।

  • प्रथम पुरुष (सामान्य भूतकाल) मा चन्द्रविन्दुको प्रयोग गरिन्छ ।

जस्तैः म घर गएँ । हामी घर गयौँ । मैले लेखेँ । हामीले लेख्यौँ । मैले गलत कार्य कहिल्यै गरिनँ । मैले असत्य कहिल्यै बोलिनँ ।

  • चन्द्रविन्दु लागेका केही अन्य शब्दहरू : सिउँदो, हाँस, हाँक, दाँत, भैँसी, सिँगार, महँगो (महङ्‍गो अनुपयुक्त), सँग (मसँग, नामयोगीका रूपमा संग/सङ्‍ग अनुपयुक्त), सिँगान, सिँचाइ, अँगार, सिउँरिनु, बिउँझिनु, बिउँतिनु, तपाईँ, तँ, आँटी, यहाँ, त्यहाँ, जहाँ, कहाँ, ठाउँ, गाउँ आदि ।
  • नझुक्कियोस् भन्नका लागि निम्न उदाहरणमा ध्यान दिऔँ :

–          म गलत कार्य गर्दिनँ ।

–          बहिनी गलत कार्य गर्दिन ।

–          म असत्य बोल्दिनँ ।

–          बहिनी असत्य बोल्दिन ।

ख.     शिरविन्दुको प्रयोग

  • सामान्यतया शिरविन्दुको प्रयोग य वर्णदेखि ज्ञ वर्णका बीचमा गरिन्छ । ती वर्णका बीचमा सामान्यतया “म्” (कतिपय अवस्थामा न् वा चन्द्रविन्दुसमेत) उच्चारण हुने स्थानमा शिरविन्दुको प्रयोग गरिन्छ । जस्तैः संयोग, संविधान, संयुक्त, संरक्षण, संवर्द्धन, संरोध, संस्कृत, संज्ञा, हिंसा, संसार, संवत्, आदि ।
  • शिरविन्दुको मनलाग्दी प्रयोग : अंक, शंख, शंका, दंड, भैंसी आदि तर यी अशुद्ध हुन् । अङ्‍क, शङ्‍ख, शङ्‍का, दण्ड, भैँसी आदि शुद्ध रूप हुन् ।
  • शिरविन्दुको प्रयोग भईकन पनि चन्द्रविन्दु (अनुनासिक) समेत उच्चारण हुने केही शब्दहरू : संस्कृत (सँस्कृत पनि), संस्कार (सँस्कार, सँस्कृति पनि) आदि ।