मेरा गुरु, सहप्राध्यापक तथा प्रसिद्ध समालोचक डा. रजनी ढकालले गृहकार्यमा दुई प्रश्न दिनुभयो । अस्ति बुझाउनुपर्ने पाठ, अलि ढिलो भयो । क्षमा याचना गर्दै आज टुप्लुक्किएको छु । ढिलो हुनुका बहाना अनेक हुन सक्छन् । तर, सबैभन्दा सुरक्षित बहाना चैँ  ‘मौसम ठिक भएन’ भन्नुमा रहेछ । त्यही भनेँ ।

जोक पो याद आयो । भारतमा, अटल बिहारी बाजपेयीको सरकार १३ दिनमै सङ्कटमा पर्‍यो । पत्रकारले लालु यादवलाई यो सरकार गिर्‍यो भने के गर्नुहुन्छ’? भनेर सोधेका थिए । उनले भनेका थिए— ‘गिरने तो दो पहले । हम यूँ बना देंगे नईं सरकार ।’

सरकार ढल्यो । नयाँ सरकार बन्न सकेन । पत्रकारले लालु यादवलाई घेरिहाले । उनको उत्तर थियो— ‘अभी मौसम ठिक नहीं है ।’

मौसमले सित्तैमा बहाना दिन्छ । धन्यवाद मौसमलाई ।

आज मौसम खुलेको छ । म पनि आइपुगेको छु ।

उत्तर सजिलो पटक्कै छैन । गुरुको अध्ययन, ज्ञान र परिपक्वता एकातिर छ । मेरो लहडी र हठी स्वभाव अर्कातिर । तालमेलमा अलमल ।

प्रश्न खासमा तीनवटा थिए । पहिलोचाहिँ साभार प्रश्न थियो— कुनै पाठकले गरेको प्रश्न । गुरुले सुनाउनुभएको । प्रश्न थियो — हैनऽ यो महेश पौड्याललाई किताबको नाम राख्नचाहिँ आउँदैन कि क्या हो ? सधैँ निगेटिभ । ‘त्यसपछि फुलेन गोदावरी’ भनेको छ । किन नफुलाएको होला ? फेरि ‘अपरिचित अनुहार’ ।

धन्न ती पाठकले ‘आमा नहुँदा एक साँझ’ चैँ भनेनछन् । त्यो बालनाटक । त्यै पनि नेगेभिट शीर्षक । हैट । पहिलो कथा सङ्ग्रह ‘अनामिक यात्री’ को नाम पनि आएन, धन्न । नामै नभएको यात्री । घोर नेगेटिभ । अनि कि, अनामिक यात्री हुनुपूर्व त्यस सङ्ग्रहको नाम थियो— ‘सलाई जल्छ छातीमा’ । साथीहरूले भने — यो त अति भयो । अनि ‘अनामिक यात्री’ मा पुगेर थान्को लागेँ ।

यसो सोचेँ । हो त ! आफैँ सोच्न थालेँ— किन यस्तो ?

महेश पौड्याल

एउटा लेखकलाई आत्ममन्थन गराउने विषय हो यो । यो प्रश्न सुनेकै दिनदेखि म यसमा सोचमग्न भएको छु ।

गाउँमा पुगेँ । एक जना दाइको नाम थियो दुःखीराम । तिनले कहिल्यै सुख पाएनन् जीवन ।

मेरा एक जना गुरुले रमाइलो गर्नुभयो । भन्नुभयो— महेश, हामी बनारसमा पढ्दा तीन जनाको एउटा समूह थियो । हामीले नाम राख्यौँ— ‘खत्तम लङ्गड कम्पनी’ । पछि हामीमध्ये कसैले पनि गतिलो जागिर पाएन । कसैको आर्थिक दशा ठिक भएन । नाम चैँ जहिल्यै राम्रो र सकारात्मक राख्नुपर्ने रहेछ ।

नाममा केही छ त ।

यहीँ आयो गुरुको प्रश्न । उत्तर छैन मसँग । उत्तर नदिन पाइँदैन गृहकार्यमा ।

मनमा दुई कुरा खेले ।

१. म पब्लिकमा शिर उठाएरै हिँड्छु । झुकाएर हिँड्दिनँ । अनेक कमजोरी र त्रुटिहरूको माला लगाएर पनि टाउकोलाई लत्रनचाहिँ सकेसम्म दिन्नँ । कारण, शिरलाई पनि लत्रिन दिएँ भने, म पूर्णतामा लत्रिएको हुने छु । मसँग नलत्रिएको त्यही एउटा शिरमात्रै छ । अरू… ?

मैले ‘लाइफ राइटिङ’ को कोर्स पढाउँदा विद्यार्थीहरूले सोधेका थिए— सर, तपार्इं जीवनी कहिले लेख्नुहुन्छ ?

मैले भनेँ— कहिल्यै लेख्दिनँ ।

सोधे— किन ?

भनेँ— दुई कारण छन् । पहिले, म सफा गरिएको फोटोजस्तो देखिन्छु बाहिर । तर, वास्तवमा म फोटोको नेगेटिभजस्तो छु ।

भन्नुको तात्पर्य के थियो भने — मेरे लेखकीय व्यक्तित्वको नेपत्थयतिर पीडाहरूका पहाड छन् । ती पहाड म कतै देखाउँदिनँ । कथामा त एउटा पात्रमा लगेर थोपरिदिँदा भइहाल्छ । तर जीवनीमा ? जीवनीमा त जस्तो छ, त्यस्तै देखिनुपर्छ । मैले मेरो आँसु, पीडा र सङ्घर्ष बाँड्दा, त्यसमा सार्विक चासोको के चैँ विषय रहन्छ र ? भो, लेख्दिनँ जीवनी ।

२. अर्को ठूलो कारण छ जीवनी लेख्दिनँ भन्नुमा । जीवनी त थुप्रै पढिए । तर मलाई गान्धीको ‘माई एक्पेरिमेन्ट विथ ट्रुथ’ सबैभन्दा बढी मनपर्छ । त्यसको आदर्श वा सिद्धान्तको कुरा आफ्नो ठाउँमा छ । तर, त्यसमा गान्धीको आत्मस्वीकृति गर्ने आँट जो देखिएको छ, त्यो दुर्लभ छ । हुन त त्यसको केही छटा बीपीको ‘आत्मवृत्तान्त’ वा उनका प्रकाशित डायरी, तथा शेख मुजिबुर रहमानको ‘कारागारका टिपोटहरू’ मा पनि नभएको होइन । तर गान्धीको खुलापन गान्धीजस्तै खुला छ । यसो सोचेँ— मैले जीवनमा लछारपाटो लाका, खालो सारेका, छलेका, ढाँटेका, भ्रम छरेका कुरा त जसोतसो लेखूँला । मैले गरेका बदमासी, जस्ताको तस्तै, भन्न सकूँला गान्धीले जस्तो ? सकिनँ भने त के जीवनी ?

भो, लेख्दिनँ ।

अनि उपन्यासकार गणेश लाठलाई सम्झिएँ । उहाँले एउटा कार्यक्रममा भन्नुभएको थियो — अचेलका लेखकहरू जीवनीमा कुरा लुकाउँछन् । बरू आख्यानमा, अर्को पात्र खडा गरेरै भए पनि साँचो कुरा लेख्छन् ।

मैले आख्यान रोजेँ । जीवनी लेख्न नसक्ने कुरा आफैँलाई सम्झाएँ ।

जीवनीकै निकट बग्ने संस्मरण पनि लेखिनँ । ढाँट्नुका पिरले । बरू कथामा, पात्रताको बर्को ओढेर आफैँ पसेँ, सुटुक्क । कतै आफन्तलाई राखेँ । तर, मेरो अथाव आफन्तको सुखदुःख संसारकै सरोकारको विषय हुनलाई म वा मेरा आफन्त को नै हौँ र ? त्यसैले, हाम्रा निजी सुखदुःखमा केही सार्विक सरोकार अवश्य खोजेँ । र सामान्यीकृत गर्न मिल्ने केही तत्त्व खोजेँ । भेटेँ कि भेटिनँ, प्रश्न बाँकी छ ।

मैले बाहिर कुरा जेजे लेखे पनि आख्यानभित्र मभित्रको सत्य अनुप्राणित होस् भन्ने ध्येय राख्छु । र, मभित्रको सत्य नै घाइते छ भने त्यस घाइते सत्यले यस्तै नाम जुराउँछ । र अँ, समालोचना र समीक्षा गर्न तम्सिँदा छली दिमागले अह्राएको के के गर्छु के के । तर सिर्जनाको टेबलमा बस्दा, मलाई मेरो हृदयले निर्देशित गर्दछ । लेखन मेरो स्क्रिप्टोथेरापी हो ।

रजनी गुरु, महेश पौड्यालले किताबका नाम किन नकारात्मक राख्छ भन्ने कुराको यो जवाफ उहाँलाई सुनाइदिनु होला । हुन त मैले कथाहरूका र केही किताबका नाम सकारात्मक पनि राखेँ । तर कसो कसो स्वतस्फूर्त छनोट होइन कि जस्तो लागिरहन्छ । फेरि भनेकै छु— छोडिएका, नचिनिएका, एक्लिएका, झड्कारिएका, विक्षिप्त र असहाय पात्रकै कित्तामा उभिँदै आएको छु । त्यहाँबाट हेर्दा, पूर्वमा झुल्किँदै गरेको घाम देख्निुअघि त्यो अँध्यारो क्षितिज देख्छु । घुर्मैलो आकाश देख्छु । अनि उज्यालो आफैँ आउँछ ।

एउटा प्रसङ्ग सम्झन्छु । ‘भुइँमान्छे’ चलचित्रको निर्माण टोली मेरो घरमा आयो । भन्यो— सर, दुइटा गीत लेख्नुपर्‍यो । एउटा पीडाको, अर्को खुसीको ।

हुन्छ भनेँ ।

पीडाको गीत त्यसै दिन लेखेँ — आफ्नै परेली पर्दा भो, बत्ती निभोको बेला, घाउ दुखेको बेला । रेकर्ड भयो । शिव परियारको आवाजमा । युट्युबमा ।

सुखको गीत ६ महिनामा पनि लेख्न सकिनँ । हात उठाउँ । पछि दयाराम पाण्डेले लेख्नुभयो ।

सोच्छु— उज्यालो त सबैले देखेकै छन् । लेखेकै छन् । मैले अलिकति अँध्यारो लेखेँ भने, त्यस अँध्यारोको पर्दाको अघिल्तिर, कतै छुटेको उज्यालो पनि देखिन्छ । यसो सोच्छु, यो अन्तरिक्षको मूल रङ कालो नभइदिएको भए घाम, जून र तारा देखिने थिएनन् । रात नभइदिएको भए, दिनको खबर के हुन्थ्यो ? जुनकिरीको नि ?

अचेलको लेखनमा चिहाउँछु । नाम निकै सकारात्मक र आदर्शवादी छ । भित्र, आक्रोश, पीडा, अन्याय, अत्याचार, अवनति, अवमूल्यन, मूल्य विघटन, पलायन, त्रास, भय, विचलन… के के छ के के । सोचेँ, बर्को ओढेर कुष्ठरोग निको हुँदैन । बरू केही नभए पनि घाममा सुकाउँदा अलिकति सन्चो त होला ।

गुरु, अलि हठी पो निस्किएँ कि ?

यो प्रश्न दश नम्बरको होला । यति लेखेँ । नापेरै लेख्नु भन्थे उहिले । एक जना साथीले स्केलै बोकेर गएछ । नापेरै लेख्ने । एक अङ्कको एक इन्च रे । सोचेँ, गुरुले कापी जाँच्दा पनि नापेर दिने भए त …

प्रश्न दुई — राजनीति गर्ने पात्र किन नकारात्मक मात्रै ? यो मलाई अलि मन परेन । सकारात्मक पात्र चाहियो ।

गुरु, मलाई पनि मन परेन ।

मलाई पनि सकारात्मक पात्र चाहियो ।

आफूलाई हकारेँ । हैट, यो भएन भन्ठानेँ । धेरै पूर्वाग्रही भएँ कि भन्ठानेँ । राम्रा राजनेता नभएकै हुन् त ?

राम्रा नेताकै नामको जप सुन्छु सधैँ । मेरा कथामा खोइ त्यस्ता पात्र ? यो अलि भएन ।

गीतकार गोबिन्द कँडेल आँसुको संयोजनमा काभ्रे यात्रामा थियौँ । बसाइ भयो भकुण्डे । राति, खानापछि गफ चले ।

सरकारलाई भित्रैबाट बुझेका केही पूर्व-प्रशासक र पत्रकार पनि साथमा दिए ।

देश र राजनीतिबारे लामो बसह चल्यो । अन्त्यमा, कवि तथा कथाकार एलबी क्षेत्रीले प्रश्न गर्नुभयो— त्यसो भए केही हुँदैन त ?

केही हुँदैन — जवाफ आयो । जवाफ, राजनीतिलाई भित्रैबाट बुझेकाहरूले दिएका थिए ।

थुप्रै पूर्व प्रशासकहरूसँग हिँडेको छु । केही पूर्व मुख्यसचिव र सचिवहरूसँग हिँडेको छु । विभिन्न ओहदाका मान्छेसँग हिँडेको छु । भनौँ न— कुरा सुनेको छु ।

केही हुँदैन त?

केही हुँदैन ।

किन?

उत्तर छैन ।

सेम्युल ब्याकेटका नाटकका पात्रजस्तै ? परिवेशजस्तै ?

नेपालको कूल क्षेत्रफललाई ६ भाग मान्ने हो भने एक भागजत्रो मात्रै छ इज्रायल । करिब करिब कर्णाली क्षेत्रजति भनौँ न । बालुवाको डङ्गुर । ढुङ्गे बगर । जर्जर । घामको तापले बालुवा पनि पग्लेजस्तो । हावामा, आगाकै लप्का वर्षिएजस्तो ।

मरून् भनेर दिइएको भूगोल, सन् १९४८ मा । प्याङखर ।

अस्ति भर्खरै इज्रायल पुगेर आएजस्तो पर्ने गरी पो दिएँ त गफ । तर सुनेको मात्र । अलि अलि गुगलमा हेरेको । तर, सत्य हो ।

ट्रकमा माटो ओसारेर बालुवा पुरेको भन्ने पनि सुनियो ।

वन-उपवन बनाए ।

हरियाली उमारे ।

शीतलताको आविष्कार गरे ।

मरुभूमिमा सिर्जना फुलाए । अन्न, फलफूल र सागसब्जीले लहलह ।

आज —

कृषिविज्ञानको नायक को ? इज्रायल ।

स्वास्थ्य उपकरणको सबैभन्दा भरपर्दो निर्याता को ? इज्रायल ।

ड्रन कोसँग किन्ने ? इज्रायलसँग ।

बमवर्षक वा लडाकु विमान कोसँग किन्ने ? इज्रायल ।

कसरी बन्यो ? कसले बनायो ? अचेल नेपालीहरू खूब जान्छन् । धेरैजसो चैँ केयरटेकर ।

इतिहास हेर्छु— उहिलेदेखि आक्रमणमा परेका । निर्वासनमा परेका । लाखौँको सङ्ख्यामा मारिएका । खेदिएका । बिचरा यहुदीहरू ।

केले रोक्यो र विकासलाई ?

अनि यता फर्किन्छु । टाउको दुखेर आउँछ ।

मलाई मेरा कथामा आउने राजनीतिक पात्रलाई सकारात्मक बनाउनु छ । त्यो दुई अवस्थामा सम्भव छ ।

१. त्यस्ता पात्र साँच्चिकै हुनुपर्‍यो जमिनमा । ‘मकैको खेती’ सम्झेँ । ‘योगमाया’ सम्झेँ । बीपीका सबै गैरआख्यान सम्झेँ । डायमन्ड शम्शेर पनि चिहाएँ । सिद्धिचरणको जेलको संस्मरण पल्टाएँ । ‘मकैको अर्कै खेती’ पनि हेरेँ । जगदीश घिमिरेको ‘सकस’ सम्झिएँ । नयनराज पाण्डेको ‘उलार’ सम्झेँ । सम्झिन त धरावासीको झोलाभित्रको चन्द्र शम्शेर पनि नसम्झेको कहाँ हो र ? फेरि, चन्द्र शम्शेरका कैयन अन्य रूप सम्झेँ । ‘रक्तकुण्ड’ सम्झेँ । ‘प्रेतकल्प’ सम्झेँ । ‘प्रयोगशाला’ मा पुगेँ । सूची लामो हुँदै गयो । अनि थचक्क बसेँ ।

सकारात्मक राजनीतिको कथा लेख्नु छ । सोचमग्न छु ।

२. कथामा त्यस्ता पात्र ल्याउन म आदर्शवादी हुनुपर्‍यो । म यथार्थ लेखनको युगमा छु । आदर्शवादी हुन सक्दिनँ जस्तो लाग्यो । यथार्थकै धरातलमा उभिन खोजेँ । अनि, मैले बाँचेको समयको राजनीतिमा आदर्श पात्रको अवतार खोज्न थालेँ ।

जनतामाथि पर्न आएको विष पिउने कुनै नीलकण्ठ छ आज ? बरू बूढानिलकण्ठ चैँ छन् नारानथानमा । सोधेँ— कतै कोही राजा शिवी छ, आफ्नै मासु काटेर दिने ? करङ दिने दधिचि नि ? जनताको भोक मेटाउन कुनै किसानसँग अन्न मागी ल्याउने र तिर्न नसक्दा, उसको आहार आफैँ हुन तयार चन्द्रमाको नवीन संस्करण कतै छ ? थेब्समा जस्तो, प्लेग र भोकमरीले जनता मर्न लाग्दा, उद्धार गर्ने राजा लायसको नयाँ संस्करण कोही छ ? छ कुनै एउटा गोवद्र्धन पर्वत उठाएर लोक बचाउने आज ? चुरे-भावर बचेको भए यत्रो कोकोहोलो हुने थिएन होला । उता कैलाश नि ? लोकको कल्याणका लागि धरतीमा गङ्गा उतार्ने भगीरथ छन् ? महाकाली सन्धिको सम्झना ताजै पो छ त !

अनि केही प्रश्न आफैँलाई सोधेँ ।

१. जलश्रोतमा यस्तो धनी । विद्युतमा ललिता गाउँदा गाउँदा ललिते नै भइयो । यो अवस्था हटाउन सक्ने राजनेता भेटेँ भने एउटा सकारात्मक राजनीतिक पात्रको कथा लेख्छु ।

२. बुद्ध जन्मेको देश । गुम्बा र चैत्यहरूका लुङ्दर हेर्छु— पढ्नै नसकिने विदेशी भाषा पो । मेरो देशको, मेरो भगवानको मन्दिरमा कसको भाषा हो त्यो? मेरो देशका कति मान्छेले पढ्न वा बुझ्न सक्छन्? आफ्नै देशमा बुद्धचेतना कैद? ती लुङ्दरमा नेपाली भाषा फरर बनाउन सक्ने कुनै आउला? आएछ भने उपन्यास लेख्छु । ऊ मेरो आदर्श नायक हुने छ ।

३. यो सर्वोच्च हिमालको देश । पाँच सय नेपाली हिमालका नाम त प्रतीक ढकाल दाइलाई फरर । म त हेरेको हेरेई । अनि कि, हिमाल आरोहणको गाइड र प्रशिक्षकको प्रमाणपत्र चैँ फ्रान्स हो कि स्विजरलेन्डबाट लिएर आउँदा रहेछन् । र नि, विश्वको सबैभन्दा ठूलो माउन्टेनरियङको विश्वविद्यालय यहाँ हुनुपर्ने हो कि होइन? तर छैन? जसले स्थापना गर्छ, ऊ मेरो आख्यानको सकारात्मक नायक हुने छ ।

४. बुद्धको जन्मस्थान लुम्बिनी । कति हो कति बौद्ध मार्गी आउँछन् । जाने बाटो हेर्छु— ओम् ! पुगेर, गेटबाहिरको व्यवस्था हेर्छु— ओम् ! मानौँ, त्यहाँ नेपालकै सबैभन्दा ठूलो प्रसुतिगृह बनायो कसैले । होटल पनि कम्तीमा ५०० बनायो । बाटोघाटो बनायो । रेल पुर्‍यायो । सोच्छु— बुद्ध जन्मेको ठाउँमा बच्चा जन्माउन पाइन्छ भन्नु हो भने कति आमा त्यहाँ आइपुग्लान्? तिनका साथमा कति आफन्त आउलान्? अनि त्यो बालक, जन्मस्थान हेर्न कतिपल्ट आइपुग्ला जीवनमा? माने, कति आउला पैसा? कसैले यो क्रान्ति गरेदेखि, ऊ मेरा कथाको नायक हुने छ ।

५. गुजरात— आधा मरुभूमि । छरिएका नदी । कसैले सब नदी जोड्यो त ! आज त्यो मरुभूमि, दक्षिण एसियामै सबैभन्दा ठूलो तरकारी निर्यातकर्ता बनेको छ । हाम्रो तराइका नदी जोड्नु नहरले । नरहको पानीले बाह्रमासे खेती । माछा पालन । डुङ्गाबाट माल ढुवानी । कुनै राजनेताले यो सोच्यो, र गर्‍यो भने, ऊ मेरा कथाको नाकय हुनेछ । पानी जहाजको कुरामै, र रेलमा खिया लगाउँदैमा त अलि सकिएन । गुरु, क्षमा याचना गर्दछु । कञ्जुस निस्केँ ।

६. जडीबुटीको कुरा गरेर थाकिँदैन । विश्वको सबैभन्दा ठूलो आयुर्वेद अस्पताल, प्रयोगशाला वा विश्वविद्यालय कहाँ छ? उत्तर हुनुपर्ने थियो — नेपालमा । तर, उत्तर अर्कै छ । जुन राजनीतिज्ञले यस प्रश्नको उत्तर नेपालमा सार्छ, ऊ मेरा कथाको नायक हुने छ ।

म राजनेतालाई कथामा नायकत्व दिन चाहन्छु । नायकत्व नै भएन भने पनि सकारात्मक सहायक पात्र बनाउँछु । तर प्रश्नहरू अटेसमटेस आउँछन् दिमागमा ।

— महाराज गिर्वाणलाई विफर सर्ला भन्ने डरले कसले काठमाडौँका सबै बच्चालाई चार भन्ज्याङ कटाऊ भनेर आदेश दियो?

— कसले थुन्यो कृष्णलाल अधिकारीलाई र किन? उनलाई के भयो?

— जेलमै सडेर मरणासन्न भएका रामनारायणलाई मर्नै लाग्दा रिहा गर्ने राजा को हुन्? किन त्यसो गरे?

— सिद्धिचरणलाई थाहा छ— टुँडिखेलमा रातभरि ऐया ऐया गरेर पनि माफी नमाग्ने युवक को थियो? किन?

— दशकैपिच्छे केले बटारेर ल्याउँछ नयाँ नयाँ आन्दोलन? नयाँ नयाँ संविधान? हरेक दशकमा ठूलो आन्दोलन । ठूलो परिवर्तन । अनि फेरि अर्को आन्दोलनको तयारी । अर्को विधानको । विकास चैँ कहिले गर्नु? जनकपुरमा खिया लागेको रेलमा जवाफ छ कि? नहुन पनि सक्छ । त्यो रेल पूर्वबाट गुडेर पश्चिम पुगेको दिन, म कुनै एकजना राजनीतिक पात्रलाई नायकत्व दिएर कथा लेख्छु ।

— यस्ता घटना त अति विकसित देशमा पनि छन् । तरै पनि, ती अति विकसित त भए त जसोतसो । जे पनि छ नेपालमा । तर नेपाल सधैँ अल्पविकसित र अति भ्रष्ट देशको सूचीमा किन आउँछ ? कसले गराउँछ यस्तो हविगत ?

जब जब देशमा रामराज्य छ, अथवा रामराज्य नभए पनि कुशल शासक छ, उज्यालो साहित्य लेखिएको छ । बेलायती साहित्यको इतिहास हेर्ने हो भने, महारानी एलिजाबेथको युगलाई साहित्यको स्वणर्युग भनिन्थ्यो । त्यस बेला राज्यमा शान्ति थियो । अमन चैन थियो । युद्ध थिएन । झैझगडा थिएन । दैनन्दिन सरोकारका न्यूनतम कुराका लागि सङ्घर्ष थिएन ।

साहित्यकारहरूले उत्कृष्टता लेखे । शासकहरू अभिभावकको रूपमा देखा परे । शेक्सपियरकै नाटकका राजनैतिक पात्र पनि सामान्य मानवीय कमकजोरीका कारण दुखान्तमा परेका हुन् । तर ती दुष्ट, राष्ट्रघाती र जनविरोधी पात्रचाहिँ होइनन् ।

जब देशका शासक क्रूर थिए, साहित्यमा तिनको चित्रण पनि क्रूर भएर आयो । उदाहरणमा, डिकेन्सको ‘अ टेल अफ टु सिटिज’ । कति राजनैतिक पात्र आउँछन् नि ! सबै दुष्ट । शासकका रथले वायुवेगमा जाँदा कसैको बच्चा कुल्चिएर गयो । शोकाकूल आमासँग न्याय माग्ने आँट पनि भएन । के मागिन्? मालिक, मेरो बाबूलाई कतै गाड्छु । एउटा ढुङ्गो चिनो राख्छु? त्यति दया होस् ।

जनता भोका थिए । खाद्य माग्न गए । खाद्य मन्त्री भनौँ न अहिलेको भाषामा — फौलुन थिए । उनले भने— तिमीहरू जनावर हौ । घाँस खाओ ।

करिब करिब यसै बेलाका टमस हार्डीले चित्रण गरेका शासक हेर्छु ।

अमेरिकातिर, ‘द स्कार्लेट लेटर’ मा नेथेलियन आउथ्रोनले चित्रण गरेका शासक हेर्छु ।

लु्सुनलाई सम्झन्छु ।

गोर्कीलाई पनि ।

बढो क्रान्तिकारी हुन खोजेको होइन ।

जब देशको राजनीतिको गति भ्रष्ट हुन्छ, राजनीतिक पात्रको चित्रण नकारात्मक हुन्छ । सकारात्मक पार्न पनि सकिन्छ, नसकिने होइन । तर, अलिकति आदर्शको जलप हो त्यो । म त्यतातिर लागिनँ ।

नेपालको राजनीति धमिलो राजनीति हो ।

ट्रन्सपेरेन्सी इन्टरनेशनलाई सोध्दा पनि हुन्छ । नसोधौँ ।

हेप्पी इन्डेक्सलाई खोदल्दा पनि हुन्छ । त्यसो नगरौँ ।

राजनैतिक स्थतिरता? भो, मौसम ठिक छैन ।

छानबिन? निष्कर्ष? निर्मला? मदन भण्डारी? वीरेन्द्र हत्यकाण्ड? भो ।

भ्रष्टाचार उन्मूलन? भो ।

गरिबी निवारण? भो ।

महँगी ? भो ।

विकास दर ? भो । सबै आईपीओ भर्छन् अचेल । सबै सेयरविज्ञ ।

मलाई राजनेतालाई नायकत्व प्रदान गर्नु छ । सकारात्मक पात्रको रूपमा चित्रण गर्न मन छ । उत्कट इच्छा पनि छ ।

यसो गरेर पनि मलाई यर्थावादी लेखनको लिक छोड्नु छैन । कसो गरूँ?

खाऊँ रोटी खाइनसक्नु । दाऊँ गोरु दाइनसक्नु । टेकूँ लौरी टेकिनसक्नु । के हो?

गाउँखाने कथा कथै होस् ।

मलाई मेरो कथामा आउने राजनीतिक पात्र नकारात्मक बनाएकोमा लज्जाबोध भएको छ । ग्लानि छ । पछुतो छ । तर, नियति हो भन्ने पनि बोध छ ।

म त्यस्तो दिनको पर्खाइमा छु जब मेरो कथाको नायक राजनेता हुनेछ ।

दिन चाँडै आओस् । मेरो कलम मदोन्मत्त भइसकेको छ ।

देशले पर्खेको शताब्दिऔँ भइसक्यो ।

मेरो आयु देशको जति छैन ।

मलाई हतारो छ ।