पछिल्लो दुई हप्ता केही सार्थक कार्यक्रमहरूमा सक्रियतापूर्वक सहभागी हुने अवसर मिल्यो । यसरी सहभागी हुँदा साहित्य, शिक्षा र संस्कृतिसँग मात्र होइन भूगोल, स्थानीय क्रियाशीलता र उद्देश्य पनि फरकजस्तो देखिन्थ्यो तर मूलमा एकै थियो– अक्षरमा पोखिएर अक्षर उपासना ।

साहित्य, शिक्षा र संस्कृति कि समय, सपना र जिन्दगी ? कुरो एउटै हो तर यी अन्तर सम्बन्धित पनि छन् र फरक पनि छन् । गैँडाकोटमा पठन संस्कृति अभियान, चरिकोटमा विद्यार्थीहरूसँगको अन्तरक्रिया र सल्यानकोटको फेदी खहरेमा शिक्षक, विद्यार्थी र समाजको त्रिकोणात्मक छलफल । सबैतिर शिक्षाको चिन्ता, लेखनको सकस र पठनप्रतिको अभिलाषा तर पढ्नेले पनि पढ्ने के ? लेख्नेले पनि लेख्ने के ? एकै प्रश्नको उत्तर पनि परिवेश र परिस्थिति अनुरूप फरक फरक हुनेरहेछ ।

गैँडाकोटमा भेटिएका प्रबुद्ध पाठक, चरिकोटमा कुराकानी गरिएका विद्यालयका भाइबहिनीहरू र सल्यानकोटको फेदी खहरेमा छलफलमा सहभागी शिक्षक, विद्यार्थी र अभिभावकको रोजाइ र बुझाइ फरक थिए । आवश्यकता र बोधको औचित्य पनि फरकजस्ता लाग्थे । लेख्न त समाजकै अनुहार लेख्ने हो साहित्यमा तर लेखनको नाममा समाजको सुरूप-कुरूप अनुहार मात्रै लेखेर बस्ने कि साहित्यले कुरूप अनुहार बदल्ने सूत्र पनि दिने हो ? प्रश्न यस्तो पनि छ ।

यी ३ कोटका अतिरिक्त केही प्रसङ्ग नीलकण्ठ क्याम्पसको पनि उठाऔँ ।

‍‍‍* * * *

गैँडाकोट :

उखरमाउलो गर्मी हुनहुनाइरहेको बेला त्यही गर्मीजस्तै पुस्तक प्रेमको हुटहुटी बोकेर भरतपुर एयरपोर्ट आइपुगे त्रिलोचन सापकोटा । आधा फुलेको दाह्री-कपाल र अग्लो शरीरमा अग्लै चिन्तनको आत्मा बोकेर हिँडिरहेजस्ता उनी । पठन संस्कृति विकासका लागि केही गरौँ भन्ने सोच बोकेर हिँडेका उनी लामै समय विदेश बसेर अब देशमै केही गरौँ भन्ने सोचसहित नेपाल फर्केका हुन् । भरतपुरबाट विजय विकास स्रोत केन्द्र गैँडाकोट पुग्दा सापकोटाजीले बाटैले पठन संस्कृति अभियानको खाका यसरी सुनाइरहेका थिए :

१. २० जनाको एउटा पठन समूह बनाउने र समूहका प्रत्येक व्यक्तिलाई एक एक पुस्तक निःशुल्क उपलब्ध गराउने,

२. हरेक महिनाको अन्तिम शनिवार सार्वजनिक कार्यक्रम आयोजना गर्ने र कार्यक्रमको दिन ती बीसै जना आआफूले पाएको पुस्तक पढेर महत्त्वपूर्ण विषयको टिपोट र सके आलोचना, समालोचनासहित आउने,

३. कार्यक्रमका दिन प्रत्येकलाई १०, १० मिनेट बोल्न दिने, बोलेको कुरा विजय एफ.एम.बाट लाइभ गर्ने र समालोचना राम्रो भएका खण्डमा विजय खबर पत्रिकामा प्रकाशित गर्ने,

४. कार्यक्रम सकिएपछि पढेको किताब फिर्ता गर्ने र अर्को समूहलाई दिने,

५. पुरानो समूहले नयाँ पुस्तक लिएर फेरि नयाँ प्रक्रियामा सामेल हुन पनि पाउने,

६. इच्छुकको सङ्ख्या २० जनाभन्दा बढी भएमा नयाँ समूह बनाउँदै जाने,

७. विजय एफ.एम.को माउ संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले यसको संयोजन गर्ने ।

पठन संस्कृति अभियानका लागि लेखराम सापकोटाको सम्पूर्ण किताबमा त्रिलोचनजी २० वटा किताब छान्दै थिए र भन्दै थिए– सकेसम्म सबै विधाका पुस्तक परुन् । उनी एकएक पुस्तक छान्दै र पल्टाउँदै थिए । त्यो दृश्य मेरा लागि रोमाञ्चक थियो । कस्ता पुस्तक कसरी र केका आधारमा छान्दा रहेछन् त पाठकहरू ? लेखरामजी प्रत्येक पुस्तकको सार एकेक हरफमा सुनाउँदै थिए । यो पुस्तक यसकारण यस्तो छ, भन्दै थिए । त्रिलोचनजी भन्दै थिए – पाठकलाई विचार, दर्शन र उत्प्रेरणा भएको किताब चाहिन्छ ।

लेखराम र त्रिलोचन, यी दुई सापकोटाको करिब एक घण्टाको वैचारिक मन्थनपछि २० पुस्तक छानिए । कुन कुन छानिए मैले सूची हेरिनँ । भोलिपल्ट ती पुस्तक छोपिएका रातो कपडा हटाएर पठन संस्कृति अभियान शुरु गर्दा २० वटै पुस्तक छातीमै टासूँ जस्तो लागेको थियो । पुस्तकको सुवास आहा क्या मीठो ! मैले एकै पटक यसरी २० पुस्तकको घुम्टी खोलेको यो पहिलो पटक । कति सुखद ।
कार्यक्रमको शुरुवात त्रिलोचनजी आफैँले गरे । उनले भने – दाजै, मलाई फूल बेचूँ कि पुस्तक पसल खोलूँजस्तो लाग्छ कहिलेकाहीँ त । दुवैको सुवास मीठो, सौन्दर्य मीठो ।

त्यहाँ मन्तव्यभन्दा पनि पठन विषयक समीक्षा थियो । अध्येता वद्री सापकोटाको अनुभवमा किताबहरूको भीडबाट किताब छान्न कठिन छ । चर्चाका कारण किनिएका तर मन नपरेका भनेर उनले धेरै पुस्तकको सूची पेश गरे । इतिहाससँग सम्बन्धित, पौराणिक तर वर्तमानसँग छोइएको पुस्तकको खोजी गर्दै थिए उनी ।

गोपाल भण्डारीको आग्रह थियो – पठन संस्कृति बालबालिकाबाट शुरु गरौँ । अक्षर कम र चित्र ज्यादा भएका पुस्तकले केटाकेटीको कल्पनाशीलता बढ्छ, उनको तर्क थियो ।

डा. मतिप्रसाद ढकालको अनुभवमा किताब पढ्नु, पढ्नु मात्रै होइन । लेखक, पाठक र प्रकाशक एकै मञ्चमा उभिनुपर्ने उपप्राध्यापकसमेत रहेका ढकालको तर्क थियो । उनको व्यङ्ग्य पनि थियो – आजको विद्वान् चिया पसलमा दिनभरि विश्वकै गफ दिन सक्छ तर आफैँले एक पेज लेख्न सक्तैन । टिप्पणी गर्न जति सजिलो लेख्न छैन, उनले भने ।

प्रसिद्ध टेलिभिजनकर्मी र धेरै साहित्यिक महोत्सवहरूको संयोजन गरिसकेका दिलभूषण पाठकको अनुभवमा आज सूचना र ‘एक्सेस’ अत्यधिक भयो । आज जति ‘कन्टेन्ट’ छ, त्यति नै ‘न्वाइज’ पनि छ । ‘फिल्टर’ जरुरी छ । काठमाडौँबाट सँगै गैँडाकोट झर्दा हामी यही विषयमा संवाद गर्दै थियौँ । उनले केही पुस्तकका अनुभव सुनाए र भने, सबै पुस्तक एकै प्रकारका हुँदैनन् । ‘न्वाइज’बाट समाजलाई जोगाउनु र जोगिनु जरुरी छ । ‘फिल्टर’ गर्नुपर्छ । ‘फिल्टर’ गर्ने कसरी ? सायद यही पठन संस्कृति यसका लागि सहायक हुनसक्छ ।

उदय अधिकारी प्रश्नहरूको खोजी गरिहरेका थिए । तर्कशीलता, विचार र विषयको गम्भीरता नभएका तर पहुँच वा प्रभावका कारण हल्ला पिटिएका सन्दर्भमाथि पाठकीय प्रश्न उनको अपेक्षा थियो । आफैँ पनि लेखक र गहिरो अध्येता अधिकारीको अनुभवमा आफूले लेखेको कुरामा लेखक आफैँ प्रस्ट छ, छैन ? त्यो महत्त्वपूर्ण कुरा हो । उनको बौद्धिक संकेत अर्कालाई लेखाएर लेखक कहलिनेतिर थियो ।

सरस्वती तिमल्सिनाले लेखन, पुस्तक चयन र कार्यक्रमको सहभागितामा समेत नारी सशक्तीकरणको खाजी गरिरहेकी थिइन् । उनी स्वास्थ्य क्षेत्रमा समेत क्रियाशील राजनीतिकर्मी र कवि हुन् । काव्यका अतिरिक्त राजनैतिक चेतना र स्वास्थ्य सम्बन्धी पुस्तक उनको रोजाइमा परेको थियो ।

वरिष्ठ कवि गोविन्दराज विनोदीको शालीन उपस्थिति आफैँमा एउटा किताब जस्तो लाग्थ्यो । खेमराज सापकोटाको जिम्मेवारीबोध, नारायण तिवारीको सक्रियता तथा प्रेम सिग्देलको पढ्ने बानी र तर्कका विषयमा लेखराम सापकोटाले पछिसम्म पनि कुरा गरिरहे ।
गैँडाकोटको गर्मीमा किताबको झन् गर्मागर्मी बहसले पठन संस्कृतिको थालनी आफैँमा एउटा संस्कृतिजस्तो भइरहेथ्यो । त्रिलोचन तीनै लोचन खुलेझैँ खुसी देखिन्थे ।

* * * *

चरिकोट :

चरिकोटमा एउटा विद्यालय छ – अल्पाइन पब्लिक स्कुल । झन्डै १५ वर्षअघि चरिकोटमा एउटा मीठो साहित्यिक उत्सव थियो । त्यो उत्सवमा डा. राजेन्द्र विमल, तेजेश्वरबाबु ग्वँग, कोषराज न्यौपाने, प्रह्लाद पोखरेलजस्ता विद्वान् कवि तथा संस्कृतिकर्मीहरूको उपस्थिति थियो । त्यही मेसोमा पर्वत थापा र पूर्णिमा खरेलको साहित्य अनुराग त्यतिखेरै अनुभूत गरेको थिएँ । उनीहरू अल्पाइन स्कुलका संस्थापक हुन् । यसपल्ट त्यही विद्यालयको प्राङ्गणमा फेरि अर्को कार्यक्रमको संयोग जु¥यो, मैले विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्न पाएँ ।

पहिले विद्यार्थीहरूका रचना सुनेँ । कविता सुनाउन विद्यालयबाट १२ जना छानिएका थिए । १. सारिका पाण्डे २. स्मृति घिसिङ ३. अतित श्रेष्ठ ४. दिप्सन भुजेल ५. एन्जल कार्की ६. क्रिस्टिना चौलागाई ७. रोजिन कार्की ८. यावन खड्का ९. रिदम खड्का १०. युरिका थापा ११. आशिष लामा १२. एसन खड्का । आज दोलखाबाट राष्ट्रिय स्तरमा अब्बल कवि तथा सञ्चारकर्मीहरूको सूची लामो छ । भोलि त्यो हारमा मिसिने कविहरू यिनै हुन् जस्तो लाग्यो ।

कम बोल्ने तर मीठो बोल्ने पर्वत थापाजी आफ्ना विद्यार्थीहरूलाई सम्झाउँदै थिए – किताब पढेर मात्र हुँदैन, ज्ञानको चौतर्फी बाटो खोल्नुपर्छ । उनले भने – हामी विद्यार्थीलाई अतिरिक्त त्रियाकलापमार्फत जीवन सिकाउने कोशिस गर्छौं । पूर्णिमा खरेल आफैँमा कवि तथा सामाजिक अभियानकी अग्रणी महिला हुन् । उनी आफैँले गम्भीर कविता सुनाएपछि पो यो अन्तरक्रियात्मक साहित्यिक कार्यक्रम आयोजना गर्नुको रहस्य बल्ल थाहा पाएँ । अन्तर मनमा साहित्यप्रतिको प्रेम र आफैँ कवि नभएको भए उनकै पहलमा यो संयोग किन जुर्थ्यो र ?

भव्य कार्यक्रम सञ्चालन हुँदाहुँदै पानी पर्न थाल्यो । कार्यक्रम त्यत्तिमै समापन गरेको भए पनि हुने थियो तर विद्यार्थीहरूले मानेनन् । पानी बाक्लिएसँगै बाहिर प्राङ्गणबाट कक्षाकोठामा भित्रियौँ । आर्मी शैलीमा बाहिरका कुर्ची आफैँले फटाफट भित्र लगे विद्यार्थीहरूले । फेरि चल्यो साहित्यिक प्रवाह । कार्यक्रम सकिँदासम्म पनि पानी रोकिएको थिएन । औपचारिक कार्यक्रम सकिएपछि विद्यार्थीहरू झन् बढी खुले । पानीले उनीहरूलाई घर जाने बाटो छेके पनि प्रश्न गर्ने बाटो छेकेन । अनौपचारिक संवाद चलिरह्यो । उनीहरूले कार्यक्रमका अतिथि होइन, आज नवराज नामको एउटा साथी भेटेझैँ गरे । खूब खुले र खुलेरै गफ गरे । कविता, गीत, उद्घोषण, अरू जिल्लाका विद्यार्थीहरू र उनीहरू बीचको फरक र हाम्रो दोलखा कस्तो लाग्यो ? भन्नेसम्म कुनै प्रश्न बाँकी रहेनन् । मैले भनेँ, दोलखा मेरो पनि त हो नि । सबै हाँस्यौँ ।

हिमाली जिल्ला दोलखा । साँझ पर्नै पर्नै लागेको त्यो बेला । हल्का असिनासहित झमझम झरी परिरहेथ्यो । झरीले नुहाएका थिए हरिया रुखहरू । नृत्यको कुनै मुद्रा प्रदर्शन गरेजस्ता थिए रूखका चलायमान हाँगाहरू । हिमाली जडीबुटी चुमेर आएको थियो चिसो बतास स्कुलको प्राङ्गणसम्म ।

कवि हृदयका उत्साही विद्यार्थीहरू । तिनले सुनाएका तिनकै शैलीका मीठा कविताहरू । कविताभन्दा पनि वाचनको उत्साह फुर्तिलो । अझ छाता समाएर आधा भिजेको शरीरमा पनि न्यानो उत्साह । उनीहरूले सकिनसकी मलाई छाता ओढाइदिएका । त्यसमै पनि तँछाडमछाड, कसले ओढाउने भनेर । विद्यार्थी भाइबैनाले तान्दै तान्दै घुमाए विद्यालय परिसर र फोटो खिच्ने, खिचाउनेको लहर चल्यो, चलिरह्यो ।

औपचारिक कार्यक्रम सकिँदासम्म पनि नरोकिएको पानी अझै सुमधुर सरगम भरेर हुत्तिँदै बगिरहेथ्यो भल भएर ! पर्वत थापा र पूर्णिमा खरेल पनि यी सबै हेरिरहेथे चुपचाप । लाग्थ्यो, उनीहरू पनि निकै मीठो सन्तोषको अनुभव गरिरहेछन् ।

त्यही मौकामा मैले थपेँ – भाइबहिनीहरूलाई जे पढाउनु छ तोकिएको पाठ्यक्रम पढाइ दिनुस्, साथै जिन्दगी पनि पढाइ दिनुस् । जस्तो सुकै अप्ठ्यारोमा पनि आशाका साथ बाँच्न सक्ने आत्मविश्वास र जिन्दगीको प्रेम जगाइदिनुस् । बाँकी त यिनले आफैँ सिक्ने छन्, आफैँ बुझ्ने छन् र आफैँ जिउने छन् आफ्नो जिन्दगी ।

सोही दिन बिहानै भीमेश्वर मन्दिर पुग्दा मुस्कानसहित उपस्थित थिए वर्तमान र निवर्तमान वडाअध्यक्षहरू । दुवै जना निकै हार्दिक र कला साहित्यका निकै गहिरो अनुरागी रहेछन् । अध्यक्षसहित मन्दिर व्यवस्थापन टिम र अन्य जिम्मेवार व्यक्ति-व्यक्तित्वको साझा उपस्थिति थियो । भीमेश्वर, कालिञ्चोक र त्रिपुरासुन्दरीबीच गहिरो अन्तरसम्बन्ध । गुठी व्यवस्था, पूजा र संस्कृति संरक्षणको चिन्ता सबैमा देखिन्थ्यो । एउटै कालिञ्चोकले पुरै जिल्ला पाल्न सक्ने थियो तर सरकारी पहल भएन, पर्यटनको पूर्वाधार बनेन, एकै स्वरमा थियो सबैको सामूहिक चिन्ता तर गीतसङ्गीत र साहित्यको माध्यमबाट केही गर्न सकिन्छ कि भन्ने अपेक्षा पनि थियो ।

रमाइलो त यो लाग्यो, प्रह्लाद पोखरेल दोलखामा सिडियो थिए कुनै समय । यस्ता सिडियो कति आए-गए होलान् त्यहाँ तर जनताले पोखरेललाई सम्झिरहेका रहेछन् कवि सिडियो भनेर । उनले साहित्य, संस्कृति र पर्यटनलाई खूब माया गरेका थिए रे । कुनै कवि यसरी मन्दिर पुग्दा स्थानीय सरकारका प्रतिनिधि उपस्थित भएर यति मीठो माया देखाउनुको कारण शासकहरू काव्यिक हृदयका सरल होउन् भन्ने पनि थियो कि ? यतिखेर आदरणीय प्रह्लाद दाजुलाई सम्झिरहेछु र पानी, झरी र मेरो व्यस्तताले अनेक गर्दा पनि भेट्न नपाएको मेरो पुरानो मित्र शम्भु गौतमलाई पनि सम्झिरहेछु । उनको घरमा बनेको चिया चिसो भयो होला । शम्भुजी यो पटक यस्तै रह्यो ।

फर्कने बेला पूर्णिमाले विभिन्न फूलका बिरुवा र हाँगा दिँदै भनिन्, उता यो बिरुवा फूल बनेर फक्रोस्, यता १७ सय विद्यार्थीसहितको विद्यालय परिवार तपाईँको माया साँचिराख्नेछ ।

* * * *

सल्यानकोट :

धादिङ जिल्ला धादिङ नामकै जिल्ला बन्नुअघि ३ थुम थिए, सल्यानकोट, धादिङ र लामीडाँडा । यी सबै मिसिएर धादिङ बन्यो । सल्यानकोट उत्तरमा पर्छ । त्यहाँ त्रिपुरासुन्दरीको प्राचीन मन्दिर छ र यही मन्दिरको शाखाजस्तो अर्को मन्दिर छ खहरे नजिकै तल बेसीमा । त्रिपुरासुन्दरी भगवती मङ्सिरमा न्वागी खान तल झर्छिन् र चैतमा माथि जान्छिन् । यिनै भगवतीसँग आशीर्वाद मागी विशेष पूजाआजा गरेर पृथ्वीनारायण शाह नुवाकोट जित्न हिँडेका थिए । त्यहीँ छ नेत्रावती नामको विशाल नदी, जसलाई दुनियाँ आँखु भनेर चिन्छ । त्यही आँखु किनार खहरेमा निकै पुरानो र प्रसिद्ध विद्यालय छ, अचने मा.वि. । यही विद्यालयको छानामुनि क्याम्पस छ, नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस । उनीहरूले विद्यालयको ६४ औँ र क्याम्पसको १७ औँ वार्षिकोत्सव एकै पटक एकै ठाउँमा भव्य तरिकाले सम्पन्न गरे ।

उत्सवलाई औपचारिक मात्रै नबनाएर जिल्लाव्यापी वक्तृत्वकला प्रतियोगितासहित नृत्य आदि अन्य प्रतियोगिताको आयोजना गरे । साहित्य, संस्कृति र शिक्षामाथि बहस चलाए । जिल्लाका सबै क्याम्पसलाई जोडे । पब्लिक क्याम्पस सङ्घ, धादिङका अध्यक्ष एवं मच्छिन्द्र क्याम्पस खानीखोलाका प्रमुख प्रमोद पाठक आफैँ पनि सक्रिय थिए । सामुदायिक विद्यालय तथा सामुदायिक क्याम्पसहरूमा विद्यार्थी किन कम हुँदै छन् ? स्तरीय र जीवनोपयोगी शिक्षाका लागि के गर्नुपर्छ भन्ने बहस अहिले प्रमुख शैक्षिक सवाल हो पाठकले भने ।

खहरेको कार्यक्रमका लागि त्यता जाँदै गर्दा नीलकण्ठ क्याम्पस धादिङबेसीमा पब्लिक क्याम्पस सङ्घ नीलकण्ठ शाखाको अधिवेशन चल्दै थियो र प्राध्यापकहरू शिक्षाकै विषयमा गम्भीर चिन्तन र चासो व्यक्त गरिरहेका थिए । निकै गम्भीर र साहित्यिक रसका होनाहार प्राध्यापकहरू छन् नीलकण्ठमा । उनीहरूले त्यहीँबाट उठेर राष्ट्रिय व्यक्तित्व बनाएका छन् र जिल्लामा साहित्यिक, शैक्षिक सङ्घ संस्थाको समेत नेतृत्व गरेका छन् । अनुकूल शैक्षिक र साहित्यिक वातावरण निर्माण गर्न क्रियाशील यस प्रकारका असल व्यक्तित्वहरूको भव्य जमघट हो धादिङबेसीस्थित नीलकण्ठ बहुमुखी क्याम्पस ।

ती प्राध्यापकहरूका अनुसार समग्रमा क्याम्पस भर्ना भएका विद्यार्थीहरूमध्ये पहिलो वर्षमै २० प्रतिशत र अन्तिमसम्ममा झन्डै ५८ प्रतिशतसम्मले कलेज छोडिसकेका हुन्छन् रे । ती विद्यार्थी कहाँ जान्छन् ? शारीरिक श्रम गर्न विदेश वा यस्तै अन्यत्र कतै ? यसरी क्याम्पसबाट पढाइ छोडेर बाहिरिने र जिन्दगी खोजेर भौँतारिने युवाहरूलाई किताबले के दिन्छ ? यतिखेर कोही लेखक हुनु र नहुनुको के अर्थ ? किताब आउनु र नआउनुको के अर्थ ? क्याम्पस हुनु वा पढ्नु पढाउनुको कति सार्थकता ? त्यहाँ भएको छोटो संवाद साँच्चै गम्भीर र सूचनाप्रद लाग्यो ।
नीलकण्ठ क्याम्पसमा यस्तो बहस सकेर शीतल आँखु नदीको किनारमै रहेको नेत्रावती सामुदायिक बहुमुखी क्याम्पसको प्राङ्गणमा पुगेँ । नीलकण्ठको बहस सम्झेँ तर यही चिन्ताको सम्बोधन गरिनुपर्ने थलो संसद भने प्रतिष्ठाको जुँगे लडाइँ लडिरहेको थियो । त्यसै दिन संसदमा हङ्गामा चलिरहेको थियो । कठैबर राजनीति ! बिचरा सुशासन र शैक्षिक गतिविधि !

चर्चित बुढीगण्डकी आयोजनाको प्रभावित क्षेत्र पनि हो यो । डुबान क्षेत्रका नागरिकलाई मुअब्जा दिएर राज्यले अरबौँ लागानी गरिसकेको छ, केरा, सुन्तला, अम्बाको रूख समेत गनेर प्रत्येक बोट, बिरुवाको समेत पैसा दिइसकेको छ र बसाइँ सर्न भनेको छ । योजना अनुहार त्यहाँ विशाल ताल बन्नेछ, विद्युत् उत्पादनको काम हुने छ तर अचम्म त्यहीँ, त्यही प्रभावित क्षेत्रमा बाटो बनाउन भनेर अरबौँ र पुल बनाउन भनेर करोडौँ बजेट छुट्टिएको छ । बस्ती उठाएर ताल बनाउने हो भने पुल र बाटो किन चाहियो ? पुल र बाटो बनाएर विकास गर्न खोजेको भए मुअब्जा दिएर बस्ती उठ, किन भनेको ? आज बहस यतातिर जान थालेको छ ।

सङ्घीय सांसद रामनाथ अधिकारीले इमानदारी पूर्वक भने, राजनीति यस्तै रहुन्जले बुढीगण्डकीको काम केही हुन्न । उनले थपे, मेरो जीवनभर यो बन्दैन, बन्दै बन्दैन । बन्ला भनेर कति कुर्ने ? बुढीगण्डकी बन्दै बनेन भने यहाँका जनताका आकाश हेरेर बस्ने ? यहाँको पहिलो आवश्यकता बाटो र पुल हो म त त्यतै लागेको छु । कि बुढीगण्डकी योजना अघि बढ्नु पर्यो कि यहाँका जनतालाई विकास चाहियो । यसरी अलमलमा अल्झेर हुँदैन । अधिकारी प्रस्ट भए । उनको तर्कमा दम थियो । राजनीतिक अस्थिरता र केन्द्रीय नेतृत्वको यस्तो अकर्मण्यताको मार गाउँस्तरमा परेको छ । बस्ती नै बाँकी रहन्छ, रहन्न ठेगान छैन । अनि कसरी बढ्छन् विद्यार्थी र कुन उत्साहले चल्छ साहित्यिक सांस्कृतिक उत्सव ?

एक जना अतिथि शिक्षिकाले भनिन्, दाइ तपाईँ पहिले आउँदा म यहीँ कक्षा १२ मा पढ्थेँ । एउटा कविता सुनाएकी थिएँ । अहिले आयोगको परीक्षा पास गरेर शिक्षिका भएकी छु, माथि कटुन्जेको एउटा स्कुलमा । नेत्रावती क्याम्पसका प्रमुख हरिकृष्ण सिटौला सगौरव भनिरहेका थिए, यो उत्तरी धादिङ छिर्ने मूलद्वार हो र शिक्षाको पुरानो थलो । हो पनि । यस विद्यालयले ६४ वर्षमा कतिलाई शिक्षा दियो होला र क्याम्पसले १७ वर्षमा कतिलाई स्नातक गरायो होला ? सिटौलाको दाबी थियो, जिल्लाको थोरै स्कुल र कलेजमध्ये आमी अग्रणीमा छौँ । उनको गुनासो पनि थियो, अब विद्यार्थीहरूको सङ्ख्या घट्न थाल्यो । गाउँ छोड्ने क्रम बढेसँगै बालबालिका गाउँबाहिरै हुर्कन थाले । अब कहाँबाट आउँछन् विद्यार्थी ?

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, विभिन्न विद्यालय तथा क्याम्पसको नेतृत्व गरिसकेका गम्भीर अध्येता टङ्क सिलवाल तथा शशिधर पाठकहरू पढाइलाई समाज र सामाजिक वस्तुस्थितिसँग जोडेर विद्यार्थीलाई कसरी अब्बल र प्रतिस्पर्धी बनाउने भनेर बहस गरिरहेका थिए । कति विद्यार्थीहरू मजाले भाषण गरिरहेका थिए त कति नृत्यसहितका अन्य सिर्जना प्रस्तुत गरिरहेका थिए । अभिभावकाहरू खुसी थिए र त्यो खुसीलाई कसरी आकार दिने भनेर क्याम्पस परिवार चिन्तित भएजस्तो लाग्थ्यो । समुदायका लागि समुदायको कर्म यही होला शायद । लाग्छ, जिज्ञासु र कर्तव्य बोधका मान्छे निख्रेको छैन समाजबाट र कहीँ न कहीँ शिक्षा, साहित्य र संस्कृतिमाथिको चिन्ता जीवित छ । खहरेबाट आँखु खोला तर्ने बित्तिकै पारिपट्टि ज्यामरुङ छुन्छ । मीठो सुवास आयो जन्मथलोको र त्यही सुवास साँचेर छातीमा यात्रा फर्कियो काठमाडौँ ।

* * * *

माथिका त केही दृष्टान्त हुन् । समाजले केही न केही नयाँपन खोजेको छ । केही न केही सिर्जनशीलता खोजेको छ । केही दशकअघि समाज फुट्न उद्यत थियो, राजनीति पनि फुटाउन उद्यत थियो तर अहिले समाज आफैँ जुट्न उद्यत छ । राजनीति झन्डा, झोला र पार्टीको साँघुरो घेराभन्दा माथि उक्लेन तर समाज विवेक खोजिरहेछ । सबै पेशा र व्यवसायका मान्छेहरू कला, साहित्य र सिर्जनाको मूलबाटोमा आएजस्तो देखिन्छ र यही बाटो हुँदै प्रज्ञानको उपल्लो खोजीमा लागेजस्तो लाग्छ ।

स्कुल, कलेज त सिर्जनाको मन्दिर हो नै हो तर अन्य सङ्घ संस्थाहरू पनि यस तर्फ आकर्षित छन् । यो आकर्षणलाई जोगाउनु छ, बचाउनु छ र संस्कारपूर्ण संस्कृतिको छहारीमा समुन्नत नेपाल बनाउनु छ । जसका कारण सबैतिर बिग्रियो भनिएको छ, अब तिनलाई गाली होइन प्रेमले सम्हालूँ, अक्षरले सम्हालूँ । यी र यस्ता कार्यक्रमहरू सञ्चालन गरौँ र गरिरहौँ । यसै गरी तिनका ढुङ्गे छातीमा संवेदनाको पीपल हुर्काऔँ । सबैलाई थाहा छ, पीपल ढुङ्गामा पनि त उम्रिन्छ । भवतु सब्ब मङ्गलम् !