साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

आजको कथाकारले किन जमिनसँग जोडिनुपर्यो र ?

किन जोडिनु पर्यो र जमिनसँग ? किन देखिनुपर्यो र कथामा आम पाठकको अनुहार ? लेखकको ठूलो फोटो, पछाडिको कभरमा आए त भइहाल्यो नि ? यसो भन्न पनि पाइन्छ । भएकै यही त छ नि । होइन र ?

कथै त हो !

यसै भन्छौँ, लेख्दिइहाल्छौँ । भनाैँ न — ख्यासख्यास ।

bahulako diary small and inside post

यस्तै त हुँदैआएको छ, जिन्नकीमा । यसै गरी ३ दर्जनजति पो लेखिएछ त ‘कथा’ नामधारी किरिङमिरिङ ।

कथाको उपादेयताबारे त अगाडि नै भनिसकियो कुनै लेखमा । भन्न त भनियो, आफैँले चैँ लागू गरिएन । सत्ताबाहिर हुँदाको उग्र–राष्ट्रवादजस्तो भनौँ न । ठाम्मा पुगेपछि ओम नमो शिवाय ।

तर कथामा भन्नुपर्ने अरू पनि कुरो हुँदोरहेछ । बुझिनसक्नुको ।

कथाकारका दुइटा टेक्ने ठाउँ हुँदारहेछन् ।

१. भोगेर, टेकेर, छोएर, खेलेर, लढेर, देखेर आएको प्राङ्गारिक जमिन ।

२. सुनेर, पढेर अथवा कल्पना गरेर बनाएको कृत्रिम जमिन ।

यता मान्छेको चार आना जमिन छैन, यहाँ त जमिन नै जमिनको कुरा कसरी भयो ?

कथाकार कुन जमिनमा उभिएर कथा लेख्छ, त्यसले धेरै कुरा फरक पार्ने रहेछ ।

यो कथाको कुरो उपन्यासतिर लगेर टाँस्दा पनि हुन्छ । यहाँ कित्ताकाट छैन ।

एक एक गरेर यी जमिनको विवेचना गरौँ, र कथातिर लगेर टासौँ । त्यसो गरे कसो होला ?

लामै समयदेखि साहित्यलाई पाठकको भौतिक–मानसिक भूगोलसँग जोड्नुपर्छ भन्ने तर्क गरिएकै हो । यो तर्कमा दम छ । यसै तर्कले अनेक वादहुँदै साहित्यलाई अन्ततोगत्वा यथार्थवादमा टेकाएको हो । यसै वादका वरिपरि उभिने माक्र्सवाद, नवइतिहासवाद, सांस्कृतिक भौतिकतावाद आदि यथार्थमा उभिएका वाद आए । सबैभन्दा लामो टिकेको, र टिक्ने सम्भावना भएको वाद पनि यथार्थवाद नै हो, यद्यपि, एउटा लेखकले कुनै वादको फेरो समाउनुपर्छ भन्ने जरुरी छँदै छैन । अथवा, एउटा भूगोलले सत्य मानेको ‘यथार्थ’ नै वैश्विक यथार्थ मान्नुपर्ने पनि कुनै आवश्यकता छैन । सत्य पनि सापेक्षित छन्, विविध छन्, परिस्थितिजन्य छन् ।

देखिएको कुरा भनेको नि ।

कुन पाठकको भौतिक–मानसिक भूगोल समात्ने लेखकले ? किन समात्ने ? नसमाते हुन्न ? आफ्नै घरआँगन समाते हुन्न ?

यो यक्ष प्रश्न हो । यसलाई साधारण विवेचना गरौँ । त्यसो गर्दा, उसले प्रयोगमा ल्याएको जमिनको कुरा स्वतस्फूर्त अगाडि आइपुग्छ, फुत्त ।

नेपालमा, कवितामा भनिएको होस् वा नाटकमा — बालकृष्ण समको सिर्जना एक तहका मान्छेका बीच सीमित रह्यो । पाठ्यक्रमले बाध्य पारेमा सबैले पढे । स्वतन्त्र छोडिदिँदा, निर्बन्ध पाठकले अलि कम नै पढे । तुलनामा, देवकोटालाई जनसाधारणले पनि, र प्राज्ञिकहरूले पनि उत्तिकै पढे । लेन्स फरक भयो होला । हुने नै भयो । तर, पढे त ।

महेश पौड्याल

कारण?

कारण त प्रस्ट छ । देवकोटाले सकेसम्म आफूलाई आममान्छे उभिएको जमिनसँग जोड्ने कोशिस गरे । भेडामा अवतरित भए । दालभात डुकुमा आए । गरिबहरूका उछ्वासलाई समेटे । जनजाति, आदिवासी, पहाड, तराई, छिमेक… सबै । सबै तह र तप्काका मान्छेले कतै न कतै आफूलाई भेटे — चित्रणमा पनि, भाषामा पनि ।

सममा यस्तो अपेक्षाकृत रूपमा निकै कम छ ।

आज हुर्कंदै गरेकाको लेखकले मेरा आदर्श बालकृष्ण सम हुन् भनेर भन्दैन । भने पनि कमैले ।

देवकोटा त भन्छन् बाई । सुनेको छु ।

यो कुरा नि — हाम्रो पुस्ताका लागि एउटा ठूलो पाठ हो ।

किन?

किन भने, दरबार, थोरै प्राज्ञहरू र विशिष्ट विद्वान्हरूको घेरा तोडेर आजको साहित्य, सडकमा आजकै मान्छेसँग तत्काल संवाद गर्छ । र, ती मान्छेले कतै न कतै आफूलाई साहित्यमा भेटेनन् भने तिनको दिलमा, मनमा वा मस्तिष्कमा त्यो गड्दैन ।

भनौँ, जमिनसँग नजोडिएको लेखक दार्शनिक त होला, त्यति व्यहारिक हुँदैन ।

सूक्तिजस्तो त होला, तर अभ्यासमा उतार्न सकिँदैन । त्यसमा आफैँलाई स्थापित गर्न सकिँदैन ।

ऊ जून त होला, तर रोटी बनाएर खान सकिँदैन ।

खाने कुरा हो र लेखन ? साहित्य ?

ऊ इन्द्रेणीजस्तो हुन्छ । टाढाबाट मुख बाएर हेर्न सकिन्छ, माला बनाएर लाउन सकिँदैन ।
माला हो र साहित्य ?

होइन ।

साहित्यमा यो सीमा कसरी आयो?

कुन सीमा ? आम पाठकसँग नजोडिने, कतै चिप्लेर जाने, र कतै आकाशमा उडेर जाने साहित्य । हातमा नआउने । दिल–दिमागमा आफ्नै कथा वा कुराजस्तो बनेर नबस्ने ।

अमेरिकामा ‘नवइतिहासवाद’ भन्ने एउटा लहर चल्यो, सन् १९८० को दशकमा । किताबलाई कसरी घोट्ने भने — केस्रा केस्रा केलाउने । छिद्रान्वेषण भन्छन् अचेल साथीभाइ ।

किन केलाउने?

शब्दका झ्यास पन्छाएर इतिहास खोज्न रे । समाज खोज्न रे ।

त्यसै बेला कतिपय समालोचकले यो अति ‘किताबी’ र ‘कोठे’ भयो, छिटै मर्छ होला भन्ने तर्क गरेका थिए ।

उता बेलायतमा चैँ, यस्तै विचारको, साहित्यमा समाज खोज्ने अर्को अभ्यास चलेको रहेछ । कस्तो भने — किताबमा मात्रै घोटिने होइन कि, समाजमा पनि पुग्ने । खोज्ने । परिआए हस्तक्षेप पनि गर्ने । र किताबी कुरासँग दाँजेर जमिनलाई हेर्ने । रेमण्ड विलियम थुँबा भएको यो अभ्यासलाई ‘कल्चरल मेटेरियालिज्म’ भने । उताको भन्दा यताको दीर्घजीवी भएको कुरो जानकारहरू सुनाउँछन् ।

कताको कुरा कता पुगिगयो । हावामा बेलनु उडेजस्तो ।

यो केस्रा–केस्रा केलाउँदा भेटिने इतिहास भनेको कुन?

किन झ्यास पन्छाएर खोज्नु र इतिहास, कपाल पन्छाएर लिखा खोजेजस्तो? हैट ।

इतिहासका तेत्रा ठेली छन् त ।

लेखेनन् रेन्त हौ, साना मान्छेको इतिहास । ठूलाको मात्रै लेखे रे ।

अनि पो, अक्षरका झ्यास पन्छाएर खोज्नुपरेको रे । ‘इतिहास’ भन्ने विषयले टाउकेको चिनाटिपनमात्रै बटुलेपछि आम मान्छेको इतिहास साहित्यमा पो खोज्नुपर्ने दिन आयो रे ।
कुरो त मनासिब पो छ त ।

अब, जमिन नटेकी लेख्ने लेखकको आलेखमा, यस्तो लघुइतिहास पाइँदैन । अनि आम मान्छेको जीवन पाइँदैन । उनका कथाव्यवथा पाइँदैनन् । यथार्थ पाइँदैन ।

छुँदैन ।

चिप्लेर जान्छ ।

त्सो भयो भने, भोलिदेखि पढ्दैनन् ।

अनि कि, धेरैजसो ‘महान’ लेखकलाई आजका पाठक पढ्दैनन् नि । किन? गोडा चैँ कता छन् कता । भेटिँदैन ।

अति दार्शनिक ती रचना — अति आदर्शवादी पनि भए होला । जमिनमा टेक्दा लुगामा हिलो लाग्ला भन्ने डर, अथवा उकालो चढ्दा आलीलाई पनि ‘हिमाल’ देख्ने लेखकले दरबार, महल वा इमारतमा बसेर लेखे कि क्या हो ? अथवा, दिमागमा सम्भ्रान्त र अति शिक्षित पाठकमात्रै बोके कि क्या हो ? भाषा घुमाएको र कुरो बटारेको हेर्दा त्यस्तै पो लाग्छ त गाँठे ।

यो विवेचनाको विषय त हो नि ?

कुरो त्यसो नै हो भने त, फेरि पनि साहित्य थोरै पढेलेखेका भनिएका, प्राडा, समीक्षक–समालोचक, बाध्यताले अनुसन्धानमा लागेका, अथवा पाठ्यक्रमको घनले हिर्काइएर तर्छेकाहरूमै सीमित हुने भयो ।

कुरो यो पो ।

त्यसैले, जमिनसँग जोडिएको लेखकले, जमिनकै मान्छेको दिल छुन सक्छ ।

आजको कथाकारले किन जमिनसँग जोडिनुपर्यो र ?

कारण यही भयो ।

आख्यानहरूको कार्यपीठिको रूपमा जमिन त आउँछ । नआउने होइन । तर कस्तो जमिन? कत्रो जमिन? त्यो पनि हेर्दारान्, कोही कोही, अचेल ।

किताबै पढेर मात्रै, कुरा सुनेकै भरमा मात्र, अथवा कल्पनै गरेर मात्रै जमिनसँग जोडिन खोज्नेले, दूध तताउँदा भाँडाको दूध उम्लियो भने — ला, दूध बढ्यो भन्दै अर्को भाँडो खोज्न छिमेकतिर दौडन पनि सक्छ । त्यस्तो साहित्यमा जमिनी यथार्थको अनुहार धूमिल देखिन्छ ।

किन जोडिनु पर्यो र जमिनसँग ? किन देखिनुपर्यो र कथामा आम पाठकको अनुहार ? लेखकको ठूलो फोटो, पछाडिको कभरमा आए त भइहाल्यो नि ?

यसो भन्न पनि पाइन्छ । भएकै यही त छ नि । होइन र ?

फोटो त ‘रियल स्टुडियो’मा खिचेर टाँसेको सम्झन्छु ।

जमिनसँग जोड्ने कुरामा पनि एउटा गाँठी कुरा छ ।

त्यो जमिन कति आना हो?

लेखकीय जमिन सारै थोरै भयो, अथवा मेरो निधारजत्रो मात्रै भयो भने नि, दुइटा कुरा हुन्छन् ।

कुरा एक — हरेक रचनामा घुमिफिरी उही जमिन आउँछ ।

कुरा दुई — उस्तै मुड र मनस्थिति दोहोरिन्छ ।

कुरा एकको विवेचना गरौँ ।

उही कार्यपीठिका आउँछ । उस्तै मान्छे आउँछन् । उस्तै लवज आउँछ । उस्तै कुरा आउँछन् । केवल घटनामा विविधता आउँछ । एउटा, दुइटा वा तीनवटासम्म पुस्तक आउँदा त झेलिएला । तर नि, चौथोबाट त लेखक ‘प्रेडिक्टिबल’ अर्थात् पूर्वानुमानयोग्य भएर आउँछ । अब उसको रचनामा कौतूहलता कम रहन्छ । नयाँ कुरा उद्घाटित हुने सम्भावन न्यून हुन्छ । नाम त ठूलो होला, कथाले जमिनमा काम गर्न छोडिसकेको हुन्छ । बाठा हुन्छन् पाठक । पढ्दैनन् ।

साहित्यले काम गर्नै पर्छ र ? नगर्दा हुन्न ?

हुन्छ । हुन्न । हुन्छ । कन्फ्युज्ड ।

अब कुरा दुईका सम्बन्धमा !

कथाकै कुरा गर्दा, कथालाई उभ्याइएको भूगोलमा विभिन्न मनस्थिति वा मुडहरूको खेल हुन्छ । एउटा लेखक चार आना जमिनमा उभियो भने, उक्त जमिनमा भौगोलिक–सांस्कृतिक विविधता हुँदैन । मौसमी विविधता पनि कम नै हुन्छ । यसको अर्थ, लेखकले धेरै भौगोलिक वा मौसमी विविधताको अनुभव गरेकै छैन । नोर्थोेप फ्राइले भने नि — मौसमअनुसार मुडको परिवर्तन । यो गहन कुरा हो । आफ्नै विचारको बन्धनमा फसेको पात्रलाई आन्तोन चेखबले झरी परेको दिनमा उभ्याए । घरभित्रै गुम्सिएको देखाए । बाहिरको मौसम, र पात्रको मानसिक भूगोलको बीच यस्तो समाञ्जस्य देखाए । गुम्फनको लामो समयपछि, अथवा धेरैबेर रोएपछि, अथवा भनौँ, आफ्नो कथा कसैलाई सुनाइसकेपछि पीडाको विरेचन भएको पात्रलाई उज्यालो घाम लागेको मौसममा लगेर उभ्याए । हेमिङ्वेले उसै गरे । पीर परेका पात्रलाई गहिरा खोँचमा उभ्याए । उल्लाहपूर्ण पात्रहरूलाई अलि माथि, चुचुरातिर उभ्याए । २९ वर्षको छोटो जीवन बाँचेर गएका लेखक स्टेफेट क्रेन त यस प्रयोगका उस्तादै थिए । जस्तो मुड छ पात्रको, यस्तै जमिन, उस्तै मौसमको चित्रण । हैट ।

यो भूगोल, मौसम र पात्रको मनस्थितिको खेल — यो साहित्यको गतिशक्ति हो ।

वैचारिक होस् वा भौगोलिक — चारआने जमिनमा उभिएको लेखकसँग यो अस्त्र हुँदैन । यो विविधताका लागि आवश्यक ज्ञान हुँदैन । कहिलेकाहीँ जमिनको भौगोलिकी र मौसमको मिजास — यी दुई कुराले कथालाई कसरी जादुमय बनाइदिन सक्छन् — त्यस कुराको हेक्का हुँदैन ।

हेक्का हुनेले लेख्नू नि — भन्ने पनि भेटिन्छन् । बजार हो, भेटिन्छ नि ।

एउटा कुशल साहित्यकारले, उमेर छँदै हिँड्नुपर्छ । घुम्नुपर्छ । डाँडा–काँडा, पाखा–पर्वत, खेत–खलिहान, सहर–बजार ।

केवल सुनी–सुनाई कहानी, किताबी कुरा र कल्पनाले सिँगारेको आख्यानमा यो जमिनसँग जोड्न कमजोर हुन्छ । कि त्यो ज्यादै दार्शनिक हुन्छ र पाठकको टाउकोमास्तिरबाट फुत्त बत्तिएर जन्छ । कि हावादारी हुन्छ — कता जिली कता गाँठी ।

कि त्यो धुवाँको धागोले सिलाएको बादलको सिरकजस्तो हुन्छ — सुन्न मिल्ने, ओढ्न नमिल्ने ।

तर, यो जमिनको कुरालाई प्रयोगमा ल्याउँदा बुद्धि पुर्याइएन भने, फसिन्छ पनि । आख्यान पो हो भनेर उडी उडी बेग्गिन नपाइने रहेछ कहिलेकाहीँ । प्रश्न सटिकताको । यथार्थको निकटताको । उदाहरणका लागि, देशको मानचित्रमा भेटिने, साँच्चिकैको कुनै जमिन कथाको कार्यपीठिका भयो, मानौँ । मानौँ, एउटा कथा इटिहरीको पृष्ठभूमिका लेखियो । र, कल्पनाशील लेखकले ‘बुद्ध कलेज’ भनेर लेख्यो । उसको कथा काल्पनिक हो । त्यसैले यसले सोच्छ— इटहरी भन्ने सहर देशको मानचित्रमा भए पनि, काल्पनिक कथामा त्यहाँ बुद्ध कलेज राख्न पाइन्छ । पाउन त पाइन्छ । तर, इटहरीका पाठकले यथार्थमै पनि त्यहाँ बुद्ध कलेज खोज्छन् । जब भेट्दैनन्, त्यस कथाको आलोचना गर्छन् । कि त, त्यस कथालाई पत्याउँदैनन् ।

भन्न त भन्छौँ हामी — भूगोलको किताब लेखेको हो र ?

तर, यो तर्क आफैँ निरीह हुन आउँछ कहिलेकाहीँ ।

सच्याएँ नि खुरुक्क — इलामको ओरालो, माल बोक्न खच्चरको प्रयोग हुँदैन, घोडाको बरू हुन्छ कहिलेकाहीँ ।

जमिन यथार्थको भयो भने, कथा वा पात्र जति काल्पनिक भए पनि त्यसले करिब करिब याथर्थकै प्रभाव छोड्छन् पाठकको मस्तिष्कमा । कहिलेकाहीँ यसो हुँदा रमाइलो पनि हुँदोरहेछ । आर्थर कोनाल डोयलले शृङ्खलाबद्ध लेखे काल्पनिक जासुस सर्लोक होम्सको कथा । २२१—बी बेकर स्ट्रिट, लण्डन — उसको ठेगाना । धेरै कथा लेखिसकेपछि, एउटा कथामा उनले सर्लोक होम्स मरेको देखाइदिए । त्यो पढेपछि पाठकले सर्लोक होल्क, बेकर स्ट्रिट, लण्डन भनेर समवेदनाका चिठी पठाएछन् । त्यस ठेगानमा, अझ भनौँ तोकिएकै घरमा पुगेर, त्यस्तो नाम गरेका मान्छे खोज्दा खोज्दा हुलाकी हैरान ।

जमिन बलियो भयो भने कल्पनाले कसरी यथार्थको आकार लिन्छ — यो एउटा उदाहरण ।
कतिपय लेखकले आफू उभिने जमिनलाई यथार्थको जमिन बनाए । आफ्नै गाउँ, प्रान्त वा देश । मन्टोले भारत–पाकिस्ताको बोर्डर । प्रेमचन्दले उत्तरी भारतको मलिलो मैदान । नारायाण ढकालले काठमाडौँ वरिपरिको काँठ । इन्द्रबहादुर राईले टिस्टाक्षेत्र । सनत रेग्मीका कथामा नेपालगञ्जको सेरोफेरो । यस्तै यस्तै । कतिपयले काल्पनिक भूगोल उभ्याए, कथा लेखे यथार्थका । टोमस मोरको युटोपिया, टोमस हार्डीको वेसेक्स, आरके नारायणको माल्गुडी, फ्रेङ्क एल. बमको ओज, जोनाथन स्विफ्टको लिलिपुट…यस्तै यस्तै अनेक । यसको पनि एउटा फाइदा के छ भने, स्थान नै काल्पनिक भएपछि लेखकसँग जति पनि उड्ने स्वतन्त्रता हुन्छ । तर, उसले पनि, फराकिलो जमिनमा विचरण गरेको अनुभव भने सँगालेको हुनुपर्छ । आफूले छोएको जमिनका रङ, उक्त कल्पनाको जमिनमा भर्ने हो । नत्र, उसको काल्पनिक जमिन पनि प्रेडिक्टिबल होइदिन्छ, र आलेखले रोमाञ्चकता गुमाउँछ ।

र, आफूले सुनेको मात्रै तर कहिल्यै नटेकेको जमिनमा कथा उभ्यायो भने, अधिकांश अवस्थामा त्यो आख्यान धुलिट्याम हुन्छ । यसको अर्थ, आख्यानमा कथा वा पात्र काल्पनिक होलान्, तर जमिन यथार्थको निकट हुनु नितान्त वाञ्छनीय छ — कमसेकम यथार्थवादी आख्यानमा ।

सानो र दोहोरिइरहने जमिनमा काम गर्ने लेखकसँग अरू केही सीमा जोडिएर आउँछन् । पात्रहरू विभिन्न उमेर समूह, आर्थिक पृष्ठभूमि, वर्ग, लिङ्ग वा जातका आउँछन्, कथाअनुसार । सानो भूगोलमा त्यस्त्रो विविधता हुँदैन । त्यसैले, त्यसैमा बानी परेको लेखक जस्ता पात्र उभ्याए पनि उस्तै भाषा वा लवजमा बोलाउँछ । यसै गरी सोच्न लगाउँछ । यानि, सबै पात्रमा उसैको हंस पस्छ । उसैको सास । उसैको आत्मा । त्यसैलाई त हामीले यसअघिका अनेका रचनाका पढेको होइन ? अब नयाँ के आउँछ त ?

यी तमाम पीपलबोटे गफको निष्कर्ष — लेखक चरी हुँदा राम्रो । उसले लेखनको भूगोल किताबैपिच्छे विविध होस् । एउटै भयो भने पनि, अलि व्यापक, विस्तारित र फैलिएको चैँ होस् । आजको युगमा, जमिनसँग जोडिएको पाठकसँग ठाउँको ठाउँ संवाद गर्ने यथार्थवादी साहित्य लेख्दा कथाको कार्यपीठिका यति हावादारी पनि नहोस् कि पाठकले आफूलाई कतै पनि उभिएको पाउँदैन । यति काल्पनिक पनि नहोस् कि स्वेरकल्पनावादी साहित्यको युग फर्कियोस् ।

कथै त हो, लेख्दिम् न भनेजति सजिलो हुँदैन यो ।

हुन त, यो पनि कथै त हो ।

लेख्दिम् न ।

लेखक परिचय
प्राध्यापक at त्रिभुवन विश्वविद्यालय

महेश पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुनुहुन्छ । साहित्यतर्फ उहाँ बालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुनुहुन्छ । पूर्वीय र पाश्चात्य साहित्य र सिद्धान्तका अध्येता पौड्यालका मौलिक १२ वटा कृति तथा स्कुलका दुई दर्जन पाठ्यपुस्तक प्रकाशित छन् भने उहाँका अनुवाद र सम्पादनमा आएका कृतिको संख्या करिब ३ दर्जन छन् ।

प्रतिक्रिया
Loading...