रम्बास कविता संरचना र लेखनशैली Rambas kawita sanrachana ra lekhanshaili-by dipak subedi

पृष्ठभूमि

लेखनलाई केन्द्र बनाएर नेपाली भाषासाहित्यका इतिहासमा गरेका र भएका आन्दोलन, अभियान, काण्ड, पर्व, वाद, विचार र शैलीले विशेष महत्त्व राख्दै आएका छन् । साहित्य सृजनाका लागि उत्प्रेरणा र परम्परामा भिन्न विचारसहित नयाँ आयाम दिने यी भाषासाहित्यको जीवन्त गति हुन् । नेपाली साहित्यका इतिहासमा मोतीमण्डली (वि.सं. १९३८) नै पहिलो साहित्यिक अभियान मानिन्छ । अन्य विधामा भन्दा कविता विधामा विविध अभियान र आन्दोलनको प्रभाव धेरै पाइन्छ । सङ्ख्यात्मक रूपमा पनि कविता विधाको क्षेत्रमा नै यी आन्दोलन र अभियान ज्यादा केन्द्रित छन् ।

असम नेपाली भाषा र साहित्यको एउटा केन्द्र हो । असमेली नेपाली कविता लेख्य रूपमा देखिनुपूर्व मौखिक परम्परामा विकसित हुँदै आएको देखिन्छ । सन् १८९३ देखि असमेली नेपाली कविताको लेख्य रूपको प्रारम्भ भएदेखि वर्तमान अवस्थासम्म निरन्तर रूपमा असमेली नेपाली कविता गतिशील छ । भारतवर्षको उत्तर पूर्वाञ्चलको असमबाट अप्रिल, सन् २०२० मा पहिलो पटक रम्बास् कविता लेखनको आरम्भ भएको देखिन्छ ।

रम्बास कविताको परिचयर संरचना

रम्बस (Rhombus) ग्रीक भाषाबाट आएको शब्द हो ।जसलाई ग्रीक भाषामा Bullroarer Shap भनिन्छ । यसको अर्थ A Spinning Top हुन्छ भने नेपालीमा समबाहु चतुर्भुज हुन्छ । रेखागणितमा ‘रम्बस’ भन्नाले चारओटा भुजाहरूको लम्बाइ र विपरीत कोणहरू बराबर भएको समानान्तर चतुर्भुज बुझिन्छ । यही ‘रम्बस’ बाट नेपाली साहित्यको कविता विधामा ‘रम्बास’ शब्द निर्माण गरी रम्बास् कविताको लघुरूप निर्माण गरिएको छ ।

दीपक सुवेदी

एउटा शाब्दिक वर्णबाट सुरु गरेर क्रमशः दोस्रो, तेस्रो गर्दै दसौँ पङ्क्तिसम्म दसओटा वर्णलाई भावना अनुसार सजाएर पुनः दशपछि नौ, आठ गर्दै अन्तिम शाब्दिक वर्ण प्रयोग गरी मोठ उन्नाइसओटा पङ्क्तिमा एकसय वर्णमा सक्नुपर्ने ज्यामितिको रम्बास आकारमा लेखिने कवितालाई रम्बास कविता भनिन्छ (सापकोटा, kenjokhabar.com)। यो अपरम्परागत शैली र आकारमा लेखिने कविता केही साधारण नियमले लेखिन्छ । (बोहोरा,) । यो एक चतुष्कोणी कविता अर्थात् चारकुने आकृतिमा लेखिने कविता हो । कविताका शब्द र वर्णहरूलाई विभिन्न आकारमा, चित्रको रूपमा सजाएर विचित्रको अनुभूति अभिव्यक्त गर्दछन् (दाहाल, nepaltouch.com) । अङ्ग्रेजीमा विभिन्न वस्तुहरूको आकारमा अक्षर राखेर विविध कविताहरू लेख्ने चलन एक समयमा चलेको थियो र छ पनि । यस खाले चित्रात्मक कवितालाई concrete poetry भनिन्छ । असममा लेख्न थालेर कृतिसम्म निस्किसकेको वर्णपिरामिड र रेखा कविता पनि यसै अन्तर्गत पर्दछ (दाहाल, nepaltouch.com)। यसको संरचनामा निम्न सर्त पूरा भएको हुनुपर्छ ।

क) एउटा शीर्षक हुनुपर्छ ।

ख) जम्मा १९ पङ्क्तिमा अक्षरसङ्ख्या एक सय हुनुपर्छ ।

ग) एक अक्षरबाट सुरु भएर एक अक्षरमै समाप्त हुनुपर्छ ।

घ) एकदेखि दश पङ्क्तिसम्म अक्षरसङ्ख्या क्रमशः एक, दुई, तिन, चार, पाँच, छ, सात, आठ, नौ र दशओटा हुनुपर्छ । त्यसपछि क्रमशः नौ, आठ, सात हुँदै एउटा अक्षरमा टुङ्गिनु पर्छ ।

ङ) आधा अक्षर र हलन्त लागेको अक्षरको गन्ती हुँदैन । सग्लो अक्षरको मात्रै गन्ती हुन्छ ।

च) सुरु र अन्त्यमा एउटै अक्षर हुन सक्छ । भिन्न अक्षर पनि हुनसक्छ ।

छ) कवितामा एउटा सिङ्गो कविताको अभिव्यक्ति हुनुपर्छ ।

ज) यसको भावपक्ष जति महथत्त्वपूर्ण हुन्छ संरचना पक्ष पनि उत्ति नै महत्त्वपूर्ण हुन्छ ।

झ) यस कवितामा मानव मनका सबै खालका अनुभूति व्यक्त गर्ने क्षमता हुन्छ ।

ञ) यो कविता ज्यामितीय रम्बस् तथा चतुष्कोण आकारमा लेखिनु पर्छ ।

रम्बास कविता अक्षरसङ्ख्याका आधारमा लेखिने हुँदा रम्बास कविताको अध्ययन, विश्लेषण र मूल्याङ्कनका लागि अक्षरका प्रकार, संरचना र सङ्ख्या जान्न र बुझ्नआवश्यक हुन्छ ।

अक्षर परिचय

‘अक्षर’ तत्सम शब्द हो । अङ्ग्रेजीमा अक्षरको समानार्थी शब्द Syllable मानिन्छ । वर्णभन्दा माथिल्लो भाषिक एकाइलाई अक्षर भनिन्छ अथवा सासको एक झोक्कामा उच्चारण हुने भाषिक एकाइ अथवा लेखिने ध्वनि समूहलाई अक्षर भनिन्छ । वास्तवमा बोलीचालीका हिसाबमा अक्षर भन्नाले एक झट्कामा वा एक पटकका उच्चारणमा उच्चरित हुने ध्वनि वा ध्वनिसमूह हो । अक्षर एउटा ध्वनिको यस्तो एकाइ हो जसलाई टुक्रयाउन सकिँदैन, त्यसैले यसलाई क्षरण नहुने अर्थात् अक्षर भनिएको हो । अक्षरलाई वर्ण पनि भन्ने गरिन्छ । यसअनुसार एक अक्षरमा एउटै ध्वनि पनि हुनसक्छ, एकभन्दा बढी पनि ।

नेपाली भाषामा शब्दको लेखाइअनुसार उच्चारण हुन सक्ने स्थिति छैन । यस्तै नेपाली भाषामा लेख्य रूपमा रहेका कतिपय वर्णको उच्चारण सोहीअनुसार हुँदैन । वर्ण दुई किसिमका हुन्छन्– स्वरवर्ण र व्यञ्जनवर्ण । नेपाली भाषाका स्वरले एक्लै अक्षर बनाउन सक्छन् र व्यञ्जनवर्णसँग मिलेर पनि अक्षर बनाउँछन् । तर व्यञ्जन वर्णले एक्लै अक्षर बनाउन सक्दैनन् । व्यञ्जन वर्णले स्वरसँग मिलेरमात्र अक्षर बनाउँछन् ।

अक्षरको बनोट नै अक्षर संरचना हो । कुन कुन वर्ण मिलेर अक्षर बन्छ भन्ने कुरा थाहा पाउनु अक्षर संरचनाको ज्ञान हो । शब्दमा रहेका अक्षरको सङ्ख्या पत्ता लगाउन र त्यस अक्षरको उच्चारण कसरी हुन्छ भनेर देखाउनु शब्दको अक्षर संरचना देखाउनु हो । जति स्वरध्वनिहरूको उपस्थिति हुन्छ, एउटा शब्दमा त्यति नै अक्षर हुने कुरा निर्विवाद देखिन्छ ।

शब्दको अक्षर संरचना देखाएर अक्षर सङ्ख्या निर्धारण गर्नुलाई अक्षर सङ्ख्याको पहिचान भनिन्छ । रम्बास कविता अक्षर सङ्ख्याका आधारमा लेखिने भएको हुँदा कविमा अक्षर संरचनाको ज्ञान हुन आवश्यक छ ।

रम्बास कवि र कविता

भारतवर्षको उत्तर पूर्वाञ्चलको असमबाट अप्रिल, २०२० बाट रम्बास कविता लेखन आरम्भ भएको थियो । रम्बास कविताको पहिलो कृति नै मिलन बोहोराको तानाबाना (२०२१) हो । यसपछि भने मिलन बोहोरा र देवीचरण सेडाइँको सम्पादनमा वरपिपल (सन् २०२२), गिरिधारी उपाध्यायको शालिग्राम (सन् २०२२), अर्जुन उप्रेती अप्रतिमको सयपत्री(सन् २०२२), जगन्नाथ उपाध्यायको कलनाद (सन् २०२२), सिक्किमबाट गीताश्री शर्माको तिलस्मी (सन् २०२२) र नेपालबाट शेषमणि आचार्यको डाली (वि.सं. २०७९)र एल.पी. पराजुलीको काव्यसुधा (वि.सं. २०७९) प्रकाशति रहेका छन् । यसरी कृतिगत उपस्थितिसँगै विभिन्न पत्रपत्रिकामा अहिलेसम्म सम्बास कविता लेख्ने कविहरूको लामै पङ्ति समेत रहेको देखिन्छ । जसमा मोहन सुवेदी, रोहित सैजु, पुष्कर रेग्मी, वसन्त हरियाली, सीता विष्ट कार्की, रवीन्द्रनाथ पोख्रेल, शेषमणि आचार्य, घनश्याम पौडेल, अर्जुन उप्रेती, डा.जगन्नाथ उपाध्याय, देवीचरण सेढाईँ, भीम धमला, पुरुषोत्तम उपाध्याय, खडानन्द दुलाल, लोकनाथ शर्मा, प्रितम आचार्य, प्रकाश कुइँकेल, गिरिधारी उपाध्याय, मुकेश रेग्मी, कृष्णलाल शर्मा, मिनादेवी फुयँल, कुञ्जदेवी उपाध्याय, दुलुमनि देवी, हिरनमयी आचार्य शर्मा, नीता गुरुङ भाटिया, प्रियङ्का शर्मा, मिना पौडेल, नरमाया उपाध्याय, गौरव दाहाल, शान्ति भुजेल, लखिकान्त शर्मा, कुलबहादुर छेत्री (कुलेभाइ), सुरज खनाल, दिवाकर न्यौपाने, प्रकाश बुडाथोकी, गोपाल नेवार, चित्र पौडेल, पद्मावति देवी, दीपक दवाडी, रीना भारद्वाज, अरुणकुमार भुजेल, राजेन बोहोरा, अनुपमा कटेल, चन्द्र भट्टराई, अजितकुमार हाजरिका, लीलाकान्त तिमसिना, विनीता उपाध्याय गजुरेल, अनुप शर्मा, प्रेम विश्वकर्मा, अर्जुन निरौला, रेवतीरमण सापकोटा,सुरज धमला, शान्ति भुजेल, गीताश्री शर्मा,टेकनारायण रिमाल, रोहित सैजु, गुरुदत्त ज्ञवाली, अजित आचार्य, रञ्जना निरौला, बाबुराम न्यौपाने ‘उत्स’, आचार्य प्रभा, कुमारप्रसाद भण्डारी, सीता विष्ट (कार्की), श्रीकृष्ण शर्मा आदि रहेका छन् ।

रम्बास कविताको लेखन शैली

संरचनाबद्धताको एक सय अक्षरीय रूपमा एउटा शाब्दिक वर्णबाट सुरु गरेर क्रमशः दोस्रो, तेस्रो गर्दै दसौँ पङ्क्तिसम्म क्रमशः दसवटा वर्ण र पुनः दशपछि नौ, आठ गर्दै अन्तिममा एक वर्ण प्रयोग गरी जम्मा उन्नाइसवटा पङ्क्तिमा रेखागणितको समलम्ब चतुर्भुज आकृतिमा लेखिने कवितालाई रम्बास कविता भनिन्छ । अक्षरको मात्रा मिलाएर दश हरफमा पूर्णअभिव्यक्ति दिने कविता विधाको लघुरूप नै रम्बास हो । अक्षर गणनाका आधारमा लेखिने भएको हुँदा उच्चारण अनुसार रम्बासमा प्रयुक्त अक्षरहरूको गणना गरिनु पर्छ । तर नेपालीमा उच्चारण र लेखनमा भएको भिन्नता वा लेख्य र कथ्य रूपमा पाइने अन्तरले रम्बास कविताको लेखनको शैली दुई प्रकारको पाइन्छ ।

निष्कर्ष

नेपाली साहित्यमा रम्बास कविताको प्रभाव दिनानुदिन बढिरहेको छ । तर अझै आन्तरिक विरोधाभासहरू रहनु, सैद्धान्तिक स्थिरता आइनसक्नु, रम्बासलाई आधार बनाएर कविता विधामा यसको आफ्नै परिचय स्थापना गर्न बाँकी रहनु, नेपाली तथा अन्य भाषामा पर्याप्त मात्रामा सामग्रीहरूको अभाव रहनुलगायत यसका कमजोरीहरू रहेका देखिन्छन् ।

सन्दर्भः

आचार्य, शेषमणि, डाली, रामकुमारी आचार्य नेपाल र इन्द्रप्रसाद नेपाल, तनहुँ, वि.सं. २०७९ ।
उपाध्याय, जगन्नाथ, कलनाद,अनुराग प्रकाशन, असम, सन् २०२२ ।
उपाध्याय, गिरिधारी, शालिग्राम, साझा कलगोष्ठी, विश्वनाथ, असम, सन् २०२२ ।
उप्रेती, अर्जुन अप्रतिम, सयपत्री, पूर्वायण प्रकाशन, असम, सन् २०२२ ।
दाहाल, डम्बर, मिलन बोहोराको नाताबानामा अल्झिँदा, नेपालदुत,titopati.com/2021/08/05/38518 ।
दाहाल, पुरुषोत्तम, रम्बास कविता के हो ?, नेपाल टच,titopati.com/2021/08/05/38518 ।
बोहोरा, मिलन, प्रयोगवाद अनि रम्बास कविता, कोसेलीन्यूज,kenjokhabar.com/details/5369 ।
बोहोरा मिलन, तानाबाना, पूर्वायण प्रकाशन, सन् २०२१ ।
बोहोरा र सेडाइँ (सं.), मिलन, देवीचरण, वरपिपल, खडानन्द शर्मा र पुरुषोत्तम उपाध्याय, असम सन् २०२२ ।
सापकोटा, रेवतीरमण, रम्बास कविता शैलीको काव्यिक आन्दोलन, केन्जो खबर ।
सुवेदी, दीपक, सजिलो नेपाली वर्णविन्यास, मञ्जरी पब्लिकेसन, काठमाडौँ, २०७६ ।
शर्मा, गीताश्री, तिलस्मी, जपपक्ष प्रकाशन, सिक्किम, सन् २०२२ ।