“लर्ड मेकालेले सन् १८३५ मा बेलायती संसदमा भने— हिन्दू र अरेबियनका धार्मिक–सांस्कृतिक तथा अन्य ग्रन्थहरूमा ज्ञान नै छैन । त्यही बुद्धिलाई ह्यूग बी उडले २०१२ सालको शिक्षा आयोगको प्रतिवेदनमा लेखे । अब २०७३ मा अरू कसैको बुद्धिमा लागेर हाम्रो धर्म, संस्कृति, ज्ञान, ग्रन्थ, लिपिले बोकेको देव र नागरी जोड्ने वर्णविन्यासीय तागत भत्काउँदैछौं ।”
“पुर्खाको तान्त्रिक, मान्त्रिक एवं चिकित्सकीय ज्ञानले भन्छ— अ को उच्चारणले निधारको ऊर्जा प्रवाहित गर्छ । आ ले अनुहारको । इ ले दाहिने आँखाको । ई ले देब्रे आँखाको । उ ले दाहिने कानको । ऊ ले देब्रे कानको । ऋ ले दाहिने नाकको । दीर्घ ऋ ले देब्रे नाकको । लृ ले दाहिने गालाको । दीर्घ लृ ले देब्रे गालाको । ए ले माथिल्लो ओठको । ऐ ले तल्लो ओठको । ओ ले माथिल्लो दाँतको । औ ले तल्लो दाँतको । अं ले मूर्धन्य स्थानको । अः ले मुखको ।”
……………………
देव र नागरी मिलेर देवनागरी बन्यो । जन्मदै संयुक्ताक्षर । देवाक्षर स्वतन्त्र छन् । अ, इ, उ आदि । नागराक्षर संयुक्त छन् । क्+अ=क, त्+र्+अ=त्र आदि । स्वर देवाक्षर हुन् । व्यञ्जन संयुक्ताक्षर । यी सबै बोली हुन् । संस्कृतमा वाक् । देवनागरीमा वाक् चार किसिमका हुन् । परा वाक् । पश्यन्ती वाक् । मध्यमा वाक् । वैखरी वाक् । परा वाक् ले परब्रह्म जोड्छ । व्यक्तिगत ब्रह्मलाई ब्रह्माण्डीय ब्रह्ममा । भावातीत ध्यानको बोली त्यही हो । मुक्तिको बोली त्यही हो । परब्रह्मको बोली । हिन्दू पुर्खाको निरज्जन बोली । निराकार बोली अर्थात् चक्रले निकाल्ने बोली । पश्चिमा वैज्ञानिक भाषाविद् एवं डाक्टरले नबुझ्ने बोली । अर्थात् नाडी, सन्धि, मर्मस्थान हुँदै चक्रहरूले निकाल्ने बोली ।
पश्यन्ती वाक् मुटुबाट निक्लन्छ । ॐ वाक् त्यही हो । यो वाक् ले ७२ हजार नाडी एकैसाथ झंकारित गर्छ । दैहिक हिसाबले भन्दा सुषुप्तिमा पनि ऊर्जा दिइरहने बोली । झंकारित भइरहने बोली मध्यमा वाक् मन्त्रको बोली हो । बीज मन्त्र केन्द्रमा राख्ने । अरू मन्त्र जोड्न मिल्ने । गोरखनाथ सम्प्रदायका मन्त्रहरू त्यसैगरी जोडिन्छन् । दुर्गा सप्तशतीका बीज मन्त्र पनि त्यही हो । ऐं, ह्रीं, क्रीं । वैखरी वाक् लौकिक हो । लोकले बोल्ने । बाह्रखरी त्यही हो । वर्णाक्षर । वर्णमाला । लिपि ।
प्रश्न यहीं हो । वैखरी चलाउँदा मध्यमा वाक् बिथोलिन्छ । पश्यन्ती वाक् अल्मलिन्छ । परा वाक् गडबडिन्छ । त्यही नबिग्रियोस् भनेर पुर्खाहरूले शिक्षा (व्याकरण) बनाए । पाणिनिको व्याकरण त्यही हो । अर्थात् परा वाक्, पश्यन्ती वाक्, मध्यमा वाक् र वैखरीबीच सहसम्बन्ध स्थापना गर्ने व्याकरण । वैखरी चलाउनेहरूले के बुझ्यौं होला ? यी चार वाक् हरूबीचको सम्बन्ध हेर्नुपर्ने हो कि हैन ? खोज्नुपर्ने थियो कि थिएन ? अहिले झैं तोड्नुपर्ने हो कि हैन ? जोडेमा व्यक्तिगत ब्रह्म र देवब्रह्म जोडिन्छ । तोडे देव र नागरी छुट्टिन्छ । लडाइँ यहीं हो, देव र नागरी छुट्याउने कि जोड्ने ? संयुक्ताक्षर तोड्ने कि जोड्ने ? त्यही नियम बोक्ने हो भने क लेख्न क्+अ गर्ने कि नगर्ने ? सधैं अन्तरसम्बन्धित हुने र हुनुपर्ने देवनागरीका परा, पश्यन्ती, मध्यमा र वैखरीलाई छुट्याउने कि अन्तरसम्बन्धित बनाउने ?
शिक्षा मन्त्रालयको अहिलेको स्कूली पाठ्यपुस्तकले छुट्यायो । त्यो अपराधले हाम्रा वाक् हरू छुट्टिने भए । देव र नागरीको सम्बन्ध टुट्ने भयो । संस्कृति भत्किने भयो । धर्म बिथोलिने भयो । छोराछोरीको दैवी नाम राखे मर्ने बेलामा भने पनि मुक्त भइन्छ भन्ने चिन्तनमा कुठाराघात हुने भयो । संगीतको नाद र रियाज बिग्रिने भयो । गर्ने के हो ? अर्थात् जान–अनजानमा पनि वैखरी, मध्यमा, पश्यन्ती र पराको सम्बन्ध सुनिश्चित गर्ने हाम्रा बुद्धिहरू भत्किने भए । वैखरी चलाउनेहरूले सोच्ने कि ? अपराध स्वीकार्ने कि ? संस्कृतका महाकवि भारविले जस्तो स्वयं दण्डित हुने कि ? सोचौं ।
वैखरीले जोड्ने नाडी ऊर्जा क्षेत्र
पुर्खाको तान्त्रिक, मान्त्रिक एवं चिकित्सकीय ज्ञानले भन्यो— अ को उच्चारणले निधारको ऊर्जा प्रवाहित गर्छ । आ ले अनुहारको । इ ले दाहिने आँखाको । ई ले देब्रे आँखाको । उ ले दाहिने कानको । ऊ ले देब्रे कानको । ऋ ले दाहिने नाकको । दीर्घ ऋ ले देब्रे नाकको । लृ ले दाहिने गालाको । दीर्घ लृ ले देब्रे गालाको । ए ले माथिल्लो ओठको । ऐ ले तल्लो ओठको । ओ ले माथिल्लो दाँतको । औ ले तल्लो दाँतको । अं ले मूर्धन्य स्थानको । अः ले मुखको ।
देवनागरीको मर्म बुझेका पुर्खाले भने— स्वर अक्षरले झैं व्यञ्जन अक्षरले पनि शरीरमा ऊर्जा प्रवाह गर्ने स्थानहरू छन् । क को उच्चारणले दाहिनेतर्फको काँध र पाखुरा जोडिएको ठाउँमा ऊर्जा प्रवाह गर्छ । ख ले दाहिने कुहिनुमा । ग ले दाहिने काँधमा । घ ले दाहिने हातका औंलाको फेदमा । ङ ले दाहिने हात र औंलाका टुप्पाहरूमा । च ले देब्रे काँधको जोर्नीमा । छ ले देब्रे कुहिनुमा । ज ले देब्रे नाडीमा । झ ले देब्रे हातको औंलाका फेदमा । ञ ले देब्रे हातको औंलाका टुप्पामा । ट ले दाहिने नितम्ब (हिप) को जोर्नीमा । ठ ले दाहिने घुँडामा । ड ले दाहिने गोलीगाँठामा । ढ ले दाहिने खुट्टाको औंलाको फेदमा । ण ले दाहिने खुट्टाकै औंलाको टुप्पामा । त ले देब्रे नितम्बको जोर्नीमा । थ ले देब्रे घुँडामा । द ले देब्रे गोलीगाँठोमा । ध ले देब्रे खुट्टाको औंलाको फेदमा । न ले देब्रे खुट्टाकै औंलाको टुप्पामा । प ले ढाड र छातीको दाहिने पातोमा । फ ले ढाड र छातीको देब्रे पातोमा । ब ले पिठ्यूँमा । भ ले नाभिमा । म ले पेटमा । य ले मुटुमा । र ले दाहिने काँधको माथिल्लो भागमा । ल ले गर्धनभन्दा तलका काँधका पाताहरूमा । व ले देब्रे काँधको माथिल्लो भागमा । श ले मुटुदेखि दाहिने हातसम्मको क्षेत्रमा । ष ले मुटुदेखि देब्रे हातसम्मको क्षेत्रमा । स ले मुटुदेखि दाहिने खुट्टाको बुढीऔंलासम्मको भागमा । ह ले मुटुदेखि खुट्टाको बुढीऔंलासम्ममा । क्ष ले मुटुदेखि पेटसम्ममा । त्र र ज्ञ को भने ऊर्जा क्षेत्र तोकिएको छैन ।
यस्तो स्थितिका अक्षर फेर्दा के होला ? नेपाली जिब्रोले उच्चारण गर्दैन भनेर अक्षर हटाउँदा के होला ? शरीरमा ऊर्जाको हालत के होला ? वर्णविन्यास चलाउने विज्ञको बुद्धिमा केले घात गर्यो होला ? संयुक्ताक्षर फोर्ने दुस्साहस गर्दा के हुन्छ होला ? के द्+य ले ‘द्य’को आवाज दिन्छ र ? त्यो ‘द् य’ हैन र ? सन्धि भएर अलि भिन्न आवाज भएको हैन र ? ध्वनि विज्ञानको सिद्धान्त त्यसै भन्छ, हैन र ?
नेपालीको जिब्रोले तीनवटै श बोल्दैन भन्न हुने हो र ? लृ, ऋ हटाएर ‘लिरी’ र ‘रिसी’ (ऋषि) लेख्नुपर्ने हो र ? अंग्रेजीमा पीएसएएलएम लाई ‘पसालम’ नभनेर किन ‘साम’ भने होला ? ‘साम’ को हिज्जे एसएएएम लेखौं भने र ? लेखेका छन् र ? उनीहरूलाई किन पीएसएएलएम नै पढाउनुपर्ने होला ? प्रश्न यहीं हो, विज्ञ भनिनेले जिब्रो बनाउने उपाय सुझाउने कि वर्णविन्यास भत्काउने ? अंग्रेजले त जिब्रो बटार्न सिकायो । हिज्जे बिगारेन । वर्णविन्यास भत्काएन । त्यसैले जोन हल्ट जस्ताले हिज्जेमा चिन्ता नगर भनिदिए । हाम्रा विद् र निर्णयकर्ताहरू चाहिं भत्काउने आपराधिक काममा लाग्यौं ।
यहीं कुरा आउँछ, वर्णविन्यास चलाउनेहरूले यी कुरा बुझेको भए हुने थिएन र ? देवनागरी अक्षर र ऊर्जाको सहसम्बन्ध पनि नबुझ्ने अनि सामको हिज्जे पनि थाहा नपाउने विज्ञलाई वर्णविज्ञान चलाउने अधिकार हुन्छ र ? चारवटै वाक् हरूलाई तोड्ने अधिकार हुन्छ र ? अनधिकार सांस्कृतिक सम्बन्ध बिगार्ने हक छ र ? धर्मशास्त्रका ज्ञानहरूलाई तोड्ने हक छ र ? बरु हिज्जे सुधार्ने किताब लेखेर पैसा कमाएको भए हुँदैनथ्यो र ?
धर्म संस्कृतिसंगको वैखरी सम्बन्ध
अकुप्रेसरका छुने विन्दुहरू धेरैले जानेका छौं । अकुपञ्चरका पनि त्यस्तै विन्दु छन् । यिनमा दीक्षित चिकित्सक र अभ्यस्त जनताले यसको मर्म बुझेका छौं । टाउको दुख्ता कहाँ थिच्ने, कहाँ घोप्ने ? घुँडा दुख्ता कहाँ थिच्ने, कहाँ घोप्ने ? यी कुराका ज्ञान तिनै स्वर र व्यञ्जनका ऊर्जा क्षेत्रसँग जोडिन्छन् । वैखरी बदल्दा के होला त ? सोच्ने कि ? ज्ञानमुद्रा, शून्यमुद्रा, पृथ्वीमुद्रा, सूर्यमुद्रा, इन्द्रमुद्रा, वरुणमुद्रा जस्ता मुद्रा चिकित्साका बुद्धिका स्रोत पनि स्वर र व्यञ्जनले चिनाएकै ऊर्जा क्षेत्र हुन् । शरीरमा पृथ्वीतत्व घटाउन के गर्ने ? जलतत्व घटाउन के गर्ने ? तेजतत्व घटाउन के गर्ने ? वायुतत्वको कमी गर्न के गर्ने ? आकाशतत्वलाई सन्तुलनमा ल्याउन के गर्ने ? जस्ता मुद्रा चिकित्सकीय बुद्धिका स्रोत पनि स्वर र व्यञ्जन वर्णले औंल्याएकै विन्दुहरू हुन् ।
चार वाक् तोड्दा यी चिकित्सकीय ज्ञान के होलान् ? एलोप्याथी डाक्टरले नबुझ्लान् । रोमन लिपिवालाले नजान्लान् । तर नेपाली प्रशासक, राजनीतिज्ञ र भाषाविद्ले त जान्नुपर्थ्यो होला नि ? ‘विद्यालय लेख्नु गल्ती हो, विद् यालय लेख’ भन्ने जस्ता आदेश सहितका कथित नयाँ वर्णविन्यास लागू गर्न निर्देशन जारी गर्ने हिम्मत भएका मतियारा कर्मचारीले बुझ्नुपर्थ्यो होला नि ?
दुर्गा सप्तशतीमा पाठ सकेपछि उत्तरन्यास गर्ने प्रावधान छ । त्यसले भन्छ— हृदयमा छुँदा ह्रीं भन । शिरमा छुँदा चं । आँखामा छुँदा यैं । यस्ता थुप्रै स्पर्श विन्दुहरू छन् । गायत्री मन्त्र जप्नेहरूले पनि त्यस्तै स्पर्श विन्दु पहिल्याउँछन् । स्पर्श थेरापी त्यही बुद्धिमा बनेको हुन्छ । वैखरी चलाउनेले यति त बुझ्नैपर्ने थियो कि ? यसरी चलाउँदा अकुपञ्चर बिथोलिन्छ । अकुप्रेसर अलमलिन्छ । मुद्रा चिकित्सा लुप्त हुन्छ । स्पर्श थेरापी बिग्रन्छ । अथवा ती छुट्टाछुट्टै हुन्छन् । भाइबहिनीहरू फुटे झैं । वैखरीको सहसम्बन्ध टुट्छ । रं नहुँदा ‘रक्तदन्तिका’ टुटे जस्तो ।
गर्ने के ?
नहुनु थियो, व्याकरणीय अपराध भयो । स्वीकारौं । स्कूले बालबालिकाको एक हूलले आपराधिक वर्णविन्यास पढ्यौं । अह्रौटे बने, बनाइएका शिक्षकले त्यसै गर्यौं । परिवर्तित वर्णविन्यासको पाठ्यपुस्तक छपाइमा लाखौं खर्च भयो । अब सच्याउने सूची (एराटा) छपाएर विद्यार्थी र शिक्षकमाथिको अपराध रोकौं । नयाँ वर्णविन्यासको छपाइ रोकौं । देवनागरी प्रयोगकर्ता, संस्कृतिविद्, धर्मविद्, संस्कृतज्ञ, संगीतविद्, लिपिविद् आदिको बृहत् गोष्ठी गरौं । त्यसैका आधारमा बाटो पहिल्याऔं । प्रयोगकर्ताको सहकार्यमा निर्णयमा पुगौं ।
सोचौं, लर्ड मेकालेले सन् १८३५ मा बेलायती संसदमा भने— हिन्दू र अरेबियनका धार्मिक–सांस्कृतिक तथा अन्य ग्रन्थहरूमा ज्ञान नै छैन । त्यही बुद्धिलाई ह्यूग बी उडले २०१२ सालको शिक्षा आयोगको प्रतिवेदनमा लेखे । अब २०७३ मा अरू कसैको बुद्धिमा लागेर हाम्रो धर्म, संस्कृति, ज्ञान, ग्रन्थ, लिपिले बोकेको देव र नागरी जोड्ने वर्णविन्यासीय तागत भत्काउँदैछौं । अहिलेको परिवर्तित वर्णविन्यासलाई त्यही निरन्तरतामा हेरौं । अनि देव र नागरी जोड्ने चारै वाक्हरूको अन्तरसम्बन्ध बुझौं । हल्लिएर कखरा पढ्दा पनि जप हुने । ओठ चलाएर आवाज ननिकाली पढ्दा पनि जप हुने । मनमनै सम्झिए पनि मानसिक जप हुने । वैखरीका यी मन्त्रमयी अक्षरहरूलाई जथाभावी नचलाऔं । ऊर्जाले शरीर चल्छ, ऊर्जा ब्रह्ममय छ । ऊर्जा चलाउन सकिन्छ । ऊर्जा चलाउने अक्षर मन्त्र हुन् भन्ने हाम्रा अनुभवसिद्ध ग्रन्थहरूको सम्मान गरौं । वैयाकरणीय अपराध सच्याउने कि बाँदरलाई लिस्नु दिने, आगे निर्णयकर्ताहरूको मर्जी । प्रयोगकर्ताहरू आन्दोलित छौं ।
साभार : कान्तिपुर, १ असोज २०७३
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।