गोमन सर्पजस्तो गुँडुल्किएको, डरलाग्दो भाषालाई अलि सडकको निकट लान सकिँदैन ? अबको जमाना आम–भाष्यको हो भन्नेमा विवादै छैन तर किताब पढ्दा अझै पनि पसिना छुट्ने क्रम जारी छ । अझ कविता पढ्दा एकचोटि मर्नुपर्छ अझै ।

केही वर्षअगाडिको कुरा हो । नाम चैँ नभनुङ् होला । तर कार्यकाल सकिन लागेका, प्रज्ञा–प्रतिष्ठानका एकजना उपकुलपतिलाई मैले टङ्गालमा भनेँ— ‘दाजु, स्वागत छ सडकमा ।’

म ठट्टा गरिरहेको थिएँ, वास्तवमा । तर, गम्भीरताको अंश पनि अलिकति नभएको होइन कुरामा ।

निकैबेर गमे, र फिस्स हाँसे । निकैबेर किन गमे, उनै जानून् ।

सायद पुनः सडकमा जाने कुरा कल्पनामा थिएन ।

अथवा, सडक भन्ने कुरै उनलाई मन परेन ।

नपरे नपरोस् । तर, अचेल सडकमै भेटिन्छन् उनी बढी । देउता त्यति दाहिना भएको देख्दिनँ उनका ।

चन्दीगढतिर एउटा जोक चल्छ । त्यतातिर पुग्नुभयो भने कुनै बूढा पञ्जाबीलाई सोध्नुहोला, ‘बाबूजी, यह सडक किधर जाती है?’

जवाफ आउन सक्छ, ‘पचास साल से तो देख रहा हूँ । कहीं गई नहीं है सडक । यहीँ तो है !’

हुन पनि त हो । सडक कहाँ जानु र?

कुर्सी र सडकको सम्बन्ध कस्तो कस्तो ।

सडकबाट हेर्दा कुर्सी कति हो कति टाढा देखिन्छ, माथि न माथि, टाकुरामा ।

कुर्सीबाट हेर्दा सडक कति हो कति तल देखिन्छ, तल न तल, समुद्रको पिँधमा ।

दृष्टिदोष । कि, स्थानको दोष ? खै ?

भारतका पूर्व–राष्ट्रपति अब्दुल कलामलाई पत्रकारले सोधेछन्, ‘राष्ट्रपतिको कार्यकाल सकिएपछि तपाईं फेरि कहाँ जानुहुन्छ? के गर्नुहुन्छ?’

उनको उत्तर— ‘कक्षा कोठामा जान्छु फेरि । पढाउँछु ।’

यानि, त्यत्रो उँचो अफिसबाट पुनः करिब करिब सडकमा ।

र, गए पनि ।

तर समयले छिटै उनलाई चुँडेर लग्यो । र जीवनबाटै पर गए । हार्दिक श्रद्धाञ्जली !

कोही टाट पल्टियो भने भन्ने गरिन्छ— सडकमा आयो ।

कसैले घरबार गुमायो भने भन्ने गरिन्छ — सडकमा आयो ।

भुइँचालो आयो, सडक जिन्दावाद ।

बाढी–पहिरो आयो, सडक जिन्दावाद ।

घरबार लिलाम भयो, सडक जिन्दावाद ।

सडकलाई जसरी हेरे पनि हुन्छ । सडकबारे सबैभन्दा ठिस हेराइ यो हुन सक्छ— ‘सडक कल्पना गर्नेले कालै पत्रको कल्पना ग-यो । सुनौलो, रातो वा हरियो कल्पना गरेन । कालै किन ग-यो? सडक दिनको पनि साक्षी हो, रातको पनि । सन्दिग्धताहरूको । तस्करीको । हत्याको । बलात्कारको । डकैतीको । त्यसैले, सडकसँग छोप्नुपर्ने कुरा बढी छन्, र छोप्नका लागि कालो वा अँध्यारो सबैभन्दा सटीक रङ हो ।’

हैट्, यो सडेको दिमागको कल्पना हो !

उज्यालो पनि त देखेको छ सडकले? देखाउनुपर्ने कुरा पनि छ ऊसँग । यसरी एक पक्ष हेर्ने? हेप्नी?

मलाई चैँ लाग्छ, निबन्धकार जेबी प्रेस्ट्लीलाई सडक–शिरोमणि अथवा भीड शिरोमणि घोषणा गर्नुपर्छ । उनले सडकको ल्याकत, ताकत बुझेका छन् । उनका निबन्धमा खोजौँ सडक । नयाँ सडकतिर नखोजौँ । पार्किङै पाइँदैन, के खोज्नु?

‘अ स्ट्रिट कार नेम्ड डिजायर’ नामको नाटक लेख्ने टेनिसी विलियम्सले सडकलाई रङ्गमञ्चमा उतारे । सडकसँग गाडी उतारे । गाडीसँगै वासना उतारे । वासनासँगै पात्रका शरीरबाट लुगा उतारे ।

अब चैँ भो भन्दिनँ, भन्नै परेन !

रमेश विकलले पनि फनफनी घुमाएकै हुन् हामीलाई सडकमा, ‘नयाँ सडकको गीत’ मा । घुमेकै हौँ हामी दिनभरि । र साँझ भएपछि सपना त्यतै कतै सडक किनारतिर विसर्जित गरेर हामी फर्केका हौँ घर । प्रजातन्त्र विसिर्जित । जन–आकांक्षा विसर्जित । पात्र पनि, र हामी पनि पागल ।

होइन यो सडक बारे के लेख्नु? किन लेख्नु? खुरुखुरु हिँड्नू नि आफ्नो बाटो?

सडक विभिन्न कालखण्डमा विभिन्न तरिकाले लेखियो ।

अमरत्वको वरदान पाएकी सिबिल्लालाई सडकका बीचमा कुनै जारमा थुनेर राखिदिएछन् । बेथिति हेर्दा हेर्दा हेर्दा हेर्दा हेर्दा हेर्दा (अमर हुनाले अलि धेरै नै हेरिन्) यति दिक्क भइछिन् कि पुनः अमरत्वको बरदान दिने अपोलोकहाँ पुगेर बिलौना गरिछिन् ।
‘के माग्न आयौ, सिबिल्ला?’

उनले भनिछिन्— ‘मृत्यु । प्रभू, म मर्न पाऊँ । भो, अमरत्वसँग म अघाएँ ।’

मार्किज भनेर बोलाइने फ्रान्सेली शासकले सडकमा बग्गी गुडाउने, तुफानी वेगमा । कसैको नाबालक बच्चो किचियो । बाबुसँग ‘किन यसो गरियो?’ भन्ने साहस थिएन । प्रश्न गर्ने हिम्मत कोसँग होस्, त्यस बेला? बरु घस्रिँदै गएर भने, ‘मालिक, एउटा ढुङ्गो कृपा होस् । छोराको नाममा एउटा शिलासम्म राख्न सकूँ ।’

हैट् !

चार्ल्स डिकेन्सले लेखेका छन्, उनको कालजयी कृति ‘अ टेल अफ टु सिटिज’ मा । पाइन्छ, पढुङ् न !

मेक्सिम गोर्कीको ‘आमा’लाई प्राण भरेकै सडकले हो । सडक निकालिदिऔँ न कथाबाट !

यो पुस्तक नपढ्ने त सायद कोही छैनन् नेपालमा । गोपालले भनेजस्तो, ‘होइन, यो लभ नगर्ने त कोही हुँदो रहेनछ गाउँमा ।’

पत्रकारः तपाईंलाई मनपर्ने पाँच पुस्तक लेख्नुहोस्….।

उत्तर–दाताः आमा, मुनामदन, अनि पख्नोस् ल एकछिन्…। अँ, लेख्नुस् तः भागवत् गीता !

अगाडि बढौँ ।

ब्रोडवे । अफ–ब्रोडवे । अफ–अफ ब्रोडवे ।

नाटकका पारखीलाई थाहा छ यो कुरा । अरूलाई यो ‘ॐ भ्रां, भां भूँ, भैरवाय स्वाहा’ पनि हुन सक्छ । नहुन पनि सक्छ ।

अमेरिकामा नाटकलाई धेरै माथि उठायो सडकले ।

नाटक र सडकको अर्को पाटो पनि छ, सडक–नाटकको । नुक्कड नाटक भनुङ न ।

धेरै समूहको जीविका नाटकघरका नाटकबाट कम, र सडकमा देखाइने सडक–नाटकबाट बढी चलेको सत्य हो । नत्र अशेष मल्ल दाइलाई सोध्नू । नेपालकै कुरा गर्दा नाटकलाई सडकमा लगेर जनतासँग जोडेको उहाँले नै हो ।

यस बारे एउटा कुरो भनिहालुङ । भरे बिर्सन सकिन्छ ।

नाटकबारे धेरै चिन्तन भयो, यसलाई कसरी जनसाधारणको निकट ल्याउने भन्ने बारेमा । उनको पहुँचमा ल्याउने अनेक प्रयास भए । तिनमा सडक–नाटक सबैभन्दा सार्थक प्रयास हो । नाटक सडकमा आउनुपूर्व, थिएटरभित्रै पनि यसबारे नसोचिएको होइन । एउटा सोच थियो बर्तोल्ट ब्रेख्टको ‘इपिक थिएटर’ को । त्यसको सारमा के थियो भने नाटक चल्दाचल्दै, त्यसमा जनता यानि दर्शकको तत्काल संलग्नता । यानि, कुनै अमूर्त, अथवा उच्च संवेगपूर्ण कथाको मञ्चनभन्दा आम जनमानसका दैनन्दिन सरोकारका सामाजिक–राजनीतिक विषयको मञ्जन, जसमा दर्शक आफैँ तान्निऊन् । संवाद बोलून् । क्रिया–प्रतिक्रिया गरून् । मञ्च र प्रेक्षालयको दूरी मेटिओस् ।

ब्रेख्टले अलि पछि थपे ‘एलिनिएसन इफेक्ट’ । नाम अप्ठ्यारो, कुरो सजिलो । नाटकको गहन संवेगले दर्शकको होश उडाएर कता हो कता नपु-याओस् । मञ्चमा उनकै सरोकारको कुनै यथार्थको निकटको कुराको मञ्चन हुँदैछ, र त्यसमा उनको दिमाग लागिरहनु जरुरी छ । यो सुनिश्चित गर्न, नाटकमा बेला बेला अति संवेगलाई तोड्ने, र यो नाटक हो है भन्ने कुराको स्मरण गराउने विधि–प्रविधि अपनाइयो ।

यस शैलीले पूर्ण आकार जर्मनीमा लियो । बढी लोकप्रिय भइदियो रुसतिर । प्रयोगमा बढी त्यता ल्याइयो ।

सारमा, रङ्गमञ्च र सडकको तत्काल संवादको प्रचेष्टा गरे यस्ता महान् नाट्यकर्मीले ।

सडक अन्य साहित्यिक अभ्यासको केन्द्र पनि रहँदै आएको ठीक साँचो हो ।

बेलायतमा बोहेमियनको आन्दोलन — सडकमा ।

हिप्पी ओर्लिए सडकमा । काठमाडौँको झोँचे टोलको सडकलाई किन ‘ओल्ड फ्रिक स्ट्रिट’ भनियो, अभि सुवेदी सरलाई सोधुङ् न !

सडक कविता आन्दोलन, सडकबाट ।

बुटपालिस आन्दोलन, सडकबाट ।

सबै जानआन्दोलन, सडकबाट ।

साना–साना आन्दोलन पनि सडकबाट ।

विश्वतिर हेरौँ ।

प्रायः सबै साना–ठूलो क्रान्ति सडकबाटै ।

बास्टाइलबाहिरको सडक ।

तियान्मेन स्क्वायर भन्नु पनि सडकै त हो, सम्धीज्यू ।

सडक सबैभन्दा ठूलो रङ्गमञ्च हो ।

सडक सबैभन्दा शक्तिशाली संसद भवन हो ।

चर्चाका लागि आज विषय छ सडक । कारण छन् ।

सडक केवल सडक होइन ।

सडक सडक होइन भने साँप हो? कि अबिजालो हो?

सडक एउटा रूपक अलङ्कार हो । सडक भनेको जनता पोखिने आँगन हो । सडक भनेको आम जनताको आवाज गुज्रने सदन हो । सडक जनताको शक्ति देखिने रङ्गमञ्च हो ।

उसो भए जाऔँ न त सडकमा !

सडकमै त छौँ !

सडक भनेको कसैका लागि बन्देज नहुने स्थान हो ।

तर कर्फ्यु लाउनेहरू सडकमा बन्देज लाउन खोज्छन् । तर पनि, कर्फ्यु लाउनेले जितेको इतिहास छैन । सत्ता जिते पनि तिनीहरू आफ्नै विवेकसँगको युद्ध हारिरहेका हुन्छन् । र, अचेल हाम्रो लेखनमा सडक खूब ‘फेसन’ मा छ ।

सडक फेसनमा छ, किनभने, हामी सबैको दाबी छ— हाम्रो लेखन सडकसँग गाँसिएको छ ।

सडकसँग यानि, भुइँमान्छेसँग । अथवा, आम–मान्छेसँग ।

कुरा सत्य हो ।

तान्दा तान्दा तान्दा तान्दा तान्दा…लामै तान्नुपर्छ यो डोरी…फेरि, तान्दा, तान्दा, तान्दा लेखनलाई दरबारबाट, मठबाट तथा व्यासासनबाट सडकमा ल्याइएको हो । ‘ल्याएको हौँ’ भनेर अलिकति नाक फुलाऔँ त ! नाकका पोरा अलि ठूला भएकालाई यहाँ अलि सजिलो छ । सधैँ फुलेकै हुन्छ नाक । हाहा.. ।

जेको पनि प्रयोग छ, छैन त?

मार्क्सवादी चिन्तनका एकजना ठूला मनिसी रेमण्ड विलियम्स । बेलायती हुन्, क्यार ! बिते केही वर्षअघि । उनलाई मेरोतर्फबाट श्रद्धाञ्जली ! भन्थे— लेखेर मात्रै पुग्दैन । जाओ, सडकमा । जाओ, जमिनमा । कोठामा लेखेर पुग्दैन । गएर बुझ ।

लेखन — एउटा अधिसंरचना, जमिनमा उभिएको हुन्छ । जमिन, यानि संस्कृति । संस्कृति यानि, मान्छेका व्यवहारबाट बनेको । यानि, संस्कृति पनि वस्तु हो । त्यो आधार नबुझी अधिसंरचना बुझिन्न । वा भनौँ, बनाउन सकिन्न । वा, बेकार छ ।

बेकारै त होला नहोला, तर जमिन बुझ्नू, सडक बुझ्नू भन्ने उनको अग्रहमा दम छ । अचेल हामी आममान्छेका सरोकार बढी र गुलाफ र रेशमी रुमाल कम लेखिरहेका बेला सडकलाई नियालेर बुझ्नु त जरुरी नै हुन्छ ।

रेमण्ड विलिमको अर्को पनि कुरा छ । भन्थे— केही कालावधिपछि देशको सोच्ने तरिका बदलिन्छ । त्यसरी नै सडकको पनि सोच बदलिन्छ । नजिकैबाट नियालिरहेनौँ भने यो बदलिएको सोचको ताँदो पनि समाउन सकिँदैन ।

जमाना कहाँ पुगिसक्यो, ‘मान्छे फालेको ढुङ्गो हो, उसको जीवनमा कसैको सहारा छैन । सम्बन्धको वा जीवनको कुनै सार छैन’ भन्ने उहिलेको चिन्तनको जालोमा बेरेर अचेल पनि आख्यान लेखिरहेका छन् साथीहरू । यानि, ‘अनुभूतिको संरचना’ सँग कदमताल गर्न सकेनन् यिनले ।

बहुमञ्जिला महलको १२२ औँ तलामा बसेर लेखिएको मजदुरको कविता कस्तो हुन्छ? सडकलाई सडकैबाट हेरेर लेखिएको सडक–बालकको कविता कस्तो होला?

भन्न त कतिपयले भने— भुइँमान्छेको जीवन लेख्न भुइँमान्छेको जीवन बाँचेर हेर ।

नगरेका पनि होइनन् है मनुक्खेहरूले ।

तर यो पनि अलिकति आदर्शवादै भयो ।

अँ, नजिकबाट हेर्दा सडक सडकजस्तो देखिन्छ । अलि टाढाबाट हेर्दा कि सर्पजस्तो देखिन्छ, कि फाँसीको फन्दाजस्तो ।

एक दिन माइतीघर मण्डलानिर थिएँ । पुलिस आएर कराउन थाल्यो— हट, हट, हट, हट, हट ।

यसो बुझ्दा ठूलै मान्छेको सवारी रहेछ ।

चासो बढ्यो । किनार लागेर उभिएँ । अरू पनि उभिए ।

सडकैमा उभिन पनि अलि अलि डराएर उभिनु प-यो तर पनि उभिएँ । उभियौँ भनौँ न !

म खासमा नेतालाई हेर्नै भनेर उभिएको चाहिँ थिइनँ । कुरो अर्कै थियो । नेतालाई त हामी टिभीमा अथवा अखबारका पानामा सधैँ देखि नै त रहेका छौँ नि?

मलाई जान्नु थियो— छेउमा उभिएका हामीलाई उनले देख्छन् कि देख्दैनन् । देखे भने अनुहार कस्तो बनाउलान्? भावभङ्गी कस्तो होला ?

सवारी आयो— टुइँ, टुइँ, टुइँ, टुइँ, टीँ ।

घाँटी तन्काएर हेरेँ । हे-यौँ ।

चिन्यौँ, चिन्यौँ, बीचतिरको कालो सिसा भएको गाडी ।

अझ छेउतिर तन्किऔँ । गाडी आयो ।

कालो सिसा । कालो सिसाबाट के देखिनु र भित्र?

र, सिसाबाट के देखिनु र बाहिर?

अलि अलि त ठम्याएँ नेताजीलाई गाडीभित्र । छायाजस्तो मात्रै । त्यै पनि फोनमा व्यस्त जस्तो लाग्यो ।

के देख्नु सडक किनारमा उभिएका हामीलाई? एक त कालो सिसा । त्यसमाथि फोन !

त्यो फोनले देशलाई कतिसम्म माथि पु-यायो थाहा छैन । हामी भने अझै सडकमै छौँ । हेरिरहेका छौँ उसै गरी ।

मलाई के विश्वास छ भने ती नेताजी एकदिन सडकमै आएर हामीसँगै ‘खै अलिकति खैनी’ भन्ने स्थितिमा पुग्छन् । के थाहा, आई पो सके कि ? अस्ति सतबिउ छर्ने दिन ? अथवा टुँडिखेलको लोसारमा ? अथवा यसपालाको माघीमा ? इन्द्रजात्रामा ? भुइँचालो जाँदा एउटा पालमुनि ?

सडक लेखनको एउटा कुरूप पाटो पनि छ ।

सडक हाम्रो लेखनमा पस्यो । तल लेखन, सडकमा पुगेन । बाटो बन्द ।

सडक त खूब पस्यो । पूरै राजमार्ग पनि छ । ससाना गोरेटा पनि छन् । घनघँसियाको उकालो पनि छ । छापाडाँडाको ओरालो पनि छ ।

‘सडक र प्रतिभा’ — पारिजात ।

‘नयाँ सडकको गीत’ — रमेश विकल ।

कविताको शीर्षक ‘पर्वत’ भए पनि बैरागी काइँलाले सडकै बढी लेखे त्यसमा । भनि पो हाले—

हो, यी सब सडकहरू
मैले मेरो काँधमाथि बोकेको छु
मेरो कुम्भकर्णको काँधमाथि जिन्दगीको लास बोकेको छु ।

कवि कुन्दन शर्माको एउटा कविता छ, ‘सडकैसडकमा’ । लेखिन्—

मैले सडक बनाएँ
हिँडिरहन— नयाँका लागि बढिरहन ।
तर मेरो प्रत्येक पाइलाअगाडि
फेरि यो तगारो किन?

मलाई कवि पदम क्षेत्रीको एउटा कविताको याद आउँछ ‘आदिम सडक’ । लेख्छन्—

अथाह जलधि/अनन्त आकाश
कुइरोले ढाकिएको
अज्ञात लक्ष्य
तथा
गन्तव्यतिर लम्किरहेका
मेरा एक जोडी थकित पैतालाहरू
अनि, नियतिले खनिदिएको
यो आदिम सडक…

हिन्दीतिर चिहाउँदा ‘एक सडक सत्तावन गलियाँ’ – कमलेश्वर । चाहिन्छ भने पीडएफ पठाउँछु, सम्पर्क गर्नुहोला ।

प्रयोगवादी कविताको शीर्षस्थ स्थानमै पर्छन् सूर्याकान्त त्रिपाठी निराला । उनको ‘प्रयोगशीलता’, वास्तवमा जनपक्षीय लेखनको कोणमा हो । ‘वह तोडती पत्थर… इलाहाबाद के पथ पर’ एउटा अति नै लोकिप्रय कविता हो ।

पश्चिमतिर फर्कंदा त पूरा लाइब्रेरी भेटिएला । रोड त कति कति !

अफ द रोड — ज्याक हिट ।
अफ द रोड — क्यारोलिन क्यासडी ।
द रोड — कोमर्याक मेककार्थी ।
द हाइवे — सीजे बक्स ।
द स्ट्रिट — आन पेट्री ।

तर यी सबै पश्चिमा पुस्तकले सडक भन्दैमा सडकले प्रतिनिधित्व गरेका आममान्छे अथवा भुइँमान्छेको कुरा गर्दैनन् । तिनले यात्रामा भोगिएको कथा–व्यथाको कुरा बढी गरेका हुन् ।

यहाँ उठाउनुपर्ने मुद्दा अर्कै छ ।

सडकमा आमा मान्छे छ । अथवा, आम मान्छे सडकमा उत्रिन्छ । मानेँ ।

उसको कथाव्यथा लेखकले लेख्छ । मानेँ ।

लेखकले लेखककै भाषामा वा पारामा लेख्छ । त्यो पनि सत्य ।

लेखकले लेखेको कुरो सडकमा पुग्दैन । त्यो सुकिला–मुकिलाकहाँ पुग्छ । सुकिला–मुकिलाहरूले पढेको वा सुनेको त युगौँ भइसकेन र ?

सडकमा पुगिहाले पनि सडकमा भएकाले त्यो बुझ्दैन ।

भारी बोक्नु कि त्यो बुझ्नु? बिम्बै कति घुमेको? ‘मेघका केशमा झुण्डिएर अस्तित्वको युद्ध कसरी जित्नु ?’ रे ! हैट् !!

नाङ्ले पसल कतिखेर भताभुङ्ग पारिदिन्छ पुलिसले, थाहा छैन । कसरी बुझ्नु मेघका केशमा झुण्डिएर…

उता भोक छ । यता ‘भोकको समाजाशास्त्र’ को विमोचन छ ।

उता आँसु छ । यहाँ ‘साल्गीको बलात्कृत आँसु’ विश्वविद्यालयमा पढ्छौँ ।

उता त्रास छ । यता पुस्तक छ ‘त्रास आफन्तको’ ।

उता पहिचानको सङ्कट छ । यता कथा छापिन्छ ‘अपरिचित अनुहार’ ! तातो न छारो !

एउटा तर्क यहाँ खडा हुन्छ ।

सडकका यी तमाम जनताको यथार्थ, र यिनका बारेमा हामीले बनाएको साहित्यका बीचमा पुल कहाँ छ ?

कि, उही पारा हो? ठूलोचौर हो कि कता हो, पुल उद्घाटनकै दिन भाँचियो रे ! मन्त्रीजी खोलामा । अलिपछि अस्तपालमा । होशमा । बेहोशीमा । सुनेको मात्र ।

कि दाबी नै गर्नु भएन । खुरुखुरु आफ्नो कुरा लेख्नुप-यो । होइन भने सडकको कुरा सडकमै पु-याउनु जरुरी छ ।

यसको बाटो के हुन्छ? थाहा छैन तर सोच्नु जरुरी छ ।

दाबी नगर्ने, र अर्कै बाटो हिँडने लेखकलाई त के भन्नु छ र? बाटोले भुलेत्राको फेदमा पु-याहोस् वा भालुखोप, हामीलाई के खसखस? (उनलाई नै नलागेको खसखसको काउछो हामीले किन भिर्नु र, नि?)
तर सडकका यी बासीको आवाज हुँ भनेर दाबी नै गरेर लेख्नेले केही हेक्का राखौँ—

१. सडक र साहित्य — सम्बन्ध गुम्दैछ । यो सत्य हो । यता सोचौँ ।

२. पूँजीवादको जाँतोमा साहित्यको उत्पादन महँगीको बाटो टाकुरैमा पुगिसक्यो । पुस्तक यति महँगा छन्, भुइँमान्छेको पहुँचमै छैनन् । पढ्ने फेरि पनि उनै सुकिला–मुकिला (हामी) । साथीहरू टुप्पी बाजेको होटलमा बसेर तर्क गर्छन् — ‘माथ्थिकाले पढ्च । अनि कुरा बुछ्च । अनि त्यसैगरी नीति बनाउँच । अनि सडकको जीवन सुध्रिन्च ।’ मलाई जवाफ चैँ साथीहरू उठेर गइसकेपछि आउँछ । आउँछ कसरी भने नि— हररररररररर पो आउँछ त ! अघि चैँ कहाँ थेचार्रिएर बसेको थ्यो, कुन्नि? अहिले भेटेको भा क्या जवाफ दिन्थेँ ! थचक्कै हुन्थे होला ।)

३. छापा । अक्षर । छापा । अक्षर । यस माध्यमका पनि कतिपय सीमा छन् । लेखेएको अक्षरलाई किताबका बन्द पानाबाट मुक्त गरेर, अन्य कुनै माध्यमबाट उडाउन पो सकिन्छ कि ? आवाज बनाएर ? गीत बनाएर ? नाटक बनाएर ? चित्र बनाएर ? चलचित्र बनाएर ? लेखनमै यो सम्भावनालाई ध्यान दिने पो हो कि ?

४. गोमन सर्पजस्तो गुँडुल्किएको, डरलाग्दो भाषालाई अलि सडकको निकट लान सकिँदैन ? अबको जमाना आम–भाष्यको हो भन्नेमा विवादै छैन तर किताब पढ्दा अझै पनि पसिना छुट्ने क्रम जारी छ । अझ कविता पढ्दा एकचोटि मर्नुपर्छ अझै । (मर्नु पर्ने भए किन पढेको त ?)

मलाई जागरणका गीत गाएर गाउँगाउँ हिँड्ने समूहहरूको चेतना, दूरदर्शिता र इमानदारीप्रति गर्व छ । मलाई रूपचन्द्र विष्टहरूजस्ता मान्छेको जनतासमक्ष उभिने, र उनैसँग संवाद गर्ने शैली र प्रयासप्रति पनि गर्व छ । मलाई सडक नाटकको दर्शनमा गहिरो आस्था छ । मलाई अचेलको जनपक्षीय विमर्शका नाममा खुलामञ्चबाट ठूलाठूला माइकमा बोलिने भाषाप्रति घोर आपत्ति छ । खासै अर्थ देख्दिनँ पनि । घोकिएका शब्दावाली — बुझे पो ?

मलाई आपित्त भएर के हुन्छ र ? को हुँ र म ? बात् करता है !

किन चाउरिस मरिच्, आफ्नै पीरले !

अनि कि ? यी कुरा पनि आदर्शवादी कुरा भए केही हदसम्म । अरूको त के कुरा, सरकार नै पनि जनताका कुरा किताबका आकारमा छाप्छ, र महँगो मूल्यमा बेच्छ अचेल । नपत्याए जाऔँ न एक हजारको नोट बोकेर । सरकारी निकाय वा संस्थानले निकालेका कतिवटा किताब आउँछन् हजारमा ? लु न !

अनि, पढ्ने कुरा त अलि परै राखौँ ।

सडकको कुरो किताबमा पुग्छ ।

किताबको कुरो सडकमा पुग्छ कसरी?

यो कुरो मेरालागि घरछेउमै पहिरो भएको छ ।

तर सडककै आवाज हुँ भन्नेले यस कुराको चिन्ता लिएको मैले चाहिँ देखेको छैन आजका मितिसम्म ।

पूँजीवादले जनताको साहित्यलाई जनताको पहुँचभन्दा दिनदिन टाढा टाढा लाँदैछ ।

कति टाढा ?

नाप्नलाई अहिले मसँग मिटर भएन, सम्धीज्यू ! तर एउटा कुरा छः घोर ग्लानि । किन, थाहा छैन ।