१. आगमन :

भाषामा अन्य भाषाबाट विभिन्न भाषिक विशेषताहरू आई आफ्नै स्तरीय रूप स्विकार्नुलाई आगमन भनिन्छ । आगमन शब्द अंग्रेजीको Borrowing (बोरोविङ्)बाट लिइएको हो । यसको अर्थ लिनु वा ग्रहण गर्नु हो । भाषाशास्त्री बालकृष्ण पोखरेलले आगमनलाई सापटी भनेका छन् । वास्तवमा कुनै भाषाले अन्य भाषाका विभिन्न तत्त्वहरू सापटी लिएर आफ्ना बनाउनु नै भाषिक आगमन हो ।

कुनै एक भाषा भाषीसँग अर्को भाषा भाषीको सम्पर्कले गर्दा भाषिक आगमन हुन्छ । संसारका प्रायः सबै भाषामा भाषिक आगमन भएको पाइन्छ । भाषाको प्रयोग क्षेत्र व्यापक हुँदै जाँदा ज्ञान विज्ञानको भण्डार बढ्दै जाँदा र साहित्य विकसित हुँदै जाँदा भाषा विकसित हुन्छ । विकसित भाषामा विकसित वाङ्मय हुने हुनाले प्रशस्तै आगमन हुन्छ । वर्तमान युगमा अंग्रेजी भाषा अरूको तुलनामा विकसित छ, यसमा आगमन पनि बढी भएको पाइन्छ । अंग्रेजी भाषामा ६० प्रतिशत शब्द अन्य भाषाबाट आएका छन् । यस बाहेक हिन्दी, जर्मनी, जापानी, नेपाली आदि सबै भाषाहरूमा आगमन भएको छ तर यसको मात्रा भने भाषाको स्तर अनुसार घटिबढी छ ।

आगमन प्रक्रियामा २ भाषाहरू हुन्छन्, (१) ग्राहक (२) दाता । अरूको भाषाबाट भाषिक विशेषता लिने ग्राहक भाषा हो, भने अरू भाषालाई भाषिक विशेषता दिने दाता भाषा हो । सबै भाषाहरू ग्राहक र दाता दुवै हुन्छन् । भाषामा आएका विशेषतालाई आगन्तुक तत्त्व भनिन्छ । आगमन हुँदा कुनै विशेषताको केही परिवर्तन हुन्छ भने कुनै विशेषता जस्ताको तस्तै रहन्छन् । अंग्रेजीको  Coat/k तर नेपालीमा आउँदा प्यत कोट भएको छ भने च्बमष्य रेडियो चभष्म ग खास परिवर्तन भएको छैन । यस प्रकारको ध्वत्यात्मक परिवर्तन बारे नव्य व्याकरणवादी ग्रीमले भारोपेली भाषाहरूको अध्ययनका क्रममा व्यापक चर्चा गरेका छन् ।

—-

आगमनका कारण:

भाषिक आगमनको चर्चा गर्दै प्रसिद्ध भाषाशास्त्री हकेटले आगमनका मूल दुई कारण बनाएका छन् ।

१. स्तरीयताको निर्वाह:

मानिसले समाजका बीचमा आफ्नो स्तरीयताको निर्वाह गर्नु आवश्यक ठान्दछ । स्तरीयताको निर्वाह गर्न उसले विभिन्न स्रोतहरूको आर्जन गर्नुपर्ने हुन्छ । यही क्रममा उसले भाषिक स्रोत अपनाएर भाषामा स्तरीयता प्राप्त गर्न प्रयत्न गर्छ । उसले सभ्य एवं विकसित भाषाको सिको गर्दछ । अन्य भाषाका विशेषताहरू ग्रहण गर्छ फलस्वरूप उसको भाषामा आगमन हुन्छ । पहिले संस्कृत भाषा विकसित थियो । त्यस भाषाबाट अन्य धेरै भाषाहरूले विशेषता ग्रहण गरे । अहिले अंग्रेजी भाषा विकसित छ । विकसित भाषा बोल्दा आफ्नो स्तरमा वृद्धि हुन्छ भन्ने अवधारणाले यो भाषा बढी प्रयोग गर्छन्, फलस्वरूप भाषिक आगमन बढी हुन्छ । एउटै क्षेत्रमा बोलिने भाषा मध्ये कुनै वा छिमेकी भाषा साहित्यिक, सांस्कृतिक, राजनैतिक प्रभाव जमाउन सक्ने छ भने अन्य भाषामा त्यसको प्रभाव बढी पर्दछ । नेपाली भाषाले अन्य स्थानीय भाषाहरूलाई प्रभाव पार्नु, हिन्दीको प्रभाव नेपालीमा पर्नु आदि यस्तै कारणहरू हुन् । गाउँबाट भरखर शहर पसेको मान्छे गाउँले पाखे भनिनबाट जोगिन पनि शहरिया स्तरीय लवज सिक्तछ, जसले गर्दा विविध भाषिक रूपको आगमन हुन्छ । कुनै भाषाले आफ्नै भाषिकाबाट विभिन्न विशेषता ग्रहण गरेर आफ्नो स्तरमा वृद्धि गर्छ । यसरी नै आफ्नो स्तरीयता कायम गर्दा गर्दै स्वाभाविक रूपमा भाषामा आगमन भइनै रहन्छ ।

२. आवश्यकताहरूको परिपूर्तिका निम्ति:

ज्ञान विज्ञानको भण्डार वृद्धि हुँदै जाँदा आफ्नो भाषाबाट मात्र व्यक्त गर्न असम्भव हुन्छ । यस्तो अवस्थामा अन्य भाषाबाट वर्ण, शब्द पदावली आदि विभित्न एकाइ सापटी लिएर आवश्यकता पूर्ति गर्नु पर्ने हुन्छ । यसरी अन्य भाषाका विशेषता आफ्नो भाषामा आइसकेपछि तिनीहरू छोडेर पुनः फर्कंदैनन् । तिनीहरूले आफ्नै भाषामा घर गर्दछन् । जस्तै: अंग्रेजीका कोट, रेडियो, (जनरल) जर्नेल, पुलिस जस्ता अनेकौं शब्दहरू नेपालीमा आएर स्तरीय नेपालीमा प्रयोग भइसकेका छन् । यसरी भाषिक आवश्यकता पूरा गर्न अन्य भाषाबाट वर्ण, शब्द, पद, पदावली, उपसर्ग, प्रत्यय एवं शैलीको पनि आगमन हुन्छ । नेपाली भाषामा बालकृष्ण समले पद्य नाटकमा शेक्सपियरेली शैलीको प्रयोगबाट शैलीगत आगमन भएको छ ।

—-

आगमनका स्रोत :

भाषिक आगमनमा विशेषताहरू आउने विभिन्न स्रोतहरू हुन्छन् जो निम्त अनुसार छन् ।

१. पैतृक स्रोत : उही भाषाको पुरानो रूपबाट आएको नयाँ रुमलाई पैतृक वा आर्ष आगमन भनिन्छ । पो पैतृक स्रोतको आगमन हो । हरेक भाषामा यस्तो आगमन हुन्छ ।

२. भाषिकास्तरीय स्रोत : आफ्नै विभिन्न भाषिका उपभाषिकाबाट भाषिक विशेषताहरूको आगमन हुन्छ । त्यसलाई भाषिका स्तरीय आगमन भनिन्छ । नेपाली भाषाकै विभिन्न भाषिकाबाट रूप, शब्द आदि लिनु यस प्रकारको स्रोतको आगमन हो ।

३. भाषास्तरीय स्रोत : तेस्रो स्रोत अन्य भाषाहरू हुन् । अन्य भाषाहरूबाट आफ्नो भाषामा विभिन्न भाषिक विशेषताको आगमन हुन्छ । जस्तै मगर भाषामा “अ” ध्वनि थिएन, नेपालीको प्रभावमा आएर अहिले “अ” ध्वनि पाइन्छ । संस्कृत भाषामा पहिले मूर्धन्य ध्वनि थिएन पछि द्रविड परिवारको सम्पर्कमा आएपछि मूर्धन्य ध्वनि द्, ठ, ड्, द्, ण् को आगमन भएर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।

वास्तवमा दुई भाषाभाषी बीच विचार विनिमय हुँदा वा द्वैभाषिक व्यक्तिबाट भाषिक आगमन हुन्छ । वक्ता भाषामा निपुण छ भने भाषाका विशेषता जस्ताको तस्तै आउँदछन् तर वक्ता निपुण छैन भने भाषिक विशेषता केही परिवर्तित भएर आउँछन् । जस्तै हिन्दीको “जवाहरकोट” नेपालीमा “जरकोट” भएर आएको छ ।

—-

आगमनका प्रकार :

माथि चर्चा गरिएका विभिन्न स्रोतबाट आएका भाषिक विशेषताका आधारमा आगमनका प्रकार निम्नानुसार छन् ।

१. निम्नस्तरीय आगमन : माथिल्लो वर्गका भाषा भाषीमा तल्ला वर्गका भाषा भाषीको प्रभाव पर्नु निम्नस्तरीय आगमन हो । यसमा शासक वर्गका भाषामा शासित वर्गका भाषाको प्रभाव पर्छ । यस्तो आगमनमा व्याकरणका स्तरमा भने प्रभाव पर्दैन ।

२. अधिक स्तरीय प्रभाव : निम्न स्तरीय प्रभावको ठीक उल्टो हुन्छ । अर्थात् तल्लो वर्गका भाषा भाषीमा माथिल्लो वर्गका भाषीको प्रभाव पर्दछ । यसमा शासित वर्गका भाषामा शासक वर्गका भाषाको प्रभाव पर्दछ । यसमा पनि व्याकरणमा कुनै प्रभाव पर्दैन ।

३. समस्तरीय प्रभाव : दुई भाषाका बीच आपसमा बराबर आगमन हुनु समस्तरीय प्रभाव हो । नेपालको मध्य तराई पर्सा, रौतहट तिर बोलिने भोजपुरी र मैथिलीमा यस्तो प्रभाव पाइन्छ । यी दुई भाषामा बराबर आगमन भएकाले भोजपुरी वा मैथिली कुन हो छुट्याउन गाह्रो हुन्छ ।

४. अनुवादबाट पर्ने प्रभाव : वर्तमान युगमा ज्ञान विज्ञानका क्षेत्रमा व्यापक खोज अनुसन्धान भइरहेको छ । एउटा भाषामा नयाँ कुरा पत्ता लागेपछि त्यसलाई अन्य भाषामा अनुवाद गरिन्छ । कुनै एक भाषा भाषीको ज्ञानको भण्डार अर्को भाषा भाषीले लैजान्छन् । यस्तो अवस्थामा भाषा पनि सँगसँगै जान्छ ग्रहण गर्ने भाषासँग मिल्छ । कम्प्युटर, रेडियो टोयोटा, पजेरो आदि जस्ता थुप्रै शब्दहरू अन्य भाषाबाट नेपालीमा आएका छन् । यस्ता शब्दहरू कि तिनै प्रयोग गर्नु पर्यो कि भाषा अनुवाद गर्नुपर्यो । Highway को राजमार्ग अनुवादबाटै आएको हो ।

—-

आगमनको परिणाम वा असर :

भाषामा आगमनका कारणले प्रमुख २ वटा परिणामहरू देखा पर्दछन् ।

१. आफ्नै भाषा अनुकूल हुनु : विभिन्न भाषा वा भाषिकाबाट आएका विशेषतालाई आफ्नो भाषाले आफै भित्र विलय गरेर अनुकूलित बनाइदिन्छ फलस्वरूप ती एकाइ मौलिक जस्तै हुन्छन् । जस्तै अंग्रेजीबाट आएका कोट, रेडियो, पुलिस, बस नेपाली भाषाका मौलिक शब्द जस्तै भइसकेका छन् ।

२. दाता भाषाबाटै प्रभावित हुनु : कतिपय भाषिक एकाइ शब्द पद, पदावली, वाक्यको आगमनमा जुन भाषाबाट आएको हो त्यसैको प्रभाव रहिरहन्छ । नेपाली भाषामा अंग्रेजी, हिन्दी आदि भाषाबाट आगमन हुँदा यस्तो प्रभाव परेको पाइन्छ । जस्तै : कृष्ण जो पास भयो मेरो भाइ हो । भाइले मलाई भन्यो कि ऊ आजै काठमाडौं जान्छ । महावली हनुमानकी जय ।

—-

२. पिजिन :

दुई किसिमका भाषा, भाषीहरू एक आपसमा सम्पर्कमा आए सँगै रहँदा बस्ता, व्यवहार गर्दा दुवै किसिमका भाषाका विभिन्न विशेषताहरू मिलेर अर्कै तेस्रो प्रकारको भाषाको रूप विकसित हुन्छ । दुवै किसिमका भाषा भाषीहरू आफ्नो भाषाको निश्चित रूप प्रति सचेत नभएर अन्य भाषा भाषीसँग प्रभावित हुन्छन् । फलस्वरूप भाषाका वर्ण, शब्द वाक्य एवं व्याकरणका तत्त्वमा समेत एक अर्काको प्रभाव परेर भाषाको स्वरूप परिवर्तन हुन्छ । एउटा भाषाका शब्दमा अर्का भाषाका रूपहरू घुलमिल हुन जान्छन् । यसका अतिरिक्त व्याकरण व्यवस्था एक भाषाको तर शब्द भने अर्को भाषाबाट लिएको भाषिक रूप पनि पाइन्छ । यस्तो अवस्थामा एउटा भाषाले आधार भाषाको काम गर्छ भने अर्को भाषा प्रभावक भाषाको रूपमा रहन्छ । यस किसिमले एउटा भाषामा अर्को भाषाको प्रभाव परेर बनेको तेस्रो

भाषालाई “पिजिन” भनिन्छ । “पिजिन” बन्ने क्रममा भाषिक प्रभाव दुई प्रकारको हुन्छ । १. आंशिक प्रभाव २. पूर्ण प्रभाव । ध्वनि, शब्द, वाक्य, रूप अर्थ आदि मध्ये केहीमा मात्र प्रभाव पर्छ भने त्यसलाई आंशिक प्रभाव भनिन्छ । यी पाँचै क्षेत्रमा प्रभाव पर्छ भने त्यसलाई पूर्ण प्रभाव भनिन्छ । यसै प्रभावबाट नै “पिजिन” भाषा बन्दछ ।

“पिजिन” (Pidgin) शब्द अंग्रेजीको बिजिनेस (Business) बाट आएको हो । प्राचीन कालमा अंग्रेजहर व्यापार गर्न चीन पुगे । त्यहाँ चिनियाँ र अंग्रेजबीच कारोबार गर्न भाषिक समस्या भयो । त्यस समस्यालाई हल गर्ने क्रममा त्यहाँ चिनियाँ र अंग्रेजीको मिसावटबाट तेस्रो भाषाको विकास भयो, त्यसैलाई “चितियाँ पिजिन अंग्रेजी” भनियो । त्यस भाषामा शब्दभण्डार अंग्रेजीबाट लिएको थियो भने उच्चारण प्रक्रिया र व्याकरण भने चिनियाँ थियो । यो भाषा सीमित समुदायबीच व्यापारिक कारोबारमा मात्र प्रयोगमा रह्यो । त्यसै पिजिन शब्दलाई नेपाली भाषामा पनि जस्ताको तस्तै लिइएको पाइन्छ ।

अफ्रिकी गोरा जातिहरूले काला जातिलाई दासदासी राख्ने एवं विभिन्न उद्योग कलकारखाना र चिया बगानहरूमा कुल्ली काम लगाउने क्रममा भाषाको समस्या पर्दथ्यो । मालिकहरू अंग्रेजी बोल्थे कुल्लीको भाषा अर्कै थियो । उनीहरू अफ्रिकी मूलका विभिन्न जाति भएकाले आ–आफ्नो भाषा बन्दथे । यस्तो अवस्थामा कामदार र मालिकबीच विचार विनिमय गर्न गाह्रो भयो । त्यस पछि अंग्रेजी भाषी मालिकहरूले कतिपय आफ्ना भाषाका शब्द, पद रूप आदिलाई दासदासीका भाषा अनुसार परिवर्तन गरे भने कोष दासदासीका भाषाका एकाइहरू आफ्नो भाषामा मिलाए ।

यसबाट त्यहाँ नयाँ भाषाको जन्म भयो । यो भाषा त्यसै कार्यक्षेत्रमा सीमित रह्यो र यसलाई “अफ्रिकी पिजिन अंग्रेजी” भनियो । यस प्रकार दुई भाषाको प्रभावबाट सीमित व्यापारिक उद्देश्यको लागि तेस्रो भाषा जन्मन्छ । त्यसैलाई “पिजिन” भनिन्छ ।

अंग्रेजी, फ्रान्सेली, स्पेनिस, पोर्तुगाली, हिन्दी, आदि विविध भाषाबाट “पिजिन” भाषाहरू बनेका छन् । कलकत्ताको हिन्दी भाषा बंगाली र हिन्दीको “पिजिन” हो । पिजिनलाई काम चलाउ भाषा एवं सीमान्त भाषा पनि भनिन्छ ।

पिजिन भाषा जन्मने र नाश हुने क्रममा घुमिरहन्छ । संसारका भाषाहरूमा कतै पिजिन जन्मन लागेको बेला कतैको “पिजिन” मर्न लागेको हुन्छ । साउदी अरब, कतार आदिजस्ता अरेवियन देशहरूमा नेपाल, भारत, पाकिस्तान, मालदिभ्स तिरबाट अहिले थुप्रै मजदुरहरू गइरहेका छन् । अब ती मुलुकहरूमा मालिक र मजदुरहरूका बीच कुराकानी गर्न “पिजिन” भाषाहरू विकसित हुने अवस्थामा छन् । पिजिनको स्थायित्व र लेख्य रूप हुँदैन । यसले मातृभाषाको रूप ग्रहण गरिसकेको अवस्थालाई क्रेओल भनिन्छ ।

पिजिनका निम्न अनुसारका विशेषताहरू हुन्छन् :

१. एक भाषाका शब्द र अर्को भाषाको व्याकरण व्यवस्था हुन्छ ।

२. शब्दहरू छोटा र सरल हुन्छन् ।

३. वाक्य रचनामा लचिलोपन कम हुन्छ ।

४. वाक्यहरू सरल हुन्छन् ।

५. भाषिक व्यवस्था सरल र सुबोध हुन्छ ।

६. वर्ण व्यवस्था ग्राहक वा मजदुर वर्गको भाषाबाट लिइन्छ ।

७. प्रयोजन सकिएपछि स्वतः लोप हुन्छ ।

८. भाषिक स्थायित्व वा लेख्य साहित्य हुँदैन ।

९. जन्मने र मर्ने क्रम चलिरहन्छ ।

—-

३. क्रेओल :

“क्रेओल” (Creole) शब्द ल्याटिन भाषाबाट अंग्रेजीमा आएको हो । यसको अर्थ हुन्छ बनाएको वा निर्माण गरिएको । “पिजित” भाषाले समाजमा स्थायित्व प्राप्त गरेपछि, यसलाई मातृभाषाको प्रयोग गर्न थालेपछि अवस्थालाई “क्रेओल” भनिन्छ । “पिजिन” भाषाहरू कतिपय प्रयोजन सकिनासाथ लोप भएर जान्छन् कतिपय आफ्नो “पिजिन” रूपबाट विकसित रूप भएर स्थायित्व प्राप्त गर्दछन् भने कतिपय “पिजिन” भाषाले आफ्नो रूप छोडेर स्तरीय अंग्रेजीकै रूप लिएको पाइन्छन् । न्यूजिल्याण्डमा पिजिन हराएर गयो । त्यहाँका वक्ताले स्तरीय अंग्रेजी बोल्न थाले । यी मध्ये स्थायित्व प्राप्त गरेपछिको “पिजिन” “क्रेओल” हुन्छ ।

पिजिन भाषा क्रेओलमा आइपुग्दा यसले भाषिक निजत्व प्राप्त गरेको हुन्छ । वर्ण व्यवस्था नियमित हुन्छ, शब्द भण्डारमा वृद्धि हुन्छ, व्याकरणका नियमहरू बन्दछन् फलस्वरूप कुनै प्राकृतिक भाषा सरह बन्दछ ।

क्रेओलमा साहित्य सिर्जना हुन्छ । ज्ञान विज्ञानका ग्रन्थहरू बन्दछन् । प्राचीन कालको प्राकृत भाषा संस्कृतको “क्रेओल” मान्न सकिन्छ किनभने प्राकृत भाषामा विकसित वाङ्मय थियो । फ्रान्सेलीबाट अफ्रिकी भाषाको प्रभावमा विकसित भएको “क्रेओल” मरिससको “हातियन” भाषा हो । दक्षिण अफ्रिकाका निग्रोहरूले बोल्ने भाषा पनि “क्रेओल” हो ।

—-

पिजिन र क्रेओलमा फरक

पिजिन                            

१. भाषाको प्रारम्भिक रूप हो ।

२. वक्ताको मूलभाषा अर्कै हुन्छ ।

३. यसमा शिक्षा दिइँदैन ।

४. यसको निश्चित क्षेत्र हुँदैन ।

५. अन्य भाषाबाट विकसित हुन्छ ।

६. भाषाको मानक रूप हुँदैन ।

७. सामाजिक प्रतिष्ठा हुँदैन ।

८. नियम वा प्रक्रिया हुँदैन ।

९. लोप भएर जान सक्छ ।

क्रेओल

१. भाषाको विकसित रूप हो ।

२. वक्ताको मूल भाषा यही हुन्छ ।

३. यसमा शिक्षा दिइन्छ ।

४. यसको निश्चित क्षेत्र हुन्छ ।

५. पिजिनबाट विकसित हुन्छ ।

६. भाषाको मानक रूप हुन्छ ।

७. सामाजिक प्रतिष्ठा हुन्छ ।

८. नियम वा प्रक्रिया हुन्छ ।

९. स्थायित्व प्राप्त गर्छ ।