कुरा फेरि कथाकै !

कथा छोडेर अरू नै कुरा गर्छु भनेको पनि ‘कथै’ भयो ।

कुरा कथाकै बाँकी छ । बाटा कति । भँगाला कति । लखनऊको भुलभुलैया ।

एक जना कवि दाजु हुनुहुन्छ, मैले धेरै मान्ने । एकचोटि मेरो घरमा आउनुभयो, ठिमी । त्यसपछि पनि कतिचोटि बोलाइसकेँ । अहँ, आउने होइन । सधैँ बाहाना । अनि एक दिन सोधेँ, “दाजु, किन र ?” कुरा के रहेछ भने, मूल सडकबाट मेरो घर जानेतिर बाटैबाटा । अनेक मार्ग । सुरू सुरूमा म आफैँ सोह्रचोटि अल्मलिएको । कम्तिमा । सबै उस्तै, कुन हो कुन । एक दिन सप्राइज दिन्छु भनेर आउनुभएछ । घुम्दा घुम्दा चक्रव्यूहमा अभिमन्युु ।

आज कुरा नेपाली कथाको । नेपाली कथाको चक्रव्यूह । हामी सबै अभिमन्यु कथा सुन्दासुन्दै निदाएका । व्यूह तोड्ने चाबी हरायो । ‘यहाँ नकली साँचो बनाइन्छ’ भनेको ठाउँमा पनि अहँ, कुनै उपचार छैन ।

कथामा जानुभन्दा अघि, कथाकै बारेमा एक कुरा अरम् । सोध्छन् विद्यार्थी र युवाहरू— ‘सर, भाषा गतिलो कसरी बनाउने ?’

उत्तर थाहा छैन । तर, नेपाली हुँ नि — अनुमान गर्दिहाल्छु । भन्दिहाल्छु के के ।

एउटा कुरा अनिवार्य भन्छु — ‘फिक्सन पढ !’ यानि आख्यान । यानि कथा वा उपन्यास । ‘फिक्सन’ भन्दा अलि ठूलो सुनिँदो रहेछ क्यार, सुरूमा त ठूलो मुख बाएर हेर्छन् । अनि भन्छु— इसपको एक अनुच्छेदको कथा पनि फिक्सन । हेमिङ्वेको ३ लाइनको पनि फिक्सन् । रवीन्द्र समिरको लघुकथा पनि फिक्सन । अविनाश श्रेष्ठको निकै लामो कथा ‘अन्ततः निरुपमा’ पनि फिक्सन । बीपीको ‘तीन घुम्ती’ पनि फिक्सन । अब अलि लामो भन्छु, हस् ?, अमर न्यौपानेको ‘सेता धर्ती’ पनि फिक्सन । नीलम कार्की निहारिकाको ‘योगमाया’ पनि फिक्सन । जेम्स जोएसको ‘युलिसेस’ पनि फिक्सन । टोल्स्टोयको ‘वार एण्ड पिस’ पनि फिक्सन् । अब चैँ भन्दिनँ ।

महेश पौड्याल

फिक्सन पढ भनेपछि दुई कुरा हुन्छ । कि त्यो युवा फर्केरै आउँदैन । फेरि भाषा बनाउने प्रश्न झेल्नु पर्दैन । मलाई पनि राहत । तपाईं आफैँले चैँ किन नबनाएको त गतिलो भाषा भन्ने प्रश्न झेल्नु परेन । धन्य प्रभु ।

कि फर्केर आउँछ । खत्रै बनेर निस्कन्छ । साहित्य धान्छ । ढिकुरोका राजा हुन्छ, साहित्यमा ।

यहाँ एउटा गुह्य कुरा छ । भन्दिनँ भनेको थिएँ, तर नभनी सकिनँ । भन्छु ।

भाषा जान्नुलाई एकथरि मान्छे शब्द जान्नु वा व्याकरण जान्नु भनेर बुझ्छन् । हो पनि । तर त्यतिमात्रै चाहिँ होइन ।

भाषा जान्नु भनेको —

— कसरी रिसाउने ? कसरी मान्छे फकाउने ? कसरी ढाँट्ने ? कसरी मायालु पट्याउने ? कसरी विरोध गर्ने ? कसरी गफ दिने ? कसरी आलोचना गर्ने ? कसरी व्यङ्ग गर्ने ? यो पनि पनि हो ।

— कसरी सामान्य कुरालाई असामान्य रङ दिने ? कसरी अतिशयोक्ति गर्ने ? कसरी आफ्नो कुराप्रति आकर्षण बढाउने ? कसरी अरूको कुराप्रति विकर्षण बढाउने ? यो पनि हो नि ।

— कसरी दिउँसै रात पार्ने ? कसरी फागुनमा पहिरो लडाउने ? कसरी रोएकालाई हँसाउने, हाँसेकोलाई रुवाउने ? कसरी देशको लागि मर्ने बनाउने, तर परेको बेला भाग्ने बनाउने ? यो पनि हो नि ।

— कसरी नभएको स्वर्ग आँगनमै ल्याउने ? भूतप्रेम र पिसाच उतार्ने ? काँचो वायु, सगुने, सिकारी, सिमेभूमे, एक्ले पीपलको मसान, छुमन्तरकी बाचा, पुच्छर नभाको माछा…? यो पनि हो नि ।

अर्थात्, भाषा प्रयोगको व्यवहारिक पक्ष । यो आख्यानबाट बढी सिकिन्छ ।

हामीले पढेका आख्यानमा —

कोही त रिसाएकै हुन्छ । कसरी रिसाउँछ ? रिसाउँदा केके भन्छ ? कस्ता शब्द वा वाक्य भन्छ ?

कसैले कसैलाई फकाउँछ । कसरी फकाउँछ ? यो आख्यानमा पनि छ छनलाई, तर योचाहिँ युवाहरूलाई सिकाउनु नपर्ला ।

अथवा जे पनि ।

जे पनि घटना घटे संसारमा, अथवा जे सम्भावित छ, त्यो कतै न कतै, कुनै न कुनै रूपमा आख्यानमा त आएकै छ । यानि, जीवन-जगत । भाषा जान्नु भनेको, जीवन-जगतका घटित वा सम्भावित कुरा भन्न जान्नु होइन ?

हो ।

हो भने, कथा वा उपन्यास पढ्नु जरुरी छ । अरू आलेखले यसरी भाषा सिकाउँदैन । शब्दकोेश कण्ठ पार्नतिर नलागौँ । ओक्सफोर्ड डिक्शनरी कण्ठ पार्नेले एउटा बालकथा लेखेनन् । कुरा फरक छ । बुझ्दा गहिरो । नत्र पनि गहिरो नै भनौँ न । नत्र…

र आख्याको उपादेयता भाषामा सीमित पार्न खोजेको होइन । अरू पक्षको कुरा अन्यत्रै गरूँला ।

मेरो प्रेस्क्रिप्सनमा फिक्सनै सबैभन्दा माथि छ, भाषा सिक्नलाई ।

कथा, उपन्यास पढौँ । हस् ?

आज कथाको कुरा गर्ने भनेको थिएँ । झण्डै उपन्यासतिर लागेछु । अचेलका अधिकांश प्रकाशकजस्तो । उपन्यासको कुरा पछि । अहिले कथा । आज नेपाली कथाको ।

‘श्री स्वस्थानी व्रतकथा’ र ‘पिनासको कथा’ मा टेकेर आएको लेख्य कथाको परम्परा हाम्रो ।

एकादेशको कथा हुँदै बगेको कथ्य परम्पराको धारा हाम्रो ।

प्रौढ साहित्यमा त अहिले छुट्दै गयो यो पुरानो धङधङी । तर, बालसाहित्यमा चाम्रो बनेर बसेको बसेकै छ । पञ्चतन्त्रको झड्केलो भनौँ न । ज्याद्रो । ‘अतिथि कब जाओगे?’ भन्दाभन्दै एक शताब्दी बसिसक्यो । नयाँ कथा नआएका होइनन् बालकथाका नाममा । तर पनि अतिथि देवो भवः । पञ्चतन्त्रको मन्त्र ज्युँका त्युँ ।

बालसाहित्यतिर लागिनँ । कुनै दिन चर्चा गरौँला । अहिले ठूलाकै कथातिर लागेँ ।

कथामा के हुन्छ ? वा हुनुपर्छ ? यो सोध्छन् युवाहरू सामाजिक सञ्जालमा । जान्ने पल्टिएर के के भन्दिन्छु । जानेको भए आफैँ बेस्टसेलर लेख्थेँ — मनमनै भन्छु । सुन्ने गरीचाहिँ भन्दिनँ ।

प्राध्यापकहरूकै जिम्मा भयो कथामा के के हुनुपर्छ भनेर भन्ने कुरा । कथानक, पात्र, परिवेश, संवाद…भो यता लागिनँ ।
गाँठी कुरा अर्को छ । त्यही गाँठी कुरातिर लाग्छु । यो प्राध्यापकले भन्दैनन् । कस्सम ।

अनि कि, कुरा के रहेछ भने नि…

दुईवटा कथा भन्छु—

(क) एकादेशमा एउटा राजा थिए । बिहे गरे । राजकुमार जन्मियो । दरबारमा हुर्कियो । ठूला गुरुको गुरुकुलमा गयो । पढ्यो । ठूलो भएर राजा भयो । राम्रो राजकाज चलायो । बूढो भयो । मर्‍यो । उसको छोरो राजा भयो । कथा सकियो ।

(ख) एकादेशमा एकजना राजा थिए । उनका छोरा भएनन् । एक छोरी भइन् । छोरा नै गाद्दीको उत्तराधिकारी हुने चलन । राजा बूढा भए । मृत्युन्मुख भए । मृत्युशय्याबाटै भने, “मेरा शेषपछि छोरीलाई राजा बनाउनू ।” राज्यमा भूकम्प आयो । भाइभतिजा विरोधमा आए चारैतिर अन्योल । राजवाणी देववाणी । जान्नेबुझ्ने बैठकमा जुटे…

अगाडिको कथा भन्दिनँ । यत्ति भनेँ ।

कथा (क) मा प्राध्यापकज्यूले माग्ने सबै कुरा छन् — पात्र, कथानक, परिवेश, सुरूवात, मध्य र अन्त्य । तर नि, पात्रको अगाडि, अथवा कथाको मूलधारमा कुनै समस्या छैन । सङघर्ष छैन । मज्जा आएन ।

कथा (ख) मा एउटा समस्या छ । हो, यसै समस्याले कथालाई कथा बनाउने हो ।

समस्यको गहनताले कथामा गहनता थप्ने हो ।

समस्याका वरिपरि पात्र वा चरित्र अब कसरी सङ्घर्ष वा व्यवहार गर्छन्, त्यसले कथामा सार्थकता थप्ने हो ।

त्यस समस्याको समाधानको प्रयासमा कथाकारको सोच, विचार वा जीवनदृष्टि आउने हो । त्यस दृष्टिले पाठकहरूको पुस्तालाई प्रत्यक्ष वा परोक्ष रूपमा लेखकीय ध्येयसँग जोड्ने हो ।

त्यही समस्यासँग जोडेर आउने हो संवाद । भाषा । उत्कर्ष ।

समस्याविहीन कथा कथाविहीन शब्दजुलुस हो ।

कथाविहीन शब्दजुलुस साहित्यको चिहान हो ।

भो, चिहानमा नबसौँ । भुतले तर्साउँछ ।

अनि कि, एउटा प्रश्न त आउँछ नि यहाँनेर ।

समस्या । उसो भए, कथामा त्यसको समाधान खोज्ने हो ?

हो पनि, होइन पनि ।

गुरुप्रसाद मैनालीका अधिकांश कथामा समाधान दिइएको हुन्छ । पढौँ न— ‘परालको आगो’, ‘छिमेकी’ वा ‘नासो’ । कोही नरिसाऊन्, तर मैनालीका कथामा आदर्शवादी समाधान भेटिन्छ ।

पुष्कर शम्शेरको लाइन पनि करिब करिब मैनालीकै हो । तर, कथाको पटाक्षे समाधानमुखी अथवा आर्दशवादी नै चाहिँ त्यति देखिँदैन ।

तर बीपीका कथामा समस्याको चिरफार हुन्छ, समाधान दिइएको हुँदैन । न कथामै दिए, न उपन्यासमा । ‘मधेसतिर’ की विधवा, पैसा र गहना हराएपछि कता गई ? चोर भेटियो ? ‘शत्रु’मा शत्रु को हो ? पत्तो लाग्यो ? पवित्राको बिहे भयो ?

उपन्यसकै कुरा गरौँ न । ‘तीन घुम्ती’ की इन्द्रमायाले छोरीसहित घर छोडी । कता गई ? समाधान आयो ? आएन । समस्याका समाधान दिनु वीपीको कथाको ध्येय नै होइन । उनले कथामा, सग्लो देखिएका मान्छेभित्रको विभाजन देखाएका हुन् । त्यो विभाजन टाल्ने ग्लु वीपी होइनन् ।

समस्यै लेखे इन्द्रबहादुर राईले पनि । ‘खीर’ मा मीठो खीर खानु छ, जसरी हुन्छ । ‘रातभरि हुरी चल्यो’ मा, पानीले नसताउने ठाउँमा बसाइँ जानु छ, जसरी पनि । समाधान चैँ के त ? रमाइलो कुरा छ । एउटा कोणबाट हेर्दा उता समाधान देखिन्छ । उताबाट हेर्दा यता देखिन्छ । बीचबाट हेर्दा सबैतिर देखिन्छ, समाधान । माथिबाट हेर्दा कतै पनि देखिँदैन । कि समाधान छ, कि छैन । कि यसरी छ, कि उसरी । कि कसै गरे पनि छैन । लीला ।

कथामा समाधान दिने त, करिब करिब मैनालीकै पालादेखि हटेर गयो । अँ, कि बालसाहित्यमा यसको अवशेष बाँकी छ, कि पहिलोचोटि कथा लेख्ने केही भाइबहिनीहरूमा । हुन पनि हो — सबै कुराको समाधान दिन सक्ने मसिहा, रेम्बो, शक्तिमान, पवनपुत्र वीर हनुमान, अलादिन, मिस्टर इन्डिया… यस्तो को हो र कथाकार ? बिस्तारै भन्छु — कतिपय कवितामा चैँ देख्छु, पूरा फेक्ट्रीमेड सोलुसन लिएर आएका कविहरू ! हैट, कवितातिर नलागौँ होला । कुरा कथाको छ ।

अनेक बान्कीका कालजयी कथा दिएका छन् नेपाली कथाकारहरूले । सम्झनुपर्छ । सिक्न पाइन्छ कति कति ।

मदनमणिलाई पढ्दै लग्यो— कथामाथि कथा । कथामुनि कथा । कथाभित्र कथा । एउटै कथामा कथाहरूको चाङ । उदाहरण ‘ग्यास च्याम्बरको मृत्यु’ ।

रमेश विकल पढ्यो । समयको चौघेरमा एउटा दुब्लो पात्र छ । सङ्घर्षको जीवन छ । हावाहुरी चल्छ दमनको । किचिपिछी हुन्छ त्यो समाजको सीमामा बाँचेको निरीह पात्र ।

‘नयाँ सडकको गीत’ पढ्नुभो ? दौलत विक्रमलाई सोझै बुझिहाल्छु भन्यो भने गइयो । शब्द एकथरि, अर्थ अर्कैथरि । नजानिँदो पाराले गरिने हिंसाहरूको विम्बात्मक आख्यनीकरण रहेछ । ‘गालाको लाली! — मेरो सिफारिस । ल ?

भवानी भिक्षुमाथि अलि अन्याय भएको छ कि ? पुस्तक पनि खोज्दा पाउनै गाह्रो । न पुनर्मुद्रण भएको पाइन्छ, न परिवारको कुनै श्रोत फेला पर्छ । लौ न हौ, प्रकाशकज्यूहरू ! भिक्षुका सबै कथा खोजेर फेरि छापौँ ! र, नि, नेपाली कथाजगतको सगरमाथालाई पुनः आम जनमानसमा चिनाऔँ । भिक्षुका कथा पढ्दा बालक र नारीहरू चिनिन्छन् — नयाँ कोणबाट । नयाँ विधानबाट । नयाँ दृष्टिबाट । अनि, हृदय भरिएर आउँछ । कथामा, उनको उचाइ टेगोरको जस्तै लाग्छ । यो मेरो निजी मत हो । ‘मैया साहेब’, ‘त्यो फेरि फर्केला’ ‘मेरो सानो साथी’ अथवा ‘माउजङ बाबुसाहेबको कोट’ । कुनै पनि कथाबाट यस कुराको परख गर्न हामीलाई छुट छ । तर भिक्षुलाई समयले अन्याय गर्दैछ कि भन्ने मेरो मनमा डर छ । वीपीको हाइहाइमा, उनको बाईबाई हुन लागेको त होइन ? जस्तो, उता कहिलेकाहीँ इन्द्रबहादुर राईको दुर्बोध्य कथाको हाईहाईमा, कहिलेकाहीँ आम मान्छेका आम बातमा, आम मान्छेकै भाषाका कालजयी कथा लेख्ने शिवकुमार राईलाई हामीले नजाँनिदो पारामा नेपथ्यमा पार्दैछौँ कि भन्ने चिन्ता र ग्लानि दुवै हुन्छ । भावुक हुन्छु । शिवकुमार राई चानचुने कथाकार होइनन् ।

पारिजातको कुरा गरौँ । मस्तिष्कभित्रको सुक्ष्म उथलपुथलको कुरा गरौँ । मनको आकाश फेरिएपछि आफ्नो अगाडि उभिएको मान्छेको आकार, रूप र बान्की फेरिँदो रहेछ । पारिजातमा भन्दा सुन्दर तरिकाले यो कुरा अन्य कथाकारमा सायदै आएको होला । दिदी, नमन । तपाईं जन्मेको घरमा पुगेको थिएँ । सङ्ग्रहालय हुनुपर्ने खण्डहरजस्तो पो । बाटो पनि गतिलो छैन । अँ, सरकार चैँ छ भन्छन् । भो, राजनीति गर्दिनँ । ‘मैले नजन्माएको छोरो’ अथवा ‘तिउरीको फूल र पाइरियाको गन्ध’ पढ्नुमा सार्थकता छ ।

पारिजात भनिरहँदा हामीले सम्झनुपर्ने दुई विभूति पनि त छन् — प्रेमा शाह र देवकुमारी थापा । बरू प्रेमा शाहको चर्चा सुन्छु, देवकुमारी थापाको त्यति सुन्दिनँ । अथवा, सुन्नुपर्ने जति सुन्दिनँ । समालोचना जगतले अलि गडबड गरेकोजस्तो लाग्छ । तपाईंहामी, जवान पुस्ताले यस कुरामा ध्यान पुर्‍याउनुपर्छ है । कथाजस्तै कथा देवकुमारी थापाका । तर यो लेख समालोचना होइन । थप कुरा कतै भन्नेछु । लेख्नेछु । ‘फिँज’, ‘भविष्य निर्माण’ र ‘सेतो बिरालो’ जस्ता कथा अहिलेलाई सिफारिस भए ।

यहीँनेर थप्छु, समाजको होहल्लामा आवाज गुमाएका, अथवा भिडमा आकार गुमाएका वृद्धवृद्धा अथवा नारीको सूक्ष्म यथार्थ खोज्न — भागिरथी श्रेष्ठ र माया ठकुरीमा पुग्नु जरूरी लाग्छ । मत मेरो । निणर्य तपाईंको ।

होइन कति पढ्नु हौ कथैकथा ? प्रश्न आइसक्यो होला मनमा ।

कथा नै लेख्छु भन्नेले त जाँगर चलाउनै पर्‍यो । हैन, खररर आएको आयै गर्छ भन्ने हो भने त तिलस्मी कुरा भइगयो । तिलस्मी कुरा त बेताल पच्चीसीतिर, अथवा अलादिनको बत्तीतिर बढी पाइएला । नेपाली कथाकारिताको रजतपटमा कुरा अर्कै छ ।
नेपाली कथाको लिकमा भित्री मान्छेको कथा वीपीले नै सुरू गरेका हुन् । होइन के के चैँ सुरू गरेका हौ वीपीले ? वीपी थिए नै त्यस्तै । कस्ता पाठक ? कत्रा समालोचक ? पख्नोस्, उनका थप दुई डायरी प्रकाशित भएर आऊन् । तयारी हुँदैछ ।

अँ, भित्री मान्छेका मनका कुरा — रहर, कुण्ठा, असन्तुष्टि, विद्रोह, विवशता, नियति… वीपीका कथा । ठ्याक्कै भन्दा — विचलित सम्बन्धहरूका कथा । विचलन आफ्नै मनका कारण । उमेरका कारण । समाजका कारण । यौनिकता कारण । प्रेमका वा प्रेमीका कारण । फरक मूल्यविधानका कारण । थप कथा गोठालेमा खोजौँ । ‘मैले सरिताको हत्यो गरेँ’, ‘त्यसको भालो’ ‘प्रेम र मृत्यु’, वा ‘भाँडो’ हेरौँ न । प्रेमा शाहमा – पहेँलो गुलाफ । पुष्कर लोहनीमा खोजौँ – ‘धरालाको टुप्पो’ सङ्ग्रह नै छ । यो भित्री मान्छेको कथाको भँगाललोले कृष्ण धरावासी र गोविन्द गिरी प्रेरणालाई पनि नछोएको कहाँ हो र ? सोध्नू न ।
भँगालै भँगाला । भुलभुलैया ? मजा नै यसैमा त छ ।

एउटा मान्छे दिउँसै कसरी लुटिन्छ समयका हातमा ? समाजको हातमा ? शासकको हातमा ?

एउटा मान्छे आफ्नै भाग्यको किरिङमिरिङमा कसरी हराउँछ ?

एउटा स्पष्ट रङ बोकेर उभिएको मान्छेलाई कसरी खुइल्याइन्छ चौबाटोमा ?

एउटा सग्लो मान्छे कसरी टुक्रन्छ समयका बुटहरूको प्रहारमुनि ? कसरी कराउँछ ? र पनि, काबुलका सडकमा रोइरहेका बच्चाको जस्तो, तिनको आवाज कतै हराउँछ, किचिन्छ, छोपिन्छ ?

यी प्रश्नको उत्तर छ नेपाली कथामा । रमेश विकल । मनु व्राजाकी । नारायण ढकाल । आहुति ।

कथाको कुरा गरेर सकिन्न, भो । छान्नुपर्छ । छान्न सक्नुपर्छ । नेपाली कथाको उचाइ अपरिमेय छ ।

सबै धार एकातिर मिल्क्याएरै आफ्नै धार पनि जन्माए कतिपय कथाकारहरूले । विधिले लेखेर फालिदिएको विधानलाई चार भञ्ज्याङ कटाए । आफ्नै बाटो बनाए, डोजरले जस्तो । हिँडिरहे । तिनको कथाकारिताको सूर्योदयमा थोरैले तिनका कथा बुझे सायद । नबुझ्दा आज पछुतो मान्ने एउटा पुस्ता जन्मिएको छ । र, तिनका कथाको अर्थ, समयका विरोधाभासहरूमा खोजिरहेका छन् । मोहनराज शर्मालाई नबुझेर एकचोटि पढ्नू, अलिअलि बुझेपछि फेरि, र प्रस्टै बुझेपछि पुनः पुनः पढ्नु र पढिरहनु । यो आफैँमा एउटा प्राप्ति हो । कसरी मिसिन्छ समान्य मान्छेको कथा बोकेर आएको समान्य यथार्थ र असमान्त अतियथार्थ ? हो, त्यहाँ देखिन्छ । अथवा ध्रुवचन्द गौतम । कथानक खोज्नेका पसिना छुट्छन् । ठ्याक्कै कथासार खोज्नेका कञ्चटमा पसिना । यो एउटा बुलन्द प्रयोग – अकथाको । प्लटलेस स्टोरिज । एब्सर्ड । यो एब्सर्ड भन्ने चाहिँ चिजै यस्तै ।

नबुझ्दा खुर्पाकै बीँड । तर, छातीमा हात राख्नुपर्छ । यो जीवन, यो चोला, यो दौलत, यो धन, यी सम्बन्ध ? जिन्दगी के छ र आखिर ? हो, यहाँ खोज्नुपर्छ ध्रुवचन्दका कथालाई । अनि, रोशन थापा नीरवका कथालाई । भर्खरै आयो उनको ‘कोष्ठकभित्र हाँसो’ । एक जनाले सोधे — यो कोष्ठकभित्र हाँसो भनेको के हो ?

मलाई पनि आएन । तै पनि भनेँ — हाँसो, माने उन्मुक्त अभिव्यक्ति । प्रसन्नता । कोष्ठक भनेको घेरा । सीमा । हाँसो पनि कोष्ठकभित्र भएपछि, मान्छेको उन्मुक्ति वा प्रसन्नता कसरी घेराबन्दीमा पर्छ ! बुझ्नुभो? मुटुमाथि ढुङ्गा राखी…

उहाँले बुझ्नुभो बुझ्नुभएन – थाहा भएन । मैले पनि त्यति बुझिनँ । तर रोशनका कथालाई हाम्रो समयले बुझ्नुपर्छ । कारण, हामीले बाँचेको समयभित्र बग्ने जिन्दगीको धारालाई केकेले किचेको छ, त्यो त्यहाँ देखिन्छ । अनि पो बाटो पहिल्याइन्छ ।

अर्को साता पनि कुरा कथाकै । अन्य कथाकारको कुरा । हाम्रो समयसम्म जो आइपुग्नुछ ।

त्यतिबेरका लागि एउटा गृहकार्य छ, ल ?

तपाईंले लेख्दैगरेको कथाको पात्रका अगाडि कस्तो समस्या छ ? त्यो समस्यामा तपाईं आफू कहाँनेर उभिनुभएको छ ?
समस्यै छैन, र कतै उभिनुभएको छैन भने नि — पानीमाथि उभिँदा हुन्छ । समुद्रमा ।