१. विषय प्रवेश
साहित्यमा नयाँ नयाँ शैली र संरचनाको खोजी हुनु स्वाभाविक मानिन्छ । परम्परित रूपमा कविता, आख्यान, नाटक र निबन्धलाई मूल विधाका रूपमा मानिए पनि वर्तमानमा यिनै विधाहरूसँग अन्तरसम्बन्धित हुँदै विभिन्न उपविधाहरूको विकास भएको देखिन्छ । यस क्रममा कतै विधा मिश्रण भएको देखिन्छ भने कतै नयाँ विधाको जन्म भएको देखिन्छ । कुनै विशिष्ट व्यक्तित्वहरूसँग लिइने अन्तर्वार्ताको विशेष महत्त्व हुन्छ । त्यसले व्यक्तिको परिचय, ज्ञान र विचारको सम्प्रेषण गर्ने काम गर्दछ । त्यसमा पनि एउटा स्रष्टाको कलात्मक क्षमताको प्रवेश भयो भने त्यो रचना अत्यन्त रोचक, कलात्मक र पठनीय बन्ने गर्छ । त्यही अन्तर्वार्ताको निबन्धात्मक प्रस्तुतिलाई निवार्ता भनिन्छ । सामान्यतः अन्तर्वार्ता र निबन्धको मिश्रित संरचनाबाट निवार्ता बन्ने भए पनि यसमा आख्यानको आख्यानीकरण, नाटकको संवाद र समालोचनाको द्रष्टादृष्टिको पनि उत्तिकै भूमिका रहने गर्दछ । यस लेखमा त्यही अत्यन्त रोचक र ज्ञानवद्र्धक सिर्जना निवार्ताका बारेमा सैद्धान्तिक तथा सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।
२. निवार्ताको सैद्धान्तिक स्वरूप र परम्परा
संस्कृत व्याकरणअनुसार ‘वृत्ति+अण्’ निर्माण प्रक्रियाबाट बनेको ‘वात्र्त’ शब्दमा ‘टाप् (आ)’ प्रत्यय जोडिएर बनेको ‘वार्ता’ शब्दको अर्थ समाचार, खबर, गोप्य कुरा भन्ने हुन्छ । त्यही ‘वार्ता’ शब्दमा ‘नि’ उपसर्ग लागेर बनेको ‘निवार्ता’ शब्दले साहित्यको एउटा अभिव्यक्ति कला, विशेष सिर्जना वा विशेष विधा भन्ने जनाउँछ । ‘वार्ता’ शब्दमा ‘नि’ उपसर्ग लागेर बनेको हुनाले ‘निवार्ता’लाई निबन्ध–वार्ता, निबन्धमय वार्ता वा निबन्धात्मक वार्ता भन्ने गरेको पनि पाइन्छ । यसले निबन्ध र अन्तर्वार्ता दुवैलाई सङ्केत गरेको छ । अन्तर्वार्तामा प्रश्नकर्ता र उत्तरदाताका बिचमा सिधा प्रश्नोत्तर हुने गर्दछ तर निवार्तामा अन्तर्वार्ताकारको निजी विचार, दृष्टिकोण र अवधारणाहरूको प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।
विश्वसाहित्यमा कुनै विशिष्ट व्यक्तित्वसँग अन्तर्वार्ता लिने र त्यसलाई निबन्धात्मक रूपमा प्रस्तुत गर्ने प्रचलन त छ तर त्यसलाई औपचारिक विधागत चर्चा भने त्यत्ति गरेको पाइँदैन । साहित्यका अन्य विधाका तुलनामा निवार्ता अत्यन्त कम मात्र लेखिने गरेको पाइन्छ । समालोचक नेत्र एटमले यसलाई निबन्ध र अन्तर्वार्ताको संयोजन भएकाले सिर्जनात्मक अन्तर्वार्ता भन्न सकिने विचार व्यक्त गरेका छन् । उनले निवार्तामा वार्ताकारहरूको व्यक्तित्व, प्रश्नोत्तर, वार्ताको परिवेश, मनस्थिति र उत्तरमाथिका प्रतिक्रियाको दृश्यबिम्ब पाइन्छ । प्रत्यक्ष हुँदाहुँदै पनि परोक्ष बन्नु, औपचारिकतामा पनि अनौपचारिकता सिर्जना हुनु र तटस्थतामा पनि व्यक्तिगत प्रभावको छनक मिल्नु निवार्ताका मौलिकता हुन् भनी निवार्तालाई चिनाएका छन् । त्यसैले यसमा अन्तर्वार्ता हुन्छ, अन्तर्वार्ताबाट सूचना प्राप्त हुन्छ, प्राप्त सूचनामाथि निवार्ताकारको विमर्श प्रस्तुत गरिन्छ र त्यसलाई लेखकीय विचार एवम् दृष्टिकोणका साथ प्रस्तुत गरिन्छ । यसमा सरासर अन्तर्वार्ता पनि हुँदैन र एउटा व्यक्तिमाथिको परिचयात्मक निबन्ध लेखन पनि हुँदैन । कुनै विशिष्ट व्यक्ति वा वार्तानायकको विचारमाथिको मन्थनपूर्ण निबन्धात्मक लेखन नै निवार्ता हो ।
नेपाली साहित्यमा शङ्कर लामिछानेलाई पहिलो निवार्ताकारका रूपमा मान्ने गरिन्छ । उनले २०१० सालको ‘प्रगति’ पत्रिकामा प्रकाशन गरेको महाकवि देवकोटासँगको कुराकानीमा आधारित निबन्धात्मक रचनालाई नेपाली साहित्यको पहिलो निवार्ता मान्ने गरिएको छ भने लामिछानेको ‘बिम्ब–प्रतिबिम्ब’मा समेटिएका निवार्ताहरू नेपाली साहित्यको इतिहासमा उल्लेखनीय मानिन्छन् । यसरी नै नेपाली साहित्यमा केही महत्त्वपूर्ण निवार्ताहरू लेखिएका पाइन्छन् । तीमध्येमा आनन्ददेव भट्टको ‘हाम्रा प्रतिभाहरू’, उत्तम कुँवरको ‘स्रष्टा र साहित्य’, नेत्र एटमको ‘सीमान्त आकाश ः स्रष्टासितको अन्तर्यात्रा’ आदि कृतिहरू स्मरणीय छन् । निवार्ताले व्यक्तिलाई चिनाउनुका साथै उसका अनुभूति, विचार र ज्ञानलाई विश्लेषणात्मक तरिकाले प्रस्तुत गर्ने र लेखकीय दृष्टिकोणको समेत स्थापना गर्ने हुनाले यो पाठकका लागि रोजाइको सिर्जना बन्ने गरेको छ ।
३. निवार्ता हुनका लागि के के चाहिन्छ ?
निवार्ता नेपाली साहित्यमा कम लेखिन्छ तर जति लेखिएको छ त्यो अत्यन्त लोकप्रिय बनेको देखिन्छ । यो नेपाली साहित्यको इतिहासमा एउटा पूर्ण र रोचक साहित्यिक सामग्रीका रूपमा स्थापित भइसकेको छ । यसमा विशिष्ट व्यक्तित्वसँगको अन्तर्वार्ता र त्यसप्रतिको वार्ताकारको अनुभूति मुख्य रूपमा आउने गर्दछन् । यो अन्य विधामा जस्तो एउटा विषयवस्तुलाई टिपेर सरासर लेख्न थालिहाल्ने रचना होइन । यसका लागि कसैसँग अन्तर्वार्ता लिनु अनिवार्य छ, त्यस अन्तर्वार्ताका क्रममा भनिएका कुराहरूको टिपोट गर्नु र त्यसलाई रोचक एवम् कलात्मक तरिकाले प्रस्तुत गर्दै गएर पाठकलाई सूचना र मनोरञ्जन दुवै प्रदान गर्नु झन् अनिवार्य छ । यिनै कुरालाई ध्यानमा राखेर एउटा निवार्ताकार निवार्ता लेख्न बस्नुपर्छ । यसका लागि निम्नलिखित कुराहरू प्रमुख अङ्ग बनेर आउने गर्दछन्—
(क) व्यक्तिविचार र स्रष्टा अनुभवको अन्तर्घुलन
निवार्ता कुनै विशिष्ट व्यक्तिको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानमा आधारित अन्तर्वार्तामा केन्द्रित भएर लेखिन्छ । यसमा सम्बन्धित व्यक्तिको विचारको खोजी गर्नु पहिलो उद्देश्य हुने गर्छ । त्यस विचार वा सूचनामा निवार्ताकारको निजी अनुभवको अन्तर्घुलन हुनु यसका लागि थप आवश्यकता हो । यसका लागि अन्तर्वार्ताबाट प्राप्त सूचना कच्चापदार्थ बन्ने गर्दछ र त्यसलाई निवार्ताकारले आत्मदृष्टिका साथ कलात्मक तरिकाले प्रस्तुत गर्दा निवार्ता सिर्जना हुने गर्दछ । त्यसैले अन्तर्वार्ता दाताको विचार वा सूचना र निवार्ताकारको अनुभव र दृष्टिकोणको अन्तर्घुलन निवार्ताका लागि अनिवार्य तत्त्व मानिन्छ ।
(ख) सूचनाको आंशिक आख्यानीकरण एवम् नाटकीकरण 
निवार्ता लेखन व्यक्तिकथामा आधारित आख्यान लेखन होइन । यसमा आख्यानको भन्दा विश्लेषणात्मक सूचना र स्रष्टा दृष्टिकोणकै प्राधान्य रहन्छ तापनि प्रस्तुतिलाई रोचक बनाउनका लागि सूचनाको आंशिक आख्यानीकरण र संवादात्मक नाटकीकरण निवार्तामा पनि हुने गर्दछ । यहाँ सूचना भनेको अन्तर्वार्ता दाताको जीवन, अनुभव र विचारसँग जोडिएका कुराहरूको जानकारी हो । त्यस जानकारीलाई सरासर वर्णन गर्दै जाँदा त्यो निवार्ता बन्दैन । त्यसमा थोरै मनोरञ्जक घटनाविन्यास, थोरै कल्पनाको मिश्रण, थोरै स्रष्टाको आत्मदृष्टि र थोरै नाटकीय कलाकारिताको आवश्यकता पर्दछ । यति भयो भने त्यो निवार्ता सिर्जनात्मक बन्ने गर्दछ ।
(ग) लेखकीय इमानदारी र सूक्ष्म विश्लेषण
निवार्ताका लागि लेखकीय इमानदारीले ठुलो भूमिका खेलेको हुन्छ । अन्तर्वार्ता दाताको विचारलाई प्रस्तुत गर्ने क्रममा निवार्ता लेखकलाई कुनै पनि प्रकारका कुराले प्रभावित पार्नु हुँदैन । निवार्ता लेखकलाई क्षेत्र, जाति, वर्ग, लिङ्ग, राजनीति आदि कुराले प्रभाव पा-यो भने सत्य कुरा अगाडि नआएर निवार्ता सम्बन्धित कुरातिर ढल्किने सम्भावना हुन्छ । यसका साथै सम्बन्धित व्यक्तिको विचारलाई बढाइचढाइ गरेर प्रस्तुत गरेबापत कुनै प्राप्तिको अपेक्षा लेखकले राखेको आभास सिर्जनामा भयो भने त्यसले सिर्जनात्मक गुणात्मकतामा आघात गुग्ने देखिन्छ । निवार्ता वस्तुगत हुनु अनिवार्य छ । त्यसमा व्यक्तिको कुनै पनि प्रकारको मोह, आग्रह, दुराग्रह, प्रतिशोध, आकर्षण आदिको प्रभाव परेको देखिनु हुँदैन । कुनै व्यक्तिसँग अन्तर्वार्ता लिएर त्यसको उछित्तो काड्ने वा त्यसलाई प्रशंसाको सगरमाथा चढाइदिने उद्देश्यका साथ निवार्ता लेख्नु लेखकीय कमजोरी हो । त्यसैले यसमा सम्बन्धित व्यक्ति, व्यक्तित्व र योगदानमाथि ज्ञान वा तर्कमा आधारित सूक्ष्म विश्लेषण आवश्यक मानिन्छ तर त्यसमा लेखकीय इमानदारी नभई नहुने कुरा हो ।
(घ) सम्प्रेषणको प्रभावकारिता (भाषा/शैली/प्रस्तुति)
निवार्ता लेखनका लागि छनोट गरिएको व्यक्ति जतिसुकै प्रतिष्ठित भए पनि, उसले व्यक्त गरेको विचार जतिसुकै सशक्त भए पनि त्यसलाई सम्प्रेषण गर्ने शैली फितलो भयो भने त्यो रचना उत्कृष्ट बन्न सक्दैन । कसैसँग अन्तर्वार्ता लिनु, सूचनाहरूको सङ्कलन गर्नु र त्यसलाई आद्योपान्त सरासर वर्णन गरेर लेख्दै जानु निवार्ता लेखन होइन । यसमा अन्तर्वार्ता दाताले व्यक्त गरेका हरेक विचार, हरेक सूचना र हरेक जानकारीमाथिको सूक्ष्म दृष्टि र तदनकूल कलात्मक प्रस्तुति आवश्यक मानिन्छ । प्रश्न र उत्तरको संयोजन निवार्ता होइन, त्यो त जसले पनि गर्न सक्छ । निवार्ताकार आफैँमा विशिष्ट स्रष्टा हो । सिर्जनात्मक क्षमताविना स्रष्टा हुँदैन । सिर्जना हुनका लागि प्रभावकारी सम्प्रेषण आवश्यक हुन्छ जसलाई कला भनिन्छ । कलाको प्रतिबिम्बन भाषाशैलीमा हुने हुनाले निवार्ताको भाषाशैली सरल, सहज, कलात्मक, सम्प्रेषणीय, आकर्षक र रोचक हुनु अनिवार्य मानिन्छ । यसका लागि विभिन्न विम्ब, प्रतीक, अलङ्कारका साथै अनुकूल तर्क, प्रमाण, दृष्टान्त आदिलाई स्वानुभूति र ज्ञानसँग जोडेर प्रवेश गराउने भाषाशैलीको छनोट निवार्ताकारले गरेमा त्यसलाई सुन्दर शैली मान्ने गरिन्छ ।
यिनका साथै निवार्ताकारले सम्बन्धित व्यक्तित्वका प्रचलित, स्थापित वा प्रसिद्ध कुराहरूलाई मात्र नउनेर उसका लुकेका कुराहरूको उद्घाटन गर्न सक्यो भने, उसले देखेका, भोगेका, प्रत्यक्ष अनुभव गरेका र सङ्घर्ष गरेर हासिल गरेका उपलब्धिहरूलाई कलात्मक तरिकाले उतार्न सक्यो भने र पाठकले कल्पना गरेका कुराहरूलाई पनि साधारणीकरणका माध्यमबाट बाहिर ल्याइदिन सक्यो भने त्यो निवार्ता सफल र सुन्दर मानिन्छ । निवार्तालाई कसरी रोचक, मनोरञ्जक र ज्ञानवद्र्धक बनाउने भन्ने कुराको जिम्मा निवार्ताकार स्वयंको हो ।
४. निवार्ता कसरी लेखिन्छ ?
निवार्ता लेख्नका लागि सबैभन्दा पहिला लेखक स्वयं मानसिक रूपमा तयार हुनुपर्छ । लेखकमा म यस पटक यो व्यक्तिका बारेमा निवार्ता लेख्छु भन्ने आत्मनिर्णय भयो भने उसले त्यस व्यक्तिका बारेमा पूर्वअध्ययन सुरु गर्दछ । कसैसँग अन्तर्वार्ता लिन जाने व्यक्ति पनि ज्ञानको शून्य अवस्थामा रहेको हुनु हुँदैन । सबैभन्दा पहिले त्यस व्यक्तिका बारेमा गहिरो अध्ययन गरेपछि उसको व्यक्तित्व, कृतित्व वा योगदान आदिका बारेमा एउटा अवधारणा निर्माण हुन्छ । यसबाट आन्तरिक संरचनामा चाहिँ निवार्ता लेखनको शिलान्यास भएको मानिन्छ । यस्तो सोच बनाएपछि निवार्ताकारले सम्बन्धित व्यक्तिको जीवनका समग्रता र योगदानका विशेषतासमेतलाई समेट्ने खालका प्रश्नहरू निर्माण गर्नुपर्छ । यसपछि तिनै प्रश्नका आधारमा हतारमा होइन, फुर्सदिलो समय मिलाएर सम्बन्धित व्यक्तिसँग अनौपचारिक ढङ्गले कुराकारी गर्नुपर्छ । यसरी कुराकानी गर्दा ध्वनि रेकर्ड वा छायाङ्कनको व्यवस्था पनि गर्न सकिन्छ र कागजी टिपोटबाट पनि विवरण सङ्कलन गर्न सकिन्छ । यही विवरण निवार्ताका लागि बलियो आधार हो । अब यसलाई दुई तरिकाले व्यक्त गर्न सकिन्छ । पहिलो निवार्ताकारले अन्तर्वार्ताका अवधिमा टिपेका टिपोटहरूका आधारमा अन्तर्वार्ताको समाप्तिपछि तत्काल गरिने निवार्ता लेखन र दोस्रो अन्तर्वार्ता अवधिका टिपोटहरूलाई सुरक्षित राखेर वर्षौंपछि गरिने निवार्ता लेखन । यी दुईमध्येमा तत्काल सिर्जना भएका निवार्ताहरू बढी प्रभावकारी हुने गर्दछन् । एउटा निवार्ताकारले निवार्ता लेख्न चाहेमा निम्नलिखित संरचना र चरणहरूमा ध्यान दिए त्यो सिर्जना सुन्दर र व्यवस्थित हुने देखिन्छ—
(क) आकर्षक शीर्षक छनोट  
निवार्ताको सबैभन्दा माथि व्यक्ति वा प्रवृत्तिलाई सङ्केत गर्ने खालको पदावलीका तहको एउटा आकर्षक शीर्षक दिनुपर्छ । शीर्षक अभिधात्मक नभएर ध्वन्यात्मक भएमा बढी आकर्षक हुने गर्दछ । एउटा कृतिभित्र विभिन्न व्यक्तिकेन्द्रित निवार्ताहरू समावेश हुन सक्छन् त्यसैले हरेक व्यक्तिका लागि अलग अलग र त्यस व्यक्तिको चरित्र चित्राङ्कन हुने गरीका भित्री शीर्षकहरू निवार्ताका लागि आवश्यक मानिन्छन् भने सिङ्गो कृतिका लागि चाहिँ सम्बन्धित विषयलाई प्रतिनिधित्व गर्ने खालको सुन्दर तथा प्रभावकारी शीर्षक छनोट गर्नुपर्छ । समग्र कृतिको शीर्षक छनोट निवार्ता लेखनले पूर्णता पाएपछि प्रकाशनका समयमा गरे पनि फरक पर्दैन तर भित्री निवार्ताका शीर्षकहरूचाहिँ लेखनकै चरणमा भए राम्रो मानिन्छ ।
(ख) भूमिका खण्ड
यो निवार्ताको प्रवेशद्वार हो । यसको थालनी अत्यन्त अनौपचारिक रूपमा वैयक्तिक सन्दर्भबाट गरिन्छ । कोसँग, कुन सन्दर्भमा, किन र केका लागि अन्तर्वार्ता लिने सोच कसरी सिर्जना भयो भन्ने बारेमा आत्मपरक शैलीमा लेखकले लेखनको थालनी गर्दछ । यसैमा कुन मितिमा, कहाँ र कसरी अन्तर्वार्ता लिइयो भन्ने बारेमा यथार्थ जानकारी लेखकले दिनुपर्छ र निवार्ता लेखनको थालनी गर्नुपर्छ । एउटा निवार्ताका लागि यो प्रायः एक अनुच्छेदमा लेखिन्छ । यो निवार्ताको पृष्ठभूमि हो र सूचनाको थालनी पनि हो ।
(ग) विस्तार खण्ड 
यो निवार्ताको मूल खण्ड हो । यसमा अन्तर्वार्ताबाट प्राप्त सूचनाहरूलाई कतै आख्यानात्मक शैलीमा, कतै निबन्धात्मक शैलीमा, कतै संवादात्मक शैलीमा र कतै उद्धरणात्मक शैलीमा प्रस्तुत गरिन्छ । यसमा वार्तानायकका विचार र निवार्ताकारका अनुभवलाई कलात्मक तरिकाले विस्तार गर्ने क्रममा प्रस्तुतिलाई अत्यन्त मनोरञ्जक र कुतूहलपूर्ण बनाइन्छ । यही खण्डमा व्यक्तिको व्यक्तित्वसँग जोडिएका रोचक प्रसङ्गहरू र कृतित्वसँग जोडिएका प्रवृत्तिहरू सबैको समीक्षात्मक विश्लेषण गरिन्छ । यो खण्ड व्यक्तित्वको व्यापकतालाई हेरेर एक, दुई, तीन वा जति पनि अनुच्छेदमा लेख्न सकिन्छ ।
(घ) निचोड खण्ड 
यो खण्ड निवार्तामा वार्तानायकप्रतिको मूल्याङ्कन प्रस्तुत गर्ने र लेखकीय विचार स्थापना गर्ने ठाउँ हो । यहाँसम्म आइपुग्दा लेखकले व्यक्तिको परिचय, योगदान र प्रवृत्ति सबै कुराका बारेमा समीक्षात्मक जानकारी प्रस्तुत गरिसकेको हुन्छ । त्यसैले यस खण्डमा वार्तानायकप्रतिको लेखकको निजी विचार र दृष्टिकोणसहित निवार्ताको उचित समापन गरिन्छ । यो भाग निवार्ताको अन्तिम खण्ड हो । यो प्रायः एउटै अनुच्छेदमा लेखिन्छ र अरूभन्दा सारगर्भित पनि हुने गर्दछ ।
यी कुराहरू सिकारु चरणका निवार्ताकारहरूका लागि उपयोगी हुन्छन् । सिद्धहस्त स्रष्टाले त एकै पटकमा वा एकै बसाइमा एउटा निवार्ता लेख्न सक्छ । यति मात्र होइन, यो निवार्ता लेखनका लागि बाहिरी फ्रेम मात्र हो । आन्तरिक रूपमा रहने निवार्तागत कलाकारिताचाहिँ प्रत्येक स्रष्टामा आआफ्नै प्रकारको हुन्छ । त्यही नै स्रष्टाको निजी विशेषता, क्षमता वा विशिष्ट चिनारी पनि हो ।
५. निवार्ता लेखन : प्रयोगात्मक सिर्जनाका चरणहरू
चरण १ : आफूले अन्तर्वार्ता लिन चाहेको व्यक्तिको छनोट, तिनका बारेमा गहिरो अध्ययन, प्रश्ननिर्माण, अन्तर्वार्ता र सूक्ष्म कुराहरूको बुँदागत टिपोट ।
चरण २ : आकर्षक शीर्षक चयन (व्यक्ति, कृति, प्रवृत्ति, योगदान वा अन्य कुनै कुराप्रति सङ्केत गर्ने ध्वन्यात्मक) ।
चरण ३ : टिपिएका बुँदाहरूको क्रमनिर्धारण ।
चरण ४ : सूचनाको आख्यानीकरण, विचारप्रतिको स्रष्टादृष्टिकोण निर्माण, योगदानको विश्लेषण र अभिव्यक्तिको आलङ्कारिकताका लागि थप सामग्रीहरूको खोजी, अध्ययन, टिपोट र उचित व्यवस्थापन ।
चरण ५ : आवश्यकताअनुसार कतै आख्यानात्मक, कतै निबन्धात्मक, कतै  संवादात्मक, कतै दृश्यात्मक र कतै नाटकीय शैलीमा निवार्ताको विस्तार गर्दै गएर खेस्रा लेखन ।
चरण ६ : खेस्रा रूपमा तयार भएको निवार्ताको पठन, पुनःपठन, सत्य परीक्षण र संशोधन, त्रुटिविश्लेषण र परिमार्जन गरी अन्तिम रूप प्रदान ।
चरण ७ : कम्प्युटर टाइपिङ, भाषा शुद्धीकरण र प्रकाशन । यदि सिङ्गो कृति भएमा भूमिका र कृतज्ञता लेखन (स्रष्टाले आवश्यक ठानेमा), आन्तरिक सेटिङ, कभर डिजाइन, छपाइ, बाइन्डिङ र लोकार्पण आदि । (आवश्यकताअनुसार)
६. निष्कर्ष
निवार्ताको आफ्नै संरचनात्मक ढाँचा हुन्छ । यसको लेखनको उद्देश्य व्यक्ति र व्यक्तित्वलाई एकै साथ चिनाउनु हो । यसले वार्तानायकको बाहिरी परिचयलाई मात्र नभएर उसको समग्र योगदानलाई समेत विश्लेषणात्मक तरिकाले प्रस्तुत गर्ने हुनाले यसबाट पाठकहरू निकै लाभान्वित हुने देखिन्छ । निवार्ता लेखनका लागि निवार्ताकारचाहिँ बहुमुखी क्षमता भएको हुनुपर्छ । सम्बन्धित व्यक्ति र विषयमाथिको गहिरो अध्ययन भएको, सर्जक र समालोचक दुवै क्षमता भएको, तटस्थ, तार्किक र वस्तुगत दृष्टिकोण भएको र आकर्षक एवम् सम्प्रेषणीय भाषिक कला भएको स्रष्टाले मात्र निवार्ता लेख्न सक्ने हुनाले व्यक्तिसँग लिइएको अन्तर्वार्तामा अभिव्यक्त सूचनाहरूको रैखिक वर्णन निवार्ताका लागि ऋणात्मक बन्छ सक्छ । यदि यसमा कलाको प्रवेश हुन सकेन भने यो झन्झटिलो सूचना सामग्री मात्र बन्ने हुनाले निवार्ता लेखक यसप्रति सचेत रहनु जरुरी छ । ज्ञान, सूचना र तथ्यहरूको कलात्मक प्रस्तुति निवार्ताको शक्ति हो भने सुयोजित व्यक्तिप्रशंसा वा दुराग्रहपूर्ण व्यक्तिआलोचना निवार्ताका लागि सीमा हो ।
क्रमशः अर्को हप्ता…