अशोक गुरुले फेरि गृहकार्य थपिदिनुभयो । भन्नुभयो— “म्लेच्छ विद्या पढेर खालि पश्चिमको कुरा गर्छस् । अलि पूर्वको रस सिद्धान्त पढ् । सब्लाइम, सब्लाइम भनेर पुग्दैन । भरतमुनिको नाट्शास्त्र हेर् । अझै पढ् ! ”

गृहकार्य भनेपछि… उहिल्यैदेखि कसो कसो लाग्ने । फेरि, दशैँतिहार नजिक छ भनेपछि मनले बखेडा झिकिहाल्छ । बहाना जो चाहिन्छ । दौलतविक्रम विष्टको ‘गालाको लाली’ सम्झिएँ । माघे सङ्क्रान्ति । सुब्बा अग्निहोत्रको ‘अप–टु–डेट’ छोरो कपिललाई राम्री भान्जेबुहारी लिएर भान्जो श्याम सङ्क्रान्ति मान्न आउला र भान्जेबुहारी हेर्न पाइएला भन्ने आस । श्याम भने आउँदो होइन । रिस उठ्छ नि? यसरी रिसले रन्थनिएको बेला उसको भाइ भने पल्लो कोठामा बसेर क्यासेट बजाइरहेको । कस्तो भयो होला । उसको पालो पनि गयो र चड्याम्म गालामा …

किन पिटेको ? कुनै तर्क छैन ।

अनि भन्छ – “तैँले पढ्नुपर्दैन?’

केटो भन्छ— “बुबाले भन्नुभएको आज पढ्नु पर्दैन रे ।’

झगडा सामसुम ।

तर मैले कपिलका भाइको सुविधा पाइनँ । लिइनँ भनूँ न ।

कुरा थियो— समीक्षकले रुन मिल्छ कि मिल्दैन?

उत्तर छ, थाहा छैन ।

महेश पौड्याल

सोह्रश्राद्धको बेला छ । पश्चिमतिरका सबै हजुरबाहरूको तर्पणपानी अस्तिकै हप्ता गरियो । अरस्तु, लोन्जाइस, बर्क, डेभिड ह्युम सबै । अशोक गुरुले भन्नुभो, पूर्वका छुटे । पूर्वको तरणतारण भएन भने जागित्र ज्याद्रो हुन्छ ।

त्यस दिनदेखि निद्रा लागेको छैन ।

कुरा पूर्वको । नेपालको पनि सुदूर पूर्व पुगेँ, प्रदेश नम्बर एक । डा. राम्जी तिमल्सिनाको आश्रममा । पूर्वीय रस सिद्धान्त र आप्रवासीका कविताको जोड मिलाउन खप्पिस, कडा गुरु । अनि रस सिद्धान्तको खोलो बगाइदिनुभयो । गुरुलाई मुरी मुरी धन्यवाद ।

बग्न त खोलै बग्यो । तर, मलाई यस गृहकार्यमा चाहिएको भनेको करूणाको कुरा थियो । त्यसैले, म सानो लोटा लिएर त्यस खोलामा गएँ । र थोरै कुरा उघाएँ । अलि पछि अलि ठूलो गाग्री किन्छु । र अझै धेरै रस उघाउँछु । राम्जी गुरुलाई बाचा ! लौ, आफैँ पो गृहकार्य थपियो यहाँ पुगेर फेरि ।

अस्ति, एलबी क्षेत्री सरले रमाइलो गर्नुभयो । समीक्षक वा समालोचकले रुन मिल्छ कि मिल्दैन ? प्रश्न यो थियो । सरले भन्नुभयो — आफूले अपेक्षा गरेको स्तरको साहित्य आएन भने समीक्षक वा समालोचकसँग रुनुको विकल्प हुँदैन ।

यो पनि एउटा दृष्टि ।

तर यहाँ कुरा करुणाको छ । आलेखभित्र विद्यमान करुणा रसले कति स्पर्शित हुने एउटा मान्छे ? एउटा समीक्षक वा समालोचक, तटस्थ, वस्तुपरक र गणितीय मात्रै भइरहने सक्छ कि ऊ मान्छेमा पनि अवतरित हुन्छ ? मान्छे पनि हो भने त करुणा त होला नि मनभित्र ? त्यो करुणाको उभार आयो भने, उसका आँखा रसाउँछन् कि रसाउँदैनन् ?

अलि कति पश्चिमकै बसेँलीमा अल्मलिएँ है । बेन जोन्सलको कमेडी अफ ह्युमरलाई केलाउने हो भने, उनको अर्थमा अएको ह्युमर, हामीले सामान्यतः बुझ्ने ह्युमर होइन । यो, हास्यरस होइन । अर्कै हो ।

यो शरीरमा विद्यमान तरल पदार्थले उत्पात गर्छन् । त्यसमा त शङ्का छैन नि ? ती उत्पातमा एउटा कुराचाहिँ करूणाको जागरण पनि हो । त्यो साहित्य, वा त्यो सिर्जना जसले मान्छेभित्र विद्यमान रस विशेषलाई जागृत गर्दछ, त्यसले, त्यस रसअनुरूप हास्यको, करुणको वा आक्रोशका जागरण गर्ने हो ।

कुरा फेरि पश्चिमकको आयो । मार्नुहुन्छ गुरुले ।

बेन जोन्सलाई छोडेँ ।

नाट्यशास्त्रतिर लागेँ एकछिन ।

अरू कुरा गर्दिनँ । करुणाको मात्रै कुरा गर्छु ।

तर थोरै पश्चिमको कुरा त फेरि पनि गर्छु ।

अटाभिज्म भन्छन् नि । हरायो हरायो भनेको प्रवृत्ति फुत्त आइहाल्ने । यो पश्चिमवृत्ति प्रवृत्ति भन्दा पनि होला ।

अनि कि, माफी माग्दै एउटा कुरा भन्छु ल । गल्ती गर्न गाह्रो । माफी माग्न पनि गाह्रो । तर, माफी माग्दै नयाँ गल्ती गर्दै गर्न चाहिँ साह्रै सजिलो ।

सिद्धान्त्रशास्त्रीले एउटा सर्वस्पर्शी रचनामा ‘पेथोस’ को अनिवार्यताको कुरा गरे । त्यो तार्किकता र विश्वसनीयताको कुरा त छँदैछ । तर, यो पोथोसको कुरा कसरी आयो ? किन आयो ?

छलफल गर्नुपर्छ ।

लेखनका अनेक अनेक प्रयोजनको कुरा गर्दा, सिद्धान्तशास्त्रीहरू ‘टु मुभ अदर्स’ भन्छन् । यानि, अरूको मन छुनु पनि भन्छन् ।

मस्ष्तिमात्रै छोए पुग्दैन ?

मैले विश्वविद्यायको थेसिसको कुरा गरेको होइन । राष्ट्र बैंकको मैद्रिक नीतिको कुरा पनि होइन । बाह्र बुँदेको पनि होइन । सिर्जनको झरीमा कहिल्यै नरुझेका समालोचकको सुकेको काठजस्तो कर्कश प्रबन्धको कुरा पनि होइन ।

म सिर्जनाको कुरा गरिरहेको छु । यस यसले, ‘मुभ’ यानि मर्मलाई स्पर्श गर्ने कुरा गरिरहेको छु ।

कैलाश सत्यार्थीले नोबेल जितेपछि नेपाल आएका थिए । एउटा विशाल सभा भयो पुरानो बानेश्वरमा । म पनि कुरा सुन्न गएँ । अरू के के भने बिर्सें । एउटा कुराचाहिँ मुटुमै गाडियो । उनले भनेका थिए— “हामी सबैभित्र एउटा एउटा बालक छ । त्यस बालकलाई कहिल्यै मर्न दिनुहुँदैन ।”

मैले यस भनाइभित्र धेरै कुरा पाएँ । अनि बालकहरूलाई सम्झिएँ ।

‘अङ्कललाई पनि चक्लेट दे,’ भन्छिन् आमा । अनि म भन्छु, ‘भयो बाबू, मलाई पर्दैन । तिमी नै खाऊ ।’

बालकका आँखा टिल्पिलाउँछन् । मैले चकलेट लिइदिनँ भनेर होइन । मेरो बोलीमा उसले उसप्रतिको प्रेम देख्यो । परचक्रीका आँखामा प्रेम देख्दा पनि हाम्रा आँखा टिल्पिलाउँछन् ।

देवदत्तले हानेको बाँड लागेर खसेको सारसलाई सिद्धार्थले मल्हमपट्टी गरे । केही होइन नि कुरो । बालक हुँदा पढेको । आँखा टिल्पिलाए ।

गोपाल नायक अहंकारी गायक थियो । आफ्नै गुरु वैजु बावरालाई पनि नचिन्ने भयो । अहंकारको दण्ड, मृत्यु पायो । यमुना किनारमा उसको लास जलाउँदा वैजु बावरा त्यहीँ पुगेर गीत गाए रे । अनि, उनको गीतको तरङ्गले यमुनाको छालमा गोपाल नायकको तस्बिर देखियो रे । बालक छँदा सुनेको । आजलाई त केही होइन नि? उबेला आँसु टिल्पिलाएका थिएँ । कक्षामा धेरैले भनेको थिएँ — उः रोयो, रोयो । पिच्ने । पिलन्धरे ।

मलाई पनि अचेल साथीहरू एउटा सानो सानो समालोचक भन्छन् । समीक्षक भन्छन् ।

अनि कि, कैलाश सत्यार्थीले भनेको बालक । हामी बढ्दै पढ्दै जाँदा सबैभन्दा बढी पोलिने, कुल्चिइने, काटिने, मारिने — त्यही हामीभित्रको बालक हो । अझ, सिद्धान्तले हुर्मत काड्छ । देश निकाला गरिदिन्छ ।

अचम्मको विश्वविद्यालय छ मेरो । जे परिआउँछ, त्यही विषय पढा भन्छ । कविता पनि । सिद्धान्त पनि । के के हो के के ।

कविता पढाउन जाँदा, त्यसैले, सधैँ भन्छु— सिद्धान्तलाई उः पर, चार सुरबाहिर राख । पहिले कविता बुझ । सिद्धान्त पछि ल्याउनू ।

सिद्धान्त लगाएर सोराब र रुस्तमको कविता पढ्दा आँखामा आँसु आउँछन्?

राम–भरत संवाद? शकुन्तला र कण्वको वियोग? सावित्रीको विलाप? मुनामदन? गौरी?

पढौँ न लु ।

भो, सिद्धान्तको पगरी भिरेर हृदयको बालक मार्न सकिँदैन । अशोक गुरु, हृदयको बालक मारेर समीक्षक वा समालोचकको पगरी हामी भिर्न सक्दैनौँ सायद । हामीलाई सुकेको काठ हुनु छैन नि । छ र?

मेरो एउटा निजी अनुभव छ । कल्पनीय वियोगहरू आइपर्छन् जीवनमा । रुँदा रुँदा ज्यानै बग्लाजस्तो हुन्छ । मुटु बग्दाजस्तो । तर, भोलि, अनि पर्सि, अनि निकोपर्सि, अनि अलिपछि हुँदै हुँदै जाँदा यो हृदय फुल्लिँदो रहेछ । त्यसपछि, मस्तिष्कले त्यही कुरा टिपेर साहित्य सिर्जना गर्दोरहेछ । तत्काल भक्कानो फुटेको बेला मान्छेसँग भएको पहिलो विकल्प हो रुनु । त्यसको विवेचना धेरै पछि । उदात्ततावादीहरूले भने नि— कुनै भव्य अनुभूतिको अगाडि ज्ञानेन्द्रियहरू सिथिल हुन्छन्, निष्क्रिय हुन्छन्, किंकर्तव्यविमूढ हुन्छन् । भोलिपल्टसम्ममा त त्यो अनुभूति समाचारमा परिणत हुन पुग्छ । अनि, त्यस बखत मस्तिष्कलाई सक्रिय पार्न सकिन्छ ।

सायद यसै, हृदयको आलो घाउ थोकेपछि, निकै पछि लेखियो गौरी ।

लेखियो होला – मिल्टनको लिसिडास ।

लेखियो होला – टेनिसको इन मेमोरियम ।

लेखियो होला – सेलीको एडोनाइस ।

लेखियो होला – हरिऔधको प्रियप्रवास ।

लेखियो होला – मैथिलीशरण गुप्तको यशोधरा ।

शोकहरूको खाँचो त कहाँ छ र संसारमा । मान्छे, स्वभावतः आफ्नै संवेदनामा पनि बग्छ । अरूकोमा पनि बग्छ ।
बग्ने अवसर वा बहानाको कमी कहाँ छ र संसारमा, अशोक गुरु?

आफ्नै वेदनाले बग्नु स्वभाव हो । अरूको वेदनाले बग्नु उदात्त मानवता हो । त्यसलाई ढुङ्गा हालेर द्वाली किन पो फर्काउनु र? रुनू भनेको होइन । तर आएको संवेगको उभारलाई किन थिच्नु भनेको । ‘रहर बोकी बाँच्ने मुटु आज किच्न चाहन्छु म’ भन्ने त गीतको कुरा हो ।

हामी जीवनको कुरा गरिरहेका छौँ ।

धेरै रुने मान्छे कमजोर हुन्छ भन्छन् । कारण, आँसुको पर्दाभित्रको उसको अन्तर्यको बालक देख्दैनन् देख्नेहरू ।

छोएपछि रुने हो । नछोए पनि रुने त रङ्गमञ्चमा हो । चलचित्रमा हो । अथवा, भारतका कतिपय समुदयमा हुन्छन् – भाडाका रुदाली । कोही मर्यो, तर रुने आफन्त भेटिएन भने हाँजिरा तिरेर बोलाउनुपर्छ । आएर रोइदिन्छन् । हाँजिरा टिप्छन् । जान्छन् ।

रुने व्यवसाय भनौँ न ।

तर यहाँ कुरा करूण रसको । बल्ल भरतमुनितिर फर्किएँ । विद्यार्थी अलि गफाडी भयो भने यसो गर्छ ।

कुरा संस्कृतको पर्यो । लेखेको कहिले भन्दा इशापूर्व ५०० तिर । त्यो बेला? हैट । हामी जन्मेको थिएनौँ कि?

अब भरतमुनि को थिए ? कसले भन्न सक्ने । नाट्यशास्त्र चैँ हामीसँग छ । कतै पूरा । कतै खण्डित । कतै टुक्रा । पूरा त कतै पनि छैन भन्छन् ।

नाट्यशास्त्र भनेर — नाटकको अथवा नाचको कुरा होला भन्ठान्थेँ । पछि बुझेँ । एक जना गुरुले भरतशास्त्र पनि भनेको सुनेँ । त्यो बेला त, अयोध्याका भरतको कुरा होला पो भन्ठानेँ ।

३६ पाठ । ६०० श्लोक । नाटक पनि नभाएको होइन । अभिनय, पोसाक, भाव, मुद्रा, सङ्गीत ।

छैठौँमा रस । सातौँमा भाव । मलाई चाहिएको गाँठी कुरा यहाँ छ । राम्जी गुरालाई धन्यवाद । उहाँले नभन्दिनुभएको भए कता जिली कता गाँठी ।

त्रेत्रा युगमा लेखियो सायद । यो बेला पनि रुदारहेछन् नि मान्छे । हाँस्दा पनि रहेछन् । संवेदित हुँदा रहेछन् । वीभत्स भावबाट आत्तिँदारहेछन् ।

नाट्यवेद, भनौँ त । ब्रह्माको आदेशमा पो लेखेका अरे । भनेको, आँसुको कुरा ब्रह्मालाई पनि थाहा थियो । अशोक गुरु, सृष्टिकर्ता पनि रुँदा रहेछन् । अनि हामी समीक्षक रुनु कसरी वर्जित भयो र? अणुवांशिक पो रहेछ ।

भरतमुनि ज्याद्रा हुन् भन्ठान्छु । सय पुत्रलाई सुनाए पुराण । भन्छन्— चारै वेदलाई पढ्न सक्ने, वा पढ्न पाउने कोही थिएन त्यो बेला । सबै वर्णले सुन्ने र देख्ने के हुन्छ त्यस्तो?

इन्द्रले सबै वेदबाट आठ गुण लिएछन्, र नाट्यवेद बनाउने चेष्टा गरेछन् । काम पाए भरतमुनिले । इन्द्रध्वजमा अमृतमन्थनको मञ्चन गरियो । शिव पनि आएछन् हेर्न । भनेछन्— यसमा नृत्य पनि जोड ।

अनि जन्मियो नाट्यशास्त्र ।

त्यसैले नाचको मात्रै कुरा होइन । कुरा धेरै धेरै मुद्रा र कलाको ।

भरतमुनिका सन्तान धरतीमा आए । रस, भाव र मुद्रा सिकाए ।

रस — यानि, संवेग । भावलाई भड्काउने । आठ रस— शृङ्गार, हास्य, करुणा, रौद्र, वीर, भयानक, विभत्स र अद्भुत । जोड्नेले शान्त रस पनि जोडे ।

अशोक गुरु, यसरी जेलिएको रसबाट यो करुणा रस निकालेर फ्याँक्न मिल्छ?

मनमै छ त । भाव पनि मनमै । हामी कुनै पनि कुराको सम्पर्कमा आएपछि भाव त आइहाल्छ ।

तर एउटा गाँठी कुरा छ ।

दुःख पाएर वा दुःख देखेर संवेदित हुनु — भाव हो ।

संवेगमय कलाको स्पर्शबाट संवेदिन हुनु – रस हो ।

समीक्षकले साहित्य पढेर रुनु रसबाट स्पर्शित हुनु हो । पढ्दा आँखा दुखेर वा ढाड दुखेर रोएको कुरा होइन ।

करुण रसका त देउता नै शिव । सतीदेवी लास बोकर हाय सती, हाय सती भन्दै हिँडे । यत्रा, सर्वशक्तिमान महादेव । सबै थाह छ । आफ्नै रचनाको लीला पनि । तर, किन रुँदै हिँडे? के हो साङ्केतिक अर्थ ?

साङ्केतिक अर्थ हो— करुणालाई तर्क गरेर नथुन्नु । शिवले त थुनेनन् । हामी को हौँ तथाकथित समीक्षक वा समालोचक?

रुनु भनेको विलौना गर्नु मात्रै होइन । मागल वा ललिता गाउनुमात्रै होइन । रुनु भनेको हृदयभित्रको बालकलाई करूणाले नुहाउनु पनि हो । हामीभित्रको जिउँदो मानवलाई जगाउनु पनि हो ।

तल्लो ओठ टोकेर, माथ्लो ओठ कँपाएर कतिञ्जेल बस्नु?

आगो छोेपेर कतिञ्जेल भन्थे कवि डा. नवराज लम्साल । सम्झन्छु ।

कालिकोटका आकाश प्याकुरेल मेसेन्जरमा आए । कुरा गरौँ न भने । कुरा सुरू भयो । कथाको कुरा । कथाको प्रसङ्ग सुुनाए केही । आँखाभरि आँसु । टिलपिल । प्रस्टै देखेँ । भने— सर, म पछि फोन गर्छु ल ।

फोन आएको छैन ।

एउटा टेलिभिजन शोमा थिएँ । एङकरले कथा पढ्न अनुरोध गर्नुभयो । कथाको अन्तिम भाग पढेँ । पढिसकेर उहाँलाई हेरेँ ।

उहाँका आँखामा पनि आँसु । मेरा पनि ।

कुन कथा? कसको कथा? त्यो अहिले भन्दिनँ । भनेँ भने अप्ठ्यारोमा पर्छु । ती कार्यक्रम सञ्चालिकाको नाम पनि भन्दिनँ । उक्त शो प्रशारण भइसकेपछि भन्छु ।

शिरीष बन्जाडेले त फेसबुकमै, सबैले देख्ने गरी लेखे— ‘आँखा रसाए । कथा सुन्दासुन्दै वा पढ्दापढ्दै पाठकका आँखा रसाउनु लेखकको सर्वोत्तम सफलता हो ।”

अशोक गुरु, कार्यक्रम सञ्चालकले कथा सुनेर रुन मिल्छ?

प्रतिक्रिया दिन आएको पाठकले मेसेन्जर कलमा रुन मिल्छ?

फेसबुकमा शिरीषले लेखेजस्तो लेख्न मिल्छ?

उत्तर — थाहा छैन ।

गुरु, बौद्धिक हुनुको बोझले मनको ताल सुकाउनु व्यर्थ छ । बौद्धिक नहोऔँ भनेको होइन । तर, बौद्धिक हुनुको नाममा मनका तालतलैया सुकाएर यन्त्र होऔँ भनेको पनि पक्कै होइन । एकातिरबाट सुष्क, व्यर्थ, अर्थहीन र बेकार भनिएको रचनाले, उतातिर आँखा फुटाउँछ, भक्कानो फोर्छ र सम्वेदनाको नदी बगाउँछ भने, बहस सिर्जनाका साथै मनहरू बारे पनि गर्नुपर्छ कि पर्दैन?

‘वी डाइसेक्ट टु मर्डर’ भनेका थिए विलियम वर्डस्व्र्थले । आज अर्थ बुझ्दैछु । सुन्दर अनुहारमा — कति होला रगतको मात्र, मासंपेसीहरूमा एसिडिटीमा मेलानिन कति होला, छालामा मेलानोसाइटको मात्रा कति होला, कस्तो होला इमिडर्मिस… ? आदि भन्न थाल्यौँ भने कुनै पनि अनुहार मासु रगतको थुप्रोमात्रै हो । त्यहाँ सुन्दरता हुँदैन । सौन्दर्यका पारखीले एकछिन यो पाण्डित्य एकातिर थन्क्याएर हृदयले स्पर्श गनुपर्छ । अनि मान्छेको अनुहारको सौन्दर्य थाहा हुन्छ ।

समस्या रुनमा छैन । समस्या, मेरो दृष्टिमा ‘रुनु हुन्छ वा हुँदैन ?’ भन्ने प्रश्नमा छ । यो प्रश्न सोध्ने हामीलाई सिद्धान्तले बनायो । सिद्धान्त, सूत्र, इन्ची टेप, शेरपल्ला, यो विन्यास, उ विन्यास्… यसले हामीलाई सुकेका काठ बनाउँदै लगेको पनि मलाई अशोक गुरुले नै भन्नुभएको हो । छातीमा हात राखेर सोचेँ— हो । यी तमाम दोषबाट आफैँ ग्रसित भएपछि अचेल म झस्किन थालेको छु । सबैभन्दा बढी आलोचना आफ्नै गर्न थालेको छु । सुक्दै गएकोमा पछुतो छ । मरुभूमि हुँदैछु कि जस्तो लाग्छ । कस्सम ।

कथा पढेर मलाई एक जना गुरुले करिब करिब शून्य नम्बर दिनुभयो । शून्य नै त भन्नुभएन । तर आशय बुझेँ । उहाँलाई धन्यवाद ।

कथा पढेर मलाई एक जना गुरुले सय नम्बर दिनुभभो । सय नै त भन्नुभएन । तर आशय बुझेँ । उहाँलाई धन्यवाद ।

यी दुई अङ्कमान – पचास । यानि, पूर्ण सुष्कता र पूर्ण आद्रताको बीचमा मान्छेको वास्तविक अस्तित्व उभिएको हुन्छ । र जहाँ मान्छे उभिन्छ, उसको सिर्जना पनि त उभिन्छ । त्यसैले त भरतमुनिले करूण र वीभत्स रसको बीच अन्य धेरै रसको कल्पना गर्नुपर्यो । नत्र, किन? चाहिन्थ्यो नै किन?

रसहरूको दृष्टिकोणबाट वास्तविक मान्छे अनेक रसको योग हो । र यस योगमा करुणा पनि मिसिएको छ । त्यसलाई किच्नु हुँदैन । थिच्नु हुँदैन ।

बग्छ । बग्न दिनुपर्छ ।

समुद्रलाई बग्नबाट कुन पहाडले छेकेको छ र ?

बग्नु समुद्रको स्वभाव हो ।

यो मानवहृदयको पनि स्वभाव हो ।

यो भाव र संवेगको पनि स्वभाव हो ।

यो हाम्रो स्वभाव हो ।

यो स्वभावबाट सर्वथा मुक्त भएकाहरू मर्मस्पर्शी साहित्यलाई र गोर्खापत्रको आर्थिक समाचारलाई उस्तै भाव र मुद्रामा पढ्छन् ।

तिनलाई तिनको भाव र मुद्रा मुबारक ।

हामीलाई संवेदित भएर आँसु झारेकै कारण मुद्दा लाग्यो भने, अशोक गुरु, हामी एउटै कारागारमा बसौँ, र नाट्याशास्त्र पढौँ ।

हुन्न ?