मैले नै सुनेको पनि करिब पन्ध्र वर्ष भयो । वासुदेव त्रिपाठी, अभि सुवेदी, दयाराम श्रेष्ठ, गोविन्दराज भट्टराई गुरुहरूले सुनेको त अझ कति वर्ष भयो हाला?
के?
भनिसक्नु भए पो भन्नु?
यी विश्वविद्यालयका प्राध्यापक ! यी विश्वविद्यालयका प्राध्यापक ! यी विश्वविद्यालयका प्राध्यापक ! गालीको अर्थमा, साहित्यको वृत्तमा, यस्तै यस्तै सुनेको धेरै भयो ।
एउटा कार्यक्रम थियो— कविताको । बढो अनुरोध गरेरै बोलाएका हुन् । भ्याउँदैनौँ भन्दा पनि बोलाए । करै लाग्यो । गयौँ । मसँग हुनुहुन्थ्यो समालोचक ज्ञानु अधिकारी । उहाँलाई पनि त्यसै त भने होलान् । बोल्नुपर्ने बोल्यौँ ।
अन्त्यमा आयोजकका तर्फबाट बोल्ने एकजना स्वनामधन्य कविले बोले । पूणर् समय विश्वविद्यालयका प्राध्यापकलाई गाली । कवितामा थोरै । धेरै हामीलाई सुनाए— खट्टी-मीठी कहानियाँ ।
सोध्न त मन थियो— “दाइ, किन बोलाएको त विश्वविद्यालयका प्राध्यापकलाई अनुरोध गरी गरी?”
तर सोधिनँ ।
नसोधी बुझेँ बुझ्नुपर्ने कुरा । सोध्नै परेन । खप्नु खपेँ त्यस बेला । पछि सोचेँ । बुद्धि भनेको जहिल्यै पनि अलि पछि मात्रै आउँछ । मौका पहिल्यै फुत्केर जान्छ । यस्तै हुँदै आएको छ जिन्दगीमा ।
सम्झेँ । एक दशकअघि होला । धादिङ बेसीमा एउटा गोष्ठी भएको थियो, विशुद्ध समालोचनाका बारेमा । धेरै कुरामाथि छलफल चल्यो । एउटा निचोड के निस्कियो भने कसैले शिक्षकको रूपमा विश्वविद्यालयको आँगन टेक्यो कि समालोचक भैगयो । कस्तो तिलस्मी ठाउँ त्यो विश्वविद्यालय? कुन् विश्वविद्यालय? कुनै पनि । सबै । नेपालमा पनि । बाहिर पनि । साहित्यको विभाग ट्क्यो कि समालोचक कहिलियो । इति ।
छलफलमा आयो— बढुवाका लागि एक वा दुई नम्बर चाहिन्छ । किताब प्रकाशित गरेको भए पक्का पाइन्छ । अनि, कनिकुथी लेख्ने, आफ्नै प्रकाशन गृहबाट छाप्ने, अनि बुझाउने । अनि नाम भयो— समालोचक ।
यी विश्वविद्यालयका समालोचक ! यी विश्वविद्यालयका समालोचक ! यी विश्वविद्यालयका समालोचक !
अघि माथि प्राध्यापक भनेको । अहिले समालोचक । कसरी भयो यस्तो तिलस्मी?
जसरी भयो, भयो । भइ त गयो । अब कराएर के? नकराएर के?
अनि कि, कुरा सरल छ । विश्वविद्यालयका साहित्यिक विभागका शिक्षक बनेर पाइलो राख्यो कि प्राध्यापक भइगइयो ।
अनि, प्राध्यापक भइयो कि समालोचक भइगइयो ।
कति सजिलो !
म पनि त्यसै ड्याङको मुला भएकाले यति भनेको । अरूले भनेको भए खोइरो खन्नु हुन्थ्यो । भित्रैबाट कसैले भनेपछि त मुर्मुरिने । चुप लाग्ने । धेरै भए पछाडि कुरा काट्ने ।
यो तिलस्मी जालो छ । बडा रहस्यमयी छ ।
यसो सुराकी गरेँ । विश्वभरि हेरेँ । कुरा त जता पनि उही रहेछ । नेपालमा मात्रै होला भन्ठानेको, होइन रहेछ । अलि राहत पो आयो । जैसे तुम, वैसे हम भन्छ नि हिन्दीमा । त्यस्तै ।
पन्ध्र वर्ष भएछ विश्वविद्यालयमा शिक्षक बनेर उभिएको । समाजमा प्राध्यापक भएको भ्रम फिजाएको पनि त्यति नै वर्ष ।
यो विश्वविद्यालय र साहित्यको वढो अचम्मको सम्बन्ध हुने रहेछ । ए है याँ मात्रै होइन । ए है सारा संसार । ए है यस्तै रैछ । ए है बर्वादै रैछ । ए है, बलीराजाले….
के रहेछ भने, दुइटा कुरा रहेछ ।
पहिलो कुराको बेलिविस्तार लगाउँछु्, हे अगस्त्य मुनि ! अनि दोस्रो कुरा नबिर्सनु होला ।
पहिलो कुरा यस्तो रहेछ !
यी विद्यार्थी पढाएकै सुन्दैनन् । कासखुस गर्छन् । कक्षाका बोलिरहन्छन् । लेक्चर जारी छ । क्षेत्रीय प्रशारणमा व्यस्त हुन्छन् । कोह चुइगम चपाउनमा व्यस्त ।
यो एउटा शाश्वत गुनासो । शिक्षणको माहात्यम पो भयो कि क्यो हो? होइन, कुरा लेखनकै हो ।
किन सुन्दैनन् कुरा ती विद्यार्थी?
उत्तर अचम्मको रहेछ । उत्तर चाहिँ ‘आन डिन’ भन्ने एकजना अमेरिकी प्राध्यापिकाले पो दिइन् । त्यसै कुराको बेलिबिस्तार लगाउँछु ल? कथा पनि भन्छु ।
अनि कि? तिनले अचम्मको कुरा गरिन् । स्कुलमा, कलेजमा, अथवा विश्वविद्यालयमा हामीले पढाएको साहित्य विद्यार्थीले किन सुन्ने? किन ध्यान दिने?
सोध्ने प्रश्न उही । प्रश्नको ढाँचा उही । यो पाठबाट कुन प्रश्न आउने पहिल्यै थाहा छ । कुन कुरा ‘महŒवपूणर्’ — त्यो पनि थाहा छ । उही हो कुरा— दोवकोटाको शाकुन्तलमा पूर्वीय दर्शन । आधुनिकतावादी कवितामा निराशावाद । मुनामदनमा मानवता । पारिजातको शिरीषको फूलमा आस्तित्विक चेतना….कुन्नि केमा हो युगीन चेतना । अनि जेसुकैमा उत्तरआधुनिकतावाद ।
अनि कि, यी प्रश्न आउँछन् भन्ने विद्यार्थीलाई पहिल्यै थाहा भयो । र, यिनका उत्तर कक्षा कोठामा भन्दा गतिलो तरिकाले क्लिफ नोट्न, ओल्ड इज गोल्ड अथवा बजारको बिक्ने कुनै एक प्रकाशन गृहका नोटहरूमा पाइन्छन् । उसो भए, ती नोट किनेर पढ्नु बेस कि हाई, हाई गरे हाई काड्दै कक्षा कोठामा बस्नु बेस? कुरा नि ।
भएछ के भने, प्लस टुमा बाबुले पढेको त्यही किताब छोराले पढ्यो । छोराले पढेको उही नातिले पढ्यो । अनि नातिले चाहिँ पनातिले पनि उही पढ्ला भनेर जतनले राख्यो । पुस्तौँसम्म उही पुस्तक । अनि उही कुरा । उही प्रश्न । उही बजारमा पाइने नोट । त्यहाँभित्रको उत्तर पनि उही । यो ‘उही’ ले बिगारेको देखिन्छ सब । यो ‘उही’ को पर्खाल तोड्न सिर्जनशीलताको तोप चाहिन्छ । त्यस्तो तोप छ हामीसँग? छैन होला हौँ । देखिनँ त । अथवा छ होला । तर छोपियो कतै ।
बिघ्नै सोधे परीक्षामा सोध्लान्— इन्द्रबहादुर राईले कसरी गुरुप्रसाद मैलानीको ‘परालको आगो’ कथाको विपठन गरे?
कसरी धरावासीेले महाभारतको कथाको विनिर्माण गरेर नयाँ बनाए? कसरी नवीनबन्धु पहाडीकी कृष्णामा दौपदीको फरक चित्रण आयो? अथवा कसरी प्रतिभा रायाले महाभारतको कथालाई द्रौपदीको दृष्टिविन्दुबाट पुनरलेखन गरिन्?
अझ अलि साना साना कक्षामा पुग्ने हो भने कुरा झनै गाजेमाजे छ । करिब बाह्र वर्षअघि होला, एउटा कलेजमा प्लस टु पढाउन पुगेँ । नयाँ नयाँ जोगी, खरानी अलि बढी नै घसिएछ कि क्या हो । अर्का एक जना शिक्षकले कलि कटाक्ष गरे । अनि भने— ‘सर, फुर्ति नलाउनु होला । मैले यहाँ पढाएको दश वर्ष भयो । बुझ्नुभो?’
बुझ्न त बुझेँ । नबुझ्नु नै के थियो र? तर पनि आँट गरेर सोधेँ— “सर्, पढाउन त दश वर्ष पढाउनुभएछ । तर किताब चैँ कतिवटा पढाउनुभयो?”
उत्तर आएन । तर बुझेँ । किताब त उही चार वटा रहेछन् पढाएका ।
अब ती चार वटा किताबलाई पहिलो वर्ष निचोर्दा रस नै आयो, मानेँ । दोस्रो वर्ष पनि लौ रस नै आयो । अनि तेस्रो वर्ष? अनि चौथो? …. अनि आठौँ? … अनि दशौँ?
अनि कक्षामा गुरुले के के कार्य गराउनु हुन्छ, बच्चोेलाई सबै थाहा भयो । गृहकार्य के? सब थाहा भयो । परीक्षामा के सोधिन्छ, त्यो पनि थाहा भयो । उसले नम्बर ल्यायो वा ल्याएन, त्यो अर्कै विषय भयो । तर, साहित्यको एउटा कृतिको विश्लेषणका आयाम कसरी सीमित तुल्याइए, कसरी फोसिल बनाइए र कसरी जमाइए, त्यो पनि थाहा भयो होला नि? कि भएन? भएन भने हार्दिक संवेदना । अस्पताल जाँदा हुन्छ । साथमा मास्क नछुटोस् ।
अझै भयावह तस्बिर आयो अलि पछि, अनुभवको खर्कबाट । अनि कि, कक्षा बाह्रामा होला, निबन्ध लेख्न आउने रहेछ, परीक्षामा । गुड । भेरी गुड । अनि निबन्धको शीर्षक के? पहिलेका चार वर्षजतिका प्रश्न पत्र हेर्यो भने ठ्याक्कै थाहा हुने । विद्यार्थी र अनुशासन । विद्यार्थी र राजनीति । नेपालमा पर्यटनको संभावना । जीवनमा आचरणको महŒव । राष्ट्रभक्ति । देशप्रेम । अनि के के पो थियो, बिर्सेँ । बिर्सन लायक भएरै बिर्सेको पनि हो कि? अथवा यस्तै ।
र, यी सबै शीर्षकका सविस्तार व्याख्या गरिएका सुन्दर निबन्ध बजारमा बेचिने नोटमा पाइन्छन् । अनि कक्षा कोठाको काइते कुरा किन सुन्नु?
अनि कि, स्वतन्त्र विषयमा त यस्तो गरेछन् अरे, मानाँै । तर नि, सिर्जनामा पनि पो यस्तै गरियो त । माथि, विश्वविद्यालयमा । अब, यी कुरा त बजारमा पाइने नोटमा छन् । विश्वविद्यालयबाहिर लहरै उभिएका पुस्तक पसलमा उभिएको भीड देख्दा एक ताका लाग्थ्यो, कित धेरै पढ्छन् विद्यार्थीहरू । पढ्नदास । कलेरिजले दुई वर्षमा क्याम्ब्रिजको पूरा साहित्यिक लाइब्रेरी ने पढेर सकेको थिए रे । आम्मामामा । यस्तै हुन् कि? उहिले हामी त मास्टर्स पढ्दा मरेर आठ घण्टा पढ्थ्यौ । यिनीहरू त… लाग्थ्यो । नतमस्तक हुन्थेँ । पछि कुरा बुझ्दै जाँदा, कथा त अर्कै पो रहेछ । कथा त ती नोट्समा पो रहेछ ।
हामीले मारेका साहित्यका कक्षा कोठाको जीवन । आफैँले आफैँलाई हतकडी लाउँदा पनि हुन्छ । तर साहस छ के त? गाह्रो छ ।
कक्षा कोठाका यस्तै प्राध्यापक हामी सभा-समारोहमा जान्छौँ । वरिष्ठ समालोचक पो भन्छन् त । एकजना सत्तरी नाघेका पुराना कविले, म तीस वर्षको हुँदा होला, कलङ्कीमा बोलाएर एउटा पुस्तक दिएँ । पछि घरमा ल्याएर हेरेँ । पहिलो पानामा लेखेका रहेछन्— वरिष्ठ सालोचक महेश पौड्याललाई । कारण बुझिहालेँ । विश्वविद्यालयमा थिएँ नि त । उफ् ।
त्यसै दिनदेखि अश्वत्थामा बनेर हिँडिरहेको छु ।
हामी एउट कुरा पटक पटक अर्को भाषामा भन्छौँ । नयाँ नयाँ छिमलका विद्यार्थी आइपुग्छन् विश्वविद्यालयमा । नयाँ आउनेले पनि सुनेका हुँदारहेछन् पुराना कुरा । कसो कसो । पहिले, उही कक्षमा पढ्ने दाइको रेकर्डिङ सुनेर । दिदीको रिपोर्टिङ सुनेर । कुन्नि कसले भनेको सुनेर । तर, हामी यो कुरा सायद कम बुझ्छौँ । नयाँ नयाँ प्रपञ्च छन् हामीसँग पुराना कुरा भन्नलाई । सुनिरहनु किन अभिषप्त छ त आजको साहित्यिक बिरादरी, उही कुरा? अब, कसरी आउने होला नयाँ, सिर्जनशील व्यक्ति यस्तो मरुभूमिबाट?
कुरा गम्भीर हो कि होइन? होइन भन्न पनि पाइन्छ कि, तर हो ।
‘वरिष्ठ समालोचक’ भएको करिब एक दशकपछि अर्को कुरा पनि पत्ता लाएँ । यो चाहिँ कविताका बारेमा । मरेर पत्ता लगाएको कुरा नसुनाउँदा राम्रो हुन्छ भन्छन् । तर पनि, तलतल भयङ्कर लाग्छ । आफैँलाई उडाउनुको मज्जा अलौकिक छ । भन्छु । भनेरै पो छोड्छु त । यो कुरा चाहिँ मेरा कतिपय प्राध्यापक मित्रलाई मन पर्दैन भन्ने अहिल्यै थाहा छ । मन पर्ने कुरा त डिपार्टमेन्टल स्टोरमा पाइन्छ नि, खोज्ने जाँगर हुँदा ।
कुरा के भने, वर्षौंको साधनापछि र महिनौँ कुरेपछि एउटा कविलाई एउटा कुरा फुर्दो रहेछ । त्यो कुरा भन्नलाई अथवा त्यो भाव सम्प्रेषण गर्नलाई उक्त कविले कविता लेख्दो होला सायद । त्यस भावले मन, मस्तिष्क अथवा पूरा शरीर झङ्कृत होस् भन्ने उसले सोचेको हुँदो हो सायद । कविता लेख्दै गर्दा ती कविले मेरो यस कविताको स्वरूपमा अल्झिएर हजारौँ विद्यार्थीका निर्दोष निधारबाट सयौँ थोपा पसिनाले आत्महत्या गरून् भन्ने सोचेका थिए कि थिएनन्? अथवा, कुनै एक कविताको स्वरूपको सुराकी गरेपछि, उही स्वरूपको अर्को कविता भेटियो भने पुनः आधा दिन त्यसै स्वरूपको चर्चामा बिताइदिन मिल्छ? त्यो कुरा त अघि नै थाहा भइसक्यो त?
यो मस्तिष्क छ नि, यो नै सबैले घोटिरहून् भनेर लेखेको हो कि होइन कुनै कविता, कविले? कविले कविता छन्द किन हाल्छ? ताल? सङ्गीत? लय? गति? यति? भो, अब भन्दिनँ । अनि, सरको कुरा दिमागले मात्रै बुझ्ने पनि हो कि शरीरले पनि? शरीर कहाँ छ हाम्रो शिक्षणमा? परीक्षामा? जमेका, हिउँजस्ता, अथवा सुकेको काठजस्ता प्रश्न सोध्छन् यी प्राध्याकले भन्ने थाहा पाएको वद्यार्थीले कविता बुझ्न फलानो प्रकाशन गृहको पुरानो नोट पढ्छ कि आफ्नो शरीरलाई कविताको ग्रहण कार्यमा लगाउँछ? शरीरले पनि कविता पढ्ने हुन्छ? कानले पढ्ने? खुट्टाले? जिउले? नाकले? जिब्रोले? नपढ्ने भए कविले यत्रा रस मस्तिष्ककै लागि मात्रै सोचे होला त? अनि ताल नि? लय नि? गति मस्तिष्कका लागि? अनि गति? छन्द?
यसो सोच्छु— कुनै पनि सिर्जना, सर्जकले कुनै वैश्विक मानदण्डमा उभिएर लेखेको हुँदैन । उहिले हुन्थ्यो होला, थाहा भएन ।
त्यो बेला हामी थिइनाँै । तर अहिले हुँदैन । आजभन्दा पाँच वर्षअगाडि ग्रिसमा नाटक लेख्ने नाटककारले उनको जीवनकालको ५००० वर्षपछि महेश पौड्याल भन्ने एउटा काइते विद्यार्थी आउला धरतीमा र उसले मेरो नाटकका तत्त्वहरूमाथि लामो विधातात्विक विश्लेषण गर्दा, छाप्ला, र जाँचमा आउँछ भन्दिएका कारण उसका विद्यार्थीले किन्लान् भन्ने सोचेर लेखे होला त? उनले त कुनै भाव, कुरा वा तर्क सम्प्रेषण गर्नलाई पो लेखेका होलान् त? र, त्यो कुरा हामीमध्ये प्रध्येकले भिन्न भिन्न तरिकाले, भिन्न भिन्न अनुपातमा अनुभव गरेका हुँदा हौँ । एउटै हुन्छ? हुँदैन भने, प्रश्नमा हामीले एउटै किन माग्यौँ? पुष्कर लोहनीको कविता वा कथा पढाउनु पर्यो कि यौन र यौनिक सम्बन्ध बाहेक किन देखेनौँ? देख्दा के हुन्छ? जोखिम हुन्छ । मलाई पनि थाहा छ ।
त्यो जोखिम नै सिर्जनको प्राण हो ।
जोखिम लिन कत्तिको सकिएला?
युग पनि बदल्नु छ कि, घाम कतिबेला अस्ताउलान् भनेर हेर्नु मात्रै छ?
विधाहरूको प्राण बचाउने हो कि शरीर ?
मानौँ, हाम्रै कक्षा कोठबाट भोलिको कवि उदायो । समालोचक उदायो । कस्तो होला?
कसैले भन्नुहोला— उदाएका छन् । कति उदाए उदाए । देश धानेको छन् । साहित्य त पूरै…
अनि कि, तिनीले कहाँ लेखे कविताको शरीरको सिद्धान्त?
धडकनको गतिकै तालमा पढ्नू है जोन किस्टको यो हरफ— आह हेप्पी लभ, मोर हेप्पी हेप्पी लभ । पढ्नू त । कस्तो भयो? फेरि पनि है— आह हेप्पी लभ, मोर हेप्पी हेप्पी लभ । ठ्याक्कै धडकनकै गतिमा । अचम्म भयो नि । तर नि, यो कुरा कक्षा कोठामा आउँदैन । कारण— परीक्षामा आउँदैन । परीक्षामा के आउँछ? थाहा छ क्या, थाहा छ । त्यो, फलाना प्रकाशनको नोटमा छ त, त्यही । किट्स कसरी सेन्सुअल कवि हुन्, त्यो लेख । उहिले बूढो खुइले, कुन गुरुले पाठ्यक्र बनाउँदा नमुना प्रश्नपत्र बनाउँदा दिनुभएको प्रश्न । भाषा अलि फेर्यौँ होला हामीले । निकै बाठा पो छौँ त । तर, कुरा उही ।
यो कविताको छलफल, विश्लेषण र मूल्याङ्कनमा हामी उक्त कविले त्यो कविता किन र कुन प्रयोजनका लागि लेख्यो, त्यसको छेउछाउ पनि पुग्दैनाँै । र, उनको उक्त भावले कसरी अनेकौँ भावलाई जन्म दिन सक्छ कक्षा कोठामा वा बाहिर, त्यो पनि सोच्दैनौँ ।
हामीले सिर्जनाका कक्षा कोठालाई रूपविन्यासका प्रयोगशाला बनाएको हो कि होइन? होइन भने, के बनायौँ, जान्न पाऊँ । हो भने त, हो । कुरा सक्किगो ।
अनि, सिर्जनाचाहिँ कता छुट्दै गयो, छुट्दै गयो, छुट्दै गयो, छुट्दै…
हामी यो रूपविन्यासका प्राध्यापक कविको कवित्वको, कथाकारको कथा-प्रसवको, उपन्यासकारको सिर्जनव्योमको प्राणसम्म पुग्न छोडेको धेरै भयो । हामी लाश चुसेर पनि दूध आउँछ, चुसेर अघाऊ भनेर पो पढाइरहेका छौँ कि जस्तो लाग्न थालेको छ ।
कि म पागल हुँ । कि यो सत्य आफैँमा पागल छ । कि दुवै ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।