प्रभु, मलाई भेडो बनाइदेऊ !
म अचेल मेरो लोकले निर्माण गरको शब्दार्थ बुझ्दिनँ । कोशिस पनि गर्दिनँ । बरू कहिलेकाहीँ साँझपख पशुपति जान्छु । बाग्मती किनार — दाह संस्कार । हेर्छु । संवेदित हुन्छु । मरेर जाने फर्केर आई भन्दैन खबर... गीत गाउँछु । तर, कसैको मृत्यु मेरो संवेदनको कारण हुँदै होइन ।
साहित्यको रस अलिअलि बुझेकालाई शब्दशक्तिका भेदको कुरा भनिरहनु पर्दैन ।
कुनै कुरो आएन भने यसो भन्दियो, उम्कियो । ए रामका दुनियाँ !

साहित्यको रस, रे ।
‘रस’ नबसेकाले त तातो पानी राख्ने कि चिसो, सायद त्यो पनि थाहा पाउँदैन । त्यो अर्कै कुरा भइगयो ।
शब्दशक्तिलाई, अलि तन्काएर भन्दा ‘शब्दार्थ सम्बन्ध शक्ति’ पनि भन्छन् । भन्नाले, शब्दले बोकेका विविध अर्थका कारण भाषामा निहित शक्तिको कुरा ।
कुरा उठ्ला — शब्दमा अर्थ हुनैपर्छ भन्ने हुन्छ र?
ससुरको कुरा मान्ने हो भने — कुनै पनि कुरा वा वस्तुका लागि एउटा भाषिक समुदायले निर्धारण गरेको शब्द भनेको एउटा मनोमानीपूर्ण व्यवस्था हो । भन्नुको अर्थ के भने, ‘गाई’ भनेर बुझिएको जन्तुका लागि, भाषा बनाउनेले ‘गधा’ भन्दिएको भए, गधा भनेर गाई नै बुझिनेथियो ।
अब, गधा नुहाएर गाई हुँदैन भन्नुमा, गाई नुहाएर गधा हुँदैन भनेर बुझ्दा पनि हुन्थ्यो ।
उसो भए, शब्द र अर्थ भन्नु के हो?
एउटा सांस्कृतिक सम्झौता हो ।
अँ, एउटै भाषाका सबैजसो प्रयोगकर्ता त्यस सम्झौतासँग गाँसिएका हुन्छन् । र नै कुनै शब्द, यानि, अक्षर वा ध्वनिले एउटा ‘साझा’ अर्थ बोक्छ ।
सुसुरको कुरा पनि सबैले कहाँ पचाए र? हुन्छन् हौ, हुन्छन् । साझा बसमा जो पनि चढ्छ भन्दैमा, जो पनि चढ्छ त? समाज हो । थरिथरि हुन्छन् नि ।
यहाँ त घाम पूर्वबाट झुल्किन्छ भन्यो भने पनि विपक्षमा कम्तीमा दुई तर्क अगाडि सार्न मिल्छ ।
१. घाम झुल्कने दिशालाई भाषा बनाउनेले ‘पूर्व’ भनिदियो र पो, घाम पूर्वबाट झुल्कन्छ भन्छौँ । त्यो दिशालाई सुरूमै ‘पश्चिम’ भन्दिएको भए, घाम कताबाट झुल्कन्थे? बात करता है ।
२. घुमेको–घुम्यै छ पृथ्वी । घुमेको पृथ्वीमाथिको मान्छे पनि घुमेको–घुम्यै । घुमेको मान्छेको दिमाग — गोल्चक्कर । एकछिन हाराबार खेलेर देखाउनु त, भूगोल पार्कमा । कसरी घुम्दोरहेछ पथ्वी? गोल्चक्कर खाएको दिमागले कुन पूर्व कुन पश्चिम ठम्याउँछ? लड्छ बरू । हैट ।
तर्क नि । कि कुतर्क ।

तर्क होस् कि कुतर्क, मान्छे बाँचुञ्जेल लेख्न वा बोल्छ छोड्दैन । छोड्छ त? भाषाको प्रयोग, यानि शब्दको सार्थक प्रयोग श्रष्टिजस्तै अविछिन्न हुन्छ ।
शब्द र अर्थको व्यापार — यानि, शब्दशक्तिलाई, म ठान्छु, एउटा सर्जकले समाउनुपर्छ । नसमाते के हुन्छ?
नसमाते, भाषाको ‘प्रतीकात्मक प्रयोग’ भन्ने नै केही हुँदैन ।
नसमाते, साहित्यले बहुअर्थी हुने गुण गुमाउँछ ।
नसमाते, साहित्यमा वक्रोक्ति नै हुँदैन । व्याङ्ग्य–सौन्दर्य रहँदैन ।
नसमाते, अलङ्कारहरू कङ्कालमा परिणत हुन्छन् ।
र, कङ्कालले — तर्छाउँछ । दिउँसो पनि, राति पनि ।
शब्दशक्तिले खोलो उँभो बगाइदिन्छ — उकालै उकालो । हिमालतिर ।
शब्दशक्तिले समुद्रमा डढेलो लगाइदिन्छ ।
‘आगि बड्वाग्नि ते बढी है आगी पेट की’ भने तुलसीदासले ।
समुद्रमा आगो लाग्छ र त्योभन्दा ठूलो आगो पेटको हुनु ?
अथवा, पेटमा आगो लाग्छ र ?
समुद्रमा नि ?
मुर्ख थिए तुलसीदास ? हैट ।
अचेल बाँचेका भए तुलसीदासलाई केके गरिसक्थ्यौँ हामीले । धन्न, उहिल्यै गएछन् ‘मास छर्न’ तुलसी ।
शब्दशक्तिको हेक्का रहेन भने, उखानको, टुक्काको, मुहाबराको, आहानको, सूक्तिको, उक्तिको…जेको अर्थ पनि मान्छेले शब्दकोशमै खोज्छ ।
कसैले, ‘घाँटी हेरेर हाड निल्नु’ भन्यो भने कतै गएर लेख्छन्— ठूलै घाँटी भएकाले पनि के, हाडै निल्छ त? कुरा पनि?
निल्न त निल्दैन । निलेको देखिएको छैन ।
चम्पाको फूललाई कुनै नाइकेले ‘केको चम्पा हुनु, यो पाडरीको फूल हो’ भन्यो भने, ‘हो, हो । यो पाडरीकै फूल हो’ भन्ने पनि भेटिन्छन् । बजार हो । मेला हो ।
कसैले, ‘आकाशको फल आँखा तरी मर्’ भन्यो भने, लेख्छन्— आकाशमा पनि फल हुन्छ त ? आकाशमा त जूनतारा पो हुन्छन् । के तालको मान्छे ? अहंकारी ।
आकाशको फलको कुरा गर्नेलाई थाहा थिएन र आकाशमा फल हुँदैनन् भनेर ?
अनि कि, सिर्जनाको संसारमा विज्ञानभन्दा पर, एउटा छुट्टै व्योम हुन्छ । शब्दशक्तिले हामीलाई त्यतातिर लान्छ ।
कवि वडसर्थले त्यसै भनेका होइनन् क्यारेः ‘वी डाइसेक्ट टु मर्डर ।’
भनेको, हामी कुनै पनि कुरालाई मार्नैका लागि छिद्र केलाउँछौँ ।
भनेको चैँ के?
भनेको, सबै कुराको ‘वैज्ञानिक वियोग’ गरायौँ भने, त्यसले आफूमा रहेको रहस्य–सौन्दर्य गुमाउँछ ।
उदाहरण लिऔँ न ।
मानौँ, एकजना विशेषज्ञ चिकित्सक पुरुषको कसैसँग प्रेम भयो, फेसबुके कुराकानीका भरमा । अचेलको जस्तो ।
प्रेमिका भेट्न आइन् ।
अब उसले छालाको रङ कस्तो, त्यहाँ कति मेलानिन होला, भिटामिन कति होला, फ्याट पुग् होला कि अगुप्, नाकका पोराको व्यास कति, दाँतका इनामेलको स्थिति कति, आँखाको कर्भेचर कति… यस्तै भन्न थाल्यो भने, त्यो प्रेम कस्तो होला?
त्यहाँ सौन्दर्य पनि रहला कि, हाडछालको व्याख्यानमाला मात्रै रहला?
कि कुरा कसो होला?
कुराको सोझो अर्थ खेज्यौ भनेँ, दुई कुरा प्रस्ट हुन्छः
एक — हामीसँग शब्दशक्तिको ज्ञान छैन ।
दुई — अर्थनिर्माणमा संस्कृतिको भूमिकाको ज्ञान छैन ।
मैले आफैँ ऐनाअघि उभिएर थाहा पाएको हुँ यी कुरा । यिनको भ्याक्सिन आजसम्म हान्न पाको छैन । साथीहरू बुस्टर डोजतिर लागिसके ।
म भने शब्दको ठ्याक्ठ्याके अर्थ, यानि अभिधामै अल्झिरहेको छु । कसैले गधाको कुरा गर्यो कि, चार खुट्टा भएको, माल बोक्ने जन्तु नै सम्झन्छु । यसमा मेरो त्यति ठूलो दोष पनि के छ र ? यो मेरो ज्ञानको अधिकतम् सीमाको करामत हो ।
कसैले गाई भन्यो कि उही दूध दिने जन्तु, गौमाता सम्झन्छु ।
‘यो त गाईप्राणी छ’ भन्थे गुरुहरू । म थुन र पुच्छर कहाँ छन् भनेर खोज्थेँ । आजसम्म खोजिरहेको छु ।
कसैले ‘गधा नुहाएर गाई हुँदैन’ भन्यो भने झन् कल्पना गर्छु — कुन मूर्खले एउटा गधा तानेर हनुमन्ते खोलामा पुर्याएको छ । साबुन लगाइरहेको छ । र, भन्छ— यो गधा कहिल्यै गाई हुँदैन ।
हैट? गधा नुहाएर कहिल्यै गाई हुन्छ?
एकचोटि मित्र लक्ष्मीप्रसाद बाँस्तोलाले रमाइलो सुनाए । एउटा रेल यात्रामा, एउटा पञ्जाबी पुरुष पूरै परिवार लिएर डिब्बामा चढेछ । परिवारै आएपछि सानो सानो भान्सा पनि रेलैमा बनेछ । हुँदा हुँदा घरको कुकुर पनि पो, साथमा । त्यो कुकुर, जति खाने कुरा दिए पनि नअघाउने । क्याउँ, क्याउँ, क्याउँ । अनि सारै रिस उठेर पञ्जाबीले भनेछ— इह कुत्ता कडे भी इन्सान नहीँ बनेंगा ।
अब, कुत्ता कहिल्यै मान्छे हुन्छ त?
सद्दात हुसैन मन्तोको कथा छ— ‘द डग अफ टिट्वाल ।’ यसमा जमादार हरनाम सिंहको एउटा कथन छ— ‘ही डाइड ए डग्स् डेथ ।’
यानि, त्यो कुकुर ‘कुकुर मराइ’ मर्यो रे ।
अब एउटा कुकुर, कुकुर मराइ नमरेर, भँगेरो मराइ मर्छ त?
मैले यसै गरी प्रश्न गर्न थालेको धेरै भयो । यसमा मेरो ‘बौद्धिक दरिद्रता’ प्रस्ट भइसक्नुपर्ने हो । होइन र?
मलाई अचेल बोध हुन थालेको छ—
शब्दशक्तिको ज्ञान नहुनु भनेको मैले मेरो संस्कृति नबुझ्नु हो । अथवा, अहंकारले आँखा बन्द भएपछि मैले आफैँलाई सुकरात सम्झनु हो । व्यास सम्झनु हो ।
आँखा खुलेको मान्छे आफ्नै अज्ञानतासँग लजाउँदछ ।
आँखामा अहंकारको बर्को लगाएको मान्छे रातसँग भन्छ— अझै लम्बेर जाऊ रात, म आफू ईश्वर बनेको सपना देखिरहेको छु ।
आफ्नै बौद्धिक दरिद्रताको विज्ञापन गर्नुको मज्जा ज्याद्रो हुन्छ । दुव्र्यसनजस्तो नि, बानी परेको । ओम् !
आवाहनं नजानामि नजानामि विसर्जनम् पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी ।
यसलाई यसै गरी बुझ्नु मेरो ‘अभिधाभीरू’ संस्कारको परिणति हो । कारण, मेरो शब्दशक्तिलाई मैले बेरा बारेर मेरै मुलाबारीको सीमाभित्र कैद गरेको छु । धेरै पो भयो त त्यसो गर्न थालेको ।
मेरो बोधभन्दा पर पनि संसार छ । र, मेरो ज्ञान महासिन्धूमा विन्दुजति पनि देखिएन ।
तर मलाई सहरमा नाटक गरिरहनु छः सुकरात बनेको ।
स्वघोषित ‘कवि’ हुनुको, ‘कथाकार’ हुनुको, ‘समालोचक’ हुनुको, ‘अनुवादक’ हुनुको, वा ‘प्राध्यापक’ हुनुको संयौगिक बोझले मलाई नाटक गरिरहन बाध्य पारेको कुरा मैले नबुझेको होइन । मलाई आफ्नो बौद्धिक दरित्रतामा बौद्धिकताको जलप लगाएर कागजका पानामा वा सामाजिक सञ्जालका भित्ताहरूमा आउनु छ । सके रामेश्वरम मिठाई पसलमा पकाइने जेरीजस्तो गुलियो र घुमाउरो बनाउनु छ कुरालाई । यही लेखजस्तो, भनौँ न । जति कन्दा पनि सकिनँ भने, साहित्यिक वा भाषिक मर्यादालाई लात हानेर, गालीका सहस्र शब्द ओकलेर मजा लिनु छ । मज्जा — लुतो कन्याउँदाको जस्तो । आह! कल्पना गर्नुस् त, एक छिन् । कन्याएरै हेर्दा पनि हुन्छ ।
म ‘स्याडिस्ट’ बनेको धेरै भयो ।
शब्दशक्तिको चर्चामा यो लुतोको कुरा कहाँबाट आयो?
कुरा त लप्सीकै फेदबाट आयो ।
साहित्यमा, जे लेखिएको छ, त्यसको अर्थ शब्दकोशीय मात्रै हुँदैन । त्यसको अर्थलाई लक्षणा वा व्यञ्जनाको अर्थमा पनि बुझिनुपर्छ । बुझ्न सकिएन भने ‘घाँटी ठूलै भए पनि कसैले हाड निल्छ?’ भन्दिएर आनन्द लिन सकिन्छ ।
यो आनन्द त नि, खोयाले डँडाल्नु कनाउँदाको जस्तो पो हुन्छ त । श्यामल दाइ, ‘लुतो’ सम्झिरहेको छु ।
कुरा दोहोरियो । दोहोरियोस् । लुतो हुन्छ नै यस्तै । चिलाइरहन्छ, कन्याइरह्यो । आनन्द ।
श्यामल दाइको ‘लुतो’ लाई लुतै भनेर बुझ्दा पनि हुन्छ ।
अरू अरू बुझ्दा पनि हुन्छ ।
यो अरू अरू चैँ, समय र संस्कृतिको बोध भएपछि आउँछ सायद । अनुमान नि ।
तर मलाई एउटा कुरा चैँ शङ्का के भने छ— श्यामल दाइको दिमागमा, लुतोको अर्थ तुलो चैँ कदापि पनि होइन होला । सायद । तर, मेरो साँघुरो चिन्तनको अन्तरिक्षमा त्यो अर्को वा अन्य अर्थसहित पनि आएको हुन्छ भन्ने कुराले कहिल्यै ठाउँ पाएको भए पो?
अभिधैमा पनि योग, रूढ र योगरूढ अभिधाको कुरा हुन्छ भन्ने सुनेको छु । अहिले त्यता लाग्दिनँ । लास्टै बोर हुन्छ कि भनेर ।
अङ्ग्रेजी कविता पढाउने काम मेरो । ध्वाँस जस्तो सुनियो होला, तर सत्य । संवेदना त मेरो विद्यार्थीप्रति दिँदा हुन्छ । के नै बुझे होला र बिचराहरूले? तर पनि, केही भनेका छैनन् । धरती छन् ।
महाराज सिकन्दरले सुनेछन्— उनको राज्यमा एकजना प्रकाण्ड विद्वान छन्, डायोजिनिस नाम गरेका । त्यस्ता त्रिकालदर्शीको न घर छ, न बार छ, न गतिलो लुगा छ । यो त लास्टै लाजमर्दो भयो भनेर भेट्न पुगेछन् । भेटेपछि सोधेछन्— सन्त महात्मा, म यत्रो सम्राट हुनु, र मेरो राज्यमा तपाईं यस्तो कष्टपूर्ण जीवन बाँच्नु । यो म कसरी सहन सक्छु? भन्नुहोस्, म के सेवा गरूँ? के दिऊँ तपाईंलाई?
ती माहात्माले पुलुक्क हेरेछन् सिकन्दरतिर र भनेछन्— ‘घाम छेल्नुभो । अलि उता हटिदिनुहोस् न । त्यति भए पुग्छ । मलाई अरू केही पनि चाहिँदैन ।’
अचम्मित सिकन्दरले भनेछन्— म सम्राट नभएर डायोजिनिस भएको भए हुन्थ्यो…
अब आफैँलाई ‘सम्राट’ भन्यो र विद्यार्थीलाई ‘डायोजिनिस’ भन्यो भन्ने एकथरि अभिधाजीवी पनि भेटिन्छन् भोलि । तिनलाई पनि सलाम छ ।
यस्तै । दिन सक्दैन यसले भन्ने थाहा पाएका मेरा विद्यार्थी, घाम नछेल्दिए हुन्थ्यो भन्ने मात्रै आग्रह गर्छन् । तिनैलाई कविता पढाउने ।
कहिलेकाहीँ कस्तो हुन्छ — कवितामा भएका सबै शब्दको अर्थ शब्दकोशमा हेरेर लेखिसकेपछि पनि कविता बुझिँदैन ।
भएको के हो?
वर्ड–मिनिङ लेखिसकियो । तर अर्थ खुल्दैन । कता जिली, कता गाँठी ।
यस्तो बेला बोध हुन्छ नि— कविताले थप केही मागेको छ यहाँ ।
ओलिभरले थप सुप मागेजस्तो ।
ओलिभरलाई त निकाला गरिदिएका थिए नि फ्याक्ट्रीबाट । ‘ओलिभर ट्विस्ट’ को कथा सम्झँदा अहिले पनि मुटुमा कम्पन भएर आउँछ ।
‘सर, ओलिभर आस्क्स फोर मोर ।’
‘ओह, ओलिभर आस्क्स फोर मोर?’
‘येस, सर ।’
अब शब्दका सपाट अर्थले काम गर्दैन ।
थप केही चाहियो ।
यहाँ लक्षणाको काम आउँछ भन्ने सुनेको छु ।
कुरो फेरि गधाकै । गधा नुहाएर गाई नहुने कुरा ।
गधा पनि बुझियो ।
गाई पनि बुझियो ।
नुहाउने कुरा पनि बुझियो ।
तर गधा नुहाएर गाई हुँदैन । यो वाक्यको अर्थ अलि बढी नै बुझियो बजारमा ।
लक्षणाले गधा मतलब गधाको गुण बुझ्नू भन्छ, सायद ।
गाई मतलब यहाँ, गाईको गुण बुझ्नू भन्छ, सायद ।
अर्को तर्क आउँछ अचेल— श्रमिकको प्रतीक हो गधा, तर उसको मर्मलाई कसले पो बुझ्छ र ? हैट, यस्तो श्रमिकको मर्म नबुझ्ने मान्छे पनि छ, धरतीको बोझ ।
लहरो तान्दा पहरो गर्जियो ।
तर, लक्षणा शक्तिको ज्ञानको अभाव भयो भने हाम्रा तर्कको स्तर यस्तै यस्तै हुन्छ । उदाहरण, मेरो यही लेखलाई मानौँ न । यहाँ गरिएका तर्कलाई नै मानौँ । अरूतिर किन बरालिनु र ?
हैट, कान ठाडा भए त आफ्नै ।
कान ठाडा ? कतै कान पनि ठाडा हुन्छन् ? इन्ची टेप ल्याएर नापौँ न । उत्रै छन् त कान त ? अनि कान कसरी ठाडा भए ?
हैट, यो लक्षणा बुझ्नुभन्दा त लुतो कनाउनुमै मज्जा छ ।
संस्कृति वा परम्पराले स्थापित गरेको प्रतीकात्मक अर्थ— रुढी लक्षणा ।
विशेष प्रयोजनका लागि गरिएको प्रयोगमा आउने अर्थ— प्रयोजनवती लक्षणा ।
कता जिली कता गाँठी ।
‘प्रभु मलाई भेडो बनाइदेऊ’ भने देवकोटाले । आजसम्म भन्दै आएको छु— मान्छे भेडो बन्छ ? ‘भेडो’ लाई, रुढ यानि, समाजद्वारा एउटा सहमतिमा स्थापित अर्थको आलोकमा हेर्दाः — आँधो । अब मान्छेमा कतिखेर चार खुट्टा, एउटा पुच्छर, र शरीरभरि ऊन पलाउला भनेर कुरेर बस्यौँ भने अष्टचिरञ्जिवीका बराजु होइएला बरू, देवकोटाको कविता बुझिँदैन । अनि, गाली गरिदियो, र लुतो कन्याउन थाल्यो । आनन्द मङ्गल मङ्लम् । नित प्रियम् नेपाल नेपाली ।
अब अलिकति भन्छु । कुरा सकिएको छैन । तर्क चैँ सकिएको हो । तर्क त, खासमा अघि नै सकिएको हो ।
कहिलेकाहीँ, शब्दकोश पनि हेरिन्छ । अर्थ, भुतोभाङ ।
शब्दको लक्षण भनि हेरिन्छ । अर्थ, भुतोभाङ ।
अनि नयाँ चश्मा चाहिन्छ ।
भनौँ न— पावर वाला चश्मा ।
उहिले केटाकेटी छँदा आमा कराउनुहुन्थ्यो— घरलाई पनि टुँडिखेल नै बनायौ ।
अब त्यहाँ न ठूलो मैदान ।
न सैनिक सलामी मञ्च ।
न घोडवासर राणाजीहरू ।
न घरभित्र घाँस ।
कसरी टुँडिखेल? केको टुँडिखेल?
आमाबाट मात्रै पनि शब्दशक्ति अलि अलि सिक्न सकेको भए, अर्कै होइन्थ्यो होला सायद । तर, त्यसो गरिएन । आमाले हाम्ले जति पढेकी छिन् र? भनियो ।
आज बुझ्दैछु— लोकले व्यञ्जना अर्थ अनुभवबाट दिँदो रहेछ । त्यो ‘लोक’ लाई कतै छोडेर हामी तथाकथित आधुनिकताको भासमा परलोक पुगिसकेको ज्ञातै भएन ।
नुवाकोट गएका थियौँ । एकजना जर्मनेली विद्वान् पनि साथमा थिए । बट्टारबाट तादी निकारतिर लाग्दा पानी पर्यो । हिलाम्य भयो जमिन । कतै ओता लाग्यौँ । पानी रोकिएपछि हिलो गिजोल्दै अगाडि बढ्यौँ ।
अलि पर पुगेपछि कसैले भन्यो— ‘हरे, असारकै पन्ध्र भयो ।’
फर्केर हेरेँ । उही जर्मन भाषाविद् ।
एकछिन रोकिएँ ।
अवाक् भएँ ।
प्रभु, मलाई भेडो बनाइदेऊ !
असारको पन्ध्र हुन असार महिनाको पन्ध्र गते हुनु पर्दैन । हाम्रो पात्रो चाहिँदैन ।
‘माघमा असार पन्ध्र हुन्छ र ? के तालको मान्छे ?’ भनेर पीपलबोटमा गाली गर्न सजिलो । ‘अर्थनिर्माणमा लोकको र संस्कृतिको भूमिका’ भनेर एक पानाको निबन्ध लेख्न निकै कठिन छ ।
अझ व्यञ्जनाको पूर्ण शक्ति लोकनिर्मित हो । विशेष गरी लोक–अनुभवद्वारा निर्मित ।
जीवन, चिन्तन र अभ्यासबाट ‘लोक’ ले पलायन गर्दै जानु, र अहंकारले चेतना छोप्दै जानु हो भने, हामी शब्दको त के, आफू हुनुको पनि अर्थ गुमाउँदै जान्छौँ ।
कडै पो भयो कि क्या हो?
छैन । श्रीखण्ड जति कडा त यो छैन ।
किन कि, यो कुराले खुर्पाको बिँड बनाउन मिल्दैन ।
कुन कुराले मिल्छ त?
म अचेल मेरो लोकले निर्माण गरको शब्दार्थ बुझ्दिनँ । कोशिस पनि गर्दिनँ । बरू कहिलेकाहीँ साँझपख पशुपति जान्छु । बाग्मती किनार — दाह संस्कार । हेर्छु । संवेदित हुन्छु ।
मरेर जाने फर्केर आई भन्दैन खबर… गीत गाउँछु ।
तर, कसैको मृत्यु मेरो संवेदनको कारण हुँदै होइन ।
संवेदनाको कारण अर्कै छः ती लाशलाई बिजुली शवदाहगृहमा जलाएको भए हुन्थ्यो नि ? बेकारमा त्यतिका दाउरा जलाइए । कतिपय सन्दर्भमा त श्रीखण्ड पनि जलाइए ।
नजलाइएका भए कति बन्ने थिए होला तिनबाट खुर्पाका बिँड ?
म अचेल जेमा पनि खुर्पाको बिँड खोज्छु ।
भेट्छु पनि ।
सबैभन्दा बढी, भाषाको जङ्गलमा ।
भाषाको जङ्गलमा काठ हुन्छ र खुर्पाको बिँड भेट्नु ?
यो प्रश्नका लागि म सर्वथा तयार छु ।
महेश पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुनुहुन्छ । साहित्यतर्फ उहाँ बालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुनुहुन्छ । पूर्वीय र पाश्चात्य साहित्य र सिद्धान्तका अध्येता पौड्यालका मौलिक १२ वटा कृति तथा स्कुलका दुई दर्जन पाठ्यपुस्तक प्रकाशित छन् भने उहाँका अनुवाद र सम्पादनमा आएका कृतिको संख्या करिब ३ दर्जन छन् ।