वर्णविन्यासबारे विद्वान्‌हरूको ‘जुँगाको लडाइँ’ दुनियाँका मल्लयोद्धाको भिडन्तभन्दा निदानसेख कम छ । कस्तो लाग्छ भने नेपाली भाषा भनेकै उहाँहरूको तोकआदेशको वर्णविन्यास हो र स्वनामधन्य विभक्त विद्वान्‌हरू श, ष, स वा व र ब, इकार र उकारका झगडाले मात्रै नेपाली भाषा बाँचेको छ । आफूले भनेजस्तो गरी अरूले लेख्दैनन् भने तिनले पञ्चखत गरेको हो र तिनलाई यमराजले तङेजसरी ताजन दिनुपर्छ भन्ने तिनलाई लागेको हुनुपर्छ । नेपाली विद्वान्‌हरूका यी पौंठेजोरी स्मृतिपट्टल नबल्झिऊन् भन्छु तर बल्झेका बल्झ्यै गर्छन् । मलाई कुनै दोखै पो लाग्या छ कि यसैले बेलाबेला झल्याँस्सझल्याँस्स भाउन्न हुन्छु म अचेल ।

‍‍‍‍‍…………………

जीवन्त नेपालीको वर्तमान धरातल

बोलचाल वा कथ्यमा नेपाली वक्ता-श्रोतालाई खासै समस्या छैन । बजारमा (विशेषतः शिक्षा प्रणाली र सञ्चारमाध्यममार्फत) जेजस्ता शब्दभण्डार र व्याकरण सञ्चार गरिन्छन् त्यही टिपेर भाषिक कार्यव्यापर गर्न ती विवश छन् । भाषा प्राकृतिक-सामाजिक वस्तु भएकाले भाषा-वातावरणद्वारा प्रभावित भएर वाचिक व्यवहार चलाउनु तिनको स्वाभाविक बाध्यता हो । अनपढ निरक्षर भनिएकालाई आफ्ना कुरा नेपालीमा गर्नमा कुनै कठिनाइ पनि छैन । सम्पर्क भाषाका रूपमा प्रयोग गर्नेहरू (जसको मातृभाषा नेपालकै अर्को राष्ट्रभाषा छ) लाई पनि नेपाली भाषा प्रयोग गर्नमा उति कठिनाइ छैन जति पढालेखा छोराछोरी भएका अपठित अभिभावकलाई छ ।

मुलुकको प्रारम्भिक शिक्षा प्रणाली तहदेखिको औपचारिक शिक्षाको प्रमुख माध्यम भाषा अंग्रेजी नै छ । पुरानो शिक्षा भनौं नयाँ शिक्षा – अंग्रेजी भाषालाई ज्ञानगुनको त्यस्तो मुहान ठानिंदै आएको छ जो जानेपछि पढुवाहरूका दिमागमा चाहिनुपर्ने जति सबै दिव्यज्ञान भित्रिइहाल्छ ।

घरपरिवारमा नेपाली वा अन्य नेपाली राष्ट्रभाषामा बोल्ने चिचिलाहरूलाई जब औपचारिक शिक्षाका लागि बोडिङ स्कूल छिराएपछि नेपालीमा बोल्न निषेध मात्र होइन दण्डित समेत गरिन्छ । मातृभाषामा भाषा सिक्दै गरेका ती चिचिलाहरूलाई अंग्रेजी भाषाको पोखरीमा लगेर झ्वाम्म डुबाइन्छ र अलल्याउनुसम्म अलल्याइन्छ- अनि पढाइ हुन्छ त्यहाँ ‘चाइल्ड राइट्स’को । २६ वर्णको रोमन लिपिमा सबै हिसाबले सुशिक्षित र सुदीक्षित बनाउने अंग्रेजी माध्यमको नेपालको शिक्षा प्रणालीमा ईंटाभट्टामा काँचो माटो पकाए झैँ पाक्छन् हाम्रा भुरा र निस्कन्छन् अब्बल पक्की ईंटा जो युरोप, अमेरिका र अस्ट्रेलियाको राष्ट्रनिर्माणका लागि देशले निर्यात गर्छ ।

अनि, हाम्रा भाषाविद् र भाषा वैज्ञानिकहरू तातिएर निदान गर्नुहुन्छ: बालबालिकालाई पढ्न-पढाउनलाई लेख्य नेपाली भाषाका लागि वर्णहरू जटिल भए, लौ हटाइदिइहालौं नेपालीमा उच्चारण नहुने ञ, ण श, ष जस्ता एकल वर्ण वा ई, ऊ, ऐ, औ, अ:, ऋ, क्ष, त्र, ज्ञ, द्म, द्य, द्व, प्य जस्ता संयुक्त वर्ण । त साह्रै कठिन ढाँचाको छ ।अझ नेपालीमा दीर्घ भन्ने ध्वनि उच्चारण नै हुँदैन, त्यसैले अंग्रेजीको जस्तो वर्णलाई ‘भवेल’ (खासमा अंग्रेजीमा यहाँ लेखिएजस्तो भ उच्चरित हुँदैन) कन्सोन्यान्ट मात्र चलाऔं र मिलाउनै परे दिप्थङसम्म प्रयोग गरौं ।

हेमाङ्गराज अधिकारी, गणेशप्रसाद भट्टराई आदिले जुक्‌ति निकाल्नुभो – हाम्रा सनातन लेखिँदै/बोलिँदै आएका संयुक्त वर्ण/अक्षरका आदि वर्णहरूका खुट्टा ठन्यायकठुनुकै पारेर लेख्‌न भुराहरूलाई सिकाउने । अनि त हाम्रा अच्छेरका गोडा कसरी काटिन थाले भने सायद हलन्तवहिष्कारका बेला लेखनाथ पौड्यालले पनि बर्‌खाका भारले गर्‌दा पर्‌खाल बढेबढे त्यसरी ढलेको नदेखेका हुनन् । 

‍‍‍‍‍…………………

भाषाप्राधिकार को ?

पाठ्यक्रम (पाठ्-यक्-रम) विकास केन्द्र (केन्-द्-र), प्रज्ञा र त्रिविले बनाएका खोरण्डा वर्णलेखनका नियमलाई केही वकिल, पत्रकार र भाषाकर्मीले हाँक दिएर सर्वोच्च अदालत गुहारे । अदालतले आफू भाषा-व्याकरणका नियमका प्रतिमान तोक्ने निकाय नभएको जनायो ।संविधानमा भाषाबारेका प्रावधान अर्थ्याउँदै अदालतले संविधानत: रहेको भाषा आयोगका सिफारिसविनाको प्रज्ञा र त्रिविसमेतको मतियारीमा पाविकेले उठान गरी शिक्षासचिवले पेसेर मन्त्रीले सदर गरेको अक्षरका गोडा काटेर लेख्ने र नेपालीमा लेखिँदै देउनागरी लिपिका द्य, द्म, क्त, द्व, त्तलाई निषेध गर्ने सरकारी निर्णयलाई अमान्य ठहर्‍याइदियो ।

अदालतले सरकारी (मन्त्री तहको) निर्णयलाई शून्यीकृत गरिदिएपछि वर्णविन्यासको वैकल्पिक प्रतिमानका प्राधिकारी विद्वान्‌हरू फेरि जर्‍याकजुरुक उठे र भन्न थाले अब वर्णविन्यासको नियम नेकशुले १९९१ अनुसार हो । सामाजिक सञ्चारका माध्यममार्फत यो सन्देश कसरी प्रवाह भएको छ भने अब हामीले नेपाली लेख्दा हिजो लेखनाथ, लक्ष्मीप्रसाद र बालकृष्णहरूले जसरी लेखे त्यसरी नै लेख्ने हो । समले ‘काठमाण्डू’ र ‘काठमाडौँ’ दुईलाई मानक बनाइदिएका थिए यता त अब काठमाण्डु र काठमाण्डौ लेख्ने हो भन्न थाले । हिजो सहिद लेख्न थालेकाले शहीद लेख्नुपर्ने भो हिजो निसाफ लेख्नेले अब इन्साफ लेख्नुपर्ने भो, हिजो सर्जिमिन लेख्नेले अब सर्जमिन लेख्नुपर्ने भो, हिजो फसेला/फैसला लेख्नेहरूले अब फैश्ल लेख्नुपर्ने भो, हिजो मुद्दा लेख्नेहरूले अब मुकद्‌मा लेख्नुपर्ने भो, हिजो इस्कुल/स्कुल लेख्नेहरूले अब श्कूल लेख्नुपर्ने भो ।

अदालतले सरकारी वर्णलेखनको नियम त खारेज गर्‍यो तर अर्को कुन नियमअनुसार भाषाकर्मीले चल्नुपर्ने भनेर केही भनेन । रिटमा निर्णय बदर गरिपाऊँ भन्ने माग थियो – अदालतले निवेदकको माग पूरा गरिदियो । हुनुपर्ने के? यसबारेमा सङ्क्षिप्तादेशमा केही भनिएको छैन । मजस्ता निमुखा भाषाकर्मीका लागि बडो सङ्कट छ – अब मैले लेख्ने आधिकारिक वर्णविन्यासको नियम के? कस्तो लेख्ने भनेर मैले सोध्ने ठाउँ कुन? नेपाली भाषाको लेख्य रूपको प्रतिमान कुनकुन र त्यसलाई आधिकारिक हो भन्ने प्राधिकार को ?

‍‍‍‍‍…………………

भाषा बिगार्ने को ?

एक थरी पत्रकारले भाषा बिगारेको भन्छन्; अर्का थरी आफूलाई भाषाविद् वा भाषा प्राधिकारीले । तेस्रा थरीको आरोप सामुदायिक विद्यालयदेखि नै नेपाली पढाउने मास्टरले नै भाषा बिगारे भन्ने छ ।अरूको आरोप छ – भाषा त सरकारी कर्मचारी र वकिलहरूले बिगारेका हुन् । अर्का एक खाले मानिसचाहिँ भन्छन्: नेपाली भाषा संस्कृत वा हिन्दीजस्तो नभएर बिग्रेको हो, संस्कृत र हिन्दीका नियमअनुसार लेखाए-पढाएको भए कति राम्रो हुन्थ्यो ! अर्काना थरीचाहिँ सबै नेपालीले अंग्रेजी अङाले हाम्रो उन्नति भैहाल्थ्यो भन्ठान्छन् ।

बरु राजनीति गर्नेले देश बनाउन नसकेका हुन् बिगारेकै चाहिँ भन्न मिल्दैन तर नेपाली भाषा बिगार्नेचाहिँ नेपाली भाषाका ज्ञाता, मर्मज्ञ, वर्णविद्, ध्वनिविद् र शब्दविद् हुँ र म नै यसको प्राधिकार हुँ भन्नेहरूबाट बिग्रेको हो भन्नै पर्छ । निरक्षर-अनपढले भाषाको लेख्य रूप न बिगार्छ र न सपार्छ । निर्धा नेपालीले त स्वाभाविक (प्राकृत) रूपमा नेपाली भाषा प्रयोग गर्ने हुन् यसमार्फत् विचार र सूचना सञ्चार गर्ने हुन् । भाषाका बिगारसिङहरू चाहिँ पढेलेखेको भन्नेहरू हुन् । उनीहरू अंग्रेजी भाषाका वर्ण, शब्द र पदावली घोकीघोकी याद गर्छन् र साइकोलोजी/सिउडोपोडिया जस्ता शब्दमा उच्चारण नगरिँदो पी वर्ण अगाडि लेखेरै खिप्ती मिलाउँछन् । यता नेपालीमा चाहिँ पद्म, विद्याजस्ता संयुक्त अक्षर भएका शब्द लेख्नुपर्दा तिनलाई किन ज्वरो आउँछ र थुइक्क नेपाली भनेर तिनका दाह्रा किट्छन् ?

निर्धक्क भन्न सकिन्छ : नेपाली भाषा बिगार्ने नेपालीमध्येका शासकहरू हुन् जो कोही राजनीति, कोही सार्वजनिक, कोही सामाजिक र कोही आफ्नो कथित विद्वतीय शासकीय हैसियतका आधारमा बाँकी नेपालीमाथि रजाइँ र कजाइँ गर्न खप्पिस छन् ।

‍‍‍‍‍…………………

बचाउने आशाले नै हो

आफूलाई भाषाविद् वा खाँटी भाषाकर्मी भन्नेहरूले आफूलाई दुई धारमा बाँडेर वर्णयुद्धमा मात्र नलागी साँच्चै नेपाली भाषाको आफूलाई सन्तति ठानेर यसको सेवा गरेको भए हाम्रो आज यो हबिगत नहुँदो हो । जे हुनु थ्यो त्यो भयो विगतलाई उल्टा पार्ने हुती मानिससँग छैन । यसैले अब यी वर्णयोद्धा विद्वान्‌को बुद्धि फिर्नुपर्छ; बुद्धिको बिर्को बन्द भएकाहरूको बिर्को उघ्रिनुपर्छ । नेपाली भाषाको सम्बन्ध नेपालका पौने तीन करोड नेपालीसँग छ र त्योभन्दा बढी अरू मुलुकका नागरिक भएका नेपाली भाषीसँग पनि छ । कुनै पनि भाषाका मौलिक वक्ताले आफूखुसी बोल्छन् र जेजसरी बोल्छन् त्यसलाई शुद्ध रूपमै बोलेको मान्नुपर्छ । कथ्य भाषाको यो वैश्विक नियमका खिलाफमा कसैले कुरा गर्छ भने त्यो पढेको अपठित हो र विद्वान् मूर्ख हो ।

लेख्य रूपमा वर्ण तहमा मात्र होइन ध्वनिदेखि सङ्कथन तहसम्मै व्याकरणिक र वर्णवैन्यासिक आधिकारिक प्रतिमान राज्यले घोषित गर्नै पर्छ । यसका लागि अदालतले पनि स्वीकार गरेको भाषा आयोग एउटा आशाको त्यान्द्रो बाँकी छ । भाषा आयोगले विद्यमान दुई धारमा विभक्त अगुवा भाषाविद् वा भाषाकर्मीहरूलाई एउटै थलोमा ल्याएर समाधान निकाल्ला ? विषयमा भन्दा कुन पक्षका जुँगा लामा छन् त्यसैको आड लिएर अगि बढ्न खोज्यो भने आयोगले पनि पाएको यो अपूर्व मौका त्यसै गुमाउनेछ । विवाद त शलाई मानक (शहीद) स्थान दिएर सलाई उपमानक बनाउने कि सलाई मानक (सहिद) स्थान दिएर शलाई वैकल्पिक मानक मान्ने हो भन्नेमा रहेकाले आयोगले चाहेमा सहमति (जित-जीत) को अवस्था सिर्जना सक्ला नि! कि आयोगका पदाधिकारी पनि ‘निसाफउपर इन्साफ : ‘सहिद’ नै ‘शहीद’ भयो, खुच्चिङ !’ भन्दै काखी बजाउँदै आनन्द मानिराख्नुहोला ??