लेखकको त आयु हुन्छ, मानियो । बहसको विषय पनि भएन यो ।

तर सिर्जनाको आयु हुन्छ कि हुँदैन ?

गाँठो यहीँनिर छ । नरिवलकै डोरीको गाँठो पर्यो । भिजाएर तान्दा पनि नफुक्ने ।

यस कुराको पायो फुकाउँदै जाँदा दुई खाले कुराकारी अगाडि आएँ ।

(क)

बढो वेगमा मच्चिरहेका केही लेखक, दुई चारवटा किताब आएपछि थच्चिए । यी असान्दर्भिक हुँदै गए ।

लेख्न छोडेका होइनन्, बिक्न छोडेका । अथवा भनौँ, ‘परम्परागत’ वा ‘पारिवारिक’ घेराभन्दाबाहिर पाठक पाउन छोडेका ।

भाइरल हुन छोडेका ?

त्यसो पनि होइन । भाइरल त कसो कसो गरेर भइ पनि हालिन्छ । मलाई पनि राम्रै अनुभव छ । तर, साँच्चै पढिएका भनेको  ।

हैन यो परम्परागत वा पारिवारिक पाठक भनेको चैँ कस्तो ?

उदाहरण राजनीतिबाट ल्याऔँ है ।

भारतमा छँदा सुन्थेँ — चुनाव भनेको ‘हात’ चिह्नमा छाप लाउने । गाउँमा भन्थे ।

किन?

किनकि, यो ‘ज्वारीलाल’ को हात हो— पुरुषहरू भन्थे ।

किनकि यो इन्दिरा गान्धीको हात हो — महिलाहरू भन्थे ।

अनि भोट हालेको भनेको ‘हातमा छाप लाको’ भनेर बुझ्थे । अर्को चिह्न पर्यो भने भोट हाल्न नजानेको मान्थे ।

विकल्प पनि हुन्छ भन्ने धेरैपछि बुझे धेरैजसो मान्छेले ।

एक वो भी था जमाना
एक यह भी है जमाना

यता नेपालमा, अपवादलाई छोडौँ, तर भनेको सुनिन्छ नि— त्यो घर कांग्रेसको, त्यो एमालेको, त्यो माओवादीको, त्यो राप्रपाको । एउटा गधालाई नै उम्मेदावर बनायो भने पनि, ती घरकाले तिनै पार्टीको ‘गधा’ उम्मेदवारलाई भोट हाल्छन् ।
लेखनमा पनि यस्तै छ । जसरी पनि किन्छन् । पढ्छन् । राम्रो भन्छन् एकथरि पकेट रिडरले । यसो हुँदा उक्त लेखकको सान्दर्भिकता अक्षुण्ण छ भन्न मिल्दैन ।

क्रिटिकल रिडिङ सम्भव छैन त्यस्ता पाठकबाट । त्यस्तो रिडिङ पनि के रिडिङ?

महेश पौड्याल

एउटा प्रकाशनबाट एउटा लेखकको किताब आयो । त्यसै प्रकाशनबाट किताब छापिएका अरू लेखकले ‘हो हो यो त पाडरीकै फूल हो’ भन्नुको पनि तुक छैन । यस्तो काम हामीले पनि गर्यौँ । तर पाठक भ्रममा नपरून् भनेर, आफैँलाई धूलो पारेर लेखको नि, यति ।

अनि मख्ख लेखक । नाम छोपेर असरल्ल कागजको फोटो राख्छ फेसबुकामा — अर्को किताब तयार ।

यस्तै परालको त्यान्द्रोमा बाँचेका हामी केही लेखक छौँ — वास्तविक बजार, पाठक र नयाँ समयले किनारमा छोडेका । आफ्नो सान्दर्भिकतालाई बलात् जीवन दिन भन्छौँ— बीपी बाबुले हातै समातेर पो यसो भन्नुभयो त मलाई ? भूपीसँग उनकै कोठामा बसेर रक्सी खाएको नि । यो सङ्ग्रहको पहिलो निबन्ध उत्तम कुँवरले आफैँ फोन गरेर छापिदिनुभएको पत्रिकामा ।

यो हिङ बाँधेको टालोको महात्म्य ।

महान रचना हो भने, ‘हेम्लेट’ कसले कहाँ छापिदिएको थियो, किन भनिरहनु पर्छ शेक्सपियरको भूतले सपनामा आएर ?

अथवा ‘मधेसतिर’ ।

अथवा ‘आमाको सपना’ ।

अथवा ‘ग्यास च्याम्बरको मृत्यु’ ।

अथवा ‘एब्स्ट्रेक्ट चिन्तम प्याज! ।

पर्दैन क्या ।

अँ, परम्परागत र पारिवारिक पाठकले बचाएका कुरा गर्दैथ्यौँ हामी । अनि घरले बचाएको । मावलीले । ससुरालीले । वा विद्यार्थीले, जसमा म पनि पर्छु । हाहा ।

अझैँ भनौँ है अलिकति ।

‘हाम्रै’ समूहका साथीको बुक आएछ, किनौँ ।

जिल्ला एउटै पो हो त, ठ्याक्कै । वल्लो डाँडो, पल्लो डाँडो हाम्रो । दुईवटा किनेँ । सालीले पनि पढ्छु है भिनाजु भनेकी छिन् ।

हाम्रै म्याडमको आएछ, पढौँ न । मेरो पनि नाम छ आभारमा ।

ज्वाइँको किताब हो, किनौँ न । कति राम्रो फोटो !

साढुको किताब हो ।

‘पढ्नुहुन्छ?’

‘होइन, फोटो छ नि । यो फोटो खिच्दा म पनि गएको थिएँ फोटो कन्सर्नमा । लैजाऔँ न । केटाकेटीले चिन्छन् ।’

बल लगाएर तानिएको यस प्रकारको हाम्रो सान्दर्भिकता — अलिकति फुटेको त हो नि छेउमा, सग्लै छ अण्डा भनेजस्तो, पसलमा । ‘अम्लेट राम्रै हुन्छ’ भनेजस्तो ।

‘हाफ दाममा, त्यो पनि बाँकी’ पायो भने यस्तो अण्डा लाने पनि भेटिन्छन् ।

अब यसरी नै अण्डा बेचेर पनि व्यापार भयो भन्नु त कस्तो भयो भने नि… फेरि एउटा कथाजस्तो भयो ।

वातावरण साहित्यको क्लास थियो । सधैँ गाउँको कुरा आउँथ्यो । सधैँ । एक जना काठमाडौँवासी बहिनी पनि थिइन् क्लासमा । उठिन् र भनिन्, — सर, म पनि गाउँ गएकी छु नि ।

कहाँ ?

थानकोट ।

मामाघर रहेछ थानकोट ।

ओम भनेर चुप लाग्यौँ ।

उनले पनि गाउँकेन्द्रित क्लासमा सान्दर्भिकता खोजिन् । के बिगारिन् त, बिचरी?

यस्तै यस्तै ।

मैले देखेको, लेखनमा यस खतराबाट बँच्न लेखकसँग दुईवटा उपाय छन् ।

पहिलो — बद्लिँदो समयको चाप बुझ्नु, र त्यसैसँग अगाडि बढ्नु ।

दोस्रो — समय–कमय मारो गोली । इतिहास लेखेको हो र ? कालजयी कुरा लेख्नु, जो समयको भँगालोमा नहराओस् । सूक्ति । दर्शन । शाश्वत कुरा ।

सजिलो छ नि, होइन दुवै कुरा ? हैट ।

बद्लिँदो समय भन्ने कुरो पनि चिप्लेकीरो जस्तो छ । समायो, फुत्किहाल्छ । समायो फुत्किहाल्छ । उसो भए, समयसँगै म्याराथोन दौड गर्ने? सायद हो । कुन कुरा, सिद्धान्त, भाषा वा शैली असान्दर्भिक हुँदै गइरहेको छ, अथवा पाठकको चाखबाट बाहिर पर्दै गएको छ भन्ने कुराचैँ थाहा पाउनु जरुरी हुन्छ । लेखकले मनमा एउटा ब्यारोमिटर बोकेरै हिँन्नुपर्छ ।

कसरी थाहा पाउने ?

थाहा भएको भए किन यत्तिको दुःख?

यसमा अलिअलि विवेचना गरुङ कि?

भो नगरुङ होला । लास्टै बोर हुन्छ अब । यो विवेचना भन्ने कुरो नि, जाँचका लेख्ने कुरा भयो ।

कुरा बुझिहालियो नि ।

बद्लिँदो समय भन्नु बद्लिँदो मूल्यविधान हो । समयसँग कदमताल गर्न सकिएन भने, माघमा दोबाटोमा बेचिने हरिया मकैको स्वादजस्तै हुन्छ साहित्य । अथवा, डा. अशोकको भाषामा ‘बिग्रेको जाँडको स्वाद’ जस्तो । टाउको दुखाइरहने खालको ।

समयको पदचापसँग कदमताल गर्न नसक्ने साहित्यको एउटा पुरातात्विक अथवा अर्काइभल मूल्य मात्रै हुन्छ । अभीशप्त समालोचक, इतिहासकार वा अनुसन्धाताले कहिलेकाहीँ, बाध्यतावश हात लगाउन (पनि) सक्छ । नत्र, ज्वानो पसलमा भेटिएला है ! कहिलेकाहीँ त फोटो देखेर पनि, आफन्तले चिन्दा रहेछन्, ज्वानो पोको पारेको कागज ।

यस्ता घटना घटेका छन्? छैनन् भने धैर्य गरौँ । घट्छन् ।

नेपालमा यस्तो घटना नघट्ने भन्ने कुरै हुँदैन ।

कन्फिडेन्स पनि कति क्या !

यहाँनिर एकथरि मान्छेले यस कुराको विरोध गर्न सक्छन् ।

किताबको जतन त आफूले पो गर्नुपर्छ? ज्वानो पसलमा बेच्ने हो?

हे गार्खापत्र, पुरानो कागज, कापी किताब, कवाडी फलाम… घरैमा आउँछ । घरमा उकुसमुकुस भइरहेको बेला घरकाले बेचिदिन्छन्, आफू नभएको बेला । चाउचाउ किन्ने पोइसाको जोहो ।

त्यो किताबले ‘मलाई बेच्नु हुन्न’ भन्नेसम्म बनाएको भए बेचिँदैनथ्यो कि?

बनाएन । बेचियो ।

बजारमा किताबको थाक बढेकै अनुपातका हाम्रा घरका कोठा बढ्दैनन् । केही नफाली हुन्न केही महिनाको अन्तरालमा । जो असान्दर्भिक भयो, त्यही फाल्नुको विकल्प हुँदैन ।

अचेल, यो ‘फाल्नु’ को अलि राम्रो रूप आएको छ । दशपल्ट छानेर अर्कोतिर राखेको पुस्तकलाई ‘गाउँको पुस्तकालयमा दान’ । क्या आइडिया !

सर, कुन कुन पठाइए किताब? किनेर नयाँ पनि केही पठाइए कि? हालचालै आएका, पुरस्कार पाएका राम्रा किताब पनि परे होला नि सर केही त?

फोन कट । नेटवर्क खराब । ओम् ।

अनि कि, एवं रितले असान्दर्भिक हुन पुगेका लेखकले, हे अगस्त्य मुनि, फेरि कुनै चामत्कारिक किताब लेखे भने भन्न सकिन्नँ, तर लर्तरो पाराले गुमेको राज्य पुनः जित्न सक्दैनन् भन्दै नारद, मान्छेका हड्डीको यन्त्र बजाँउदै त्यहाँबाट अन्तध्र्यान भए ।

—०—

(ख)

सान्दर्भिकता गुमाउने अर्काथरि छौँ हामी, जो हामीले लेख्ने विषयवस्तुले सान्दर्भिकता गुमाएका कारण आफैँ समयपाटीबाट गुम्दैछौँ ।

यस्तो पनि हुन्छ र?

हुन्छ नि । किन नहुनु ।

‘क्याभेलियर’ भनियो युरोपमा । त्यत्रो राजा काटेर प्रजातन्त्र ल्याए बेलायतमा, १६४९ मा । देशको मुड गणतन्त्रमय भयो । क्रान्तिकारी भनुङ न । अलिकति, एउटा चोइटो भनुङ न, पुराना मूल्यको पक्षमा लेखिरह्यो । लुकी लुकी । बिस्तारै हरायो । त्यस समूहबाट कुनै विराट लेखक आएन । अथवा, समयले हुर्काएन ।

माथिका नम्बर (क) र (ख) दुवैलाई फिट हुने एउटा कुरा हेरौँ है ।

चेखभको जमाना अचम्मको । रुसमा दुई मान्यताको घर्षण थियो । एउटा— क्रान्तिको पक्षधर । अर्को, पुरानो सामन्तवादको । क्रान्तिको पक्षमा उभिएकाले दह्रो लोकप्रियता पाए । अँ, आज, दशकौँपछि आइपुग्दा, त्यो खाले क्रान्ति पनि अर्को ‘रुमानी भावुकता’ पो रहेछ कि क्या हो भन्ने समयमा पुग्दा भने, तिनीहरूमाथि पनि प्रश्न उठ्न थालेको छ ।

जो तत्कालीन रुसी सामन्तवादको पक्षमा उभिए, ती उतिखेरै धुलिट्याम भए ।

यसै समय एउटा नयाँ बिरादरी उदायो लेखकहरूको रुसमा । यसको केन्द्रमा थिए चेखभ । क्रान्तिकारीको पनि मिति सीमित । सामन्वादका पक्षधरको झन् गर्भ पतन भनुङ न । तर यो नयाँ बिरादरी बाँच्यो । आज पनि उस्तै । आज पनि मान्य । धन्य । लोकप्रिय ।

के थियो कुरा ?

यहाँ लेखक आफू सान्दर्भिकता वा असान्दर्भिकताको प्रश्नभन्दा माथि कसरी उठ्ने भन्ने कुराको सूत्र सायद छ ।
क्रान्तिले पुराना सामन्त डस्यो । मरे । गए । ‘रेसिड्युअल कल्चर’ बनेर केही बाँचे होला, तर आवाज चर्को हुन सकेन ।
नयाँ हौसिए । एमेर्जेन्ट कल्चर ।

बीचमा थियो आम मान्छे । त्यसको के भयो?

चेखभको एउटा नाटक छ— ‘चेरीको बगैँचा’ । द्वन्द्वको चुरो यही हो— पुरानो र नयाँ व्यवस्थाबीचको घर्षण ।
यहाँ छ एउटा बूढो नोकर वा माली भनौँ — मिस्टर फियर्स ।

कान पनि मज्जाले सुन्दैन । बिर्सने रोग पनि छ ।

त्यसैले कुरा पनि मज्जाले बुझ्दैन ।

खास कुरा कहाँ छ भने— ऊ नौकर हो । अथवा माली हो । उसको पहिचान बगैँचाको जीवनसँग जोडिएको छ ।
बगैँचा बेचिएपछि त्यहाँ केके बन्छ केके ।

अनि फियर्सको के हुन्छ?

रुसी क्रान्ति यस्तै निमुखाका लागि होइन? कि होइन नै?

जब बगैँचा बेचियो र पुराना मालिक हिँडे, फियर्सलाई बिसिएर गए । र जब नयाँ मालिकले बगैँचाका रूखमा हानेको पहिलो बन्चरोको आवाज गुञ्जियो, त्यस मालीको मुटुमा बज्र पर्यो ।

ऊ मर्यो, सायद । फेरि उठेन ।

आई लभ यु, चेखब !

अखबारमा केही आएन होला— को नै मर्यो र? एउटा बूढो माली त हो नि ।

सामन्तवाद सकियो ।

नयाँ व्यवस्था (परिमार्जित पुँजीवाद हो कि क्रान्ति नै हो?) मौलायो ।

तर माली?

ती मालीहरूका लेखक हुन् आन्तोन चेखभ ।

त्यसैले, उनको सान्दर्भिकता कहिल्यै, कहिल्यै र कहिल्यै पनि सकिँदैन ।

किनकि, चेखभ भन्नु, समयको भँगालोभन्दा माथि हुनु हो ।

सान्दर्भिकता–असान्दर्भिकताको प्रश्नभन्दा पनि अलि माथि हुनु हो ।

कति सिरियस के? हैट । झण्डै मुटु पो काँप्यो त, थुर्थुर ।

अस्ति एकजना लेखक आए, कीर्तिपुरमा । नाम भन्दिनँ, पिटाइ खाइन्छ । एउटा किताब दिएर भने, पहिलो संस्करण त एक महिनामै सकियो ।

सोधेँ— बेचेरै?

बेचेरै ।

साँच्चै?

साँच्चै ।

बजारबाटै? पुस्तक पसलबाटै?

आनाकानी । आनाकानी । आनाकानी । आनाकानी ।

कुरा पुस– सेलको रहेछ ।

सेल त हो । बिकेको पनि हो । पोइसो उठाएको पनि हो । तर…तर छ । तर, यो बुझ्नुपर्ने तर हो ।

किताब ल्याएँ । दुई हप्तापछि मात्रै पढेँ ।

राम राम राम राम ।

— वीर पुर्खाले रगत बगाएर बचाएको देश मेरो । कसैलाई हात लाउन दिन्नँ । बरू मर्छु ।

— यो समयमा के नै छ र? समय त मेरा बा, आमा, हजुरबाहरूको समयमा थियो ।

— अचेलका कवि, इतिहासकार, पत्रकारले के नै लेखे र? खाली नाङ्गा ज्यानका बयान लेखे । देश नलेख्नेले के लेख्छन्? म लेख्छु देश । मेरो देशको झण्डा…

यस्तै यस्तै रहेछ कुरा ।

अनि कि, भन्नुपर्ने कुरा त होइन कि, तर नि…सबै… (सबै भनेपछि सबै) कुरामाथि बहस गर्ने बेलामा नि, अतिशय भाभुवकता, अन्ध राष्ट्रवाद, रुमानी विगत–अर्चना… र किशोरअवस्थामा मनपर्ने वा पाठ्यक्रममा अनिवार्य आइपर्ने ‘जाग न जाग अब जाग’ वाला पनि… अथवा ‘मास्टरबेसनल फ्यान्टसी’ भनुङ ।

लेखक असान्दर्भिक हुनु अवश्यंभावी छ । कसैले रोक्नै सक्दैन । सक्दैन नै । ओम् ।

लिट्मस टेस्ट भन्छन् कि, त्यो मलाई लाग्छ लेखनका सन्दर्भमा ‘विषय’ मा गरिनुपर्ने हो ।

भाषामा पनि हो, तर अलि कम ।

शैली पनि हो, तर अझ कम ।

तर, गीत–सङ्गीत, चित्रकला वा मूर्तिकलामा शैली सबैभन्दा माथि हो ।

कुरा लेखनतिरै बङ्ग्याऔँ ।

उसो भा, लेखनमा विषयको तुलनमा, भाषा वा शैली गौण हो?

पक्का हो । बहस गरौँला । कुटाकुटै पनि, शब्दले । तर हो नै । कि होइन हौ? म पनि कन्फ्युज्ड ।

लेखनमा, विषय यात्रु हो । भाषा वा शैली त्यसलाई बोक्ने गाडी हो ।

अब मान्छे प्रमुख कि गाडी?

गाडी नै हो भन्ने पनि भेटिन्छन्, हाटबजारमा । तिनलाई पनि सम्मान छ ।

कुरा आआफ्नै होलान् । तर नि, मेरो निजी तर्क हो — लेखनको प्राण भनेको विषयवस्तु हो । विषयले सान्दर्भिकता गुमाउँदै लग्यो र हामी अप्डेट हुनै छा्ड्यौँ, आफैँलाई नवीकृत गर्दै लान बिर्सियौँ, नयाँ समय र पुस्तासँग संवाद गर्न सक्न छोड्यौँ भने नि — हामी आजका डायनोसर हौँ ।

एकछिन् शैलीको कुरा गरौँ । शैली लेखकको पहिचान चैँ हो, ‘जीवन’ होइन । शैलीकै कारण जीवन्त बनेका कोही होलान् । छन् नै । तर ती अपावद हुन् । रूपवादका सुन्दर स्मारक हुन् । सलाम ।

एउटै विषयमा दुई वा बढी लेखकले लेखे भने, निर्णायक मापदण्ड बनेर आइपुग्छ शैली । तर तुलनाकै लागि मात्र ।
विषयले त आफ्नै नियति बाँँच्छ ।

विषय पनि उही, शैली पनि उही भयो भने त गयो । यो कविता पढौँ नः

‘आमा मेरी अति प्रिय सखा, प्रणदात्री पनि हुन्
आमा प्यारी अतुल गुणकी सिद्धिदात्री पनि हुन्?’

छन्द उही । गण उही । भङ्ग थोरै । क्षेम्य छ नि, छैन र ? विषय उही । शैली पनि उही ।

कुरो त हो । छुन्छ दिल । नछुने होइन ।

तर किन यो कविताको किताब राखिरहनु, ठ्याक्कै ?

किताब सरस्वती हुन्, फाल्दा पाप लाग्छ भन्ने तर्कबाहेक अरू देख्दिनँ ।

सान्दर्भिक वा असान्दर्भिक भन्ने कुरा अलि गहिरो छ ।

खास कुरा, लेखकले गरेको तर्कको, यो समयमा दम छ वा छैन भन्ने कुरा गाँठी कुरा हो । उसले फेरिँदो पाठकीय पुस्ताको आफूमा चाख बचाइरहेको छ वा छैन, त्यो कुरा हो ।

छैन भने जय रामजी की ।

पाठकको नयाँ बिरादरी, अथवा ‘न्यु इन्टेलेक्युअल्स’ हरूको माझ, उक्त तर्कले ठाउँ पाइरहको छ वा छैन? समर्थनमा वा विरोधमा, नो प्रोब्लेम । न्युट्रल भए पनि हुन्छ, तर त्यसको कुरा होस्, चर्चा होस् । तर त्यसमाथि बहस त छ ? कि बडारियो, असान्दर्भिक भनेर ।

कसैलाई रिस नउठोस्, तर नि ‘देवकोटाका काव्यमा पूर्वीय दर्शन’ भनेर आजको मितिमा जर्नल आर्टिकल लेखेजस्तो ।
अथवा ‘गोपालप्रसाद रिमालका नाटकमा नारीचेतना’ भनेजस्तो ।

अथवा ‘पारिजातका उपन्यासमा अस्तित्ववाद’ भनेजस्तो ।

अथवा, हामीले लख्ने कथाजस्तो ।

अनि कि?

सान्दर्भिक हुनु भनेको परिवर्तनशील पुस्तासँग विचारको हात मिलाएर सँगै हिँड्न सक्नु हो । कुद्न सक्नु हो । गुड्न सक्नु हो । उड्न सक्नु हो ।

अँ है, यहाँ एउटा कुरा खाब्जे परेर आयो ।

प्रश्न आयो — उसो भा, हरेक दशकमा सान्दर्भिक हुने नाउँमा ‘नयाँ’ बन्नलाई एउटा लेखक सदाकाल बाँचिरहन्छ त? मर्छ नि? मरेपछि चिहानबाटै उठेर सान्दर्भिक हुन बल गर्छ त?

हैट, यो प्रश्न उठ्ला र यसरी फसिएला भन्ने त सोचिएकै पो रहेनछ ।

अनि कि, प्रश्न ठिक छ । उत्तरचाहिँ ठिक छैन ।

कहिलेकाहीँ यसो घाममा बसेर सुन्तोला खाँदै गरेका बेला सोध्छु — यी विद्यालय वा विश्वविद्यालयमा साहित्यका पाठ्यक्रम नहुनु, परीक्षा नहुनु र अनिवार्य शोध कार्य नहुनु । र, आजको विद्यार्थीलाई ‘तिमीलाई यो सेमेस्टरमा जे पढ्न मन लाग्छ, त्यही पढ । पूर्ण पुस्तक भए दशवटा । फुटकर भए तीस रचना बराबर एउटा पुस्तक मानेर दशवटा’ भन्दिनु भने तिनमा कतिले अझै शेक्सपियर घिस्याउलान् ? गेठे ? डिकेन्स ? ह्विटमेन ? भानुभक्त ? सम ? देवकोटा ? बीपी ?

— कतिपयले त घिस्याउलान् पनि हौ । तिनमा दम छ । ती सान्दर्भिक छन् । तर कांग्रेस भएर बीपी घिस्याएको हो भने हरि ओम् । तर विशुद्ध पाकठीय चेतनाले रोजेको हो भने तिनको सान्दर्भिकता आज पनि रहेछ भन्नुपर्न ।

— धेरैले नघिस्याउलान् । मलाई यस्तो लाग्छ । पाठ्यक्रमको अनिवार्यताले लादेका, तर नयाँ पुस्ताको मनले फालेका लेखकमा धेरै ‘महान्’ पनि पर्छन् भन्नेमा म विश्वस्त छु । झट्ट सुन्दा होइन भन्दिमजस्तो । रिस उठ्ला जस्तो । तर सत्य ।

परिक्षण गरौँ न । दुई हजार रूपियाँ दिएर छोरा वा छारीलाई पुस्तक प्रदर्शनीमा पठाऔँ न । के लिएर घर आउँछन्, हेरौँ । कुन पुस्तक वा लेखकको ‘आम पाठकीय संसारमा’ अझै सान्दर्भिकता छ, थाहा पाइहालिन्छ नि । अँ, हामीले ‘त्यो चैँ किन्’ भन्न नपाइ, है? हामीले, हाम्रै बेलाको बोरेझोला तान्छौँ । हतारमा फेरि ‘पिनासको कथा’ भन्दिन बेर लगाउन्नौँ ।

अनि कि, हामीले लिट्मस पेपर किनेर आफ्नै सिर्जनाको सान्दर्भिकताको जाँच गरौँ न ?

परिणाममा धाँधली नहोस् ।

नत्र, दिलबाट ज्वानो पसलमा सर्न समय लाउँदैनन् हामीले लेखेका पुस्तकले ।

पुस्तकको बजार डाउन ।

ज्वानो पसल हिट ।

नयाँ कथाको शीर्षक पो हुन्छ कि क्या हो ?