विषय प्रवेश:
साहित्यका अनेकन विधाहरू छन् । वस्तुतः साहित्यका हरेक विधाको आ–आफ्नै स्वरूप हुन्छ । गजल साहित्य पनि आफ्नो निश्चित स्वरूपभित्र रहेर विकसित हुँदै गइरहेको छ । राजामहाराजाहरू तथा उच्चवर्गका व्यक्तिहरूका दरबारमा मात्र सीमित गजल साहित्य आजको विश्व साहित्याकाशमा एउटा सशक्त र बेजोड प्रस्तुतिको विधा बनेको छ । गजलको इतिहास अरबी भाषा साहित्यको कसिदासँग सन्निकट रहेको छ । प्रणयप्रसङ्गमा पाइला टेकेर गरिने मुक्तकीय रचना तस्बिब हो । तस्बिब र कसिदा एउटै रचना जस्ता भए तापनि ती दुईका उद्देश्यहरू भने फरक थिए । तस्बिब विकसित हुँदै जाँदा गजलमा परिणत भएको हो । विकसित हुँदै समकालीन गजलसम्म आइपुग्दा गजलले न त पुरानो परिभाषालाई अँगालो नै मारेको छ न त प्रणयरञ्जन मात्र सीमित रहेको छ । शृङ्गार र यौनजन्य विषयवस्तुलाई टिप्नु र सन्तुष्टि प्रदान गर्नु मात्र आजका गजलको उद्देश्य रहेको छैन । यसले बोकेर ल्याएको छ – मानव चेतनाका स्वरहरू, निचोरेको छ – रुढी परम्परा र चिरेको छ – नयाँ बिहानी ।
अन्तरालमा गजल आङ्खनो परिभाषालाई अति फराकिलो बनाउन सफल भयो । परिणामले देखायो कि गजल माया र प्रेममा मात्र अल्झेर बस्दैन । यसलाई पनि विषयवस्तुको फाँट फुकाउनुपर्दछ । विशुद्ध माया प्रीतिको विषयबाट उम्केर गजल साहित्यले फट्को मार्यो । मतला, मकता, सेर, रदीफ, काफिया, बहर, तखल्लुस आदिको परिधिभित्र बाँधिएर गजलको निर्माण हुन्छ । गजलका लागि रदीफ, बहर, तखल्लुस अनिवार्यभित्र नपरे पनि यिनीहरूको आगमनले गजललाई आकर्षक, सशक्त, चोटिलो बनाउनाका साथै यसको पूर्णतातर्फ भने उन्मुख गराउँछन् ।
गजल शब्दको स्रोत, व्युत्पत्ति र अर्थ
गजल शब्दको मुख्य स्रोत अरबी भाषा हो वा फ्रान्सेली भाषा हो भन्ने बारेमा गजल सम्बन्धी जानकार व्यक्ति तथा गजलकारहरू नै निचोडमा पुग्न सकेका छैनन् । अर्थात्, गजल शब्दको निष्पत्ति सम्बन्धी सबाल एक व्याख्याकारमा मात्र सीमित पनि छैन । यो बहस कुनै बुँदामा पनि सहमत देखिँदैन ।
गजल अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो र यसको अर्थ प्रेमी तथा प्रेमिकाबीचको वार्तालाप भन्ने हुन्छ । गजल शब्द अरबी भाषाबाट आएको भए पनि अरबीमा भने गजल लेखिएको जानकारी पाइँदैन । यसको प्रारम्भिक लेखन फारसीबाट आरम्भ भएको स्विकारिन्छ । ग+ज+अल् पदहरूको यौगिक विधानबाट गजल शब्दको व्युत्पादन भएको हो – ब्राजाकी । प्रारम्भिक चरणमा पुग्दा गजल अरबी भाषाबाट आएको हो भन्ने भनाइ युक्तिसङ्गत देखिन्छ । अरबी भाषामा हरिणका पाठा (शावक)लाई गजाला भनिन्छ । शिकारीको तिखो तीरले घायल बनाउँदा त्यस शावकले निकाल्ने सुरिलो स्वरलाई गजल भनिएको हो ।
यसबाहेक अरू तर्कलाई केलाउँदा गजल भन्ने व्यक्तिसँगको निकटतातिर पुगिन्छ । गजल भन्ने व्यक्ति जसले आफ्नो सारा जीवन रक्सीपान र प्रेमविलासमा बिताएका थिए । अरबको गजल नामको सोही व्यक्तिले रचना गरेका साहित्यिक सिर्जना जसमा जीवनलाई प्रेम र विलासमा उनिएका हुन्थे सोही भावइतर सिर्जनालाई गजल नाम दिइएको भन्नेहरूको पनि कमी छैन । अङ्ग्रेजीमा न्बश्भिभि ले अफ्रिकामा पाइने एक हरिणलाई जनाउने हुँदा यसको अपभ्रंश शब्दरूप गजल हो भन्नेहरू पनि भेटिएका छन् ।
गजल शब्दको स्रोत हेर्दा फारसीभन्दा अरबी मताधिक्य देखिएका छन् । फारसीमा गजल लेखिए पनि गजल शब्दको आयस्रोत अरबी भाषा हो भन्नुमा सहमत हुनु नै युक्तिसङ्गत हुन्छ । यसको शाब्दिक अर्थले हेर्दा पनि गजल अरबी भाषाको उपज हो भन्ने कुरालाई नै स्वीकार गर्नुपर्ने हुन्छ ।
गजलको इतिहास
गजलको जन्म ईसाको दशौँ शताब्दीमा इरानमा भएको हो । जसरी पूर्वमा दर्शन, अर्थशास्त्र, सङ्गीत, राजनीति, शिक्षाजस्ता ज्ञानका सबै शाखाको मूल खोज्दै संस्कृतसम्म पुगिन्छ अनि युरोपमा त्यो खोज ल्याटिन र ग्रिक भाषासम्म पुग्छ त्यसरी नै मध्यपूर्व एसियाको जरा अरबी र फारसी भाषासम्म जोडिएको छ । गजलको मूल स्रोत इस्लामपूर्वको अरबी भाषा हो । तर ‘गजल’ शीर्षकमै अरबीमा कुनै साहित्यिक विधा भने भेटिँदैन । अरबी भाषाको ‘कसीद:/कसीदा’ नामक काव्यविधा गजलको पैत्रिक थलो हो भन्ने समालोचकहरूको ठम्याइ छ । बादशाह र नबाबहरूको प्रशंसामा रचिने स्तुतिगान प्रकृतिको कसीदामा भूमिकाको रूपमा अग्रभागमा रहने ‘तश्बीब/नसीब’ नै इसाको दशौँ शताब्दीको मध्यतिर फारसीमा गजलको रूपमा विकसित भएको हो । १०० को हाराहारीमा श्लोक/पद्य/शेर/कपलेट समेटिने कसीदाबाट विकसित गजलमा भने सामान्यतया ५ देखि १२ शेरसम्म रहने गरेका छन् । छोटो, प्रभावकारी र अपेक्षाकृत विस्तृत विषयवस्तु समेटिने हुनाले इरानमा गजलले सर्वाधिक लोकप्रिय विधाका रूपमा कसीदालाई विस्थापित गरेको देखिन्छ । इरानी कवि ‘रौदकी’लाई गजलको जन्मदाता मानिन्छ । उनी दृष्टिविहीन कवि थिए ।
वाहिदी, निजामी, महाकवि फिरदौसी-लगायतका फारसी कविले गजललाई स्वतन्त्र विधाका रूपमा विकास गरे । ईसाको बाह्रौँ शताब्दीको उत्तरार्धतिर मुस्लिम शासकहरूको प्रवेशसँगै गजल भारत प्रवेश गरेको मानिन्छ । इरानी सभ्यता, संस्कृति, भाषा र साहित्यसित भारतीय संस्कृति र नव्य भारतीय आर्य भाषाहरूको संसर्गबाट ईसाको पन्ध्रौँ शताब्दीतिर विकसित भएको उर्दू भाषामा गजल मौलाएको हो । यद्यपि उर्दूभन्दा पहिले नै सूफी कवि अमीर खुसरो-ले हिन्दीमा गजल लेखनको थालनी गरेको मानिन्छ । गजलको मतलासित मिल्ने उनको एउटा शेर उपलब्ध छ । उर्दूमा सुस्पष्ट रूपमा सत्रौँ शताब्दीको उत्तरार्धमा समसुद्दीन वली-ले गजल-लेखनको जग बसालेको देखिन्छ । उनी समग्र उर्दू कविताका पितामह पनि हुन् । पछि सौदा, मीर तकी मीर, दर्द, गालिब र मोमिन-जस्ता शायर (गजलकार)ले यो परम्परा अघि बढाए । हिन्दीमा आधुनिक गजलको विकासमा दुष्यन्त कुमारको भगीरथ योगदान निर्विवाद छ । उनले गजलको विषयलाई प्रेम र मदिराबाट माथि उठाएर विस्तृत बनाए ।
गजलको परिभाषा तथा यसका विशेषताहरूः
गजलको अरबी भाषाबाट जन्म भएर फारसी, उर्दू, हिन्दी हुँदै नेपाली भाषामा प्रवेश गरेको गजल साहित्य आज प्रमुख विधासमेत बनेको छ । गजलमा हार्दिक पक्ष बलियो रहेको हुन्छ । छोटो संरचनामा व्यापकता समेटिने यो विधा मूलतः सुललित पदावलीमा आबद्ध हुन्छ । हृदयग्राह्य प्रतीकात्मक र भावपूर्ण हुनु गजलको क्षमता हो । गजललाई विश्वसाहित्यमा घोलिएका गजलकार तथा समालोचकहरूले कसरी हेरेका छन् त त्यसतर्फ लागौँ ।
गजलसम्बन्धी परिभाषाहरूः
विभिन्न विद्वानहरू तथा समालोचकहरूद्वारा गजललाई कसरी परिभाषित गरिएको छ भन्ने बारेमा तलका परिभाषाहरूलाई केलाएर हेरौँ ।
इन्साक्लोपेडिया ब्रिटानिका अनुसार इस्लामिक साहित्यमा गजल एउटा छोटो र ओजपूर्ण कविताको रूप हो जसको सम्बन्ध प्रेमको विषयसँग रहेको हुन्छ ।
नेपाली शब्दसागर (बसन्तप्रकाश शर्मा)का अनुसार शृङ्गार वा प्रेमप्रसङ्गको कविता, कुनै छन्दबद्ध नभइ तुक मात्र हुने शृङ्गारिक कविता गजल हो ।
बृहत् नेपाली शब्दकोश (पं हर्षनाथ शर्मा)का अनुसार प्राय शृङ्गार रसका कविता लेखिने फारसी छन्द, त्यस छन्दमा लेखिने कविता गजल हो ।
डा. रोहितास्थ अस्थानाका अनुसार शिल्पका दृष्टिले पाँच, सात वा तीभन्दा बढी सेरहरूको समूहको नाम गजल हो ।
भवानी शंकरका अनुसार गजल एक छन्दबद्ध स्वतन्त्र काव्यविधा हो ।
ज्ञानुवाकर पौडेलः गजल एक संवेदनशील र तीक्ष्ण काव्यविधा हो । यसमा सूक्ष्म र तिख्खर अभिव्यक्ति रहेको हुन्छ ।
डा. कृष्णहरि बरालः भाव, कल्पना, बिम्ब तथा प्रतीक आदिको प्रयोगका साथै निश्चित क्रममा प्रयोग गरिने यस्तो काव्य रूपलाई गजल भनिन्छ जसमा एउटै छन्दका तीन वा तीनभन्दा बढी स्वतन्त्र सेरहरू हुन्छन् ।
मनु ब्राजाकीः गजल भनेको प्रणय कामना र आन्तरिक पीडाका हार्दिक भावहरूको सन्तुलित अभिव्यक्ति रहेको हुन्छ ।
रासाः गजल गजल हो । यसलाई परिभाषित गरिरहनुपर्दछ जस्तो मलाई लाग्दैन । आजकल गजल कुनै परम्परागत परिभाषाभित्र त सीमित छैन भन्देखिन् यसलाई अरू नयाँ परिभाषा दिइरहनु त्यति जरुरी छैन ।
समष्टिगत परिभाषा
उल्लिखित विद्वानहरू तथा यहाँ समेट्न असमर्थ भएका गजलकारहरूको दृष्टिमा गजल एउटा स्वतन्त्र र सशक्त विधा हो । उल्लिखित परिभाषाहरूमा कुनै परिभाषाहरू भने पूर्ण देखिँदैनन् त कुनैले गजलको संरचना तथा अस्तित्वलाई समेट्न सकेका छैनन् । गजलमा आत्मपरकताको आधिक्य रहन्छ । गजलको संरचना जति छोटो भयो त्यो गजल नै बढी प्रभावकारी हुनेमा दुई मत छैन । सबैलाई समेट्ने गरी गजललाई परिभाषित गनुपर्दाः अनुप्रासीय अनुशासनको आसनीमा बसेर सेरहरूको मालामा उनिएको संवेद्य भावहरूको निश्चित संरचनागत बद्धताको समष्टि रूप; जो अभिधार्थबाट मुक्त रहेको हुन्छ त्यो नै गजल हो ।
गजलका विशेषताहरूः
गजलको आफ्नै अस्तित्व रहेको छ । त्यसकारण गजल विधाका पनि पृथक् किसिमका विशेषताहरू रहेका छन् । तिनीहरूलाई निम्नानुसार बुँदागत रूपमा देखाउन सकिन्छ ।
गजलले संरचनागत सिद्धान्तलाई प्राथमिकता दिएको हुन्छ ।
मानवीय जीवन र जगतसँग सन्निकट रहेर गजलको सिर्जना हुने गर्दछ ।
गजलमा शब्दगत शिल्पलाई प्राथमिकता दिइएको हुन्छ ।
गजल एक स्वतन्त्र र सशक्त काव्यविधा हो ।
गजलको व्युत्पत्ति गेयपरम्पराबाट भएको हो र अहिले पनि यो निकट नै रहेको छ ।
गजल सकेसम्म अभिधार्थबाट मुक्त रहेको हुन्छ ।
गजल आत्मपरक हुन्छ, मकतामा अझ धेरै हुन्छ ।
एउटा पूर्ण गजलमा कम्तीमा ६ पङ्ति अर्थात् तीन सेरलाई अनिवार्य मानिएको छ । गजलमा सेरको सङ्ख्या जति कम भयो त्यो त्यति वजनदार हुन्छ । बढीमा यति नै सेर सङ्ख्या भनेर काव्यशास्त्रले सीमा तोकेको छैन । तापनि बढी सेरको आगमनले गजललाई वस्तुपरकतातर्फ लैजाने डर हुन्छ ।
गजलमा मुक्तकीय प्रभावको कुनै अंश पनि बाँकी रहँदैन ।
सबै सेरमा एउटै छन्दको प्रयोग हुन्छ ।
काफियाको निश्चित व्यवस्था हुन्छ, यसको अनिवार्यताले सेरहरूबीच एकत्व प्रदान गर्दछ ।
छन्द, रदीफ, अनुप्रास आदिले गजललाई सङ्गीतमय बनाउँछन् ।
गजलमा एउटा सेरमा नै त्यसको आशय टुङ्गिएको हुन्छ । यसर्थ गजल स्वतन्त्र भइकन यसका प्रत्येक सेरसमेत स्वायत्त रहछन् । एउटै गजलमा धेरै विषयवस्तुको प्रयोग गर्न यसको सिद्धान्तले छुट दिएको छ ।
यसको आरम्भ मतलाबाट र अन्त्य मकताबाट भएको हुन्छ ।
यसमा मतला, मकता, काफिया, रदीफ, सेर, मिसरा, बहर, वजन आदि संरचक तत्त्वहरू रहेका हुन्छन् ।
यी विशेषताहरूले गर्दा गजल आजको साहित्यिक क्षेत्रमा एक स्वायत्त विधा बनेर आफ्नो अस्तित्वको रक्षा गरिरहेको छ ।
गजलका प्रकार
गजल दुई प्रकारका हुन्छन् –
१. विषयवस्तुको आधारमा
२. रदीफको आधारमा
विषयवस्तुको आधारमा:
विषयवस्तुको आधारमा लेखिने गजल दुई किसिमका हुन्छन्।
मुसलसल गजल:- जुन गजलका सबै शेरहरू एउटै विषयवस्तुमा लेखिएका हुन्छन्, त्यस्तो गजललाई मुसलसल गजल भनिन्छ।
गैरमुसलसल गजल:- जुन गजलका शेरहरू फरक-फरक विषयवस्तुमा लेखिएका हुन्छन् भने त्यस्तो गजललाई गैरमुसलसल गजल भनिन्छ।
रदीफको आधारमा:-
यस आधारमा पनि गजल दुई किसिमका हुन्छन्।
मुरद्दफ गजल: जुन गजलमा काफिया र रदीफ दुवैको प्रयोग भएको हुन्छ त्यस्तो गजलाई मुरद्दफ गजल भनिन्छ।
गैरमुरद्दफ गजल: जुन गजलमा रदीफको प्रयोग भएको हुँदैन अर्थात् रदीफविहीन गजललाई गैरमुरद्दफ गजल भनिन्छ।
गजलको संरचनाः
अरबी भाषाको शब्द जसको आज विश्वसाहित्यमा उल्लासमय तबरले गुणगान गाइराखिएको छ । यसको व्यापकता दिनानुदिन बढ्दो छ । गजल आफ्नो छुट्टै संरचनागत परिवेशमा छ । आज गजल एउटा सर्वप्रधान विधा बनिसकेको छ । गजलका आफ्नै प्रकारमा नियम र संरचनागत तत्वहरू पनि छन् । तिनीहरू साहित्यका अरू कुनै विधासँग हुबहु सम्बन्ध राख्दैनन् । मूलतः गजल अरबी भाषाबाट आएको हुँदा यसमा प्रयोग भएका शब्दहरू सबै अरबी भाषाबाट आउनु स्वाभाविक नै हो । गजलमा काफिया प्रयोगको संरचना ब्ब्, द्यब्, ऋब्, म्ब्, भ्ब्, ब्ँ, ।। को सूत्रमा रहेको हुन्छ) । गजलमा पहिलो र दोस्रो त्यसपछिका विजोर पङ्तिहरूमा काफियाको प्रयोग भएको हुन्छ । जसलाई तलको उदाहरणले स्पष्ट पार्नेछ । यसर्थ गजलमा प्रयुक्त सेरहरूमा काफियाको आगमन (अन्त्यानुप्रास) पहिलो दुई पङ्तिमा र त्यसपछिका हरेक सेरको मिसर–ए–सानी (दोस्रो पङ्ति)मा हुनु जरुरी रहन्छ । गजलमा रदीफ (काफियापछि दोहोरिने शब्द) अनिवार्य नमानिए पनि यसको प्रयोगले गजललाई सुसज्जित बनाउनमा ठूलो भूमिका खेलेको हुन्छ । मुरद्दफ गजलमा रदीफको आगमन पनि उल्लिखित काफियाको स्वरूपमा भएको हुनुपर्दछ । गजलले रदीफको आक्षरिक क्रम भन्ने भङ्ग गर्न निषेध गरेको छ । गजलका सबै सेरहरूमा एउटै प्रकारको छन्द प्रयोग गरिएको हुनुपर्दछ । एउटै गजलका विविध सेरहरूमा फरक–फरक विषयवस्तुको उपस्थितिलाई गजलको सिद्धान्तले स्वीकार गरेको पाइन्छ ।
गजलका संरचनागत तत्वहरू निम्नबमोजिमका छन्ः
काफियाः
काफिया गजलको एउटा अपरिहार्य तत्त्व हो । काफिया अरबी भाषाबाट निष्पन्न शब्द हो । यो अरबी भाषाको पुलिङ्गी शब्द हो । यसलाई साहित्यिक हिसाबले अर्थ्याउँदा अनुप्रास, अन्त्यानुप्रास वा तुक हुन्छ । रदीफको अगाडि काफिया अनुप्रासीय शैलीमा आएको हुन्छ । रदीफको प्रयोग नभएका गजल (गैरमुरद्दफ गजल) मा काफिया नै अन्त्यानुप्रास बनेको हुन्छ । अन्यथा उपान्तानुप्रास बनेको पाइन्छ । काफियाको अभावमा गजलले संरचना नै प्राप्त गर्न सक्दैन । गजलमा साङ्गीतिकता प्रदान गर्नमा काफियाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । गजलको मतला (सुरुवाती सेर) भागमा भएका दुवै पङ्तिमा काफियाको प्रयोग अनिवार्य हुन्छ । त्यसपछिका प्रत्येक सेरका दोस्रा–दोस्रा पङ्तिमा काफियाको उपस्थिति रहेको हुन्छ । मतला भागका दुवै सेरहरूमा पनि काफिया हुनसक्छ । यसरी दुवै सेरमा काफियाको प्रयोग भएको छ भने त्यसलाई हुस्ने–मतला वा मतला–ए–सानी भनिन्छ । गजलका सेरहरूमा काफियाको पुनरावृत्तिलाई समेत स्विकारिएको पाइन्छ । काफियाका पनि विभिन्न रूपहरू छन् । एकाक्षरी काफिया, शब्दांश काफिया, पूर्णशब्द काफिया र मिलित काफिया गरी गजलमा प्रयुक्त शब्दको अनुप्रासलाई हेरी काफियाको वर्गीकरण पनि गरिएको छ ।
पूर्ण काफियाः पूर्ण शब्दको प्रयोगलाई पूर्ण काफिया भनिन्छ जस्तैः गर्न तर्न छर्न झर्न मर्न आदि ।
आंशिक वा शब्दांश काफियाः शब्दका अन्तिमका केही अक्षरहरू काफियाको रूपमा प्रयोग भएका छन् भने त्यस्तालाई शब्दांश काफिया भनिन्छ। जस्तैः कहानी, सिरानी, निशानी, जवानी, जिन्दगानी, तानी आदिमा आनी आंशिक वा शब्दांश काफिया हुन्छ।
उदाहरण:
[कहानी = क + ह + आ + नी, सिरानी = सि + र + आ + नी, जवानी = ज + व + आ + नी, तानी = त + आ + नी]
हम काफियाः काफियाको साथमा जोडिएर आउने शब्दलाई “हम काफिया” भनिन्छ।
उदाहरण:
“बनाउने” र “बिसाउने”
ब + न + आ + उ + ने, बि + स + आ + उ + ने
“आउने” शब्दलाई “आंशिक काफिया” भनिन्छ भने “वन्” र “विस्” हम काफिया हुन्छन्।
एक अक्षरे काफियाः शब्दको अन्तिम अक्षरलाई मात्र काफियाको रूपमा प्रयोग गरिएको छ भने त्यस्तालाई एक अक्षर काफिया भनिन्छ जस्तैः कथा सदा मजा गला आदि त्यस्तै हो त्यो रातो कालो आदि।
…
रदीफ
रदीफले साहित्यिक सन्दर्भमा काफियापछि दोहोरिने शब्द वा शब्दसमूह’को परिचय लिएको छ । व्युत्पत्तिगत हिसाबमा रदीफ अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो । यसको खास अर्थ घोडा वा ऊँटको पछाडि बसेको व्यक्ति’ भन्ने बुझिन्छ । गजलमा यसको प्रयोगलाई ऐच्छिक श्रेणी दिइएको भए पनि रदीफले गजललाई निकै सुसज्जित बनाउँछ । अधिकांश गजलहरूमा रदीफको उपस्थिति पाइन्छ । मतला भागको दुवै पङ्तिमा र अन्य सेरका प्रत्येक दोस्रा पङ्तिमा काफिया पछि रदीफको प्रयोग भएको हुन्छ । यसले गजललाई गेयात्मक तथा साङ्गीतिक बनाउँछ । वाचनको क्रममा पनि मिठासता थपेको हुन्छ । गजल साहित्यमा यसको प्रयोग अनिवार्य ठानिएको छैन । तसर्थ, रदीफको प्रयोग गरिएका गजललाई मुरद्दफ गजल’ र रदीफ विहीन गजललाई गैरमुरद्दफ गजल’ भनी वर्गीकरण समेत गरेको पाइन्छ ।
हमरदीफः कुनै कुनै गजलमा भएका दोहोरिएका रदीफहरूलाई हमरदीफ भन्ने चलन छ।
जस्तै:
सुकेपछि मनको घाउको, खाटो अलि अलि।
याद आयो तिम्रो घरको, बाटो अलि अलि।
– करुण थापा
माथिका ‘अलि अलि’मा दोहोरिएका रदीफ छन् तिनलाई नै हमरदीफ भनिन्छ।
एकल रदीफः शेरमा एक शब्द प्रयोग भएको रदीफलाई एकल रदीफ भनिन्छ।
बहुल रदीफः शेरमा एकभन्दा बढी शब्दहरू प्रयोग भएमा “बहुल रदीफ” भनिन्छ।
….
सेरः
सेर अरबी भाषाको शब्द हो । यसको खास अर्थ भने कपाल भन्ने हुन्छ । तथापि, साहित्यिक सन्दर्भमा यो अर्थले मान्यता पाउँदैन । हुन त गजलरूपी टाउकोमा तीन वा तीनभन्दा बढी कपालको अनिवार्यता रहन्छ । गजल निर्माण हुनको लागि कम्तिमा ६ पङ्तिलाई अनिवार्य मानिन्छ । यसरी गजलमा प्रयुक्त प्रत्येक दुई–दुई पङ्तिलाई एक सेर मानिन्छ । मतलब, एक सेरमा दुई पङ्ति रहेका हुन्छन् । गजलका प्रत्येक सेरहरू स्वतन्त्र नै रहेका हुन्छन् । सेरहरूको मालालाई गजलको रूपमा लिइएको छ । एउटा पूर्ण गजलमा थोरैमा तीन सेर र काव्यशास्त्रमा बढीमा सेरको कुनै निश्चितता देखिँदैन । सामान्यतया एउटा गजलमा अधिकतममा एघार सेरमम्म रहनुपर्नेमा अनुसन्धानकर्ताले बताएको पाइन्छ । जुनसुकै गजल पनि कुनै न कुनै बहरमा बद्ध रहेको हुन्छ । गजलका प्रत्येक सेरमा एउटै किसिमको बहर रहेको हुन्छ । गजलका सेरहरू आफैमा स्वायत्त रहन्छन् । सैद्धान्तिक नियमभित्र रहेर रचना गरिएका गजलहरूमध्ये जति कम सेरमा गजलले पूर्णता पाएको हुन्छ त्यति नै गजल खँदिलो, प्रभावकारी र वजनदार हुन्छ भन्ने मान्यता छ । गजलमा सेरको आधिक्यले गजललाई आत्मपरकभन्दा वस्तुपरकतामा लगेर गजल फितलो बन्न जाने डर हुन्छ । गजलका सेरहरू स्वायत्त रहने हुनाले सेरपिच्छे विषयवस्तुमा विविधता भित्रिन सक्छ । विषयवस्तुको प्रयोगका हिसाबले हेर्दा गजलको मतला भागदेखि मकता भागसम्म नै एउटै विषयवस्तु समेटिएको छ भने त्यस गजललाई गजल मुसलसल र विभिन्न सेरहरूमा विविध किसिमको विषयवस्तुको प्रवेश भएको छ भने त्यस गजललाई गजल गैरमुसलसल भनिन्छ । गजलका हरेक सेरहरूको भार एकै किसिमको हुँदैन । सेरहरूको बनावट कसिलो र फितलो गरी बनेको हुन्छ । गजलमा प्रयुक्त सेरहरूमध्येको सबैभन्दा उत्कृष्ट सेरलाई हासिले गजल सेर भनिन्छ ।
मतला
मतला/मत्ला गजलको सुरुको सेर हो । मतलाको अर्थ उदय वा प्रारम्भ हुनु भन्ने हुन्छ । गजलको मतला भागका दुवै पङ्तिमा काफियाको प्रयोग गरिएको हुन्छ । कुनै गजलमा सुरुबाट दोस्रो सेरसम्म पनि काफियाको प्रयोग गरिएको छ भने ती दुवै सेरहरू गजलको मतलामा गनिन्छन् । यसरी दुवै सेरमा काफियाको प्रयोग भएको छ भने त्यसलाई हुस्ने–मतला वा मतला–ए–सानी भनिन्छ । रचनाकारले गजलका अरू सेरहरूमा भन्दा मतला भागमा सैद्धान्तिक नियमहरू पूरा गरेर अरूभन्दा उत्कृष्ट बनाउने चेष्टा पनि गरेको हुन्छ; किनकि गजल वाचनको क्रममा मतला भागको पुनरावृत्ति भइरहन्छ । यदि गजलको मतलामा नै आक्षरिक विचलन वा उच्चारणगत कठिनाई देखियो भने श्रोताका दृष्टिकोणमा त्यो गजल नै भताभुङ्ग भएको ठहर्छ । यसरी गजलको मतलाले नै गजलकार र सम्पूर्ण गजलको स्तरलाई नै प्रस्ट पारिदिएको हुन्छ । गजलको भावगाम्भीर्य समेत यही मतलाको अभिव्यक्तिले दिएको हुन्छ ।
मकता
गजलको अन्तिम सेर नै मकता/मक्ता हो । मकताको शाब्दिक अर्थ भनेको समाप्ति वा टुङ्ग्याउनी भन्ने हुन्छ । यसलाई नेपाली गजलको भाषामा अन्तिम सेरको नामाकरण गर्दा पनि कुनै फरक पर्दैन । अन्तिम सेरमा गजलाकारले आफ्नो नाम तथा उपनाम द्विअर्थात्मक शैलीमा पनि प्रयोग गरेको प्रशस्तै भेटिन्छ । यसरी तखल्लुस प्रयोग गरिएको अन्तिम सेरलाई मात्र मकता भनिनुपर्नेमा केही विश्लेषकहरूले जोड दिँदै आएका छन् । तथापि, गजलमा तखल्लुस प्रयोग नभएको खण्डमा पनि त्यसलाई मकता भन्न भने चाहिँ बाँकी राखिएको छैन ।
मिसराः
हरेक सेरको प्रत्येक पङ्तिलाई मिसरा भनिन्छ । प्रत्येक पङ्तिलाई फरक–फरक नाम दिइएको छ ।
मिसर–ए–उलाः गजलमा दुई पङ्तिले एउटा पूर्णता पाउँदछ । जसलाई सेर कहिएको छ । तिनै दुई पङ्तिमध्येको पहिलो पङ्तिलाई मिसर–ए–उला भनिन्छ । मिसर–ए–उलामा कुनै विषयवस्तुको उठान गरिएको । सबै कुरा मिसर–ए–उलाले मात्र व्यक्त गर्न सक्दैन । यसले मिसर–ए–सानीको माध्यमबाट प्रस्ट भावको अपेक्षा गरेको हुन्छ ।
मिसर–ए–सानीः गजलको दुई पङ्तिको झुण्डले एक सेर बन्दछ । सेरको पहिलो पङ्तिलाई मिसर–ए–उला भनेझै दोस्रो पङ्तिलाई मिसर–ए–सानी भनिन्छ । यसले गजलमा मिसर–ए–उलाले उठान गरेको विषयवस्तुको भावलाई प्रस्ट पार्ने भूमिका खेलेको हुन्छ । मिसर–ए–उलाले पूणार्थ व्यक्त नगरी मिसर–ए–सानीलाई प्रस्टताको जिम्मा सुम्पदै टुङ्गिएको हुन्छ ।
तखल्लुस
गजलको अन्तिम सेर अर्थात् मकतामा गजलकारहरूले आफ्नो नाम तथा उपनामलाई समेटेर द्विअर्थात्मक शैलीमा प्रयोग गरेका हुन्छन् । यसलाई तखल्लुस भनिन्छ । गजलको तखल्लुसविहीन अन्तिम सेरलाई मकताका रूपमा पनि नमानिएका कैयौँ उदाहरण पनि भेटिन्छन् । तापनि हाल गजलमा आएको भेलले यसलाई बगाइदिएको छ । तखल्लुसलाई गजलको अनिवार्य तत्त्व नमानिएको भएपनि गजललाई तखल्लुसले आकर्षक त बनाउँछ नै र रचना चोरीको सम्भावना पनि तखल्लुसले घटाउने निश्चित छ । मकता भनेको गजलको टुङ्ग्याउनी अर्थात् अन्तिम सेर हो । तखल्लुसको प्रयोग अन्तिम सेरमा मात्र नगरी त्योभन्दा अरू सेरमा पनि गरेको पाइन्छ ।
बहर
जुनसुकै गजल पनि कुनै न कुनै बहरमा हुन्छन् । बहर भनेको छन्द हो । संस्कृत भाषामा मात्रिक र वर्णमात्रिक छन्द भएझै गजलको कठोर अनुशासन बहरका पनि धेरै प्रकारहरू छन् । गजलका कतिपय बहरहरू संस्कृतका पिङ्गल छन्दसँग दुरुस्तै मिल्ने खालका छन् त कतिपय सन्निकट देखिन्छन् । गजलका बहरहरूको सङ्ख्या फारसी भाषामा आएपछि वृद्धि भएको देखिन्छ ।
गजलका अङ्गहरूलाई तलको उदाहरणबाट स्पष्ट पारौँ।
इ सानै उमेर्देखि मन हर्न लागे [मतलाको मिसरा-ए-उला]
यिनै सुन्दरीले जुलुम् गर्न लागे। [मतलाको मिसरा-ए-सानी]
कहाँसम्म आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे।
अघि पर्न सक्दीन मैले हरिका [मक्ताको मिसरा-ए-उला]
नजर्देखि “मोती” पनि र्झन लागे। [मक्ताको मिसरा-ए-सानी] [तखल्लुस “मोती”]
– मोतिराम भट्ट
सेर १ – कसैलाई जोडी हेर्दा, जवानी नै कालो भयो
माया गर्छु भन्दै जाँदा, वखानी नै कालो भयो ।। १ ।। मतला
सेर २ – कहाँ सहज् मानेथेंर, स्वयम्वरी दिन सोच्न
रुढी ग्रस्त समाजमा, वगानी नै कालो भयो ।। २ ।।
सेर ३ – व्यर्थै पो रैछ छुच्ची, तिम्रो मेरो साझा प्रण
जुनी जुगौँ बिताउने, रटानी नै कालो भयो ।। ३ ।। मध्यभाग
सेर ४ – सपनाको महलमा, उज्याला ती मोती जोडेँ
यो जिन्दगी उदाउने, बिहानी नै कालो भयो ।। ४ ।।
सेर ५ – तिम्रो मेरो आजैबाट, आ–आफ्नो बाटो पलायो
घोकिएको राधाकृष्ण, किटानी नै कालो भयो ।। ५ ।। मकता
माथिको गजलमा १,२,३,४,५ गरी देखाइएका गजलका सेरहरू हुन् । यो गजल जम्मा ५ सेरको छ । माथि रेखाङ्कित शब्दहरू जवानी, वखानी, वगानी, रटानी, विहानी, किटानी शब्दहरू काफिया हुन् । त्यसपछि प्रयोग भएका इटालिक अक्षरमा लेखिएका नै कालो भयो शब्दसमूहहरू रदीफ हुन् । गजलका हरेक सेरमा दुई पङ्ति हुन्छन् । यी दुवै पङ्तिलाई गजलको सिद्धान्तअनुसार मिसरा भनिन्छ । यस हिसाबमा माथिको गजलमा १० मिसरा छन् । हरेक सेरको पहिलो पङ्तिलाई मिसर–ए–उला र हरेक दोस्रो पङ्तिलाई मिसर–ए–सानी भनिएको छ । गजलको सुरुवाती सेरलाई मतला भनिन्छ । जसमा गजलको मुख्य भाव पनि लुकेको हुन्छ । गजलको मध्यभाग २,३,४ सेरहरू हुन् । हुनतः तखल्लुस प्रयोग नभएको गजलको अन्तिम सेरलाई मकता भन्न नपाइने भनी उद्घोष गरिएको पनि पाइन्छ । वर्तमान युगको गजलले अब त्यति कठोरता नदेखाउला तसर्थ म माथिको गजलको अन्तिम सेरलाई मकता नै नामकरण गर्दछु । रदीफको प्रयोगका दृष्टिले वर्ग विभाजन गर्दा माथिको गजल मुरद्दफ गजल हो भने विषयवस्तुको प्रयोग एकै किसिमको भएकोले यो गजल मुसलसल हो ।
उखेलेर कुल्ची हिड्ने, कुनै चेष्टा गर्नुहुन्न
हिलो, पानी जहाँपनि, कमल’ भइ फुलिदिन्छु ।।
यो कुनै गजलको एक अन्तिम सेर मकता हो । यसमा आक्षरिक हिसाबले १६ सङ्ख्या रहेका छन् । यसमा प्रयोग गरिएको कमल शब्द तखल्लुस हो । जसले कमलको फूलको रूपमा पनि अर्थ राख्दछ भने अर्काे कमल प्रकाश पौडेलमा प्रयोग भएको स्रष्टाको नाममा पनि उत्तिकै सामिप्य छ । अन्तिम सेर मकता वा अरू जुनसुकै सेरमा पनि प्रयोग भएको गजलकारको नाम तथा उपनामको रूप नै तखल्लुस हो ।
नेपालमा गजल विधाको विकासक्रम
नेपाली गजलको इतिहास यस प्रकार छ।
वि.सं. १९४१–२००२
विक्रमको १९४० तिर मोतीराम भट्टले नेपाली भाषामा फारसी छन्दको प्रयोग गरी गजलको उदय गराए ।
वि.सं.२००३–२०३५
मौलिक नेपाली लय तथा स्वनिर्मित लयमा यसपछिका गजलहरू रचना गरिए। भूपि शेरचन, म.वी.वी.शाह, भीम विराग, राम मान तृषित, शङ्कर लामिछाने, ईश्वरवल्लभ, गोपाल प्रसाद रिमाल आदि प्रतिभाहरू देखिन्छन्।
यस समयमा रचना गरिएका गजल भन्न रुचाइएका सिर्जनाहरूमा काफियाको व्यवस्थापन र प्रयोग अनि, रदीफ र तखल्लुस पनि प्राय भेटिदैन।
वि.सं.२०३६–२०५०
वि.सं. २०३६ सालको ‘मधुपर्क’ साहित्यिक पत्रिकामा ज्ञानुवाकर पौडेलको ‘मुक्तक’ शीर्षकमा प्रकाशन भएको एउटा रचनाले गजलले संरचनाभित्र प्रवेश गरेको मानिएको छ।
ललिजन रावल – केही गजलहरू (२०४२), विरानो यो ठाउँमा (२०४६), सिरानीमा आँसु (२०५९), धर्मागत शर्मा ‘तुफान’– तुफानका गजलहरू, देशको माटो दुख्ने गर्छ, रवि प्राञ्जल– ‘उही बाढी उही भेल’, ‘घामका झुल्काहरू’, ‘तारिदेऊ न माझी दाइ’ आदि गजल सङ्ग्रहहरू प्रकाशनमा भएको छ।
वि.सं. २०५० – हालसम्म
गजलकारहरू मनु ब्राजाकी डा. कृष्णहरि बराल, घनश्याम न्यौपाने ‘परिश्रमी’ आदि वरिष्ठताको श्रेणीमा बाँधिएका छन्।
थारू गजलको इतिहास
पाहिलो गजल संग्रह निकाल्ने पहिलो थारू गजलकार जोखन रत्गैया हुन । उहाँको गजल संग्रह “छोराइल मन” (२०५७) कैलालीबाट प्रकाशित छ । अन्य गजल संग्रहमा भुवन चौधरीको “आछत” २०६१ बैशाख र लक्की चौधरीको “सहिदान” २०६१ जेठ, छविलाल कोपिलाको “भौगर” भदौमा “कहिले फुल्छ उ” बाल गजल संग्रह जुन दुवै नेपाली र थारु भाषामा छ र उहाँकै “छित्रल अक्षर” गजल संग्रह २०६३ प्रकाशित छ । गुर्वावा प्रकाशन प्रालिको अग्रासन मासिकले (२०६२ पुर्णाङ ७) लाई गजल विशेषांकको रुपमा “कैह्देउ गुर्वावा संग्रह” प्रकाशित भयो। जसमा कृष्णराज सर्वहारी, सोम डेमनदौरा, नरेश लाल कुशुम्या, राजकुमार कुसुम्या, नारायण चौधरी, शेखर दहितको दस-दस थान बेशी गजल छन ।२०६६ सालमा लाहुराम चौधरी “जहर”को “फुलरिया”, २०६८ सालमा सागर कुश्मी “संगत” को “हस्ताक्षर” र “फुटल पोक्री” प्रकाशित छन। खुशी राम उमंग चौधरीको “विक्षिप्त मुटु” २०६९ गजल संग्रहको ५२ थान गजलमा १२ थान मात्र थारु भाषाको छन, बाँकी नेपाली भाषामा छन। मोती राम चौधरी “रत्न” को “मनके बोझा” २०७०, रामचरण चौधरी “एकल यात्री”को “मोर टुतल झोपरी”, चन्द्र प्रसाद चौधरीको “गजल माला” अशोक चौधरीको “मनके आवाज” २०७० प्रकाशित छन । २०७१/२०७२ सालमा गजलको धेरै कृति प्रकाशन भयो । २०७१ सालमा सोम डेमनदौराको सम्पादनमा “डिउली” तुलाराम सनमको सम्पादनमा “जेउनास” संयुक्त गजल संग्रहमा १९ जना गजलकारहरुको १०/१० वटा गजलहरु थियो जुन प्रवासबाट प्रकाशित पहिलो थारु कृति हो र रविना चौधरी “रब्बु” को “ओरी” जुन थारु महिला स्रस्टाको पहिलो गजल संग्रह हो । २०७२ मा कृष्णराज सर्वहारी, सोम डेमनदौराको सम्पादनमा “पस्नक पन्हुवा” संयुक्त गजल संग्रह जसमा २१ जना गजलकारहरुको गजलहरु थियो र थारु निश्चलको “परगोह्नी” र पुनाराम चौधरीको “अँख्वा” गजल संग्रह प्रकाशित छन । २०७३ साल जेठमा साउदी अरेवियाबाट दाङका स्रस्टा बुध्धीराम चौधरीको “चिन्हारी” तथा मलेसियामा रहेका अर्का दाङका स्रस्टा एम के कुशुम्याको “मैगर बौछार” प्रकाशित भयो। २०७५ चैत्रमा ६ जना स्रष्टाहरुको संयुक्त गजल संग्रह “तेम्ह्री” मोती रत्नको सम्पादनमा प्रकाशित भयो जसमा निर्मल चौधरी “अन्जान यात्री” सन्देश दहित, दिनेश चौधरी, दुर्जन चौधरी, एच एम परिश्रमीको गजलहरु प्रकाशित भयो । २०७७ मा मोती राम चौधरी “रत्न”को “उद्गार” गजल संग्रह प्रकाशित भयो।
थारू गजलमा नेपाली भाषाको प्रभाव
थारु भाषामा आधा दशक यता युवा साहित्यकारहरूले गजल विधा भित्र्याएका छन् तर गजल लेख्ने आधार नेपाली भएकोले रदिफ, काफिया मिलाउन जबरजस्ती नेपाली शब्द अप्ठ्यारो ढङ्गले पस्किँदै छन् । आछट गजल सङ्ग्रहमा गजलकार भुवनको यी पङ्क्ति हेरौँ,
खन-खन कर्ना कन्चन पानीम लाल रकट छर्ना काजे
सुन्दर शान्त नेपाली माटीम अशान्तिक राह बर्ना काजे
छरेको शब्द प्रयोग भएको छ जब की थारू भाषामा छिट्ना, बोइना भनिन्छ
अर्का गजलकार छविलाल कोपिलाको “भौगर” गजल संग्रहमा संग्रहित गजल हेरौँ
खै का बोलु बोल्ना मुह बन्द बा कि
भाव खुल्ना परिवेश फेन मन्द बा कि
यहाँ बन्द “सँग” छन्द मिलाउन “मन्द” प्रयोग भएको देखिन्छ र नेपाली शब्द “भाव, परिवेश” देखिन्छ ।
त्यस्तै अर्का गजलकार लक्की चौधरीको “सहिदान” गजल संग्रहमा सङ्गृहीत गजल हेरौँ
अप्ने खोट रती-रती चोखा माया देलो काहे
महिनहे पर्खाके अप्ने मजा लेलो काहे ?
प्रस्तुत गजलको शेरमा “चोखा माया” नेपाली शब्द जसको थारु अर्थ “लिरोठे मैयाँ” र “पर्खिनु” जसलाई “पर्खाके” प्रयोग गरि थारुकरण गर्न खोजिएको छ । “पर्खिनु” लाई थारु भाषामा “अस्रा लग्ना” भनिन्छ।
यसरी रदिफ, काफिया मिलाउने निहुँमा थारू गजलकारहरु थारू भाषालाई कृतिम बनाइरहेको देखिन्छ ।
त्यस्तै अर्का गजलकार अंकर अन्जान यात्रीको “पस्नक पन्ह्वा” संयुक्त गजल संग्रहमा संग्रहित गजल हेरौ
गजल ३ (पन्ना ३४)
प्यार भरल मैयक नाट टोर्क आज गैल निष्ठुरी
छाती भित्तर रहल मुटु चोर्ख आज गैल निष्ठुरी
ओरे जहनसे सम्बन्ध जोर्ख आज गैल निष्ठुरी
प्रस्तुत गजलको शेरमा “सम्बन्ध” नेपाली शब्द जसको थारु अर्थ “नाँट” र “जोड्नु” जसलाई “जोर्ख”, “तोड्नु” जसलाई “टोर्क” प्रयोग गरि थारुकरण गर्न खोजिएको छ । “तोड्नु” लाई थारू भाषामा “टुर्ना” भनिन्छ।
त्यस्तै अर्का गजलकार रबिना रब्बुको “ओँरी” गजल सङ्ग्रहमा सङ्गृहीत गजल हेरौँ
गजल ४५ (पन्ना ४५)
टु परलो महङ्गा अकबरी सुन, मै किने नै सेक्नु
टोहार मैँयक पनुवाँ दारल डेलुवा, मै किने नै सेक्नु
गजल १ (पन्ना १)
गजल टे मनके भित्तरसे, निकरल भाब हो कथैं,
बिडम्बना कोइ यहाँ, करटि बटै यकर फे चोरी
प्रस्तुत गजलको शेरमा “सुन” नेपाली शब्द जसको थारु अर्थ “सोन” “बिडम्बना” नेपाली शब्द प्रयोग गरिएको छ जसलाई थारूमा “दु:ख लक्तिक” भनिन्छ ।
यसरी रदिफ, काफिया मिलाउने निहुँमा थारू गजलकारहरु थारू भाषालाई कृतिम बनाइरहेको देखिन्छ ।
निष्कर्ष
राजा–महाराजाहरू तथा उच्चवर्गका व्यक्तिहरूका दरबारमा मात्र सीमित गजल साहित्य आजको विश्व साहित्याकाशमा एउटा सशक्त र बेजोड प्रस्तुतिको विधा बनेको छ । थारू गजल विधा भित्रिएको २ दशक पुगिसक्यो त अझै माया र प्रेमका गजलहरु मात्र समाजिक सञ्जाल भरिराख्नु एकदमै दुःख लाग्दो छ । थारू भाषाको उखान-टुक्का, लोकगीतको सामान्य अंश मात्र अध्ययन गर्यो भने गजबको थारु भाषामा गजल लेख्न सकिन्छ तर त्यस तर्फ गजलकारहरुको ध्यान जानु जरुरी छ ।
सन्दर्भ सामग्री
परिश्रमी: गजल सौन्दर्य मिमांसा, २०६४
रावल, नेपाली गजल विगत र वर्तमान, २०६४, पृ.१५
बराल, गजलः सिद्धान्त र परम्परा २०६४
बराल, प्रतिनिधि नेपाली गजलः २०५७, पृ. क
नेपाल, नेपाली गजल विगत र वर्तमान, २०६४, पृ.३१
कृष्णराज सर्बहारी. थारू साहित्यको इतिहास, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौ २०७३।
कृष्णराज सर्बहारी.सोम डेमनडौरा पस्नक् पन्ह्वा जन्ग्रार साहित्यिक बखेरी २०७२
रबिना चौधरी ‘रब्बु’ ओँरी गजल संग्रह, २०७१
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।