विषयप्रवेश

मानिस वास्तवमै सिर्जनशील प्राणी हो । मानव सभ्यताको उठानमा भाषा, कला, संस्कृति, साहित्य, गीतसङ्गीत आदिजस्ता कुराहरूले मुख्य कडीका रूपमा काम गरेको पाइन्छ । साहित्य भन्नु मानवीय प्रतिभाद्वारा सिर्जित एक कलात्मक भाषिक अभिव्यक्ति हो । मानिसमा मनोविनोदी र रोमाञ्चित प्रकृतिको स्वभाव भएकाले पनि कलात्मक सिर्जनाका माध्यमबाट आह्लादित भई आनन्दित हुनु उसको प्रवृत्ति नै हो । आफूभित्र भएका भावनालाई कुनै पनि माध्यमद्वारा प्रस्तुत गर्नु पनि मानवीय स्वभाव हो । यसरी सिर्जनामा लाग्ने क्रममा कलाका नयाँ-नयाँ प्रयोगतर्फको रुझान पनि स्वाभाविक रूपमा मानिसमा देखिने गर्छ । यसैको कारण साहित्यका गद्यपद्य विधाका क्षेत्रमा समयक्रममा नवीन मान्यता थालनी हुनुका साथै सिर्जनात्मक अभ्यासहरू हुँदै आएको देख्न सकिन्छ । अझ हेर्दा कविता विधामा नयाँ-नयाँ प्रयोगतर्फको रुचि पनि प्रशस्त रूपमा भएको देख्न सकिन्छ । छन्दलाई अनिवार्य स्विकारिएको कविताका परम्परामा विविध स्वरूप र संरचनातर्फका प्रयोगहरू भएको देख्न सकिन्छ । यसैको परिणाम हो पछिल्लो समयमा नवीन संस्करणका रूपमा जन्मिएको ‘छेस्का’ कविताको प्राप्ति । पछिल्लो दुई–तीन वर्षका बीचमा साइनो, उदक, छेस्का, बाछिटा, डाली, सुसेलीलगायतका नव-नव प्रयोगतर्फको चासो र आकर्षण स्रष्टाहरूमा बढेको देख्न सकिन्छ । बन्दाबन्दीभित्रको बसाइ अनि सामाजिक सञ्जालको उपयोगको परिणामका रूपमा पनि यी अभ्यासलाई लिन सकिन्छ । यसै शृङ्खलामा नेपाली कविताका क्षेत्रमा छेस्काको आगमान हुनपुगेको मान्न सकिन्छ । कविताको नवीन अनि सूक्ष्म रूप ‘छेस्का’लाई जन्माउने श्रेय साहित्यकार विनोद नेपाल ‘बैगुनी’लाई जान्छ । उहाँले सामाजिक सञ्जालमा सम्प्रेषण गरेसँगै यसतर्फ अन्य स्रष्टाहरूको पनि रुचि र आकर्षण बढ्दै गएको देख्न सकिन्छ । अहिले स्रष्टाहरूको उत्सुकतालाई हेर्दा ‘छेस्का’ले क्रमशः लोकप्रियता पाउन थालेको अवस्था छ ।

टङ्कप्रसाद पन्थ

छेस्का परिचय

छेस्काको शाब्दिक अर्थलाई हेर्दा नेपाली बृहत् शब्दकोशले ‘दाउरा वा काठपातका आदिका मसिना टुक्रा, झिँजामिँजा, झिँजाझिँजी, टुक्राटुक्री’ आदिका रूपमा लगाएको पाइन्छ । यस्ता छेस्का स्वरूपमा सानामसिना भईकन पनि च्वास्स घोच्ने प्रकृतिका रहेका हुन्छन् । साहित्यमा खास प्रकृति र संरचनाको स्वरूपलाई छेस्काको नामकरण गर्ने काम पनि सर्वप्रथम विनोद नेपालबाटै भएको पाइन्छ । २ असार २०७८ को साहित्यपोस्टमा प्रकाशित ‘छेस्का’को परिचय तथा यसको लेखनका सम्बन्धमा स्वयम् विनोद नेपालको यस्तो धारणा रहेको पाइन्छ – “हाइकुको अभ्यास गर्ने क्रममा एक दिन ५–५–५ अक्षर संरचनाको एउटा शब्दसमूहले चस्स छोएपछि त्यस सिर्जनालाई छेस्का नाम दिएर मुहारपुस्तिकाको भित्तामा राखेसँगै छेस्का सार्वजनिक सम्पत्ति भएको हो । त्यो दिन थियो २०७६ साल मंसिर २४ गते ।” यस कुराको आत्मस्वीकृतिलाई हेर्दा यस प्रकारको संरचनागत ढाँचाले पनि साहित्यिक स्वरूप धारणा गर्ने देखेर सार्वजनिक गरिएको उल्लेख पाइन्छ । यसैगरी २०७७ साल पुस २५ गते नागरिक न्युज डट कममा प्रकाशित भएपछि यो औपचारिक रूपमा प्रकाशनमा आएको देखिन्छ । मूलतः हाइकु लेखनको अभ्यासका क्रममा पाँच, सात, पाँचको संरचनागत अभ्यास गर्दैगर्दा पाँच–पाँच अक्षरको त्रिपदीय संरचना निर्माण हुन पुगेको र यस्तो संरचनाबाट पनि सुन्दर भावको अभिव्यक्ति हुन सक्ने देखिएकाले यसलाई अभिव्यक्तिको तहमा ल्याइएको र नाम राख्ने सम्बन्धमा सानो स्वरूपद्वारा मनको भावलाई प्रकाशन गरी सामाजिक क्षेत्रमा मक्किएर रहेका विसङ्गतिहरूलाई प्रहार गर्ने ध्वन्यार्थकै तात्पर्यमा यसलाई ‘छेस्का’ नामकरण गरिएको कुरा स्पष्ट हुन आउँछ । २०७८ साल वैशाख ३१ गते अक्षय तृतीयका दिन ‘छेस्का साहित्य’ नामक फेसबुक समूह खोलेपछि यस समूहमा क्रमशः स्रष्टाहरू जोडिई छेस्काहरू सम्प्रेषण गर्दै आएको देख्न सकिन्छ । अहिले धेरै स्रष्टाहरूले छेस्कासम्बन्धी चासो राखी यसको साधनातर्फ अभिमुख भएको पाइन्छ ।

छेस्का – संरचना, प्रवृत्ति र प्रयोग

छेस्का कविताको एक सूक्ष्म उपविधाअन्तर्गत पर्दछ । यो वर्तमानमा प्रचलित हाइकु र साइनोका पृष्ठभूमिबाट हेर्दा सानो र बाछिटाका पृष्ठभूमिबाट हेर्दा स्थूल संरचना धारण गरी व्यवहारमा आएको पाइन्छ । हाइकुलेखनकै प्रभावमा यस संरचनाको निर्माण भएकाले यसको पङ्क्तीय संरचना र अक्षरहरूको गणना पनि हाइकुकै प्रभावबाट निर्मित भएको पाइन्छ तर  हाइकु र छेस्काको रूपविन्यासका साथै शैलीशिल्पगत प्रकृति र अक्षर वितरणको परिपाटीचाहिँ पृथक् रहेको स्पष्ट हुन्छ । छेस्का भर्खरभर्खरै व्यवहार र अभ्यासमा आएको हुनाले यसको आधिकारिक सैद्धान्तिक मान्यता बनिसकेको छैन तापनि यसका जन्मदाता विनोद नेपाल र यससम्बन्धी चासो राखी सिर्जनामा समर्पित भएका केही सर्जकहरूका अभ्यासगत स्वरूका नमुना र छिटपुट मान्यतालाई हेर्दा यसले सैद्धान्तिक आधार ग्रहण गर्न थालेको पाइन्छ ।

‘छेस्का’को संरचनागत ढाँचालाई हेर्दा  पाँच–पाँच–पाँच अक्षर वितरण भएको त्रिपदीय संरचनामा यो बाँधिएको हुन्छ । हाइकुमा जस्तो पाँच, सात, पाँचको असमान पङ्क्तिविन्यासको अवस्था नभई यसमा तीनवटै पङ्क्तिमा समान प्रकृतिको आक्षरिक विन्यास हुन्छ । यसको लेखनका क्रममा प्राकृतिक, सामाजिक, सांस्कृतिक आदि क्षेत्रबाट बिम्ब, प्रतीक र सङ्केतहरूको छनोट गरिन्छ । हाइकुको संरचनागत विधानमा अनुप्रासतर्फको मोह त्यति पाइँदैन तर यसको संरचनागत ढाँचा र सम्प्रषेण गरिएका नमुनातर्फ दृष्टि दिँदा अनुप्रास विन्यासतर्फको मोह यसमा बढी देख्न सकिन्छ । यस्तो अनुप्रासीय विन्यासलाई हेर्दा मुख्यतया पहिलो र तेस्रो पङ्क्तिमा बढी ध्यान दिइएको पाइन्छ तर यसको रचनाका क्रममा पहिलो र दोस्रो, दोस्रो र तेस्रो अनि पहिलो, दोस्रो र तेस्रो गरी तीनवटै पङ्क्तिमा पनि अनुप्रासको प्रयोग गर्न सकिन्छ । अनुप्रासविधान अनि त्यसले सिर्जना गर्ने लयात्मक तथा गेयात्मक सामर्थ्यले नै हाइकु र साइनोलगायतका अन्य उपविधाका पृष्ठभूमिमा यसको मौलिकता र विशिष्टतालाई पहिचान गर्न सकिन्छ । हुन त अनुप्रासमुक्त छेस्काहरूको निर्माण पनि हुन सक्छ तर यसको जन्मसँगै हालसम्म भएका प्रयोगका नमुनाहरूलाई हेर्दा अनुप्रासीयता छेस्काको प्राणजस्तै भएको देख्न सकिन्छ । समान रूपमा अक्षरहरूको वितरण हुने हुनाले पनि छेस्काको वाचन गर्दा पहिलो वा अन्तिम पङ्क्ति जताबाट वाचन गरे पनि गेयात्मक बन्ने अनि भाव र मर्ममा कुनै फरक नपर्ने अवस्था पनि देख्न सकिन्छ । यस प्रकृतिको विशेषताले गर्दा पनि छेस्काको वाचन तथा प्रभाव विशिष्ट हुने कुरालाई यसको आफ्नै मौलिकता मान्न सकिन्छ । समान प्रकृतिका अक्षरहरूको विन्यासका कारण यसको सिर्जना प्रक्रिया सहज भएको प्रतिक्रिया सर्जकहरूको रहेको छ ।

सामान्य प्रकृतिको अभिव्यक्ति र साहित्यिक अभिव्यक्तिमा पाइने भिन्नताको प्रमुख कडी भन्नु नै त्यसमा हुने कला वा सौन्दर्यको पाटो हो । साहित्यमा हुने अभिव्यक्ति सामान्य सम्प्रेणका लागि नभई खास प्रयोजन र सौन्दर्यको निर्माणमा केन्द्रित हुने हुनाले यसमा कलापक्ष जीवन्त भएर आएको हुन्छ । यस कुराबाट छेस्काको रचना पनि अछुतो रहन सक्तैन । यसको सूक्ष्म संरचनाभित्र पनि विचारको उठान, उत्कर्ष र समापन जस्ता आधारभूत विधिप्रक्रिया र शिल्पगत कुरालाई पनि ख्याल गरिएको हुन्छ । अहिले यस्तो हुन्छ वा हुनुपर्छ भन्ने स्थापित मान्यता बनि नसकेको भए तापनि त्रिपदीय संरचनामा विचारलाई सूत्रबद्ध गरी प्रस्तुत गर्नु नै यसको प्रभावकारिता मानिन्छ । प्रत्येक पङ्क्तिहरूले स्वतन्त्र विचार र मर्मलाई झल्काउनुका साथै त्रिपदीय संरचनामा उपयोग भएका कुल पन्ध्रअक्षरको समष्टि संरचनाले कुनै खास भावलाई ध्वन्यात्मक रूपमा समेट्न सक्नुलाई छेस्का सिर्जनाको कुशलता र सफलता मान्न सकिन्छ । एउटा सूक्ष्म संरचनाभित्र विचारलाई समेट्ने कुरा स्रष्टाका लागि चुनौतीको विषय हो । त्यसमा पनि प्रत्येक पङ्क्तिको खास अर्थ र समग्र संरचनाद्वारा विशिष्ट अर्थ वा ध्वन्यार्थको अभिव्यक्ति दिनु साहित्यिक मूल्यका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । छेस्कामा उखान टुक्का तथा सूक्तिमय पदावलीको प्रयोग हुन सक्छ तर तिनको औचित्यगत प्रस्तुतिलाई ख्याल गर्नुपर्छ । लामो संरचनाका उखान टुक्का तथा सूक्तिहरूको विन्यास छेस्कामा अनुकूल नहुन सक्छ । त्यसैगरी त्यस्ता पदावलीलाई जस्ताको त्यस्तै राखिदिँदा सिर्जनाको मौलिकता पनि कायम नरहने देखिन्छ । यस्ता कुरामा स्रष्टा स्वयंले ध्यान दिनु आवश्यक हुन्छ । छेस्कामा प्रयुक्त हुन आउने बिम्ब–प्रतीक र सङ्केतहरू अमूर्त, कृत्रिम र क्लिष्ट नभई स्वाभाविक र प्राकृतिक रूपमा आउनुलाई राम्रो मानिन्छ । यस्ता कुराहरूको जीवन्त प्रस्तुति भएमा छेस्का साहित्यको लोकप्रियता बढ्न सक्दछ । ‘छेस्का’ शब्दको ध्वन्यात्मक मर्मलाई हेर्दा विकृति र विसङ्गतिप्रति सशक्त विमति राखी च्वास्स रूपमा घोचेर गहन रूपमा व्यङ्ग्य प्रहार गर्नु यसको खास धर्म हो । छेस्काहरूको अभ्यासको सन्दर्भ र तिनको प्रवृत्तिलाई हेर्दा यसको मूलभूत मर्म समाजका विसङ्गतिप्रति मर्ममै पुग्ने गरी व्यङ्ग्य प्रहार गर्नुका साथै स्वच्छ र पारदर्शी समाजको निर्माणतर्फ घचघच्याउनु रहेको छ । त्यसैले सूक्ष्म संरचनाद्वारा च्वास्स घोच्ने गरी हिर्काउन सक्नु नै यसको सौन्दर्य र सफलता मान्न सकिन्छ । हुन त व्यङ्ग्य र कटाक्ष निरपेक्ष भएर पनि छेस्काहरूको सिर्जना गर्न सकिन्छ तर व्यङ्ग्य र कटाक्ष भावमा केन्द्रित छेस्काहरू बढी सबल रहेको पाइन्छ । यस्ता छेस्कामा कुनै पनि सन्दर्भअनुकूल भाव र विचारलाई समेट्न सकिन्छ तर त्यस्तो संरचनाले वाच्यार्थभन्दा व्यङ्ग्यार्थलाई ध्वनित गर्न सकेमा सिर्जना प्रभावशाली बन्ने देखिन्छ । व्यङ्ग्य निरपेक्ष भई प्राकृतिक तथा मानवीय जीवनका विविध पक्षलाई सजीव रूपमा चित्रण गर्न पनि सकिन्छ, त्यस्ता छेस्कामा बिम्ब–प्रतीक र कलात्मकता पोतिनुलाई राम्रो मानिन्छ ।

छेस्काले समेट्ने विषयको कुनै सीमा छैन अथवा छेस्काहरू जुनसुकै विषयमा केन्द्रित हुन सक्छन् । हाम्रो समाज, प्रकृति, राजनीति, संस्कृति, भूगोल, परम्परा, विकास निर्माण, भ्रष्टाचार, देश, परिवेशका साथै विश्व र सिङ्गो ब्रह्माण्डका कुराहरू यसको विषय बन्न सक्छन् । २०७८ साल असार २ को साहित्यपोस्टमा विनोद नेपालद्वारा प्रस्तुत मान्यता यस्तो रहेको छ –  “यसमा प्रकृति लेख्न सकिन्छ । समाज–सामाजिक परिवेश लेख्न सकिन्छ । दुःख, पीडा, खुसी, आक्रोश र सुधार सुझाव लेख्न सकिन्छ । यसले सामाजिक, प्राशासनिक, राजनीतिक यथार्थ एवम् विकृति–विसङ्गतिमाथि चोटिलो प्रहार गर्नुपर्छ, छेस्काले जस्तै चुस्स घोच्नुपर्छ र पाठकलाई आफ्नो अनुभूति नै लेखिएको वा आफ्ना आवाज प्रतिनिधित्व गरिएको महसुस गराउनुपर्छ भन्ने यसको मान्यता हो ।” यसको अर्थ छेस्का कुनै पनि विषय र भावभूमिमा निर्माण हुन सक्छन् तर तीन पदको पन्ध्रअक्षरीय संरचना आफैँमा पूर्ण र खास विषय र विचारको सम्प्रेषण गर्ने खालको हुनुपर्दछ । छेस्कामा प्रत्येक पन्ध्रअक्षरीय संरचना आफैँमा पूर्ण स्वरूप हो र यसले जोड्ने विषयक्षेत्र अनि प्रकट गर्ने भाव वा विचार आफैँमा पूर्ण सङ्कथन हो । यसमा प्रयोग हुने आक्षरिक सङ्ख्याको निर्धारणका सम्बन्धमा पनि खास आधार रहेको पाइन्छ । लेख्य परम्परामा अजन्त हुने अक्षर वा सग्लो अक्षरलाई आक्षरिक मानक संरचना मानिन्छ तर आधा अनि हलन्त अक्षरलाई आक्षरिक संरचनामा गणना गरिँदैन । अक्षर गणनाको मोहमा अनावश्यक रूपले शब्दको खुट्टा काट्ने र अक्षरलाई भाँच्ने कुरालाई त्यति राम्रो मानिँदैन । कथ्यको नजिकको जीवन्त भाषिकविन्यास छेस्कामा ग्राह्य मानिन्छ तर बढी  आञ्चिलिकताको प्रयोग भने त्यति पाच्य हुँदैन । यद्यपि स्थानीयताको रङ्ग–रोगन दिँदा अभिव्यक्ति क्लिष्टतातर्फ नजाओस् भन्ने कुरामा सर्जक सचेत हुनुपर्छ । भाषाको मानकीकृत रूपको प्रयोगका साथै शुद्ध र स्तरीय लेखनतर्फ स्रष्टाहरू स्वयम् सचेत र जिम्मेवार बन्नु आवश्यक देखिन्छ ।

छेस्का के हो ? यसको संरचना के-कस्तो हुन्छ ? यसका प्रवृत्तिगत विशेषता केके हुन्छन् ? भन्ने जस्ता कुराबाट सारभूत रूपमा छेस्का साहित्यलाई बुझ्न सजिलो होस् भन्ने हेतुले निम्नलिखित बुँदामा यसरी प्रस्तुत गरिएको छ –

– नेपाली कविताको नवीनतम उपविधाका रूपमा छेस्काको आगमन, यसलाई जन्माउने श्रेय साहित्यकार विनोद नेपाललाई जानु,

–छेस्का तीन पङ्क्तिका कुल पन्ध्र अक्षरमा निर्मित हुनु, प्रत्येक पङ्क्तिमा पाँच–पाँच अक्षरको समान वितरण हुनु, अक्षर गणना अनि सूक्ष्म अभिव्यक्तिमा विचारलाई सम्प्रेषण गरिने हुनाले यो लोकप्रिय बन्दै गएको,

–रूप तथा संरचनामा सूक्ष्म र चुस्त हुनु अनि समाजका विकृतिप्रति च्वास्स घोच्ने गरी अभिव्यक्त हुनुले यसलाई छेस्काको नाम दिइनु,

–यसको निर्माणका क्रममा प्रत्येक पङ्क्तिले व्यक्त गर्ने अर्थका साथमा तीन पङ्क्तिका कुल पन्ध्र अक्षरले पूर्ण विचारको अभिव्यक्ति दिनु,

–मानवजीवन, प्रकृति, संस्कृति, विकृति–विसङ्गतिका साथै विश्वब्रह्माण्डका कुनै पनि विषयमा छेस्का सिर्जना गर्न सकिने,

–छेस्कामा अनुप्रास योजना प्राणजस्तै रहनु, अहिलेको अभ्यासलाई हेर्दा पहिलो र तेस्रोमा अनुप्रासको बढी मोह देखिए तापनि तीनवटै पङ्क्तिमा अनुप्रासको प्रयोग गर्न सकिने,

–पाँच–पाँच अक्षरको समानुपातिक वितरण तथा प्रत्येक पङ्क्ति आफैँमा स्वतन्त्र हुने भएकाले यसलाई अगाडि वा पछाडिबाट वाचन गर्दा अर्थमा कुनै फरक नपर्ने,

–तीनवटा पङ्क्तिलाई पूर्ण संरचना मानिने हुनाले सूक्ष्म आयामभित्र विचारको उठान, उत्कर्ष र समापन मिलेर आउनु राम्रो हुने,

–खँदिला पद, पदावलीका साथमा स्वाभाविक रूपमा आउने बिम्ब, प्रतीक तथा सङ्केत र अलङ्कारहरूले यसमा कलात्मक सौन्दर्य थप्ने,

–पन्ध्र अक्षरको समष्टि संरचनाद्वारा खास विचार वा भावलाई ध्वन्यात्मक रूपमा व्यक्त गर्न सक्नु नै छेस्का लेखनको सफलता,

–यसमा अक्षरहरूको गणना गर्दा लेख्य परम्पराका सग्ला अक्षरलाई मानक आधार मानी आधा अनि खुट्टा काटिएका हलन्त अक्षरको गणना नहुने,

–छेस्कामा उखान–टुक्का, सूक्तिमय पदावली, अनुकरणात्मक शब्द, पारिभाषिक शब्दहरू आउन सक्ने तर जस्ताको त्यस्तै रूपमा नल्याई मौलिकता, सान्दर्भिकता र सिर्जनात्मकतालाई ख्याल गर्नुपर्ने,

–छेस्का शब्दको वाच्यार्थ अनि व्यङ्ग्यार्थलाई प्रतिबिम्बित गर्नेगरी व्यङ्ग्य, कटाक्षका साथै प्रकरणार्थलाई प्रकट गर्नु सान्दर्भिक हुने,

–छेस्काको संरचनागत रूपविन्यास, कलापक्षका साथमा शुद्ध अनि मानक नेपाली भाषाको प्रयोगमा स्रष्टा आफैँ सचेत हुनु राम्रो,

–स्थानीय जनबोली अनि आञ्चलिकताको प्रयोग पनि छेस्कामा गर्न सकिने तर बढी आञ्चलिकताका कारण दुर्बोध्य नहोस् भन्ने कुरामा स्रष्टा सजग हुनु राम्रो,

–व्यक्तिगत रूपमा गालीगलौज, तुच्छ किसिमको अभिव्यक्ति, सामान्य भनाइभन्दा माथि उठी साहित्यिक शिल्पसौन्दर्यको उद्घाटन गराउनमा प्रयत्न गर्नु राम्रो हुने,

–अभिव्यक्तिका क्रममा खास विचारलाई प्रवाहित गरी समाजमा सन्देश छाड्ने गरी सिर्जना गर्नु छेस्का लेखनको उद्देश्य,

–आजको व्यस्त जीवनशैली अनि छोटा रचनातर्फ पाठकको आकर्षण भएकाले यसले धेरैलाई आकर्षित गर्न थालेको ।

‘छेस्का’का सम्बन्धमा भएका प्रयोग र केही नमुनाहरूलाई यहाँ उदाहरणसहित प्रस्तुत गर्ने प्रयास गरिएको छ । यसबाट छेस्काको आधारभूत संरचना र शिल्पगत अभ्यासलाई साक्षात्कार गर्न सकिन्छ । असार २ गतेको साहित्यपोस्टमा विनोद नेपालद्वारा प्रस्तुत गरिएका छेस्काको नमुना यस्तो रहेको छ –

अनौठो मेल                                 गोधूलि साँझ

                तोरी र कोदो                                एक्लो बटुवा

                पानी र तेल ।                               मायालु याद ।

यी दुवै नमुनामा पहिलो र तेस्रो पङ्क्तिमा अनुप्रासको प्रयोग हुनुका साथै बिम्बका साथमा खास विचारको मर्म उद्घाटन भएको पाइन्छ । पहिलो नमुनामा प्रकृति र प्रवृत्ति नमिल्नेहरूका बीचको अपवित्र गठबन्धनप्रति कटाक्ष गरी सामाजिक विकृतिको उजागर गरिएको छ । दोस्रो नमुनामा प्राकृतिक बिम्बद्वारा एक्लो र उदास प्रेमीको व्यग्र अवस्थालाई प्रस्तुत गरिएको पाइन्छ ।

छेस्का साहित्यिक समूहको फेसबुक पेजमा २०७८ साल असार २४ र २८ गते स्रष्टा किशन पौडेलद्वारा सम्प्रेषित नमुना यहाँ प्रस्तुत गरिएको छ । वर्तमान समयमा भित्रिएका विकृतिप्रतिको सघन कटाक्ष यहाँ पाइन्छ । यहाँ पहिलोमा तीनवटै पङ्क्तिको अन्त्यमा अनुप्रासतर्फको चेष्टा पाइन्छ भने दोस्रोमा पहिलो र तेस्रो पङ्क्तिमा अनुप्रासको प्रयोग देख्न सकिन्छ  –

  समृद्ध नारा                                घर सल्काई

                बेचेर खाए                                  के भो असुल ?

                सम्पदा सारा ।   (२४ असार)                  मन जलाई ! (२८ असार)

अर्का स्रष्टा ॐ(ओम) आचार्यद्वारा असार २६ र २८ गते सामाजिक सञ्जालको समूहमा सम्प्रेषण गरिएको नमुनाका दुईवटै संरचनालाई हेर्दा तीनवटै पङ्क्तिको अन्त्यमा अनुप्रासको संयोजन गरिएको पाइन्छ । भावका दृष्टिले पनि यी दुवै छेस्का सशक्त रहेको पाइन्छ  –

कल्पना रोजेँ                                हातमा फोरा                                                           

काँधमा बोरा                                सपना देखेँ

विपना खोजेँ ।   (२६ असार)                   खाडीमा छोरा (२८ असार)

स्रष्टा हृदय लेकालीद्वारा असार १५ र २४ गतेका दिन सम्प्रेषण गरिएका दुईवटा छेस्कालाई नमुनाका रूपमा लिइएको छ । सांसकृतिक प्रथा अनि मानवीय प्रवृत्तिप्रतिको कटाक्ष यी छेस्कामा पाउन सकिन्छ । यहाँ पहिलो संरचना अनुप्रासमुक्त देखिन्छ भने दोस्रोमा तीनवटै पङ्क्तिको अन्त्यमा अनुप्रास संयोजन भएको देख्न सकिन्छ –

असार पन्ध्र                                       कैले हसक्क

                सम्झायो रीति                                      कैले ठसक्क

                दही चिउरा । (१५ गते)                               कैले मसक्क ! (२४ गते)

यसैगरी अर्का स्रष्टा खगेन्द्र बस्यालद्वारा असार २३ र २५ गते सम्प्रेषण गरिएका छेस्कालाई यहाँ नमुनाका रूपमा समेटिएको छ । ओरालो लागेको हाम्रो अर्थतन्त्रको अवस्था र नेपालको गौरवशाली पहिचान बनेको सगरमाथाको महिमालाई मार्मिक रूपमा झल्काइएको छ  –

प्रभु शरण                                  नेपाली गाथा

                ओरालो यात्रा                                पर्याप्त लाग्छ

                निजीकरण । (२३ गते)                        सगरमाथा । (२५ गते)

यसैगरी स्रष्टा एल. पी. पराजुलीद्वारा असार २३ र २५ गते सम्प्रेषित छेस्कालाई पनि यहाँ नमनाका रूपमा ल्याइएको छ । यी छेस्कामा दम्भ र घमण्डले निम्त्याउने विपत्तिको अवस्था तथा उद्देश्यविहीन अनि मानव संहारकारी द्वन्द्व बित्थामा थोपरिएको मर्म यहाँ प्रतिबिम्बित भएको छ । दुवैमा पहिलो र तेस्रो पङ्क्तिमा अनुप्रासको प्रयोग भएको पाइन्छ  –

  घमण्ड घाँडो                         द्वन्द्व के थियो

                विपत्ति खोज्छ                        देशका लागि

                ढिलो वा चाँडो । (२३ गते)       फल के दियो ? (२५ गते)

मुरारीराज मिश्रद्वारा यही असार २३ र २८ गतेका दिन सम्प्रेषण गरिएको छेस्काको पहिलो नमुनामा प्रेमिल विषयको संयोजनका साथमा तीनवटै पदको अन्त्यमा अनुप्रास मिलेर आएको देख्न सकिन्छ । यस्तै दोस्रोमा पहिलो र तेस्रो पङ्क्तिमा अनुप्रासको आयोजनाका साथमा प्रेमिल परिवेश अनि नश्वर जीवनको दार्शनिक मर्मलाई यहाँ ध्वनित गरिएको छ –

चाँदनी रात                                 जीवन यात्रा

                प्रियाको साथ                                केही मलामी

                छर्लङ्गै रात । (२३ असार)                     सकियो जात्रा । (२८ असार)

जयनारायण नेपालद्वारा असार २४ र २९ गतेका दिन सम्प्रेषण गरिएको पहिलो छेस्काको संरचनालाई हेर्दा पहिलोमा पछिल्ला दुई पङ्क्तिमा अनुप्रासीय संयोजन भएर आएको देख्न सकिन्छ यस्तै दोस्रोमा पहिलो र तेस्रो पङ्क्तिमा अनुप्रास मिलेको देख्न सकिन्छ । समाजका स्वार्थी प्रवृत्ति र उद्देश्यविहीन बाटोमा अगाडि बढ्दा अनिष्ट निम्तिने मर्म व्यक्त भएको छ  –

  स्वार्थको झुन्ड                        बिग्रियो मति

                सेरो र फेरो                          कुबाटो हिँड्दा

                सबै नै मेरो । (२४ असार)              आफ्नै दुर्गति । (२९ असार)

यसैगरी असार २३ र २५ गतेका दिन टङ्क पन्थद्वारा सम्प्रेषित छेस्काको पहिलो नमुनामा तीनवटै पङ्क्तिको अन्त्यमा अनुप्रास संयोजन भएको छ । यसैगरी दोस्रो नमुनामा तीनवटै पङ्क्तिको अगाडि र पछाडि दुवैतिर अनुप्रास मिलेर आएको देख्न सकिन्छ । छेस्काको प्रवृत्तिगत स्वभावलाई पनि यहाँ सङ्केत गरिएको छ  –

चस्स बिझायो                               हरामी बल्छ

                फुट्यो पेटारो                                सुनामी चल्छ

                राम्रै गिजायो !   (असार, २३)                  इमानी ढल्छ । (असार, २५)

यी केही प्रतिनिधि नमुना मात्र हुन् । यस्ता धेरै प्रयोगहरू सम्प्रेषण भएका छन् । अहिले छेस्काको साधनामा धेरै प्रतिभाहरू आकर्षित भएर लागेको पाइन्छ । छोटो संरचना, समान रूपमा हुने अक्षरको विन्यासका कारण लामो लेख्न र पढ्नको झन्झट मान्नेहरूका लागि यो उपयुक्त माध्यम भएकाले पनि यसतर्फको आकर्षण बढ्नु स्वाभाविक मान्न सकिन्छ । यहाँ उपयोग गरिएका छेस्काहरूलाई दृष्टि दिँदा विषयको विविधता, शैली तथा कलात्मक दृष्टिले विशिष्टता, प्राकृतिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, प्रेमिल आदि विषयको झलकका साथै लक्षणा र व्यञ्जनाभन्दा पर पुगी ध्वन्यार्थको अभिव्यक्ति भएको देख्न सकिन्छ । त्रिपदीय संरचनामा पाँच, पाँच अक्षरको समान वितरणका कारण गेयात्मकता र लयात्मकताको सिर्जना पनि स्वाभाविक रूपमा भएको अनुभव हुन्छ । छेस्का अन्य उपविधाभन्दा फरक हो भन्ने कुराको सन्देश दिने गरी सिर्जना गर्नु आवश्यक देखिन्छ । छोटो संरचना समान रूपमा हुने अक्षरको विन्यास ट्वाक्क चटनीको पारामा गम्भीर झटनीको प्रहारले छेस्कालाई जीवन्त बनाउने देखिन्छ ।

निष्कर्ष

छेस्का पछिल्लो समयमा नेपाली कविताको उपविधाका रूपमा प्रयोगमा आएको कविताकै एक सूक्ष्म भेद हो । यस प्रकारको स्वरूपलाई सर्वप्रथम प्रयोगमा ल्याउने श्रेय साहित्यकार विनोद नेपाललाई जान्छ । यसको प्रथम प्रयोग २०७६ सालमै भए तापनि २०७८ साल वैशाख ३१ गते छेस्का साहित्यिक समूहका नाममा फेसबुक पेज प्रयोगमा आएपछि यसतर्फ धेरै स्रष्टाहरूको ध्यान आकृष्ट भएको देखिन्छ । पछिल्लो समयमा नेपाली कविताका क्षेत्रमा नयाँ-नयाँ  प्रयोगहरू अभ्यासमा आउनु सुखद कुरा हो तर यस्ता नयाँ प्रयोगहरूलाई सैद्धान्तिक आधारमा बाँधी निरन्तर प्रयोगमा ल्याइयो भने लामो समयसम्म अस्तित्वमा रहने र लोकप्रिय बन्ने कुरामा दुई मत हुँदैन । छेस्का पनि नेपाली साहित्यको नितान्त नौलो प्रयोग लाग्न सक्छ । धेरैभन्दा धेरै स्रष्टाहरूको मायाँ र सद्भाव पाएमा यसले पनि मानक रूप र समृद्ध स्वरूप प्राप्त गर्ने देखिन्छ । अहिले छेस्का प्रारम्भिक चरणमा रहेको छ । सामाजिक सञ्जालमा धेरै स्रष्टाहरू जोडिँदै जानु पनि सुखद पक्ष हो । जापानी कविताको प्राप्तिका रूपमा रहेको हाइकुजस्तै नेपाली धरातलमा विकास भएका छेस्का, साइनो, बाछिटा आदि कविताका सूक्ष्म रूपले अहिलेको व्यस्त जीवनलाई प्रभाव पार्ने कुरा पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको छ । पाँच, पाँच अक्षरको त्रिपदीय संरचनाभित्र  कुल पन्ध्र अक्षरको सीमामा रहेर कला तथा विचार पक्षलाई सम्प्रेषण गरी समाजका विकृतिप्रति कटाक्ष गरी सुधारको सन्देश प्रवाहित गर्ने हुनाले पनि यसको भविष्य उज्ज्वल रहेको स्पष्ट हुन्छ । यसको निरन्तर विकास र सैद्धान्तिक आधार निर्माण भएमा नेपाली साहित्यमा नवीन आयाम थप्ने कुरा विश्वास गर्न सकिन्छ । यसको गरिमा र सौन्दर्य भर्नमा यसमा लागेका स्रष्टाहरूको जिम्मेवारी रहेको छ ।