
केही समय भयो, दुइटा कुराले दिमाग हल्लाइरहेको छ । सोच्नुहोला, छ र हल्लिनु दिमाग ? नहुँदा झनै बढी हल्लिने रहेछ ।
हल्लियो त । पिङजस्तै पो ।
पहिला आफैँसँग सम्बन्धित एउटा कुराले हल्लायो । कुरो थियो ‘अपरिचित अनुहार’को विमर्श । आयोजक श्रष्टा साँझ अमेरिका । सञ्चालक, साहित्यकार विश्वराज अधिकारीले सोध्नुभयो, ‘तपाईंको ‘मृगनयनी’ कथाको पात्र प्राञ्जलले, आफूले लेखेको पुरस्कार विजेता उपन्यास किन च्यात्यो?’
प्रश्न के पाएको थिएँ, हत्त न पत्त जवाफ दिइहालेँ । यस्तो उस्तो, यो कारणले, त्यो कारणले । भनौँ न, वक्तृत्वकला नै पो दिएँ । अलिपछि बोल्ने पालो आयो मेरा गुरु प्रा. डा. आनन्द शर्माको । आशा गरेको थिएँ उहाँले स्यावसी दिनुहोला । तर सुरूमै भन्नुभयो, ‘आइ एम बेड्ली डिसेप्पोइन्टेड विथ योर अन्सर ।’
चकित भएँ । जिल खाएँ भनूँ न ।
गुरुले भन्नुभयो— लेखकले आफैँ यो कारणले यसो भयो, ऊ कारणले उसो भयो भन्ने होइन । गुरूको आशय थियो— हामीले हाम्रो आख्यानको ‘एउटा’ व्याख्या दाबी गरेर, त्यसलाई बहुअर्थी हुने सम्भावनाबाट वञ्चित गरिदिन्छौँ । आफैँले यो यसो हो भनेपछि पाठकसँग उसो पनि होला भन्ने स्वतन्त्रतै रहँदैन । यसले सिर्जना खुम्च्याउँछ ।
गुरुले विश्व साहित्यबाट अनेक उदाहरण पनि दिनुभयो । धेरैलाई सोधिएको रहेछ विगतमा— तपाईंको यो आलेखको अर्थ के हो ? मजस्ता उपबुज्रुकले त फ्याट्ट उत्तर दिए पनि होलान् । तर कुनै पनि संवेदनशील र परिपक्व लेखकले त्यो यसो हो भनेर भन्दैन । सारमा, हामीले पाठकीय स्वतन्त्रताको सम्मान गरेनौँ भने त्यस्ता गल्ती गर्छौं । त्यस्ता गल्ती नै नाथु त कति गरिएछ कति । वास्तवमा, हाम्रो सिर्जनशील लेखन सुरू नै भएको छैन जस्तो पनि लाग्यो ।
सम्झन्छु— करिब करिब युद्ध नै पो भएको छ त साहित्यको वृत्तमा !
आलोचना पनि भएको छ । हुनुपर्छ ।

महेश पौड्याल
तर नि, आलोचना हुँदा हामी एक सेकेण्ड नपर्खी बचाउमा उत्रिहाल्छौँ । मेरो पनि यो निकै ठूलो कमजोरी हो । एक दिन त सञ्चारकर्मी र मधुर कथावाचक दाइ अच्युत घिमिरेले फोन गरेरै भन्नुभयो— ‘गाली गर्न फोन गरेको । तपाईं त्यसरी वादविवादमा उत्रिने हो फेसबुकमा?’
झटका । लगे पचासी झटके हो तेरा रङ्ग है नशिला…
तर यो कमजोरी अझै पनि छ । कहिले परिपक्व हूँला कोनि?
कुरा फेरि आनन्द सरकै, एकछिन् ।
ठिटौली उमेरदेखि नै फाट्टफुट्ट अनुवाद गर्थें । आए पनि, नआए पनि । धेरै जसो नआएरै गर्थें । हुँदै जाँदा एउटा लहडमा केट चोपेँको कथा ‘स्टोरी अफ एन आवर’ को अनुवाद गरेँ । छापियो ‘गरिमा’ मा । निकै पछि सरलाई देखाएँ । कथाको अन्तिम लाइन् हो— ‘द जोेय द्याट किल्स ।’
सरले भन्नुभयो— अन्तिम लाइनको अनुवाद पढ त ?
मैले भनेँ— ‘त्यो प्राणघातक खुसी ।’
सर मौन । कुनै प्रतिक्रिया दिनुभएन । अलि अलि ओठ लेब्रिएको भने हेक्का पाएँ । मैले कुरा बुझेँ ।
मैले दुइटा नकाम गरेछु । पहिलो, ‘द जोय द्याट किल्स’ को आह्लादपूर्ण झङ्कारलाई आफ्नो भद्दा, शाब्दिक अनुवादमार्फत् मारेछु । र दोस्रो, आफैँमा अनेकार्थी रहेको यस तिलस्मी वाक्यलाई लगेर, मेरो सपाट र एकाङ्गी बुझाइको एउटा अर्थमा सीमित तुल्याउन खोजेछु । वास्तवमा यो कथाको सबैभन्दा रोमाञ्चकारी पक्ष भनेको यसको अन्तिम वाक्य रहेछ, जसमा आज पनि बहस हुँदो रहेछ । छलफल चल्दो रहेछ ।
मैले त्यस छलफलको बहावमा बाँध बाँध्ने दुःसाहस गरेछु । बोध भयो ।
रोबर्ट फ्रोस्टको कविता ‘द रोड नट टेकन’ को अन्तिम अंश हो— ‘एण्ड द्याट हेज मेड अल द डिफरेन्स ।’ यानि, दुईमध्ये अलि कम हिँडिएको बाटो रोजेँ, र त्यसले पार्नु फरक पार्यो जिन्दगीमा ।
भयो चैँ के?
कम हिँडिएको बाटो हिँडेकोमा कवि दुःखी छन्? उनको निणर्य गलत भयो?
कि सुखी छन्? सही भयो? तरक्की गरे?
यो कविता अनुवाद नगरेकै राम्रो । धन्न गरिनँ । झण्डै…
अनुवादकले बहुअर्थमा रमाएका ती कविलाई कि दुःखी देखाउँछ, कि सुखी ।
तर कवितामा न उनी खुसी छन्, न दुःखी ।
बस्, उनी ‘फरक’ छन् ।
वा भनौँ, उनी ‘छन्’ । छन् मात्र । हुनु पनि एक अवस्थिति त हो नि ।
हामीले कनेर किन उनलाई दुःखी वा सुखी भन्दिने नि?
त्यस्तो देखाउनु चाहिँ किन? उनले त यस प्रश्नको आफैँ कहिल्यै जवाफ दिएनन् ।
दिएका भए, कस्सम, यो कविता उहिल्यै मरिसक्थ्यो । अहिले जागित्र ।
यसरी हेर्दा, अनुवाद पनि एक प्रकारको व्याख्या हो । र, त्यो व्याख्याले मूलपाठको बहुअर्थी स्वाभावलाई खुम्च्यायो भने त्यो झुर अनुवाद हो । यस्तो झुर अनुवादको मसँग पनि लामै अनुभव भइसकेकोले बढो आत्मविश्वासका साथ भनेको हुँ ।
कुरा फेरि आफ्नो लेखनको आफैँ व्याख्या गर्ने रोगको ।
लेखक जीजे कूपले यसबारे रमाइला प्रसङ्गहरू उल्लेख गरेका छन् । बोब डिलन र डेभिड लिन्चजस्ता सर्जकहरूले आफ्नै सिर्जनाके व्याख्या कहिल्यै गरेनन् । अष्ट्रेलियाली उपन्यासकार रिचर्ड फ्लेनागन भन्छन्, लेखिसकेपछि सिर्जनाले सर्जकको प्रारम्भिक प्रयोजनभन्दा भिन्न जीवन ग्रहण गर्छ, र लेखनको कार्यले सर्जकलाई रित्तो तुल्याउँछ ।
उनको एउटा कुरा रोचक छ । आफ्नो उपन्यास ‘डेथ अफ ए रिभर गाइड’ विमोचन भएर अष्ट्रेलिया र बेलायतमा धुमधडाका मच्चाएको दशकौँपछि अमेरिकामा छापिएछ । अमेरिका जान विमानमा बसेपछि उनलाई त्यो उपन्यास किन लेखेको थिएँ र त्यसको मूल पात्रको नाम के थियो भन्ने कुरा नै बिर्सेको बोध भएछ । उता अमेरिकामा भने उनको प्रकाशककले एउटा रेडियोमा अन्तरर्वार्ताको चाँजोपाँजो मिलाएको रहेछ । त्यसका लागि उनले विमानस्थाबाट सिधै रेडियो स्टेशन पुग्नु थिएछ— थोकेकै भए पनि, र तयार नभएको अवस्था भए पनि । तर भाग्यवश्, उनको अन्तर्वार्ताकार भने पूरै तयारी गरेर बसेको रहेछ । अन्तर्वार्तामा, अन्तर्वार्ताकारले उक्त पुस्तकका बारेमा जेजे भन्यो, त्यसैलाई आफ्नो मत बनाएर उनले अमेरिकाभरि सफल पुस्तक प्रचार यात्रा सम्पन्न गरेछन् ।
पिकासो चुँ बोलेनन् रे आफ्ना सिर्जनाका बारेमा ।
निर्माता-निर्देशक एण्डी वार्होल चुँ बोलेनन् रे आफ्ना चलचित्रको अर्थका बारेमा ।
अल्पायुमा मर्ने लेखक आएर बोल्दैनन् ।
अन्तुमुर्खी, र कहिल्यै भिडमा नआउने स्रष्टा पनि बोल्दैनन् ।
हाम्रो समयभन्दा अगाडि बाँचेर गएका सर्जकले आएर सविस्तार र सप्रसङ्ग व्याख्या गर्दैनन् ।
हामीलाई चैँ?
मुख चिलाएको कति हो !
खसखस कति हो !
कसले सोधिदेला र भाषण गरूँला भन्ने ध्याउन्न कति ज्याद्रो हो !
सबैलाई भनेको चैँ होइन है । अपवादलाई सलाम ।
तर हामी छौँ केही — चुर्ना परेका । अपस्टार्ट ।
उसो भा अन्तरवार्ता चैँ नदिनु? नबोल्नु?
बोल्नु नि । बोलिरहनु । कति बोल्नु बोल्नु ।
मोहन कोइरालालाई ‘फर्सीको जरा’को अर्थ के हो भनेर धेरैले सोधेका थिए रे । उनले कसैलाई यसो हो भनेर भनेनन् रे । र, सायद, आज पनि ‘फर्सीको जरा’ चर्चा, चासो, बहस र छलफलको विषय बनेरै रहनुका पछाडि लेखकको मौनता एउटा कारण हो । शिक्षाविद् मेरी मिचेलको मत छ— राम्रो लेखन श्यामश्वेत तस्बिरजस्तो हुनुपर्छ, जसको सतहमा पाठकले आफ्नै अनुभवका आधारमा रेखा र रङ भर्छन् । यसरी हेर्दा लेखन र पठन दुवै आत्मगत क्रिया हुन् ।
उता लेखक स्टेफेइन स्मिथलाई लाग्छ— सिर्जनशील लेखकले आफ्नो सिर्जनाको व्याख्या आफैँ गर्न सक्ने हो भने उनीहरूले त्यो सिजर्ना गर्नु नै पर्ने थिएन ।
एउटा सर्जकले आफ्नो सिर्जनको व्याख्या कसरी गर्छ ?
— एउटा कवितासङ्ग्रहको विमोचनमा थियौँ । कविले कविता वाचन गर्ने कार्यक्रम थियो । कवि परेछन् मास्टर । हरफैपिच्छे रोकिन्छन्, दर्शकतिर हेर्छन् र भन्छन्— हेर्नुस् त मैले कसरी विम्बको प्रयोग गरेको छु ? हेर्नुस है, यहाँ कस्तो उपमा छ !
हिँड्नु कि बसिरहनु ? आफैँलाई सम्झेँ । उहिले नाटक खेल्न तम्सिएँ । शैली थिएटर पुगेँ । निर्देशक मित्र नवराज बुढाथोकीले कोर्रा लगाएर अभ्यास गराए एक महिना । नाटक मञ्चन भयो । मेरो घरका धेरै सदस्य आए । नाटक भयो । पछि समीक्षा बैठकमा कुरा आयो— म हरेक पटक संवाद बोलेपछि दर्शकतिर, विशेष गरी मेरो घरका परिवारतिर हेर्दोरहेछु । देख्यौँ, कसरी मैले भनेँ त डायलग? कत्तिको गरेँ त अभिनय? यस्तो भनूँलाजस्तो । जसले पूरा खेल बिगारेको रहेछ । हैट ।
— रचनागर्भ सुनाउँछन् । सुनाउन पाइन्छ । तर, अधिकांश अवस्थामा, रचनागर्भ सुनाउनुको मूल प्रयोजन रचनाको व्याख्या नै भएको पाएको छु । नसुनाउँदा पनि हुन्छ रचनागर्भ । रचनागर्भबाट निस्केर रचनाले कैयौँ माइलको यात्रा गरिसकेको हुन्छ । हामी जीवनका कहाँ कहाँ पुगेर परिचय दिँदा म फलानोको गर्भबाट जन्मेको भनिरहनु पर्छ ? कसैले चासै राख्यो, वा अनुसन्धानै गर्न खोज्यो भने, रचनागर्भ भन्ने मिति वा समय आउँछ । नत्र, पर्दैन ।
— ‘नमस्कार । अब म ‘पिक्सी’ शीर्षकको कविता वाचन गर्न गइरहेको छु । यसमा मैले खगोलविज्ञानसँग सम्बन्धी केही शब्दको प्रयोग गरेको छु । तपाईंहरूलाई सायद बुझ्न कठिन हुन्छ । त्यसैले, कवितामा जानुभन्दा अगाडि म यी शब्दहरूको व्याख्या गर्न चाहन्छु । ब्लेक होल भनेको….सुपरनोभा भनेको…बिग बेङ भनेको…पल्सर भनेको….उफ्, पानी ! ओक्सिजन नै माग्नुजस्तो । स्थानीय भाषाका शब्दको प्रयोग भनेर पनि यसरी पाठकाधिरको उल्लङ्घन भइरहेको पाइन्छ कविता वाचनमा । अचेल दर्शक-श्रोता अलि घटे ? कुरा बुझ्दा हुन्छ । तर, यस्ता शब्दको व्याख्यात त चाहिएला नि ? वाचनमा नभए पनि हुन्छ । कविताको स्वर आफैँमा अर्थ हो ।
— रचनागर्भमा ८ मिनेट । कविता साढे दुई मिनेट । आमाभन्दा छोरी तरुनी, लिपिस्टिक पाउडरले… गीत गाउनुमा बरू मज्जा छ । गाऔँ ? रचनागर्भ भन्नु पर्दैन गीत गाउँदा ।
— के रचनागर्भको चैँ प्रयोजन नै छैन? छ हजुर । किन नहुनु? अनि कि, सबै सिर्जनाको हुन्छ के, रचनागर्भ । तर पनि, रचनागर्भबिनै शताब्दिऔँ बाँचिसके त कविताले । गीतले । काव्यले । नाटकले । भो… सूची लामो छ । अरुचिकर किन बनाउनु र ?
— अस्ति दशैँताका यो कविता लेखेँ । भयो कि भएन जस्तो लागिराथ्यो । एउटा साथीलाई देखाएको— छक्क पर्यो । आम्मै, तपाईंसँग त यस्तो पो ‘प्रतिभा’ रहेछ, भन्यो । पछि एउटा पत्रिकामा छापियो । त्यसपछि एकजना अर्का साथीले फोन गरेरै मलाई कविता लेख्न नछोड्नुस् भन्नुभयो । आज म यहाँहरूका लागि त्यही कविता लिएर आएको छु ।
अनि कि, यो घुमाउरो आत्मप्रसंशा, रचनागर्भ र करिब करिब व्याख्या ? अब पाठकको के काम ? केमा लाउनु दिमाग ?
सर्जकले आफ्नो सिर्जनको आफैँ व्याख्या किन गर्छ ?
— सायद, सिर्जना-संस्कृति नबुझेर ।
— सायद, आफूलाई बढी नै काबिल सम्झेर ।
— सायद, नार्सिससको पनाति वा पनातिनी भएर ।
— सायद, पाठकलाई मूर्ख ठानेर ।
— सायद, मलाई बुझिदिँदैनन् कि भन्ने डर पालेर (के हुन्छ त नबुझिदिँदा? मोनालिसाको हाँसोको ठ्याक्कै रहस्य कसले बुझ्यो र?)
— सायद मास्टरी वा पाण्डित्य-ग्रन्थीको करामत हो ।
— सायद आफू वैचारिक, नश्लीय, जातीय, क्षेत्रीय, राजनैतिक वा लैङ्गिक ‘वाद’ नेपथ्यमा पर्ला र सदस्यता वा समर्थनबाट च्यूत होइएला भन्ने डरले हो । सिर्जनामै चैँ आत्मविश्वासै नभएको भनौँ न । मुद्दातिर गएको कुरो ।
— कसैको नसुन्नु भन्ने नीति बनाएका र आफू श्रेष्ठतामा सृष्टिकर्ताकै निकट मान्नेहरूले सायद यस्तो गर्छन् ।
— केले हो, केले हो । हुनचाहिँ हो ।
नभएको दिमाग हल्लाउने अर्को कुरा श्रद्धेय अध्येता तथा समीक्षक दाजु शरद् प्रधानको स्टाटस रह्यो । उहाँले लेख्नुभएको थियो— ‘नेपाली उपन्यास उपदेशात्मक हुँदै गएको त होइन?’
उहाँले कुरो उपन्यासको उठाउनुभयो । तर मलाई पचासी झटका लाग्यो । मैले उहाँको ‘उपन्यास’ शब्दलाई समग्र सिर्जना भनेरै बुझेँ । कहिलेकाहीँ बढी बुझ्छु र कुरा बिगार्छु । अनि आफैँ भासमा फस्छु र कराउँछु — गुहार ।
तर, नेपाली सिर्जना धेरै हदसम्म उपदेशात्मक भएकै हुन् ।
जग हेर्दा, बालसाहित्यमा पुगिन्छ । उपदेशको पुञ्ज । निकै ठूलो छ कुन्यूँ । तर कुसाउरोको । लडाउन सकिएको छैन । म आफैँ पनि बालसाहित्यकर्मी । कुराउसोको कुन्यूँ लगाएको लगायै छु । हैट ।
जग हेर्दा, पञ्चतन्त्र वा जातक कथा । अणुवांशिक रोेग भनेजस्तो । जेनेटिक । आएकै छ त अहिलेसम्म, बग्दै, तन्किँदै ।
जग हेर्दा धार्मिक किताब । वा दर्शन । सारमा के छ त धर्मशास्त्र वा दर्शनका किताबमा ? धेरै हदसम्म उपदेश । आयो त, डिएनएमै मिसिएर । कसो गरौँ ?
जग हेर्दा राता किताब । रात्तै भनौँ न । रात्तैमा भनियो— शोषितका लागि लेख । पीडितका लागि लेख । क्रान्ति गर । उपदेश देऊ । सकेनौ भने धम्कीसम्म चाहिँ नछोड । दिने त्यही हो ।
एउटा अर्को मनोविज्ञान भएको बुझिन्छ । सो के भने, लेखक हुनुभनेको अलि ‘ठूलो’ हुनुको बोध । मान गर्छन् । दोसल्ला-माला । मायाको चिनो । कदरपत्र । पत्रिकामा फोटो । विदेशबाट कोही आउँदा ड्युटी-फ्री ।
‘ठूलो’ भएपछि त उपदेश दिन पाइयो नि! कि पाइएन?
शरद् दाजु, त्यो स्टाटस फगत एउटा स्टाटस थिएन । त्यो आई-ओपनर थियो । म अझै त्यसैमा घुमिरहेको छु ।
साहित्य उपदेशात्मक हुनुका लक्षण केके ?
अनि कारण?
थाहा भए ।
सबै थाहा भए त, केके पो हुन्थ्यो जिन्दगानीमा ।
केही त भएको छैन ।
उहिले उहिले अधिकांश साहित्यिक सिर्जना उपदेशात्मक हुन्थे । तर, त्यो युग नै त्यस्तै थियो । थोरै पढेका वा जानेकाले अरूलाई कुरा बुझाउने युग । ठूलाले बच्चालाई । ज्ञानीले अज्ञानीलाई । दार्शनिकले जनसाधारणलाई । नेताले जनतालाई । भगवान्ले मान्छेलाई । आदि, आदि ।
त्यो बेला सत्य पनि निरपेक्ष हुन्थ्यो । भनौँ न, एउटा हुन्थ्यो — ब्रह्मसत्य ।
अचेल? कुन सत्य? कसको सत्य? कहिलेको सत्य? सत्य नै? हैट?
उपदेशको युग सकियो । राम नाम सत्य हो ।
उपदेशात्मक सिर्जना लेखिसक्दा एउटा सर्जक श्रेष्ठताभासबाट ग्रसित हुन्छ, हुन्छ, हुन्छ नै । यत्ति भइसक्दा त काण्ड पुगिहाल्यो नि ।
यस्ता लेखकका लक्षण के हुन्?
— लेखकले खुइँ खुइँ आफैँलाई व्याख्या गर्ने । आलेखभित्र । अथवा त्यो भएन भने आलेखबाहिर । अन्तरवार्तामा, सभामा, समारोहमा, कक्षाकोठामा । ‘कक्षाकोठा’ लेख्दा त कस्तो औँलै कामेजस्तो हुने, हगि ।
— निणर्य सुनाउनेः यो ठिक, ऊ बेठिक । पाठकको काम तमाम । गुड बाई, टाटा । सायोनारा ।
— आफ्नो कुरा लाद्ने । कसैले यताउति व्याख्या गर्यो भने झगडा गर्ने । दाम्लै चुँडाउने । अच्युत दाइ, त्यो दिन फेरि सम्झेँ । झण्डै…
— पोहोर लेखेको एउटा समीक्षाका कारण अहिलेसम्म पानीहटक । फेसबुकमा अर्काको पोस्टमुनि गएर सुटुक्क छिर्के हानिरहने । आफैँ लैख्नचाहिँ आत्मविश्वासै नहुने । कसैले आलोचनाको धागो अलिकतिमात्रै फुकायो कि सरररर स्वीटर नै फुकाइदिने, अनि डल्लो बनाउने । डल्लो पारिएको धागोले टोपी बनाउलान् कि भन्यो, चङ्गा पो उडाउँछन् । रुखमा अल्झिएला…
झन् बुझ्यो झन् कठिन । झन् झन् बुझ्यो झनै कठिन् । हगि ?
सजिलो चाहिँ नबुझ्दा हुँदोरहेछ ।
धेरै पढिएन भने पाठकलाई पनि आफ्नै तहमा सम्झन्छौँ, र दिन्छौँ— दिव्योपदेश । यति जाबो कुरा त मेरा पाठकलाई थाहा छ, अथवा बुझ्छन् भन्ने हेक्का नहुँदा सायद यस्तो हुन्छ । मेरा पाठक बौद्धिक छन् र मभन्दा हजार गुणा तीव्र छन् भन्ने हेक्का हामीलाई हुनु हो भने नि, हामीले साहित्य भनेर लेखेका पातपतिङ्गर सबै बारीमा मल हुन्छन् । आलु ठूला फल्छन् । यो सिजनमा प्याज रोप्यो भने झन् कत्रा कत्रा डल्ला फल्छन् ।
अब लसुन-प्याज नै नखाने हो भने त, के भन्नु र खोइ?
धेरै देशी वा विदेशी साहित्य पढिएन भने, कुवामै संसार । अनि त्यस कुवाको महिमागान । महात्म्य । त्यस्ता कुवा अरूतिर पनि हुन्छन् भन्ने थाहा हुँदा पो…
बौद्धिक संसारमा उपदेश कसलाई चाहिएको छ र?
अधिकांश उपदेशको नियति हो – बलेँसीको पानी हुनु ।
उपदेशकै लागि त नीतिशास्त्र छन् नि ।
मेरो साहित्य किन पढ्नु पाठकले?
अथवा तपाईंको?
अथवा ह्वाँको?
जमिनमा उभिएर ‘अनुभूतिहरूको सुन्दर संयोजन’ गरे कुरा सकिँदैन र?
तर, दिल है कि मानता नहीँ ।
तपाईंलाई पनि यस्तै भएको हो र?
उसो भए तपाईं र म — हामी दुई भयौँ ।
प्रभु, तीन नहून् । ल?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

