
कथा आख्यानको सशक्त र लोकप्रिय विधा हो । कथा आख्यानमा लेखिने संसारभरि स्थापित भएको साहित्यिक विधा हो । कथा घटनालाई केन्द्रमा राखेर लेखिएको गद्यात्मक सिर्जना हो । कथा लघुकथाभन्दा लामो र लामा कथा अथवा लघुउपन्यासभन्दा छोटो हुन्छ । कथाको विषयवस्तु यथार्थ भए तापनि त्यस विषयवस्तुमा स्वैरकल्पना मिसाएर लेखियो भने कथा रोचक र पढूँ पढूँ लाग्ने हुन्छ ।
कथामा विचार र शिल्प गरी दुई पक्ष हुन्छन् । कथाको विषय, रूपरेखा, कथानक, घटना, समस्या, द्वन्द्व आदि विचारअन्तर्गत पर्दछन् । कथा लेख्ने–सुनाउने भाषा, शैली, संवाद, वाक्य आदि शिल्प अन्तर्गत पर्दछन् । विचार कथाको आत्मा हो । शिल्प शरीर, लुगा र गरगहनाजस्तै हो । कथा स्तरीय बन्नका लागि विचार र शिल्पको समान भूमिका हुन्छ । राम्रो कथाकारले यी दुवै पक्षलाई राम्रोसँग संयोजन गर्न जान्नुपर्छ ।
कथामा तीनवटा भाग हुन्छन् । सुरु, मध्य र अन्त्य । कथाको पहिलो वाक्यले नै पाठकलाई तान्नुपर्छ । कथामा पहिलो वाक्यको निकै ठुलो महत्त्व हुन्छ । त्यही पहिलो वाक्यले नै कथाको सफलता वा विफलताको निर्धारण गर्छ । कथा सुरु गर्दा द्वन्द्व, संवाद, आकर्षक वा रमाइलो वर्णनबाट गरे कथा रोचक बन्छ । पात्रको समस्याबाट कथालेखन सुरु गरे आकर्षक हुन्छ । कथालाई एक्सनबाट सुरु गरे पाठक आकर्षित हुन्छन् । कथा पढ्न थालेपछि नसकिउन्जेल छोड्ने मन नलाग्ने खालको हुनुपर्छ । कथालाई रोचक बनाउन द्वन्द्वमाथि द्वन्द्व थपिदिनुपर्छ । संवाद र वर्णनलाई पनि रमाइलोसँग प्रस्तुत गरियो भने कथा आकर्षक बन्छ । कथा लेख्न सुरु गर्नुभन्दा पहिले पहिलो वाक्यलाई विभिन्न तरिकाले लेख्नुपर्छ । जुन वाक्य आफूलाई गज्जब लाग्छ, त्यही वाक्यबाट कथा लेख्न सुरु गर्नुपर्छ ।

विजयराज आचार्य
मध्यमा कथालाई उत्कर्षमा पुर्याउनुपर्छ । कथालाई आकर्षक ढङ्गबाट नचिताएको समापन गर्नुपर्छ । कथाको अन्त्यमा नयाँ मोड वा ‘ट्विस्ट’ हुनुपर्छ । कथामा समस्याको समाधान पात्र आफैँले गर्नुपर्छ । कथा टुङ्ग्याउँदा सकेसम्म सकारात्मक समाधान गरेर टुङ्ग्याउनुपर्छ । कथा पढिसक्दा मन चसक्क हुने वा खितखित हाँस्न मन लाग्ने खालको हुनुपर्छ । दृश्य, घटना वा संवादबाट कथा टुङ्ग्यायो भने पाठकका लागि मार्मिक र अविस्मरणीय बन्छ । कथाको अन्त्य तर्कपूर्ण र स्वाभाविक हुनुपर्छ ।
खासमा कथा मनोरञ्जन प्राप्त गर्न, कलात्मक तरिकाले आफ्नो विचार अभिव्यक्त गर्न कलाको विकास गर्न, कल्पना शक्ति बढाउन, स्पष्ट सोच्न सक्ने बन्नका लागि र पढ्ने–लेख्ने कला विकासका लागि लेखिन्छ ।
कथामा सातवटा तत्त्व हुन्छन् –
१. विचार (थिम)
२. पात्र
३. कथानक (प्लट)
४. परिवेश
५. संवाद
६. वर्णन
७. भाषाशैली
कथालाई रोचक बनाउन सहायक तत्त्वको रूपमा द्वन्द्वको सशक्त प्रयोग गरिन्छ ।
१. विचार वा थिम – कथाकारले दिने, दृष्टिकोण, धारणा अथवा सन्देश नै कथाको विचार हो । कथाकारले आफ्ना पाठकलाई के सन्देश वा शिक्षा दिन खोजेको हो ? कथा लेख्नुभन्दा पहिले विचार तयार पार्नुपर्छ । समाजबाट अन्धविश्वास हटाउनु, समाजमा भएका मान्य व्यक्तिलाई आदर सम्मान गर्नु, अन्यायको विरुद्धमा लाग्नु, बालबालिकामा असल चरित्र संस्कृतिको निर्माण गर्नु, सबै प्राणीलाई मायाँप्रेम र सद्भाव राख्नुपर्छ भन्ने धारणा आदि कथाको विषयवस्तुले पात्रमार्फत शिक्षा वा सन्देश दिनुपर्छ । कथाकार आफैँले मेरो कथाले यो सन्देश दिन खोजेको छ भनेर सन्देश लेख्नु वा भन्नु हुँदैन । कथाकारको काम कथामार्फत पाठकलाई मनोरञ्जन दिने हो, उपदेश दिने होइन ।
२. पात्र – नायकले आफ्नो इच्छा, लक्ष्य र उद्देश्य पूरा गर्न वा समस्याको समाधान गर्न गरेको सङ्घर्ष, सुखदुःख र योगदान नै कथा हो । कथाका लागि पात्र नभई नहुने तत्त्व हो । पात्रविना कथा बन्न सक्तैन । कथामा मानिस, जनावर, चराचुरुङ्गी, खेलौना, भाँडाकुडा, बोटबिरुवा लगायतका सजीव निर्जीव वस्तुहरू पात्र बन्न सक्छन् । अस्तित्वमा नभएका तर मान्छेको मनमा बस्न सफल भूतप्रेत, डायनोसर, राक्षस, बोक्सी, परी आदि पनि पात्र हुन्छन् । कथामा सजीव र निर्जीव पात्रका बीच कुराकानी हुन्छ । दुवै थरी पात्रले हाउभाउ र संवेदना देखाउँछन् । कथामा नायक, खलनायक, सहयोगी र विरोधी गरी चार प्रकारका पात्र हुन्छन् ।
कथा लेख्नुभन्दा पहिले पात्रको छनोट गर्नुपर्छ । कथामा सकेसम्म थोरै पात्रको प्रयोग गर्नुपर्छ । बालकथामा त झन् थोरै पात्रको प्रयोग गर्नुपर्छ । कथाकारले पात्रमार्फत आफ्नो सन्देश दिने भएकाले कथाको स्वरूप र प्रकृति हेरेर आवश्यकताअनुसारका सजीव र शक्तिशाली पात्रको छनोट गर्नुपर्छ । कथाको विषयवस्तुअनुसार पात्रको शारीरिक बनोट कस्तो छ ? उनीहरूको मनोविज्ञान कस्तो छ ? पात्रले के सोच्छन् ? के भन्छन् ? कसरी भन्छन् ? के गर्छन् ? उनीहरूको मनोभाव कस्तो छ ? मुख्य पात्रका बारेमा अन्य पात्रहरूले के सोच्छन् ? पात्र आफैँले आफूप्रति के सोच्छन् ? पात्र छनोट गर्दा यी कुरामा ध्यान दिनुपर्छ ।
कथाको विषयवस्तु र वातावरणअनुसारको पात्र हुनुपर्छ । पात्र वास्तविक हुन् कि काल्पनिक भन्ने ख्याल गर्नुपर्छ । पात्रको मुख्य काम र विशेषता कथा लेख्नुभन्दा पहिले लेख्नुपर्छ । कथामा नायकले समस्याको समाधान बुद्धिमत्ता र सफलतापूर्वक गर्न सक्नुपर्छ । कथामा नायकले शानदार विजय र सफलता प्राप्त गर्नुपर्छ ।
कथाको मुख्य पात्र आफ्नो आवश्यकता र समस्याको दृढतापूर्वक समाधान गर्न सक्षम हुनुपर्छ । नायकमा समस्यालाई जितेर सफलता प्राप्त गर्न सक्ने हूति र साहस चाहिन्छ । मुख्य पात्रले आफ्नो लक्ष्य प्राप्त गर्न अन्य पात्रहरूलाई दुःखपीडा दिने जालझेल गर्ने कार्य गर्नुहुँदैन । पात्रले कथालाई उत्साहित तरिकाले अगाडि बढाउनुपर्छ । नायकले सफलता प्राप्त गर्न कठिन सङ्घर्ष गरेको देखाउनुपर्छ । समस्याको समाधान पात्र स्वयम्ले गर्नुपर्छ । एक्कासि अर्को पात्रको प्रवेश गराएर समस्याको समाधान गराए कथा अस्वाभाविक बन्न जान्छ ।
३. कथानक प्लट – कथाको विषयवस्तु के हो ? कथा कसरी अगाडि बढ्छ ? पात्रले आफ्नो लक्ष्य प्राप्त गर्न के के गर्छन् ? कथाको प्रारम्भ कस्तो हुन्छ ? मध्य मागमा के के हुन्छ ? कथाको समाधान कसरी हुन्छ ? कथाको अन्त्य सुखान्त हुन्छ कि दुखान्त ? कथा लेख्न यसरी बनाउने योजना नै कथानक (प्लट) हो । कथानक भनेको कथाको सुरुदेखि मध्य भाग हुँदै अन्त्यसम्मको मार्गचित्र हो । प्लटमा मुख्यपात्रले लक्ष्य प्राप्त गर्नका लागि र समस्याको समाधान गर्न के-के कदम उठाउँछ, लेख्नुपर्छ ।
प्लट घटना र प्रभावमा आधारित हुनुपर्छ । पात्रको प्रभाव एक्सन र निर्णयलाई छुट्याउनुपर्छ । कथा पढ्दै जाँदा झन् पछि झन् रहस्यमय हुने खालको प्लट बनाउनुपर्छ । प्लटमा पात्रले एक्सन, संवाद, वर्णन र उद्देश्यलाई कसरी प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने भनेर योजना बनाउनुपर्छ ।
प्लटमा कथाकारले कथामा घटनालाई कसरी लेख्ने भनेर व्यवस्थापन गर्नुपर्छ । घटनाक्रमलाई कसरी सिलसिला मिलाएर लेख्ने प्लटमा मिलाउनुपर्छ । कुनै घटनालाई सामान्य तरिकाले सिलसिला मिलाएर लेख्दैमा कथा बन्दैन । कथा बन्नका लागि द्वन्द्व, वर्णन, संवाद र भाषाको कलात्मक संयोजन हुनुपर्छ । कथाका लागि प्लट इतिहास, यथार्थ घटना, मिथक, लोकसंस्कृति, रागात्मक सौन्दर्य, स्वैरकल्पना लगायतबाट लिन सकिन्छ । कथाको प्लट बनाउँदा आफू स्पष्ट भएरमात्र विषयवस्तुको निर्धारण गर्नुपर्छ । प्लट जति राम्रो भयो, त्यति नै राम्रो कथा बन्छ । त्यसैले प्लट तयार पार्दा कथाकारले निकै ध्यान पुर्याउनुपर्दछ ।
४. परिवेश – परिवेश भन्नाले स्थान, समय, वातावरण र सन्दर्भलाई बुझाउँछ । कथाको घटना कुन समय, परिस्थिति र मौसममा भएको हो ? पात्रहरू कहाँ कस्तो वातावरणमा कुन स्थान र परिस्थितिमा छन् ? कुन ऋतु वर्षा, जाडो वा गर्मी ? कुन महिना ? दिनरात साँझबिहान ? आदि । हिमाल, पहाड, तराई, सहर, जङ्गल, खोला, नदी, परिस्थिति, वातावरण, मैदान, जमिन, रूख, मानसिक वातावरण – तनाव, रिस, खुसी, उत्सव इत्यादि ।
घटना कुन सन्दर्भमा भयो ? घटना के कारणले भयो ? परिवेशले स्थान र समयको जानकारी दिने भएकाले यसले कथालाई विश्वसनीय बनाउँछ । परिवेश सकेसम्म वास्तविक हुनुपर्छ । कथा काल्पनिक भए परिवेश पनि काल्पानिक नै हुन्छ । परिवेशको वास्तविकताले कथालाई विश्वासिलो बनाउँछ ।
५. संवाद – पात्रले बोलेको भनेको कुरा कुराकानी, भनाभन, संवाद हुन् । संवादलाई जहिले पनि इन्भर्टेट कमा (“… …”, ‘… …’) भित्र राख्नुपर्छ । संवादले कथालाई रोचक र पढूँ पढूँ लाग्ने बनाउँछ । संवादलाई यसरी प्रयोग गर्न सकिन्छ ।
“मलाई भोक लाग्यो ।” प्रवृत्तिले भनी ।
प्रविकले भन्यो, “मलाई भोक लाग्यो ।”
‘मलाई कसाईले काट्छ होला ।’ खसीले सोच्यो ।
सविताले भनी, “आमा मलाई तिर्खा लाग्यो ।”
‘सर्पले मेरा चल्ला खाइदिन्छ ।’ लामाचेले सोच्यो ।
६. वर्णन – कथामा संवादबाहेक अरू सबै वर्णन हो । कथामा वर्णनलाई राम्रोसँग प्रस्तुत गर्नुपर्छ । कथामा अनावश्यक वर्णन राख्नुहुँदैन । घटनाक्रमलाई छोटो र रोचक ढङ्गले वर्णन गर्नुपर्छ । विवरणलाई घटनाक्रम सुहाउँदो गरी सिलसिलेवार तरिकाले वर्णन गर्नुपर्छ । कथामा सकेसम्म छोटा वाक्य र छोटा अनुच्छेदको प्रयोग गर्नुपर्छ । कथालाई मुख्य घटनाक्रममा केन्द्रित गरी सकेसम्म थोरै शब्दले धेरै बुझिने गरी वर्णन गर्नुपर्छ ।
७. भाषाशैली – कथाका लागि भाषा र शैली नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो । कथालाई स्तरीय बनाउन भाषाको महत्त्वपूर्ण भूमिका हुन्छ । विचारको अभिव्यक्ति पनि भाषाबाटै गरिन्छ । कथामा मूर्त भाषाको प्रयोग गर्नुपर्छ । अनावश्यक शब्द हटाउनुपर्छ । कथामा सकेसम्म छोटा वाक्य लेख्नुपर्छ । बढीमा नौ शब्दको एक वाक्य बनाउँदा राम्रो हुन्छ । पाँच वाक्यको एक अनुच्छेद र एक पेजमा कम्तीमा पाँच अनुच्छेद राख्न सके कथा धेरै आकर्षक देखिन्छ । वाक्य छोटो, सरल र सोझो हुनुपर्छ ।
कथा कुन स्तर वा उमेर समूहका लागि लेखिएको हो, त्यहीअनुसारको भाषाको प्रयोग गर्नुपर्छ । घटना वा बुँदा वर्तमान कालमा भए तापनि कथा भूतकालमा लेख्नुपर्छ ।
सहायक तत्त्व
द्वन्द्व – द्वन्द्व मान्छेको जिन्दगीमा आइलाग्यो भने एकदम पीडादायक हुन्छ । त्यही द्वन्द्वले कथालाई एकदम रमाइलो बनाउँछ । समस्या पर्नु र तनाव हुनु नै द्वन्द्व हो । कथाका लागि द्वन्द्व महत्त्वपूर्ण तत्त्व हो । द्वन्द्वले कथालाई अगाडि बढाउँछ । पाठकलाई आकर्षित गर्छ । द्वन्द्व भएन भने कथा दिक्कलाग्दो हुन्छ ।
द्वन्द्व मानिस मानिसबीच हुन्छ । मानिस र प्रकृतिबीच हुन्छ । मानिस र समाजबीच हुन्छ । एउटा समूह र अर्को समूहबीच हुन्छ । राज्य र विद्रोहीबीच हुन्छ । एक देश र अर्को देशबीच हुन्छ । विभिन्न राष्ट्रका बीच हुन्छ । मान्छेको कुनै गल्ती, कमजोरी, द्विविधा, अनिर्णय, टेन्सन, सङ्कट, डर, विचार आदिका कारणले पनि द्वन्द्व हुन्छ ।
द्वन्द्व आन्तरिक र बाह्य गरी दुई फ्रकारका हुन्छन् । व्यक्ति र समाज, एक राष्ट्र र अर्को राष्ट्र, व्यत्ति र प्रकृतिबीच हुने द्वन्द्व बाह्य द्वन्द्व हुन् । मान्छेको मनभित्रबाट उत्पन्न हुने द्वन्द्वचाहिँ आन्तरिक द्वन्द्व हो ।
भनाभन, लुछालुछ, कुटाकुट, युद्ध, द्विविधा, तनाव, समस्या द्वन्द्व हुन् । द्वन्द्व पात्र पात्रबीच, पात्र र परिवेशबीच, अनि नायक र खलनायकबीच हुन्छ । पात्र आफैँभित्र अनिर्णयको बन्दी हुनु, समस्यामा पर्नु र द्विविधामा पर्नु पनि द्वन्द्व हो । जतिसुकै ठुलो द्वन्द्व भए तापनि पात्र आफैँले द्वन्द्वको समाधान गर्नुपर्छ । एक्कासि कुनै नयाँ पात्र टप्केर असान्दर्भिक तरिकाले समस्याको समाधान गरिदिनुहुन्न । त्यसरी गरिएको समाधान अस्वाभाविक हुन्छ ।
नमुना कथा –
सारस र मानिस
लेखक – विजयराज आचार्य
चित्र – कीर्तिकिशोर जोशी
गृहकार्य सकेर झिपिक्क निदाउनै आँटेको थिएँ । बाहिर क्वाँर्र… क्वाँर्र… र भ्याट… भ्याट…को आवाज आयो । त्यो आवाज दुःख पीडामा परेको कुनै पशुपक्षीको जस्तो थियो ।
मलाई डर लाग्यो । जुरुक्क उठेँ । बिस्तारै झ्याल उघारेँ र बाहिर हेरेँ । घरभन्दा अलि पर खेतबाट एउटा सेतो बस्तु क्वाँर्र… क्वाँर्र… र भ्याट भ्याट गर्दै हाम्रो घरतिर आइरहेको देखेँ ।
यस्तो राति त्यो पक्षी किन हाम्रो घरतिर आइरहेको होला ? मैले आमातिर हेरेँ । आमा निदाइरहनुभएको थियो । म पनि सिरक ओडेर सुत्ने कोसिस गरेँ तर मेरो ध्यान त्यो सेतो पक्षीतिरै थियो । त्यसको दुःखले भरिएको स्वर र पखेटाको भ्याटभ्याटको आवाज झन्पछि झन् नजिक आउँदै थियो ।
आमालाई भर्सक ब्युँझाउने मन थिएन तर त्यो त हाम्रै घरनेर आएर क्वाँर्र.. क्वाँर्र… र भ्याट भ्याट गर्न थाल्यो । डराएर मैले आमालाई बोलाएँ ।
म चिच्याएको सुनेर आमा ब्युँझनुभयो । उहाँले मलाई गर्ल्याम्म अङ्गालामा हालेर सोध्नुभयो “के भो बाबु ? मेरो प्यारो छोरोलाई के भो ? यति राति किन चिच्याएको ? कतै नराम्रो सपना त देखिनस् ?”
आमाले मलाई यस्तै प्रश्न गरिरहनुभएको थियो । त्यो जीव झ्यालमुन्तिर आएर भ्याटभ्याट क्वाँर्र….क्वाँर्र…. गर्न थाल्यो ।
आमाको अँगालामा मेरो डर केही घट्यो । मैले ओठ कमाउँदै आमासँग सोधेँ, “त्यो के कराएको आमा ? किन हाम्रो घरअगाडि आएर कराएको ?”
आमाले मेरो कपाल सुमसुमाउँदै भन्नुभयो, “नडराऊ छोरा, त्यो त पोथी सारस हो । यसले मान्छेलाई कुनै हानिनोक्सानी गर्दैन ।”
“त्यसो भए किन यति राति हाम्रो घरअगाडि आएर नरमाइलो गरी कराएको त ? मलाई त त्यसको स्वर सुन्दै डर लाग्यो ।” मैले आमासँग सोधेँ ।
आमाले एकछिन मलाई घोरिएर हेर्नुभयो र आँखामा आसुँ टिलपिलाउँदै भन्नुभयो, “अब त्यसको जीवन यत्तिकै हो । यसले नमरेसम्म यस्तै गर्छ । केही खाँदा पनि खाँदैन । पानी पनि पिउँदैन र चाँडै नै मर्छ ।”
आमाको कुरा सुनेर म छक्क परेँ र दुःख पनि लाग्यो । मैले फेरि सोधेँ, “यसले किन यस्तो गर्छ ?”
“दुष्ट सिकारीले यसको भालेलाई माऱ्यो होला ! भालेपोथीमध्ये कुनै एउटा मऱ्यो भने अर्को पनि मर्छ ।” आमाले जबाफ दिनुभयो ।
“आमा, सारसको बगाल देखिन्छ । यो समूहमा बस्ने पक्षी होइन र ?” मैले सोधेँ ।
“हो ! सारस समूहमा बस्ने चरा हो तर समूहमा बसे पनि यसको भालेपोथीको आआफ्नै जोडा हुन्छ । भाले वा पोथी जो मरे पनि त्यसले फेरि अर्को भालेपोथी खोजेर जोडा बनाउँदैन ।” आमाले जबाफ दिनुभयो ।
“मान्छेले त एउटा जोडी गुमाए पनि अर्को जोडीसँग घरजम गर्छ । यो सारसले किन त्यसो नगरेको होला हगि आमा !” अनायास मैले सोधिहालेँ ।
मेरो कुरा सुनेर आमा एक छिन चुप लाग्नुभयो । उहाँले भित्तामा टाँसेको फोटो हेर्नुभयो अनि उहाँको आखाबाट मूल फुटैझैँ आँसु बग्न थाल्यो ।
“किन रुनुभएको आमा ?” मैले डराउँदै सोधेँ ।
आमाले आँसु पुछ्दै रुँदै गरेको स्वरमा भन्नुभयो, “सबै मान्छे त्यस्ता हुन्नन् छोरा ।”
झ्यालबाहिर सारस क्वाँर्र क्वाँर्र गरेर रोइरहेको थियो । घरभित्र आमा हिक्कहिक्क गर्दै रोइरहनुभएको थियो । म त अन्योलमा परेँ । मैले के त्यस्तो गल्ती गरेँ र आमा रुन थाल्नुभयो ? मलाई पनि रुन मन लाग्यो ।
“आमा, किन रुनुभएको ? सारस मऱ्यो भने हाम्रो घरमा अलच्छिन लाग्छ भनेर रुनुभएको हो कि आमा ?” मैले रुन्चे स्वरमा सोधेँ ।
मलाई जबाफ नदिई आमा एकोहोरो रोइरहनुभएको थियो । मेरो मन पनि निकै दुख्यो । म पनि आमासँगै रुन थालेँ ।
मध्यरात थियो । कोठाभित्र आमा छोरा रोइरहेका थियौँ भने बाहिर आँगनमा सारस रोइरहेको थियो । सारस किन रोइरहेछ भन्ने मैले थाहा पाएँ । आमा रुनुभएकाले म पनि रोइरहेको थिएँ तर आमा किन रुनुभयो भन्ने मलाई थाहा थिएन ।
एकछिन पछि सम्हालिँदै आमाले भन्नुभयो “नरोऊ छोरा । तिमी रोयौ भने मेरो मन झन् दुख्छ ।”
“आमा, तपाईँ किन रुनुभएको ?” मैले सोधेँ ।
“तिम्रा बाबाको सम्झना आएर !” आमाले हिक्का छाड्दै भन्नुभयो ।
आमाको कुरा सुनेर मेरो मनमा धेरै प्रश्न उब्ज्यो । मेरा बाबा हुनुहुन्छ भन्ने कुरा आमाले यत्तिका दिनसम्म मलाई किन नभन्नुभएको होला ? मैले बुझ्न सकिनँ । यसैले मैले आमालाई प्रश्नैप्रश्नको तगारो तेर्स्याएँ, “मेरा पनि बाबा हुनुहुन्छ र आमा ? कहाँ हुनुहुन्छ त मेरा बाबा ? मैले त कहिल्यै देखिनँ त ? कहिले घर आउनुहुन्छ बाबा ? भन्नुस् न आमा ।”
“बाबु तिम्रा बाबा त कहिल्यै नफर्कने ठाउँमा जानुभएको छ ।” यसो भन्दै गर्दा आमाको बोली नै बन्द भएजस्तो भयो । आमाले के भन्न खोज्नुभएको होला ?
“के भन्नुभएको त्यस्तो ? बुझिने गरी भन्नुस् न आमा ।”
“तिम्रा बाबा देशका लागि सहिद हुनुभयो ।” त्यसपछि उहाँ बोल्न सक्नुभएन ।
केही बेर चुप लागेपछि आमाले मलाई त्यस बेलाको घटना सुनाउनुभयो । त्यस बेला म छ महिनाको रहेछु । दुष्टहरूले मेरा बाबालाई अन्यायपूर्वक मारेको कुरा सुन्दा एकातिर मलाई डर लाग्यो भने अर्कातिर अन्यायीहरूलाई सखाप पार्न मन लाग्यो ।
आमाले आँखाबाट बरर्र आसुँ झार्दै भन्नुभयो, “बाबु अब तिमी पनि बाबाकै बाटामा लाग्नुपर्छ । नराम्रो काम गर्नुहुन्न ।”
आमाबाबा घरमा सँगै हुँदा कति रमाइलो थियो होला भन्ने मैले कल्पना गर्न थालेँ । मेरो मुखबाट निस्किहाल्यो, “तपाईँहरूको जोडी पनि सारसको जोडीजस्तै थियो होला होइन आमा ?”
“हो बाबु, हाम्रो जोडी पनि सारसको जस्तै थियो । फरक यति हो, पोथी सारसले बँचेरालाई चटक्क छाडेर प्राण त्याग गर्दै छे तर मैले तिम्रो मुख हेरेर बाँचिरहेकी छु ।” भन्दै आमाले मलाई अँगालोमा चपक्क च्याप्नुभयो ।
एकछिनपछि आमाले भन्नुभयो, “रात छिपिसक्यो जाऊ सुत ।”
“हुन्छ आमा” भन्दै म आफ्नो ओछ्यानमा गएर सिरकले छोपेर पल्टेँ तर निद्रा लागेन । चाल मारेर झ्यालतिर गएँ । बाहिर सारस क्वार्र क्वार्र गरेर विलाप गरिरहेको थियो । मैले आमातिर हेरेँ । उहाँ निद्रामै हिक्कहिक्क गरिरहनुभएको थियो ।
०००
कथा एकपटक पढेपछि वा सुनेपछि जीवनभरिसम्म सम्झने खालको हुनुपर्छ । मान्छेको जीवनलाई प्रभाव पार्नुपर्छ । कथा छोटो भए तापनि विशिष्ट प्रभाव दिने गद्य विधा हो । कथामा जीवनको एक अंश वा एउटा कामको कौतुहलतापूर्वक प्रस्तुति गर्नुपर्छ । कथामा उत्सुकता हुनुपर्छ । उत्सुकताविनाको कथा निराश हुन्छ । कथामा असल राम्रो पात्रको जित र खराब पात्रको पराजय गराउनुपर्छ ।
कथाकारले कथाका माध्यमबाट आफ्नो कुरा भन्नुभन्दा पनि देखाउँदा कथा प्रभावकारी हुन्छ । ‘गर्मी भयो’ भन्नुको सट्टा ‘पसिनाले जिउ निथ्रुक्क भयो’ भन्दा राम्रो । ‘ऊ रिसाएको थियो’ को सट्टा ‘उसका आँखा पाकेको खुर्सानीजस्तै राता-राता थिए’, उसले हान्ने राँगाले जस्तै घोरिएर हेरिरहेको थियो’ भन्दा राम्रो हुन्छ ।
कथा टुङ्ग्याउँदा सकेसम्म सकारात्मक सन्देश जाने गरी टुङ्ग्याउनुपर्छ । यदि नायक बाँचेर पनि निरीह बन्ने अवस्था रहन्छ भने कथालाई दुःखान्तमा टुङ्ग्याउँदा पनि हुन्छ । कथालाई सुखान्तमा टुङ्ग्याउनुपर्छ भन्ने पूर्वीय मान्यता हो भने आवश्यकता पर्दा दुःखान्तमा टुङ्ग्याएर पनि हुन्छ भन्ने पाश्चात्य मान्यता हो ।
स्वैरकल्पना, कौतुहलता, सन्देश, मनोरञ्जन र भाषाको चमत्कारले गर्दा पाठकले साहित्यका अन्य विधालाई भन्दा कथालाई बढी मन पराउँछन् । कथा काल्पनिक हुनाले सत्य हुँदैन । सत्य घटनामा आधारित भएर पनि कथा लेख्न सकिन्छ ।
लक्षित पाठकको पहिचान गरी त्यसैअनुसारको विषयवस्तु र पात्रको छनोट गर्नुपर्छ । यदि बालकथा लेख्ने हो भने उमेर समूहको ख्याल गरी त्यहीअनुसारको भाषा शैलीको प्रयोग गरेर कथा लेख्नुपर्छ ।
सामान्यतया बालबालिकाको उमेर समूहलाई चार समूहमा विभाजन गरी त्यसैअनुसारको कथा लेख्नुपर्छ ।
१. ५ वर्षमुनि
२. ५ देखि ६ वर्षसम्म
३. ८ वर्षदेखि १२ वर्षसम्म
४. १२ वर्षदेखि १८ वर्षसम्म
पाँच वर्षसम्मका बालबालिका हेरेर रमाउँदै सिक्छन् । त्यो उमेर समूहका केटाकेटीले चित्रबाटै विभिन्न कुरा सिक्दछन् । आमाबुबा, भाँडाकुँडा, जीवजन्तु, चराचुरुङ्गी, बोटबिरुवा इत्यादिका बारेमा चित्रबाटै सिक्छन् ।
५ देखि ८ वर्ष उमेर समूहका बालबालिका प्रारम्भिक पाठक हुन् । यिनीहरूको स्तरअनुसार थोरै शब्द, छोटा वाक्य र सानो अनुच्छेद भएका कथा लेख्नुपर्छ । यो उमेरसमूहका बालबालिकालाई चित्रकथा एकदम मनपर्छ ।
८ देखि १३ वर्ष उमेर समूहका केटाकेटीले कथा आफैँ अध्ययन गरेर रमाउन र ज्ञान लिन सक्छन् । कथाको विषयवस्तु, पात्र र प्रस्तुति उनीहरू सुहाउँदो र रोचक हुनुपर्छ ।
१२ वर्पदेखि १८ वर्ष उमेर समूहकालाई नवकिशोर भनिन्छ । यिनीहरूले कथालाई पढेर राम्रो नराम्रो मूल्याङ्कन गर्न पनि सक्छन् । नेपालमा यो समूहले पढ्ने खालका किशोर कथाहरू एकदम कम लेखिएका छन् । यो समूहमा पुगेपछि साहित्यिक सामग्री अभावका कारण एक प्रकारले पढाइको सिलसिला छुटेजस्तो हुन्छ ।
कथा लेख्दा ध्यान दिनुपर्ने कुरा
केका बारेमा कथा लेख्ने हो ? घटना र कथावस्तुको निर्धारण गर्नुपर्छ । कथालाई कसरी शृङ्खलाबद्ध तरिकाले लेख्ने ? कथावस्तुलाई कसरी लक्ष्यमा पुर्याउने ? कथाको पात्रले कर्म गरेको ठाउँ, समय र वातावरण । कथा लेख्नुको उद्देश्य, कथामा जुन कुरालाई बढी महत्त्व दिइएको हुन्छ, त्यो कथावस्तु हो । यस्ता कुरामा कथाकारले ध्यान दिनुपर्छ । पाठकबाट सहानुभूति पाउने खालको पात्रको छनोट गर्नुपर्छ । समस्याको समाधान र समस्यासँग जुध्नसक्ने खालको पात्रको छनोट गर्नुपर्छ ।
कथा लेख्ने विचार कहाँबाट आउँछ ?
कथा लेख्नका लागि विचार आफूले देखे–भोगे–सुनेका घटना, आफ्नै अनुभव, इच्छा, आकाङ्क्षा, कल्पना आदिबाट लिन सकिन्छ । यसका साथै आफूले टिपोट गरेर राखेको नोटबुक, पुस्तक, पत्रपत्रिका पनि कथाको स्रोत हुन सक्छन् । वेबसाइट विभिन्न सामाजिक सञ्जालबाट पनि आउँछ । कथाकारका आफन्ती, चिनजानका साथीभाइको जीवनमा घटेका घटना, उनीहरूका समस्या, भोगाइ र भनाइबाट पनि कथा लेख्ने विचार आउन सक्छ ।
कथालेखनका चरण
१. विचारअनुसारको खाका तयार गर्ने
२. पात्र, परिवेश, संवाद र द्वन्द्व कल्पना गर्ने
३. प्लट तयार पार्ने
४. दिमागमा कथा लेख्ने योजना बनाउने
५. कथा लेख्ने
६. कथालाई पुनर्लेखन गर्ने
७. सम्पादन गर्ने
८. भाषा सम्पादन गर्ने
९. बालकथा भए चित्राङ्कन गर्ने
१०. डिजाइन गर्ने
११. मुद्रण गर्ने
कथालाई स्तरीय बनाउन जति सक्यो धेरैपटक पुनर्लेखन गर्नुपर्छ ।
कथा प्रथम पुरुष (उत्तम) म र तृतीय पुरुष ऊ, उनी गरी दुई तरिकाले लेखिन्छ । प्रथम पुरुषमा लेख्दा पाठकले नायक नायिका र अन्य पात्रहरूको दृष्टि देख्न सुन्न पाउँछन् । तृतीय पुरुष भएर लेख्दा विभिन्न व्यक्तिको दृष्टिकोणबाट थाहा पाउँछन् ।
कथा लेखिसकेपछि शीर्षक राख्नुपर्छ । पहिले नै शीर्षक लेखेर पछि कथा लेख्न पनि सकिन्छ । कथाको शीर्षक कथा लेख्नुभन्दा पहिले सोचे कथा बनाउन सजिलो हुन्छ । शीर्षक विषयवस्तु सुहाउँदो र रोचक हुनुपर्छ । शीर्षकमा कुनै चिह्नको प्रयोग गर्नुहुन्न ।
विभिन्न घटना र सेलिब्रेटीहरूले पनि क्षणिक रूपमा मानिसलाई आकर्षित गर्छन् । समय बित्दै जाँदा तिनीहरूको चर्चा पनि हराउँदै जान्छ । मानिसहरूले बिर्सिँदै जान्छन् । तिनै घटनाक्रम, विषयवस्तु र तिनै सेलिब्रेटीलाई नायक वा पात्र बनाएर कथा लेखेमा त्यस्ता कथा कालजयी पनि हुन सक्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

