“हाम्रा मन्त्रालय तहमा चल्ने कार्यशाला यस्तै हुन्छन् । त्यहाँ जिज्ञासाको, तर्कको कुनै अर्थ छैन । आफ्नो आत्मचिन्तनलाई निमोठेर, कुल्चेर, अँध्यारो अनुहार गरी बस्नुपर्ने र कथंकदाचित् आफ्नो विचार राखिहाले पनि अलि अग्लो कुर्सीमा विराजमान भएको कसैले अन्यायपूर्वक त्यो विचारलाई कुल्चने, निमोठ्ने, लुछ्ने, लाछ्ने, च्यात्ने गरेको टुलुटुलु हेरी बस्नुपर्ने कस्तो कार्यशाला ? उसका कुतर्कलाई काटेर आफ्नो विचारलाई तर्कप्रमाणले संरक्षण गर्न खोज्दा जागीरै अप्ठ्यारामा पर्ला कि भन्ने डरले मुख टालेर बस्नुपर्ने कार्यशाला के कार्यशाला ?”
“हेमाङ्ग राज अधिकारीले आफ्नो टिप्पणी ‘एकै कर्तव्य हाम्रो विपुल चहकिलो पार्नु नेपालीलाई’ उद्धृत गरेर टुंग्याउनु भएको छ । कविवर माधव घिमिरेले ‘राष्ट्रिय झण्डा’ कवितामा ‘…विपुल चहकिलो पार्नु नेपाललाई’ लेख्नुभएको छ, ‘…नेपालीलाई’ लेख्नुभएको छैन । उहाँको कवितालाई आफ्नो कुतर्क र कुटिलताको संरक्षणार्थ तजबीजी फेरबदल गरेर उद्धृत गर्न अधिकारी सरले राष्ट्रकविबाट ‘विशेष अधिकार’ प्राप्त गर्नुभएको हो ?”
……….
समय २०७० सालको शुरूतिर हो, म जिल्ला शिक्षा कार्यालय रूपन्देहीमा हुँदा शिक्षा विभागबाट हो, पठाइएको एक पत्रमा ‘द्य’ को सट्टा ‘द् य’ लेखिएको देखेर म खुशी भएको थिएँ । किनकि कैयौं शिक्षक तालीममा नेपाली शुद्ध लेखन र शुद्ध उच्चारणका सन्दर्भमा विद्या, बुद्ध, आशीर्वाद जस्ता शब्दहरू मैले पटकपटक प्रयोग गर्थें । ‘विद् या’ लाई राम्रो, छरितो, कलात्मक बनाउने क्रममा ‘विद्या’ भएको हो; यसलाई ‘विधा’, ‘विधालय’ लेख्नु हुँदैन भन्दा शिक्षक साथीहरू खुशी हुन्थे । तालुक अड्डाबाट विद्या शब्दको वैकल्पिक बनोटको प्रस्तुतिले अबका दिनमा ‘विद्या’ र ‘विधा’ बीचको भेद बुझाउन अझ सजिलो हुनेभयो भन्ने लाग्यो ।
केही समय पछि ‘विद्या’ लेख्दा गल्ती हुने, ‘विद् या’ नै लेख्नुपर्ने भन्ने कुरा सुन्नमा आयो । त्यो कुरा उति पत्यार लागेन । त्यस्तो अव्यावहारिक र कठोर निर्णय कार्यान्वयन गरिंदैन होला भन्ने लागेको थियो । भाषाविद्हरूले यस सम्बन्धमा कुरा निकालेर निर्णमा सुधार गरिन्छ होला भन्ने लागेको थियो । किनकि त्यसरी लिपिसंकेत वा अक्षर नै मेटाइदिने हो भने त आजसम्म करौडौंको सङ्ख्यामा देवनागरी लिपिमा छापिएका विभिन्न पुस्तकहरू भोलिका पुस्ताका लागि पढ्न समस्या हुने हुन्छ । बेलाबेलामा यस्ता कुरामा चर्चा हुँदा युनिकोड फ्रेन्ड्ली बनाइएको, पे्रस फ्रेन्ड्ली बनाइएको भन्ने कुरा सुन्न थालियो । अब भने यो परिवर्तन त भाषाविद्द्वारा भाषा प्रयोक्ताको सरलताका लागि नभएर कम्प्युटर अपरेटरको सुविधाका लागि पो परिवर्तन भएको रहेछ भन्ने लाग्न थाल्यो ।
२०७० असार २४ का दिन बुटवलको जनसंघर्ष पत्रिका (पहिले दैनिक, हाल साप्ताहिक) को चौबीसौं वर्ष प्रवेशको अवसरमा रूपन्देहीका केही लेखक, भाषाशास्त्री तथा सञ्चारकर्मीको छोटोछरितो अन्तरक्रियामा सबैले पत्रपत्रिकाका बारेमा कुराकानी गरे तर मैले भने परापूर्वकालदेखि लेखिंदै पढिंदै आएका लिपिसंकेत तल्लो पिंढीमा सार्न नसकिने अवस्था आएको गुनासो राखें । अनि आफ्नो विवशता बताएँ— पहिलो कुरा त म भाषाविज्ञानको व्यक्ति होइन । दोस्रो, निजामतीतिरको कर्मचारी । त्यसैले तपाईंहरूले यसका बारेमा कलम चलाउनु बढी औचित्यपूर्ण र सान्दर्भिक हुनेछ ।
दस–बाह्रदिनको पर्खाइ पछिसम्म पनि कसैबाट केही नआएपछि आफ्नो मनमा लागेको कुरा राखेर ‘नेपाली वर्णविन्यासमा ल्याउन खोजिएको फेरबदल’ शीर्षकमा लेख लेखें । दैनिकपत्र बुटवल र ‘आजको शिक्षा’ काठमाडौंले प्रकाशित गरे । (उक्त लेख साहित्यपोस्टमा दुई दिन अघि पुनः प्रकाशित भएको छ । –सं.) साथीहरूले ई–मेल मार्फत यताउता सार्ने काम पनि गर्नुभो । अनि क्रिया–प्रतिक्रिया पनि आउन थाले । कतिपय साथीहरूले नेपाली भाषामा भोलि पर्ने समस्याको बारेमा मैले उठाएको आशङ्काको स्वागत गर्नुभो । यस सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक (त्यस बेला महानिर्देशक नभनी कार्यकारी निर्देशक भनिन्थ्यो) ले २०७० साउन १२ गते आधिकारिक विज्ञप्ति सरहको देहायको ५ बुँदे अभिव्यक्ति ई–मेल मार्फत सञ्चार गर्नुभो :
प्रिय सम्पूर्ण महानुभावहरू,
१. नेपाल सरकारबाट गतवर्ष निर्णय भए अनुसारको नयाँ वर्ण विन्यास कार्यान्वयनमा आइसकेको छ ।
२. कार्यान्वयनमा रहेको विद्यमान वर्ण विन्यास पद्धति यस रूपमा आउनु अघि धेरै चरणमा धेरै विद्वानहरूसँगको छलफल पछि नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका निकाय समेतको रायका आधारमा मात्र नेपाल सरकार निर्णयमा पुगेको तथ्य बुझिदिनु हुन अनुरोध छ ।
३. कसैले पनि अपरिपक्व किसिमले (भाषा विज्ञान, व्याकरण, भाषिक इतिहासको न्यूनतम ज्ञान हासिल नगरी) टिप्पणी नगरिदिनु हुन अनुरोध छ । कुरा बुझेर मात्र बोल्नु भयो भने तपार्ईंले बोलेको कुराको मूल्य रहन्छ । विशेष गरी शिक्षा मन्त्रालयका प्रणाली भित्रका कर्मचारीहरूले त यसरी अनधिकृत रूपमा बोल्ने कि नबोल्ने ? कुन मञ्चमा गएर बोल्ने ? मन्त्रालय भित्र छलफल गर्ने पो हो कि ?
४ . यस सम्बन्धमा बौद्धिक छलफल गर्न सकिन्छ, पाइन्छ ।
५. उत्तरकुमार पराजुलीजीले उठाएका कुराहरू आफ्ना ठाउँमा ठिक हुन सक्छन् तर उहाँको यस ज्ञानलाई सार्वजनिक रूपमा प्रकाशन गर्नु अघि शिक्षा मन्त्रालय पद्धतिमा छलफल हुनुपर्छ होला ।
भवदीय— दिवाकर ढुङ्गेल
===
सार्वजनिक विज्ञप्ति जस्तो बेहोरा तर मेरो व्यक्तिगत मेलमा आउँदा कता कता असजिलो जस्तो लागे पनि दिवाकर ढुङ्गेलको यो अभिव्यक्तिलाई मैलै त्यति अस्वाभाविक ठानिनँ । निर्णय गराउन पहल गर्ने संस्थाका प्रमुखको नाताले त्यति अभिव्यक्ति दिनु संस्था प्रमुखको नैतिक धर्म पनि हुन सक्छ । तर मैले उठाएको मूल मुद्दालाई उल्लेख नगरी पहिलो बुँदामा केवल सरकारी निर्णय हो भन्नु मेरो लागि पहिले भएको जानकारी माथिको जानकारी मात्र भयो ।
दोस्रो बुँदामा निर्णय उसै गरिएको होइन, नेपाल प्रज्ञा प्रतिष्ठान र विभिन्न विद्वानहरूको राय सल्लाहबाट गरिएको हो भन्ने उल्लेख गरेर आफ्नो पक्षमा ठूलो र दह्रो जनमत रहेको कुरा बोलियो । उठाएको सन्दर्भ विचारणीय हो होइन भन्नेतर्फ कुरो जान सकेन । धेरैको राय सल्लाहबाट गरिने निर्णयमा पनि कहिलेकाहीं केही छिद्र पर्न सक्छन् । ती छिद्र बेलैमा देखाइदिंदा कार्यान्वयनबाट धेरै विग्रह नपर्दै सुधार्न सकिने कुरातर्फ पनि त जान सकिन्छ ।
तेस्रो बुँदामा भाषा विज्ञान, व्याकरण र भाषिक इतिहासको न्यूनतम ज्ञान हासिल नगरी टिप्पणी नगर्न आदेश दिइएको छ (सरकारी विज्ञप्तिमा ‘अनुरोध’ ले आदेशलाई जनाउने गर्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो) । जुत्ता लगाउँदा खुट्टा चिमोटियो, घोच्यो भने आफ्नै बाआमाले सिलाएको जुत्ता भए पनि लगाउनेले दुख्यो भन्छ । यो दुख्यो भन्नको लागि उसले मैले जुत्ता सिलाउन, छाला माड्न, छाला सिजाउन जान्दिनँ त्यसैले दुख्यो भन्न मिल्दैन भनी साइत पर्खन्न । मेरो प्रश्नको उठान अपरिपक्व किसिमको हुन सक्ला तर त्यसको जवाफमा तेरो प्रश्न गर्ने हैसियत नै पुग्दैन भन्नु कुन परिपक्वता भयो र ?
यस सम्बन्धमा कुरा उठाउन अरू मन्त्रालयलाई छूट हुने र शिक्षा मन्त्रालयका कर्मचारीले नहुने कारण के हो भन्ने कुरा मैले अझसम्म बुझ्न सकेको छैन । यो समस्याको उठान अनधिकृत हो भन्दै अरू मन्त्रालयमा भए खासै बात नलाग्ने र शिक्षा मन्त्रालयको कर्मचारीले बोल्न बन्देजमा रहनुपर्ने अर्थ पनि अझै बुझ्न नसकेको कुरा हो ।
मन्त्रालयभित्र छलफल गर्न सकिन्छ, पाइन्छ भन्ने चौथो बुँदा भने अलि उदार किसिमको देखिन्छ । शब्दमा हेर्दा यसले मलाई नैतिक रूपमा केही सोच्न बाध्य गराउनुपर्ने हो । तर ती केवल तमसुकका बेहोरा लिखितम् धनी साहुका नाम… भन्दा धेरै महत्वका रहेनन् ।
२०७० चैत्र १८ गते मंगलवारका दिन शिक्षा मन्त्रालयको सभाहलमा सञ्चालन भएको शैक्षिक सूचनासम्बन्धी कार्यशालामा यिनै समस्यामा उठेको सवाल जवाफले पनि माथिका कुरालाई व्यावहारिक प्रमाणित गर्न सकेन । यहाँ त्यस दिनको कार्यशालाको सारसंक्षेप उल्लेख गर्न सान्दर्भिक ठान्छु । तीस–पैंतीस जना उपस्थित रहेको सो कार्यशालामा शिक्षासम्बन्धी सबैजसो निकायको प्रतिनिधित्व थियो । पाठ्यक्रम विकास केन्द्रका वर्तमान कार्यकारी प्रमुख र पूर्व कार्यकारी प्रमुखको संयोगले वर्णविन्यासको सन्दर्भ निस्कने झिनो अनुमान मैले गरेको थिएँ । किनकि त्यहाँ बुलेटिन सम्पादनको सन्दर्भ उठिरहेको थियो । वर्णविन्यास सम्बन्धी अभिमुखीकरण गर्ने त मुख्य एजेन्डा नै रहेछ । कति पृष्ठको, कस्तो रङ्गमा, कस्ताकस्ता स्तम्भ भन्दै जाँदा युनिकोड फ्रेन्ड्ली भन्ने कुरा आइहाले । अनि पाठ्यक्रम विकास केन्द्रका उपसचिवले मल्टिमिडिया प्रोजेक्टर मार्फत वर्णविन्यासको बेलिविस्तार लगाउन थाले :
२०६९ साउन २२ को नेपाल सरकारको निर्णय हो, नेपाली व्यञ्जन वर्ण २९ वटा मात्र छन्, नेपाली जिभ्रोले स मात्र बोल्छ– श–ष बोल्दैन, यो १५ सय जना विद्वानबाट खारिएर आएको कुरा हो, प्रविधिका पछि लाग्नु परेकोले यसो गरिएको हो, शेर्पाहरूले सेर्पा शब्द जाती नमानेकाले शेर्पालाई दन्त्य स लेख्न नसकिएको हो, क्त मा क कहाँ छ भन्दा बताउन नसकिएकोले क्त लेख्नुपर्ने गरिएको हो, संस्कृत शब्द जस्ता छन् त्यस्तै लेख्ने, नेपालीमा मात्र यी नियम लागू गर्ने, गोल शब्द अनेकार्थी भएर काम चलेको छ भने फुल पनि अनेकार्थी हुन ठूलो कुरा के भयो ? आदि । उनले यसो भन्दै रहँदा शिक्षा मन्त्रालयका उपसचिव गुरुप्रसाद मैनालीको ‘विद्यालय उच्चारण गर्दा चिरेको ब को उच्चारण हुन्छ भने सो व किन नचिर्ने ?’ भन्ने प्रश्नको जवाफ ‘त्यसलाई अहिले नचिर्ने भन्ने निर्णय भएको छ’ भन्ने आयो ।
‘तपाईंको वर्णविन्यास प्रयोग गरेर ‘शिक्षा मन्त्रालय’ लेखेर देखाउनुस् । १५ सयले गरेको निर्णय होस् कि १५ हजारले गरेको होस्, नियम बनाएपछि सबैमा लागू हुनुपर्यो । त्यसो नभए भाषा झन् लथालिङ्ग हुने भयो नि ?’ भनी ती मित्रले जिज्ञासा राख्दा सहसचिव खगराज बराल महोदयबाट चूप लाग्न आदेश भयो । ती साथीको आशय ‘द् य’ लेख्ने हो भने शिक्षा मन्त्रालयलाई सिछ् या मन् त् रालय लेख्न पर्यो भन्ने थियो । किनकि नेपालीमा दन्त्य स मात्र बोलिने भएपछि आधा क् र मूर्धन्य ष मिलेर बनेको क्ष पनि लेख्न पाइएन । त्र लाई टुक्र्याउँदा त् र हुने भयो ।
त्यो ‘चूप लाग्नोस्’ आदेश सुन्दा मैले आफू बसेको स्थान सिंहदरबारको पृष्ठभूमि सम्झन पुगें । त्यो चन्द्रशम्शेरको सिंहदरबार, जहाँ ‘सरकार ! मैले शास्त्री उत्तीर्ण गरेर आएँ, जागीर पाऊँ’ भन्दा ‘तेरो शास्त्री इन्द्रचोकमा लगेर देखा’ भन्ने हुकुम हुन्थ्यो । त्यसैगरी ‘म साक्षर मात्र हुँ प्रभु ! जागीर पाऊँ’ भन्दा ‘तँ फलाना अड्डाको सुब्बा भइस्, जा’ भन्ने हुकुम हुन्थ्यो भन्ने कहावत हजुरबा पिंढीले गर्नुहुन्थ्यो ।
‘मूर्धन्य ष को उच्चारण नेपालीमा हुँदैन, दन्त्य स मात्रै हुन्छ’ भन्दै रहँदा ‘उसो भए अब उप्रान्त भाषालाई भासा लेख्न पर्ने भयो, होइन त ?’ भन्ने प्रश्न आएपछि ‘होइन, संस्कृतबाट आएका शब्दलाई जसको तस राख्ने’ भन्ने जवाफ दिइयो । यो जवाफले फेरि दुईवटा समस्या जन्मायो । पहिलो कुरा, नेपाली भाषा लेख्नका लागि पहिले संस्कृत भाषाको विज्ञ हुनु जरूरी देखियो । कुन शब्द संस्कृत हो कुन संस्कृत इतर हो भन्नका लागि सबैभन्दा पहिले संस्कृत पूरै जान्नुपर्यो । अर्को कुरा, विद्या, बुद्धि, बुद्ध, विद्यालय यी सबै संस्कृत शब्द हुन् भने यी जसको तस किन लेखिएनन् ? यसको जवाफ छैन । ‘यो सरकारको निर्णय हो । कार्यान्वयनको विकल्प छैन ।’ यही थियो तैयारी आदेशात्मक जवाफ ।
प्रोजेक्टरमा दृश्य सामग्री प्रस्तुत गर्दै प्रस्तोता साथीले ‘लट्टू, पट्टू, छट्टू, टट्टू… जस्ता शब्द लेख्दा कपीका तीनवटा धर्का खाइदियो । त्यसैले यसलाई लट् टू, पट् टू, छट् टू टट् टू… लेख्दा सुविधा हुन्छ’ भन्ने बडो किफायती तरीका प्रस्तुत गरे । ती साथीलाई थाहा हुनुपर्ने हो, अंग्रेजीमा छापा र लेख्ने गरी दुई प्रकारका अक्षर हुन्छन् । लेख्ने र छापाका बीच कुनै कुनै अक्षरको त अनुहारै मिल्दैन । त्यस्तो हुँदा पनि सो भाषामा कसैले समस्या भो भनेको छैन । लेख्नेका ठूला अक्षर G, J, Q, Y, Z र लेख्नेका साना अक्षर f र p ले हाम्रो लट्टू, पट्टूले भन्दा पनि धेरै ठाउँ लिन्छन् । त्यसको पनि कसैले विरोध गरेको छैन । राम्ररी हात नबसुन्जेल कापीका पाता च्यातिन्छन्, छेडिन्छन्, केरिन्छन्, पेन्सिलका कति टुँडा भाँचिन्छन्, पेन्सिल तिखार्दा हात पनि काट्छ, कलमका निब भाँचिन्छन्, डटपेनका कति गेडी (Ball) फुस्किन्छन् । यस्तो हुन्छ भनेर लेखन कार्य जोखिमपूर्ण भयो, झन्झटिलो भयो, खर्चिलो भयो भनी लेख्नै छोड्न भयो र ? आज लट्टूलाई ‘लट् टू’ लेख्ने । भोलि उकारले पनि माथिकै हिसाबले भद्दा बनायो भनी ‘लट् टऊ’ लेख्ने । फेरि हलन्त चिह्नले पनि तलपट्टि भद्दा देखियो भनी ‘लटटऊ’ गर्ने बुद्धि आयो भने पहिलेको भद्दा कि अहिलेको भद्दा भन्ने विशेष छलफलको विषय बन्ने होला कि ?
हामी साना छँदा बा, हजुरबाहरूले शंखासुरले वेद खाएर झ अक्षर पचाएको कुरा गर्नुहुन्थ्यो । त्यसैकारण वेदमा झ छैन भन्नुहुन्थ्यो । सप्तशती चण्डीमा एउटा मात्र झ छ (प्रथम अध्यायको बयालीसौं श्लोकमा, उज्झित शब्दमा), गीताभरिमा पनि जम्मा एउटा झ छ (दशौं अध्यायको एकतीसौं श्लोकमा, झषाणां शब्दमा) । अनि वेदका कैयौं झ यसरी पचेका र पछि शंखासुरलाई मारेर उसको पेटमा रहेका वेदका अक्षर तित्राले मिलाउँदा कोही यता कोही उता परेका हुनाले वेदको अर्थ लाग्दैन भन्नुहुन्थ्यो । हजुरबाहरूले भनेको त्यो परिदृश्य हाम्रो मथिंगलमा खूब रिङ्थ्यो । त्यो शंखासुरले वेद नखाइदिएको भए आज वेदको पनि सप्ताहमा जसरी पण्डित बाजेहरूले कथा भनेर कति अर्थ गरेको सुन्न पाइँदो हो भनी थक्क थक्क हुन्थ्यौं । अब यो जताततै फैलिए हुन्थ्यो भनी कामना पनि गर्थ्यौं । यो थियो आफ्नो बालापनको कुरा ।
अहिले बुझ्दा वेदमा हुँदै नभएको झ खाएको रहेछ कथाको शंखासुरले । तर आज हामी वास्तविक शंखासुर हुँदैछौं । अब हामी केवल चार किल्ला नेपाल भित्रका लागि मात्रै यी संयुक्त लिपिसंकेतहरू पचाउने सुरसारमा छौं : ङ्क, ङ्ख, ङ्ग, ङ्घ, क्त, द्व, द्य, ट्ट, द्म, द्द, द्ध आदि । मौका मिले यिनीसँगै क्र, ख्र, ग्र, घ्र….. र क्ष, त्र, ज्ञ पनि सती जाने पर्खाइमा छन् । भोलिका सन्तानले हामीलाई वास्तविक शंखासुरको हिसाबले चिन्ने, बुझ्ने भएको छ ।
कार्यशालाको अन्तिमतिर मैले यौटा सानो जिज्ञासा राखें । मेरो चासो ‘फुल’ जस्ता कुरामा होइन लिपिसंकेत निषेधका कुरामा थियो । मैले भनें, ‘अहिलेसम्म द्य, ङ्क, क्त, र्य जस्ता लिपिसंकेत प्रयोग गरेर करोडौं थरिका पुस्तक प्रकाशित भएका छन् । ती पुस्तकहरू भोलिका पिंढीले कसरी पढ्लान् ? दुवै लिपिसंकेत प्रयोग गरे कसो होला ?’
त्यसको जवाफ सहसचिवबाट यसरी आएको थियो, ‘भोलिको चिन्ता किन ? हामीले जानेको हाम्रा सन्तानले ५० प्रतिशत जान्लान्, नातिले २५ प्रतिशत । सेक्सपियरले लेखेका शब्द आज छैनन् र पनि अंग्रेजी चलेको छ । के अंग्रेजले त्यति सोचेका थिएनन् होला ?’
‘त्रि.वि.का प्राध्यापकले हामी यो नियम प्रयोग गर्दैनौं भन्दैथिए । उनीहरूलाई मैले स्पष्ट पारिदिएको थिएँ— तपाईंहरू उच्च शिक्षा पढ्ने एक डेढ लाख विद्यार्थीको कुरा गर्नुहुन्छ । हामी तलबाट पचहत्तर लाखको संख्यामा पेल्छौं । अनि तपाईंहरू ठाउँमा नआई सुखै छैन ।’ मलाई समेत सबक सिकाउने मनसायले सहसचिव महोदयले पेलेका थिए ।
हाम्रो देशभित्र मन्त्रालय तहमा चल्ने कार्यशाला यस्ता हुन्छन् । त्यहाँ जिज्ञासाको, तर्कको कुनै अर्थ छैन । सबै सहभागीले आपसमा तर्कवितर्क गरी चित्त माझामाझ गरून्; अँ, मेरो सोचाइ त्यसतिर नपुगेकै हो भनी कुनै प्रस्तावका प्रस्तावकले आत्मसन्तुष्टिका साथ आत्मस्वीकृति जनाऊन्; सबै सहभागी समानताको हैसियतमा प्रस्तुत हुन सकून्; त्यो पो कार्यशाला ! आफ्नो आत्मचिन्तनलाई निमोठेर, कुल्चेर, अँध्यारो अनुहार गरी बस्नुपर्ने र कथंकदाचित् आफ्नो विचार राखिहाले पनि अलि अग्लो कुर्सीमा विराजमान भएको कसैले अन्यायपूर्वक त्यो विचारलाई कुल्चने, निमोठ्ने, लुछ्ने, लाछ्ने, च्यात्ने गरेको टुलुटुलु हेरी बस्नुपर्ने कस्तो कार्यशाला ? उसका कुतर्कलाई काटेर आफ्नो विचारलाई तर्कप्रमाणले संरक्षण गर्न खोज्दा जागीरै अप्ठ्यारामा पर्ला कि भन्ने डरले मुख टालेर बस्नुपर्ने कार्यशाला के कार्यशाला ?
मेरो र मजस्ता अरू धेरैको अवस्थालाई मैले एक हप्ता अघि मेरो घरको माच (टौवा) मुनि बच्चा पाएर बसेकी काली कुकुर्नीसँग दाँजेर हेरें । त्यो काली कुकुर्नी कस्तै ठूलो र बलियो डाँगो कुकुर बच्चाको नजीक आउँदा पनि बच्चाहरूले चुसेर स्याप्प परेको पेट र ख्याउटे शरीरमा अपूर्व बल आरोपित गरी डाँगालाई भुत्ल्याउन जान्थी र लघारेरै छोड्थी । तर जागीर जोगाउनुपर्ने हामीसँग त्यो हिम्मत थिएन । मैले सिंहदरबारको त्यो कार्यशालाबाट त्यस काली कुकुर्नीको हिम्मतलाई सलाम गरें ।
दिवाकर ढुंगेलले लेखेको पाँचौं बुँदा भने मेरो मनलाई केही ढाडस दिने खालको थियो । शुरूका चार वटा बुँदामा जतिसुकै निकृष्ट रूपमा प्रस्तुत भए पनि यस बुँदामा मैले उठाएका कुरामा उनले परोक्ष सहमति जनाएका थिए ।
मलाई लाग्छ, तिनै ढुंगेलले मेरो लेख र इमेल ठेगाना हेमाङ्ग राज अधिकारीलाई दिए र हेमाङ्गले ‘उत्तरलाई उत्तर’ शीर्षकमा १६ बुँदे पूरापूर चार पृष्ठ लामो टिप्पणी लेखी पठाएका थिए । आजसम्म देखभेट नै नभएका विद्वान व्यक्तित्वबाट २०७० साउन ३२ गते मेरो ई–मेलमा त्यस्तो टिप्पणी देख्न पाउँदा निकै खुशी हुँदै पढें । तर मेरो लेखको वास्तविक मर्मलाई पन्छाएर शब्दाडम्बरले भरिएको बोक्रे टिप्पणी मात्र रहेछ । कतै म बढ्ता पूर्वाग्रही भएर त यस्तो भैरहेको छैन भनी दोहोर्याई तेहेर्याई पढें । तैपनि लिपिसंकेत निषेध गर्दा भविष्यमा पर्ने अप्ठ्यारो फुकाउने कुनै उपाय पाउन सकिनँ । अनि चार पृष्ठको जवाफ २८ पृष्ठले दिएँ । यसको पूर्ण पाठ ‘आजको शिक्षा’ साप्ताहिक पत्रिकामा प्रश्नोत्तरका ढाँचामा प्रकाशित भएको छ । त्यसका केही अंश यहाँ राख्दै छु :
“प्रथमतः डाक्टर सापले मेरो चासो र चिन्ताको प्रशंसा गर्न चाहन्छु भन्नु भएकोमा मैले ती शब्दलाई धन्यवाद दिनुपर्छ । मैले अर्थलाई पनि धन्यवाद दिन चाहन्थें । जब मेरो चासो नै भेट्टाउनुभएको छैन भने अर्थलाई म कसरी धन्य भनूँ ?
“बुँदा नं १ मा तपाईंले ‘भाषा प्रयोक्ताको सहजताको कुरा’ उठाउनु भएको छ । यो सहजता फराकिलो दृष्टिकोणमा हुन्छ कि साँगुरोमा ? लिपिसंकेत नै निषेध गर्न उद्यत रहनेले त्यो भन्न सुहाउँछ ? भाषामा आएको परिवर्तनले पढ्न, उच्चारण गर्न कठिन हुने कुरा मैले उठाएको हो । त्यसको जवाफमा ‘भाषाको सहज प्रवाहलाई रोक्न खोजेको’ आरोप कसरी लगाउन सक्नु भो ? ‘द्य’ र ‘द् ‘य’ दुवै प्रयोग गर्न सकिन्छ भन्दा किन तपाईंको टाउको दुख्छ ? किन टाउको दुख्नुपर्छ ? निर्विकल्पवाला सहज हुन्छ कि विकल्पवाला ? बरु यही निषेध प्रवृत्तिले भाषाको सहज प्रवाह अवरुद्ध गर्ला जस्तो देखिएको छ । मैले भन्न खोजेको मुख्य कुरो नै लिपिसंकेत नमेटौं, निषेध नगरौं भन्ने हो । अक्षर वा लिपिसंकेत अप्ठ्यारा भए भनेर देवनागरी लिपिलाई दोष दिनु भनेको एक मनगढन्ते भ्रम सिवाय अरू केही होइन । विद्वानहरूले यस्तो भ्रम पाल्नु पनि हुँदैन र छर्नु पनि हुँदैन ।
“लिपिसंकेत निषेध गर्दा आजसम्म छापिएका पुस्तकहरू भोलिका सन्तानले कसरी पढ्लान् भनेर हामी जस्ता सर्वसाधारणले जिज्ञासा राख्दा तपाईंले ‘भाषा पुरानु सजिलो हुन्छ कि नयाँ ?’ भनेर प्रतिप्रश्न गर्ने कि त्यो समस्या यसरी समाधान हुन्छ भनेर भन्ने ? यही कुटिल प्रतिप्रश्नमा आजको भाषाको समस्या अल्झेको, बल्झेको छ । समस्या बुझीबुझी बुझ पचाउने कुटिलता नै आजको समस्या हो ।
“दोस्रो बुँदामा यहाँले ‘समकालीन प्रयोगमा मानक भाषा खोज्ने’ रुचि राख्नु भएको रहेछ । त्यो हो भने समकालीन प्रयोग भित्रै खोजौं न ! लिपिसंकेत मेट्ने अभियानतिर किन लाग्नु ? लिपिसंकेत मेटेको भाषा मात्रै समकालीन हुने त होइन होला नि ? आफूले मनपर्दी परिवर्तन गर्ने, त्यसैलाई समकालीन भन्ने र त्यहीं मानक खोज्ने कुरा गर्नु भएको हो भने त्यस्तो कपटपूर्ण मानक निर्धारण सबैलाई कसरी पाच्य होला र ?
“बुँदा नं ३ मा भनिएको छ, ‘प्रयोग हुँदै जाँदा भाषाले नयाँ मूल्य र मान्यता जन्माएको हुन्छ । त्यसलाई हामी धेरै समय वेवास्ता गरिरहन सक्तैनौं । वेवास्ता गरेमा प्रयोक्ताको सृजना कुण्ठित हुन जान्छ ।’
“भाषाकै कारणले सृजना कुण्ठित हुन्छ भन्ने सन्दर्भ यहाँ त्यति मिल्दो गरी उठेको छैन । विगतका ज्ञानको भण्डार उधिनेर ती ज्ञान पचाएर सर्जक बन्ने कुरा गर्नु भएको हो भने लिपिसंकेत मेट्ने निर्णयले विगतका इतिहास ज्ञानलाई अझ दुरूह र कठिन बनाउन खोजिएको कुरा तपाईंहरूले पनि स्वीकार्नु भएकै छ । ‘द्य’ लेख्न नसक्ने र ‘द् ‘य’ लेख्न सक्ने भएर सिर्जना फुर्ने भन्ने कुरा त्यति तर्कसंगत देखिदैन । महावीर पुन, सन्दुक रुइत, रामप्रसाद पोख्रेल जस्ताको सृजना जतिसुकै असहज वातावरणमा पनि फुले फक्रेको देखियो । त्यहाँ परम्परागत भाषाले अप्ठ्यारो पारेको कुरा सुनिएको छैन ।
“हेमाङ्ग सरले जनजिभ्रोले तद्भवीकरण खोज्छ र रोज्छ पनि भनेर जनजिभ्रोको वकालत गर्नु भो । तपाईंले सम्पादन गरेको प्रयोगात्मक नेपाली शब्दकोशमा ‘ह्रस्व’ को उच्चारण ‘रस्स्व’, ह्रस्वीभवन लाई ‘रस्स्विभवन्’, ह्रास लाई ‘रास्’, ह्लादक लाई ‘ल्हादक्’… भनी लेखिदिनु भएको छ । यो भाषा प्रयोक्ताले, वक्ताले लेखेको हो र ? के तपाईंले आफूलाई जनजिभ्रोको प्रतिनिधि ठान्नु भएको छ ? कि सबै तत्सम शब्दलाई तद्भव बनाउने अब्बल दर्जाका स्रष्टा ठान्नुहुन्छ आफूलाई ? ठान्न मिल्छ ? त्यहाँ उच्चारणको सरलताका लागि ‘ह् रस्व’ लेख्न सक्नुहुन्थ्यो । जब शब्दकोशमै ‘रस्स्व’ जस्ता उच्चारण राखिदिनुहुन्छ भने ‘ह् रस्व’ उच्चारण गराउन प्रयत्न गर्ने शिक्षकले पनि कसरी उच्चारण गराउन सक्छन् ? मुख्य शब्दकै उच्चारणमा त्यस्तो लेखिदिए पछि सिकाउनेले के सिकाउने ? हामीले त ‘ह् रस्व’ उच्चारण गर्थ्यौं, आजभोलि ‘रस्स्व’ उच्चारण गर्नुपर्ने रहेछ भनेर त्यही सिकाउँछन् । सिक्नेले ‘रस्स्व’ सिक्छन् । सिकारु त शिक्षकले जता डोर्यायो उतै डोरिने न हुन् । यस्तो तद्भवीकरण जनजिभ्रोका नाममा विज्ञ हुँ भन्नेबाटै भएको छ ।
“अंग्रेजी भाषातिर हेर्यौं भने पनि यस्ता थुप्रै कुराहरू पाइँदा रहेछन् । छब्बीसवटा वर्ण भएको यस भाषामा जम्मा छयालीसवटा phonetic symbol छन् । ती चिह्नहरूमध्ये पनि तेह्रवटा त ती छब्बीसवटा अक्षरभन्दा भिन्नै खालका छन् । पहिचान गर्नै गाह्रो ।
“हाम्रो भाषामा वर्ण उच्चारण गर्न जानेपछि शब्द उच्चारण गर्न अप्ठ्यारो पर्दैन । तर अंग्रेजीमा त प्रत्येक शब्द उच्चारण गर्न शंका गर्नुपर्ने हुन्छ । th ले थ उच्चारण हुन्छ भनी thin को उदाहरण दिइएको छ । यसअनुसार this को उच्चारण त थिस् हुनुपर्ने, तर हुन्छ दिस् । put पुट हुन्छ तर but बुट हुन्न । go गो हुन्छ तर do डो हुन्न । cell सेल हुन्छ तर cat सट हुन्न । queue को र शुद्ध अक्षर q को उच्चारणमा केही पनि फरक हुन्न । त्यहाँ अनावश्यक ueue चारवटा अक्षर किन राख्नु परेको होला ?
“सबै भाषाका आआफ्ना परम्परा हुन्छन् । ती परम्परालाई भाषाविद्हरूले भत्काउँदैनन् । त्यसैमा सुन्दरताको अनुभूति गर्छन्, त्यसैमा रमाउँछन् । यो हामी भाषाविद्को मात्रै कुरा होइन सबै भाषा प्रयोक्ताको विषय हो भन्ने बुझेका हुन्छन् । हो, उनीहरूले छोटो र छरितोमा queue लाई q मात्रै लेखेर आपसी अनौपचारिक संवाद गर्न सक्लान् । आपसी सरसल्लाहमा कुनै संघ संगठनमा पनि चलाउन सक्लान् तर ग्रामरमा सुधारको लागि भनेर हात हाल्दैनन् । किनकि करोडौं पुस्तकहरू त्यही परम्पराबाट लेखिएका छन् र त्यसै अनुसार बुझिएका छन् ।
“मलाई ‘सरकारले निर्णय गरिसक्यो, अब निर्णय मान्नुको विकल्प छैन’ भनेर धम्क्याउनु यहाँको शकुनि कुटिलता हो । एघारौं बुँदामा गएर ‘तपाईं आफैं शिक्षा मन्त्रालयको जिम्मेवार र अनुभवी व्यक्ति हुनुहुन्छ’ भन्ने तक्मा भिराएर सरकारको आड लिएर मलाई गलाउन खोज्नु अझ ठूलो कुटिलता हो ।
“सरकार नागरिकलाई सुरक्षा, सुविधा दिने संस्था हो । त्यसमा जागिर खाने नखाने सबैको उत्तिकै जिम्मेवारीपूर्ण सहभागिता हुन्छ र रहनुपर्छ । विभिन्न विद्वान, विशेषज्ञ, सल्लाहकारका सल्लाहमा सरकारले निर्णय गर्ने हो । ती गरिएका निर्णयहरू सर्वसाधारणका लागि उचित ठहरेनन् भने बदर पनि हुन्छन् । कतिपय निर्णय अदालतले पनि बदर गराएको छ । अदालत पनि त सरकारकै हो ।
“शिक्षा मन्त्रालयको जिम्मेवार र अनुभवी भन्ने कुराले त मलाई थप सोच्न र अझ स्पष्टीकरण दिन आवश्यक भएको छ । किनकि इतिहासले ‘तैंले भोलिका पिंढीले हिजो लेखिएको इतिहास पढ्नेछन् भनी सोच्न सकिनस् ?’ भनेर मलाई भोलि सोध्ने प्रश्नको जवाफ मैले आजै दिनुपर्छ र दिइरहेको पनि छु ।”
हेमाङ्ग राज अधिकारीले आफ्नो टिप्पणी ‘एकै कर्तव्य हाम्रो विपुल चहकिलो पार्नु नेपालीलाई’ उद्धृत गरेर टुंग्याउनु भएको छ । यो कहाँबाट कसको पंक्ति उद्धृत गर्नुभएको हो ? नेपाली साहित्यमा आजसम्म कसैले यस्तो श्लोक–पंक्ति लेखेको मैले त पढ्न पाएको छैन । हो, कविवर माधव घिमिरेको ‘राष्ट्रिय झण्डा’ कवितामा योसँग मिल्दोजुल्दो पंक्ति अवश्य छ, तर उहाँले ‘…विपुल चहकिलो पार्नु नेपाललाई’ लेख्नुभएको छ, ‘…नेपालीलाई’ लेख्नुभएको छैन । उहाँको कवितालाई आफ्नो कुतर्क र कुटिलताको संरक्षणार्थ तजबीजी फेरबदल गरेर उद्धृत गर्न अधिकारी सरले राष्ट्रकविबाट ‘विशेष अधिकार’ प्राप्त गर्नुभएको हो ?
वर्णविन्यासको विवादका कारण वास्तवमा २०७० साल मेरा लागि निकै कष्टकर भएर बित्यो । भाषाको कुरा उठाउने कर्मचारीमा देखिएको म एक्लो भएकाले यो पीडा मैले घरका जहानसित पनि भन्न सक्तिनथें । अनावश्यक विवादमा फस्ने भन्ने गनगन सुन्नुभन्दा कुरा लुकाउनु बेस ठान्थें । समकक्षी साथीहरू पनि कतिपय कर्के नजर गर्ने बनेका थिए । हाकिमहरू यो सरकारको आलोचक हो भनेर मुखमा हेर्दैनथे । मन्त्रालयबाट मेरा नामको कुनै पत्र आउँदा पनि कतै बर्खास्ती पत्र पो हो कि, स्पष्टीकरण पत्र पो हो कि भन्ने जलत्रास हुन्थ्यो । बिस्तारै भाषा भाँड्ने अभियानको विरोध फैलिंदै गयो । शरच्चन्द्र वस्ती, विद्यानाथ कोइरालाहरूका भनाइ, लेख पढ्दा अलि शान्ति मिल्थ्यो ।
अलिक पछि डा. बलदेव अधिकारीको संयोजकत्वमा आन्दोलन नै चर्किन लाग्यो । त्यसपछि अब त केही हुन्छ जस्तो लाग्यो । सर्वोच्चमा मुद्दा पर्यो । तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले आफूलाई झुक्याएर सही गराएको भन्दै सार्वजनिक रूपमै गल्ती महसूस गरे । प्रज्ञा प्रतिष्ठानका कुलपतिले पनि पुरानै स्थितिमा जाने भने । अनि २०७२ सालमा छापिएको नेपाली बृहत् शब्दकोश खारेज भएको र २०७५ सालको संस्करणसित साट्ने जस्ता कुरा आएपछि म जत्तिको खुशी को भयो होला ?
एक दिन विद्यानाथ सरले फोन गरेर मदन पुरस्कार गुठीका सञ्चालक कमलमणि दीक्षितसित भेट्न भन्नुभयो । म २०७२ वैशाख ७ गते भेट्न गएँ । त्यस बेलासम्म म निकै दह्रो मनस्थितिमा पुगिसकेको थिएँ । मेरा वर्णविन्यास सम्बन्धी लेखहरूको सँगालोलाई ‘लिपिको गुहार’ शीर्षकमा छाप्ने तरखरमा थिएँ । कमलमणिज्यूले ‘सो पुस्तक मेरो जगदम्बा प्रेसमा निःशुल्क छापेर वितरण गर्नुस्’ भन्नुभयो । म साह्रै खुशी भएँ । मैले सो सामग्री मदन पुरस्कार गुठीका कम्प्युटर अपरेटर भाइलाई सेटिङका लागि दिएँ । तर अफसोस, वैशाख १२ गतेको महाभूकम्पले ती योजना त्यसै सेलाए ।
अहिले त सर्वोच्च अदालतले मुद्दाको फैसला पनि गरिसकेको छ । तर यी घटना परिघटनाहरूलाई इतिहासका रूपमा अभिलेखीकरण गर्नुपर्छ । यसले भोलिका दिनमा यस्तै अप्ठेराहरूको निकास दिन मद्दत गर्छ ।
र अन्त्यमा, भोलि हाम्रो नेपाली भाषालाई धेरै धेरै माया गर्ने त्यस्तो व्यक्ति वा समूहले औतार लिनेछ जसले नेपाली भाषाको व्याकरणको शुद्धाशुद्धिको लागि उपयुक्त सफ्टवेयर बनाउने छ । अहिले ‘फुल’ शब्द श्रुतिसम भिन्नार्थकबाट अनेकार्थी शब्दमा अवतरण भएको छ । त्यसलाई त्यो सफ्टवेयरले कस्तो गराओस् भने रूखको हाँगामा, गमलामा, फूलबारीमा फुलको प्रसङ्ग आउँदा त्यो ‘फुल’ स्वतः ‘फूल’ मा परिवर्तन होस् र चराको गुँडमा फूल छ लेखिएको भए स्वतः ‘फुल’ बनाइदेओस् । यस्तै यस्तै । किनकि अंग्रेजीमा Auto correct option मा शब्दको हिज्जेमा भएको गल्ती र वाक्यमा भएको गल्तीलाई क्रमशः रातो र हरियो रङले अन्डरलाइन गरिदिन्छ र सुधारका लागि विकल्प समेत त्यहीं दिन्छ । के नेपाली भाषाप्रेमी व्यक्ति त्यत्तिको खुबीवाल ननिस्कलान् र !
२०८१ भदौ २ गते बुधवार, काठमाडौं
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।