आज चौथी हान्न जाने हो?
जाने । नजाने । बहस । जाँदा पुलिस । नजाँदा थकथक ।
उट्पट्याङ गर्ने? बदमासी? त्यो पनि शास्त्रसम्मत?
शास्त्रमाथि त बहस गर्ने भनेकै छौँ अस्तिदेखि । अचेल भगवान्माथि पनि बहस हुन्छ । (मार्लान् है!)
यो बहसभित्र कुरा छ — चौथीको । लेखकहरूलाई काम लाग्छ ।
उसो भए, सुरु!
भनियो नि— शास्त्र सँगसँगै अचेल त भगावन्माथि पनि बहस गर्ने समय हो ।
कारण, भगवान् एक छन् भन्ने जमात पनि छ । एउटा ठूलो जमात भने भगवान् अनेक छन् भन्नेको छ । तेत्तीस कोटि त हामीले नै भन्यौँ, भनेनौँ त? अतेल त शीतला मातालगायत थपिएर पनि बढे । जनसङ्ख्या वृद्धि ।
भगवान्बारे बहस गर्नुका दुई पाटा छन् । लेखकलाई यो कुरा काम लाग्न सक्छ । नलाग्न पनि सक्छ ।
पाटो १- भगवान् मान्छेको कल्पनाले जन्मयो । धेरै भगवान् धेरै मान्छेका कल्पनाले जन्मायो । अब, मान्छेकै कल्पना हो भने, बहस त हुन्छ नै । भइरहेको छ ।
पाटो २- भगावन्लाई मान्छेले आफूनिकट तान्न खोज्यो । निकट तान्न खोज्दा त तानातान हुने भो । तान्दा तान्दा – रबर । चुँडिएला है !
आफूनिकट तान्ने भनेको भौतिक कुरा होइन ।
यो मनोवैज्ञानिक कुरा हो ।
कस्तो कुरा?
कुरा कस्तो भने, भगवान्लाई पनि मान्छेजस्तो देखाउने कुरा ।
केही धर्मावलम्बीले भने — भगवान्ले मान्छेलाई आफ्नै आकारमा निर्माण गरे । तर नि कुरा आकारमै सीमित गरियो । भगवान्चाहिँ कस्तो भइदिए भने— ‘राम इज ए गुड ब्वाय’ भनेर कक्षा २ को किताबमा पढेजस्तो । सुबानी । साधु ।
सर्वगुणसम्पन्न । तिलस्मी । चामत्कारिक । अद्भुत । कुनै खोट नभएको । पर्फेक्ट ।
उसो भए, मान्छे पर्फेक्ट छ त? छैन भने, ऊ पर्फेक्ट भगवान्को निकट कसरी भयो त? भएन । त्यसो हुँदा भगवान् सधैँ अप्राप्य, अपरिमेय र अलौकिक नै भइरहे । बनाइए ।
तर भगवान्लाई मान्छेकै निकट तान्ने केही समुदाय छन् ।
नत्र काउन्टी कुलेनले भन्ने थिएनन्— यो कुइरेको भगवान् हामीजस्तो छैन । पुज्दिनँ । यानि, उनले त्यो भगवान् चिनेनन् ।
[bs-quote quote=”भगवान्लाई आफूनिकट तान्ने प्रयासको मानोविज्ञान र लेखन — यी दुई कुरालाई जोड्न खोज्दै छु । जोडिन्छ कि जोडिन्न खै? जोडिए पनि नेपाली राजनीतिमा गठबन्धन भनेजस्तो हुने हो कि? हेरौँ ।” style=”style-2″ align=”right” color=”#81d742″ author_name=”महेश पाैड्याल” author_job=”” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/08/received_330963901372629.jpeg” author_link=””][/bs-quote]
कवि हेमन यात्रीले एउटा कवितामा ‘अपरिचितको फोटो’ किन भने त नयाँ भगवान्लाई? गहिरो लाग्यो हौ मलाई उनको कुरा ।
भगवान्लाई आफूनिकट तान्ने प्रयासको मानोविज्ञान र लेखन — यी दुई कुरालाई जोड्न खोज्दै छु । जोडिन्छ कि जोडिन्न खै? जोडिए पनि नेपाली राजनीतिमा गठबन्धन भनेजस्तो हुने हो कि? हेरौँ ।
भगवान्लाई मान्छेनिकट तान्नु भनेको के हो? यो तर्क गर्नुभन्दा अगाडि, नठाँटी, मान्छे हुनु भनेको के हो — त्यस कुराको विवेचना गरौँ । मिल्यो भने ‘मम’ भनौँ । मिलेन भने कसैलाई नभनौँ ।
— मान्छे भनेको अलिअलि बदमासी गर्न मन हुनु हो । वैराग्य बोक्नेहरूका आफ्नै खाले बदमासी । हामी सांसारिकहरूका आफ्नै खालका । खुलस्थ चाहिँ नभनौँ होला ।
— मान्छे भनेको, जस्तै सिद्ध पुरुष वा नारी भए पनि, अलि अलि अहं, थोरै लोभ (मोक्ष पाऊँ भन्नु पनि एउटा लोभ नै हो), अलिअलि नाम, मान र प्रतिष्ठाको लालसा…
— युद्ध । फाइट । भनाभन । मनमुटाव । सम्झौता । फेरि गलफती । अनि फेरि…भो, अगाडि भनिनँ ।
— मान्छे भनेको जे जे हुइनँ भन्छ, त्यै त्यै हो ।
सारमा, मान्छे देव पनि र दानव पनि । मान्छे गुणी पनि अधम पनि । मान्छे शिव पनि भस्मासुर पनि । मान्छे कृष्ण पनि र कंश पनि । कुनको अंश धेर र कुनको थोर — गणित त्यसको हो ।
त्यसैले मान्छेजस्तो भन्नु — दैवी र आसुरी गुणको समुपस्थिति ।
उसो भा, मान्छेले भगवान्लाई आफूनिकट तान्न खोज्नु भनेको के?
यो कुराको उत्तर ग्रिसेलीले खोजे । हिन्दूहरूले पनि खोजे । केही प्रकृति उपासकले खोले ।
उनले देउतामा मान्छेका गुण स्थापित गरे । तिनका कतिपय देउता अलि बदमास छन् । सनकी छन् । चोर छन् । व्यभिचारी छन् । रिसाहा छन् । मायालु छन् । नटवरलाल छन् । छली छन् । जाली छन् । प्यारा छन् ।
जियस, ग्रिसेली देउता । हेलेनको जन्म कसरी भयो ? भो, कथा भन्दिनँ ।
इन्द्र, हिन्दूका देउता । उनको र अहिल्याको कथा के हो? सबैलाई थाहै छ ।
हिन्दू भगवान्हरूमा मान्छेका सम्पूर्ण कमीकमजोरीसहित उभिएका भगवान्, मेरो दृष्टिमा कृष्ण हुन् । ती कमजोरीहरूलाई चिर्दै-चिर्दै योगेश्वर बने । मने— ती कमजोरीलाई चिर्दै जाने काम सम्भव छ । यो सन्देश — कृष्णको जीनवको ।
अनि कि, कस्ता त कृष्ण?
बालकलाई प्रिय पात्र बालकृष्ण । नौनी चोर्ने, घैँटो फोर्ने । मैया यशोदा, तेरा कन्हैया, पनघट मे मेरे पकडे है बहियाँ…
आमाका प्यारा पुत्र, कृष्ण । देवकी सुत गोविन्द वासुदेव जगत्पते…नटखट सबका प्यारा ।
मायालुका प्यारा, कृष्ण कन्हैया । राधा के विना श्याम आधा । होली खेल्न आओ न गोपिनी, चैत महिना हातैमा रङ्ग लेर ।
यारका यार, साथी कृष्ण । कृष्णसँग मिल्न आएका सुदामा । गाउँदै हिँडे मनमा हरे कृष्ण राम ।
रागिनीहरूका प्रेम कृष्ण । हुई मस्तानी मीरा बाई, ऐसे ही मुझे मस्त बना दे…अथवा सूरदासका घनश्याम । अथवा भनौँ, म त तिम्रो घनश्याम…तिमी मेरी राधा पियारी ।
दुस्मनका दुस्मन कृष्ण । भो, शिशुपालको स्वर्गवास होस् । कंशको पनि मुक्ति होस् । चुस्दाचुस्दै पूतनाको प्राणै चुसिलिए, कष्ण बस न यो मेरो मनैमा, मलाई लैजाऊ न त्यो परमधामैमा ।
राजनेताका पनि नेता, राजनीतिज्ञ कृष्ण ।
स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि ।
धर्म्याद्धि युद्धाछ्रेयोऽन्यत्क्षत्रियस्य न विद्यते।।भ.गी.२/३२।।
दार्शनिकहरूका मानक कृष्ण । जन्मने अवश्यै मर्छ मर्नेको जन्म नित्य छ । नभई नहुनेमा पार्थ, तिम्रो शोक अयोग्य छ ।
कृष्णको कथामा उनका विविध स्वरूपका प्रसङ्ग मिसिए । धेरै हदसम्म उनलाई अरू भगवान्को तुलनामा मान्छेनिकट ल्याइयो । धेरै उमेर समूहका मान्छेजस्ता छन् उनी । जसले खोजे पनि उनमा आफूजस्तो केही देखिन्छ । त्यसैले कृष्ण सर्वाधिक लोकप्रिय भगवान्मध्येका एक भए ।
यानि उनको व्यक्तित्वमा मान्छेका विविध पाटाको मूर्त चित्रण पाइन्छ ।
यो लेख भगवान् कृष्णको महात्म्यको हैन । नत्र फेसबुकमा हङ्गामा…
कुरा नि, अर्कै छ ।
[bs-quote quote=”सधैँ थुनेर राखेको अनिवार्य आसुरी पक्षले उकुसमुकुस बनाउँछ । बिगार्छ । विस्फोट गराउँछ । मान्छे सधैँ ‘राम इज अ गुड ब्याय’ बनेर बसिरहन सक्छ? साँच्चै भनौँ त? उत्तर त हो — सक्दैन तर भन्छौँ, सक्नुपर्छ । उफ् ।” style=”default” align=”left” color=”#dd9933″ author_name=”महेश पाैड्याल” author_job=”” author_avatar=”” author_link=””][/bs-quote]
मान्छेभित्र दैवी र दानवी सुर दुवै छन् । यो कुरा त पहिल्यै स्थापित भएको हो नि — इद, इगो, सुपरइगो । अनि ती सबै सुरको सन्तुलन गराउने भगवान् वा शास्त्र वैज्ञानिक हुन्छ । अरू आदर्शवादी । यो सत्य । हो भन्न कठिन तर हो ।
समयसँगै आफूलाई अध्यावधि गर्दै लगेका प्रगतिशील समाज, धर्म र संस्कृतिले मान्छेभित्रको आसुरी तत्त्वलाई निषेध गर्दैनन् । त्यसको व्यवस्थापनका सूत्र सिकाउँछन् ।
चौथी हान्ने कुरा । लेखनका कुरा । कता जिली कता गाँठी पो भो कि!
सधैँ थुनेर राखेको अनिवार्य आसुरी पक्षले उकुसमुकुस बनाउँछ । बिगार्छ । विस्फोट गराउँछ । मान्छे सधैँ ‘राम इज अ गुड ब्याय’ बनेर बसिरहन सक्छ? साँच्चै भनौँ त? उत्तर त हो — सक्दैन तर भन्छौँ, सक्नुपर्छ । उफ् ।
सकिँदैन तर यसो भनेको असुरको राजा नै बनौँ भन्ने कुरा चाहिँ होइन । यो आसुरी प्रवृत्तिको विध्वंसरहित निकास खोज्नुपर्छ । कुरा त्यो हो ।
पर्वले अलिअलि बदमासी गर् भन्छ कहिलेकाहीँ । हामी अलि बढी नै गर्दिन्छौँ लुकेर । घरमा सुनाउँदैनौँ । मार्छन् । कुरो नि । चौथीको । शिवरात्रिको भाङ । मदिरा खाने पर्व छन् अनेक संस्कृतिमा कति कति । मासु पनि । बलि । शास्त्रमा होलान् वा नहोलान्, समाजको परिपाटिमा झुल्किए । जन्मिए । किन?
मेक्सिकोमा त अचम्मै । जात्रा हुँदा रहेछन् बेला-बेला । फियास्टा भन्दा रहेछन् । नाच, गान, मासु, मदिरा…तमसको पराकाष्ठा । ढुङ्गा हानाहात । यौनक्रिया । कहिले त मारामार । मुद्दा नलाग्ने । नो मुद्दा । ओक्टाभिया पाजले लेखेका छन् कतै ।
जटिल छ । कसरी बुझ्नु?
बेलायतमा एउटा छ रे, स्पिकर्स कर्नर । पुगेको छुइनँ, सुनेको । त्यहाँ उभिएर सरकारलाई, समाजलाई, संसारलाई तथानाम भन्न पइन्छ रे । पुगिहालौँ जस्तो नि, हगि ! मुद्दा लाग्दैन रे ।
बेलायतको के कुरा गर्नु? हाम्रै छ नि गाइजात्रा । एउटा मौका — सरकारको खोइरो । उहिले त राजाको पनि । हामी सानै छँदा सुनेको गाइजात्रे गीत सम्झेँ – कान्छी हे कान्छीको भाकामा । गाऔँ न — ‘माननीय हे मन्त्री । ए मन्त्री केही बोल न । ए घुस खाको कुरा खोल न । म भ्रष्टाचार मादल बजाउँला, तिमी शोषके तालमा नाच न ।’
विरेचन । भयो नि? भएन भने फेरि गाउनुपर्छ ।
सपनामा बोक्सीले थिचोस्,
बाँचुन्जुल औषधि घिचोस्,
घर त रामकोट
साँढेको जुधाइ बाच्छाको मिचाइ,
जनतालाई पर्यो चोट ।
यस्तो लाइसेन्स केका लागि? बेला-बेला?
यो गहिरो विश्लेषणको कुरा हो ।
दार्शनिक नित्से विचरा बहुलाएर मरे । श्रद्धाञ्जलि । मैले भन्ने गरेको छु— द मोस्ट मिसअन्डर्सटुड फिलोसोफर एभर । उनले भने साहित्यको, विशेष गरी दुःखान्त नाटकहरूको जन्म नै मान्छेभित्रको दैवी र आसुरी गुणको घर्षणबाट भएको हो । ए बाबा ! उनले त यो पनि भने— जसरी, मान्छेको जन्म पुरुष र महिला तत्त्वको मिश्रणबाट बनेको हो, त्यस्तै ।
सुख र दुःख । द्विविचार ।
अँध्यारो-उज्यालो । कालो क्यान्भासमा सेतो खुल्छ नि । सेतोमा कलो । अरू त, यिनकै बीचमा आउने हुन् ।
आँसु-हाँसो ।
अरस्तुले उहिल्यै भने — दुःखान्त नाटकको उद्देश्य भनेको दर्शकमा दया र भयको भाव जगाउनु हो । यानि, नायक-नायिकको पीडा हेरेर यस्तो भाव जागोस् र जागेको भाव, पोखिएर जाओस् । अनि मन, पानी परेपछि खुलेको आकाशजस्तो चङ्गा हुन्छ । हल्का हुन्छ । विरेचन ।
यानि, यहाँ दुःख अन्तर्निहित छ र यो दुःखको स्रोत आसुरी आग्रह हो । दैवी आग्रह होइन ।
आसुरी आग्रहको अनिवार्यता यहाँ देखिन्छ । जटिल भयो कि? भएन होला ।
कुरा नाटकको मात्रै गर्न खोजेको चाहिँ होइन । अलिअलि नाटक गरेको त पक्कै हो । लेखनका नाउँमा । मेरो आसुरी पारा भनौँ न । उहिले नाटक खेल्थेँ । अचेल जीवन नै नाटक भएको छ ।
अचेल भनियो — यथार्थवादी साहित्यको समय हो यो । हो पनि तर नि, लेखनको एउटा ठूलो भँगालो आदर्श पात्रको कथा बोकेर कुदेको छ । आदर्श पनि कस्तो भने — त्योजस्तो कुनै मान्छे नै छैन । कल्पना हो नि त भनेर भन्न त पाइयो । त्यो पात्रजस्तो कुनै मान्छे हुनु हो संसारमा भने नि, सिधै ल्याएर पूजा गर्न थालिहाल्दा हुन्छ । धूपं समर्पयामि, दीपं दर्शयामि, पूजयामि !
प्रजातन्त्रको मसिहा । क्रान्तिवीर । महामानव । तिलस्मी । मुक्तिदाता । यस्तो छ पात्र । खोट त कतै नाइँ । खोटजति उसको भिलियनमा छ ।
यथार्थवादी साहित्यको परिभाषाभित्र ट्र्यु टु लाइफ क्यारेक्टर पनि पर्छ तर यो पाटो विश्लेषणमा कमै आइदिन्छ । अरू-अरू बढी ।
ट्र्यु टु लाइफ भनिसक्दा बदमासीसहित उभिने मान्छे चाहियो । बालसाहित्यमा त वर्जित नै भइगयो । हुँदा-हुँदा हिंसा, मृत्यु, युद्ध..केही नलेख भन्थे । नेपालमा चाहिँ कार्तिकेय घिमिरेले तोडे । विदेशमा त बालसाहित्यका ठूला आकारका आख्यानमा कति हो कति युद्ध । उहिल्यैदेखि । हुन त यता अलि समय लाग्छ । स्वाभाविकै पनि होला ।
एरिया लेखनमा पनि एजेन्डा छन् । नारीवादी लेखनमा नारी निर्दोष । किनाराको लेखनमा किनाराको मान्छे निर्दोण । यानि, विभिन्न नाममा पुनः आदर्श लेखनतिरको यात्रा ।
विरोध गरिनँ र गर्दिनँ पनि तर यो यथार्थमा, यथार्थलेखन होइन । यो सेलेक्टिभ राइटिङ हो । यसले पात्रलाई पूणर्तामा चित्रण नै गर्दैन । मान्छेभित्रको आधा सत्य त्यतै कतै, आग्रहहरूका भासमा हराइदिन्छ ।
भगवान्लाई पनि मान्छेकै जस्ता कमजोरीसहित उभ्याएर पनि अमर बनाए ग्रिसेलीले । पूर्वेलीले । यथार्थको ऐना उहिल्यै देखाए । हामीले ऐनामा आफ्नै रङ्गको मोसो पो दल्यौँ कि? नदलेका पनि हुन सक्छौँ । ठ्याक्कै भन्नुहोस् त, खुलासा गर्नुहोस्, जनता जान्न चाहन्छन्…भनेर भन्न सकिएन ।
कृष्ण धरावासीलाई सम्झन्छु । ‘राधा’ आयो उपन्यास । मदन पुरस्कार पनि पायो । एका थरीले खोइरो खने । लाग्छ— यही कुरा बुझेनन् । कृष्णलाई उनले शास्त्रबाट जमिनमा उतारे । शास्त्रमै मान्छेजस्तो थिए कृष्ण । अझ धरावासीले तपाईँ र मजस्तै बनाइदिए । झनै नजिक । घरैका । टोलमा । ऊ….. त्यहीँका । यानि, हामीभित्रैका । हामी सबैजस्ता बनाए । राधालाई पनि । राधा र कृष्णका क्रियाकलाप हेर्दा कसैको दृष्टिमा कोही गलत छैन । सही पनि छैन । सही वा गलत भन्ने कुरा तर्क हुन् । सापेक्षित कुरा हुन् । यही कुरा बुझाउन खोजे । हामीले धर्म बुझ्न खोज्यौँ, मनोविज्ञान होइन । धरावासीले गाली खाए । खान त ताली पनि खाए तर गाली पनि । समाजको एउटा तप्काले उनको यो प्रयोग बुझेन ।
महेशजी, एक दम राम्रो, अति राम्रो, गुणैगुण भएको ‘भगवान्’ जस्तो मान्छे हुँदैन र?
उत्तर चाहिँ हो — हुँदैन तर परिस्थिति हेरेर हुन्छ पनि भन्छु, अलि बिस्तारै । विपीले पनि हुँदैन नै भनेका छन्, यद्यपि ठूलो होइन असल बन्नू भने । उनको असल, राम इज अ गुड ब्वाएजति असल पक्कै होइन । नत्र उनका सबै पात्र कमजोरीको एउटा एउटा सुन्दर पोको बोकेरै त उभिए । नत्र त नीतिकथा भइहाल्थ्यो नि विपीको साहित्य पनि?
अथवा, गोठालेको ।
अथवा, नोबोकोवको ।
अथवा, फ्लउबर्टको ।
अथवा, जेम्स जोयसको ।
अथवा, पुष्कर लोहनीको ।
पुष्कर लोहनीको उपन्यास भर्खरै आएको छ बजारमा — ‘अदृश्य मान्छे’ । कुनै पनि पात्र सद्दे छैन । मनमा भुमरी । कुण्ठा । आग्रह । विविध चरित्र । यौनिक अधीरता । पात्र देखिन्छन् तर तिनीभित्रको मान्छे अरूले देखिरहेकै हुँदैनन् । अदृश्य मान्छे अनि त्यस किताबको बोक्रामा लेखिएको छ— “यो उपन्यास हामीमध्ये धेरैको लेख्न नमिल्ने आत्मकथाको प्रारूप हो । यो एउटा सन्दिग्धताको इमानदार टिपोट हो । बलात् थोपरिएका मूल्यहरूको साङ्लो एक्कासि तोडिनु हो भने मान्छे कस्तो हुन्छ — यस उपन्यासले बताउनेछ । सम्बन्धहरूमा विश्वास र तृप्तिको अभाव भयो भने मान्छे कसरी टुट्छ, फुट्छ र बहुलाउँछ, त्यो पनि यसै उपन्यासले बताउने छ । एउटै मान्छे कसरी अनेक मन र अनेक जीवनमा बाँचिरहेको हुन्छ, त्यो यहाँ देख्न सकिन्छ । जटिलभन्दा जटिल मानिएका मनोवैज्ञानिक समस्याको समाधान कसरी चयनको स्वतन्त्रताजस्तो समान्य सूत्रमा निहित छ, त्यो कुरा पनि यसैमा समेटिएको छ । कुरा यत्ति हो, यस सरल सूत्रमा हामीले लगाएको जटिलताको ताल्चा तोड्नु जरुरी छ ।”
मान्छे, भ्लादिमिर नोबोकोभले चिनेकै जस्तो हुन्छ पनि भनिनँ ।
मान्छे, तस्लिमा नस्रिनले लेखेजस्तै मात्रै हुन्छ पनि भनिनँ ।
मान्छे, ‘महापुरुषकी कथाएँ’ मा देखिएको जस्तो, ‘शक्तिमान्’ धारावाहिकमा देखाइएजस्तो, वा मिस्टर इन्डियाको अनिल कपूरजस्तो पनि हुँदैन ।
मान्छे तपाईँ- हामीजस्तो हुन्छ ।
अरस्तुले भने — साहित्य क्रियाशील मान्छेको कथा हो । सारमा, यथार्थमा मान्छेको क्रिया, ऊजस्तो छ त्यसैअनुरूप त हुन्छ । भर्सिमिलिच्युड । व्याख्या आफैँ गर्नुहोला ।
विलियम जे लङ भन्ने एक जना साहित्यिक इतिहासकारले भने— साहित्य मन्छेको कथा हो । हुन त चराको र भ्यागुताको पनि कथा छ साहित्यमा तर त्यसभित्र मान्छेलाई केही भन्नलाई त्यो बाटो अपनाइएको होला । नत्र, चारले नै त पढ्दैन कि? अनि भ्यागुताले? बोल्नु जोखिम ।
अनि उनले भनेको मान्छेको कथा — शक्तिमान्कै कथा हो त? कि अलादिनको जादुको बत्तीको? कि, बुद्धत्व पाइसकेपछिको सिद्धार्थको?
कमसेकम, यथार्थवादी साहित्यको युगमा चाहिँ — होइन, होइन, होइन । बहस सुरु ।
सकस केमा छ भने — साहित्यमा अचेल, मान्छेजस्ता पात्र पाउनै गाह्रो । एजेन्डाले गर्दा नि, कि मसिहा आउँछ कि पीडित । कि जादुको छडी बोकेको पात्र छ, कि भिक्टिम कार्ड । यिनै दुईको जन्म भएकाले शुकजी भन्नुहुन्छ— हे मानव, अबको साहित्यमा दोष वा ग्लानि बोकेका मान्छेको उपस्थिति ज्यादै कम हुँदै जाने र नयाँ-नयाँ मसिहा वा पिलन्धरै पात्रको बाहुल्य हुँदै जाने देखिएकाले चिन्तनमा, मननमा, लेखनमा लेखकले मान्छे हुनुको यथार्थको निकट पुग्ने उपक्रम गर्दा धरतीरूपी स्वर्गको साहित्यकक्षमा एउटा बलियो स्मृतिपुञ्ज बनेर सयौँ वर्षसम्म बाँचिरहे सम्भावना देखिन्छ । इति ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।