साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

किन लाेकप्रिय बनिरहेछ छेस्का कविता ?

छेस्काको हरेक पङ्क्तिमा ५-५ अक्षर गरी कुल १५ ओटा सग्ला अक्षर रहेका हुन्छन् । यसमा हलन्त वा आधा अक्षरको गणना गरिँदैन । शुद्ध नेपाली भाषाका शब्दको प्रयोग गर्दै सिर्जना गरिने छेस्काको तीनओटै पङ्क्तिमा अलग अलग र सामूहिक रूपमा समेत अर्थपूर्ण भाव दिन सक्ने सामर्थ्य रहेको हुन्छ ।

हिजोआज साहित्यिक जमघटहरूमा काव्यिक उपविधाहरूको चर्चापरिचर्चा हुँदा कसैले “छेस्का” को नाम उच्चारण गर्नेबित्तिकै गजबको कौतुहलता उत्पन्न हुने गरेको पाइन्छ । साहित्यमा रुचि राख्ने जोसुकैमा छेस्का के हो ? कस्तो हुन्छ ? के के विशेषता रहेका हुन्छन् ? यस्को उत्पत्ति कहिले, कसरी भयो ? छेस्काको विगत, वर्तमान र भविष्य कस्तो छ ? यी र यस्तै खालका अनेक जिज्ञासा शान्त पार्नु यस लेखको उद्देश्य रहेको छ ।

छेस्काको अर्थ –

bahulako diary small and inside post

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित बृहत् ‘नेपाली बृहत् शब्दकोश’ अनुसार “दाउरा वा काठपात आदिका मसिना टुक्रा, झिँझाझिँजी, झिटिमिटी, टुक्राटुक्री, चोइटाचोइटी” लाई छेस्को भनिएको पाइन्छ । यस्ता छेस्काहरू भौतिक रूपमा निकै साना देखिए तापनि कहिलेकाहीँ आकस्मिक रूपमा शरीरमा बिझ्दा च्वास्स घोचेर असह्य पीडा दिने किसिमका हुने भएकाले त्यसैको झल्को दिने गरी थोरै शब्दको माध्यमबाट पाठकको मन मस्तिष्कलाई आकर्षित गर्ने, झस्काउने चुस्त साहित्यको सिर्जना गर्ने अभिप्रायका साथ “छेस्का“ कविताको सिर्जना र नमाकरण गरेको पाइन्छ । ५-५ अक्षरका ३ पङ्क्तिमा कुल १५ अक्षर रहने “छेस्का“ नेपाली साहित्यको नवीनतम प्राप्ति हो भने काव्यिक उपविधाका रूपमा सिर्जना गरिएको कविताको यो लघुतम स्वरूप हो ।

परिभाषा-

“विम्ब र भावको मिश्रण गरी कलात्मक शब्द संयोजनको माध्यमबाट स्रष्टाको अनुभूतिलाई सन्देशमूलक, सूचनामूलक एवं व्यङ्ग्यात्मक ढङ्गले उजागर गर्न रचना गरिएको पन्ध्र अक्षरको त्रिपदीय लघुतम कविता नै छेस्का हो ।”

एलपी पराजुली

संरचना –

छेस्काको हरेक पङ्क्तिमा ५-५ अक्षर गरी कुल १५ ओटा सग्ला अक्षर रहेका हुन्छन् । यसमा हलन्त वा आधा अक्षरको गणना गरिँदैन । शुद्ध नेपाली भाषाका शब्दको प्रयोग गर्दै सिर्जना गरिने छेस्काको तीनओटै पङ्क्तिमा अलग अलग र सामूहिक रूपमा समेत अर्थपूर्ण भाव दिन सक्ने सामर्थ्य रहेको हुन्छ । ५ अक्षरको प्रत्येक पङ्क्तिले एउटा पूर्ण वाक्य जस्तै गरी अन्य पङ्क्तिको सहाराविना नै स्वतन्त्र रूपले भाव व्यक्त गर्न सक्दछ । अझ तल्लो पङ्क्तिबाट माथितिर पढ्दा समेत अर्थ लाग्न सक्ने, लयात्मक एवं गेयात्मकताको गुण समेत रहेको हुन्छ । जुनसुकै क्षेत्र वा भावभूमिमा छेस्का रचना गर्न सकिने भए तापनि शिष्टतापूर्वक एवं व्यक्तिगत लाञ्छना रहित व्यङ्ग्यात्मक प्रस्तुतिका रूपमा चस्स बिझाउने वा ट्वाक्क स्वाद आउने रचनालाई पाठकले मन पराउने भएकाले यस्ता रचनालाई विशिष्ट गुणयुक्त छेस्का मान्ने गरिन्छ ।

छेस्का कविताका मुख्य विशेषताहरू –

१. त्रिपदीय संरचना (पाँच-पाँच अक्षरका तीन पङ्क्ति) –

छेस्काका तीनै पङ्क्तिमा ५-५-५ गरी कुल १५ अक्षर रहन्छन् । खुट्टा काटिएको वा आधा अक्षर गणना हुन्न । जबरजस्ती खुट्टा काट्न वा आधा अक्षरलाई सग्लो बनाउन मिल्दैन ।

उदाहरण १- (मुरारी राज मिश्र)

पुगेन ढङ्ग           मात्तिँदैछ झन्

राज्यका अङ्ग         किन हो कुन्नी

छन् लथालिङ्ग ।      बुढ्यौली मन ।

२. भाषिक शुद्धता- छेस्कामा शुद्ध नेपाली शब्द लेखिन्छ । अनुप्रास मिलाउनकै निमित्त आफूखुसी शब्दमा अक्षर थपघट गर्न वा बङ्ग्याउन मिल्दैन । भाषिक शुद्धतामा ध्यान दिइन्छ ।

उदाहरण २- (विनोद नेपाल)

शुद्ध लेखियोस्        स्वार्थका पोका

अक्षर हैन            भरिन्न भुँडी

भाव देखियोस् ।       सधैँका भोका ।

३.गहन भाव- छेस्का भावपूर्ण एवं सन्देशमूलक हुन्छ । यसको रचना गर्दा स्रष्टाको विचार, भाव र कला पक्ष उजागर गरिएको हुन्छ । उखान टुक्का, लोकोक्ति, अरूको भनाइ वा उद्गार हुबहु नक्कल नगरी कलात्मक ढङ्गले अभिव्यक्त गरिएको हुन्छ ।

उदाहरण ३- ( ओम आचार्य)

ढुङ्गामा जरा          पुराना थोत्रा

बढ्दैन वृक्ष           नढले सम्म

न नाच चरा ।        हुर्केनन् पोथ्रा ।

४.विम्बको प्रयोग- छेस्कामा उल्लेख गरिने प्रसङ्गलाई पुष्टि गर्न अन्य विषयवस्तुसँग तुलना गर्न विम्बको प्रयोग गरिएको हुन्छ । थोरै शब्द हुँदाहुँदै पनि विम्बको प्रयोगले सिर्जना निकै सुन्दर र सशक्त बन्ने गरेको पाइन्छ ।

उदाहरण ५- (टङ्कप्रसाद पन्थ)

सकिने मेलो          छिना र झम्टी

फुपूको श्राद्ध         फुटेको हाँडी

छेलो र खेलो ।        टुक्राको गन्ती ।

५. व्यङ्ग्यात्मक सन्देश- छेस्काको नामअनुसार नै चसक्क बिझाउने किसिमको बनाउन विम्ब, प्रतीक, सङ्केत आदिको माध्यमबाट कटाक्ष गरिएको हुन्छ । कसैको नाम, जाति, धर्म वा व्यक्तिगत फोटो प्रयोग गरी गालीगलौज वा अशिष्ट शब्द प्रयोग गरी व्यङ्ग्य गर्न भने छेस्कामा वर्जित गरिएको हुन्छ ।

उदाहरण ६- ( हृदय लेकाली )

सुताहा स्याल         भ्यायौ नाराले

म गर्छु भन्छ         अब के गर्छौ ?

सबैको ख्याल ।       हुतीहाराले ।

६. समसामयिकता – छेस्काले समाज, देश र वर्तमान परिवेशका जल्दाबल्दा विषयलाई उठान गरेको हुन्छ जसले पाठकको मनमस्तिष्कमा गहन छाप छोड्न सक्छ । समसामयिक विषय प्रति गरिने सानो कटाक्षले पनि धेरै कुरा बुझाउन पर्याप्त हुन्छ ।

उदाहरण ७- (जयनारायण नेपाल)

नपरौँ दङ्ग          स्वार्थी भो चाला

देखियो ढङ्ग          काड्छन् कि के हो ?

फेर्ने छन् रङ्ग ।       न्यायको छाला ।

७. अनुप्रासको प्रयोग- छेस्कामा अनुप्रास बाध्यकारी छैन तर अनुप्रासले छेस्कालाई लयात्मक, गेयात्मक र मिठासयुक्त बनाउँछ । अनुप्रासको हकमा तीनओटै पङ्क्तिमा वा कुनै दुई पङ्क्तिमा अनुप्रास मिलाउन सकिन्छ । यद्यपि पहिलो र तेस्रो पङ्क्तिमा अनुप्रास मिलाइएको छेस्का गायनमा मिठासपूर्ण हुन्छ ।

उदाहरण ७ – (खगेन्द्र बस्याल)

छोडेर लाली           राष्ट्रिय गान

गरेर गाली            उठेर मात्रै

खोजेका ताली ।       आएन शान ।

८. कलात्मकता- छेस्काका तीनओटै पङ्क्तिले छुट्टाछुट्टै र सामूहिक रूपमा समेत भाव दिने सामर्थ्य राखेको हुन्छ । माथिबाट तलतिर पढ्दा जस्तो भाव आउँछ तलबाट माथितिर पढ्दा समेत सोही भाव आउने छेस्का रचनामा कलात्मकताको गुण पाइन्छ ।

उदाहरण ८- (एलपी पराजुली)

सुध्रेन मति           चिन्दा चरित्र

बढेन गति            मान्छेको रूप

शून्य प्रगति ।         अति विचित्र ।

९. तिक्खर स्वाद- थोरै शब्दमा लेखिने भएकाले छेस्का चटनीजस्तो तिक्खर स्वादको हुन्छ । छेस्का जुनसुकै विषयवस्तु वा भावभूमिमा लेखेको पाइन्छ । व्यङ्ग्य, कटाक्ष, ध्यानाकर्षण, सुझाव, अनुभव, अनुभूति, प्रेम, दया, धर्म, संस्कृति, प्रकृति, विकृति, राजनीति, आर्थिक, सामाजिक, भूगोल, इतिहास, सन्देश, उपदेश, स्वदेश, विदेश जे विषय भए पनि भावयुक्त, सन्देशमूलक, चस्स बिझाउने र तिक्खर स्वादका छेस्का कविता स्तरीय मानिन्छन् ।

उदाहरण ९- (किसन पौडेल)

गरेर युद्ध            लौ आऊ खान

रुँदै छ मान्छे         खिचडी पाक्यो

हाँस्दै छ गिद्ध ।      कसौँडी तान ।

छेस्काको सङ्क्षिप्त इतिहास –

साहित्यका विविध विधाहरूमा निरन्तर कलम चलाउने कवि, लघुकथाकार, लेखक श्री विनोद नेपाल छेस्का साहित्यका प्रणेता हुनुहुन्छ । वहाँले एउटा लेखमार्फत व्यक्त गर्नुभएको कथनअनुसार “साहित्य सिर्जना गर्ने क्रममा एक दिन ५-५-५ अक्षर संरचनाको एउटा शब्दसमूहले चस्स छोएपछि त्यस सिर्जनालाई ‘छेस्का’ नाम दिएर मुहारपुस्तिकाको भित्तामा राखेसँगै ‘छेस्का’ सार्वजनिक सम्पत्ति भएको हो । त्यो दिन थियो २०७६ मङ्सिर २४ गते अर्थात् १० डिसेम्बर २०१९ । सो पोस्टलाई १५५ जनाले मन पराउनुभएको थियो भने ५० बढी सकारात्मक प्रतिक्रिया आए । यसले पङ्क्तिकारलाई हौस्यायो । त्यसपछि नै यस शैलीमा रचना गर्ने र सार्वजनिक गर्ने क्रम प्रारम्भ भएको हो ।”

उक्त दिन फेसबुकमा राखिएका विनोद नेपालका छेस्का यस्ता थिए –

१. २. ३.

मर्म नपरी                          जाडोको याम                     रहिन्छ यहीँ

आँखाको झरी                    हाँस्यो हिमाल                   नबढे अघि

झर्छ कसरी ?                     पोखियो घाम । पुगिन्न कहीँ ।

छेस्का प्रकाशनको इतिहास –

छेस्काको जन्म भएको करिब १३ महिनासम्म सामाजिक सञ्जालमा यदाकदा छेस्का प्रकाशित भएता पनि सञ्चारमाध्यम वा साहित्यिक प्रकाशनमा यसले स्थान पाउन सकेको थिएन ।

‘छेस्का’ २५ पुस २०७७ मा पहिलोपटक सञ्चार माध्यममा प्रकाशित भएको हो । प्रकाशन गर्ने अनलाइन थियो ‘नागरिकन्युज डट कम’ । त्यो दिन विनोद नेपालका १० ओटा छेस्का प्रकाशित भएका थिए । सो प्रकाशनपछि छेस्का साहित्यप्रति धेरैको चासो बढ्दै गयो र थुप्रै साहित्यकारहरूबाट छेस्का साहित्यको सिर्जना गर्ने क्रम ह्वात्तै बढ्यो ।

यसै क्रममा २०७८ वैशाख ३१ गते शुक्रबार अक्षय तृतीयाको दिन प्रवर्तक विनोद नेपालकै सक्रियतामा “छेस्का साहित्य“ नामबाट फेसबुकमा एउटा समूह बनाई सञ्चालन गरी छेस्का रचना पोस्ट हुन थालेपछि धेरै सर्जकहरू यसमा जोडिनुभयो र यसलाई पछ्याउँदै छेस्का रचना पोस्ट, लाइक, कमेन्ट र सेयर गर्न सुरु भएको हो । उक्त दिन प्रकाशित विनोद नेपालको छेस्का यस्तो थियो –

मिलेकै राम्रो

शुभकामना

सधैँ छ हाम्रो !

छेस्का साहित्यको विकासमा संस्थागत प्रयास

फेसबुक समूह “छेस्का साहित्य” मा विभिन्न साहित्यकारका छेस्का रचना पोस्ट हुँदै गएपछि विभिन्न साहित्य सर्जकहरूबिच सामाजिक सञ्जालमार्फत सम्पर्क स्थापित हुन गयो । थोरै शब्दले गहन भाव दिन सक्ने भएकाले छेस्का साहित्यको उत्थान र विकासका निम्ति एकजुट भएर विभिन्न गतिविधि सञ्चालन गर्न “छेस्का साहित्य नेपाल” नामको एउटा साहित्यिक संस्था गठन गर्ने वातावरण बन्दै गयो ।

२०७८ श्रावण २ गते शनिवार सम्पन्न भर्चुअल बैठकको निणर्यानुसार फेसबुक समूहको नाम संशोधन गरी “छेस्का साहित्य नेपाल” राखियो भने ९ जना साहित्यकर्मीहरू विनोद नेपाल, मुरारिराज मिश्र, टङ्क पन्थ, खगेन्द्र बस्याल, किसन पौडेल, ओम आचार्य, एलपी पराजुली, जयनारायण नेपाल र हृदय लेकाली समेतले छेस्का साहित्यका प्रवर्तक विनोद नेपालको अध्यक्षतामा “छेस्का साहित्य नेपाल, केन्द्रिय तदर्थ समिति” गठन गरी संस्था दर्ताका लागि विधान मस्यौदा लगायतका कार्य अघि बढाउने काम भएको छ ।

छेस्का साहित्यको सिद्धान्त र प्रयोग –

छेस्काको सिद्धान्त एवं विधि विधान सम्बन्धमा विज्ञ व्यक्तित्वहरूबाट आलेख तयार पारी प्रकाशित गरिएपछि यसले छेस्का साहित्यको सिर्जना गर्न मार्गदर्शक सिद्धान्तका रूपमा काम गरेको पाइन्छ । सोमध्ये विनोद नेपालको २०७८ असार २ मा साहित्यपोस्टमा प्रकाशित “साहित्यमा नयाँ प्रयोग-छेस्का”, टङ्कप्रसाद पन्थको २०७८ श्रावण १४ मा नागरिकमा प्रकाशित “काव्यिक माधुर्यमा छेस्का” र २०७८ श्रावण २० को साहित्यपोस्टमा प्रकाशित “नेपाली कविताको नवीन प्राप्ति छेस्का : संरचना, प्रवृति र प्रयोग“ आलेख एवं मुरारिराज मिश्रको ब्लगपोस्ट “लघु काव्य विधा – छेस्का” ले छेस्का साहित्यको विकासमा महत्त्वपूर्ण योगदान दिएको पाइन्छ । यसै गरी यसबारेको सामग्री ‘निगुरा’ त्रैमासिकको ‘बहुविधा विशेषाङ्क’ (वर्ष ४, अङ्क १,पूर्णाङ्क १०, साउन-भदौ-असोज, २०७८) मा ‘नेपाली काव्य साहित्यको नवीनतम उपलब्धि’ शीर्षकमा विनोद नेपालको लेख पनि प्रकाशित छ ।

छेस्का साहित्यको वर्तमान अवस्था –

छेस्का साहित्यका स्रष्टाहरूले सङ्गठित रूपमा छेस्का सिर्जना र प्रकाशन गरेको करिब ७ महिना मात्र हुँदा पनि यसमा धेरै स्थापित एवं नवोदित साहित्यकारहरू संलग्न रहनुले छेस्काप्रतिको आस्था र विश्वासलाई प्रस्ट पारेको छ । नवोदित तथा स्थापित साहित्यकारहरूबाट उत्कृष्ट एवं फरक-फरक स्वादका र विषयकेन्द्रित छेस्का लेख्ने क्रम बढ्दो छ । सिद्धान्तविपरीत मुख्य विषय नजरअन्दाज गरी संरचना, भाव, विम्ब, अनुप्रास आदिमा गम्भीर आघात पुग्ने गरी छेस्काको रचना र प्रकाशन नहोस् भनी सजगता अपनाउँदै विनोद नेपाल, टङ्कप्रसाद पन्थ, एलपी पराजुली, मुरारिराज मिश्रलगायतले ‘छेस्का साहित्य नेपाल’को फेसबुक समूहमा समय समयमा छेस्का सिर्जना गर्दा ध्यान दिनुपर्ने विषयवस्तुबारे सङ्क्षिप्तमा जानकारीमूलक सामग्री समेत पोस्ट गर्दै आएको देखिन्छ । यसको साथै विज्ञ स्रष्टाले नवोदित सर्जकहरूलाई फेसबुकमार्फत ‘कमेन्ट’ गरेर वा कतिपय सर्जकलाई मेसेन्जरमार्फत सकारात्मक सुझाव समेत दिने परिपाटिले गुणात्मक छेस्का कविता रचनामा सहयोग पुगेको छ ।

छेस्काको बढ्दो लोकप्रियता तथा छेस्काप्रेमीहरूको माग समेतलाई दृष्टिगत गरी ‘फेसबुक लाइभ’ मार्फत विभिन्न छेस्का सर्जकका छेस्का रचना लयबद्ध तरिकाले वाचन गर्ने गरिएको छ । २०७८ भाद्र ११ गतेदेखि छेस्का वाचन पाक्षिक रूपमा सञ्चालन हुँदै आएको छ । हालसम्म छेस्का वाचनको ७ ओटा शृङ्खला उत्साहप्रद ढङ्गले सम्पन्न भएका छन् । फेसबुक समूहमा ६ सयभन्दा बढी साहित्यप्रेमीहरूलाई समेट्दै १०० भन्दा बढी छेस्का सर्जकका छेस्का रचना फेसबुकमा प्रकाशित हुँदै आउनु र पुस्तकको रूपमा समेत छेस्का कविता उपलब्ध गराउन प्रथम संयुक्त सङ्ग्रह शीघ्र प्रकाशनको तयारी हुनुले छेस्का साहित्यको विकासक्रम उत्साहप्रद र भविष्य उज्ज्वल रहेको देखिन्छ ।

२०७८ कार्तिक १० गतेदेखि छेस्का वाचन कार्यक्रममा वाचन गरिएका छेस्काहरूलाई सङ्कलन गरी ‘छेस्का सङ्ग्रह’ को रूपमा फेसबुकमा प्रकाशित गर्ने काम पनि हुँदै आएको छ । छेस्का सर्जकहरूले साहित्यिक कार्यक्रमहरूमा छेस्का वाचन गर्ने गर्नुभएको छ भने विभिन्न छेस्का सर्जकहरूका छेस्का कविताहरू विभिन्न अनलाइन तथा छापामा समेत प्रकाशित हुँदै आएका छन् ।

उपसंहार –

आकारमा सानो भए पनि गहन भाव व्यक्त गर्न र चोटिलो छाप पार्ने सक्ने क्षमता भएकाले छेस्का लोकप्रिय भएको छ । छेस्काले छोटो समयमै आर्जन गरेको लोकप्रियताले यसको भविष्य आशालाग्दो रहेको बुझ्न सकिन्छ । समाजमा व्याप्त विकृति, विसङ्गतीलाई उजागर गर्दै चोटिलो व्यङ्ग्य प्रहार गरी झस्काउने तथा सम्बन्धित पक्षलाई सजग गराउने क्षमता राख्ने भएकाले ‘छेस्का’ क्रमशः सबै साहित्य सर्जकहरूको रोजाइको सिर्जना बन्न सक्ने देखिन्छ । त्यसैले स्वरूपमा सानो भए पनि नेपाली साहित्य आकाशमा ‘छेस्का’ एक उज्ज्वल नक्षत्रको रूपमा कालान्तरसम्म चम्किरहने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया
Loading...