छिमेकीको बारीमा उम्रेको लौको, मेरो बारीमा आएर फल्यो ।
अब, लौको कसको ? फसाद पर्यो ।
यसो हेर्दा सजिलो छ मुद्दा । तर त्यति सजिलो चाहिँ होइन ।
छिमेकीको हक लाग्ने नै भयो । जरा उता छ ।
मेरोचाहिँ, किराया लाग्ने कि नलाग्ने ? फल लागेको जमिन त मेरो हो ?
गजलकारलाई सोधूँ भन्छु, भाँडभैलो छ ।
हाइकुकारलाई, अथवा उनीहरूले भन्ने गरेका ‘हाइजिन’ लाई सोधूँ भन्छु, शान्त, प्रकृतिसम्मत, ध्यानस्थ साहित्य बनाउनू भनेकोमा हाइकूभित्र बम पड्काउँछन् । क्रान्ति गर्छन् । मुक्तककार ? यति धेरै छन्, ठम्याउनै गाह्रो छ ।
बिलखबन्दमा पो छु । अलमल । कसलाई सोधूँ ?
अर्काकै बारीमा उम्रेको लौको । नेपाली बारीमा फलेको छ ।
एकथरि भन्छन्— पूरै उताको हो । छिरिक्क चलाउन पाइँदैन । जस्ताको तस्तै लेख्नू ।
अर्काथरि भन्छन् – उता आएपछि कुरा यताको हुन्छ । उताकाले जरो घोटेर खाए भैगयो नि । लौको यताको । तरकारी बनाए पनि भयो । अचार बनाए पनि । साँची, अचार हुन्छ लौकाको ? वा, सोली । बिउलाई जोगाएर राख्ने ।
कसरी खानु लौकाको जरो घोटेर ?
समहतीको विन्दु त छ । आधा–आधा ।
यो बिन्दुमा नउभिए उपाय नै देख्दिनँ ।
पेट्रार्कले सनेट लेखे — आठ र छ हरफ गरी दुई अन्तराका ।
बेलायत आइपुग्यो इटालियन लौकाको लहरो । केहीले यही परिपाटी चलाए । उही नुन, उही भुटून । पेट्रार्ककै । एकथरिले मसलै फेरे । के के गरे के के । आफ्नै शैलीको बनाए । शेक्सपियरकै कुरा गर्ने हो भने पनि ४, ४, ४ र २ हरफका चार अन्तरा गरी चौध हरफका बनाए ।
अनि कि, लौकाले बारीको सीमा नाघेपछि थोरै परिवर्तन । अलिकति अनुकूलन । ठिम्मरीकरण । अलि फरक देखिनकै लागि पनि । यो हुन्छ नै । मेरो बारीको अलिकति सेप लाग्छ नै । अब यस्तोमा शुद्धतावादी, अर्थात् प्युरिस्ट सोचको त्यति बजार छ जस्तो मलाई लाग्दैन । कमसेकम हिजोआज ।
कुरा बाँङ्गिएला भन्ने डर ।
जुनै संस्कृतिमा हुर्किए पनि लोकप्रिय विधाहरू चुल्बुले हुन्छन् । हिँड्छन् । सीमा नाघ्छन् । न भिसा चाहिने, न पास्पोर्ट । चुर्ना परेजस्ता । हुँदा हुँदा नेपालीमा त सुफी सङ्गीत पनि आइपुग्यो । सुन्नुभा होला नि ? के कुरा गर्नु ?
अनि, जब सीमा नाघ्छन् । अनि थोरै रङ फेर्छन् ।
गाउँको लोके, सहरमा पुगेर लोकेन भएजस्तो ।
गाउँको वीरे, सहरमा विरेन भएजस्तो ।
हुन्छ नै ।
गजलमा रडाको छ — बहर अनिवार्य छ । अनिवार्य छैन । विषयमा बद्धता । विषयमा स्वतन्त्रता । मुसलसल ।
गैरमुसलसल । मुद्दा कति कति । गोष्ठीले पनि मिलाउन सकेन ।
हाइकुमा — भित्र रडाको छ । बाहिर सामसुम । पुस्तक पसलमा हाइकुका किताब किन्न जानेलाई देखियो भने औषधी हुन्छ भन्दा पनि देखिँदैन । प्रकाशक बोल्दैनन्, तर सुगरको औषधी खान्छन् जस्तो लाग्छ ।
लौको कता फल्यो, कस्तो फल्यो भन्नेमा ठूलो कलह । छिमेकमा कुटाकुट ।
कुरो नि । आधा आधा काट्ने । मज्जाले पकाउने । कसले पकाएको स्वादिलो ? यो कुरामा बहसै भएन ।
फेरि एकथरि छन् — जसरी पो पकाऊ, लौको नै हो आखिर भन्ने । मीठो होला र ? भो !
मध्यमार्ग निकाल्नु जरुरी छ । कुरा लेखनको ।
एउटा कुरा सार छ — रूपैमा अल्झेर, रूपैको ध्यान्न अति गर्दा, कहिलेकाहीँ बिहे नै हुँदैन । हरिभक्तको कविता पढौँ न – मन त फलामकै भए बेस हुन्थ्यो । नत्र ? पाठक वा भावकको रुचिले स्वरूपलाई त्यति ग्राह्यता दिएका देखिँदैन — चित्रकलामा बाहेक । अलि अलि सङ्गीतमा, तर सङ्गीतको विधान आम श्रोताले बुझ्दैन । नोट लाग्यो कि लागेन ? कोमल कि तीव्र ? तार कि मध्यम ? शुद्ध कि विकृत स्वर ? यमन कि शिवरञ्जनी ? यो छोडौँ । गीत गाऔँ— यो नेपाली शिर उचाली अन्धकारमा चम्कन्छ ।
स्वरूपलाई अति नै ग्राह्यता दिनेका गजल त्यति लोकप्रिय भएको पनि देखिएन । रूप रूप भन्नु, तर कसैको दिलमा नबस्नुको सार के हो? यो. त कुनै शास्त्रमा लेखिएका पाइँदैन त ।
रूपवादीले रूप त प्रस्टै देखे । भावपक्षमा आइपुग्दा जलविन्दु भयो ।
रूपवाद रूपशास्त्रीको कुरा भयो । भावसौन्दर्य पाठक, भावक वा श्रोताको कुरा भयो ।
कता उभिनु?
गाँठी कुरा के छ भने, अति नै विलक्षण प्रतिभा भयो भने मात्रै शास्त्रसम्मत रूप, र पाठकसम्मत भावको उदात्तता एकै ठाउँ भेट्न सकिन्छ । कालीदास । तुलसीदास । कबिर । कैफी आजमी । साहिर लुधियानवी । लेखनाथ । माधव घिमिरे ।
भेटिएन भने?
भेटिएन भने, बरू रूप भत्काउँदा हुन्छ, भावको संसार नभत्कियोस् ।
कारण, रूपका लागि भाव जन्मिएका होइनन् ।
भावका लागि रूप जन्माइएका हुन् ।
मान्छे नै मारेर घर बनाउनु हुँदैन । बरू घर लडोस्, तर मान्छेको ज्यान नमरोस् । घर त फेरि बनाउँला नि?
भावको उचाइले छोयो भने कसैले पनि रूप केलाउँदैन । गधे पे दिल आई तो परी क्या चीज है?
रूपविन्यासको दोष भावको उचाइले पूर्ति गरिदिन्छ । महानतम काव्यहरूमा छन्द भङ्ग कति हो कति । के भन्नु?
भावमा भएको कमजोरीलाई रूपको सटिकताले छोप्न सक्दै सक्दैन ।
जस्तो कि, शास्त्रीय सङ्गीतका कति गुरुहरूका एउटै गीत लोकप्रिय भएनन् । मुुटु छोएनन् । एकाध भए भीमसेन जोशी । अथवा जयदेव । अरू, भीरैभीर भनौँ न । कृष्णभीर ।
चालीस वर्ष छन्दोबद्ध साहित्य पढाएर अवकास लिएका गुरुहरूका कुनै कविताले छोएन ।
गहिरो बहस जरुरी त छ ।
लेख्ने कसका लागि? यो कुरा गाँठी कुरा हो ।
आफ्नै लागि लेख्ने हो भने, भावको मारो गोली । रूप मिले भयो । नमिले पनि भयो । ऐनाले कसलाई पो कुरूप देखाएको छ र?
वा, रूपको मारो गोली, भाव मिले पुग्यो । नमिले पनि । जसो गरे पनि भयो । यसैगरी त भएको छ, धेरैलाई । हामीलाई पनि ।
तर होइन । साहित्यिक विरादरीका टिक्नु पनि छ, र पाठकको मन जित्नु पनि छ भने, रूपलाई अलिकति यसोउसो गरेर, त्यसको न्यूनतम सर्त पालन गरे, भावको पक्षमा मतदान गर्नु आवश्यक छ । सार कुरा यो हो ।
गजलमा यही भयो । हाइकुमा पनि । गीत र कविताको मितेरीमा पनि रमाइलो कुरा भयो ।
गजलमा । भावकलाई केन्द्रमा राखेर, भावको उदात्ततासहित गजल लेख्नेले मनमनमा वास पाए । स्मृतिमा ठाउँ बनाए । हृदयमा किला गाडे । तिनले भलै रूपमा अलि अलि अनियमितता गरेकै हुन् । थोरै । मुद्दा लाइहाल्नुपर्ने केही देखिँदैन । त्यसैले त देशमा, मोतीराम हुँदै भीमनीधि तिवारी आए । मविवि शाह आए । कञ्चन पुडासैनी आए । प्रकट पँगेनी शिव आए । रवि प्राञ्जल आए । रूपक वनवासी आए । शीतल कादम्बिनी आइन् । करूण थापा, कमल सङ्घर्ष, लोकेन्द्र बन्जारा, बाबु त्रिपाठी, सुमन स्मारिकाहरू आए । देश लट्ठ छ ।
थाहा छ, मैले यहाँ थुप्रै नाम छुटाएँ । जोखिम छ । तर छुटाएँ नै ।
अर्कातिर दिनभरि बहस गरेर नथाक्ने रूपशास्त्रीहरू छन् । तिनका गजल कतिको बसे मनमनमा? स्मृतिमा? खै देशै चिप्लो पर्यो कि, कता जान्छन् जान्छन् । समातूँ भन्छु, सक्दिनँ । हैरान छु ।
तर फेरि, एउटा कुरा सार छ । के भने, गजलले मागेको कोमलता, भावको उदात्तता, प्रेमप्रणयको उपल्लो अभिव्यक्ति, सूक्तिहरूको वाचाल प्रवाह अथवा कुनै पनि भावको प्रभावशाली प्रक्षेपण । र, गजल हुनुको न्यूनतम संरचनागत शर्त ।
बस् । अरू के??
जिन्दगीमा एउटा गजल लेखिनँ । तर यति खोकि पो हालेँ त । वाक–स्वतन्त्रता नै भनूँ । जय संविधान । कुटिहाल्न मिल्दैन नि । बाँच्ने अधिकार भनूँ न ।
हाइकुकै सम्प्रदायभित्र पसेर कुरा सुन्छु कहिलेकाहीँ । थोरै शब्दमा बाँच्ने हाइकुभित्रको गगनभेदी रडाको । सुन्नुभा छ कि नाइँ ? विश्व युद्ध । बाहिर पुस्तक पसलमा – सामसुम । पाठक कता छन्? नो अन्सर । किन? नो अन्सर ।
कारण छ । यहाँ पाँच–सात–पाँचमा समस्या छैन । तर, पाँच–सात–पाँचमा मात्रै समस्या छैन । अरु सबै कुरामा समस्या छ । सबैभन्दा ठूला दुई कुरा छुटेका देखिन्छन्, हाइजिनका चिन्तनबाट ।
एक — पाठकको मन ।
दुई – हाइकुको दर्शन ।
बाँकी सबै छ । यानि, के नै छ र ?
कुरा अर्काको बारीमा उम्रेर हाम्रो बारीमा फलेको लौकाको । हिडन्ते विधाको ।
बाह्रै टक्का हुँदैन ।
उदात्त भाव र सटिक संरचना कायम गर्न सकिन्छ भने, त्यो जादु भइगयो ।
उदात्त भावको पक्षमा अलिकति संरचना भत्कियो भने, भावकले थाहा पनि पाउँदैनन् । झुक्याउनुपर्छ भनेको होइन कि, खासै ठूलो विषय नै होइन भनेको । दुई हरफमा, १९–१९ गरेर ३८ अक्षर हुने शार्दुलविक्रीडितमा एक अक्षरको लघु–गुरु कतै बीचमा खुस्कियो भने आकाश खस्दैन । यो कुनै ठूलो मुद्दा पनि होइन ।
सटिक संरचनाको पक्षमा लाग्दा भाव धुलिट्याम भयो भने, गयो । यही त भइरहेको छ शास्त्रीहरूको हकमा ।
हाइकुजस्ता विधामा स्वरूपमा त्यति रडाको हुने ठाउँ छैन । हुँदो हो त, नेपालीले पाएको…छोडिन्थ्यो ? यहाँ गम्भीरता भावमा आउनु जरूरी छ ।
हाइकुमा हुन सक्ने अनुकूलनका दुई मूल कुरा देखिन्छन् ।
पहिलो, हाम्रो, यतैको प्रकृतिको बिम्बात्मक प्रयोग ।
र, दोस्रो, यतैको ध्यान, ज्ञान र दर्शन । अँ, अनुभूति त छँदैछ । यति गर्न सकियो भने, हाइकुले मूल प्रवाहमा हेलिन अझै
नसकेको अवस्था फेरिने नै छ ।
मुक्तकमा पनि कुरो उस्तै छ ।
रूपवादमै रडाको ।
चतुस्पदी । फिजराल शैली ।
जति आयो, त्यति पदी । पद संरचनामा समानता भए पनि, नभए पनि मुक्तक । यसो भन्ने पनि छन् ।
म त छोटा कविता लेख्छु— तीन, चार, पाँच वा छ हरफका । मुक्तक पो भन्दिए । उफ् ।
यहाँ पनि, मुक्तक हुनुको न्यूनतम संरचनागत सर्तमा उभिने । भावको उदात्ततामा कतै सम्झौता नगर्ने । यत्ति हुन सक्यो भने, कुनै पनि विधालाई लोकप्रिय हुनबाट कसैले पनि रोक्न सक्दैन । सभालाई क्याप्पै परेर सम्मोहित गर्ने ल्याकत हुन्छ मुक्तकमा । तर, अचेल फित्कौली भएको छ ।
भावगाम्भीर्य भएन भने कसैले काँध हालेर पनि उठाउन सक्दैन ।
कारण — विधाहरूको सर्वोच्च अदालतको प्रधान न्यायाधीश भनेको पाठक हुन् । र पाठक, रूपमा त्यति अल्झिँदैनन्, जति भाव वा विचारबाट छोइन्छन् । यो एउटा भित्री मर्म हो साहित्य र लोकप्रियताको । मनन गर्दा हुन्छ । नगर्दा पनि हुन्छ । के नै हुनुछ र?
विधाहरूको मूलभूत स्वभाव हुन्छ । त्यसको अनुशरण आफैँमा एउटा सिर्जनात्मक कुरा हो ।
नेपाली गीत र कविताको मितेरीलाई मिहिन ढङ्गले हेरियो भने केही कुरा सतहमा आइपुग्छन् ।
मौलिक नेपाली लोकगीत भनेर चिनिएको गीत नेपालीको, विशेषगरी, पहाडीहरूको रैथाने विधा हो । अचेल भनिने आधुनिक गीतलाई आयातीत न नभनौँ, तर यो पहाडकै सङ्गीत चाहिँ होइन । यसको जरो अन्तै छ, भलै पाउ अहिले सर्वत्र होस् । कुरो फेरि लौकाको ।
यो आधुनिक गीत, नेपाली जनमानसमा यसरी घोलियो, यो आफ्नै लाग्छ । तर, एउटा कुरो छ । आधुनिक गीतले संरचनामा वा सङ्गीतमा लोकगीतको अलिकति ढप, अलिकति बान्की र थोरै कलेवर बोक्दासम्म त्यसले आम नेपाली जनमानसलाई छुने सम्भावना निकै बढी हुन्छ । भएन भने, उच्च कोटिको सङ्गीत भएर पनि कतिपय अवस्थामा आधुनिक गीत आम नेपालीको मानसपटलबाट सुलुलु चिप्लेर झेरेको छ । कुरा अनुकूलनको हो । गीत जताबाट पो आएको होस्, त्यसमा अलिकति नेपाली लोकगीतको गर्भाधान, देश र जनताको स्वास्थ्यका लागि उपयुक्त छ । फ्युजन । ब्लुज र कर्नाटक सङ्गीतको मिश्रण भनेजस्तो । एआर रहमानले के गरे, भारतमा? अथवा, नेपाली र पाश्चात्य सङ्गीत भनेजस्तो । दिव्य खालिङलाई सम्झिएँ । श्रद्धाञ्जली सभाभा गएको थिएँ । तिमीलाई भुल्दा म एक्लो परेछु । तिमीलाई सम्झेँ, तिमी साथ आयौँ ।
नेपाली कवितातिर फर्कन्छु । मिठा, लयालु र मार्मिक गीत लेख्ने गीतकारहरूले कवितामा आगो बाले । उनले गीतको कोमलता कवितामा छिराए । श्रुतिमधुर, छोटा, सरल र गहन शब्द, जो गीतले माग्छ, उही कवितामा भित्र्याए । त्यसमा गम्भीर, मार्मिक र हृदयस्पर्शी भावहरूको लेपन लगाए । तिनका कविता कालजयी छन् । देवकोटा, गोपालप्रसाद रिमाल, सिद्धिचरण श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, दिनेश अधिकारी, श्रवण मुकारुङ, रमेश क्षितिज… अरू थपौँ ।
केही प्रसिद्ध गीतकारले कविता पनि लेखे । तिनले गीतका भाव कवितातिर ल्याए, तर गीतको भाषिक सरलता ल्याएनन् । चाहेनन् । अथवा बिर्से । त्यसैले, तिनका कविता क्लिष्ट र दुर्बोध्य भए । समालोचना अथवा प्राज्ञिक बहसमा तिनको चर्चा होला । तर आम जनमानसमा वा, स्मृतिमा कविताका हरफ बोकेर हिँड्ने भावकको कित्तामा तिनका कविताको चर्चा कम नै हुन्छ । धक नमानी भन्दा हुन्छ— गीतमा आगो बालेका ईश्वरबल्लभ, कञ्चन पुडासैनी, कालीप्रसाल रिजाल, रत्नशम्शेर थापा आदिका कविता त्यति सरल छैनन् । त्यसैले, ती हाम्रो स्मृतिमा बसिहाल्दैनन् । मेरो मेमोरी काइते हो वा कविता नै त्यस्तै हुन् । उनीहरूका गीत गुन्गुनाएर थाक्दिनँ (स्वर मिले पनि र नमिले पनि । धेरैजसो मिल्दैन नै ।) तर, कविता हत्तपत्त दिमागमै अडिँदैन । केले टाँस्नु?
यहाँ एउटा गहिरो कुरा छ ।
गीतकै अम्मली वा पारखीको त के कुरा गर्नु ? उनीहरू त जे पनि गाउँछन् । कण्ठै पार्छन् । नत्र, धनराज गिरी दाइलाई सोध्नू ।
जो गीतका अम्मली होइनन्, तिनीहरू आफ्नो कथा बोकेको गीत सम्झन्छन् ।
तर अर्को एउटा विरादरी छ । उदाहरणका लागि हिन्दी गीत लिऔँ । ती हिन्दी गीतामा एउटा यस्तो प्रभेग छ, जसमा पहाडी भन्ने गरिएको सङ्गीत भरिएको छ । त्यो पहाडी सङ्गीत, भारतको उत्तराखण्डतिरको सङ्गीत । त्यो फेरि, नेपालको पहाडी लोक सङ्गीतको निकट छ । त्यस्ता पहाडी सङ्गीतको कलेबर बोकेका हिन्दी गीत नेपालमा, अथवा नेपाली भाषीका बीचमा अत्यधिक लोकप्रिय भए । पुराना जमानाका गीत आज पनि गाउँछन् नेपालीहरू । जस्तै— कान्छी रे कान्छी रे प्रित मेरी साँची ! दिवाना मुझ सा नहीँ इस अम्बर के नीचे ! देख एक ख्वाब तो ये सिलसिले हुए ! हम दोनो दो प्रेमी दुनियाँ छोड चले !
(विचार गर्नुभा छ ? यस गीतमा त नेपाली पाराको मादल बजेको छ), तेरे मेरे होठों पो मीठे मीठे गीत मितवा, गोरी तेरा गाउँ प्यारा, मै तो गया मारा आके यहाँ रे, जब से मिले नयना, तुम से मिले नयना, फूलों सा चेहरा तेरा, कलियों सा मुस्कान है, दिल दिवाना, विन सजना के माने ना, घूंघट की आढ से दिलवर का दीदार अधुरा रहता है… कति कति ।
कारण, यिनमा नेपाली लोक सङ्गीतको निकट रहेको पहाडी धुनको मिश्रण छ । र यसलाई नेपाली हृदयले अति सहजताका साथ टिप्छ । अर्थ जे पो होस्, देख एक ख्वाब तो ये सिलसिले हुए भन्न त छोडिँदैन नि ।
अचेलका नेपाली सुगम सङ्गीतका सङ्गीतकार क्रमशः लोकगीततिर फर्केको लेखेको छु । भन्न त ‘लोक–आधुनिक’ सङ्गीत भनियो । तर पनि, पुट लोक गीतको आएको छ ।
निचोड गम्भीर छ नि । लेखनमा काम लाग्छ ।
‘वातानुकूलित शयनयान’ लेखेको हुन्छ नि रेलमा । एयर कन्डिसन्ड । हो, यस्तै कुरा । आयातीत, वा अर्ध यायातीत विधाको हकमा प्युरिस्ट भइयो भने लडिन्छ । स्वरूप अलिकति भत्काएर, भाव गाम्भीर्य ल्याउने सम्भावना छ भने जिन्दावाद ।
लोकप्रिय छन्द कविता वा गजलमा यस्तो भएको देखेको छु । अलि अलि मात्रा यता उती खुस्केको, त्यही खोज्नेले देख्ने हो । पाठकले रेल ठेलेरै पुर्याइदिन्छन् गन्तव्या । केही लाग्छ ?
सिद्धान्तकारहरू पनि अलि चलिलो हुनुपर्ने देख्छु ।
हाइकुजस्ता, रूपमा चलाउन नमिल्ने विधामा, भाव वा कथ्यलाई आफ्नो संस्कृति र पाठकको चाहनासँग अनुकूलन गर्नुपर्ने देख्छु ।
अनुकूलन गरिएन भने के हुन्छ ?
डायनोसरको कथा हुन्छ ।
अथवा विधाका प्रयोगकर्तामा जनसङ्ख्यावृद्धि हुन्छ । १०० कौरव । एउटा युयुत्सु भेटिँदैन । ‘प्रयोगकर्ता’ भनेँ है जानी जानी । सर्जक भन्न सकिनँ । कन्जुस पो भएँ त । चमडी जाए, दमडी नजाए भन्थे, त्यस्तै । हैट ।
पाँच अङ्कका नाटक बेलायतमा ग्रिसबाट भित्रियो । तीन अङ्कमा पनि लगियो । एकै अङ्कमा पनि । रूपवादीहरूको केही लागेन । अरस्तुले भन्ने गरेको उच्च वर्गका नायक कता पुगे कता । आर्थर मिलरमा पुग्दा सामान्य मान्छे पो नयक ।
अमेरिकातिर पनि उस्तै । युजिन ओ निलका नाटक हेर्दा वा पढ्दा, कहाँ भेट्नु अरस्तुका आदर्श नायक ?
कुरा अनुकूलनको ।
कुरा ठिम्मरीकरणको । यो शब्द हुन्छ कि हुन्न ? थाहा भएन । तर लेखियो । ठिम्मरीकरण ।
ठिम्मरीकरणले नश्ल सुधारको मौका दिन्छ नि ।
दिएन भने, डार्विनले भनेको क्रमिक विकास हुँदैन । अनि लोप । डायनोसर । साहित्यमा पनि यो कुरा लागु हुन्छ । हरेक विधामा ।
नत्र, सङ्कटापन्न विधा हेरौँ न । अनुकूलन भएन । समयसँग उठेनन् । समय अगाडि । उनीहरू प्रतिगमनतिर । परिणाम के भयो ? डायनोसर ।
‘बचाउ अभियान’ वा ‘संरक्षण अभियान’ पो चलेको देख्छु ।
अब डाइनोसर नै मनपर्ने भए त के बोल्नु ?
नत्र ? अनुकूलन । ठिम्मरीकरण ।
रुढहरूको समय बितिसक्यो ।
हरेक दिनको घाम नयाँ हो ।
नयाँ घाम ताप्न नयाँ मन चाहिन्छ ।
नत्र पुरानोको सम्झनाले पोल्ने मात्र हो । मनमा न्यानोपन आउँदैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।